के भगवान्ले हामीलाई सजाय दिनुभएको हो?
जापानमा मार्च २०११ मा नौ रेक्टर स्केलको भूकम्प र सुनामी गएपछि त्यहाँका एक जना प्रमुख राजनीतिज्ञले यसो भने: “मेरो विचारमा यो तेम्बाचु (ईश्वरीय सजाय) हो। तैपनि यस विपत्तिले भएको यत्रो विनाशमा मलाई दुःख लागेको छ।”
हाइटीमा जनवरी २०१० मा गएको भूकम्पले गर्दा २,२०,००० भन्दा धेरै मानिसको ज्यान गयो। मानिसहरूले “दियाबलसित मिलेमतो” गरेको कारण यस्तो विपत्ति आइलागेको हो र अब तिनीहरू “परमेश्वरतर्फ फर्कनुपर्छ” भनी टिभीका एक चर्चित प्रचारकले बताए।
फिलिपिन्सको मनिलास्थित एउटा रङ्गशालामा भएको भागदौडमा ७९ जनाको ज्यान जाँदा क्याथोलिक पादरीले यसो भने: “परमेश्वरले हाम्रो बोधो र भावशून्य अन्तस्करणलाई जगाउन यस्तो विपत्ति ल्याउनुभएको हो।” त्यहाँको एउटा अखबारको रिपोर्टअनुसार उक्त देशमा अक्सर भइरहने “पहिरो, समुद्री-आँधी र अरू विपत्तिहरू परमेश्वरले आफ्नो क्रोध पोखाउनुभएको चिन्ह हो भनी २१ प्रतिशत वयस्कहरू विश्वास गर्छन्।”
भगवान्ले खराब मानिसहरूलाई सजाय दिन विपत्ति ल्याउनुहुन्छ भन्ने धारणा नौलो होइन। सन् १७५५ मा पोर्चुगलको लिस्बनमा भूकम्प, आगलागी र सुनामीले गर्दा करिब ६०,००० मानिसको ज्यान जाँदा प्रख्यात दार्शनिक भोल्टेरले यस्तो प्रश्न गरे: “के यसको मतलब पेरिसभन्दा यहाँ लिस्बनका मानिसहरू विलासी हुन् त?” भगवान्ले प्राकृतिक प्रकोप ल्याएर मानिसलाई सजाय दिनुहुन्छ कि हुन्न भन्ने विषयमा लाखौं मानिस अन्योलमा छन्। थुप्रै देशमा यस्ता विपत्तिहरूलाई दैवको लीला भनिन्छ।
यस्ता कुराहरू सुन्दा, देख्दा हाम्रो मनमा यी प्रश्नहरू आउँछन्: के भगवान्ले मानिसलाई सजाय दिने तरिका प्राकृतिक प्रकोप नै हो त? के भगवान्ले हामीलाई सजाय दिन यसरी एकपछि अर्को विपत्ति ल्याउनुभएको हो?
यी विपत्तिहरूको लागि भगवान्नै दोषी हुनुहुन्छ भनी औंल्याउन कसै-कसैले केही बाइबल विवरण देखाउने गर्छन्, जुन विवरणहरूमा उहाँले प्राकृतिक तत्त्वहरू चलाएर विनाश गर्नुभएको विषयमा उल्लेख गरिएको छ। (उत्पत्ति ७:१७-२२; १८:२०; १९:२४, २५; गन्ती १६:३१-३५) तर ती विवरणहरू राम्ररी केलाउने हो भने तीन वटा उल्लेखनीय पक्ष बुझ्न सक्छौं। पहिलो, विपत्तिबारे पहिल्यै चेतावनी दिइएको थियो। दोस्रो, हालैका प्राकृतिक प्रकोपहरूले असल-खराब दुवै प्रकारका मानिसको ज्यान लिन्छ तर भगवान्ले ल्याउनुभएको विपत्ति त्यस्तो थिएन किनभने खराब काम त्याग्नै नचाहने वा चेतावनीलाई बेवास्ता गर्नेहरू मात्र नाश गरिएको थियो। तेस्रो, भगवान्ले निर्दोष मानिसहरूलाई विपत्तिबाट उम्कने बाटो देखाउनुभएको थियो।—उत्पत्ति ७:१, २३; १९:१५-१७; गन्ती १६:२३-२७.
अनेकन् प्रकोपले गर्दा आज लाखौं मानिसले ठूलो धनजनको क्षति भोगेका छन् तर यी विपत्तिहरूको पछाडि भगवान्को हात थियो भन्ने कुनै प्रमाण छैन। त्यसोभए, विपत्तिहरू यतिबिघ्न बढ्नुको कारण के हो? हामी कसरी त्यसको सामना गर्न सक्छौं? प्राकृतिक प्रकोप हुँदै नहुने समय कहिल्यै आउला र? यसपछिका लेखहरूमा तपाईंले यी प्रश्नहरूको जवाफ पाउनुहुनेछ। (w11-E 12/01)