अब्राहाम—नम्रताको उदाहरण
दिउँसोको गर्मीमा अब्राहाम पालभित्र शीतल ठाउँमा बसिरहेका छन्। तिनले आँखा उठाएर हेर्दा परबाट तीन जना मानिस आउँदै गरेको देख्छन्।a तिनी कुदेर ती मानिसहरू भएतिर जान्छन्। अनि आफूकहाँ आएर एकछिन आराम गर्न र केही खानेकुरा खान अनुरोध गर्छन्। सुरुमा तिनले “केही रोटी” ल्याउँछु भन्छन् तर पछि तात्तातो रोटीका साथै दही, दूध अनि कलिलो र असल बाछोसहितको भव्य भोज नै तयार गर्न लगाउँछन्। यसरी अब्राहामले ती पाहुनाहरूको विशेष अतिथि सत्कार गर्नुका साथै साँचो नम्रता पनि देखाउँछन्। तिनले देखाएको नम्रताबारे अब हामी छलफल गरौं।—उत्पत्ति १८:१-८.
नम्रता के हो?नम्रता भनेको धन, मान, पद आदिको घमन्ड नहुनु हो। नम्र व्यक्तिले अरूलाई आफूभन्दा कुनै न कुनै तरिकामा श्रेष्ठ ठान्छ। (फिलिप्पी २:३) नम्र व्यक्तिले अरूको सल्लाह सुन्छ र अरूको लागि जस्तोसुकै काम गर्न पनि तयार हुन्छ।
अब्राहामले कसरी नम्रता देखाए? अब्राहामले खुसीसाथ अरूको सेवा गरे। सुरुमा चर्चा गरिएझैं तीन जना मानिसलाई देख्ने बित्तिकै तिनीहरूको लागि आवश्यक कुराको बन्दोबस्त गर्नतिर अब्राहाम लागे। अब्राहामकी पत्नी सारा तुरुन्तै खानेकुरा पकाउनतिर लागिन्। तर पाहुनाहरूको सत्कार गर्न दौडधूप गर्ने को थिए, के तपाईंले याद गर्नुभयो? पाहुनाहरूलाई भेट्न कुदेर जाने अब्राहाम थिए, तिनले नै केही खानेकुरा खान अनुरोध गरे, असल बाछो छान्न पनि तिनी गए र पाहुनाहरूलाई भोजन टक्य्राउने पनि अब्राहाम नै थिए। तिनले चाहेको भए सबै काम आफ्ना नोकरहरूलाई अह्राउन सक्थे तर तिनले त्यसो नगरी सबै आफैले गरे। अरूको सेवा गर्दा आफू सानो हुन्छु जस्तो तिनलाई लागेन।
अब्राहामले आफूभन्दा साना मानिसहरूको कुरा सुने। बाइबलमा सारा र अब्राहामबीचको कुराकानी त्यति धेरै पाइँदैन, तैपनि अब्राहामले साराको कुरा सुनेर त्यसैअनुसार गरेको दुई वटा विवरण उल्लेख गरिएको छ। (उत्पत्ति १६:२; २१:८-१४) ती दुइटा घटनामध्ये एउटामा, साराले दिएको सल्लाह सुरुमा “अब्राहामलाई साह्रै नराम्रो लाग्यो।” तर जब साराले दिएको सल्लाह ठीक छ भनेर यहोवाले अब्राहामलाई भन्नुभयो, तब नम्र हुँदै तिनले त्यो सल्लाह स्वीकारे र त्यसैअनुसार गरे।
हामी के सिक्न सक्छौं? हामी साँच्चै नम्र छौं भने खुसीसाथ अरूको सेवा गर्नेछौं। अरूको जीवनलाई सजिलो बनाउन आफूले सकेजति गर्न पाउँदा हामी आनन्दित हुन्छौं।
अरूले सल्लाह दिंदा हामी कस्तो प्रतिक्रिया देखाउँछौं, त्यसबाट पनि हामी कत्तिको नम्र छौं भन्ने कुरा देखिन्छ। आफूले सोच्दै नसोचेको सल्लाह कसैले दिंदा त्यसलाई नकार्नुको सट्टा खुसीसाथ स्वीकार्नु बुद्धिमानी हो। (हितोपदेश १५:२२) यस्तो मनोवृत्ति विशेषगरि अरूको तुलनामा थप अधिकार पाएका व्यक्तिहरूका लागि फाइदाजनक हुन्छ। जोन नाम गरेका एक जना अनुभवी सुपरिवेक्षक यसो भन्छन्: “मेरो विचारमा अरूले ढुक्क भएर आफ्नो राय व्यक्त गर्न सक्ने खालको वातावरण सृजना गर्ने सुपरिवेक्षक नै असल सुपरिवेक्षक हो।” तिनी अझै यसो भन्छन्: “आफूमुनि बसेर काम गर्ने मान्छेको तरिका आफ्नोभन्दा राम्रो रहेछ भनेर स्वीकार्न नम्रता चाहिन्छ। अनि अर्को कुरा, ‘मेरो तरिका नै सबैभन्दा राम्रो तरिका हो’ भनेर सुपरिवेक्षकले मात्र होइन, कसैले पनि जिद्दी गर्न मिल्दैन।”
हामीले पनि अब्राहामको अनुकरण गर्दै अरूको सल्लाह सुन्यौं र अरूको लागि जस्तोसुकै काम गर्न पनि तयार भयौं भने यहोवाको अनुमोदन पाउनेछौं। हुन पनि “परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।”—१ पत्रुस ५:५. (w12-E 01/01)
[फुटनोट]
a ती मानिसहरू परमेश्वरका स्वर्गदूतहरू हुन् भनी सायद अब्राहामलाई सुरुमा थाह थिएन।—हिब्रू १३:२.