‘सत्यको ढाँचाबाट’ सिक्नुहोस्
“व्यवस्थामा पाइने ज्ञान र सत्यको ढाँचा पनि तिमीलाई थाह छ।”—रोमी २:२०.
१. हामी किन मोशाको व्यवस्थाको महत्त्व बुझ्न इच्छुक हुनुपर्छ?
परमेश्वरको प्रेरणा पाएर पावलले लेखेका पत्रहरू नभएको भए मोशाको व्यवस्थाका थुप्रै पक्षको महत्त्व बुझ्न हामीलाई गाह्रो हुनेथियो। उदाहरणका लागि, येशूले कुन अर्थमा “विश्वासी प्रधान पुजारी”-को रूपमा एकै पटकमा सदाका लागि “प्रायश्चितको बलिदान” चढाएर यसमा विश्वास गर्नेहरूको निम्ति “चिरस्थायी छुटकारा” पाउन सम्भव तुल्याउनुभयो, हिब्रूहरूलाई लेखेको पत्रमा पावलले त्यसबारे बताए। (हिब्रू २:१७; ९:११, १२) बासस्थान “स्वर्गका कुराहरूको . . . छाया” मात्र थियो र मोशाले मध्यस्थ गरेको करारभन्दा पनि “उत्तम करारको” मध्यस्थकर्ता येशू हुनुभयो भनी पावलले बताए। (हिब्रू ७:२२; ८:१-५) मोशाको व्यवस्थाबारे गरिएको यस्तो व्याख्या पावलको समयका ख्रीष्टियनहरूका लागि एकदमै मदतकारी थियो र आज पनि उत्तिकै मदतकारी छ। परमेश्वरले हाम्रो निम्ति गर्नुभएका प्रबन्धहरूको महत्त्वलाई अझ राम्ररी बुझ्न यसले हामीलाई मदत गर्छ।
२. अन्यजातिहरूसित नभएको कस्तो ज्ञान यहूदी ख्रीष्टियनहरूसित थियो?
२ रोममा भएका ख्रीष्टियनहरूलाई लेखेको पत्रमा पावलले आफ्ना केही भनाइहरू मोशाको व्यवस्थासँग परिचित यहूदी पृष्ठभूमिका सदस्यहरूको लागि लेखेका थिए। तिनीहरू मोशाको व्यवस्थासित परिचित भएकोले यहोवा र उहाँका धार्मिक सिद्धान्तबारे “व्यवस्थामा पाइने ज्ञान र सत्यको ढाँचा” तिनीहरूसित थियो भनी पावलले बताए। ती यहूदी ख्रीष्टियनहरूले “सत्यको ढाँचा” बुझेका थिए र यसलाई मनैदेखि आदर गर्थे। त्यसैले तिनीहरू आफूअघिका विश्वासी यहूदीहरूजस्तै यहोवाले आफ्ना जनहरूलाई दिएको व्यवस्थाबारे अनजान मानिसहरूलाई बाटो देखाउन, सिकाउन र ज्योति प्रदान गर्न सक्षम भए।— रोमी २:१७-२० पढ्नुहोस्।
येशूको बलिदानको छाया
३. पुरातन समयका यहूदीहरूले चढाएको बलिदानबारे अध्ययन गर्दा हामी कस्तो लाभ उठाउँछौं?
३ पावलले बताएको सत्यको ढाँचाले अहिले पनि हामीलाई यहोवाको उद्देश्य बुझ्न मदत गर्छ। मोशाको व्यवस्थामा लुकेको सिद्धान्तको महत्त्व आज पनि रत्तीभर कम भएको छैन। यो कुरा मनमा राख्दै व्यवस्थाको एउटा पक्षलाई विचार गरौं—व्यवस्थाअन्तर्गत चढाइने विभिन्न बलिदानहरूले नम्र यहूदीहरूलाई येशूसम्म पुग्न र परमेश्वर तिनीहरूबाट के चाहनुहुन्छ भनेर बुझ्न कसरी मदत गऱ्यो? साथै, यहोवाले आफ्ना सेवकहरूबाट माग गर्नुहुने आधारभूत आवश्यकताहरू कहिल्यै परिवर्तन नहुने भएकोले, बलिदानको सन्दर्भमा उहाँले इस्राएलीहरूलाई दिनुभएका नियमहरूले हामीलाई पनि आफूले चढाइरहेको सेवाको गुणस्तर जाँच्न मदत गर्छ।—मला. ३:६.
४, ५. (क) मोशाको व्यवस्थाले परमेश्वरका जनहरूलाई कुन कुराको सम्झना गरायो? (ख) बलिदानहरू कुन कुराको “छाया” थियो?
४ मोशाको व्यवस्थाका थुप्रै पक्षले पुरातन समयका यहूदीहरूलाई आफूहरू पापी छौं भनेर सम्झाउँथ्यो। उदाहरणको लागि, मानिसको लास छुने जो कोहीले आफूलाई शुद्ध पार्नुपर्थ्यो। यसको लागि एउटा स्वस्थ रातो कोरली मारिन्थ्यो र त्यसलाई जलाइन्थ्यो। त्यसको खरानीलाई “शुद्धीकरणका पानी” ( NRV) बनाउन प्रयोग गरिन्थ्यो र लास छोएर अशुद्ध भएको तेस्रो र सातौं दिनमा उक्त व्यक्तिलाई त्यो पानी छर्केर चोख्याइन्थ्यो। (गन्ती १९:१-१३) बच्चा जन्माउने स्त्री पनि केही समयसम्म अशुद्ध रहनुपर्थ्यो र बलिदान चढाएर प्रायश्चित गर्नुपर्थ्यो। यस नियमले यहूदीहरूलाई सबै मानिस त्रुटि र पापसहित जन्मन्छन् भन्ने कुराको सम्झना दिलाउँथ्यो।—लेवी १२:१-८.
५ दैनिक जीवनका अरू विभिन्न परिस्थितिमा पनि पापको प्रायश्चित गर्न जनावरको बलिदान चढाउनुपर्थ्यो। बलिदान चढाउने व्यक्तिले बुझे पनि नबुझे पनि ती बलिदानहरू र पछि यहोवाको मन्दिरमा चढाइएका बलिदानहरू येशूको खोटरहित बलिदानको “छाया” थियो।—हिब्रू १०:१-१०.
बलिदानप्रति सही मनोवृत्ति
६, ७. (क) बलिदान चढाउने वस्तु छान्दा इस्राएलीहरूले कुन कुरा विचार गर्नुपर्थ्यो? स्वीकार्य बलिदानले कुन कुरालाई चित्रण गर्थ्यो? (ख) हामीले आफैलाई कस्ता प्रश्नहरू सोध्नुपर्छ?
६ बलिदान चढाउने सन्दर्भमा एउटा आधारभूत स्तर भनेको, यहोवालाई चढाइएको जुनसुकै जनावर “निष्खोट” हुनु आवश्यक थियो। अर्थात् त्यो जनावर अन्धो, अङ्ग-भङ्ग भएको, लुलोलङ्गडो वा अस्वस्थ हुनुहुँदैनथ्यो। (लेवी २२:२०-२२) इस्राएलीहरूले यहोवालाई फलफूल वा अन्न चढाउँदा त्यो तिनीहरूको खेतको “प्रथम उब्जनी” र “सबैभन्दा असल” हुनुपर्थ्यो। (गन्ती १८:१२, २९) निम्न स्तरको बलिदान यहोवाको लागि स्वीकार्य थिएन। जनावरको बलिदानको सन्दर्भमा यस महत्त्वपूर्ण आवश्यकताले येशूको बलिदान पनि निष्खोट र निष्कलङ्क हुने कुरालाई बुझाउँथ्यो। अनि यहोवाले पनि मानिसजातिलाई छुटकारा दिन आफूलाई सबैभन्दा उत्तम अनि प्यारो लागेको कुरा बलिदानस्वरूप दिनुहुनेथियो।—१ पत्रु. १:१८, १९.
७ यदि बलिदान चढाउने व्यक्ति यहोवाले तिनको निम्ति गर्नुभएका सबै कुराको लागि साँच्चै कृतज्ञ थिए भने के तिनी उहाँलाई आफूसँग भएको सबैभन्दा असल कुरा दिन खुसी हुने थिएनन् र? कस्तो प्रकारको बलिदान चढाउने भन्ने कुरा चढाउने व्यक्ति आफैमा निर्भर हुन्थ्यो। तथापि खोट लागेको कुरा चढाउँदा यहोवा खुसी हुनुहुनेछैन भन्ने कुरा बलिदान चढाउने व्यक्तिलाई थाह थियो। किनभने यस्तो बलिदान चढाउने व्यक्तिले यसलाई केवल एउटा औपचारिकता वा बोझसमेत ठानिरहेको कुरा देखाउँथ्यो। ( मलाकी १:६-८, १३ पढ्नुहोस्) हामी कसरी परमेश्वरको सेवा गरिरहेका छौं भनी सोच्न यसले हामीलाई झक्झक्याउनुपर्छ। हामी आफैलाई सोध्न सक्छौं, ‘मैले कस्तो मनोवृत्तिका साथ यहोवाको सेवा गरिरहेको छु? मेलै उहाँलाई चढाइरहेको सेवाको गुणस्तर र उहाँको सेवा गर्नुपछाडिको मेरो मनसायलाई फेरि एकपटक केलाएर हेर्नु बुद्धिमानी हो कि?’
८, ९. इस्राएलीहरूले कस्तो मनोवृत्तिसहित बलिदान चढाउँथे भनी विचार गर्नु किन आवश्यक छ?
८ कुनै इस्राएलीले यहोवाप्रतिको आफ्नो कृतज्ञता व्यक्त गर्न स्वेच्छिक बलिदान चढाउन सक्थे। वा स्वेच्छिक रूपमा होमबलि चढाएर यहोवाको अनुमोदन पाउने आग्रह गर्न सक्थे। यस्तो अवस्थामा सबैभन्दा असल जनावर छनौट गर्नु तिनको लागि टाउको दुखाइको कुरा हुने थिएन। आफूसँग भएको सबैभन्दा असल कुरा चढाउन तिनी खुसी हुन्थे। आज ख्रीष्टियनहरू मोशाको व्यवस्थाले माग गरेका बलिदानहरू त चढाउँदैनन् तर यहोवाको सेवामा आफ्नो समय, शक्ति र स्रोतसाधन खर्च गरेर एउटा छुट्टै प्रकारको बलिदान चढाउँछन्। ख्रीष्टियन आशालाई “जनसमक्ष घोषणा” गर्नु र ‘भलाइ गर्नु अनि अरूसित बाँडचुँड गर्नु’ भनेको परमेश्वरलाई प्रसन्न पार्ने बलिदानहरू हुन् भनी प्रेषित पावलले बताए। (हिब्रू १३:१५, १६) यहोवाका जनहरू जुन मनोवृत्तिका साथ यी कामहरूमा भाग लिन्छन्, त्यसले यहोवाले दिनुभएका सम्पूर्ण कुराहरूका लागि तिनीहरू कत्तिको कृतज्ञ छन् र तिनीहरू त्यसको कुन हदसम्म कदर गर्छन् भन्ने कुरा प्रकट गर्छ। त्यसैले आज ख्रीष्टियन सेवामा भाग लिनेहरूको मनसाय र पुरातन समयमा स्वेच्छिक बलिदान चढाउने इस्राएलीहरूको मनसायबीच समानता छ।
९ तथापि कुनै-कुनै अवस्थामा भने पाप गरेको खण्डमा इस्राएलीहरूले मोशाको व्यवस्थाअनुसार पापबलि अथवा दोषबलि चढाउनैपर्थ्यो। तपाईंलाई कस्तो लाग्छ, यी चढाउनैपर्ने खालका बलिदानहरू भएकाले के यसले इस्राएलीहरूको इच्छुकता अनि मनोवृत्तिमा कुनै असर पार्थ्यो? यस्तो बलिदान मन नलागी-नलागी पनि चढाइन्थ्यो कि? (लेवी ४:२७, २८) बलिदान चढाउने व्यक्ति यहोवासँग राम्रो सम्बन्ध कायम राख्न साँच्चै इच्छुक थिए भने यो तिनको लागि बोझ हुने थिएन।
१०. बिग्रिएको सम्बन्ध सुधार्न ख्रीष्टियनहरूले कस्ता बलिदानहरू गर्नुपर्ने हुन सक्छ?
१० आज हामीले पनि विचारै नगरी वा होसै नपुऱ्याई बोल्दा कोही भाइलाई ठेस पुऱ्याइरहेका हुन सक्छौं। अथवा कहिलेकाहीं हाम्रो अन्तस्करणले हामीले गल्ती गऱ्यौं भनेर झकझक्याउन सक्छ। तर जेहोस्, यहोवाको सेवालाई गम्भीरतापूर्वक लिने जो कोहीले पनि आफ्नो गल्ती सच्याउन भरमग्दुर प्रयास गर्नेछन्, होइन र? यसको अर्थ, आफूले ठेस पुऱ्याएको भाइसित मनैदेखि माफी माग्नुपर्ने हुन सक्छ। अथवा गम्भीर गल्ती गरेका छौं भने मायालु ख्रीष्टियन निरीक्षकहरूको मदत लिनुपर्ने हुन सक्छ। (मत्ती ५:२३, २४; याकू. ५:१४, १५) त्यसैले कुनै भाइविरुद्ध वा स्वयम् परमेश्वरकै विरुद्धमा पाप गरेका छौं भने त्यसलाई सच्याउन हामीले आफ्नो तर्फबाट केही न केही बलिदान त गर्नैपर्ने हुन्छ। त्यस्ता बलिदानहरू गर्नुपर्ने भए तापनि त्यसो गरेमा हामीले यहोवा अनि आफ्नो भाइसँगको सम्बन्ध जोगाइरहेका हुन्छौं र सफा अन्तस्करण पाउन सक्छौं। फलस्वरूप, यहोवाको आज्ञा पालन गर्नु नै सबैभन्दा बुद्धिमानी मार्ग हो भनेर हामी विश्वस्त हुन्छौं।
११, १२. (क) मेलबलि कस्तो प्रकारको प्रबन्ध थियो? (ख) आधुनिक समयमा चढाइने शुद्ध उपासनासँग मेलबलिको कस्तो सम्बन्ध छ?
११ मोशाको व्यवस्थाले माग गरेका केही बलिदानहरू मेलबलिको रूपमा चढाइन्थ्यो। यस्तो बलिदानले यहोवासँग शान्ति कायम गरेको कुरालाई सङ्केत गर्थ्यो। मेलबलि चढाउने मानिस र तिनको परिवारले सायद मन्दिरको कुनै एउटा भोजन गर्ने कोठामा बसेर चढाइएको जनावरको मासु खान्थे। उक्त जनावरलाई चढाउने पुजारीलगायत मन्दिरमा सेवा गर्ने अन्य पुजारीले मासुको केही भाग पाउँथे। (लेवी ३:१; ७:३१-३३) यस्तो बलिदान परमेश्वरसँग राम्रो सम्बन्ध कायम गर्ने उद्देश्यले चढाइन्थ्यो। मानौं, बलिदान चढाउने व्यक्ति, तिनको परिवार, पुजारीहरू र यहोवाले सँगै बसेर शान्तिसाथ भोजनको आनन्द उठाइरहेका हुन्थे।
१२ तसर्थ मेलबलि चढाउनु भनेको यहोवालाई खानाको निम्तो दिनुजस्तै थियो। यहोवाले यस्तो निम्तो स्वीकार्नु इस्राएलीहरूका लागि ठूलो सम्मानको कुरा थियो। निम्तो दिने व्यक्तिले त्यस्तो सम्मानित अतिथिको लागि आफूसँग भएको सबैभन्दा असल कुरा दिन चाहनु स्वाभाविकै थियो। मेलबलिको प्रबन्ध व्यवस्थामा भएको सत्यको ढाँचाको एउटा भाग थियो। सृष्टिकर्तासित घनिष्ठ र शान्तिमय सम्बन्ध कायम राख्न चाहने सबै मानिसले येशूको महान् बलिदानको आधारमा त्यसो गर्न सक्छन् भन्ने तथ्यलाई मेलबलिले सङ्केत गऱ्यो। आज पनि आफ्नो स्रोतसाधन र शक्ति स्वेच्छाले यहोवाको सेवामा लगाउँदा हामी उहाँको मित्र बन्न सक्छौं।
बलिदान चढाउने सन्दर्भमा अपनाउनुपर्ने सावधानी
१३, १४. राजा शाऊलले यहोवालाई चढाउन चाहेको बलिदान उहाँको लागि किन स्वीकार्य थिएन?
१३ मोशाको व्यवस्थाले माग गरेका बलिदानहरू यहोवाको लागि स्वीकार्य हुन बलिदान चढाउने व्यक्तिको मनोवृत्ति र मनको अवस्था सही हुनुपर्थ्यो। तथापि बाइबलमा यहोवाको लागि स्वीकार्य नभएका बलिदानहरूबारे चेतावनीमूलक उदाहरण पनि पाइन्छ। उहाँले किन ती बलिदानहरू स्वीकार्नु भएन? अब हामी दुई वटा परिस्थिति विचार गरौं।
१४ अमालेकीहरूमाथि यहोवाले न्याय गर्ने समय आएको कुरा भविष्यवक्ता शमूएलले राजा शाऊललाई बताए। त्यसकारण शाऊलले त्यस शत्रु राष्ट्रलाई त्यसका गाईवस्तुसमेत नाश गर्नुपर्ने थियो। तर राजा शाऊलले आफू विजयी भएपछि आफ्ना सिपाहीहरूलाई अमालेकीहरूका राजा अगागलाई जीवितै राख्न अनुमति दिए। तिनले यहोवाको लागि बलिदान चढाउन भनेर अमालेकीहरूका असल-असल पशुहरूलाई पनि जोगाइराखे। (१ शमू. १५:२, ३, २१) यहोवाले कस्तो प्रतिक्रिया देखाउनुभयो? शाऊल अनाज्ञाकारी भएकोले यहोवाले तिनलाई इन्कार गर्नुभयो। (१ शमूएल १५:२२, २३ पढ्नुहोस्) हामी यसबाट कस्तो पाठ सिक्न सक्छौं? यहोवाको आज्ञा पालन गरेका छौं भने मात्रै हामीले चढाएको बलिदान उहाँको लागि स्वीकार्य हुन्छ।
१५. यशैयाको समयमा बलिदान चढाउने केही इस्राएलीहरूको खराब आचरणले के कुरा देखायो?
१५ यस्तै अर्को उदाहरण हामी यशैयाको पुस्तकमा पाउँछौं। यशैयाको समयका इस्राएलीहरूले पापको क्षमाको लागि यहोवालाई बलिदान चढाइरहेका थिए। तर तिनीहरूको खराब आनीबानीले तिनीहरूको बलिदानलाई अस्वीकार्य बनायो। यहोवाले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूका बलिदानहरूको थुप्रो मेरो निम्ति के काम लाग्छ? म ता भेडाहरूका होमबलि र पालेका पशुहरूका बोसोदेखि अघाएको छु। म गोरु, थुमा र बाख्राहरूका रगतदेखि प्रसन्न हुन्नँ। . . . अबदेखि व्यर्थका अन्नबलि नल्याऊ। धूप ता मेरो निम्ति घिनलाग्दो छ।” समस्या के थियो? यहोवाले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले ज्यादै प्रार्थना गर्दा पनि म सुन्नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्। आफूलाई धोएर चोखो पार। मेरो सामनेबाट तिमीहरूका दुष्ट्याइँ फालिदेऊ, खराबी गर्न छोड।”—यशै. १:११-१६.
१६. हाम्रो बलिदान यहोवाको लागि स्वीकार्य हुने/नहुने कुरा केले निर्धारण गर्छ?
१६ अपश्चात्तापी पापीहरूको बलिदानदेखि यहोवा खुसी हुनुभएन। तथापि परमेश्वरको आज्ञाअनुसार चल्न प्रयास गर्नेहरूको प्रार्थना र बलिदानहरू भने उहाँको लागि स्वीकार्य हुन्थ्यो। व्यवस्थाको ढाँचाले यस्ता व्यक्तिहरूलाई तिनीहरू पापी छन् अनि तिनीहरूलाई क्षमाको खाँचो छ भन्ने कुरा सिकायो। (गला. ३:१९) आफू पापी भएको कुरा महसुस गरेकोले तिनीहरू मनैदेखि पश्चात्तापी भए। त्यसैगरि आज हामीले पनि आफूलाई येशूको बलिदानको आवश्यकता छ भनी बुझ्नुपर्छ, जुन बलिदानको आधारमा हामीले पापको क्षमा पाउन सक्छौं। यो कुरा बुझ्यौं र यसको कदर गऱ्यौं भने यहोवाको सेवामा हामीले चढाएको हरेक कुरामा यहोवा “मग्न” हुनुहुनेछ।— भजन ५१:१७, १९ पढ्नुहोस्।
येशूको बलिदानमा विश्वास गर्नुहोस्
१७-१९. (क) येशूको फिरौतीको बलिदानप्रति हामी साँच्चै कृतज्ञ छौं भनेर यहोवालाई कसरी देखाउन सक्छौं? (ख) अर्को लेखमा कुन कुरा छलफल गर्नेछौं?
१७ प्रथम शताब्दीअघिका मानिसहरूसित परमेश्वरको उद्देश्यको “छाया” मात्र थियो। तर आज हामीले भने त्यतिमै चित्त बुझाउनु पर्दैन। (हिब्रू १०:१) बलिदानसम्बन्धी नियमहरूले इस्राएलीहरूलाई परमेश्वरसित असल सम्बन्ध विकास गर्न के गर्नु आवश्यक छ भनेर सिकायो। तिनीहरू उहाँप्रति कृतज्ञ हुनुपर्थ्यो, उहाँलाई सबैभन्दा असल कुरा दिन इच्छुक हुनुपर्थ्यो अनि आफूहरूलाई क्षमाको आवश्यकता छ भनी बुझ्नुपर्थ्यो। येशूको फिरौतीको बलिदानमार्फत यहोवाले पाप र मृत्युको असरलाई सदाको लागि नामेट पार्नुहुनेछ र यसै फिरौतीमार्फत अहिले पनि हामी यहोवासामु सफा अन्तस्करण कायम राख्न सक्छौं भनी बुझ्न ख्रीष्टियन ग्रीक धर्मशास्त्रले हामीलाई मदत गर्छ। येशूको फिरौतीको बलिदान साँच्चै एउटा मायालु प्रबन्ध हो!—गला. ३:१३; हिब्रू ९:९, १४.
१८ फिरौतीको बलिदानबाट लाभ उठाउन यसबारे सतही ज्ञान लिनु मात्र पर्याप्त छैन। प्रेषित पावलले लेखे, “मोशाको व्यवस्था ख्रीष्टसम्म पुऱ्याउने हाम्रो अभिभावक बनेको छ ताकि विश्वासले गर्दा हामी परमेश्वरको नजरमा असल ठहरिन सकौं।” (गला. ३:२४) अनि यस्तो विश्वास कामबाट देखिन्छ। (याकू. २:२६) प्रथम शताब्दीका यहूदी ख्रीष्टियनहरूसँग मोशाको व्यवस्थाको ज्ञान भएकोले तिनीहरूले सत्यको ढाँचा बुझेका थिए। त्यसकारण आफूले सिकेको कुराअनुसार चल्न पावलले तिनीहरूलाई आग्रह गरे। त्यसो गरेमा आफूले अरूलाई सिकाइरहेको परमेश्वरको सिद्धान्तअनुसार तिनीहरू आफै पनि चलिरहेका हुनेथिए।— रोमी २:२१-२३ पढ्नुहोस्।
१९ हुनत आजका ख्रीष्टियनहरू मोशाको व्यवस्थाको अधीनमा छैनन्। तैपनि तिनीहरूले यहोवाले स्वीकार्ने बलिदान चढाउनुपर्छ। हामी कसरी यसो गर्न सक्छौं? यसबारे आउँदो लेखमा छलफल गर्नेछौं।
[पृष्ठ १७-मा भएको ठूलो अक्षरको क्याप्सन]
यहोवाले आफ्ना सेवकहरूबाट माग गर्नुहुने आधारभूत आवश्यकता कहिल्यै परिवर्तन हुँदैन
[पृष्ठ १८-मा भएको चित्र]
तपाईं यहोवालाई यीमध्ये कुनचाहिं जनावर चढाउनुहुने थियो?
[पृष्ठ १९-मा भएको चित्र]
यहोवालाई स्वीकार्य हुने बलिदान चढाउनेहरूले उहाँको अनुमोदन पाउँछन्