संसारको अन्त यसबारे मानिसहरू के भन्छन्?
“संसारको अन्त।” यो सुन्दा तपाईंको मनमा के आउँछ? सायद तपाईं कुनै भयङ्कर विपत्तिबारे सोच्नुहुन्छ होला। बाइबलमा प्रयोग गरिएको “आरमागेडोन” वा “हार-मागेडोन” शब्दले पनि यस्तै विपत्तिलाई बुझाउँछ भनी कोही-कोही सोच्छन्। हुन त “आरमागेडोन” भन्ने शब्द बाइबलमा एक पटक मात्र प्रयोग गरिएको छ तर पत्र-पत्रिका तथा समाचारहरूमा यो शब्द निकै प्रयोग गरिएको पाइन्छ।
के संसारको अन्तबारे आम मानिसहरूको धारणा बाइबलको शिक्षासित मेल खान्छ? यसको जवाफ थाह पाइराख्नु राम्रो हो। किन? किनभने संसारको अन्तबारे सत्य कुरा थाह पाउँदा तपाईं अनावश्यक डरबाट मुक्त हुन सक्नुहुन्छ, भविष्यप्रति आशावादी हुन सक्नुहुन्छ र परमेश्वरप्रति तपाईंको दृष्टिकोणमा पनि यसले फरक पार्न सक्छ।
अब छलफल गरिने तीन वटा प्रश्न विचार गर्नुहोस् र संसारको अन्तबारे (वा आरमागेडोनबारे) आम मानिसले राख्ने धारणालाई बाइबलको शिक्षासित तुलना गर्नुहोस्।
१. के आरमागेडोन मानिसले निम्त्याएको विपत्ति हो?
पत्रकार र अनुसन्धानकर्ताहरू मानिसले निम्त्याएका विपत्तिहरूलाई अक्सर “आरमागेडोन” भन्ने गर्छन्। उदाहरणको लागि, कसै-कसैले पहिलो र दोस्रो विश्वयुद्धलाई आरमागेडोन भनेका छन्। ती युद्धहरूपछि संयुक्त राज्य अमेरिका र सोभियत संघले एकअर्कालाई आणविक हातहतियारले प्रहार गर्ने हुन् कि भन्ने डर मानिसहरूमा छाएको थियो। त्यो सम्भाव्य खतरालाई सञ्चारमाध्यमले “आणविक आरमागेडोन” भन्ने नाम दिएको थियो। प्रदुषणको कारण मौसममा आउन सक्ने आमूल परिवर्तनबारे चिन्तित केही अनुसन्धानकर्ताले “वातावरणीय आरमागेडोन”-बारे चेतावनी दिइरहेका छन्।
मानिसहरूको धारणा: पृथ्वी र यसमा भएका सबै जीवित प्राणीको भविष्य कस्तो हुने हो, त्यो मानिसकै हातमा छ। मानव सरकारहरूले बुद्धिमानी निर्णय गर्न सकेनन् भने एक दिन पृथ्वी ध्वस्त हुनेछ।
बाइबलले के सिकाउँछ: परमेश्वरले मानिसहरूलाई पृथ्वी विनाश गर्न दिनुहुनेछैन। यहोवालेa पृथ्वी “व्यर्थको वस्तु” बनाउनुभएको होइन भनेर बाइबल हामीलाई आश्वासन दिन्छ। बरु “उहाँले त्यो आबाद गर्नलाई बनाउनुभयो।” (यशैया ४५:१८) पृथ्वीलाई मानिसद्वारा नाश हुन दिनुको साटो परमेश्वरले “पृथ्वीका विनाशकारीहरूलाई विनाश गर्ने” प्रतिज्ञा गर्नुभएको छ।—प्रकाश ११:१८.
२. के आरमागेडोन कुनै प्राकृतिक प्रकोप हो?
ठूल-ठूला प्राकृतिक प्रकोपलाई पत्रकारहरू कहिलेकाहीं “आरमागेडोन” भन्ने नाम दिन्छन्। जस्तै: सन् २०१० मा हाइटीमा एउटा ठूलो भूकम्प गयो। त्यसले निम्त्याएको दुःखकष्ट र जनधनको क्षति बयान गरेर साध्य थिएन। त्यसकारण एउटा रिपोर्टले त्यसलाई “हाइटीको ‘आरमागेडोन’” भनेको थियो। विगतका नराम्रा घटनाहरूलाई मात्र नभई भविष्यमा हुन सक्ने घटनाहरूलाई पनि सञ्चारकर्मी तथा चलचित्र निर्माताहरू “आरमागेडोन” भन्ने गर्छन्। पृथ्वीमा कुनै ग्रह ठोकिंदा हुनसक्ने खतरालाई बुझाउन पनि तिनीहरूले “आरमागेडोन” शब्द चलाएका छन्।
मानिसहरूको धारणा: आरमागेडोनले निर्दोष मानिसहरूलाई अन्धाधुन्ध मार्छ। यसबाट बच्न असम्भव छ।
बाइबलले के सिकाउँछ: आरमागेडोन भनेको मानिसहरूलाई अन्धाधुन्ध मार्ने विपत्ति होइन। दुष्ट मानिसहरू मात्रै आरमागेडोनमा नाश हुनेछन्। बाइबलले यस्तो प्रतिज्ञा गरेको छ: “थोरै बेरपछि, दुष्ट रहनेछैन। तैंले त्यसको ठाउँ राम्ररी हेरे तापनि त्यो पटक्कै रहनेछैन।”—भजन ३७:१०.
३. के आरमागेडोनमा परमेश्वरले पृथ्वीलाई नाश गर्नुहुनेछ?
धर्ममा आस्था राख्ने थुप्रै मानिसको विश्वासअनुसार एक दिन असल र खराबबीचको महायुद्ध हुनेछ र पृथ्वीको विनाश गरिनेछ। अमेरिकामा गरिएको एउटा सर्वेक्षणमा भाग लिनेहरूमध्ये ४० प्रतिशत वयस्क “आरमागेडोनको युद्ध”-मा संसारको अन्त हुनेछ भनेर विश्वास गर्छन्।
मानिसहरूको धारणा: मानिसहरू पृथ्वीमा सधैंभरि बाँच्नका लागि बनाइएका होइनन्। पृथ्वी पनि कहिल्यै नाश नहुने गरी बनाइएको होइन। परमेश्वरले मानिसलाई एक दिन मर्नै पर्ने गरी बनाउनुभएको हो।
बाइबलले के सिकाउँछ: पृथ्वीबारे बाइबल स्पष्टसित यसो भन्छ: ‘त्यो कहिल्यै नडगमगाओस् भनेर परमेश्वरले पृथ्वीको जग बसाल्नुभयो।’ (भजन १०४:५) पृथ्वीका बासिन्दाबारे बाइबल यसो भन्छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।”—भजन ३७:२९.
कुरा स्पष्ट छ, आरमागेडोनबारे आम मानिसको धारणा बाइबलको शिक्षासित मेल खाँदैन। त्यसोभए आरमागेडोन वास्तवमा के हो त? (w12-E 02/01)
[फुटनोट]
a परमेश्वरको नाम यहोवा हो भनेर बाइबलमा बताइएको छ।