प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ७/१ pp. ५-७
  • संसारको अन्त यो वास्तवमा के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • संसारको अन्त यो वास्तवमा के हो?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आरमागेडोन भन्‍ने ठाउँमा जम्मा गरियो
  • आरमागेडोन उज्ज्वल भविष्यको थालनी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • आरमागेडोन सबै युद्ध अन्त गर्ने परमेश्‍वरको युद्ध
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
  • के आरमागेडोनको युद्ध इजरायलमा सुरु हुनेछ?—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • आरमागेडोनको युद्ध भनेको के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ७/१ pp. ५-७

संसारको अन्त यो वास्तवमा के हो?

“दुष्ट स्वर्गदूत . . . पृथ्वीभरिका राजाहरूकहाँ गएर . . . ती राजाहरूलाई हिब्रू भाषामा हार-मागेडोन भन्‍ने ठाउँमा जम्मा गरे।”—प्रकाश १६:१४, १६.

आरमागेडोनलाई कहिलेकाहीं हार-मागेडोन पनि भन्‍ने गरिन्छ। यो एउटा ठाउँ-को नाम हो। तर “आरमागेडोन” शब्द युद्धजस्ता घटना-लाई बुझाउन धेरैजसो प्रयोग गरिनुको कारण के हो? यस शब्दको अर्थ वास्तवमा के हो?

आरमागेडोन भन्‍ने ठाउँमा जम्मा गरियो

हार-मागेडोन भन्‍ने मौलिक हिब्रू शब्दको शाब्दिक अर्थ “मगिद्दोको पर्वत” हो। त्यस नामको कुनै पर्वत अस्तित्वमा थिएन तर मगिद्दोचाहिं वास्तविक ठाउँ हो। यो पुरातन इस्राएलको उत्तरपश्‍चिम इलाकामा पर्ने मुख्य चौबाटोमा अवस्थित छ। त्यस ठाउँको छेउछाउमा थुप्रै निर्णायक युद्ध लडिन्थ्यो। त्यसकारण मगिद्दो भन्‍ने नाम युद्धसित जोडिन पुग्यो।a

तथापि, मगिद्दोमा कुन-कुन युद्ध लडियो भन्‍ने कुराभन्दा पनि त्यहाँ किन युद्ध लडियो, त्यो महत्त्वपूर्ण छ। मगिद्दो यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई दिनुभएको देशको भूभागमा अवस्थित थियो। (प्रस्थान ३३:१; यहोशू १२:७, २१) यहोवाले इस्राएलीहरूलाई आक्रमणकारीदेखि जोगाउने प्रतिज्ञा गर्नुभएको थियो र त्यो प्रतिज्ञा उहाँले पूरा गर्नुभयो। (व्यवस्था ६:१८, १९) उदाहरणको लागि, कनानी राजा याबीन र सेनापति सीसराका सेनाले आक्रमण गर्न आउँदा यहोवाले चमत्कारपूर्ण ढङ्‌गमा इस्राएलीहरूलाई बचाउनुभएको ठाउँ मगिद्दो नै थियो।—न्यायकर्त्ता ४:१४-१६.

त्यसकारण “आरमागेडोन” वा “हार-मागेडोन” शब्दको गहिरो प्रतीकात्मक अर्थ छ। यो शब्द दुई शक्‍तिशाली सेनाबीच हुने द्वन्द्वसित सम्बन्धित छ।

बाइबलको प्रकाश भन्‍ने पुस्तकमा गरिएको भविष्यवाणीअनुसार सैतान तथा त्यसका दुष्ट स्वर्गदूतहरूले चाँडै सम्पूर्ण मानव सरकारलाई आ-आफ्ना सेना जम्मा गर्न र परमेश्‍वरका जनलाई आक्रमण गरेर तिनीहरूको कामलाई रोक्न उक्साउनेछन्‌। परमेश्‍वरले ती आक्रमणकारीहरूको प्रतिकार गर्नुहुँदा थुप्रैले आफ्नो ज्यान गुमाउनुपर्नेछ।—प्रकाश १९:११-१८.

बाइबलमा बताइएअनुसार परमेश्‍वर “अनुग्रही, धीरजी र दृढ प्रेमले पूर्ण” हुनुहुन्छ। (नहेम्याह ९:१७) यस्तो परमेश्‍वरले किन त्यत्तिका मानिसहरूको ज्यान जान दिनुहुन्छ त? त्यसबारे बुझ्न हामीले तीन वटा प्रश्‍नको जवाफ पाउनुपर्छ: (१) युद्धको सुरुवात कसले गर्छ? (२) त्यस युद्धमा परमेश्‍वर मुछिनुको कारण के हो? (३) त्यस युद्धपछि पृथ्वी र यसमा बस्ने सबैले कस्तो चिरकालीन लाभ उठाउनेछन्‌?

१. युद्धको सुरुवात कसले गर्छ?

परमेश्‍वरले आफ्नो क्रोध पोखाउनको लागि आरमागेडोनको युद्ध लड्‌नुहुने होइन। बरु, असल मानिसहरूलाई नाश हुनदेखि जोगाउन उहाँले यो युद्ध लड्‌नुहुनेछ। आक्रोशित हुनेहरू त “पृथ्वीभरिका राजाहरू” अर्थात्‌ संसारका नेताहरू हुन्‌। तिनीहरूले किन परमेश्‍वरका जनमाथि आक्रमण गर्छन्‌? किनभने कठपुतली चलाउन सिपालु व्यक्‍तिले जस्तै सैतानले परमेश्‍वरका जनलाई निमिट्यान्‍न पार्न मानव सरकार र सैन्य शक्‍तिलाई उक्साउनेछ।—प्रकाश १६:१३, १४; १९:१७, १८.

आज मानिसहरू आफूले चाहेको कुरा बोल्न र चाहेको धर्म मान्‍न पाउने अधिकारलाई निकै महत्त्व दिन्छन्‌। त्यसकारण सरकारले धार्मिक सङ्‌गठनहरूमाथि आक्रमण गर्ने कुरा असम्भव छ जस्तो देखिन्छ। तथापि यस्ता आक्रमणहरू विगतमा भएका थिए र अहिले पनि भइरहेका छन्‌।b तर अहिले धर्ममाथि भइरहेको आक्रमण र आरमागेडोनको बेला गरिने आक्रमणबीच कम्तीमा पनि दुई वटा उल्लेखनीय भिन्‍नता छन्‌। पहिलो, धर्ममाथि विश्‍वव्यापी तवरमा आक्रमण हुनेछ। दोस्रो, आरमागेडोनको बेला यहोवाले पहिलेभन्दा कता हो कता शक्‍तिशाली कदम चाल्नुहुनेछ। (यर्मिया २५:३२, ३३) बाइबलले त्यस युद्धलाई “सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको लडाइँ” भनेको छ।

२. यस युद्धमा परमेश्‍वर मुछिनुको कारण के हो?

यहोवाले आफ्ना उपासकहरूलाई शान्तिप्रिय हुनू र आफ्ना शत्रुलाई प्रेम गर्नू भनी निर्देशन दिनुभएको छ। (मीका ४:१-३; मत्ती ५:४३, ४४; २६:५२) त्यसकारण आफूमाथि यो भीषण आक्रमण हुँदा समेत परमेश्‍वरका जनले हतियार उठाउनेछैनन्‌। आफ्ना जनलाई जोगाउन परमेश्‍वरले हस्तक्षेप नगर्ने हो भने तिनीहरू विनाश हुनेछन्‌। यसो भयो भने यहोवा परमेश्‍वरको नाममाथि कलङ्‌क लाग्नेछ। यहोवाका जनलाई विनाश गर्न आक्रमणकारीहरू सफल भए भने उहाँ निर्दयी, अन्यायी वा लाचार परमेश्‍वरजस्तो देखिनुहुनेछ। तर यस्तो हुनै सक्दैन।—भजन ३७:२८, २९.

परमेश्‍वर कोही पनि नाश नहोस्‌ भन्‍ने चाहनुहुन्छ, त्यसकारण आफूले चाल्न लागेको कदमबारे उहाँ स्पष्ट चेतावनी दिनुहुन्छ। (२ पत्रुस ३:९) आफ्ना जनमाथि आक्रमण गरिंदा परमेश्‍वरले प्रतिकार गर्नुभएका थुप्रै विवरण बाइबलमा उल्लेख गरिएका छन्‌। (२ राजा १९:३५) भविष्यमा सैतान र त्यसका मानव कठपुतलीहरूले परमेश्‍वरका जनलाई आक्रमण गर्दा तिनीहरूको प्रतिकार गर्न यहोवाले आफ्नो शक्‍ति प्रयोग गर्नुहुनेछ भनी बाइबल चेतावनी दिन्छ। यहोवाले दुष्टहरूलाई नाश गर्नुहुनेछ भनी बाइबलले निकै अघि बताइसकेको थियो। (हितोपदेश २:२१, २२; २ थिस्सलोनिकी १:६-९) त्यतिबेला उहाँ नै सर्वशक्‍तिमान्‌ परमेश्‍वर हुनुहुँदोरहेछ भनेर स्वीकार्न आक्रमणकारीहरू बाध्य हुनेछन्‌।—इजकिएल ३८:२१-२३.

३. यस युद्धपछि पृथ्वी र यसमा बस्ने सबैले कस्तो चिरकालीन लाभ उठाउनेछन्‌?

आरमागेडोनको युद्धमा लाखौं मानिसको ज्यान बचाइनेछ। वास्तवमा यो युद्ध पृथ्वीमा शान्ति छाउने समयको शुभारम्भ हो।—प्रकाश २१:३, ४.

गन्‍नै नसकिने एउटा “ठूलो भीड” आरमागेडोनको युद्धमा बचाइनेछ भनेर प्रकाशको पुस्तक बताउँछ। (प्रकाश ७:९, १४) यहोवाको निर्देशनअनुसार यिनीहरूले नै पृथ्वीलाई फेरि प्रमोदवन बनाउन सघाउनेछन्‌। यसरी उहाँले पृथ्वीको लागि राख्नुभएको सुरुको उद्देश्‍य पूरा हुनेछ।

परमेश्‍वरका जनमाथि कहिले आक्रमण हुनेछ भनेर के हामीलाई थाह छ? (w12-E 02/01)

[फुटनोटहरू]

a कुनै ठाउँलाई युद्धको प्रतीक मान्‍नु अनौठो कुरा होइन। उदाहरणको लागि, दोस्रो विश्‍वयुद्धको बेला आणविक बमद्वारा ध्वस्त पारिएको जापानको हिरोशिमा सहरलाई अहिले आणविक युद्धको खतराको प्रतीक मानिन्छ।

b धार्मिक तथा जातीय समूहलाई नामेट पार्न सरकारले गरेको आक्रमणको एउटा उदाहरण यहूदीहरूलाई खतम गर्न नाजीहरूले गरेको नरसंहार हो। सन्‌ १९१७ देखि १९९१ बीच सोभियत संघले धार्मिक समूहहरूमाथि निकै थिचोमिचो गरेको थियो।

[पृष्ठ ६-मा भएको चित्र]

विगतमा यहोवाले आफ्ना जनको सुरक्षा गर्नुभयो

[पृष्ठ ७-मा भएको चित्र]

आरमागेडोनको युद्धमा यहोवाले फेरि आफ्ना जनको सुरक्षा गर्नुहुनेछ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने