प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w13 १०/१५ pp. १२-१६
  • “यहोवाको दास बनेर उहाँको सेवा गर”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “यहोवाको दास बनेर उहाँको सेवा गर”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मालिकप्रतिको प्रेम
  • स्वतन्त्र छौं, तैपनि दास हौं
  • उद्देश्‍यपूर्ण पेसा
  • उच्च शिक्षा कि उत्तम शिक्षा?
  • उत्तम शिक्षाबाट लाभ उठाउनुहोस्‌
  • दासले पाउने इनाम
  • “तिमीहरू दाम तिरेर किनिएका हौ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • के परमेश्‍वरले दासप्रथाको भर्त्सना गर्नुहुन्छ?
    ब्यूँझनुहोस्‌!—२००१
  • दासत्व विरुद्ध लामो संघर्ष
    ब्यूँझनुहोस्‌!—२००२
  • उद्देश्‍य सहितको शिक्षा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
w13 १०/१५ pp. १२-१६

“यहोवाको दास बनेर उहाँको सेवा गर”

“आफ्नो काममा आलटाल नगर। . . . यहोवाको दास बनेर उहाँको सेवा गर।”—रोमी १२:११.

तपाईंको विचार कस्तो छ?

  • रोमी १२:११ मा कस्तो किसिमको दासत्वबारे उल्लेख गरिएको छ?

  • सैतानको र त्यसको अधीनमा रहेको संसारको दास नहुन हामी के गर्न सक्छौं?

  • यहोवा आफ्ना दासहरूलाई के-कस्ता इनाम दिनुहुन्छ?

१. दास भन्‍नेबित्तिकै धेरैजसोले के सोच्छन्‌? तर रोमी १२:११ मा उल्लेख गरिएको दासत्व कसरी भिन्‍न छ?

दास। यो शब्द सुन्‍नेबित्तिकै धेरैजसोले मालिकको शोषणमा परेका मानिसहरूबारे सोच्छन्‌। तर परमेश्‍वरको दास हुनुको अर्थ एकदमै फरक छ। बाइबलअनुसार ख्रीष्टियनहरूले राजीखुसीले मायालु मालिकको दास बन्‍ने छनौट गर्न सक्छन्‌। वास्तवमा प्रेषित पावलले ख्रीष्टियनहरूलाई “यहोवाको दास” बन्‍न प्रोत्साहन दिंदा प्रेमले उत्प्रेरित भएर उहाँको सेवा गर्नू भनिरहेका थिए। (रोमी १२:११) यहोवाको दास हुनुमा के समावेश छ? सैतानको र त्यसको अधीनमा रहेको संसारको दास नहुन हामी के गर्न सक्छौं? यहोवाको दास बन्दा अनि वफादार भई उहाँको सेवा गर्दा हामीलाई के-कस्ता फाइदा हुन्छन्‌?

मालिकप्रतिको प्रेम

२. (क) हिब्रू दासले किन मालिकसितै बस्ने निर्णय गर्न सक्थ्यो? (ख) आफ्नो कान छेड्‌न इच्छुक भएर दासले कुन कुरा देखाउँथ्यो?

२ यहोवाले इस्राएलीहरूलाई दिनुभएको व्यवस्थाले यहोवाको दास बन्‍न के चाहिन्छ भनी बुझ्न मदत गर्छ। सामान्यतया मालिकको सेवा गरेको सातौं वर्षमा हिब्रू दास स्वतन्त्र हुन्थ्यो। (व्यव. १५:१२) तर दासले मालिकलाई साँच्चै प्रेम गरेमा अनि तिनलाई छोडेर जान नचाहेमा ऊ त्यहीं बस्न सक्थ्यो। व्यवस्थामा त्यस्तो प्रबन्ध मिलाइएको थियो। मालिकले दासलाई ढोका वा ढोकाको संघारमा ल्याउँथ्यो र उसको कान छेडिदिन्थ्यो। (व्यव. १५:१६, १७) किन? यसो गर्दा दास मालिकसितै बस्न र आज्ञाकारी भई तिनको सेवा गरिरहन चाहेको देखिन्थ्यो। हाम्रो समर्पण पनि त्यस्तै हो। यहोवालाई जीवन समर्पण गर्दा उहाँप्रतिको प्रेमले उत्प्रेरित भएर उहाँको इच्छाअनुसार चल्न चाहेको देखाइरहेका हुन्छौं।

३. हामी किन यहोवालाई जीवन समर्पण गर्छौं?

३ बप्तिस्मा गर्नुअघि नै हामीले यहोवाको दास बनेर उहाँको सेवा गर्ने निर्णय गरिसकेका थियौं। उहाँलाई जीवन समर्पण गर्दा उहाँको आज्ञा पालन गर्ने र उहाँले चाहेअनुसार गर्ने वाचा गरेका थियौं। कसैको करकापमा परेर हामीले त्यस्तो निर्णय गरेका थिएनौं। साना केटाकेटीले समेत राजीखुसीले बप्तिस्मा गर्छन्‌, आमाबाबुलाई खुसी पार्न मात्र होइन। स्वर्गमा हुनुहुने हाम्रा मालिक यहोवालाई माया गरेकोले नै आफ्नो जीवन उहाँमा समर्पण गर्ने निर्णय गर्छौं। प्रेषित यूहन्‍नाले यस्तो लेखे: “परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै उहाँलाई प्रेम गर्नु हो र उहाँका आज्ञाहरू बोझिला छैनन्‌।”—१ यूह. ५:३.

स्वतन्त्र छौं, तैपनि दास हौं

४. “परमेश्‍वरको स्तरबमोजिमको असल कामको दास” बन्‍न हामीले के गर्नुपर्छ?

४ यहोवाले हामीलाई उहाँको दास बन्‍ने मौका दिनुभएकोमा हामी कृतज्ञ छौं। ख्रीष्टको फिरौतीको बलिदानमा विश्‍वास गरेकोले हामी पापको दासत्वबाट मुक्‍त भएका छौं। यसको अर्थ, त्रुटिपूर्ण भए तापनि हामीले यहोवा र येशूलाई मालिक स्वीकारेर उहाँहरूको आज्ञा पालन गर्ने निर्णय गऱ्‍यौं। पावलले आफ्नो पत्रमा यो कुरा स्पष्ट पारे। उनले भने: “पापको लागि आफू मरिसकेको छु तर ख्रीष्ट येशूमार्फत परमेश्‍वरको लागि जीवित छु भनी सम्झ।” त्यसपछि उनले यस्तो चेतावनी दिए: “के तिमीहरूलाई थाह छैन, कसैको आज्ञा मान्‍न तिमीहरूले आफूलाई उसको दासको रूपमा सुम्पिरहन्छौ भने तिमीहरू उसैको दास हुन्छौ किनभने तिमीहरू उसको आज्ञा मान्छौ? त्यसैगरि तिमीहरू कि त मृत्युको लागि पापको दास वा असल कामको लागि आज्ञाकारिताको दास बन्छौ। तर परमेश्‍वरलाई धन्यवाद छ, किनभने तिमीहरू पापका दास थियौ तर तिमीहरू त्यस शिक्षाप्रति मनैदेखि आज्ञाकारी भयौ, जुन तिमीहरूलाई सुम्पिइएको थियो। हो, तिमीहरूलाई पापबाट स्वतन्त्र गरिएकोले तिमीहरू परमेश्‍वरको स्तरबमोजिमको असल कामको दास बन्यौ।” (रोमी ६:११, १६-१८) याद गर्नुहोस्‌, पावलले हामी “मनैदेखि आज्ञाकारी” हुनुपर्छ भने। त्यसकारण यहोवालाई जीवन समर्पण गर्दा हामी “परमेश्‍वरको स्तरबमोजिमको असल कामको दास” बन्छौं।

५. हामी सबैले कुन कुराविरुद्ध लड्‌नुपर्छ र किन?

५ यहोवामा समर्पित दासको रूपमा हामीले दुई किसिमका युद्ध लड्‌नै पर्छ। पहिलो हो, हाम्रो त्रुटिपूर्ण अवस्थाविरुद्ध। पावलले पनि आफ्नो त्रुटिपूर्ण अवस्थासित लड्‌नुपरेको थियो। उनले भने: “परमेश्‍वरको व्यवस्थामा म मनैदेखि साँच्चै आनन्द गर्छु। तर म आफ्नो शरीरका अङ्‌गहरूमा बेग्लै खालको नियम पाउँछु, जसले मेरो दिमागको व्यवस्थासँग युद्ध गर्छ। अनि मेरो शरीरका अङ्‌गहरूमा बास गर्ने पापको व्यवस्थाले मलाई बन्दी बनाउने गर्छ।” (रोमी ७:२२, २३) त्रुटिपूर्ण भएकोले शरीरको अभिलाषाविरुद्ध अर्थात्‌ परमेश्‍वरलाई मन नपर्ने काम गर्ने लालसाविरुद्ध लडिरहनै पर्छ। प्रेषित पत्रुसले यस्तो आग्रह गरे: “स्वतन्त्र मानिसहरूझैं बाँच तर आफ्नो स्वतन्त्रतालाई खराब काम गर्ने आड नबनाओ, बरु तिमीहरू परमेश्‍वरका दासहरूझैं चल।”—१ पत्रु. २:१६.

६, ७. सैतानले संसारलाई कसरी एकदमै रहरलाग्दो देखाइदिन्छ?

६ हामीले लड्‌नुपर्ने दोस्रो युद्ध हो: दुष्ट स्वर्गदूतहरूको अधीनमा रहेको यो संसारविरुद्ध। सैतान यस संसारको शासक हो अनि यहोवा र येशूप्रतिको हाम्रो वफादारी तोड्‌न त्यसले हर किसिमको हतियार प्रयोग गर्छ। यस संसारको भाग हुने प्रलोभनमा पारेर सैतान हामीलाई आफ्नो दास बनाउन चाहन्छ। (एफिसी ६:११, १२ पढ्‌नुहोस्‌) संसारलाई एकदमै रहरलाग्दो देखाउनु त्यसका विभिन्‍न चालमध्ये एक हो। त्यसकारण प्रेषित यूहन्‍ना हामीलाई यस्तो चेतावनी दिन्छन्‌: “यदि कसैले संसारलाई प्रेम गर्छ भने बुबाको प्रेम उसमा हुँदैन; किनकि संसारमा भएको जुनसुकै थोक, अर्थात्‌ शरीरको अभिलाषा, आँखाको अभिलाषा र तडकभडक बुबाबाट होइन तर संसारबाट आउँछ।”—१ यूह. २:१५, १६.

७ संसारभरि नै मानिसहरू धेरैभन्दा धेरै भौतिक साधन हासिल गर्न चाहन्छन्‌। साथमा टन्‍न पैसा छ भने खुसी हुन सकिन्छ भनेर मानिसहरूले विश्‍वास गरेको सैतान चाहन्छ। अहिले जताततै ठूलठूला मलहरू देखिन्छन्‌। प्रशस्तै सरसामान हुनु अनि मोजमस्ती गर्नु नै सबैभन्दा महत्त्वपूर्ण हो भन्‍ने भान विज्ञापनले पारिदिन्छ। उदाहरणको लागि, ट्राभल एजेन्सीले रमाइला ठाउँहरूमा घुम्न जाने विज्ञापन निकाल्छ। तर यस्तो समूहमा घुम्न जाँदा सांसारिक मानिसहरूसित सङ्‌गत गर्नुपर्ने हुन्छ। हो, हामीले चारैतिरबाट आफ्नो जीवनशैली परिवर्तन गर्ने दबाब सामना गर्नुपर्छ, त्यो पनि संसारले चाहेअनुसारको।

८, ९. हामीसामु कस्तो खतरा छ र किन?

८ प्रथम शताब्दीमा मण्डलीका केही व्यक्‍तिहरूले संसारको जस्तै सोचाइ राख्न थालेका थिए। त्यसैले पत्रुसले ख्रीष्टियनहरूलाई होसियार गराए। तिनले भने: “दिनदहाडै विलासितामा डुब्न तिनीहरूलाई मज्जा लाग्छ। तिनीहरू दाग अनि खोट हुन्‌ अनि तिमीहरूसित भोज खाँदै झूटा कुराहरू गरेर तिमीहरूलाई बहकाउन पाउँदा तिनीहरू असाध्यै खुसी हुन्छन्‌। किनकि तिनीहरू बेमतलबका ठूलठूला कुरा गर्छन्‌ अनि गलत काम गर्ने मानिसहरूमाझबाट भर्खरै निस्केर आएका मानिसहरूलाई शरीरका कुइच्छाहरू अनि छाडा बानीबेहोराद्वारा फसाउँछन्‌। तिनीहरू स्वतन्त्रता दिने प्रतिज्ञा गर्छन्‌ तर आफै भने भ्रष्टताका दासहरू हुन्‌। किनकि जो अरूको अधीनमा बस्छ, ऊ त्यसैको दास हुन्छ।”—२ पत्रु. २:१३, १८, १९.

९ “आँखाको अभिलाषा” तृप्त पार्ने प्रयास गऱ्‍यौं अर्थात्‌ देखेजति सबै पाउन खोज्यौं भने हामी स्वतन्त्र हुँदैनौं। बरु यस संसारको अदृश्‍य शासक सैतानको दास बन्‍न पुग्छौं। (१ यूह. ५:१९) भौतिकवादको दास हुन पुग्नु ख्यालठट्टा होइन, वास्तविकता हो। यस्तो दासत्वमा परेपछि उम्कन असाध्यै गाह्रो हुन्छ।

उद्देश्‍यपूर्ण पेसा

१०, ११. सैतान कसलाई आफ्नो मुख्य तारो बनाउन चाहन्छ? उच्च शिक्षा हासिल गर्न खोज्दा ख्रीष्टियन केटाकेटी तथा किशोरकिशोरी कस्तो खतरामा पर्न सक्छन्‌?

१० सैतानले कम अनुभवीहरूलाई आफ्नो निसाना बनाउँछ। त्यसमा पनि केटाकेटी तथा किशोरकिशोरीलाई त्यसले आफ्नो मुख्य तारो बनाउन चाहन्छ। केटाकेटी वा अरू कसैले यहोवाको दास बन्‍ने निर्णय गर्दा त्यो खुसी हुँदैन। यहोवालाई जीवन समर्पण गरेकाहरू उहाँप्रति वफादार हुनदेखि अनि उहाँको भक्‍ति गर्नदेखि चुकेको सैतान चाहन्छ।

११ आउनुहोस्‌, फेरि हिब्रू दासको कुरा गरौं। कान छेड्‌दा उसलाई पक्कै पनि पीडा हुन्थ्यो। तर त्यसो गर्दा ऊ आफ्नो मालिकसितै बस्न चाहेको कुरा अरूले देख्न सक्थे। त्यसैगरि केटाकेटी तथा किशोरकिशोरीहरूलाई पनि साथीहरूले भन्दा भिन्‍नै छनौट गर्नुपर्दा गाह्रो वा पीडादायी हुन सक्छ। सैतानले सांसारिक पेसा अँगाल्दा मात्र जीवन उद्देश्‍यपूर्ण हुन्छ भन्‍ने सोचाइलाई बढावा दिन्छ तर जीवन उद्देश्‍यपूर्ण बनाउने एउटै मात्र तरिका यहोवालाई आफ्नो जीवनको अभिन्‍न भाग बनाउनु हो। येशूले भन्‍नुभयो: “आनन्दित हुन्‌ ती मानिसहरू, जसले परमेश्‍वरको मार्गनिर्देशनको खाँचो महसुस गर्छन्‌।” (मत्ती ५:३) ख्रीष्टियनहरू यहोवाको इच्छाबमोजिम गर्न जीवन समर्पण गर्छन्‌, सैतानको इच्छाबमोजिम गर्न होइन। तिनीहरू “दिनरात” अर्थात्‌ नियमित रूपमा बाइबल पढ्‌छन्‌ र मनन गर्छन्‌। (भजन १:१-३ पढ्‌नुहोस्‌) तर उच्च शिक्षा हासिल गर्न खोज्दा परमेश्‍वरको वचनमा मनन गर्ने र उहाँको सेवा गर्ने समय नै रहँदैन।

१२. अहिले थुप्रै किशोरकिशोरीसामु कस्तो छनौट छ?

१२ सांसारिक मालिकले ख्रीष्टियन दासको जीवनलाई कठिन बनाइदिन सक्छ। कोरिन्थीहरूलाई लेखेको पहिलो पत्रमा पावलले यसो भने: “के तिमी दास छँदा बोलाइएका थियौ? त्यसोभए त्यसको चिन्ता नगर। बरु यदि तिमी पनि स्वतन्त्र हुन सक्छौ भने मौकाको फाइदा उठाऊ।” (१ कोरि. ७:२१) सांसारिक मालिकले दासको जीवन कठिन बनाइदिएको भए स्वतन्त्र हुनु नै उसको लागि उचित हुन्थ्यो। आज प्रायजसो मुलुकमा विद्यार्थीले निश्‍चित उमेरसम्म शिक्षा लिनै पर्ने नियम छ। त्यसपछि भने अझै पढ्‌ने या नपढ्‌ने, तिनीहरू आफैले छनौट गर्न सक्छन्‌। तर सांसारिक पेसा अँगाल्न उच्च शिक्षा हासिल गर्ने छनौट गर्दा पूर्ण-समय यहोवाको सेवा गर्न असम्भवै हुन सक्छ।—१ कोरिन्थी ७:२३ पढ्‌नुहोस्‌।

तपाईं कसको दास बन्‍न चाहनुहुन्छ?

उच्च शिक्षा कि उत्तम शिक्षा?

१३. यहोवाका सेवकहरूका लागि कस्तो शिक्षा उपयुक्‍त हुन्छ?

१३ कलस्सीका ख्रीष्टियनहरूलाई पावलले यस्तो चेतावनी दिए: “होसियार बस, कसैले तिमीहरूलाई मानव दर्शनका साथै खोक्रो अनि छली विचारधाराहरूद्वारा आफ्नो शिकार नबनाओस्‌, किनकि यस्ता कुराहरू मानिसहरूको परम्परा अनि संसारका आधारभूत कुराहरूमा आधारित हुन्छन्‌, ख्रीष्टको शिक्षामा होइन।” (कल. २:८) थुप्रै शिक्षकहरू मानिसहरूको परम्परामा आधारित “खोक्रो अनि छली विचारधाराहरू” सिकाउँछन्‌। उच्च शिक्षा अक्सर यसैमा आधारित हुन्छ। विद्यार्थीलाई व्यावहारिक सीप सिकाइँदैन र तिनीहरू भावी जीवनको लागि तयार हुँदैनन्‌। तर ख्रीष्टियनहरू भने सरल जीवन बिताउँदै यहोवाको सेवा गर्न मदत दिने सीपमूलक शिक्षा लिन्छन्‌। उनीहरू पावलले तिमोथीलाई दिएको यो सल्लाह गम्भीरतासाथ लिन्छन्‌: “हो, धेरै लाभ पाउन सकिन्छ तर त्यसको लागि आफूसित जे छ, त्यसैमा सन्तुष्ट भएर परमेश्‍वरको भक्‍ति गर्नुपर्छ। त्यसैले, खान, लाउन र बस्न पाएपछि हामी त्यसैमा सन्तुष्ट हुनेछौं।” (१ तिमो. ६:६, ८) साँचो ख्रीष्टियनहरू डिग्री हासिल गर्न र उच्च ओहदामा पुग्न खोज्दैनन्‌। बरु प्रचारमा सक्दो भाग लिएर “सिफारिस-पत्र” पाउने प्रयास गर्छन्‌।—२ कोरिन्थी ३:१-३ पढ्‌नुहोस्‌।

१४. यहोवा र येशूको दास बन्‍ने सन्दर्भमा पावलको धारणाबारे फिलिप्पी ३:८ बाट के सिक्छौं?

१४ हामी पावलले बसालेको उदाहरणबाट सिक्न सक्छौं। उनी मोशाको व्यवस्थामा पोख्त गमलिएलका चेला थिए। पावलले पाएको शिक्षालाई अहिले विश्‍वविद्यालयमा दिइने शिक्षासित तुलना गर्न सकिन्छ। तर यहोवा र येशूको दास बन्‍ने सम्मानको तुलनामा आफूले पाएको शिक्षालाई उनले कस्तो ठाने? उनले लेखे: “मेरा प्रभु ख्रीष्ट येशूको ज्ञानको उत्कृष्ट मोलसामु सबै कुरालाई म हानिको सम्झन्छु।” उनले यस्तो पनि लेखे: “उहाँको खातिर मैले सबै हानि बेहोरेको छु अनि ती कुराहरूलाई रद्दी ठान्छु, ताकि मैले ख्रीष्टलाई प्राप्त गर्न सकूँ।” (फिलि. ३:८) पावलको धारणाले किशोरकिशोरी र तिनीहरूका आमाबाबुलाई शिक्षाको सन्दर्भमा बुद्धिमान्‌ छनौट गर्न मदत गर्छ। (चित्र हेर्नुहोस्‌)

उत्तम शिक्षाबाट लाभ उठाउनुहोस्‌

१५, १६. यहोवाको सङ्‌गठनले कस्तो शिक्षा दिन्छ र यस्तो शिक्षाको उद्देश्‍य के हो?

१५ अहिले प्रायजसो विश्‍वविद्यालयको वातावरण कस्तो छ? विश्‍वविद्यालयमा अक्सर खुलेआम विद्रोह गरिन्छ अनि सरकार र अख्तियारमा भएका अन्य मानिसप्रति रोष प्रकट गरिन्छ। (एफि. २:२) तर यहोवाको सङ्‌गठनले भने मण्डलीको शान्त वातावरणमा सबैभन्दा उत्तम शिक्षा दिन्छ। ईश्‍वरतान्त्रिक सेवा स्कूलबाट हामी सबैले प्रत्येक हप्ता लाभ उठाउन सक्छौं। हामीले लाभ उठाउन सक्ने अन्य स्कूल पनि छन्‌। जस्तै, अविवाहित अग्रगामी भाइहरू (अविवाहित भाइहरूका लागि बाइबल स्कूल) तथा विवाहित अग्रगामी दम्पतीहरूका लागि (ख्रीष्टियन दम्पतीहरूका लागि बाइबल स्कूल) विशेष स्कूलको प्रबन्ध गरिएको छ। यी स्कूलहरूले स्वर्गमा हुनुहुने हाम्रा मालिक यहोवाप्रति आज्ञाकारी हुन मदत गर्छ।

१६ वाच टावर प्रकाशन सूची (अङ्‌ग्रेजी), सीडी रोममा उपलब्ध यहोवाका साक्षीहरूको पुस्तकालय (अङ्‌ग्रेजी) अथवा हाम्रो वेब साइटमा भएको प्रहरीधरहरा अनलाइन पुस्तकालय-मा बाइबल सत्यका थुप्रै अनमोल रत्न भेट्टाउन सक्छौं। यस्तो शिक्षा लिनुको मुख्य उद्देश्‍य यहोवाको उपासना गर्नु हो। यस्तो शिक्षा लिएपछि अरूलाई यहोवाको साथी बन्‍न मदत दिन सक्छौं। (२ कोरि. ५:२०) अनि उनीहरू पनि अरूलाई सिकाउन सक्षम हुन्छन्‌।—२ तिमो. २:२.

दासले पाउने इनाम

१७. उत्तम शिक्षा लिने छनौट गर्दा के-कस्ता इनाम पाउन सक्छौं?

१७ येशूले बताउनुभएको तोडाको दृष्टान्तमा दुई जना वफादार दासको काम देखेर मालिक खुसी भए र तिनीहरूलाई स्याबासी दिए। यस्तो इनाम पाएर दासहरू पनि खुसी भए। दासहरूमाथि आफ्नो अनुमोदन छ भनेर देखाउन मालिकले तिनीहरूलाई थप जिम्मेवारी दिए। (मत्ती २५:२१, २३ पढ्‌नुहोस्‌) उत्तम शिक्षा लिने छनौट गऱ्‍यौं भने हामी खुसी हुन्छौं, हाम्रो जीवन उद्देश्‍यपूर्ण हुन्छ। माइकलको अनुभव विचार गर्नुहोस्‌। तिनी जेहनदार विद्यार्थी थिए। पछि विश्‍वविद्यालयमा कुन विषय लिएर पढ्‌ने भन्‍नेबारे छलफल गर्न शिक्षकहरूले तिनलाई बोलाए। तर माइकलले उच्च शिक्षा लिने छनौट नगरेको थाह पाउँदा उनीहरू छक्क परे। उच्च शिक्षाको साटो माइकलले व्यावहारिक सीप सिकाउने छोटो तालिम लिए। यस्तो तालिमले गर्दा तिनले आफ्ना आवश्‍यकता पूरा गर्न र अग्रगामी सेवा गर्न सके। तिनलाई ‘गलत निर्णय गरें’ जस्तो लाग्यो कि? बाइबलबाट पाएको शिक्षा अनि मण्डलीको एल्डरको रूपमा पाएको शिक्षा अनमोल साबित भएको तिनी बताउँछन्‌। तिनी भन्छन्‌: “टन्‍नै पैसा कमाउन सक्थें होला। तर अहिले पाएको आशिष्‌ अनि सुअवसरको तुलनामा त्यो केही पनि होइन। उच्च शिक्षा हासिल गर्ने निर्णय नगरेकोमा म एकदमै खुसी छु।”

१८. उत्तम शिक्षा लिने छनौट किन गर्नुपर्छ?

१८ उत्तम शिक्षाले हामीलाई यहोवाको इच्छा बुझ्न अनि उहाँको दास बन्‍न मदत गर्छ। यस्तो शिक्षाले हामीलाई “भ्रष्टताको दासत्वबाट स्वतन्त्र” हुने र अन्तमा “परमेश्‍वरको सन्तानको रूपमा गौरवशाली स्वतन्त्रता” पाउने आशा दिन्छ। (रोमी ८:२१) तर सबैभन्दा महत्त्वपूर्ण कुरा, उत्तम शिक्षा लिंदा हाम्रा मालिक यहोवालाई साँच्चै प्रेम गरेको देखाउन सक्छौं।—व्यव. १५:१६.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने