प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ८/१५ pp. १६-२०
  • यहोवा कसरी हाम्रो नजिक आउनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा कसरी हाम्रो नजिक आउनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आसाको उदाहरणबाट सिक्नुहोस्‌
  • फिरौतीको प्रबन्ध गरेर यहोवाले हामीलाई खिच्नुभएको छ
  • यहोवा हामीलाई आफ्नो वचनद्वारा खिच्नुहुन्छ
  • यहोवादेखि कहिल्यै टाढा नहुनुहोस्‌
  • “तिमीहरूको कामको प्रतिफल तिमीहरूले पाउनेछौ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • शान्ति छाएको समयमा बुद्धिमानी कदम चाल्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • सारा हृदयले यहोवाको सेवा गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • के तपाईं “यहोवा कहाँ हुनुहुन्छ” भनेर सोध्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ८/१५ pp. १६-२०
यहोवासित कसरी नजिक हुने भनेर मनन गर्दै एक बहिनी

यहोवा कसरी हाम्रो नजिक आउनुहुन्छ?

“परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।”—याकू. ४:८.

यी कुराहरूबारे सोच्दा तपाईंलाई कस्तो लाग्छ?

  • उहाँसित नजिक हुन यहोवाले गर्नुभएको आग्रह

  • परमेश्‍वरले मिलाउनु भएको फिरौतीको प्रबन्ध

  • हामीले बुझ्न सक्नेगरि बाइबल लेख्न लगाउनुभएको कुरा

१. मानिसहरूसँग कस्तो इच्छा छ र यो कसरी पूरा हुन्छ?

अरूको नजिक हुने इच्छा सबैसँग हुन्छ। हाम्रो कुरा बुझ्ने, हाम्रो कदर गर्ने अनि हामीलाई माया गर्ने परिवार र साथीहरू पाउँदा हामीलाई खुसी लाग्छ। तर सबैभन्दा नजिकको सम्बन्धचाहिं हाम्रो सृष्टिकर्तासँग गाँस्नुपर्छ।—उप. १२:१.

२. यहोवाले कस्तो आग्रह गर्नुभएको छ तर थुप्रैलाई कस्तो लाग्छ?

२ यहोवा हामीलाई उहाँको ‘नजिक हुन’ आग्रह गर्नुहुन्छ। यसो गऱ्‍यौं भने उहाँ पनि हामीसित “नजिक हुनुहुनेछ।” (याकू. ४:८) यो कुरा थाह पाउँदा हामीलाई कत्ति खुसी लाग्छ! तर थुप्रैले परमेश्‍वर हाम्रो नजिक हुन चाहनुहुन्छ भनेर विश्‍वास गर्न गाह्रो मान्छन्‌। परमेश्‍वरसित नजिक हुन आफू योग्य छैन भनी तिनीहरू सोच्छन्‌ वा परमेश्‍वर नै हामीबाट टाढा हुनुहुन्छ भन्ठान्छन्‌। के यहोवासित नजिक हुन साँच्चै सम्भव छ?

३. यहोवा के गर्न इच्छुक हुनुहुन्छ?

३ परमेश्‍वर “हामीमध्ये कसैबाट पनि टाढा हुनुहुन्‍न।” यहोवाको खोजी गर्नेहरूले उहाँलाई चिन्‍न सक्छन्‌। (प्रेषित १७:२६, २७; भजन १४५:१८ पढ्‌नुहोस्‌) यहोवा त्रुटिपूर्ण मानिसहरूलाई पनि आफ्नो साथी बनाउन इच्छुक हुनुहुन्छ। (यशै. ४१:८; ५५:६) भजनरचयिताले पनि यस्तै अनुभव गरे। उनले यहोवाबारे यस्तो लेखे, “हे प्रार्थना सुन्‍नुहुने, तपाईंकहाँ नै सबै प्राणी आउनेछन्‌। त्यो मानिस धन्यको हो, जसलाई तपाईंले छान्‍नुहुन्छ, र तपाईंकहाँ रहनलाई आउने तुल्याउनुहुन्छ।” (भज. ६५:२, ४) यहूदाका राजा आसा कसरी यहोवाको नजिक भए अनि यहोवा पनि कसरी तिनको नजिक हुनुभयो, त्यसबारे विचार गरौं।a

आसाको उदाहरणबाट सिक्नुहोस्‌

४. यहूदाका मानिसहरूको लागि राजा आसाले कस्तो उदाहरण बसाले?

४ राजा आसाले जोसिलो भई यहोवाको उपासना गरे। तिनी राजा हुँदा मानिसहरूले मूर्तिपूजा अनि मन्दिरमा वेश्‍यावृत्ति गरिरहेका थिए। तिनले ती खराब कुराहरू हटाए। (१ राजा १५:९-१३) तिनी आफै पनि यहोवासित नजिक थिए र उहाँको आज्ञा मान्थे। त्यसैले मानिसहरूलाई यसो भन्‍न सके, ‘यहोवा तिमीहरूका पुर्खाहरूका परमेश्‍वरको अगुवाइ खोज, व्यवस्था र आज्ञा पालन गर।’ आसाले शासन गरेको सुरुको दस वर्षसम्म शान्ति छायो। यहोवाको आशिष्‌ले गर्दा नै शान्ति छाएको हो भनेर तिनले बुझेका थिए। आफ्नो प्रजालाई तिनले यसो भने, “हामीले परमप्रभु हाम्रा परमेश्‍वरको अगुवाइ खोजेका हुनाले उहाँले पनि हामीलाई खोजेर हाम्रा चारैतिर हामीलाई सुरक्षित राख्नुभएको छ।” (२ इति. १४:१-७) त्यसपछि के भयो?

५. आसाले कस्तो परिस्थितिमा पनि यहोवामा भरोसा राखे र के भयो?

५ आफूलाई आसाको ठाउँमा राखेर हेर्नुहोस्‌। कूशी जेरा दस लाख मानिस र तीन सय रथहरू लिएर लडाइँ गर्न आउँदै छन्‌। (२ इति. १४:८-१०) तिनीसँग तपाईंको भन्दा झन्डै दोब्बर सेना छ। तपाईं के गर्नुहुन्छ? यहोवाले किन यो आक्रमण हुन दिनुभयो भनी सोच्नुहुन्छ? आफ्नै बुद्धिमा भर पर्नुहुन्छ कि यहोवामा? आसाले यहोवासितको आफ्नो सम्बन्ध राम्रो भएको र उहाँमा पूर्णतया भर परेको देखाए। आसाले यस्तो व्यग्र बिन्ती गरे, “हे परमप्रभु हाम्रा परमेश्‍वर, हाम्रो सहायता गर्नुहोस्‌, किनभने हामी तपाईंमाथि भर परेका छौं। हामी तपाईंकै नाउँमा यस ठूलो सेनाको विरुद्धमा सामना गर्न आएका छौं। हे परमप्रभु, तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्छ, यसर्थ मानिस कसरी तपाईंको विरुद्धमा खडा हुनसक्छ र?” यहोवाले कसरी जवाफ दिनुभयो? ‘यहोवा कूशीहरूमाथि विजयी हुनुभयो।’ एक जना पनि उम्कन सकेन!—२ इति. १४:११-१३.

६. हामी आसाले जस्तै के गर्न सक्छौं?

६ यहोवाको डोऱ्‍याइ र सुरक्षामा पूरा भरोसा राख्न आसालाई केले मदत गऱ्‍यो? बाइबलले बताएअनुसार “आसाले . . . जे कुरा परमप्रभुको दृष्टिमा असल थियो त्यही गरे” र “जीवनभरिनै परमप्रभुका विश्‍वासी भइरहे।” (१ राजा १५:११, १४) हामीले पनि पूरा हृदयले यहोवाको सेवा गर्नुपर्छ। यहोवासँग नजिक भइरहन चाहन्छौं भने यसो गर्नु एकदमै आवश्‍यक छ। यहोवा आफै अघि सरेर हामीलाई आफूतर्फ खिच्नुभएको छ अनि उहाँसित नजिकको सम्बन्ध गाँस्न र त्यो सम्बन्ध कायम राख्न मदत गर्नुभएको छ। यो देख्दा हामीलाई कत्ति खुसी लाग्छ! हामीलाई आफूतर्फ खिच्न यहोवाले गर्नुभएको दुइटा प्रबन्धबारे विचार गरौं।

फिरौतीको प्रबन्ध गरेर यहोवाले हामीलाई खिच्नुभएको छ

७. (क) हामीलाई आफूतर्फ खिच्न यहोवाले के-के गर्नुभएको छ? (ख) हामीलाई आफूतर्फ खिच्न यहोवाले गर्नुभएको सबैभन्दा महत्त्वपूर्ण प्रबन्ध के हो?

७ हाम्रो सुन्दर घर पृथ्वी सृष्टि गरेर यहोवाले हामीलाई प्रेम देखाउनुभयो। हामीलाई बाँच्नको लागि नभई नहुने कुराहरू दिएर यहोवाले अहिले पनि प्रेम देखाइरहनुभएको छ। (प्रेषि. १७:२८; प्रका. ४:११) त्योभन्दा पनि महत्त्वपूर्ण कुरा उहाँ हाम्रो आध्यात्मिक आवश्‍यकताको ख्याल राख्नुहुन्छ। (लूका १२:४२) हामीले गरेको प्रार्थना उहाँ आफै सुन्‍नुहुन्छ। (१ यूह. ५:१४) तर यहोवाले हामीलाई आफूतर्फ खिच्न प्रयोग गर्नुभएको सबैभन्दा महत्त्वपूर्ण कुरा फिरौतीको प्रबन्ध हो। यो प्रबन्धद्वारा उहाँले हामीलाई प्रेम देखाउनुभएको छ। (१ यूहन्‍ना ४:९, १०, १९ पढ्‌नुहोस्‌) पाप र मृत्युबाट हामीलाई छुटाउन यहोवाले आफ्नो “एक मात्र छोरा” पठाउनुभयो।—यूह. ३:१६.

८, ९. हाम्रो लागि येशूले के गर्नुभएको छ?

८ येशूअघिका यहोवाका सेवकहरूले पनि फिरौतीको प्रबन्धबाट लाभ उठाउन सक्थे। यो कसरी सम्भव भयो? फिरौतीको बलिदान चढाउने उद्धारकबारे यहोवाले भविष्यवाणी गर्नुभयो। यहोवाको नजरमा त्यतिखेरै फिरौती तिरेसरह थियो किनकि आफ्नो उद्देश्‍य अवश्‍य पूरा हुनेछ भनेर उहाँ पक्का हुनुहुन्थ्यो। (उत्प. ३:१५) सयौं वर्षपछि प्रेषित पावलले “ख्रीष्ट येशूले तिर्नुभएको फिरौतीद्वारा मुक्‍त” गर्नुभएकोमा परमेश्‍वरलाई धन्यवाद दिए। उनले यसो पनि भने, “बितेको समयमा तिनीहरूले गरेका पापहरू सहेर उहाँले क्षमा गरिरहनुभएको थियो।” (रोमी ३:२१-२६) हामीलाई परमेश्‍वरको नजिक ल्याउन येशूले कत्ति ठूलो काम गर्नुभएको छ!

९ नम्र मानिसहरू येशूद्वारा मात्र यहोवाको नजिक हुन सक्छन्‌। बाइबलले यो कुरा कसरी बुझाउँछ? पावलले लेखे, “हामी पापी छँदै ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो र यसरी परमेश्‍वरले हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुभयो।” (रोमी ५:६-८) हामी येशूको बलिदानबाट लाभ उठाउन योग्य भएकोले होइन, हामीप्रतिको प्रेमले गर्दा यहोवाले फिरौतीको प्रबन्ध मिलाउनुभयो। येशूले भन्‍नुभयो, “मलाई पठाउनुहुने बुबाले नखिचेसम्म कुनै मानिस मकहाँ आउन सक्दैन।” उहाँले यसो पनि भन्‍नुभयो, “मबाहेक अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।” (यूह. ६:४४; १४:६) येशूद्वारा यहोवाको नजिक हुन र अनन्त जीवनको आशा राख्दै उहाँको प्रेम पाउन लायक भइरहन पवित्र शक्‍तिले हामीलाई मदत गर्छ। (यहूदा २०, २१ पढ्‌नुहोस्‌) हामीलाई आफूतर्फ खिच्न यहोवाले गर्नुभएको अर्को प्रबन्धबारे पनि विचार गरौं।

यहोवा हामीलाई आफ्नो वचनद्वारा खिच्नुहुन्छ

१०. बाइबलले यहोवासित नजिक हुन कसरी मदत गर्छ?

१० यो लेखमा अहिलेसम्म बाइबलका १४ वटा पुस्तकका पदहरू हामीले उल्लेख गरिसक्यौं। हामीलाई आफूतर्फ खिच्न यहोवाले पवित्र शक्‍तिद्वारा बाइबल लेख्न प्रेरणा दिनुभयो। सृष्टिकर्तासित नजिक हुन सकिन्छ भनेर बाइबल नभएको भए कहाँ थाह हुन्थ्यो र? फिरौतीको प्रबन्धद्वारा यहोवाको नजिक हुन सकिन्छ भनेर पनि थाह हुँदैनथ्यो। बाइबलले हामीलाई यहोवाको स्वभाव अनि उद्देश्‍यबारे पनि बताउँछ। उदाहरणको लागि, प्रस्थान ३४:६, ७ अनुसार यहोवा “टिठाउनमा भरिपूर्ण र दयालु परमेश्‍वर, रिस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त, . . . हजारौं हजारमाथि कृपा देखाउनुहुने, दुष्टता, अपराध, र पाप क्षमा गर्नुहुने” हुनुहुन्छ। यस्तो व्यक्‍तिसित कसलाई पो नजिक हुन मन नपर्ला र? बाइबलबाट यहोवाबारे जत्ति धेरै सिक्दै जान्छौं हामीलाई उहाँ त्यत्ति नै वास्तविक लाग्नेछ र हामी उहाँको अझै नजिक हुनेछौं भनेर उहाँलाई थाह छ।

११. यहोवाको गुणहरूबारे हामीले किन सिक्नुपर्छ? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

११ यहोवासित नजिक हुनुहोस्‌ (अङ्‌ग्रेजी) किताबको सुरुमा बताइएअनुसार कसैसित नजिकको सम्बन्ध गाँस्दा हामी त्यस व्यक्‍तिलाई अझ राम्ररी चिन्छौं र तिनमा भएका गुणहरूको मोल गर्छौं। त्यसैले यहोवासित नजिक हुन बाइबलबाट उहाँका गुणहरूबारे सिक्दै जानुपर्छ। हामीले राम्ररी बुझ्न सक्नेगरि बाइबल लेख्न लगाउनुभएकोमा हामी यहोवाप्रति धन्यवादी छौं।

१२. बाइबल लेख्न यहोवाले किन मानिसहरू चलाउनुभयो?

१२ यहोवाले बाइबल लेख्न स्वर्गदूतहरूलाई पनि चलाउन सक्नुहुन्थ्यो। आखिर तिनीहरू पनि हामीबारे चासो राख्छन्‌। (१ पत्रु. १:१२) तिनीहरूले मानिसजातिका लागि यहोवाको सन्देश लेख्न सक्थे। तर स्वर्गदूतहरू मानिसजस्ता छैनन्‌। तिनीहरूको सोचाइ अनि आवश्‍यकता हाम्रो जस्तो छैन। अनि तिनीहरू हामीजस्तो कमीकमजोरी भएको प्राणी पनि होइनन्‌। स्वर्गदूतहरू हामीभन्दा धेरै फरक छन्‌ भनेर यहोवालाई थाह छ। त्यसैले बाइबल लेख्न मानिसहरूलाई नै चलाउनुभयो। बाइबल लेखकहरूको निराशा, शङ्‌का, डर र कमजोरीहरूबारे पढ्‌दा उनीहरूको दुःख हामी बुझ्न सक्छौं। उनीहरूको खुसीका क्षणहरूबारे पढ्‌दा उनीहरूको आनन्द महसुस गर्न सक्छौं। एलियाजस्तै बाइबलका सबै लेखक “हामीजस्तै मानिस नै थिए।” उनीहरूको भावना पनि हाम्रोजस्तै थियो।—याकू. ५:१७.

१. योना; २. पत्रुस

यहोवाले योना र पत्रुससित गर्नुभएको व्यवहारबारे मनन गर्दा तपाईं कसरी उहाँको नजिक हुन सक्नुहुन्छ? (अनुच्छेद १३, १५ हेर्नुहोस्‌)

१३. योनाको प्रार्थना पढ्‌दा तपाईंलाई कस्तो लाग्छ?

१३ योनाको उदाहरण विचार गरौं। यहोवाले योनालाई एउटा महत्त्वपूर्ण जिम्मेवारी दिनुभयो। तर ती भविष्यवक्‍ता भागे। यदि योनाको विवरण स्वर्गदूतले लेखेका भए उनको भावनालाई पूरै समेट्‌न सक्थे होलान्‌? योनाको अनुभव अनि समुद्रको गहिराइबाट उनले गरेको प्रार्थनाबारे यहोवाले उनलाई नै लेख्न लगाउनु एकदमै ठीक थियो। योनाले भने, “जब मेरो प्राण गलिसकेको थियो, तब मैले परमप्रभुलाई सम्झें।”—योना १:३, १०; २:१-९.

१४. यशैयाले लेखेको कुरा तपाईं किन बुझ्न सक्नुहुन्छ?

१४ यहोवाले यशैयालाई उनको आफ्नै अनुभव लेख्न लगाउनुभयो। यहोवाको महिमाको दर्शन देखेपछि यशैयाले आफ्नो पापी अवस्थाबारे यसो भने, “हाय! म नष्ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, औ अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्तछु, किनकि मैले मेरो आँखैले सेनाहरूका परमप्रभु महाराजाधिराजलाई देखें।” (यशै. ६:५) स्वर्गदूतहरूले आफ्नो विषयमा कहिल्यै यस्तो कुरा भन्‍न सक्दैनन्‌। हामी पनि यशैयाजस्तै कमीकमजोरी भएको मानिस हौं। त्यसैले तिनले कस्तो महसुस गरे होलान्‌ भनेर राम्ररी बुझ्न सक्छौं।

१५, १६. (क) हामी किन अरू मानिसको भावना बुझ्न सक्छौं? उदाहरण दिनुहोस्‌। (ख) यहोवाको नजिक हुन हामीलाई केले मदत गर्छ?

१५ याकूबले आफू “योग्य छैनँ” भने अनि पत्रुसले पनि आफू “पापी” हुँ भने। तर स्वर्गदूतले आफूबारे त्यसो भन्‍न सक्थे र? (उत्प. ३२:१०; लूका ५:८) त्यसैगरि, येशूलाई समुद्रमाथि हिंड्‌दै गरेको देख्दा चेलाहरू “डराए।” तर स्वर्गदूतहरू डराउने थिए होलान्‌? विरोधको बेला प्रचार गर्न पावल अनि अरू चेलाहरूले ‘साहस बटुल्नुपऱ्‍यो।’ तर स्वर्गदूतहरूले साहस बटुल्नुपर्थ्यो र? (यूह. ६:१९; १ थिस्स. २:२) स्वर्गदूतहरू त्रुटिरहित र हामीभन्दा उच्च भएकोले हामीले जस्तै अनुभव गर्न सक्दैनन्‌। बाइबल लेख्न यहोवाले त्रुटिपूर्ण मानिसहरू चलाउनुभयो। त्यसैले हामी तिनीहरूको भावना बुझ्न सक्छौं। तिनीहरूले लेखेका कुरा पढ्‌दा हामी ‘रमाउने मानिसहरूसित रमाउन; रुने मानिसहरूसित रुन’ सक्छौं।—रोमी १२:१५.

१६ बितेको समयमा यहोवाले आफ्ना सेवकहरूसित गर्नुभएको व्यवहारबारे मनन गर्दा उहाँबारे हामी धेरै कुरा सिक्न सक्छौं। यहोवा धीरजी अनि मायालु हुँदै ती त्रुटिपूर्ण मानिसहरूसित नजिक हुनुभयो। यसबारे मनन गर्दा हामी यहोवालाई अझ राम्ररी चिन्‍न र प्रेम गर्न सक्छौं। यसरी हामी उहाँसित झनै नजिक हुन सक्छौं।—भजन २५:१४ पढ्‌नुहोस्‌।

यहोवादेखि कहिल्यै टाढा नहुनुहोस्‌

१७. (क) अजर्याहले आसालाई कस्तो सल्लाह दिए? (ख) आसाले के गरे अनि नतिजा कस्तो भयो?

१७ राजा आसाबाट हामीले सिक्न सक्ने अरू कुरा पनि छन्‌। आसाले कूशी सेनालाई जितेपछि भविष्यवक्‍ता अजर्याहले उनलाई यस्तो बुद्धिमानी सल्लाह दिए, “जब तिमीहरू परमप्रभुसँग हुन्छौ तब उहाँ पनि तिमीहरूसँग हुनुहुनेछ। तिमीहरूले उहाँलाई त्याग्यौ भने उहाँले पनि तिमीहरूलाई त्याग्नुहुनेछ।” (२ इति. १५:१, २) तर समय बित्दै जाँदा आसाले यो सल्लाह मानेनन्‌। इस्राएलको उत्तरी राज्यले आक्रमण गर्न आउँदा आसा डराए। तिनले यहोवासित मदत मागेनन्‌, बरु मूर्तिपूजक अरामीहरूसित मित्रता गाँसे। दर्शी हनानीले उनलाई यसो भने, “यस कुरामा तपाईंले मूर्खता गर्नुभयो। अब उप्रान्त तपाईंले युद्ध गरिरहनुपर्नेछ।” नभन्दै त्यस्तै भयो। (२ इति. १६:१-९) यसबाट हामी के सिक्छौं?

१८, १९. (क) यहोवादेखि टाढिदै गएको चाल पायौं भने हामीले के गर्नुपर्छ? (ख) हामी यहोवासित कसरी नजिक भइरहन सक्छौं?

१८ हामी कहिल्यै यहोवादेखि टाढा नहोऔं। आफू यहोवादेखि टाढिदै गएको चाल पायौं भने होशे १२:६ मा दिएको यो सल्लाह तुरुन्तै लागू गरौं, “परमेश्‍वरतिर फर्की। कृपा र न्याय कायम राख्‌, र निरन्तर आफ्ना परमेश्‍वरको बाटो हेर्‌।” (होशे १२:६) फिरौतीको मोलबारे मनन गरेर अनि दिनहुँ परमेश्‍वरको वचन पढेर उहाँसित नजिक हुँदै जाऔं।—व्यवस्था १३:४ पढ्‌नुहोस्‌।

१९ भजनरचयिताले यसो भने, “परमेश्‍वरको नजिक जान मेरो निम्ति असल छ।” (भज. ७३:२८) यसो गर्नु हाम्रो निम्ति पनि असल छ। यहोवाबारे नयाँ कुराहरू सिकिरहने लक्ष्य राखौं। यसो गर्दा उहाँलाई अझ धेरै प्रेम गर्न सक्नेछौं। यहोवासित नजिक भइरह्‍यौं भने उहाँ पनि हामीसित नजिक भइरहनुहुनेछ; अहिले मात्र होइन सधैंभरि!

a अगस्त १५, २०१२ को प्रहरीधरहरा-मा आसाबारे लेखिएको “तिमीहरूको कामको प्रतिफल तिमीहरूले पाउनेछौ” भन्‍ने लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने