प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ९/१५ pp. २३-२७
  • मृत्यु—सबैभन्दा अन्तमा नामेट पारिने शत्रु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मृत्यु—सबैभन्दा अन्तमा नामेट पारिने शत्रु
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मायालु परमेश्‍वरले दिनुभएको चेतावनी
  • मानिसहरू किन मर्न थाले?
  • आदमबाट आएको पाप र मृत्यु नामेट पारिनेछ
  • येशूको मृत्यु र पुनर्जीवन—यसले हामीलाई कस्तो लाभ पुऱ्‍याउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • परमेश्‍वरले पहिलो पुरुष र स्त्री बनाउनुभयो
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • हामी किन बूढाबूढी हुन्छौँ र मर्छौँ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०१९
  • येशूले उद्धार गर्नुहुन्छ—कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ९/१५ pp. २३-२७
आदम र हव्वा आफ्नो छोरा हाबिलको मृत्यु हुँदा शोक मनाउँदै

मृत्यु—सबैभन्दा अन्तमा नामेट पारिने शत्रु

“सबैभन्दा अन्तमा नामेट पारिने शत्रु मृत्यु हो।”—१ कोरि. १५:२६.

तपाईं कसरी जवाफ दिनुहुन्छ?

  • मायालु परमेश्‍वर यहोवाले आदमलाई कस्तो महत्त्वपूर्ण आज्ञा दिनुभयो?

  • मानिसहरू किन मर्न थाले?

  • “सबैभन्दा अन्तमा नामेट पारिने शत्रु मृत्यु”-लाई कहिले हटाइनेछ?

१, २. आदम र हव्वाको जीवन कस्तो थियो? कस्ता प्रश्‍नहरू उठ्‌छन्‌?

आदम र हव्वा सृष्टि गरिंदा तिनीहरूको कुनै शत्रु थिएन। तिनीहरूमा कुनै खोट थिएन। तिनीहरू सुन्दर बगैंचामा बस्थे। तिनीहरू सृष्टिकर्ताका छोराछोरी थिए। (उत्प. २:७-९; लूका ३:३८) परमेश्‍वरले तिनीहरूलाई एउटा जिम्मेवारी दिनुभएको थियो। (उत्पत्ति १:२८ पढ्‌नुहोस्‌) यो जिम्मेवारी पूरा गर्न तिनीहरू कति समय बाँच्नुपर्थ्यो? ‘पृथ्वी भर्न र त्यसलाई आफ्नो वशमा पार्न’ तिनीहरू सधैंभरि बाँच्नु आवश्‍यक थिएन। तर “सबै जीवित प्राणीहरू माथि अधिकार” गर्न चाहिं तिनीहरू सधैंभरि बाँच्नुपर्थ्यो। तिनीहरूले रमाउँदै यो जिम्मेवारी पूरा गर्न सक्थे।

२ तर आज किन अवस्था फरक छ? हाम्रो सबैभन्दा ठूलो शत्रु मृत्युलगायत हाम्रो आनन्द खोस्ने यत्ति धेरै कुरा किन छन्‌? परमेश्‍वरले यी शत्रुहरूलाई कसरी नामेट पार्नुहुनेछ? यी प्रश्‍नहरूको जवाफ बाइबलबाट जाँचौं।

मायालु परमेश्‍वरले दिनुभएको चेतावनी

३, ४. (क) यहोवाले आदम र हव्वालाई कस्तो आज्ञा दिनुभयो? (ख) आदम र हव्वाले त्यो आज्ञा पालन गर्नु कत्तिको महत्त्वपूर्ण थियो?

३ आदम र हव्वासित सधैंभरि बाँच्न सक्थे। तर त्यसको लागि तिनीहरूले सास फेर्नुपर्थ्यो, खानुपर्थ्यो, पिउनुपर्थ्यो र सुत्नुपर्थ्यो। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरू जीवन दिनुहुने परमेश्‍वरसित नजिक हुनुपर्थ्यो। (व्यव. ८:३) यहोवाको डोऱ्‍याइअनुसार चलेमा मात्र तिनीहरू आनन्दित भई सधैंभरि बाँच्न सक्थे। हव्वालाई बनाउनुभन्दा अघि नै यहोवाले आदमलाई यस्तो आज्ञा दिनुभएको थियो, “बगैंचाका सबै रूखका फल तैंले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिं नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस्‌ त्यसै दिन तँ मर्नेछस्‌।”—उत्प. २:१६, १७.

४ “असल र खराबको ज्ञान दिने रूख”- ले सही र गलतको स्तर तोक्ने अधिकार यहोवासित मात्र छ भनेर बुझाउँथ्यो। आदम यहोवाकै स्वरूपमा सृष्टि गरिएका थिए अनि तिनीसित अन्तस्करण थियो। त्यसकारण सही र गलत छुट्‌याउन सक्थे। बगैंचाको बीचमा भएको रूखले आदम र हव्वालाई कुन कुराको सम्झना गराउँथ्यो? तिनीहरूलाई सधैं यहोवाको डोऱ्‍याइ चाहिन्छ भनेर सम्झना गराउँथ्यो। त्यो रूखको फल खाएमा तिनीहरूले “हामीलाई यहोवाको डोऱ्‍याइ चाहिंदैन” भनिरहेका हुन्थे। यसको नतिजा धेरै नराम्रो हुने थियो; तिनीहरू अनि तिनीहरूका सन्तान मर्ने थिए।

मानिसहरू किन मर्न थाले?

५. आदम र हव्वाले किन यहोवाको आज्ञा तोडे?

५ यहोवाले दिनुभएको आज्ञा आदमले हव्वालाई पनि बताए। त्यो आज्ञा हव्वालाई राम्रोसित थाह थियो र अदनको बगैंचामा सर्पसित कुरा गर्दा उनले यो आज्ञा जस्ताको तस्तै दोहोऱ्‍याइन्‌। (उत्प. ३:१-३) त्यो सर्पलाई चलाउने वास्तवमा सैतान थियो। त्यसले शक्‍ति हडप्ने अनि स्वतन्त्र हुने आफ्नो गलत इच्छालाई बढ्‌न दियो। (याकूब १:१४, १५ तुलना गर्नुहोस्‌) त्यसले हव्वालाई परमेश्‍वरले ढाँट्‌नुभएको हो भन्यो। उनले परमेश्‍वरको आज्ञा तोडे पनि मर्नुपर्ने छैन बरु परमेश्‍वरजस्तै हुनेछिन्‌ भनेर त्यसले झुक्क्यायो। (उत्प. ३:४, ५) हव्वाले त्यसको कुरा पत्याइन्‌, कसैलाई पनि नसोधी फल खाइन्‌ अनि आदमलाई पनि दिइन्‌। (उत्प. ३:६, १७) तर सैतानले हव्वालाई ढाँटेको थियो। (१ तिमोथी २:१४ पढ्‌नुहोस्‌) यहोवाको आज्ञा तोड्‌नु गलत हो भनेर आदमलाई थाह थियो तैपनि तिनले आफ्नी स्वास्नीको कुरा सुने। हव्वालाई त्यो सर्पसित कुरा गर्न रमाइलो लागेको हुन सक्छ तर सैतान वास्तवमा दया–माया नभएको शत्रु थियो। त्यस शत्रुलाई आफूले बोलेको झूटले गर्दा हुने नतिजा थाह थियो।

६, ७. यहोवाले आदम र हव्वालाई कसरी कारबाही गर्नुभयो?

६ आदम, हव्वा र सैतानले यहोवालाई आदर गरेको देखाउने मौका पाएका थिए। आदम र हव्वाले जीवन र अरू सबै थोक दिनुहुने यहोवाको विरोध गरे। अदनको बगैंचामा घटेको घटना यहोवालाई राम्ररी थाह थियो। (१ इति. २८:९; हितोपदेश १५:३ पढ्‌नुहोस्‌) यहोवा तिनीहरूको बुबा हुनुहुन्थ्यो। त्यसैले तिनीहरूले गल्ती गर्दा उहाँलाई धेरै चोट पुगेको हुनुपर्छ। (उत्पत्ति ६:६ तुलना गर्नुहोस्‌) तर उहाँ न्यायाधीश पनि हुनुहुन्छ। त्यसैले ती विरोधीहरूलाई कारबाही पनि गर्नुभयो।

७ यहोवाले आदमलाई “जुन दिन तैंले त्यो खान्छस्‌ त्यसै दिन तँ मर्नेछस्‌” भन्‍नुभएको थियो। आदमले आफू घाम डुब्नुअघि नै मर्छु भनेर सोचेको हुन सक्छ। तर बेलुकीपख यहोवाले आदम र हव्वासित कुरा गर्नुभयो। (उत्प. ३:८) असल न्यायाधीश हुनुभएकोले उहाँले पहिले तिनीहरूलाई बोल्ने मौका दिनुभयो। (उत्प. ३:९-१३) त्यसपछि ती दुई अपराधीलाई मृत्युको सजाय सुनाउनुभयो। (उत्प. ३:१४-१९) यहोवाले तिनीहरूलाई तुरुन्तै मार्नु भएको भए मानिसजातिको लागि उहाँले राख्नुभएको उद्देश्‍य पूरा हुने थिएन। (यशै. ५५:११) हुन त पाप गर्नासाथै आदम र हव्वाले त्यसको नतिजा भोग्नुपऱ्‍यो, तर यहोवाले तिनीहरूलाई केही समय बाँच्ने र सन्तान जन्माउने मौका दिनुभयो। ती सन्तानहरूलाई यहोवाले असल कुराहरू दिनुहुने थियो। आदम र हव्वाले पाप गरेको दिनदेखि नै तिनीहरू यहोवाको लागि मरेसरह भए। हाम्रो हजार वर्ष यहोवाको लागि एक दिन भएकोले तिनीहरू त्यही “दिन” मरे।—२ पत्रु. ३:८.

८, ९. आदमको पापले तिनको सन्तानमा कस्तो असर पऱ्‍यो? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

८ आदम र हव्वाको गल्तीले तिनीहरूका सन्तानलाई असर गर्ने थियो? पक्कै गर्ने थियो। रोमी ५:१२ यसो भन्छ, “एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु र यसरी मृत्यु सबै मानिसमा व्याप्त भयो, किनकि तिनीहरू सबैले पाप गरेका छन्‌।” पावल अझै यसो भन्छन्‌, “एक जना मानिसको अनाज्ञाकारिताले गर्दा धेरै जना पापी भए।” (रोमी ५:१९) सबैभन्दा पहिले मर्ने मानिस हाबिल थिए। (उत्प. ४:८) आदमका अरू छोराछोरी अनि नातिनातिना पनि बूढाबूढी भए र मरे। मानिसजातिले आफ्नो पुर्खाबाट पाप र मृत्यु पाए। यी दुई शत्रुदेखि तिनीहरू उम्कन सक्दैनन्‌। आदमका सन्तानमा पाप कसरी सऱ्‍यो भनेर ठ्‌याक्कै बुझ्न नसके पनि त्यसको असर भने हामी देख्न सक्छौं।

९ बाइबलले पाप र मृत्युलाई “सारा मानिसहरूमाथि परेको पर्दा र सारा जातिमाथि परेको घुम्टो” भनेको छ। (यशै. २५:७) कुनै पनि मानिस पाप र मृत्युबाट बच्न सकेको छैन। त्यसैकारण बाइबलले “आदमले गर्दा सबै मर्दैछन्‌” भन्छ। (१ कोरि. १५:२२) पावलले प्रश्‍न गरे, “मृत्युतर्फ धकेलिंदै गरेको यो शरीरबाट मलाई कसले छुटाउला?” (रोमी ७:२४) पावललाई कसले मात्र छुटाउन सक्नुहुन्थ्यो?a

आदमबाट आएको पाप र मृत्यु नामेट पारिनेछ

१०. (क) यहोवाले मृत्युलाई नामेट पार्नुहुनेछ भनेर कुन-कुन बाइबल पदले बताउँछ? (ख) यी पदहरूबाट यहोवा र येशूबारे के सिक्छौं?

१० पावललाई यहोवाले बचाउन सक्नुहुन्थ्यो। बाइबलमा यस्तो लेखिएको छ, “उहाँले मृत्युलाई सदाको निम्ति निल्नुभएको छ, र परमप्रभु परमेश्‍वरले सबैका आँखाबाट आँसु पुछिदिनुहुनेछ।” (यशै. २५:८) छोराछोरीको दुःख हटाएर आँसु पुछिदिंदा बुबालाई जत्ति खुसी लाग्छ मृत्यु हटाउँदा यहोवालाई पनि त्यत्ति नै खुसी लाग्छ। यो काममा उहाँलाई येशूले पनि मदत गर्नुहुनेछ। पहिलो कोरिन्थी १५:२२ मा यसो भनिएको छ, “ख्रीष्टले गर्दा सबैलाई जीवित पारिनेछ।” पावलले “मलाई कसले छुटाउला?” भनेर सोधेपछि आफै यसरी जवाफ दिन्छन्‌, “हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्‍वरलाई धन्यवाद होस्‌!” (रोमी ७:२५) आदमले पाप गरेपछि पनि यहोवाले मानिसजातिलाई माया गर्न छोड्‌नुभएको छैन भनेर यसले देखाउँछ। आदम र हव्वा सृष्टि गर्न यहोवालाई साथ दिनुहुने येशूले पनि मानिसजातिलाई अझै माया गर्नुहुन्छ। (हितो. ८:३०, ३१) तर मानवजाति पाप र मृत्युबाट कसरी बच्ने थिए?

११. मानिसजातिलाई बचाउन यहोवाले कस्तो प्रबन्ध मिलाउनुभयो?

११ आदमका सबै सन्तानले तिनीबाट पाप र मृत्यु पाए। (रोमी ५:१२, १६) “एउटा अपराधले गर्दा हर किसिमका मानिस दण्ड पाउन लायकका भए।” (रोमी ५:१८) आफ्नो न्याय नबिगारी यहोवाले मानिसहरूलाई कसरी मदत गर्न सक्नुहुन्थ्यो? येशूले यस्तो जवाफ दिनुभयो, “मानिसको छोरा . . . धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।” (मत्ती २०:२८) त्रुटिरहित हुनुभएकोले येशूले आफ्नो जीवन “फिरौतीस्वरूप” दिन सक्नुहुन्थ्यो। फिरौतीको प्रबन्ध कसरी यहोवाको न्यायको स्तरअनुसार थियो?—१ तिमो. २:५, ६.

१२. येशूले चढाउनुभएको फिरौती किन यहोवाको न्यायको स्तरअनुसार थियो?

१२ त्रुटिरहित हुनुभएकोले येशू सधैंभरि बाँच्न सक्नुहुन्थ्यो। आदम पनि सधैंभरि बाँचेको यहोवा चाहनुहुन्थ्यो। येशू आफ्नो बुबा र आदमका सन्तानलाई धेरै माया गर्नुहुन्छ। त्यसैले उहाँले आफ्नो मानव जीवन अर्पण गर्नुभयो। तर यहोवाले उहाँलाई ब्यूँताउनुभयो। (१ पत्रु. ३:१८) फिरौतीको प्रबन्ध यहोवाको न्यायको स्तरअनुसार थियो। किनकि येशूको जीवन आदमले गुमाएको जीवन बराबर थियो। त्रुटिरहित जीवनको साटो त्रुटिरहित जीवन नै दिइयो। येशूले गर्दा आदमका सन्तानले अनन्त जीवन पाउने भए। यसरी येशूले आदमको ठाउँ लिनुभयो। यसबारे पावलले यसो भने, “यस्तो पनि लेखिएको छ: ‘पहिलो आदम जीवित मानिस भयो।’ अन्तिम आदमचाहिं जीवन दिने व्यक्‍ति भए।”—१ कोरि. १५:४५.

हाबिल पुनर्जीवित भएका

सबैभन्दा पहिला मर्ने हाबिलले येशूको फिरौतीबाट लाभ उठाउनेछन्‌ (अनुच्छेद १३ हेर्नुहोस्‌)

१३. मरिसकेकाहरूलाई “अन्तिम आदम”-ले के गर्नुहुनेछ?

१३ छिट्टै “अन्तिम आदम”-ले पहिलो आदमको सन्तानलाई अनन्त जीवन दिनुहुनेछ। मरिसकेका थुप्रै मानिसले पनि जीवन पाउनेछन्‌। तिनीहरू पृथ्वीमा पुनर्जीवित हुनेछन्‌।—यूह. ५:२८, २९.

१४. मानिसहरू कसरी त्रुटिरहित हुनेछन्‌?

१४ मानिसहरू कसरी त्रुटिरहित हुनेछन्‌? यसको लागि यहोवाले स्वर्गमा एउटा राज्य खडा गर्नुभएको छ। उहाँले येशूलाई यस राज्यको शासक हुन रोज्नुभएको छ अनि उहाँसित एक लाख ४४ हजारले पनि शासन गर्नेछन्‌। (प्रकाश ५:९, १० पढ्‌नुहोस्‌) यी सह-शासकहरू त्रुटिपूर्ण मानिसबाटै छानिएकोले हाम्रो अवस्था राम्ररी बुझ्न सक्छन्‌। येशू र ती सह-शासकहरूले हजार वर्षीय शासनको बेला मानिसजातिलाई त्रुटिरहित हुन मदत गर्नेछन्‌।—प्रका. २०:६.

१५, १६. (क) “सबैभन्दा अन्तमा नामेट पारिने शत्रु” के हो? (ख) पहिलो कोरिन्थी १५:२८ अनुसार येशूले के गर्नुहुनेछ?

१५ हजार वर्षीय शासनको अन्तमा यहोवाको आज्ञा पालन गर्ने मानिसहरूले शत्रु अर्थात्‌ पाप र मृत्युबाट छुटकारा पाउनेछन्‌। पावल भन्छन्‌, “जसरी आदमले गर्दा सबै मर्दैछन्‌, त्यसरी नै ख्रीष्टले गर्दा सबैलाई जीवित पारिनेछ। तर हरेकको आ-आफ्नै क्रमअनुसार: अगौटे फलको रूपमा ख्रीष्टलाई, त्यसपछि जो ख्रीष्टका [सह-शासकहरू] हुन्‌, तिनीहरूलाई उहाँको उपस्थितिको दौडान जीवित पारिनेछ। यसपछि, उहाँले सबै सरकार, सबै अख्तियार र शक्‍तिलाई नामेट पारेपछि अन्तमा परमेश्‍वरलाई राज्य सुम्पनुहुनेछ, जो उहाँको बुबा हुनुहुन्छ। यसकारण परमेश्‍वरले सबै शत्रुलाई उहाँको पाउमुनि नराखुन्जेल उहाँले राजाको रूपमा शासन गर्नै पर्छ। सबैभन्दा अन्तमा नामेट पारिने शत्रु मृत्यु हो।” (१ कोरि. १५:२२-२६) यो शत्रु आदमबाट आएको मृत्यु हो र यसलाई नामेट पारिनेछ। सारा मानिसजातिमाथि परेको यो “घुम्टो” सदाको लागि हटाइनेछ।—यशै. २५:७, ८.

१६ पावल अझै भन्छन्‌, “जब सबै कुरा उहाँको अधीनमा भइसकेको हुनेछ, तब परमेश्‍वर नै सबै थोकका सर्वेसर्वा होऊन्‌ भनेर छोरा पनि सबै कुरा उहाँको अधीनमा राखिदिनुहुनेकै अधीनमा बस्नुहुनेछ।” (१ कोरि. १५:२८) येशूको शासनको उद्देश्‍य पूरा भइसकेको हुनेछ। त्यसैले खुसीसाथ यहोवा परमेश्‍वरलाई राज्य फिर्ता दिनुहुनेछ। उहाँले आफ्नो बुबालाई त्रुटिरहित मानव परिवार सुम्पनुहुनेछ।

१७. सैतानलाई के हुनेछ?

१७ सैतानले सारा मानव परिवारमा दुःख ल्यायो। त्यसलाई के हुनेछ? प्रकाश २०:७-१५ मा हामी त्यसको जवाफ पाउँछौं। हजार वर्षको अन्तमा मानिसहरूको अन्तिम जाँच हुनेछ। त्यतिबेला सैतानले मानिसहरूलाई बहकाउने मौका पाउनेछ। त्यसपछि सैतान र त्यसको पछि लाग्नेहरूलाई सधैंको लागि नाश गरिनेछ। यसलाई “दोस्रो मृत्यु” भनिन्छ। (प्रका. २१:८) यस्तो मृत्यु चाख्नेहरू सधैंका लागि नाश हुनेछन्‌। यो मृत्युलाई चाहिं नामेट पार्नु आवश्‍यक छैन। तर वफादार भएर यहोवाको आज्ञा मान्यौं भने हामी “दोस्रो मृत्यु”-देखि डराउनु पर्दैन।

१८. यहोवाले आदमलाई दिनुभएको जिम्मेवारी कसरी पूरा हुनेछ?

१८ सबै मानिस त्रुटिरहित हुनेछन्‌। तिनीहरूलाई यहोवाले अनन्त जीवन पाउन योग्य ठहराउनुहुनेछ। हाम्रो आनन्द खोस्ने कुनै पनि शत्रु बाँकी रहने छैन। नयाँ संसारमा आदम नभए पनि यहोवाले तिनलाई दिनुभएको जिम्मेवारी पूरा हुनेछ। तिनका सन्तानहरू जनावरहरूको हेरचाह गर्न पाउँदा खुसी हुनेछन्‌। सबैभन्दा अन्तमा नामेट पारिने शत्रु मृत्युलाई यहोवाले हटाउनुहुँदा हामी कत्ति खुसी हुनेछौं!

a धर्मशास्त्रमा अन्तरदृष्टि (अङ्‌ग्रेजी) भन्‍ने किताबअनुसार वैज्ञानिकहरूले मानिसहरू किन बूढो हुन्छन्‌ र मर्छन्‌ भन्‍ने विषयमा खोज-अनुसन्धान गरेका छन्‌ तर तिनीहरूलाई एउटा महत्त्वपूर्ण तथ्य थाह छैन। सृष्टिकर्ताले नै पहिलो मानिसलाई मृत्युदण्ड दिनुभएको हो भनेर तिनीहरू मानिलिंदैनन्‌। त्यसैले तिनीहरूले मानिसहरू मर्नुको कारण बुझ्न सकेका छैनन्‌।—खण्ड २, पृष्ठ २४७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने