प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ९/१५ pp. ३-६
  • के तपाईं ‘अघि बढिरहनुभएको छ?’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के तपाईं ‘अघि बढिरहनुभएको छ?’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ‘अघि बढिरहनु’ भनेको के हो?
  • गलत सोचाइ र कामलाई तिरस्कार गर्नुहोस्‌
  • लामो समय पर्खनुपर्दा के गर्ने?
  • बगालको हेरचाह गर्ने निरीक्षकहरू
    यहोवाको इच्छाबमोजिम गर्न सङ्‌गठित
  • के तपाईं जिम्मेवारी सम्हाल्न अघि बढ़नु हुँदैछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • अरूलाई अघि बढ्‌न तालिम दिनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • भाइहरू हो—के तपाईँ एल्डरको रूपमा सेवा गर्न अघि बढ्‌दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ९/१५ pp. ३-६
दुई एल्डर ख्रीष्टियन भाइसित एकान्तमा कुराकानी गर्दै

के तपाईं ‘अघि बढिरहनुभएको छ?’

प्रेमकोa मण्डलीमा क्षेत्रीय निरीक्षकको भ्रमण धेरै पटक भइसकेको थियो। हरेक भ्रमणपछि एल्डरहरूले तिनलाई मण्डलीमा थप सुअवसर पाउन के गर्नुपर्छ भनी बताउँथे। समय बित्दै जाँदा प्रेमले आफू कहिले एल्डर बन्‍ने होला भनी सोच्न थाले। हालै उनको मण्डलीमा क्षेत्रीय निरीक्षकको भ्रमण सिद्धिएको छ। दुई जना एल्डरले प्रेमलाई एकान्तमा कुरा गर्न सकिन्छ कि भनी सोधे। तिनको मुटु ढुकढुक हुन थाल्यो। एल्डरहरूले तिनलाई के भन्‍न लागेका थिए?

एल्डरहरूमध्ये एक जनाले १ तिमोथी ३:१ उद्धरण गरे र प्रेम एल्डरको रूपमा नियुक्‍त भएका छन्‌ भने। छक्क पर्दै तिनले सोधे, “के भन्‍नुभयो, दाइ?” उनले प्रेमलाई फेरि त्यही कुरा बताए। प्रेम निकै उत्साहित भए। मण्डलीमा यसबारे घोषणा हुँदा सबै खुसी भए।

मण्डलीमा सुअवसर पाउन खोज्नु गलत हो? होइन। पहिलो तिमोथी ३:१ यसो भन्छ, “यदि कुनै पुरुष निरीक्षक बन्‍न अघि बढिरहेको छ भने उसले असल काम गर्न चाहेको हुन्छ।” यो कुरा मनमा राख्दै धेरै ख्रीष्टियन दाजुभाइले मण्डलीमा थप सुअवसर पाउन आध्यात्मिक प्रगति गरेका छन्‌। त्यसैकारण हामीमाझ लाखौं एल्डर र सहायक सेवक छन्‌। यसरी यहोवाले हामीलाई आशिष्‌ दिइरहनुभएको छ। तर मण्डलीहरू बढ्‌दै गइरहेकोले दाजुभाइहरू जिम्मेवारी सम्हाल्न अघि बढ्‌नु झनै आवश्‍यक छ। जिम्मेवारी सम्हाल्न अघि बढ्‌ने सही तरिका के हो? अनि निरीक्षक हुन चाहेका दाजुभाइहरूले प्रेमले जस्तै कहिले जिम्मेवारी पाउने होला भनी चिन्ता गरिरहनुपर्ला?

‘अघि बढिरहनु’ भनेको के हो?

बाइबलमा पाइने ‘अघि बढिरहनु’ भन्‍ने पदावली युनानी क्रियाबाट आएको हो, जसको अर्थ हो: इच्छा गर्नु, कुनै कुराको मनैदेखि चाह गर्नु वा तन्कनु। यो कुरा विचार गर्दा रूखमा भएको खाऊँखाऊँ लाग्दो फल टिप्न हात तन्काइरहेको मानिसलाई सम्झनुहुन्छ होला। तर अघि बढ्‌नु भनेको पद पाउने लोभले “निरीक्षक बन्‍न” खोज्नु होइन। बरु एल्डरको रूपमा सेवा गर्न अघि बढिरहेकाहरू ‘असल काम गर्न’ इच्छुक हुनुपर्छ।

पहिलो तिमोथी ३:२-७ र तीतस १:५-९ मा असल काम गर्न योग्य हुन के गर्नुपर्छ भनी बताइएको छ। यी पदहरूमा बताइएको योग्यताको विषयमा रेशम नामको एक एल्डर यसो भन्छन्‌, “आफू कस्तो छु भनेर सधैं जाँच्नुपर्छ। बोल्न र सिकाउन सक्ने हुनु महत्त्वपूर्ण छ। तर त्यतिले मात्र पुग्दैन। हाम्रो आनीबानी सन्तुलित हुनुपर्छ, दोष लागेको हुनुहुँदैन, सुझबुझ चलाउनुपर्छ, अतिथि-सत्कार गर्नुपर्छ अनि व्यवस्थित र व्यावहारिक पनि हुनुपर्छ।”

ख्रीष्टियन भाइ: १. प्रचारकार्यमा; २. साहित्य काउन्टरमा; ३. राज्यभवन सरसफाइ गर्दै; ४. सभामा टिप्पणी दिंदै

मण्डलीका विभिन्‍न गतिविधिमा भाग लिएर ‘अघि बढिरहनुहोस्‌’

असल मनसायले अघि बढिरहेका भाइ सबै प्रकारको बेइमानी र अशुद्ध कुराहरूबाट अलग बस्छन्‌ र आफूलाई कुनै दोष नलागेको देखाउँछन्‌। तिनको आनीबानी सन्तुलित हुन्छ, तिनले सुझबुझ चलाउँछन्‌ अनि तिनी व्यवस्थित र व्यावहारिक हुन्छन्‌। त्यसैले मण्डलीका सदस्यहरूले तिनलाई नेतृत्व लिन सक्ने अनि समस्यामा पर्दा मदत गर्न सक्ने व्यक्‍तिको रूपमा हेर्छन्‌। अतिथि-सत्कार गर्ने बानी भएकोले तिनी जवानहरू र मण्डलीमा आउने नयाँ व्यक्‍तिहरूको लागि हौसलाको स्रोत हुन्छन्‌। तिनी भलाइको प्रेमी भएकोले बिरामीहरू र वृद्धहरूलाई मदत अनि सान्त्वना दिन्छन्‌। तिनले अरूको भलाइको लागि यी गुणहरू विकास गर्छन्‌, मण्डलीमा थप सुअवसर पाउने आशाले मात्र होइन।b

सुअवसर पाउन अघि बढिरहेकाहरूलाई एल्डरहरूको निकायले खुसीसाथ सल्लाह र प्रोत्साहन दिन्छ तर बाइबलले बताएको योग्यताहरू चाहिं तिनीहरू आफैले पूरा गर्नुपर्छ। रोजन नामको एक अनुभवी निरीक्षक यसो भन्छन्‌, “यदि तपाईं अघि बढिरहनुभएको छ भने योग्य हुन सकेजति गर्नुहोस्‌।” उपदेशक ९:१० उद्धृत गर्दै तिनी अझ यसो भन्छन्‌, “तपाईंको हातमा जे काम छ त्यो आफ्नो पूरा शक्‍तिले गर्नुहोस्‌। एल्डरहरूले दिएको जुनसुकै काम मन लगाएर गर्नुहोस्‌, चाहे त्यो बढार्ने काम नै किन नहोस्‌। समय बित्दै जाँदा तपाईंको काम र मेहनत सबैले याद गर्नेछन्‌।” तपाईं एल्डरको रूपमा सेवा गर्न चाहनुहुन्छ भने पवित्र सेवाको जुनसुकै काममा मेहनत र भरोसायोग्य हुनुहोस्‌। अरूले तपाईंलाई ओहदा खोज्ने व्यक्‍तिको रूपमा होइन, नम्र व्यक्‍तिको रूपमा चिन्‍नुपर्छ।—मत्ती २३:८-१२.

गलत सोचाइ र कामलाई तिरस्कार गर्नुहोस्‌

मण्डलीमा सुअवसर पाउन औधी चाह गरिरहेका कसै-कसैले एल्डर बन्‍न चाहेको सङ्‌केत दिन्छन्‌ वा एल्डरहरूलाई फकाइफुस्ल्याइ गर्न खोज्छन्‌। अरू कतिपयले एल्डरहरूको सल्लाह स्वीकार्दैनन्‌। ती व्यक्‍तिहरूले आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छन्‌, “म आफ्नै इच्छा पूरा गर्न चाहन्छु कि नम्र भई यहोवाको भेडाको रेखदेख गर्न चाहन्छु?”

सुअवसर पाउन अघि बढिरहेका दाजुभाइहरूले अर्को आवश्‍यकता पनि पूरा गर्नुपर्छ। त्यो हो, ‘बगालको उदाहरण हुने।’ (१ पत्रु. ५:१-३) मण्डलीमा असल उदाहरण बसालेका दाजुभाइहरूले गलत सोचाइ र कामलाई तिरस्कार गर्छन्‌। अहिले आफूले सुअवसर नपाए पनि धीरजी हुन्छन्‌। यो कुरा पनि मनमा राख्नुहोस्‌, एल्डर हुँदैमा कमजोरी हट्‌दैन। (गन्ती १२:३; भज. १०६:३२, ३३) साथै, कुनै भाइलाई ‘आफू कुनै कुराको दोषी छैन’ जस्तो लाग्ला तर अरूलाई भने तिनले सुधार्नुपर्ने केही कुरा छ जस्तो लाग्न सक्छ। (१ कोरि. ४:४) त्यसैले यदि एल्डरले तपाईंलाई बाइबलबाटै कुनै सल्लाह दिन्छन्‌ भने नरिसाउनुहोस्‌। तिनको कुरा सुन्‍नुहोस्‌ र सल्लाहअनुसार चल्नुहोस्‌।

लामो समय पर्खनुपर्दा के गर्ने?

थुप्रै दाजुभाइलाई आफूले लामो समय पर्खनु परेको जस्तो लाग्छ। निरीक्षक बन्‍न ‘अघि बढिरहेको’ लामो समय भइसकेको छ भने कहिलेकाहीं निराश हुनुहुन्छ होला। बाइबलले पनि त्यसै भन्छ, “आशा साकार नहुँदा मन मर्छ, तर इच्छा पूर्ण हुनु नै जीवनको सहारा हो।”—हितो. १३:१२.

आफ्नो लक्ष्य पूरा नहोला जस्तो लाग्दा मन मर्न सक्छ। अब्राहामले पनि त्यस्तै महसुस गरे। यहोवाले तिनलाई एउटा छोरो दिने वाचा गर्नुभएको थियो। तर धेरै वर्ष बितिसक्दा पनि साराले छोरा जन्माइनन्‌। (उत्प. १२:१-३, ७) उमेर ढल्कँदै जाँदा अब्राहामले यसरी बिलौना गरे, “हे परमप्रभु परमेश्‍वर, तपाईंले मलाई के दिनुहुन्छ र? किनभने म सन्तानहीन भइरहेछु।  . .  . तपाईंले मलाई सन्तान दिनुभएन।” आफ्नो वाचा अवश्‍य पूरा हुनेछ भनेर यहोवाले आश्‍वासन दिनुभयो। तर त्यो वाचा पूरा हुन लगभग १४ वर्ष लाग्यो।—उत्प. १५:२-४; १६:१६; २१:५.

त्यति लामो समय पर्खनुपर्दा अब्राहामले आनन्द गुमाए त? अहँ, गुमाएनन्‌। यहोवाले भन्‍नुभएको कुरामा तिनले कहिल्यै शङ्‌का गरेनन्‌। तिनले आशा मारेनन्‌। त्यसैले प्रेषित पावलले यस्तो लेखे, “अब्राहामले धैर्य गरेपछि परमेश्‍वरको त्यस्तो प्रतिज्ञा पाए।” (हिब्रू ६:१५) तिनले आशा गरेभन्दा धेरै आशिष्‌ पाए। तपाईं अब्राहामबाट के सिक्न सक्नुहुन्छ?

एल्डर हुन लामो समय पर्खनुपऱ्‍यो भने पनि यहोवामाथि भरोसा गरिरहनुहोस्‌। उहाँको सेवा गर्दा सधैं आनन्दित हुनुहोस्‌। धेरैलाई उन्‍नति गर्न मदत गरेका बिमल भन्‍ने भाइ यसो भन्छन्‌, “कुनै भाइ एल्डरको रूपमा सेवा गर्न योग्य हुन समय लाग्छ। तिनको व्यवहार अनि जिम्मेवारी सम्हाल्ने तरिकाबाट तिनको मनसाय र क्षमता बिस्तारै देखिन्छ। कसै-कसैलाई सुअवसर पायो भने मात्र यहोवाको सेवामा सफल हुन्छु जस्तो लाग्छ। यस्तो सोचाइ राख्नु गलत हो र यस्तो सोचाइ राख्ने व्यक्‍तिले सुअवसरबारे मात्र एकोहोरो चिन्ता गर्छ। तपाईं जहाँ भए पनि अनि जस्तोसुकै जिम्मेवारी पाए पनि विश्‍वासी भई यहोवाको सेवा गर्नुभयो भने सफल हुनुहुनेछ।”

एक भाइले एल्डरको रूपमा सेवा गर्न दस वर्षभन्दा बढी पर्खनुपऱ्‍यो। इजकिएल अध्याय एकबाट सिकेको पाठबारे तिनी यसरी बताउँछन्‌, “यहोवाको सङ्‌गठनलाई चित्रण गर्ने रथलाई उहाँ आफूले चाहेको गतिमा अघि बढाउनुहुन्छ। हामीले इच्छा गर्दैमा हामी एल्डर भइहाल्ने होइन, त्यो त यहोवाले चाहनुभएको समयमा हुने कुरा हो। त्यसैले एल्डरको रूपमा सेवा गर्ने मेरो चाहना नै सबै थोक होइन। मैले चाहेको कुरा र मेरो लागि यहोवाले चाहनुभएको कुरा फरक हुन सक्छ।”

एल्डरको रूपमा सेवा गर्न अघि बढिरहनुभएको छ भने मण्डलीको आनन्द बढाउन सक्दो गर्नुहोस्‌। लामो समय पर्खनुपरेजस्तो लागेमा धीरजी हुनुहोस्‌ र चिन्ता नगर्नुहोस्‌। अगाडि उल्लेख गरिएको भाइ रेशम भन्छन्‌, “ओहदा खोज्यौं भने सन्तुष्ट हुन सक्दैनौं। चिन्ता मात्र गर्ने व्यक्‍ति यहोवाको सेवामा आनन्दित हुन सक्दैन।” आफूमा पवित्र शक्‍तिको फलका पक्षहरू बढाउनुहोस्‌, विशेष गरी धीरज। बाइबल अध्ययन गरेर यहोवासितको सम्बन्ध बलियो बनाउनुहोस्‌। सुसमाचार प्रचार गर्ने र चासो दिने मानिसहरूलाई बाइबल अध्ययन गराउने काममा अझ बढी भाग लिनुहोस्‌। आध्यात्मिक गतिविधि र पारिवारिक उपासनामा नेतृत्व लिनुहोस्‌। मण्डलीका दाजुभाइ दिदीबहिनीसित सङ्‌गत गर्ने हरेक मौकाको सदुपयोग गर्नुहोस्‌। यहोवाको सेवामा रमाउँदै आफ्नो लक्ष्यमा अघि बढ्‌दा तपाईं आनन्दित हुनुहुनेछ।

मण्डलीमा सुअवसर पाउन अघि बढ्‌नु यहोवाले दिनुभएको विशेष मौका हो। अघि बढिरहेका हाम्रा दाजुभाइहरू उहाँको सेवा गर्दा सन्तुष्ट र आनन्दित भएको यहोवा चाहनुहुन्छ। उहाँको सङ्‌गठन पनि त्यस्तै चाहन्छ। असल मनसायले यहोवाको सेवा गर्नेहरूलाई उहाँ मदत गर्नुहुन्छ अनि आशिष्‌ पनि दिनुहुन्छ। उहाँले आशिष्‌ दिनुहुँदा “तीसित दु:ख पठाउनुहुन्‍न।”—हितो. १०:२२.

भर्खरै एल्डर नियुक्‍त भएका भाइलाई मण्डलीका सदस्यहरूले बधाई दिंदै

तपाईं सुअवसर पाउन अघि बढिरहनुभएको केही समय बितिसकेको छ भने पनि अझै आध्यात्मिक प्रगति गरिरहनुहोस्‌। असल गुणहरू विकास गरिरहनुहोस्‌। आफ्नो परिवारलाई बेवास्ता नगरीकन मण्डलीको जिम्मेवारी राम्ररी पूरा गरिरहनुहोस्‌। यहोवाको सेवामा जस्तोसुकै जिम्मेवारी पाए पनि खुसीसाथ पूरा गर्नुहोस्‌। यसो गर्नुभयो भने यहोवाको सेवा गर्न तपाईंले गरिरहनुभएको प्रयास उहाँ बिर्सनुहुन्‍न।

a यस लेखमा नामहरू परिवर्तन गरिएका छन्‌।

b यो लेखमा बताइएका सिद्धान्तहरू सहायक सेवक हुन अघि बढिरहेका दाजुभाइहरूलाई पनि लागू हुन्छ। तिनीहरूले पूरा गर्नुपर्ने आवश्‍यकताहरू १ तिमोथी ३:८-१०, १२, १३ मा बताइएको छ।

सल्लाह सुन्‍नुको महत्त्व

कुनै ख्रीष्टियन “निरीक्षक बन्‍न अघि” बढिरहेका छन्‌ वा थप सुअवसर पाउन चाहन्छन्‌ भने सल्लाह पाउँदा तिनी खुसी हुन्छन्‌। (१ तिमो. ३:१) माया गर्ने एल्डरबाट पाएको स्पष्ट सल्लाह र सुधारले गर्दा तिनको ‘मन हर्षित’ हुन्छ। त्यस्तो मदतलाई ती भाइले “मित्रबाट पाउने मिठास”-को रूपमा हेर्छन्‌। तिनी सल्लाह स्वीकार्न र लागू गर्न उत्प्रेरित हुनेछन्‌।—हितो. २७:९, NRV.

कुनै व्यक्‍ति सल्लाह स्वीकार्नै चाहँदैनन्‌ भने तिनलाई बाइबलको सल्लाह दिन अरूलाई अप्ठ्‌यारो लाग्न सक्छ। आफ्नो व्यवहारले गर्दा वर्षौसम्म मण्डलीका दाजुभाइ दिदीबहिनीलाई आफू जिम्मेवारी पाउन इच्छुक छैन भन्‍ने भान परेको फिलिप सम्झन्छन्‌। तर तिनको सोचाइ परिवर्तन भयो। त्यसपछि तिनले एल्डरहरूसित निर्देशन मागेर “ज्ञान” खोजे। तिनी भन्छन्‌, “एल्डरहरूले मलाई मदतकारी र व्यावहारिक सल्लाह दिनुभयो।” आफूले पाएको सल्लाह तिनले लागू गरे। तिनी अहिले एल्डरको रूपमा सेवा गर्दै छन्‌।—हितो. १८:१५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने