प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w24 नोभेम्बर pp. २०-२५
  • भाइहरू हो—के तपाईँ एल्डरको रूपमा सेवा गर्न अघि बढ्‌दै हुनुहुन्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भाइहरू हो—के तपाईँ एल्डरको रूपमा सेवा गर्न अघि बढ्‌दै हुनुहुन्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • राम्रो नाम कमाउने
  • परिवारको शिरको रूपमा राम्रो उदाहरण बसाल्ने
  • मण्डलीका भाइबहिनीको सेवा गर्ने
  • अघि बढिरहनुहोस्‌
  • भाइहरू हो—के तपाईँ सहायक सेवकको रूपमा सेवा गर्न अघि बढ्‌दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • ‘एल्डरहरूलाई आफूकहाँ बोलाउनुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • ‘वरदानको रूपमा दिइएका पुरुषहरूप्रति’ कृतज्ञ भएको देखाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • के तपाईंमा सेवा गर्ने योग्यता छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
w24 नोभेम्बर pp. २०-२५

अध्ययन लेख ४७

गीत १०३ गोठालाहरू—वरदानको रूपमा पुरुषहरू

भाइहरू हो—के तपाईँ एल्डरको रूपमा सेवा गर्न अघि बढ्‌दै हुनुहुन्छ?

“यदि कुनै पुरुष निरीक्षक बन्‍न अघि बढिरहेको छ भने उसले असल काम गर्न चाहेको हुन्छ।”—१ तिमो. ३:१.

सिक्न सकिने कुरा

यस लेखमा हामी बाइबलमा बताइएका केही गुणहरूबारे छलफल गर्नेछौँ, जुन एल्डरको रूपमा सेवा गर्न भाइहरूले विकास गर्नुपर्छ।

१-२. एल्डरहरूले के-कस्ता “असल काम” गर्छन्‌?

यदि तपाईँ सहायक सेवक हुनुहुन्छ भने एल्डरको रूपमा सेवा गर्न चाहिने गुणहरू विकास गर्न मेहनत गर्दै हुनुहुन्छ होला। के तपाईँ एल्डरहरूले गर्ने “असल काम” गर्न चाहनुहुन्छ?—१ तिमो. ३:१.

२ एल्डरहरूले के-कस्ता कामहरू गर्छन्‌? तिनीहरू साक्षीकार्यमा नेतृत्व लिन्छन्‌, गोठालो गर्ने र सिकाउने काममा कडा मेहनत गर्छन्‌ अनि आफ्नो बोली र व्यवहारद्वारा भाइबहिनीलाई यहोवामाथिको विश्‍वास बलियो बनाउन मदत गर्छन्‌। यस्ता थुप्रै कामहरू गर्ने भएकोले बाइबलमा मेहनती एल्डरहरूलाई ‘वरदानको रूपमा दिइएका पुरुषहरू’ भनिएको छ।—एफि. ४:८.

३. कुनै भाइ एल्डरको रूपमा सेवा गर्न कसरी योग्य हुन सक्छन्‌? (१ तिमोथि ३:१-७; तितस १:५-९)

३ तपाईँ कसरी एल्डरको रूपमा सेवा गर्न योग्य हुन सक्नुहुन्छ? एल्डरको रूपमा सेवा गर्न योग्य हुनु भनेको कुनै जागिर खानको लागि योग्य हुनुजस्तो होइन। यदि तपाईँसित कुनै सीप छ भने तपाईँले जागिर पाउन पनि सक्नुहुन्छ। तर एल्डर हुनु भनेको त्यस्तो होइन। एल्डर हुनको लागि तपाईँ साक्षी दिन र सिकाउन सिपालु हुनु मात्र पर्याप्त छैन। बरु तपाईँले पहिलो तिमोथि ३:१-७ र तितस १:५-९ मा एल्डरहरूका लागि दिइएका धर्मशास्त्रीय योग्यता हासिल गर्नुभएको हुनुपर्छ। (पढ्‌नुहोस्‌।) यस लेखमा हामी ती पदहरूमा दिइएका केही गुणहरूबारे छलफल गर्नेछौँ। हामी यी प्रश्‍नहरूबारे विचार गर्नेछौँ: कुनै भाइले मण्डलीभित्र र मण्डलीबाहिरका मानिसहरूमाझ कसरी राम्रो नाम कमाउन सक्छन्‌? तिनले परिवारको शिरको रूपमा कसरी राम्रो उदाहरण बसाल्न सक्छन्‌? तिनले कसरी खुसीसाथ मण्डलीका भाइबहिनीको सेवा गर्न सक्छन्‌?

राम्रो नाम कमाउने

४. “कुनै दोष लागेको हुनु हुँदैन” भन्‍नुको अर्थ के हो?

४ एल्डरको रूपमा सेवा गर्न योग्य हुन तपाईँलाई “कुनै दोष लागेको हुनु हुँदैन।” भन्‍नुको मतलब तपाईँले राम्रो आचरण कायम राखेकोले मण्डलीका भाइबहिनीहरूमाझ राम्रो नाम कमाउनुभएको हुनुपर्छ। त्यसका साथै तपाईँले ‘बाहिरका मानिसहरूबाट पनि राम्रो नाम कमाएको हुनुपर्छ।’ हुनत यहोवाको सेवा नगर्ने मानिसहरू तपाईँको विश्‍वाससित सहमत नहोलान्‌ तर तिनीहरूले तपाईँको इमानदारिता र आचरणमाथि प्रश्‍न उठाउने कारण पाउनु हुँदैन। (दानि. ६:४, ५) आफैलाई सोध्नुहोस्‌, ‘मैले मण्डलीभित्रका र बाहिरका मानिसहरूमाझ कस्तो नाम कमाएको छु?’

५. आफू “भलाइको प्रेमी” भएको तपाईँ कसरी देखाउन सक्नुहुन्छ?

५ यदि तपाईँ “भलाइको प्रेमी” हुनुहुन्छ भने तपाईँले अरूमा असल गुणहरू खोज्नुहुनेछ र त्यस्तो असल गुण देखाएकोमा तिनीहरूको प्रशंसा गर्नुहुनेछ। साथै तपाईँले खुसीसाथ अरूको लागि असल कामहरू गर्नुहुनेछ। तपाईँ आफूबाट आशा गरिएभन्दा धेरै गर्नसमेत तयार हुनुहुनेछ। (१ थिस्स. २:८) एल्डरहरू भलाइको प्रेमी हुनु किन आवश्‍यक छ? किनभने तिनीहरू आफ्नो बहुमूल्य समय गोठालोले झैँ भाइबहिनीको हेरचाह गर्न र जिम्मेवारीहरू पूरा गर्न प्रयोग गर्छन्‌। (१ पत्रु. ५:१-३) हुनत यी कामहरू गर्न कडा मेहनत गर्नुपर्ने हुन्छ तर अरूलाई मदत गर्न पाउँदा तिनीहरू निकै आनन्दित हुन्छन्‌।—प्रेषि. २०:३५.

६. “अतिथि-सत्कार गर्ने” केही तरिकाहरू के-के हुन्‌? (हिब्रू १३:२, १६; चित्र पनि हेर्नुहोस्‌।)

६ आफ्नो नजिकका साथीहरूलगायत अरू व्यक्‍तिहरूको लागि असल कामहरू गरिदिएर तपाईँ “अतिथि-सत्कार गर्ने” व्यक्‍ति भएको देखाउन सक्नुहुन्छ। (१ पत्रु. ४:९) एउटा स्रोत-सामग्रीमा अतिथि-सत्कार गर्ने व्यक्‍ति कस्तो हुन्छ भन्‍नेबारे यस्तो लेखिएको छ: “तिनको घरको ढोकासँगै तिनको मनको ढोका पनि अपरिचित व्यक्‍तिहरूको लागि खुला हुन्छ।” आफैलाई सोध्नुहोस्‌, ‘मण्डलीमा आएका पाहुनाहरूलाई स्वागत गर्ने सन्दर्भमा मैले कस्तो नाम कमाएको छु?’ (हिब्रू १३:२, १६ पढ्‌नुहोस्‌।) अतिथि-सत्कार गर्ने व्यक्‍तिले आफूसित भएका कुराहरू पाहुनाहरूसित बाँडचुँड गर्छन्‌। जस्तै: दीनदुःखीहरू, अतिथि वक्‍ताहरू र क्षेत्रीय निरीक्षकहरूजस्ता मेहनती व्यक्‍तिहरूसित।—उत्प. १८:२-८; हितो. ३:२७; लुका १४:१३, १४; प्रेषि. १६:१५; रोमी १२:१३.

एक दम्पती क्षेत्रीय निरीक्षक र तिनकी पत्नीलाई तिनीहरू बस्ने कोठा देखाउँदै छ।

एक दम्पती क्षेत्रीय निरीक्षक र तिनकी पत्नीलाई अतिथि-सत्कार गर्छन्‌ (अनुच्छेद ६ हेर्नुहोस्‌)


७. एल्डरहरूले आफू ‘पैसाको प्रेमी नभएको’ कसरी देखाउन सक्छन्‌?

७ “पैसाको प्रेमी हुनु हुँदैन।” यसको मतलब तपाईँको ध्यान पैसा कमाउने र भौतिक चिजबिजहरू थुपार्ने कुरामै केन्द्रित हुनु हुँदैन। धनी भए पनि गरिब भए पनि तपाईँले आफ्नो जीवनमा राज्य गतिविधिलाई प्रथम स्थानमा राख्नुपर्छ। (मत्ति ६:३३) तपाईँले आफ्नो समय, शक्‍ति र स्रोतसाधन यहोवाको उपासना गर्न, परिवारको हेरविचार गर्न र मण्डलीका भाइबहिनीको सेवा गर्नमा लगाउनुपर्छ। (मत्ति ६:२४; १ युह. २:१५-१७) आफैलाई सोध्नुहोस्‌, ‘म पैसाप्रति कस्तो दृष्टिकोण राख्छु? के म आफ्नो आधारभूत आवश्‍यकता पूरा हुँदा सन्तुष्ट हुन्छु? अथवा के म पैसा कमाउन र भौतिक कुराहरू थुपार्नमै तल्लीन छु?’—१ तिमो. ६:६, १७-१९.

८. तपाईँ “सन्तुलित आनीबानी भएको” र “आत्मसंयमी” हुनुहुन्छ भनेर देखाउने केही तरिका के-के हुन्‌?

८ यदि तपाईँ “सन्तुलित आनीबानी भएको” र “आत्मसंयमी” हुनुहुन्छ भने तपाईँ जीवनको हरेक क्षेत्रमा सन्तुलित हुनुहुनेछ। उदाहरणका लागि, तपाईँले धेरै खाने र पिउने गर्नुहुनेछैन, तपाईँको पहिरन र कोरीबाटी भद्र हुनेछ अनि मनोरञ्जन छान्‍ने सन्दर्भमा तपाईँले सही निर्णय गर्नुहुनेछ। संसारमा जुन कुरा चलेको छ, तपाईँ त्यसकै पछि लाग्नुहुनेछैन। (लुका २१:३४; याकु. ४:४) अरू मानिसहरूले तपाईँसित राम्रो व्यवहार नगरे तापनि तपाईँ शान्त रहनुहुनेछ। तपाईँ “पियक्कड हुनु हुँदैन” अनि तपाईँ धेरै रक्सी पिउने व्यक्‍तिको रूपमा चिनिनु हुँदैन। आफैलाई सोध्नुहोस्‌, ‘के मेरो जीवनशैलीबाट म सन्तुलित आनीबानी भएको र आत्मसंयमी छु भन्‍ने देखिन्छ?’

९. “सुझबुझ भएको” र “व्यवस्थित” व्यक्‍ति हुनुमा के-कस्ता कुराहरू समावेश छन्‌?

९ यदि तपाईँ “सुझबुझ भएको” व्यक्‍ति हुनुहुन्छ भने जीवनको विभिन्‍न अवस्थाहरूमा के-कस्ता बाइबल सिद्धान्तहरू लागू हुन्छन्‌ भनेर राम्ररी विचार गर्नुहुनेछ। यसो गर्दा तपाईँले कुनै परिस्थितिलाई अझ राम्ररी बुझ्नुहुनेछ र बुद्धिमानी निर्णय गर्न सक्नुहुनेछ। तपाईँ हतारमा कुनै निष्कर्षमा पुग्नुहुनेछैन बरु आवश्‍यक सबै कुरा राम्ररी बुझ्ने प्रयास गर्नुहुनेछ। (हितो. १८:१३) यसो गर्दा तपाईँले यहोवाको सोचाइ झल्किने बुद्धिमानी निर्णयहरू गर्न सक्नुहुनेछ। यदि तपाईँ “व्यवस्थित” हुनुहुन्छ भने तपाईँ समयनिष्ठ हुनुहुनेछ। तपाईँ भरपर्दो र निर्देशनहरू राम्ररी पछ्याउने व्यक्‍तिको रूपमा चिनिनुहुनेछ। यी सबै गुणहरू विकास गर्दा तपाईँले राम्रो नाम कमाउनुहुनेछ। अब आउनुहोस्‌, कुनै भाइले परिवारको शिरको रूपमा कसरी असल उदाहरण बसाल्न सक्छन्‌ र एल्डरको रूपमा सेवा गर्न योग्य हुन सक्छन्‌, त्यसबारे छलफल गरौँ।

परिवारको शिरको रूपमा राम्रो उदाहरण बसाल्ने

१०. कुनै पुरुषले कसरी ‘आफ्नो घरपरिवारको राम्ररी अगुवाइ लिन’ सक्छन्‌?

१० यदि तपाईँ विवाहित हुनुहुन्छ र एल्डर नियुक्‍त हुन चाहनुहुन्छ भने तपाईँको परिवारले पनि राम्रो नाम कमाएको हुनुपर्छ। त्यसैले तपाईँले “आफ्नो घरपरिवारको राम्ररी अगुवाइ लिनुपर्छ।” यसको मतलब तपाईँले मायालु तरिकामा आफ्नो परिवारको हेरविचार गर्नुपर्छ र परिवारको लागि बुद्धिमानी निर्णयहरू गर्नुपर्छ। यसमा उपासनाको सबै पक्षमा नेतृत्व लिनु पनि समावेश छ। यसो गर्नु किन महत्त्वपूर्ण छ? प्रेषित पावलले यस्तो तर्क गरे: “यदि कुनै पुरुषले आफ्नै घरपरिवारको अगुवाइ लिन जान्दैन भने उसले कसरी परमेश्‍वरको मण्डलीको हेरचाह गर्न सक्छ र?”—१ तिमो. ३:५.

११-१२. कुनै भाइ एल्डर हुन चाहन्छन्‌ भने तिनका छोराछोरीले असल आचरण देखाउनु किन महत्त्वपूर्ण छ? (चित्र पनि हेर्नुहोस्‌।)

११ यदि तपाईँ बुबा हुनुहुन्छ भने १८ वर्षमुनिका तपाईँका “छोराछोरी पूर्ण गम्भीरतासाथ अधीनमा बस्नुपर्छ।” तपाईँले तिनीहरूलाई मायालुपूर्वक सिकाउनुपर्छ र तालिम दिनुपर्छ। हुनत सबै केटाकेटीलाई हाँसखेल गर्न मन पर्छ। तर तपाईँले राम्रो तालिम दिनुभएको छ भने तिनीहरू आज्ञाकारी हुन्छन्‌, अरूलाई आदर देखाउँछन्‌ र तिनीहरूको बानीबेहोरा राम्रो हुन्छ। साथै तपाईँले आफ्ना छोराछोरीलाई यहोवासित घनिष्ठ सम्बन्ध गाँस्न, बाइबल सिद्धान्तहरूको आधारमा जीवन बिताउन र बप्तिस्मा गर्ने लक्ष्यतर्फ अघि बढ्‌न सक्दो मदत गर्नुपर्छ।

१२ ‘प्रभुमा विश्‍वास गर्ने छोराछोरीहरूमाथि दुराचरणमा लागेको वा विद्रोही भएको आरोप लागेको हुनु हुँदैन।’ यदि यहोवाको सेवा गर्ने छोराछोरीले गम्भीर पाप गरे भने त्यसले बुबालाई कस्तो असर गर्छ? यदि बुबाले आफ्ना छोराछोरीलाई तालिम र अनुशासन दिन हेलचेक्र्‌याइँ गरिरहेका छन्‌ भने तिनी एल्डरको रूपमा सेवा गर्न अयोग्य हुन सक्छन्‌।—अक्टोबर १५, १९९६ अङ्‌कको प्रहरीधरहरा-को पृ. २१ अनु. ६-७ हेर्नुहोस्‌।

चित्रहरूको सँगालो: १. एक बुबा आफ्नी पत्नी र साना छोराछोरीसित पारिवारिक उपासना गर्छन्‌। तिनीहरू jw.org मा भएको “यहोवाको साथी बनौँ​—यहोवाको घरलाई माया गरौँ” भिडियो हेर्छन्‌। २. पछि ती बुबा र दुई छोरा मिलेर सभाभवन सफा गर्छन्‌। बुबा र एक जना छोरा भ्याकुम लाउँछन्‌ भने अर्को छोरा पोडियम पुछ्‌छन्‌।

बुबा आफ्ना छोराछोरीलाई यहोवा र मण्डलीको लागि विभिन्‍न काम गर्न तालिम दिन्छन्‌ (अनुच्छेद ११ हेर्नुहोस्‌)


मण्डलीका भाइबहिनीको सेवा गर्ने

१३. तपाईँ “व्यावहारिक” र ‘आफूखुसी नचल्ने’ व्यक्‍ति भएको कसरी देखाउन सक्नुहुन्छ?

१३ असल गुणहरू देखाउने भाइहरू मण्डलीको लागि बहुमूल्य सम्पत्ति हुन्‌। “व्यावहारिक” मानिसले अरूसित शान्ति कायम गर्न कडा मेहनत गर्छ र अरूलाई पनि एकअर्कासित शान्ति कायम गर्न मदत गर्छ। यदि तपाईँ व्यावहारिक व्यक्‍ति भनेर चिनिन चाहनुहुन्छ भने अरूको कुरा ध्यान दिएर सुन्‍नुहोस्‌ र तिनीहरूको सोचाइ बुझ्ने प्रयास गर्नुहोस्‌। मानिलिनुहोस्‌, तपाईँ एल्डर नियुक्‍त भइसक्नुभएको छ। तपाईँ एल्डरहरूको सभामा हुनुहुन्छ र एउटा विषयमा निर्णय गर्नुपर्नेछ। धेरैजसो एल्डरहरू बाइबल सिद्धान्तसित नबाझिने एउटा निर्णयमा पुग्छन्‌। तर तपाईँ त्यसमा सहमत हुनुहुन्‍न। के त्यस्तो बेला तपाईँ आफूले भनेजस्तै हुनुपर्छ भनेर जिद्दी गर्नुहुन्छ? यदि तपाईँ “आफूखुसी चल्ने” एल्डर हुनुहुन्‍न भने बाँकी एल्डरहरूको निर्णयमा सहमत हुनुहुनेछ। धेरै जनासँग सल्लाह गर्दा सफलता मिल्छ भन्‍ने कुरा तपाईँले स्विकार्नुहुनेछ। (उत्प. १३:८, ९; हितो. १५:२२) तपाईँ “झगडालु” र “झनक्क रिसाउने” हुनु हुँदैन।” त्यसको मतलब तपाईँले अरूसित अनादरपूर्ण व्यवहार गर्नु हुँदैन र तिनीहरूसित भनाभन गर्नु हुँदैन। बरु तिनीहरूसित दयालु व्यवहार गर्नुपर्छ। तपाईँ शान्तिप्रिय व्यक्‍ति हुनुभएकोले अवस्था जत्ति नै तनावपूर्ण भए पनि शान्ति कायम गर्न अग्रसर हुनुहुनेछ। (याकु. ३:१७, १८) तपाईँको दयालु बोलीले अरूलाई शान्त बनाउन सक्छ, यहाँसम्म कि तपाईँको खेदो गर्नेहरूलाई समेत।—न्याय. ८:१-३; हितो. २०:३; २५:१५; मत्ति ५:२३, २४.

१४. “भर्खरै ख्रिष्टियन बनेको हुनु हुँदैन” र “वफादार” हुनुपर्छ भन्‍नुको अर्थ के हो?

१४ कुनै भाइ एल्डर हुनको लागि “तिनी भर्खरै ख्रिष्टियन बनेको हुनु हुँदैन।” हुनत तपाईँले बप्तिस्मा गरेको धेरै वर्ष भइसकेको हुनुपर्दैन तर परिपक्व ख्रिष्टियन बन्‍न तपाईँलाई पर्याप्त समय चाहिन्छ। तपाईँ येसुजस्तै नम्र हुनुपर्छ र यहोवाले तपाईँलाई मण्डलीमा थप जिम्मेवारीहरू नदिउन्जेल पर्खनुपर्छ। (मत्ति २०:२३; फिलि. २:५-८) यहोवाका स्तरहरूअनुसार चलेर अनि उहाँको सङ्‌गठनले दिने निर्देशनहरू पछ्याएर तपाईँ उहाँप्रति “वफादार” भएको देखाउन सक्नुहुन्छ।—१ तिमो. ४:१५.

१५. के एल्डरहरू एकदमै सिपालु वक्‍ता हुनुपर्छ? व्याख्या गर्नुहोस्‌।

१५ बाइबलमा निरीक्षकहरूसित “सिकाउने योग्यता हुनुपर्छ” भनेर स्पष्टसित बताइएको छ। तर के यसको मतलब तपाईँ एकदमै सिपालु वक्‍ता हुनुपर्छ भन्‍ने हो? त्यसो त होइन। कोही-कोही एल्डर भाषण दिन त्यत्ति सिपालु नहोलान्‌ तर तिनीहरू साक्षीकार्यमा मानिसहरूलाई राम्ररी सिकाउँछन्‌ र गोठालो भेटमा भाइबहिनीलाई प्रोत्साहन दिन्छन्‌। (१ कोरिन्थी १२:२८, २९ र एफिसी ४:११ तुलना गर्नुहोस्‌।) तैपनि तपाईँले शिक्षकको रूपमा आफ्नो सीप तिखार्न निरन्तर प्रयास गरिरहनुपर्छ। त्यसोभए तपाईँ कसरी प्रभावकारी शिक्षक बन्‍न सक्नुहुन्छ?

१६. तपाईँ कसरी अझ प्रभावकारी शिक्षक बन्‍न सक्नुहुन्छ? (चित्र पनि हेर्नुहोस्‌।)

१६ “विश्‍वासयोग्य वचनलाई दह्रोसित पक्रिराख्ने हुनुपर्छ।” प्रभावकारी शिक्षक बन्‍न तपाईँले बाइबलमा आधारित भएर अरूलाई सिकाउनुपर्छ र सल्लाह दिनुपर्छ। त्यसो गर्न तपाईँले बाइबल र हाम्रा प्रकाशनहरू राम्रोसँग अध्ययन गर्नुपर्छ। (हितो. १५:२८; १६:२३) त्यसरी अध्ययन गर्दा बाइबल पदको अर्थ र त्यो लागू गर्ने तरिका राम्ररी बुझ्न प्रयास गर्नुहोस्‌। अनि श्रोताहरूको मन छुने गरी सिकाउने कोसिस गर्नुहोस्‌। अनुभवी एल्डरहरूसित सल्लाह-सुझाव माग्नुभयो र ती लागू गर्नुभयो भने तपाईँ अझ प्रभावकारी शिक्षक बन्‍न सक्नुहुन्छ। (१ तिमो. ५:१७) एल्डरहरू भाइबहिनीलाई ‘प्रोत्साहन दिन’ सक्ने हुनुपर्छ तर कहिलेकाहीँ एल्डरहरूले तिनीहरूलाई सल्लाह दिनुपर्ने वा ‘सुधार्नुपर्ने’ पनि हुन सक्छ। प्रोत्साहन दिँदा होस्‌ वा सुधार्दा एल्डरहरूले भाइबहिनीसित सधैँ दयालु व्यवहार गर्नुपर्छ। यदि तपाईँ कोमल र मायालु हुनुहुन्छ अनि परमेश्‍वरको वचनलाई आधार बनाएर सिकाउनुहुन्छ भने तपाईँ प्रभावकारी शिक्षक बन्‍न सक्नुहुन्छ। त्यसो गर्दा तपाईँले महान्‌ शिक्षक येसुको अनुकरण गरिरहनुभएको हुन्छ।—मत्ति ११:२८-३०; २ तिमो. २:२४.

चित्रहरूको सँगालो: १. सहायक सेवक र एल्डर एउटी बहिनीलाई घरमा भेट्‌छन्‌। ती सहायक सेवक बोल्दै गर्दा तीनै जनाको बाइबल खुला छ। २. ती सहायक सेवक ऐनाअगाडि उभिएर भाषण अभ्यास गर्छन्‌।

एक सहायक सेवक अरूलाई बाइबलबाट कसरी सिकाउने भनेर एक जना अनुभवी एल्डरबाट सिक्दै छन्‌। तिनी ऐना हेर्दै भाषण अभ्यास गर्दै छन्‌ (अनुच्छेद १६ हेर्नुहोस्‌)


अघि बढिरहनुहोस्‌

१७. (क) सहायक सेवकहरूलाई अघि बढिरहन कुन कुराले मदत गर्छ? (ख) कुनै भाइ एल्डर हुन योग्य छन्‌ कि छैनन्‌ भनेर विचार गर्दा एल्डरहरूले कुन कुरा मनमा राख्नुपर्छ? (“अरूको योग्यता जाँच्दा व्यावहारिक हुनुहोस्‌” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

१७ एल्डरको रूपमा सेवा गर्न हासिल गर्नुपर्ने योग्यताहरूबारे विचार गर्दा केही सहायक सेवकहरूलाई आफू कहिल्यै एल्डर हुन सक्दिनँ जस्तो लाग्न सक्छ। तर नबिर्सनुहोस्‌, यहोवा र उहाँको सङ्‌गठन तपाईँ यी गुणहरू देखाउने सन्दर्भमा कहिल्यै नचुकेको आशा गर्नुहुन्‍न। (१ पत्रु. २:२१) अनि यी योग्यताहरू हासिल गर्न तपाईँलाई यहोवाको पवित्र शक्‍तिले मदत गर्नेछ। (फिलि. २:१३) के तपाईँ आफूमा कुनै गुण अझ राम्ररी विकास गर्न चाहनुहुन्छ? चाहनुहुन्छ भने त्यसबारे प्रार्थना गर्नुहोस्‌। त्यो गुणबारे अनुसन्धान गर्नुहोस्‌ र त्यो गुण अझ राम्ररी विकास गर्न के गर्नुपर्छ भनेर कुनै एक जना एल्डरलाई सोध्नुहोस्‌।

अरूको योग्यता जाँच्दा व्यावहारिक हुनुहोस्‌

कुनै भाइ एल्डरको रूपमा सेवा गर्न योग्य छन्‌ कि छैनन्‌ भनेर जाँच्दा एल्डरहरू व्यावहारिक हुनुपर्छ र “बढ्‌तै धर्मी” हुनु हुँदैन। (उप. ७:१६; रोमी १२:३) धर्मशास्त्रले तोकेका योग्यताहरू देखाउने सन्दर्भमा आफू पनि चुक्छु भन्‍ने कुरा प्रत्येक एल्डरले मनमा राख्नुपर्छ। त्यसैले तिनीहरूले कुनै भाइ ती योग्यताहरू देखाउने सन्दर्भमा चुक्दै नचुकेको आशा गर्नु हुँदैन। कुनै भाइले एल्डर हुन चाहिने गुणहरू सक्दो राम्रोसँग देखाइरहेका छन्‌ कि छैनन्‌ भनेर जाँच्न मदत गर्नुहोस्‌ भनेर यहोवालाई प्रार्थना गर्नुपर्छ। यसो गर्दा तिनीहरू आफूले एल्डरको रूपमा सिफारिस गरेका भाइले यहोवाको स्तरअनुसार जीवन बिताइरहेका छन्‌ कि छैनन्‌ भनेर पक्का हुन सक्छन्‌ र पूरै मण्डलीले लाभ उठाउनेछ।

१८. सबै सहायक सेवकहरूलाई के गरिरहन प्रोत्साहन दिइएको छ?

१८ अहिले एल्डरको रूपमा सेवा गरिरहेकाहरू र हामी सबै जना यस लेखमा छलफल गरिएका गुणहरू विकास गर्न कटिबद्ध होऔँ। (फिलि. ३:१६) के तपाईँ सहायक सेवकको रूपमा सेवा गर्दै हुनुहुन्छ? हुनुहुन्छ भने अघि बढिरहनुहोस्‌! यहोवाको लागि अनि मण्डलीको लागि अझ उपयोगी हुन तालिम दिनुहोस्‌ भनेर यहोवालाई प्रार्थना गर्नुहोस्‌। (यसै. ६४:८) एल्डरको रूपमा सेवा गर्न योग्य हुन तपाईँले गर्नुहुने प्रयासमा यहोवाले प्रशस्तै आशिष्‌ देऊन्‌!

हामी निम्न पदहरूबाट के सिक्न सक्छौँ?

  • १ तिमोथि ३:१-७

  • तितस १:५-९

  • हिब्रू १३:२, १६

गीत १०१ एकतामा बाँधिएर गरौँ काम!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने