प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w14 ११/१५ pp. २३-२७
  • ‘तिमीहरू अहिले परमेश्‍वरका जन हौ’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘तिमीहरू अहिले परमेश्‍वरका जन हौ’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरका नयाँ जनहरू
  • ‘परमेश्‍वरको नामको लागि छानिएका मानिसहरू’
  • परमेश्‍वरका जनहरू फेरि देखा पर्छन्‌
  • “हामी तिमीहरूसितै जानेछौं”
  • यहोवाका जनहरूमाझ सुरक्षा छ
  • स्वर्गीय नागरिकता हुने मसीही साक्षीहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • तिनीहरू जन्मँदै परमेश्‍वरले छान्‍नुभएको राष्ट्रका सदस्य थिए
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • “परमेश्‍वरका इस्राएल” र “ठूलो भीड़”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • ‘हेर, म सधैंभरि तिमीहरूसितै छु’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
w14 ११/१५ pp. २३-२७
इस्वी संवत्‌ ३३ पेन्तिकोसमा जिब्रोजस्तो आगोका ज्वालाहरू येशूका प्रेषित तथा चेलाहरूमाथि बस्यो र तिनीहरू पवित्र शक्‍तिले भरिपूर्ण भए

‘तिमीहरू अहिले परमेश्‍वरका जन हौ’

“कुनै बेला तिमीहरू परमेश्‍वरका जन थिएनौ तर अहिले परमेश्‍वरका जन हौ।”—१ पत्रु. २:१०.

के तपाईं जवाफ दिन सक्नुहुन्छ?

  • प्रथम शताब्दीमा यहोवाको नयाँ राष्ट्रको सदस्य हुने मौका कसले पाए?

  • प्रथम शताब्दीका साँचो ख्रीष्टियनहरूले आफू ‘परमेश्‍वरको नामको लागि छानिएका मानिसहरू’ भएको कसरी देखाए?

  • आज परमेश्‍वरका जनहरू को हुन्‌? “महासङ्‌कष्ट”-को बेला सुरक्षित रहन “अरू भेडा”-ले के गर्नै पर्छ?

१, २. इस्वी संवत्‌ ३३ पेन्तिकोसको दिनमा कस्तो परिवर्तन भयो? यहोवाको नयाँ राष्ट्रको सदस्य हुने मौका कसले पाए? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

इस्वी संवत्‌ ३३ पेन्तिकोसको दिनमा यहोवाका जनहरूको इतिहासले नयाँ मोड लियो। त्यस दिन एउटा ठूलो परिवर्तन भयो; यहोवाले नयाँ राष्ट्र खडा गर्नुभयो। बाइबलमा त्यस राष्ट्रलाई “परमेश्‍वरको इस्राएल” अर्थात्‌ आध्यात्मिक इस्राएल भनिएको छ। (गला. ६:१६) परमेश्‍वरको जनको रूपमा चिनिन अब्राहामका सन्तानहरूले खतना गर्नुपर्थ्यो। तर नयाँ राष्ट्रका सदस्यहरूले भने खतना गर्नु आवश्‍यक छैन। बरु ‘पवित्र शक्‍तिद्वारा उनीहरूको मनको खतना भएको छ।’—रोमी २:२९.

२ यरूशलेममा माथिल्लो तलाको कोठामा भेला भएका सयभन्दा धेरै चेला र येशूका प्रेषितहरू परमेश्‍वरको नयाँ राष्ट्रका सुरुका सदस्यहरू थिए। (प्रेषि. १:१२-१५) यहोवाको पवित्र शक्‍ति पाएर तिनीहरू उहाँको धर्मपुत्र भए। (रोमी ८:१५, १६; २ कोरि. १:२१) यसबाट नयाँ करार लागू भएको कुरा स्पष्ट भयो। यस करारको मध्यस्थकर्ता येशू हुनुहुन्छ र यसलाई उहाँले बगाउनुभएको रगतले मान्यता दियो। (लूका २२:२०; हिब्रू ९:१५ पढ्‌नुहोस्‌) ती चेलाहरू यहोवाको नयाँ राष्ट्रका सदस्य बने। यहूदी र धर्म परिवर्तन गरेर यहूदी बनेकाहरू त्यस दिन पेन्तिकोसको चाड मनाउन रोमी साम्राज्यको विभिन्‍न भागबाट यरूशलेम आएका थिए। पवित्र शक्‍तिको मदत पाएर चेलाहरूले ती मानिसहरूलाई उनीहरूकै भाषामा सुसमाचार सुनाए। ती मानिसहरूले “परमेश्‍वरको विषयमा अद्‌भुत कुराहरू” बुझे।—प्रेषि. २:१-११.

परमेश्‍वरका नयाँ जनहरू

३-५. (क) पेन्तिकोसको दिनमा पत्रुसले यहूदीहरूलाई के भने? (ख) नयाँ राष्ट्र कसरी ठूलो हुँदै गयो?

३ यहूदी र धर्म परिवर्तन गरेर यहूदी बनेकाहरू नयाँ राष्ट्र अर्थात्‌ ख्रीष्टियन मण्डलीको सदस्य बन्‍न सक्थे। तिनीहरूलाई मदत गर्न यहोवाले प्रेषित पत्रुसलाई चलाउनुभयो। यहूदीहरूले येशूलाई ‘खम्बामा टाँगेका’ थिए। त्यसैले पेन्तिकोसको दिनमा पत्रुसले तिनीहरूलाई येशूलाई स्वीकार्न सल्लाह दिए। किन? किनकि “उहाँलाई परमेश्‍वरले प्रभु र ख्रीष्ट” बनाउनुभएको थियो। आफूले के गर्नुपर्छ भनेर भीडले सोधेपछि पत्रुसले यस्तो जवाफ दिए, “पश्‍चात्ताप गर्नुहोस्‌ र तपाईंहरू हरेकले आ-आफ्ना पापहरूका क्षमाको लागि येशू ख्रीष्टको नाममा बप्तिस्मा गर्नुहोस्‌ अनि तपाईंहरूले वरदानस्वरूप पवित्र शक्‍ति सित्तैंमा पाउनुहुनेछ।” (प्रेषि. २:२२, २३, ३६-३८) त्यस दिन लगभग ३,००० जना नयाँ राष्ट्रको सदस्य भए। (प्रेषि. २:४१) त्यसपछि पनि प्रेषितहरूले जोसका साथ प्रचार गरे र चेलाहरूको सङ्‌ख्या बढ्‌दै गयो। (प्रेषि. ६:७) नयाँ राष्ट्र झन्‌झनै ठूलो हुँदै गयो।

४ पछि सुसमाचार सामरियासम्म फैलियो। प्रचारक फिलिपले सुसमाचार सुनाएपछि थुप्रैले बप्तिस्मा गरे तर तिनीहरूले तुरुन्तै पवित्र शक्‍ति पाएनन्‌। यरूशलेममा भएका प्रेषित र एल्डरहरूले पत्रुस र यूहन्‍नालाई तिनीहरूकहाँ पठाए र “उनीहरूले तिनीहरूमाथि आफ्नो हात राखे अनि तिनीहरूले पनि पवित्र शक्‍ति पाउन थाले।” (प्रेषि. ८:५, ६, १४-१७) त्यसपछि तिनीहरू पनि आध्यात्मिक इस्राएलका अभिषिक्‍त सदस्यहरू भए।

पत्रुस कर्नीलियसको घरभित्र पसे

पत्रुसले कर्नीलियस र उनका नातेदारहरूलाई साक्षी दिए (अनुच्छेद ५ हेर्नुहोस्‌)

५ इस्वी संवत्‌ ३६ मा अन्यजातिहरूले पनि नयाँ राष्ट्रको सदस्य हुने मौका पाए। उनीहरूलाई मदत गर्न यहोवाले पत्रुसलाई नै चलाउनुभयो। तिनले रोमी अफिसर कर्नीलियसलाई अनि उनका नातेदार र घनिष्ठ मित्रहरूलाई प्रचार गरे। (प्रेषि. १०:२२, २४, ३४, ३५) बाइबल विवरण यसो भन्छ, “पत्रुसले यी कुरा भनिरहेकै बेला वचन सुन्‍नेहरूजति सबैमाथि [गैर-यहूदीहरूमाथि] पवित्र शक्‍ति आयो। अन्यजातिका मानिसहरूले पनि परमेश्‍वरले सित्तैंमा दिनुहुने पवित्र शक्‍ति पाएको देखेर पत्रुससँगै आउने ती भाइहरू छक्क परे, जसको खतना भएको थियो।” (प्रेषि. १०:४४, ४५) यसरी खतना नभएका अन्यजातिहरूले पनि नयाँ राष्ट्रको सदस्य हुने मौका पाए।

‘परमेश्‍वरको नामको लागि छानिएका मानिसहरू’

६, ७. परमेश्‍वरको नामको लागि छानिएका मानिसहरू भएकोले नयाँ राष्ट्रका सदस्यहरूले के गरे?

६ इस्वी संवत्‌ ४९ मा यरूशलेममा भएको प्रेषित र एल्डरहरूको सभामा याकूबले यसो भने, “अन्यजातिमध्येबाट आफ्नो नामको लागि मानिसहरू छान्‍न परमेश्‍वरले कसरी पहिलो चोटि तिनीहरूलाई ध्यान दिनुभयो भनेर शिमियोनले [पत्रुसले] विस्तृत रूपमा बताइसकेका छन्‌।” (प्रेषि. १५:१४) परमेश्‍वरको नामको लागि छानिएका मानिसहरूमा यहूदी र धर्म परिवर्तन गरेर यहूदी बनेकाहरू दुवै पर्ने थिए। (रोमी ११:२५, २६क) पछि पत्रुसले यस्तो लेखे, “तिमीहरू कृपा नपाएका मानिसहरू थियौ तर अहिले भने कृपा पाएका मानिसहरू भएका छौ।” तिनीहरूले गर्नुपर्ने कामबारे पत्रुसले यसो भने, “तिमीहरू त ‘चुनिएको जाति,’ शाही पुजारीको दल, पवित्र राष्ट्र अनि परमेश्‍वरको विशेष सम्पत्ति हौ। त्यसकारण, जसले तिमीहरूलाई अन्धकारबाट बोलाएर आफ्नो अद्‌भुत ज्योतिमा ल्याउनुभयो, उहाँका असल गुणहरूबारे तिमीहरूले चारैतिर घोषणा गर्नुपर्छ।” (१ पत्रु. २:९, १०) तिनीहरूले साहसी भएर यस ब्रह्‍माण्डका शासक यहोवाको पक्षमा साक्षी दिनुपर्थ्यो र उहाँको नामको महिमा गर्नुपर्थ्यो।

७ इस्राएलीहरूजस्तै आध्यात्मिक इस्राएलका सदस्यहरू पनि यहोवाले ‘आफ्नो प्रशंसा गरून्‌ भनेर आफ्नो निम्ति उत्पन्‍न’ गर्नुभएको जाति थिए। (यशै. ४३:२१) यहोवा नै साँचो परमेश्‍वर हुनुहुन्छ, अरू सबै देवीदेवता झूटा हुन्‌ भनेर तिनीहरूले साहसी भई प्रचार गरे। (१ थिस्स. १:९) तिनीहरूले “यरूशलेमका साथै सारा यहूदिया, सामरिया अनि पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा” यहोवा र येशूको साक्षी दिए।—प्रेषि. १:८; कल. १:२३.

८. पावलले ख्रीष्टियनहरूलाई कस्तो चेतावनी दिए?

८ प्रथम शताब्दीमा ‘परमेश्‍वरको नामको लागि छानिएका’ साहसी व्यक्‍तिहरूमध्ये प्रेषित पावल पनि थिए। दार्शनिकहरूको अगाडि उभिएर तिनले ‘सारा संसार अनि त्यसमा भएका सबै थोक बनाउनुहुने, आकाश र पृथ्वीको स्वामी’ यहोवाको पक्षमा बोले। (प्रेषि. १७:१८, २३-२५) तेस्रो मिसनरी यात्राको अन्ततिर पावलले ख्रीष्टियनहरूलाई यस्तो चेतावनी दिए, “मलाई थाह छ, म गएपछि अत्याचारी ब्वाँसाहरू तपाईंहरूबीच घुस्नेछन्‌ र बगालसित कठोर व्यवहार गर्नेछन्‌, अनि टेढोमेढो कुरा गरेर चेलाहरूलाई आफूतिर तान्‍ने मानिसहरू पनि तपाईंहरूकै बीचबाट उठ्‌नेछन्‌।” (प्रेषि. २०:२९, ३०) प्रथम शताब्दीको अन्तसम्ममा त मण्डलीमा धर्मत्याग देखा परिसकेको थियो।—१ यूह. २:१८, १९.

९. प्रेषितहरूको मृत्युपछि के भयो?

९ प्रेषितहरूको मृत्यु भएपछि धर्मत्याग फैलँदै गयो र चर्चजगत्‌को सुरुवात भयो। आफूलाई ‘परमेश्‍वरको नामको लागि छानिएको मानिस’ भनेर चिनाउनुको साटो चर्चजगत्‌का मानिसहरूले बाइबलका थुप्रै अनुवादबाट यहोवा नाम नै हटाएका छन्‌। उनीहरूले झूटा धार्मिक रीतिथितिहरू मान्छन्‌ र बाइबलसित मेल नखाने शिक्षा सिकाउँछन्‌। उनीहरू धार्मिक युद्धहरूमा मुछिएका छन्‌ र परमेश्‍वरको निम्ति लडेको दाबी गर्छन्‌। तिनीहरू भ्रष्ट भएका छन्‌ र अवैध यौनसम्बन्धलाई समेत समर्थन गर्छन्‌। धर्मत्याग सुरु भएको सयौं वर्षपछिसम्म पृथ्वीमा परमेश्‍वरका जनहरू थोरै मात्र थिए। तर ‘परमेश्‍वरको नामको लागि छानिएका मानिसहरू’-को समूह भने थिएन।

परमेश्‍वरका जनहरू फेरि देखा पर्छन्‌

१०, ११. (क) गहुँ र सामाको दृष्टान्तमा येशूले के बताउनुभयो? (ख) येशूले बताउनुभएको दृष्टान्त १९१४ पछि कसरी पूरा भयो?

१० धर्मत्यागले गर्दा साँचो धर्म चिन्‍न धेरै गाह्रो हुनेछ भनेर येशूले गहुँ र सामाको दृष्टान्तमा बताउनुभयो। उहाँले “मानिसहरू सुतिरहेको बेला” सैतानले गहुँको बीच-बीचमा सामा छर्नेछ भन्‍नुभयो। “युगको आखिरी समय”-सम्म गहुँ र सामा सँगै बढ्‌ने थियो। येशूले “असल बीउ राज्यका सन्तान हुन्‌; तर सामाचाहिं . . . दुष्टका सन्तान हुन्‌” भन्‍नुभयो। अन्तको दिनमा मानिसको छोराले सामा र गहुँ छुट्‌याउन “खेतालाहरू” अर्थात्‌ स्वर्गदूतहरू पठाउनुहुने थियो। राज्यको सन्तान जम्मा गरिने थियो। (मत्ती १३:२४-३०, ३६-४३) जम्मा गर्ने काम कसरी सम्भव भयो? यो कामले गर्दा यहोवाले पृथ्वीमा रहेका आफ्ना उपासकहरूलाई कसरी व्यवस्थित पार्न सक्नुभयो?

११ “युगको आखिरी समय” १९१४ मा सुरु भयो। त्यतिबेला पृथ्वीमा “राज्यको सन्तान” अर्थात्‌ अभिषिक्‍त ख्रीष्टियनहरू ५,००० जति मात्र थिए। त्यो वर्ष युद्ध सुरु हुँदा ती ख्रीष्टियनहरू महान्‌ बेबिलोनको फन्दामै थिए। सन्‌ १९१९ मा यहोवाले तिनीहरूलाई छुटाउनुभयो। साँचो ख्रीष्टियनहरू को हुन्‌ र झूटा ख्रीष्टियनहरू को हुन्‌ भन्‍ने कुरा स्पष्ट भयो। यहोवाले “राज्यको सन्तान”-लाई व्यवस्थित पार्नुभयो। त्यतिबेला यशैयाको यो भविष्यवाणी पूरा भयो, “के एकै दिनमा एउटा देश उत्पन्‍न हुन्छ र? के एकै क्षणमा नै एउटा जाति उत्पन्‍न हुन सक्छ र? किनकि सियोनले ता सुत्केरी व्यथा लाग्नेबित्तिकै बालकहरू जन्माई।” (यशै. ६६:८) यहाँ बताइएको सियोन अदृश्‍य प्राणीहरू मिलेर बनेको यहोवाको सङ्‌गठन हो। सियोनले ‘बालक जन्माउनुको’ अर्थ अभिषिक्‍त जनहरूलाई समूहको रूपमा व्यवस्थित पार्नु हो।

१२. अभिषिक्‍त ख्रीष्टियनहरू कसरी परमेश्‍वरको नामको लागि छानिएका मानिसहरू हुन्‌?

१२ सुरु-सुरुका ख्रीष्टियनहरूले जस्तै ‘राज्यका’ अभिषिक्‍त “सन्तान”-हरूले पनि यहोवाको पक्षमा साक्षी दिएका छन्‌। (यशैया ४३:१, १०, ११ पढ्‌नुहोस्‌) असल चालचलन देखाएकोले र “सबै जातिलाई साक्षी दिनका लागि” राज्यको सुसमाचार प्रचार गरेकोले तिनीहरू अरूभन्दा बेग्लै देखिन्छन्‌। (मत्ती २४:१४; फिलि. २:१५) यसरी तिनीहरूले लाखौं मानिसलाई यहोवासित नजिक हुन मदत गरेका छन्‌।—दानियल १२:३ पढ्‌नुहोस्‌।

“हामी तिमीहरूसितै जानेछौं”

१३, १४. पवित्र शक्‍तिद्वारा अभिषेक नभएकाहरूले आफ्नो उपासना परमेश्‍वरले स्वीकारेको चाहन्छन्‌ भने के गर्नुपर्छ? यसबारे कस्तो भविष्यवाणी गरिएको थियो?

१३ अघिल्लो लेखमा छलफल गरिएझैं इस्राएलमा परदेशीहरूले समेत यहोवाको उपासना गर्न सक्थे तर उनीहरूले यहोवाका जनहरूसितै मिलेर उपासना गर्नुपर्थ्यो। (१ राजा ८:४१-४३) त्यसैगरि आज पवित्र शक्‍तिद्वारा अभिषेक नभएकाहरूले अभिषिक्‍त जनहरूसितै मिलेर उपासना गर्नुपर्छ।

१४ अन्तको दिनमा थुप्रै मानिसले यहोवाका अभिषिक्‍त जनहरूसित मिलेर उपासना गर्नेछन्‌ भनेर यशैयाले भविष्यवाणी गरेका थिए। तिनले यसो भनेका थिए, “जाति-जातिका धेरै मानिसहरू त्यहाँ गएर भन्‍नेछन्‌, आऊ, हामी परमप्रभुको पर्वतमा उक्लेर याकूबका परमेश्‍वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिंड्‌नेछौं। किनकि शिक्षाचाहिं सियोनबाट, र परमप्रभुको वचन यरूशलेमबाट नै निस्कनेछन्‌।” (यशै. २:२, ३) “धेरै सामर्थी जातिका मानिसहरू यरूशलेममा सेनाहरूका परमप्रभुको खोजी गर्न र उहाँको निगाह प्राप्त गर्न आउनेछन्‌” भनेर जकरियाले पनि भविष्यवाणी गरेका थिए। उनले तिनीहरूलाई “सबै जातिका विभिन्‍न भाषा बोल्नेहरूमध्ये दश जना मानिस” भनेका छन्‌। तिनीहरूले लाक्षणिक रूपमा आध्यात्मिक इस्राएलको लुगा समात्ने थिए र यसो भन्‍ने थिए, “हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाईंसित हुनुहुन्छ।”—जक. ८:२०-२३.

१५. “अरू भेडा” आध्यात्मिक इस्राएलसित मिलेर के गर्न ‘जान्छन्‌?’

१५ “अरू भेडा” आध्यात्मिक इस्राएलसित मिलेर राज्यको सुसमाचार प्रचार गर्न ‘जान्छन्‌।’ (मर्कू. १३:१०) तिनीहरू र अभिषिक्‍त जनहरू “एकै जना गोठालो” येशू ख्रीष्टको नेतृत्वमा “एउटै बगाल”-का हुन्छन्‌।—यूहन्‍ना १०:१४-१६ पढ्‌नुहोस्‌।

यहोवाका जनहरूमाझ सुरक्षा छ

१६. “महासङ्‌कष्ट”-को अन्तिम चरण कसरी सुरु हुनेछ?

१६ महान्‌ बेबिलोनको विनाशपछि सैतानले परमेश्‍वरका जनहरूलाई आक्रमण गर्नेछ। यहोवाले नै त्यस्तो परिस्थिति सृजना गर्नुहुनेछ। त्यतिबेला हामीलाई यहोवाको सुरक्षा चाहिन्छ। त्यस आक्रमणले “महासङ्‌कष्ट”-को अन्तिम चरण अर्थात्‌ आरमागेडोन सुरु भएको जनाउ दिनेछ। (मत्ती २४:२१; इज. ३८:२-४) त्यतिबेला गोगले “जाति-जातिहरूबाट भेला भएका मानिसहरू” अर्थात्‌ यहोवाका जनहरूलाई आक्रमण गर्नेछ। (इज. ३८:१०-१२) त्यसपछि यहोवाले कदम चाल्नुहुनेछ अनि गोग र त्यसका सेनाहरूसित लडाइँ गर्नुहुनेछ। त्यतिबेला मानिसजातिमाथि शासन गर्ने अधिकार यहोवासित मात्र छ भन्‍ने कुरा प्रमाणित हुनेछ र उहाँले आफ्नो नाम पवित्र पार्नुहुनेछ। उहाँले यसो भन्‍नुभएको छ, “[म] . . . धेरै जातिहरूकहाँ आफैलाई प्रकट गर्नेछु। तब तिनीहरूले मनै परमप्रभु हुँ भनी जान्‍नेछन्‌।”—इज. ३८:१८-२३.

आधुनिक समयका परमेश्‍वरका जनहरू घरको छिंडीमा लुकेर सभा गर्दै

“महासङ्‌कष्ट”-को बेला हामीले स्थानीय मण्डलीसित सङ्‌गत गरिरहनुपर्छ (अनुच्छेद १६-१८ हेर्नुहोस्‌)

१७, १८. (क) गोगले आक्रमण गर्दा यहोवाका जनहरूले कस्तो निर्देशन पाउनेछन्‌? (ख) यहोवाको सुरक्षा पाउन के गर्नुपर्छ?

१७ जब गोगले आक्रमण गर्छ, यहोवाले आफ्ना जनहरूलाई यसो भन्‍नुहुनेछ, “हे मेरा मानिस हो, आऊ, तिमीहरू आफ्ना भित्री कोठाहरूमा पसेर ढोकाहरू थुन। परमप्रभुको क्रोध शान्त नहोउञ्जेल केही क्षणको निम्ति लुकिबस।” (यशै. २६:२०) ती “भित्री कोठाहरू” हाम्रा स्थानीय मण्डलीहरू हुन सक्छन्‌। त्यो डरलाग्दो समयमा जीवन बचाउन हामीले चाल्नुपर्ने कदमबारे यहोवाले निर्देशन दिनुहुनेछ।

१८ महासङ्‌कष्टको बेला यहोवाको सुरक्षा पाउन हामीले यो कुरा स्वीकार्नुपर्छ: आज पनि पृथ्वीमा यहोवाका जनहरू छन्‌ र तिनीहरूलाई व्यवस्थित पार्न उहाँले मण्डलीहरूको प्रबन्ध मिलाउनुभएको छ। हामी परमेश्‍वरका जनहरूमाझ रहनुपर्छ। त्यसको लागि स्थानीय मण्डलीसित सङ्‌गत गरिरहनुपर्छ। भजनरचयिताले जस्तै मनैदेखि यसो भनौं, “उद्धार परमप्रभुमा छ। तपाईंको आशीर्वाद तपाईंको प्रजामाथि रहोस्‌।”—भज. ३:८.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने