“परमेश्वरका इस्राएल” र “ठूलो भीड़”
“हेर, कसैले गन्न नसक्ने . . . एक ठूलो भीड़ मैले देखें।” —प्रकाश ७:९.
१-३. (क) अभिषिक्त मसीहीहरूसित कस्ता महिमित स्वर्गीय प्रत्याशाहरू छन्? (ख) शैतानले प्रथम शताब्दीको मण्डलीलाई नाश गर्ने कोसिस कसरी गऱ्यो? (ग) अभिषिक्त मसीही मण्डलीलाई भ्रष्ट पार्ने शैतानको प्रयास विफल भयो भनेर देखाउने कस्तो घटना सन् १९१९ मा भयो?
यहोवाका उद्देश्यहरू पूरा गर्न चालिएको पहिलो महत्त्वपूर्ण कदम सा.यु. ३३ मा “परमेश्वरका इस्राएल[को]” स्थापना थियो। (गलाती ६:१६) त्यसका अभिषिक्त सदस्यहरूसित अमर आत्मिक प्राणी हुने र परमेश्वरको स्वर्गीय राज्यमा ख्रीष्टसँग शासन गर्ने आशा छ। (१ कोरिन्थी १५:५०, ५३, ५४) तिनीहरूको त्यस्तो ओहदाले गर्दा यहोवाको नाउँ पवित्र पार्ने र सबैभन्दा ठूलो शत्रु, शैतान अर्थात् दियाबलको शिर कुच्याउने काममा तिनीहरूले अग्र भूमिका खेल्छन्। (उत्पत्ति ३:१५; रोमी १६:२०) त्यसैकारण त शैतानले यस नयाँ मण्डलीको अन्त गर्न आफ्नो सम्पूर्ण शक्ति लगाएर सताउने र भ्रष्ट पार्ने कोसिस गऱ्यो!—२ तिमोथी २:१८; यहूदा ४; प्रकाश २:१०.
२ प्रेरितहरू जीवित छउञ्जेल शैतान सफल हुन सकेन। तर तिनीहरूको मृत्युपश्चात् द्रुत गतिले धर्मत्याग फैलियो। अन्ततः शैतानले मसीहीजगतको नाउँले चिनिने नकली धर्मत्यागी धार्मिक संगठन खडा गऱ्यो। फलतः येशूले स्थापित गर्नुभएको विशुद्व मसीही मण्डली मानिसहरूको दृष्टिमा भ्रष्टजस्तो देखिन थाल्यो। (२ थिस्सलोनिकी २:३-८) तैपनि, साँचो मसीही धर्म लुप्त भने भएको थिएन।—मत्ती २८:२०.
३ येशूले गहुँ र सामाको उखान भन्नुहुँदा साँचो मसीहीहरू केही समयसम्म “सामा” अर्थात् झूटा मसीहीहरूसँगै बढ्नेछन् भनी अगमवाणी गर्नुभएको थियो; र वास्तवमा त्यस्तै भयो। तर उहाँले आखिरी दिनमा “राज्यका सन्तान[लाई]” सबैले देख्नगरि “सामा[बाट]” अलग पारिनेछ पनि भन्नुभएको थियो। (मत्ती १३:३६-४३) यो पनि सत्य साबित भयो। सन् १९१९ मा असली अभिषिक्त मसीहीहरू बेबिलोनी बन्धनबाट मुक्त भए। तिनीहरू “विश्वासी र बुद्धिमान दास” हुन् भनी ईश्वरीय ढंगमा चिनाइयो। अनि तिनीहरूले निर्भयतासाथ राज्यको सुसमाचार प्रचार गरे। (मत्ती २४:१४, ४५-४७; प्रकाश १८:४) तिनीहरूमध्ये अधिकांश मानिसहरू अन्यजाति थिए; तर तिनीहरूसित अब्राहामको जस्तो विश्वास भएकोले वास्तवमा तिनीहरू “अब्राहामका सन्तान” थिए। तिनीहरू “परमेश्वरका इस्राएल[का]” सदस्य थिए।—गलाती ३:७, २६-२९.
“ठूलो भीड़”
४. विशेषगरि सन् १९३० दशकदेखि मसीहीहरूको कुन समूह प्रष्ट देखिन थाल्यो?
४ प्रारम्भमा यी अभिषिक्त मसीहीहरूले प्रचार गरेका कुरा सुन्नेहरू पनि आत्मिक इस्राएलीहरू भए अर्थात् तिनीहरू स्वर्गीय आशा भएका १,४४,००० का शेष जनहरू थिए। (प्रकाश १२:१७) तथापि, विशेषगरि सन् १९३० दशकदेखि अर्को समूह प्रष्ट देखिन थाल्यो। यिनीहरूलाई गोठको उदाहरणमा बताइएको “अरू भेड़ा” भनी चिनाइयो। (यूहन्ना १०:१६) यिनीहरू येशूका ती चेलाहरू थिए जसको आशा पार्थिव प्रमोदवनमा अनन्त जीवन प्राप्त गर्ने थियो। प्रतीकात्मक अर्थमा भन्ने हो भने, यिनीहरू अभिषिक्त मसीहीहरूका आत्मिक सन्तान थिए। (यशैया ५९:२१; ६६:२२; १ कोरिन्थी ४:१५, १६ तुलना गर्नुहोस्।) यिनीहरूले अभिषिक्त मसीही मण्डलीलाई विश्वासी र बुद्धिमान दासको रूपमा स्वीकारे। अनि आफ्ना अभिषिक्त भाइहरूजस्तै यिनीहरूसित पनि यहोवाप्रति गहिरो प्रेम, येशूको बलिदानमाथि विश्वास, परमेश्वरको प्रशंसा गर्ने जोस र धार्मिकताका खातिर कष्ट भोग्ने स्वेच्छा थियो।
५. अरू भेडाहरूको भूमिका कसरी क्रमिक रूपले बुझिन थाल्यो?
५ प्रारम्भमा यी अरू भेडाहरूले पाउने दर्जा त्यति राम्ररी बुझिएको थिएन तर समय बित्दै जाँदा प्रष्टिंदै गयो। सन् १९३२ मा अभिषिक्त मसीहीहरू अरू भेडाहरूलाई प्रचार-कार्यमा भाग लिन आग्रह गर्न प्रोत्साहित भए र त्यतिबेला थुप्रै अरू भेडाहरूले यो काम थालिसकेका पनि थिए। सन् १९३४ मा अरू भेडाहरूलाई पानीको बप्तिस्मा लिन प्रोत्साहित गरियो। सन् १९३५ मा यिनीहरू प्रकाश अध्याय ७ मा उल्लिखित “ठूलो भीड़” हुन् भनी चिनाइयो। सन् १९३८ मा यिनीहरूलाई येशू ख्रीष्टको मृत्युको स्मरणार्थ उत्सवमा दर्शकको रूपमा उपस्थित हुन आमन्त्रित गरियो। सन् १९५० मा यिनीहरूमध्येका परिपक्व पुरुषहरू “बतासबाट लुक्ने ठाउँ, र आँधी-बेह्रीबाट आड़ लिने ठाउँ” भएर काम गर्ने “राजकुमार” हुन् भनी बुझियो। (भजन ४५:१६; यशैया ३२:१, २) बहुसंख्यक अरू भेडाहरूले बनेको परमेश्वरको तत्कालीन पार्थिव संगठन पार्थिव समाजको केन्द्रबिन्दु हो र नयाँ संसारमा पनि त्यो रहिरहनेछ भनी सन् १९५३ मा बुझियो। अनि सन् १९८५ मा चाहिं के बुझियो भने, येशूले दिनुभएको छुटकाराको बलिदानको आधारमा अरू भेडाहरूलाई परमेश्वरका मित्र तथा धर्मी घोषणा गरिएको रहेछ अनि यिनीहरूसित आरमागेडोन पार तर्ने आशा रहेछ।
६. आज अभिषिक्त जन तथा अरू भेडाहरूको सापेक्षिक स्थिति कस्तो छ र त्यसले गर्दा कस्ता प्रश्नहरू उठेका छन्?
६ अहिले “आखिरी दिन[को]” आखिरी समयमा १,४४,००० मध्ये अधिकांश व्यक्तिहरूको मृत्यु भइसकेको छ र यिनीहरूले आफ्नो स्वर्गीय इनाम पाइसकेका छन्। (२ तिमोथी ३:१; प्रकाश ६:९-११; १४:१३) त्यसैकारण पार्थिव आशा हुने मसीहीहरूले अहिले सुसमाचार सुनाउने धेरैजसो काम गर्छन् र येशूका भाइहरूलाई यस काममा सघाउन पाएकोमा यिनीहरू गौरवान्वित महसुस गर्छन्। (मत्ती २५:४०) ती अभिषिक्त जनहरू विश्वासी र बुद्धिमान दास हुन्, जसद्वारा यी आखिरी दिनका दौडान आत्मिक आहार वितरण भइरहेको छ। तर सबै अभिषिक्त जनहरूले आफ्ना स्वर्गीय इनाम पाइसकेपछि अरू भेडाहरूको के हाल हुनेछ? अरू भेडाहरूका लागि त्यतिबेला कस्ता प्रबन्धहरू गरिनेछन्? पुरातन इस्राएललाई सरसरती हेरेमा यी प्रश्नहरूको जवाफ पाउन मदत मिल्नेछ।
“पूजाहारीहरूको [विशिष्ट] राज्य”
७, ८. कुन हदसम्म इस्राएल पूजाहारीहरूको राज्य अनि व्यवस्थाको अधीनमा बस्ने पवित्र राष्ट्र थियो?
७ यहोवाले इस्राएललाई आफ्नो विशेष राष्ट्रको रूपमा चुन्नुहुँदा तिनीहरूसित यसो भनेर करार बाँध्नुभयो: “यदि तिमीहरूले मेरा कुरा साँच्चिनै सुन्यौ र मेरो करार पालन गऱ्यौ भने समस्त मानिसहरूमध्ये तिमीहरू चाहिं मेरो एक निज धन हुनेछौ, किनकि सारा पृथ्वी मेरै हो। तिमीहरू मेरा निम्ति पूजाहारीहरूको एक राज्य, र एक पवित्र जाति हुनेछौ।” (प्रस्थान १९:५, ६) वाचाको करारको आधारमा इस्राएल यहोवाको विशेष जन थियो। तर पूजाहारीहरूको राज्य र पवित्र राष्ट्रसँग सम्बन्धित प्रतिज्ञा कसरी पूरा हुनेथियो?
८ विश्वासी छँदा इस्राएलले यहोवाको सार्वभौमिकता मानि लियो र उहाँलाई आफ्नो राजाको रूपमा स्वीकाऱ्यो। (यशैया ३३:२२) यसप्रकार इस्राएल एउटा राष्ट्र भयो। तर, पछि प्रकट गरिएअनुसार “राज्य[को]” प्रतिज्ञाले त्योभन्दा ठूलो अर्थ राख्ने थियो। यसबाहेक यहोवाको आज्ञा पालन गर्दा तिनीहरू शुद्ध र वरपरका अन्य राष्ट्रहरूबाट अलग हुन्थे। तिनीहरू पवित्र राष्ट्र थिए। (व्यवस्था ७:५, ६) त के तिनीहरूको राष्ट्र, पूजाहारीहरूको राज्य थियो? कुरा के हो भने, इस्राएलमा लेवीको कुललाई मन्दिरको सेवाका लागि अलग पारिएको थियो र कुलभित्र लेवी कुलको पूजाहारीगिरी हुन्थ्यो। मोशाको व्यवस्था स्थापित गरिंदा हरेक गैर-लेवी परिवारको ज्येष्ठ सन्तानको ठाउँमा लेवी पुरुषहरूलाई लिइयो।a (प्रस्थान २२:२९; गन्ती ३:११-१६, ४०-५१) यसप्रकार प्रतीकात्मक अर्थमा भन्ने हो भने, मन्दिरको सेवामा इस्राएलको प्रत्येक परिवारको प्रतिनिधित्व हुन्थ्यो। यस हदसम्म मात्र तिनीहरू पूजाहारीगिरीको राज्य हुन सके। यद्यपि, तिनीहरूले राष्ट्रहरूसमक्ष यहोवाको प्रतिनिधित्व गर्थे। साँचो परमेश्वरको उपासना गर्न चाहने जुनसुकै विदेशीले इस्राएलदेखि अलग बसेर उपासना गर्नसक्दैन थियो।—२ इतिहास ६:३२, ३३; यशैया ६०:१०.
९. इस्राएलको उत्तरी राज्यलाई “पूजाहारी हुनदेखि अस्वीकार” गर्न यहोवालाई कुन कुराले उत्प्रेरित गऱ्यो?
९ सुलेमानको मृत्युपश्चात् परमेश्वरका जनहरू राजा यारोबामको अधीनमा इस्राएलको उत्तरी राज्य र राजा रहबामको अधीनमा यहूदाको दक्षिणी राज्यमा टुक्रिए। तर शुद्ध उपासनाको केन्द्र, मन्दिर भने यहूदा राज्यभित्र परेको हुँदा यारोबामले आफ्नो राज्यभित्र बाछाका मूर्तिहरू बनाएर अवैध उपासना सुरु गऱ्यो। यसबाहेक “तिनले डाँड़ाका टाकुरा टाकुरामा पूजा गर्ने थानहरू पनि बनाए। औ अन्य कुलबाट पनि पूजाहारीहरू नियुक्त गरे। ती लेवीकै कुलका थिएनन्।” (१ राजा १२:३१) राजा आहाबले आफ्नी विदेशी पत्नी ईजेबेललाई बाल उपासना सुरु गर्ने अनुमति दिएपछि उत्तरी राज्य झूटो उपासनामा झन् बढी धँस्यो। अन्ततः यहोवाले त्यस विद्रोही राज्यलाई आफ्नो न्यायदण्ड सुनाउनुभयो। होशे मार्फत उहाँले यसो भन्नुभयो: “मेरो प्रजा ज्ञानको कमीले गर्दा नष्ट भयो, किनभने तिमीहरूले ज्ञानलाई अस्वीकार गऱ्यौ। म पनि तिमीहरूलाई मेरा पूजाहारी हुनदेखि अस्वीकार गर्नेछु।” (होशे ४:६) तुरुन्तै केही समयपश्चात् अश्शूरीहरूले इस्राएलको उत्तरी राज्य नष्ट गरे।
१०. दक्षिणी राज्य यहूदाले विश्वासी छँदा राष्ट्रहरूसमक्ष यहोवाको प्रतिनिधित्व कसरी गऱ्यो?
१० दक्षिणी राज्य यहूदालाई चाहिं के भयो नि? यहोवाले हिजकियाहको समयमा यशैया मार्फत यसो भन्नुभयो: “तिमीहरू मेरा साक्षी हौ र मैले चुनेका दास हौ। . . . त्यस जातिलाई जसलाई मैले मेरो प्रशंसा गरून् भनेर मेरो निम्ति उत्पन्न गरें।” (यशैया ४३:१०, २१; ४४:२१) विश्वासी छँदा दक्षिणी राज्यले राष्ट्रहरूबीच यहोवाको महिमा घोषणा गरे र उहाँको मन्दिरमा उपासना चढाउन अनि वैध लेवी पूजाहारीगिरीको सेवा प्राप्त गर्न असल हृदय भएका मानिसहरूलाई आकर्षित गरे।
इस्राएलका विदेशीहरू
११, १२. इस्राएलसँगै यहोवाको सेवा गर्ने केही विदेशीहरूको नाउँ बताउनुहोस्।
११ यो राष्ट्रिय साक्षीको कुरा सुन्ने विदेशीहरूका लागि पनि मोशाको व्यवस्थामा प्रबन्ध गरिएको थियो। वास्तवमा स्वयम् मोशाकी पत्नी सिपोरा, मिद्यानी थिई। इस्राएलसँगै गैर-इस्राएलीहरूको “एक मिस्रित दल[ले]” मिस्र देशबाट प्रस्थान गरेका थिए र इस्राएल राष्ट्रलाई व्यवस्था दिइँदा तिनीहरू पनि उपस्थित थिए। (प्रस्थान २:१६-२२; १२:३८; गन्ती ११:४) राहाब र तिनको परिवारलाई यरीहोको विनाशबाट जोगाइएको थियो र पछि तिनीहरूलाई यहूदी मण्डलीमा सामेल गरियो। (यहोशू ६:२३-२५) यसको केही समयपश्चात् गिबोनीहरूले इस्राएलसँग शान्ति वाचा बाँधे र तिनीहरूलाई मन्दिरसित सम्बन्धित कामहरूमा लगाइयो।—यहोशू ९:३-२७; १ राजा ८:४१-४३ पनि हेर्नुहोस्; एस्तर ८:१७.
१२ अन्ततः विदेशीहरूले उच्च ओहदामा बसेर सेवा गर्न पाए। बेतशेबाको पति हित्ती उरियाह अनि अम्मोनी सेलेक दाऊदका “वीर मानिसहरू[मध्ये]” गनिन्थे। (१ इतिहास ११:२६, ३९, ४१; २ शमूएल ११:३, ४) कूशी एबेदमेलेक दरबारिया थिए र राजासित तिनको सम्पर्क थियो। (यर्मिया ३८:७-९) इस्राएल बाबेलको निर्वासनबाट फर्केपछि पूजाहारीहरूलाई सघाउन गैर-इस्राएली नेथिनिमवर्गलाई थप जिम्मेवारी दिइएको थियो। (एज्रा ७:२४) यी विश्वासी विदेशीहरू वा परदेशीहरूले आज ठूलो भीडको पूर्वचित्रण गर्नेहुँदा तिनीहरूको अवस्था हाम्रो निम्ति चासोको कुरा हो।
१३, १४. (क) यहूदी मत मान्नेहरूले इस्राएलमा कस्ता सुअवसर तथा जिम्मेवारीहरू पाए? (ख) इस्राएलीहरूले यहूदी मत मान्ने विश्वासी मानिसहरूलाई कुन दृष्टिकोणले हेर्थे?
१३ तिनीहरू यहूदी मत मान्ने मानिसहरू थिए। तिनीहरू मोशाको नियमको अधीनमा बसी यहोवाको उपासना गर्थे। अनि इस्राएलीहरूलाई जस्तै तिनीहरूलाई पनि अन्य राष्ट्रहरूबाट अलग पारिएको थियो। (लेवी २४:२२) इस्राएलीहरूले जस्तै तिनीहरूले पनि बलिदान चढाउँथे, झूटा उपासना र रगतदेखि अलग बस्थे। (लेवी १७:१०-१४; २०:२) सुलेमानको मन्दिर निर्माण गर्दा तिनीहरूले मदत गरे र राजा आसा तथा राजा हिजकियाहको पालोमा साँचो उपासना पुनस्थापना गर्न सहयोग पुऱ्याए। (१ इतिहास २२:२; २ इतिहास १५:८-१४; ३०:२५) पत्रुसले सा.यु. ३३ को पेन्तिकोसमा राज्यका प्रथम साँचोको प्रयोग गर्दा “यहूदी र यहूदी मत मान्नेहरू [गैर-यहूदीले]” तिनको कुरा सुने। सम्भवतः त्यस दिन बप्तिस्मा लिने तीन हजार मानिसहरूमध्ये यहूदी मत मान्नेहरू पनि थिए होलान्। (प्रेरित २:१०, ४१) केही समयपश्चात् यहूदी मत मान्ने एक एथोपियाली मानिसले फिलिपद्वारा बप्तिस्मा लिए। यो घटना पत्रुसले कर्निलियस र तिनको परिवारमाथि राज्यको अन्तिम साँचो प्रयोग गर्नुभन्दा अघिको थियो। (मत्ती १६:१९; प्रेरित ८:२६-४०; १०:३०-४८) स्पष्ट छ, यहूदी मत मान्नेहरूलाई अन्यजाति सम्झिंदैन थियो।
१४ यद्यपि, इस्राएलमा यहूदी मत मान्ने मानिसहरूको दर्जा जन्मजात इस्राएलीहरूको बराबर हुँदैन थियो। यहूदी मत मान्नेहरू पूजाहारी हुँदैनन् थिए र लेवी कुलको पूजाहारीगिरीमा तिनीहरूको ज्येष्ठ सन्तानको प्रतिनिधित्व गरिंदैन थियो।b अनि यहूदी मत मान्नेहरूले इस्राएलमा जग्गाजमीनका उत्तराधिकारी हुन पाउँदैनन्थे। तर यी सबैको बावजूद इस्राएलीहरूलाई यहूदी मत मान्ने विश्वासी मानिसहरूप्रति दयालु हुन तथा तिनीहरूलाई भाइ समान व्यवहार गर्न आज्ञा दिइएको थियो।—लेवी १९:३३, ३४.
आत्मिक राष्ट्र
१५. प्राकृतिक इस्राएलले मसीहलाई स्वीकार्न इन्कार गर्दा नतिजा के भयो?
१५ व्यवस्थाको मुख्य उद्देश्य इस्राएललाई वरपरको राष्ट्रहरूबाट सफा र अलग राख्नु थियो। तर त्यसले अर्को उद्देश्य पनि पूरा गऱ्यो। यस सम्बन्धमा प्रेरित पावलले यसरी लेखे: “विश्वासैबाट हामी धर्मी ठहरिऔं भनेर हामीलाई ख्रीष्टमा ल्याउनालाई व्यवस्था ता हाम्रा जिम्मावाल भएको हो।” (गलाती ३:२४) तर दुःखको कुरा, इस्राएलीहरू व्यवस्थाको जिम्मामा बसेर ख्रीष्टसम्म पुग्न असफल भए। (मत्ती २३:१५; यूहन्ना १:११) अतः यहोवा परमेश्वरले त्यस राष्ट्रलाई त्याग्नुभयो र “परमेश्वरका इस्राएल” उत्पन्न गर्नुभयो। यसबाहेक, उहाँले गैर-यहूदी मानिसहरूलाई नयाँ इस्राएलको पूर्ण नागरिक बनाउनुभयो। (गलाती ३:२८; ६:१६) अनि यही नै त्यो राष्ट्र हो, जसमाथि यहोवाले राजकीय पूजाहारीगिरीबारे प्रस्थान १९:५, ६ मा गर्नुभएको प्रतिज्ञाको अद्भुत तथा अन्तिम पूर्ति भएको छ। कसरी?
१६, १७. पृथ्वीमा हुने अभिषिक्त मसीहीहरू कुन अर्थमा “राजकीय” र “पूजाहारीगिरी” हुन्?
१६ पत्रुसले समकालीन अभिषिक्त मसीहीहरूलाई पत्र लेख्दा प्रस्थान १९:६ उद्धृत गरे: “तिमीहरू ता चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा हौ।” (१ पत्रुस २:९) यसको अर्थ के हो? के पृथ्वीका अभिषिक्त मसीहीहरू राजाहरू हुन्? होइनन्, तिनीहरूले राज्याधिकार पाउन अझ बाँकी नै छ। (१ कोरिन्थी ४:८) तैपनि एक अर्थमा तिनीहरू “राजकीय” हुन् किनभने तिनीहरूले भविष्यमा राजकीय सुअवसरहरू पाउनेछन्। अहिले पनि तिनीहरू एउटा राष्ट्र हुन् जसमाथि महान् सार्वभौम यहोवा परमेश्वरले येशूलाई राजा नियुक्त गर्नुभएको छ। पावलले यसप्रकार लेखे: “[यहोवाले] हामीलाई अन्धकारको शक्तिदेखि छुटाउनु र आफ्नो प्रेमी पुत्रको राज्यभित्र परिवर्त्तन गराउनुभयो।”—कलस्सी १:१३.
१७ के त्यसोभए पृथ्वीमा हुने अभिषिक्त मसीहीहरू पूजाहारीगिरी हुन्? एक अर्थमा तिनीहरू पूजाहारीगिरी नै हुन्। मण्डलीको हैसियतमा तिनीहरूले निर्विवाद पौरोहित्य-कार्य गर्छन्। यस सम्बन्धमा पत्रुसले यसो भन्दै वर्णन गरे: “तिमीहरू . . . पवित्र पूजाहारीगिरीको निम्ति जीवित पत्थरहरूझैं आत्मिक घर बनेका हौ।” (१ पत्रुस २:५; १ कोरिन्थी ३:१६) आज अभिषिक्त मसीहीहरूको शेष जन सामूहिक रूपमा “विश्वासी र बुद्धिमान दास” अर्थात् आत्मिक आहार वितरण गर्ने माध्यम हो। (मत्ती २४:४५-४७) पुरातन इस्राएलमा जस्तै आज यहोवाको उपासना गर्न चाहने जोसुकैले यी अभिषिक्त मसीहीहरूदेखि अलग रहेर सेवा गर्नसक्दैन।
१८. पूजाहारीगिरीको हैसियतमा अभिषिक्त जनहरूले यस पृथ्वीमा पाएको मुख्य जिम्मेवारी के हो?
१८ यसबाहेक, अभिषिक्त मसीहीहरूले इस्राएलको हातबाट राष्ट्रहरूबीच यहोवाको महानता घोषणा गर्ने सुअवसर खोसे। पत्रुसले अभिषिक्त मसीहीहरूलाई राजकीय पूजाहारीगिरी भनी सम्बोधन गर्दा तिनले प्रचार-कार्यलाई ध्यानमा राखेका थिए भनी प्रसंगले देखाउँछ। निस्सन्देह तिनले प्रस्थान १९:६ मा उल्लिखित यहोवाको प्रतिज्ञा र उहाँले यशैया ४३:२१ मा इस्राएललाई सम्बोधन गर्नुभएका शब्दहरूलाई एउटै उद्धरणमा गाभ्दै यसो भनेका थिए: “तिमीहरू . . . राजकीय पूजाहारीगिरी . . . हौ . . . [ताकि] अन्धकारबाट उहाँको गजबको ज्योतिमा तिमीहरूलाई बोलाउनेको सर्वश्रेष्ठता तिमीहरू देखाओ।” (१ पत्रुस २:९) यसअनुरूप पावलले यहोवाका श्रेष्ठताहरूको घोषणा गर्नु मन्दिरमा बलिदान चढाउनु हो भनी बताए। तिनले यसरी लेखे: “[येशूद्वारा] हामी निरन्तर स्तुतिको बलिदान परमेश्वरलाई चढ़ाऔं, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो।”—हिब्रू १३:१५.
स्वर्गीय पूर्ति
१९. इस्राएल पूजाहारीहरूको राज्य हुनेछ भनी गरिएको प्रतिज्ञाको अन्तिम तथा महान् पूर्ति के हो?
१९ तथापि, अन्तमा प्रस्थान १९:५, ६ को अझ महिमित पूर्ति हुनेछ। प्रकाशको पुस्तकमा प्रेरित यूहन्नाले स्वर्गीय जीवित जीवात्हरूले पुनरुत्थान हुनुभएको येशूको प्रशंसा गर्न यो शास्त्रपद प्रयोग गर्दै यसो भनेका देख्छन्: “तपाईं मारिनुभएको थियो, र तपाईंले आफ्नै रगतले हरेक कुल, भाषा, मानिस र जातिलाई हाम्रा परमेश्वरको निम्ति किन्नुभयो। औ तिनीहरूलाई हाम्रा परमेश्वरको निम्ति राज्य र पूजाहारी हुने तुल्याउनुभयो, तिनीहरूले पृथ्वीमाथि राज्य गर्छन्।” (प्रकाश ५:९, १०) अतः अन्तमा भन्ने हो भने, राजकीय पूजाहारीगिरी परमेश्वरको स्वर्गीय राज्य अर्थात् शासन गर्ने अख्तियारवाला हुन् जसका लागि येशूले हामीलाई प्रार्थना गर्न सिकाउनुभयो। (लूका ११:२) मृत्युसम्मै विश्वासी हुने सबै १,४४,००० अभिषिक्त मसीहीहरूले त्यस राज्य प्रबन्धमा भाग पाउनेछन्। (प्रकाश २०:४, ६) धेरै समयअघि मोशाद्वारा गरिएको प्रतिज्ञाको कति अद्भुत पूर्ति!
२०. कुन प्रश्नको जवाफ पाउन अझ बाँकी नै छ?
२० तर सबै अभिषिक्त जनहरूले आफ्नो अद्भुत उत्तराधिकार पाएपछि ठूलो भीडको परिस्थिति र भविष्यसित यसको के सम्बन्ध रहनेछ? यस श्रृंखलाको अन्तिम लेखमा यो कुरा प्रष्ट हुनेछ।
[फुटनोटहरू]
a इस्राएलको पूजाहारीगिरी स्थापित हुँदा इस्राएलका गैर-लेवी कुलका ज्येष्ठ पुत्र र लेवी कुलका पुरुषहरूको गन्ती लिइएको थियो। गन्ती गर्दा लेवी पुरुषहरूभन्दा ज्येष्ठ पुत्रहरू २७३ जना बढी पाइयो। तसर्थ, यहोवाले प्रतिव्यक्ति पाँच शेकेलको दरमा बढ्ता भएका यी २७३ मानिसहरूको छुटकाराको मोल चुकाउने आज्ञा दिनुभयो।
b सा.यु.पू. १५१३ मा व्यवस्था स्थापित गरिंदा गैर-इस्राएलीहरूको ठूलो भीड उपस्थित थिए तर इस्राएलको ज्येष्ठ सन्तानको सट्टा लेवीहरूलाई लिइँदा तिनीहरूको ज्येष्ठ सन्तानलाई समावेश गराइएको थिएन। (अनुच्छेद ८ हेर्नुहोस्।) तसर्थ, यी गैर-इस्राएलीहरूको ज्येष्ठ सन्तानको बदलामा लेवीहरू लिइएको थिएन।
के तपाईं वर्णन गर्न सक्नुहुन्छ?
◻ अरू भेडाहरूको भूमिका कसरी क्रमिक रूपले बुझिन थाल्यो?
◻ यहोवाले इस्राएलको उत्तरी राज्यलाई आफ्नो पूजाहारी बनाउनदेखि किन इन्कार गर्नुभयो?
◻ विश्वासी छँदा राष्ट्रहरूसमक्ष यहूदाको कस्तो भूमिका हुन्थ्यो?
◻ यहूदी मत मान्नेहरूले इस्राएलमा कस्तो दर्जा पाएका थिए?
◻ अभिषिक्त मण्डलीले कसरी पूजाहारीहरूको राज्यको हैसियतमा सेवा गर्छन्?
[पृष्ठ १६-मा भएको चित्र]
राजकीय पूजाहारीगिरीको हैसियतले अभिषिक्त मसीहीहरू यस पृथ्वीमा यहोवाको महिमा घोषणा गर्छन्
[पृष्ठ १८-मा भएको चित्र]
प्रस्थान १९:६ को अन्तिम पूर्ति राज्य हो