प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 २/१५ pp. १५-१८
  • जोडतोडले प्रचार गरिरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जोडतोडले प्रचार गरिरहनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • नयाँ प्रकाशकहरूलाई मदत गर्नुहोस्‌
  • साथीसित कुराकानी गर्नुहोस्‌
  • अध्ययन गर्ने राम्रो बानी बसाल्नुहोस्‌
  • सङ्‌गठनबाट आएको सुझाव लागू गर्नुहोस्‌
  • व्यावहारिक लक्ष्य राख्नुहोस्‌
  • के तपाईँ आफूलाई सुम्पिइएको सेवाको काम राम्ररी पूरा गर्दै हुनुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • प्रचार गर्न नयाँ प्रकाशकहरूलाई कसरी प्रशिक्षण दिने?
    हाम्रो राज्य सेवकाई—२०१०
  • साक्षीकार्यप्रति सकारात्मक दृष्टिकोण कायम राख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • साक्षीकार्यमा येसुजस्तै जोसिलो हुनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 २/१५ pp. १५-१८
एक जना प्रकाशकले यस्ता परिस्थितिको सामना गर्छन्‌: १. घरधनी घरमा छैनन्‌; २. घरधनीले बाइबलको सन्देशमा चासो देखाउँदैनन्‌; ३. घरधनीले विरोध गर्छन्‌

जोडतोडले प्रचार गरिरहनुहोस्‌

आज पृथ्वीमा भइरहेको सबैभन्दा महत्त्वपूर्ण काम सुसमाचार प्रचार गर्नु नै हो। यहोवाका सेवकहरू चेला बनाउने काम गर्न पाउनुलाई ठूलो सम्मान ठान्छन्‌। तर कहिलेकाहीं अग्रगामी तथा प्रकाशकहरूलाई जोडतोडले प्रचार गरिरहन गाह्रो हुन्छ भन्‍ने कुरा पनि तिनीहरू मानिलिन्छन्‌।

एक बहिनी घरघरको प्रचारकार्यमा ढोका ढकढक्याउँदै

जोडतोडले प्रचार गरिरहन तपाईं के गर्न सक्नुहुन्छ?

केही प्रकाशकहरूलाई घरघरको प्रचारकार्यमा मानिसहरू भेट्‌न गाह्रो छ। किनकि इलाकाका धेरैजसो मानिस घरमा नहुन सक्छन्‌। कसैलाई भेटिहाल्यो भने पनि हाम्रो सन्देशप्रति चासो नदेखाउन सक्छन्‌। कसै-कसैले त विरोधसमेत गर्न सक्छन्‌। अर्कोतर्फ, ठूलो अनि फलदायी इलाकामा सेवा गरिरहेका प्रकाशकहरूलाई इलाका ठूलो भएकोले अत्यास लाग्न सक्छ। वर्षौंदेखि प्रचार गरिरहेका केही प्रकाशक भने अन्त नआएको देख्दा निराश भएका छन्‌।

जोडतोडले प्रचार गर्नदेखि रोक्ने चुनौतीहरू आइपरेको देख्दा के हामी छक्क पर्नु पर्छ र? पर्दैन। संसार “दुष्ट” सैतानको अधीनमा परेको छ। त्यसैले जीवन बचाउने सन्देश सुनाउन सजिलो हुन्छ भनेर आस गर्नु उचित होइन।—१ यूह. ५:१९.

सुसमाचार सुनाउने काम गर्दा चुनौतीहरू त आइपर्छन्‌। तर यहोवाले तीसित डट्‌न मदत गर्नुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुनुहोस्‌। जोडतोडले प्रचार गरिरहन तपाईं के गर्न सक्नुहुन्छ? आउनुहोस्‌, केही सुझावबारे विचार गरौं।

नयाँ प्रकाशकहरूलाई मदत गर्नुहोस्‌

अनुभवी प्रकाशकले नयाँ प्रकाशकलाई प्रचारकार्यमा तालिम दिंदै

हरेक वर्ष हजारौं मानिसले बप्तिस्मा गर्छन्‌ र यहोवाको साक्षी बन्छन्‌। के तपाईंले हालै मात्र बप्तिस्मा गरेर आफ्नो समर्पण प्रकट गर्नुभएको हो? त्यसोभए लामो समयदेखि प्रचारकार्यमा भाग लिइरहेका दाजुभाइ दिदीबहिनीबाट थुप्रै कुरा सिक्न पाउँदा कृतज्ञ हुनुहुन्छ होला। अथवा के तपाईंले लामो समयदेखि प्रचारकार्यमा भाग लिइरहनुभएको छ? त्यसोभए भर्खरै प्रचार गर्न थालेकाहरूलाई तालिम दिन सक्नुहुन्छ। यसो गर्नु पक्कै लाभदायी हुनेछ।

प्रचारकार्यमा प्रभावकारी हुन चेलाहरूलाई निर्देशन चाहिन्छ भनेर येशूलाई थाह थियो। त्यसकारण उहाँले उनीहरूलाई आफूसँगै प्रचारकार्यमा लगेर सिकाउनुभयो। (लूका ८:१) आज पनि नयाँ प्रकाशकहरूलाई प्रचारकार्यमा प्रभावकारी हुन मदत गर्नु आवश्‍यक छ।

प्रचारकार्यमा भाग लिन थालेपछि नयाँ प्रकाशकहरू आफसेआफ प्रचार गर्न सिपालु हुन्छन्‌ भनेर सोच्नु हुँदैन। उनीहरूलाई मायालु अनि मदतकारी व्यक्‍तिको निर्देशन चाहिन्छ। नयाँ प्रकाशकहरूलाई निम्न कुराहरूमा तालिम दिनुपर्छ: (१) प्रस्तुति तयार गर्न र अभ्यास गर्न, (२) घरघरको प्रचार गर्दा वा सडक साक्षी दिंदा कुराकानी थाल्न, (३) साहित्य प्रस्तुत गर्न, (४) चासो देखाएकाहरूलाई पुनःभेट गर्न र (५) बाइबल अध्ययन सुरु गर्न। आफूलाई मदत गरिरहेको साक्षीले प्रचार गर्दा नयाँ प्रकाशकहरूले ध्यान दिएर सुन्‍नुपर्छ र त्यसै गर्ने प्रयास गर्नुपर्छ। यसो गर्दा नतिजा पक्कै राम्रो हुन्छ। (लूका ६:४०) आफ्नो कुरा सुनिदिने र चाहिएको बेला मदत गर्ने व्यक्‍ति पाउँदा नयाँ प्रकाशकहरू पक्कै आभारी हुन्छन्‌। अरूबाट पाएको प्रशंसा र मदतकारी सुझावहरूबाट पनि उनीहरूले लाभ उठाउन सक्छन्‌।—उप. ४:९, १०.

साथीसित कुराकानी गर्नुहोस्‌

एक बहिनी प्रचारकार्यमा सँगै गएको साथीसित कुराकानी गर्दै

प्रचारकार्यमा भेटिने मानिसहरूसित कुराकानी गर्न तपाईंले निकै तयारी गर्नुहोला तर कहिलेकाहीं त्यति राम्रो कुराकानी नहुन सक्छ। तर सँगै प्रचारकार्यमा गएको साथीसितको कुराकानीबाट तपाईंले लाभ उठाउन सक्नुहुन्छ। येशूले आफ्ना चेलाहरूलाई “दुई-दुई गरी” प्रचार गर्न पठाउनुभएको कुरा याद गर्नुहोस्‌। (लूका १०:१) सँगै प्रचारकार्यमा जाँदा ती चेलाहरूले एकअर्कालाई प्रोत्साहन दिन सक्थे। साथै, प्रचारकार्यमा जोडतोडले लाग्न एकअर्कालाई जुरमुऱ्‍याउन सक्थे। त्यसैले मण्डलीका दाजुभाइ दिदीबहिनीसित प्रचारकार्यमा जाँदा ‘एकअर्कालाई प्रोत्साहन दिने’ मौका पाइन्छ।—रोमी १:१२.

तपाईं साथीसित के-कस्ता विषयमा कुराकानी गर्न सक्नुहुन्छ? तपाईंले हालै प्रचारकार्यमा कुनै प्रोत्साहनदायी अनुभव बटुल्नुभएको छ कि? व्यक्‍तिगत वा पारिवारिक अध्ययन गर्दा कुनै रोचक बुँदा भेट्टाउनुभएको छ कि? अथवा सभामा सुनेको कुनै कुराबाट तपाईंले प्रोत्साहन पाउनुभएको छ कि? त्यत्ति राम्ररी नचिनेको प्रकाशकसित प्रचारकार्यमा जाने मौका पाउनुभएको छ भने तपाईं तिनलाई यस्ता कुराहरू सोध्न सक्नुहुन्छ:- तपाईं कसरी यहोवाको साक्षी हुनुभयो? यो सङ्‌गठनलाई यहोवाले नै चलाउँदै हुनुहुन्छ भनेर कसरी पक्का हुनुभयो? तपाईंले यहोवाको सेवा गर्दा के-कस्ता सुअवसर पाउनुभएको छ? तपाईंले के-कस्ता अनुभव बटुल्नुभएको छ? यहोवाको सेवा गर्दा आफूले बटुलेको अनुभव पनि तपाईं साथीलाई बताउन सक्नुहुन्छ। इलाकाका मानिसहरूले हाम्रो सन्देशप्रति जस्तोसुकै प्रतिक्रिया देखाए तापनि मण्डलीका सदस्यहरूसित प्रचारकार्यमा जाँदा ‘एक-अर्काको उत्थान गरिरहने’ मौका पाउँछौं।—१ थिस्स. ५:११.

अध्ययन गर्ने राम्रो बानी बसाल्नुहोस्‌

एक भाइ व्यक्‍तिगत अध्ययन गर्दै

अध्ययन गर्ने राम्रो बानी बसाल्यौं भने जोडतोडले प्रचार गरिरहन मदत पुग्छ। “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले थुप्रै विषयमा लेखहरू तयार गर्छ। (मत्ती २४:४५) त्यसकारण हामीले अध्ययन गर्न सक्ने विषयहरू प्रशस्तै छन्‌। व्यक्‍तिगत अध्ययनको लागि एउटा राम्रो विषय यो पनि हो: राज्यको सुसमाचार प्रचार गर्नु किन जरुरी छ? पृष्ठ १६ को पेटीमा केही कारणहरू दिइएका छन्‌।

त्यस पेटीमा दिइएका कारणहरूबारे विचार गर्दा तपाईं जोडतोडले प्रचार गरिरहन उत्प्रेरित हुनुहुनेछ। व्यक्‍तिगत अध्ययन गरेर अरू कारण पनि पत्ता लगाउनुहोस्‌। त्यसपछि ती कारणहरूबारे मनन गर्नुहोस्‌ अनि ती कारणहरूलाई समर्थन गर्ने पदहरू पनि विचार गर्नुहोस्‌। यसो गर्नुभयो भने जोडतोडले प्रचार गरिरहन बल पाउनुहुनेछ।

सङ्‌गठनबाट आएको सुझाव लागू गर्नुहोस्‌

दुई जना प्रकाशक प्रचारकार्यको लागि प्रस्तुति तयार गर्दै

यहोवाको सङ्‌गठनले अझ राम्ररी प्रचार गर्न मदत गर्ने सुझावहरू दिइरहन्छ। हामी घरघरको प्रचारकार्यबाहेक अन्य किसिमको प्रचारकार्यमा पनि भाग लिन सक्छौं। जस्तै: हामी चिठी लेखेर, टेलिफोनमार्फत वा अनौपचारिक रूपमा साक्षी दिन सक्छौं। साथै, हामी सडकमा, कुनै सार्वजनिक ठाउँमा वा व्यापारिक इलाकामा पनि साक्षी दिन सक्छौं। हामी आफ्नो चाँजोपाँजो मिलाएर त्यत्ति प्रचार नभएको इलाकामा प्रचार गर्न जाने योजना पनि बनाउन सक्छौं।

के तपाईं यी सुझावहरू लागू गर्न तयार हुनुहुन्छ? यीमध्ये कुनै तरिका प्रयोग गरेर साक्षी दिनुभयो कि? यस्ता साक्षीकार्यमा भाग लिएका थुप्रैले राम्रो नतिजा हात पारेका छन्‌। अब हामी तीनवटा अनुभव विचार गरौं।

बाइबल अध्ययन सुरु गर्ने विषयमा राज्य सेवा-मा दिइएको एउटा सुझाव लागू गर्दा नतिजा कस्तो भयो, एउटा अनुभव विचार गरौं। एप्रल नाम गरेकी बहिनी त्यो सुझाव लागू गर्न उत्प्रेरित भइन्‌। तिनले आफ्ना तीन जना सहकर्मीसित बाइबल अध्ययनको प्रस्ताव राखिन्‌। तीनै जनाले प्रस्ताव स्वीकारेको र सभामा पनि आउन थालेको देख्दा ती बहिनी छक्क परिन्‌ र औधी खुसी पनि भइन्‌।

दोस्रो अनुभव पत्रिका प्रस्तुत गर्नेबारे हो। पत्रिकामा छापिएको कुनै खास लेख कस्ता व्यक्‍तिहरूको लागि उपयुक्‍त हुन्छ, त्यो विचार गरेर त्यस्ता व्यक्‍तिहरू खोज्न हामीलाई प्रोत्साहन दिइएको छ। अमेरिकाका एक क्षेत्रीय निरीक्षक एउटा इलाकाका टायर पसलहरूमा गए। तिनले त्यहाँका म्यानेजरहरूलाई टायरसम्बन्धी लेख भएको ब्यूँझनुहोस्‌! प्रस्तुत गरे। साथै, तिनी र तिनकी श्रीमतीले “आफ्नो डाक्टरलाई बुझ्ने” भन्‍ने विषय भएको ब्यूँझनुहोस्‌! लिएर डाक्टरहरूलाई भेट्‌न उनीहरूको अफिसमा गए। यस सिलसिलामा तिनीहरू १०० वटाभन्दा धेरै अफिसमा पुगे। तिनी भन्छन्‌, “त्यसरी भेटघाट गर्दा हामी यहोवाको साक्षी हौं भनेर चिनाउन सकेका छौं र मानिसहरू हाम्रा साहित्यहरूसित परिचित भएका छन्‌। ती मानिसहरूसित चिनजान बढाएकोले उनीहरूलाई पुनःभेट गर्न सकेका छौं।”

तेस्रो अनुभव टेलिफोन साक्षी दिनेबारे हो। जुडी भन्‍ने बहिनीले हाम्रो मुख्यालयमा चिठी पठाइन्‌। टेलिफोन साक्षी दिन प्रोत्साहन दिएकोमा आफू निकै आभारी भएको कुरा तिनले चिठीमा लेखेकी थिइन्‌। तिनकी आमा ८६ वर्ष पुगिसकेकी रहेछिन्‌ र उनलाई थुप्रै स्वास्थ्य समस्या पनि रहेछ। आमाले नियमित रूपमा टेलिफोन साक्षी दिने गरेको र टेलिफोनमार्फत ९२ वर्षकी वृद्धासित अध्ययन गरेर आनन्द उठाइरहेको कुरा ती बहिनीले बताइन्‌।

हाम्रा साहित्यहरूमा दिइएका सुझावहरू लागू गर्दा नतिजा पक्कै राम्रो हुन्छ। ती सुझावहरू लागू गर्नुहोस्‌। यसो गर्नुभयो भने आनन्दित भई जोडतोडले प्रचार गरिरहन सक्नुहुनेछ।

व्यावहारिक लक्ष्य राख्नुहोस्‌

हामीले कति वटा साहित्य वितरण गऱ्‍यौं, कति वटा बाइबल अध्ययन सञ्चालन गर्छौं वा कति जनालाई यहोवाको साक्षी बन्‍न मदत गऱ्‍यौं, त्यसले प्रचारकार्यमा हामीले पाएको सफलता निर्धारण गर्ने होइन। नूहलाई नै लिनुहोस्‌। तिनको परिवारबाहेक अरू कोही पनि यहोवाको उपासक भएनन्‌। तैपनि तिनी सफल प्रचारक थिए। सबैभन्दा महत्त्वपूर्ण कुरा, विश्‍वासयोग्य भएर यहोवाको सेवा गर्नु हो।—१ कोरि. ४:२.

व्यावहारिक लक्ष्य राख्दा जोडतोडले प्रचार गरिरहन सकेको कुरा थुप्रै प्रकाशकले अनुभव गरेका छन्‌। त्यसोभए के-कस्ता व्यावहारिक लक्ष्य राख्न सकिन्छ? हामीले राख्न सक्ने केही लक्ष्य सँगैको पेटीमा दिइएका छन्‌।

यहोवाको मदत माग्दै आफ्नो सेवा इनामदायी र फलदायी बनाउने तरिकाहरू पत्ता लगाउनुहोस्‌। आफ्नो लक्ष्य पूरा गर्न सकेकोमा तपाईंलाई आनन्द लाग्नेछ। साथै, सुसमाचार प्रचार गर्न आफूले सक्दो गरेको कुरा विचार गर्दा तपाईं सन्तुष्ट हुनुहुनेछ।

सुसमाचार प्रचार गर्दा चुनौतीहरू त पक्कै आउँछन्‌। तैपनि प्रचारकार्यमा जोडतोडले लाग्न तपाईंले गर्न सक्ने कुराहरू पनि छन्‌। सँगै प्रचारकार्यमा गएको साथीसित प्रोत्साहनदायी कुराकानी गर्नुहोस्‌, अध्ययन गर्ने राम्रो बानी बसाल्नुहोस्‌, विश्‍वासी दासले दिने सुझाव लागू गर्नुहोस्‌ र व्यावहारिक लक्ष्य राख्नुहोस्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा, यहोवाले तपाईंलाई उहाँको साक्षी हुने र सुसमाचार सुनाउने ठूलो सुअवसर दिनुभएको छ भन्‍ने कुरा कहिल्यै नभुल्नुहोस्‌। (यशै. ४३:१०) जोडतोडले प्रचार गरिरहनुभयो भने तपाईं साँच्चै आनन्दित हुनुहुनेछ।

हामीले किन जोडतोडले प्रचार गरिरहनुपर्छ?

  • प्रचारकार्यले बाइबलमा भएको भविष्यवाणी पूरा गर्छ।—मर्कू. १३:१०.

  • चेला बनाउने काममा भाग लिंदा हामी आज्ञाकारी भइरहेका हुन्छौं।—मत्ती २८:१९, २०.

  • हामीले दुष्ट व्यक्‍तिहरूलाई उनीहरूको खराब कामको नतिजाबारे चेतावनी दिएको यहोवा चाहनुहुन्छ।—इज. ३:१९.

  • मानिसहरूलाई सुसमाचार सुनाउनु हाम्रो दायित्व हो।—प्रेषि. २०:२६, २७; रोमी १:१४, १५.

  • प्रचारकार्यमा भाग लियौं भने अरूको रगतको दोषी हुनदेखि जोगिन्छौं।—इज. ३:१८.

  • उद्धार पाउन हामीले मानिसहरूलाई बाइबलको सत्य सिकाउनुपर्छ र यसो गर्दा सुन्‍नेहरूको पनि उद्धार हुन्छ।—१ तिमो. ४:१६.

  • मानिसहरूलाई यहोवाबारे सुनाउनु र जनसमक्ष उहाँको प्रशंसा गर्नु हाम्रो उपासनाको महत्त्वपूर्ण भाग हो।—हिब्रू १३:१५.

  • यस काममा भाग लिंदा यहोवा र येशूलाई प्रेम गरेको देखाइरहेका हुन्छौं।—यूह. १४:१५; १ यूह. ५:३.

  • सैतानले यहोवाबारे फैलाएको झूटलाई उदाङ्‌ग पार्न प्रचारकार्यले मदत गर्छ।—यशै. ४३:१०-१२; २ कोरि. ४:४.

व्यावहारिक लक्ष्य राख्नुहोस्‌

  • हप्ताभरिको लागि क्षेत्र सेवाको तालिका बनाउनुहोस्‌ र तालिकाअनुसार चल्ने प्रयत्न गर्नुहोस्‌।

  • हरेक मौकामा बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌।

  • सम्भव छ भने, घरधनीलाई एउटा मात्र भए पनि शास्त्रपद देखाउनुहोस्‌।

  • अझ धेरै पत्रिका वितरण गर्नुहोस्‌।

  • राज्यको सुसमाचारमा चासो देखाउने सबैलाई पुनःभेट गर्नुहोस्‌।

  • प्रचारकार्यको विभिन्‍न पक्षमा भाग लिनुहोस्‌।

  • अनौपचारिक साक्षी दिने मौका खोजिरहनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने