अध्ययन लेख ११
गीत ५७ सबै किसिमका मानिसलाई प्रचार गरौँ!
साक्षीकार्यमा येसुजस्तै जोसिलो हुनुहोस्
“प्रभुले . . . आफू जान लागेको हरेक सहर अनि ठाउँमा दुई-दुई गरी पहिल्यै पठाउनुभयो।”—लुका १०:१.
सिक्न सकिने कुरा
येसुलाई साक्षीकार्यमा जोसिलो हुन मदत गरेको चार वटा कुरा के-के हुन् र हामी कसरी उहाँको अनुकरण गर्न सक्छौँ?
१. यहोवाका साक्षीहरूलाई अरू ख्रिष्टियनहरूबाट अलग्गै छुट्ट्याउने एउटा कुरा के हो?
हामी यहोवाका साक्षीहरूलाई अरू ख्रिष्टियनहरूबाट अलग्गै छुट्ट्याउने एउटा कुरा साक्षीकार्यप्रतिको हाम्रो जोसa हो। (ति. २:१४) तर यो जोस कायम राख्न सधैँ सजिलो भने हुँदैन। एक जना एल्डरले यसो भने: “कहिलेकाहीँ साक्षीकार्यमा जान जोस-जाँगरै चल्दैन।” तपाईँ पनि कहिलेकाहीँ त्यस्तै महसुस गर्नुहुन्छ होला।
२. साक्षीकार्यप्रतिको जोस कायम राख्न कहिलेकाहीँ हामीलाई किन गाह्रो लाग्न सक्छ?
२ हामीलाई साक्षीकार्यमा भन्दा यहोवाको सेवाका अन्य गतिविधिहरूमा भाग लिँदा रमाइलो लाग्छ होला। जस्तै: सभाभवन बनाउन अनि मर्मतसम्भार गर्न, राहतकार्यमा भाग लिन वा भाइबहिनीहरूलाई प्रोत्साहन दिन। किनकि यस्ता गतिविधिहरूमा भाग लिँदा हामी तुरुन्तै राम्रो नतिजा देख्न सक्छौँ र त्यो देख्दा हामीलाई खुसी लाग्छ। यस्ता गतिविधिहरूमा भाग लिँदा हामी भाइबहिनीहरूसित मिलेर काम गर्छौँ र एकअर्कालाई प्रेम गरेको देखाउँछौँ। साथै भाइबहिनीहरू हाम्रो कामको कदर पनि गर्छन्। तर साक्षीकार्यमा भने कहिलेकाहीँ तुरुन्तै राम्रो नतिजा नआउन सक्छ। हामीले एउटै इलाकामा साक्षी दिइरहेको वर्षौँ भए पनि चासो दिने मानिसहरू कमै मात्र भेट्टाउँछौँ होला वा मानिसहरूले हाम्रो सन्देश सुन्न ठाडै इन्कार गर्छन् होला। साथै यस संसारको अन्त नजिकिँदै जाँदा हाम्रो विरोध गर्नेहरू झनै बढ्नेछन् भनेर पनि हामीलाई थाह छ। (मत्ति १०:२२) त्यसोभए साक्षीकार्यप्रतिको जोस कायम राख्न र त्यसलाई अझ बढाउन हामी के गर्न सक्छौँ?
३. लुका १३:६-९ मा पाइने उदाहरणबाट येसुको जोसबारे हामी के थाह पाउन सक्छौँ?
३ हामी येसुको उदाहरणबाट साक्षीकार्यमा कसरी जोसिलो हुन सक्छौँ भनेर सिक्न सक्छौँ। पृथ्वीमा हुनुहुँदा साक्षीकार्यप्रतिको येसुको जोस कहिल्यै घटेन। बरु समय बित्दै जाँदा झन्झन् बढ्दै गयो। (लुका १३:६-९ पढ्नुहोस्।) एउटा उदाहरणमा येसुले आफ्नो साक्षीकार्यलाई अङ्गुर बगानको मालीको कामसित तुलना गर्नुभयो। तिनले अन्जिरको रूख लगाएको तीन वर्ष भइसके पनि त्यस रूखमा एउटै फल लागेको थिएन। त्यसैगरि येसुले यहुदीहरूलाई सुसमाचार सुनाउनुभएको तीन वर्ष भइसके पनि थोरैले मात्र राम्रो प्रतिक्रिया देखाए। तर मालीले अन्जिरको रूखले एक न एक दिन फल दिन्छ भनेर आशा राख्दै त्यसको देखभाल गरे। त्यसरी नै येसुले पनि हार नमानी मानिसहरूलाई सुसमाचार सुनाइरहनुभयो। अझ भन्नुपर्दा, मानिसहरूको मन छुन उहाँले झन् धेरै मेहनत गर्नुभयो।
४. येसुलाई साक्षीकार्यमा जोसिलो हुन मदत गरेको चार वटा कुरा के हुन्?
४ येसुले पृथ्वीमा आफ्नो जीवनको अन्तिम छ महिनाको दौडान साक्षीकार्यमा कसरी जोस देखाउनुभयो भनेर यस लेखमा छलफल गर्नेछौँ। (लुका १०:१) उहाँको शिक्षाअनुसार चल्दा र उहाँको अनुकरण गर्दा हामी साक्षीकार्यमा जोसिलो भइरहन सक्छौँ। येसुलाई साक्षीकार्यमा जोसिलो हुन मदत गरेको चार वटा कुरा विचार गरौँ: (१) उहाँले यहोवाको इच्छालाई पहिलो स्थान दिनुभयो, (२) बाइबलका भविष्यवाणीहरूमा ध्यान केन्द्रित गर्नुभयो, (३) यहोवामा भर पर्नुभयो र (४) साक्षीकार्यप्रति सकारात्मक मनोवृत्ति कायम राख्नुभयो।
उहाँले यहोवाको इच्छालाई पहिलो स्थान दिनुभयो
५. येसुले यहोवाको इच्छालाई पहिलो स्थान दिएको कसरी देखाउनुभयो?
५ यहोवा परमेश्वर येसुले “राज्यको सुसमाचार” सुनाएको चाहनुहुन्थ्यो। त्यो कुरा येसुलाई राम्ररी थाह थियो। (लुका ४:४३) त्यसैले उहाँले जोसिलो भई त्यो काम गर्नुभयो। उहाँले आफ्नो जीवनमा साक्षीकार्यलाई पहिलो स्थानमा राख्नुभयो। पृथ्वीमा आफ्नो सेवाको अन्तिम समयतिर पनि मानिसहरूलाई सिकाउन “उहाँ सहर-सहर र गाउँ-गाउँ” जानुभयो। (लुका १३:२२) उहाँले यस कामको लागि अरूलाई पनि तालिम दिनुभयो।—लुका १०:१.
६. यहोवाको सेवामा हामीले गर्ने सबै काम कसरी साक्षीकार्यसित सम्बन्धित छ? (चित्र पनि हेर्नुहोस्।)
६ आज पनि यहोवा र येसु हामीले सुसमाचार सुनाउने कामलाई पहिलो स्थान दिएको चाहनुहुन्छ। (मत्ति २४:१४; २८:१९, २०) यहोवाको सेवामा हामीले गर्ने सबै काम साक्षीकार्यसित नै सम्बन्धित छ। उदाहरणको लागि, हामी निर्माणकार्यमा भाग लिन्छौँ होला वा बेथेल सेवा गर्छौँ होला। तर हाम्रो कामले पनि साक्षीकार्यलाई नै टेवा पुऱ्याउँछ। प्रकोप आइपर्दा हामी राहतकार्यमा भाग लिन्छौँ। त्यसो गर्दा भाइबहिनीहरूले भौतिक सहयोग त पाउँछन् नै तर महत्त्वपूर्ण कुरा, तिनीहरू सकेसम्म छिटो आफ्नो आध्यात्मिक तालिकामा फर्कन सक्छन्, जसमा साक्षीकार्य पनि पर्छ। हामीले साक्षीकार्यको महत्त्व बुझ्यौँ र यहोवा हामीले यस कामलाई प्राथमिकता दिएको चाहनुहुन्छ भन्ने कुरा मनमा राख्यौँ भने नियमित रूपमा साक्षीकार्यमा भाग लिन उत्प्रेरित हुनेछौँ। हङ्गेरीका एक एल्डर यानोस यसो भन्छन्: “हामीले यहोवाको सेवामा जुनसुकै काम गरे पनि साक्षीकार्यलाई कहिल्यै बेवास्ता गर्नु हुँदैन भनेर म आफैलाई सम्झाइरहन्छु। किनकि यहोवाले हामीलाई दिनुभएको मुख्य असाइनमेन्ट यही नै हो।”
यहोवा र येसु हामीले सुसमाचार सुनाउने कामलाई पहिलो स्थान दिएको चाहनुहुन्छ (अनुच्छेद ६ हेर्नुहोस्)
७. यहोवा हामीले किन साक्षीकार्यमा भाग लिइरहेको चाहनुहुन्छ? (१ तिमोथि २:३, ४)
७ हामीले मानिसहरूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्यौँ भने साक्षीकार्यप्रतिको हाम्रो जोस अझ बढाउन सक्छौँ। यहोवा धेरैभन्दा धेरै मानिसले सुसमाचार सुनेको र सत्य स्विकारेको चाहनुहुन्छ। सुसमाचारले मानिसहरूको जीवन बचाउन सक्छ। (१ तिमोथि २:३, ४ पढ्नुहोस्।) त्यसैले हामीले अझ प्रभावकारी तरिकामा साक्षी दिन सकोस् भनेर यहोवा हामीलाई तालिम दिनुहुन्छ। उदाहरणको लागि, मानिसलाई प्रेम गर्नुहोस्—चेला बनाउनुहोस् पुस्तिकामा हामी व्यावहारिक सुझावहरू पाउन सक्छौँ। ती सुझावहरू लागू गरेर हामी मानिसहरूसित कुराकानी सुरु गर्न सक्छौँ र तिनीहरू बाइबल अध्ययन गर्न समेत राजी हुन सक्छन्। तर मानिसहरूले अहिले हाम्रो कुरा स्विकारेनन् भने पनि महासङ्कष्ट अन्त हुनुअघि हामीले सुनाएको कुरा सम्झेर यहोवाको सेवा गर्न थाल्न सक्छन्। त्यसैले हामी जोसिलो भई साक्षीकार्यमा भाग लिइरहनुपर्छ।
उहाँले बाइबलका भविष्यवाणीहरूमा ध्यान केन्द्रित गर्नुभयो
८. येसुले किन आफूसित भएको समयको पूर्ण सदुपयोग गर्नुभयो?
८ येसुलाई बाइबलमा आफूबारे गरिएका भविष्यवाणीहरू कसरी पूरा हुनेछन् भनेर थाह थियो। उहाँलाई आफ्नो मृत्यु कहिले अनि कसरी हुनेछ भनेर गरिएको भविष्यवाणी पनि राम्ररी थाह थियो। (लुका १८:३१-३४) साथै पृथ्वीमा आफ्नो सेवाको काम साढे तीन वर्षको मात्र हुनेछ भनेर पनि उहाँले बुझ्नुभएको थियो। (दानि. ९:२६, २७) त्यसैले येसुले आफूसित भएको समयको पूर्ण सदुपयोग गर्नुभयो। उहाँ आफूलाई सुम्पिइएको सुसमाचार सुनाउने काम पूरा गर्न जोडतोडले लाग्नुभयो।
९. बाइबलका भविष्यवाणीहरूले हामीलाई साक्षीकार्यमा जोसिलो हुन कसरी मदत गर्छ?
९ बाइबलका भविष्यवाणीहरूमा ध्यान केन्द्रित गऱ्यौँ भने हामी साक्षीकार्यमा अझ जोसिलो हुन सक्नेछौँ। हामीलाई यस युगको अन्त हुनै लागेको छ भनेर थाह छ। अन्तको समयमा मानिसहरू कस्ता हुनेछन् र के कस्ता घटनाहरू घट्नेछन् भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। त्यो अहिले पूरा भइरहेको हामी देख्दै छौँ। बाइबलमा “अन्तको समयमा” दक्षिणका राजा र उत्तरका राजा एकअर्कासित भिड्नेछन् भनेर पनि भविष्यवाणी गरिएको थियो। (दानि. ११:४०) त्यस भविष्यवाणीले एङ्ग्लो-अमेरिकी विश्वशक्ति अनि रुस र त्यसका समर्थकहरूबीचको दुस्मनीलाई सङ्केत गर्छ भनेर हामीले बुझेका छौँ। दानिएलको भविष्यवाणीमा उल्लेख गरिएको विशाल मूर्तिको खुट्टाले एङ्ग्लो-अमेरिकी विश्वशक्तिलाई बुझाउँछ भनेर पनि हामीलाई थाह छ। (दानि. २:४३-४५) त्यस भविष्यवाणीले देखाएझैँ परमेश्वरको राज्यले मानव सरकारहरूलाई नाश गर्ने समय नजिकै, एकदमै नजिक छ भनेर हामी पक्का छौँ। यी सबै भविष्यवाणीहरूले यस युगको अन्त अब चाँडै हुनेछ भनेर देखाउँछ। त्यसैले हामीले बाँकी रहेको थोरै समयको पूर्ण सदुपयोग गर्दै जोसका साथ साक्षीकार्यमा भाग लिइरहनुपर्छ।
१०. बाइबलका भविष्यवाणीहरूले हामीलाई साक्षीकार्यमा लागिरहन कसरी हौसला दिन्छ?
१० बाइबलका भविष्यवाणीहरूमा हामी भविष्यको उज्ज्वल आशा पनि पाउन सक्छौँ र हामी त्यो आशा मानिसहरूलाई बाँड्न चाहन्छौँ। डोमिनिकन गणतन्त्रमा सेवा गरिरहेकी क्यारी बहिनी यसो भन्छिन्: “यहोवा परमेश्वरले गर्नुभएका प्रतिज्ञाहरूमा मनन गर्दा यसबारे अरूलाई पनि बताऊँ-बताऊँ जस्तो लाग्छ।” तिनी अझै यसो भन्छिन्: “अहिले मानिसहरूले भोगिरहेका समस्याहरू देख्दा बाइबलमा पाइने प्रतिज्ञाहरूबाट मैले मात्र होइन, तिनीहरूले पनि आशा पाउन सक्छन् जस्तो लाग्छ।” बाइबलका भविष्यवाणीहरूले यहोवाले हाम्रो साक्षीकार्यमा साथ दिँदै हुनुहुन्छ भनेर देखाउँछ। त्यसैले हामी यस काममा लागिरहन हौसला पाउँछौँ। हङ्गेरीमा बस्ने लिला यसो भन्छिन्: “यसैया ११:६-९ ले यहोवाको मदत पाएर जस्तोसुकै मानिस पनि परिवर्तन हुन सक्छ भनेर देखाउँछ। त्यसैले हाम्रो सन्देश सुन्दैन जस्तो लागेको मानिसलाई पनि सुसमाचार सुनाउनुपर्छ भन्ने महसुस गर्छु।” जाम्बियाका क्रिस्टोफर यसो भन्छन्: “मर्कुस १३:१० मा भविष्यवाणी गरिएझैँ सुसमाचार सारा पृथ्वीभरि सुनाइँदै छ। यस महत्त्वपूर्ण काममा भाग लिन पाउनु मेरो लागि ठूलो सम्मानको कुरा हो।” तपाईँलाई चाहिँ कुन भविष्यवाणीले साक्षीकार्यमा लागिरहन हौसला दिएको छ?
उहाँ यहोवामा भर पर्नुभयो
११. जोसिलो भई सुसमाचार सुनाइरहन येसु किन यहोवामा भर पर्नुपर्थ्यो? (लुका १२:४९, ५३)
११ सुसमाचार सुनाउने काममा जोसिलो भई भाग लिन येसु यहोवामा भर पर्नुभयो। हुनत उहाँ मानिसहरूलाई सिकाउनुहुँदा सोचविचार गरेर बोल्नुहुन्थ्यो। तर उहाँको सन्देश सुनेर मानिसहरू रिसाउनेछन् र घोर विरोध गर्नेछन् भनेर उहाँलाई थाह थियो। (लुका १२:४९, ५३ पढ्नुहोस्।) येसुको सन्देश धर्मगुरुहरूलाई मन परेन। त्यसैले तिनीहरूले उहाँलाई थुप्रै चोटि मार्ने प्रयास गरे। (युह. ८:५९; १०:३१, ३९) तर येसुले सुसमाचार सुनाइरहनुभयो किनभने यहोवा आफ्नो साथमा हुनुहुन्छ भनेर येसुलाई थाह थियो। उहाँले यसो भन्नुभयो: “म एक्लो छैनँ तर मलाई पठाउनुहुने बुबा मसँग हुनुहुन्छ। . . . उहाँले मलाई एक्लै छोड्नुभएको छैन किनकि म सधैँ उहाँलाई मन पर्ने कामहरू गर्छु।”—युह. ८:१६, २९.
१२. विरोध आइपरे पनि सुसमाचार सुनाउने काममा लागिरहन चेलाहरू कसरी तयार हुन सके?
१२ येसुले आफ्ना चेलाहरूलाई सधैँ यहोवामा भर पर्नुपर्छ भनेर सम्झाउनुभयो। तिनीहरूले खेदो भोग्नुपरे तापनि यहोवाले मदत गर्नुहुनेछ भनेर येसुले पटक-पटक आश्वासन दिनुभयो। (मत्ति १०:१८-२०; लुका १२:११, १२) तर उहाँले तिनीहरूलाई चनाखो हुन पनि भन्नुभयो। (मत्ति १०:१६; लुका १०:३) साथै मानिसहरूले तिनीहरूको सन्देश सुन्न चाहेनन् भने जबरजस्ती नगर्न भन्नुभयो। (लुका १०:१०, ११) उहाँले तिनीहरूलाई खेदो आयो भने त्यस ठाउँबाट भागिहाल्न पनि निर्देशन दिनुभयो। (मत्ति १०:२३) हुनत येसु जोसिलो हुनुहुन्थ्यो अनि यहोवामा भर पर्नुहुन्थ्यो तर उहाँले कहिल्यै पनि अनावश्यक खतरा मोल्नुभएन।—युह. ११:५३, ५४.
१३. यहोवाले मदत गर्नुहुनेछ भनेर तपाईँ किन ढुक्क हुन सक्नुहुन्छ?
१३ विरोधको बाबजुद जोसिलो भई साक्षीकार्यमा लागिरहन हामीलाई यहोवाको मदत चाहिन्छ। (प्रका. १२:१७) उहाँले मदत गर्नुहुनेछ भन्ने कुरामा हामी किन ढुक्क हुन सक्छौँ? युहन्ना अध्याय १७ मा येसुले गर्नुभएको प्रार्थना विचार गरौँ। उहाँले आफ्ना प्रेषितहरूको हेरचाह गरिदिनुहोस् भनेर यहोवालाई बिन्ती गर्नुभयो अनि यहोवाले त्यसको जवाफ पनि दिनुभयो। उहाँले चेलाहरूलाई खेदो आइपरे तापनि जोसिलो भई सुसमाचार सुनाइरहन मदत गर्नुभएको विवरण प्रेषितको किताबमा पाउन सक्छौँ। येसुले यहोवालाई प्रार्थना गर्नुहुँदा प्रेषितहरूको कुरामा विश्वास गर्नेहरूको पनि हेरचाह गरिदिन बिन्ती गर्नुभयो। त्यसैले येसुको त्यो प्रार्थना तपाईँको लागि पनि हो। यहोवाले अहिले पनि येसुको प्रार्थनाको जवाफ दिँदै हुनुहुन्छ। उहाँले प्रेषितहरूलाई मदत गर्नुभएजस्तै तपाईँलाई पनि मदत गर्नुहुनेछ।—युह. १७:११, १५, २०.
१४. हामी किन जोसिलो भई साक्षीकार्यमा भाग लिइरहन सक्छौँ? (चित्र पनि हेर्नुहोस्।)
१४ यस संसारको अन्त नजिकिँदै जाँदा सुसमाचार सुनाउन झनै गाह्रो हुन सक्छ तर यहोवाले हामीलाई जोसिलो भइरहन मदत दिनुहुनेछ। (लुका २१:१२-१५) येसु अनि उहाँका चेलाहरूले जस्तै हामी मानिसहरूलाई हाम्रो कुरा सुन्न जबरजस्ती गर्दैनौँ र तिनीहरूसित वादविवाद पनि गर्दैनौँ। किनकि हाम्रो कुरा सुन्ने कि नसुन्ने, त्यो तिनीहरूकै निर्णय हो। हाम्रो काममा कडिकडाउ गरिएका देशहरूमा पनि भाइबहिनीहरूले जोसिलो भई सुसमाचार सुनाइरहेका छन्। किनभने तिनीहरू आफूमा होइन, यहोवामा भर पर्छन्। प्रथम शताब्दीमा जस्तै अहिले पनि यहोवा हामीलाई शक्ति दिनुहुन्छ। त्यसैले हामी उहाँले चाहनुभएअनुसारै “प्रचारको काम राम्ररी पूरा” गर्न सक्छौँ। (२ तिमो. ४:१७) हो, यहोवामा भर पर्नुभयो भने तपाईँ जोसिलो भई साक्षीकार्यमा भाग लिइरहन सक्नुहुनेछ।
हाम्रो काममा कडिकडाउ गरिएका देशहरूमा पनि भाइबहिनीहरू चनाखो भई सुसमाचार सुनाउँछन् (अनुच्छेद १४ हेर्नुहोस्)b
उहाँले सकारात्मक मनोवृत्ति कायम राख्नुभयो
१५. येसुले सधैँ साक्षीकार्यप्रति सकारात्मक मनोवृत्ति राख्नुभयो भनेर किन भन्न सक्छौँ?
१५ येसुले साक्षीकार्यप्रति सधैँ सकारात्मक मनोवृत्ति राख्नुभयो। यसले गर्दा उहाँ जोसिलो भइरहन सक्नुभयो। इस्वी संवत् ३० को अन्ततिरको कुरा हो, येसुले थुप्रै मानिसले सुसमाचार सुन्न चाहेको याद गर्नुभयो। त्यसैले उहाँले तिनीहरूलाई पाकेर पहेँलो भइसकेको बालीसित तुलना गर्नुभयो। (युह. ४:३५) त्यसको लगभग एक वर्षपछि उहाँले चेलाहरूलाई यसो भन्नुभयो: “फसल त प्रशस्त छ।” (मत्ति ९:३७, ३८) यही कुरालाई जोड दिँदै पछि उहाँले यसो पनि भन्नुभयो: “फसल त प्रशस्त छ . . . त्यसकारण फसलका मालिकलाई उहाँको बाली काट्न खेतालाहरू पठाइदिनुहोस् भनेर बिन्ती गर।” (लुका १०:२) हो, येसुले कहिल्यै आशा मार्नुभएन। उहाँ सुसमाचार स्विकार्ने मानिसहरू हुनेछन् भन्ने कुरामा ढुक्क हुनुहुन्थ्यो। अनि मानिसहरूले सुसमाचार स्विकारेको देख्दा उहाँ असाध्यै खुसी हुनुभयो।—लुका १०:२१.
१६. साक्षीकार्यप्रति सकारात्मक दृष्टिकोण राख्न येसुका उदाहरणहरूले कसरी मदत गर्छ? (लुका १३:१८-२१) (चित्र पनि हेर्नुहोस्।)
१६ येसुले चेलाहरूलाई तिनीहरूले सुनाउने सन्देशले राम्रो नतिजा ल्याउँछ भनेर सिकाउनुभयो। त्यो कुरा मनमा राख्दा तिनीहरू जोसिलो भइरहन सक्ने थिए। येसुले भन्नुभएको दुइटा उदाहरण विचार गरौँ—रायोको दानाको र खमिरको। (लुका १३:१८-२१ पढ्नुहोस्।) धेरैले राज्य सन्देश स्विकार्नेछन् र त्यो वृद्धिलाई कसैले रोक्न सक्नेछैन भनेर बुझाउन येसुले रायोको दानाको उदाहरण चलाउनुभयो। साथै राज्यको सुसमाचार थुप्रै ठाउँमा फैलिनेछ र यसले मानिसहरूको जीवनमा परिवर्तन ल्याउनेछ तर त्यो परिवर्तन झट्टै नदेखिन सक्छ भनेर बुझाउन येसुले खमिरको उदाहरण चलाउनुभयो। यसरी येसुले चेलाहरूलाई तिनीहरूको सन्देशले मानिसहरूमा राम्रो प्रभाव पार्नेछ भनेर बुझाउनुभयो।
येसुजस्तै हामी पनि साक्षीकार्यप्रति सकारात्मक मनोवृत्ति कायम राख्छौँ (अनुच्छेद १६ हेर्नुहोस्)
१७. हामीले किन साक्षीकार्यप्रति सकारात्मक मनोवृत्ति कायम राख्नुपर्छ?
१७ अहिले संसारभरि सुसमाचारले पारेको प्रभाव विचार गर्दा हामी जोसिलो भई साक्षीकार्यमा भाग लिन उत्प्रेरित हुन्छौँ। हरेक वर्ष चासो देखाएका लाखौँ मानिस स्मरणार्थमा उपस्थित हुन्छन् र हामीसित बाइबल अध्ययन गर्छन्। हजारौँले बप्तिस्मा गर्छन् र हामीसँगै सुसमाचार सुनाउने काममा भाग लिन्छन्। अझ कतिले सुसमाचार स्विकार्नेछन्, हामीलाई थाह छैन। तर यहोवाले जिउँदै महासङ्कष्ट पार गर्ने एउटा ठूलो भीड जम्मा गर्दै हुनुहुन्छ भनेर चाहिँ हामीलाई थाह छ। (प्रका. ७:९, १४) फसलका मालिक यहोवालाई अझ थुप्रैले सुसमाचार स्विकार्नेछन् भनेर थाह छ। त्यसैले हामी साक्षीकार्यमा भाग लिइरहनुपर्छ।
१८. मानिसहरूले हामीबारे के याद गरेको चाहन्छौँ?
१८ जोसिलो भई सुसमाचार सुनाउनु येसुका चेलाहरूको चिनारी नै हो। प्रेषितहरूले साहसी भई सुसमाचार सुनाएको देख्दा “उनीहरू येसुसित हिँडडुल गर्ने गर्थे” भनी मानिसहरूले थाह पाए। (प्रेषि. ४:१३) आज हामी पनि साहसी अनि जोसिलो भई सुसमाचार सुनाइरहौँ। यसो गऱ्यौँ भने मानिसहरूले हामी येसुका साँचो चेलाहरू हौँ भनेर देख्नेछन्।
गीत ५८ शान्तिप्रेमी मानिसहरू खोजिरहौँ!
a थप व्याख्या: यस लेखमा “जोस” शब्दले हामीले यहोवाको सेवामा देखाउने उत्साह र इच्छुकतालाई बुझाउँछ।
b चित्रको व्याख्या: एक भाइ पेट्रोल पम्पमा चनाखो भई साक्षी दिँदै छन्।