प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ५/१ pp. १२-१५
  • “के म परमेश्‍वरको स्थानमा छु र?”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “के म परमेश्‍वरको स्थानमा छु र?”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “यूसुफकहाँ जाओ”
  • ‘यूसुफले सम्झे’
  • “अब तिमीहरूको जाँच हुनेछ”
  • ‘तँ जीवितै रहेछस्‌’
  • यहोवाले युसुफलाई कहिल्यै बिर्सनुभएन
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • “मैले देखेको सपना सुन्‍नुहोस्‌”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • यूसुफलाई दाइहरूले घृणा गर्छन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • असल पति, असल बुबा, असल सेवक
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ५/१ pp. १२-१५
उच्च ओहदाका मिश्री शासकको रूपमा आफूलाई कसरी यहोवाले चलाउनुभयो र आशिष्‌ दिनुभयो भनेर यूसुफ विचार गर्छन्‌

तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌ | यूसुफ

“के म परमेश्‍वरको स्थानमा छु र?”

गोधूलि साँझमा यूसुफ आफ्नो बगैंचामा टहलिरहेका थिए। बगैंचामा खजूरको र विभिन्‍न फल दिने रूखहरूका बीच तलाउहरू पनि थिए। अनि नजिकै फिरऊनको दरबार देखिन्थ्यो। यूसुफ यी सबै कुराहरू हेरेर टोलाउँदै थिए। आफ्नो घरभित्रबाट आइरहेको मधुरो आवाज तिनको कानमा गुञ्जिरहेको थियो। तिनका छोरा मनश्‍शे आफ्नो सानो भाइ एप्रैमसित खेल्दै खितिती हाँस्दै गरेको आवाज आइरहेको थियो। यूसुफकी पत्नी आफ्ना छोराहरूको उटपट्याङ काम देखेर हाँसिरहेको दृश्‍य यूसुफले कल्पना गरिरहेको हुन सक्छ। तिनले परमेश्‍वरबाट आशिष्‌ पाएको कुरा सम्झँदै मुसुक्क मुस्कुराएको दृश्‍यलाई कल्पना गर्नुहोस्‌।

यूसुफले आफ्नो जेठो छोराको नाम मनश्‍शे राखे। किनभने यो नामको अर्थ बिर्सनु हो। (उत्पत्ति ४१:५१) परमेश्‍वरले यूसुफलाई दिनुभएको आशिष्‌ले गर्दा तिनले आफ्नो घर र बुबाको सम्झनाले गर्दा खप्नु परेको पीडा अनि दाइहरूले गरेको दुर्व्यवहारलाई बिर्सन सके। दाइहरूको घृणाले गर्दा यूसुफको जीवन परिवर्तन भएको थियो। पहिला तिनीहरूले यूसुफलाई मार्ने योजना बनाएका थिए तर पछि तिनलाई व्यापारीहरूको एक दलको हातमा दासको रूपमा बेचिदिए। त्यहीबेला देखि यूसुफले आफ्नो जीवनमा थुप्रै उतारचढावको सामना गर्नुपरेको थियो। करिब दस वर्ष जत्ति तिनले दासत्व र झ्यालखानामा जीवन बिताए। केही समय त तिनलाई नेल ठोकिएर राखिएको थियो। तर अब भने शक्‍तिशाली मिश्र देशमा तिनी फिरऊन पछिका दोस्रो शासक भए।a

कैयौं वर्षअघि देखि यहोवाले भविष्यवाणी गर्नुभए जस्तै घटनाक्रमहरू परिवर्तन भएको यूसुफले आफ्नै आँखाले देखेका थिए। भविष्यवाणी गरिएझैं सात वर्षको सहकालको अन्त भयो। सहकालको समयमा मिश्र देशमा अन्‍न भण्डार गर्ने, रेखदेख गर्ने जिम्मा यूसुफले नै पाएका थिए। यही समयताका तिनकी पत्नी आसनतले दुई छोरा जन्माइसकेकी थिइन्‌। तैपनि सयौं किलोमिटर टाढा रहेको आफ्नो परिवार विशेषगरि कान्छो भाइ बिन्यामीन र प्यारो बुबा याकूबको यादले बारम्बार यूसुफलाई सताइरहन्थ्यो। तिनीहरूको हालखबर बुझ्ने इच्छाले तिनी व्याकुल भएको हुनुपर्छ। साथै आफ्ना दाइहरूको कठोर व्यवहारमा परिवर्तन भयो कि? वा आफ्नो परिवारसित कहिल्यै मिलन हुन सकिएला? भन्‍ने प्रश्‍नहरू पनि तिनले मनमा खेलाएको हुन सक्छ।

के तपाईंको परिवारमा पनि डाह, धोका र घृणाले गर्दा शान्ति भङ्‌ग भएको छ? यदि यस्तै हो भने तपाईंको अवस्था यूसुफसित मिल्दोजुल्दो छ। तर यूसुफले आफ्नो परिवारको ख्याल राखेको कुराबाट तिनको विश्‍वासबारे के सिक्न सक्छौं?

“यूसुफकहाँ जाओ”

वर्षहरू बित्दै गए अनि ती दिनहरूमा यूसुफ निकै व्यस्त भएको हुनुपर्छ। यहोवा परमेश्‍वरले फिरऊन राजालाई सपनामार्फत भविष्यवाणी गर्नुभएझैं सात वर्षको सहकालपछि अवस्था अचानक परिवर्तन भयो। हो, अन्‍न उब्जेन। छिमेकी राष्ट्रहरूमा चारैतिर अनिकाल पर्न थाल्यो। बाइबलमा यस्तो लेखिएको छ: “सारा मिश्रमा चाहिं अन्‍न थियो।” (उत्पत्ति ४१:५४) यूसुफले भविष्यवाणीको अर्थ बुझाइदिएकाले अनि अन्‍न भण्डार गर्ने काममा राम्रो नेतृत्व लिएकाले मिश्र देशका मानिसहरू अनिकालको समयमा चिन्तित हुनु परेको थिएन।

यूसुफ फिरऊनको लागि मिश्रमा प्रशासकीय काम सम्हाल्छन्‌

यूसुफ नम्र भइरहेकाले यहोवाबाट तिनले विभिन्‍न सुअवसर पाए

पक्कै! मिश्रीहरू यूसुफप्रति आभारी भएको हुनुपर्छ। तिनीहरूले यूसुफको व्यवस्थापन गर्ने तरिकाको प्रशंसा गरेको पनि हुन सक्छ। तैपनि यूसुफ आफ्नो प्रशंसा नभई यहोवा परमेश्‍वरको प्रशंसा भएको चाहन्थे। हामीले पनि परमेश्‍वरको सेवा गर्न आफ्नो क्षमता चलायौं भने सोच्दै नसोचेको तरिकामा परमेश्‍वरले हाम्रो क्षमताको प्रयोग गर्नुहुनेछ।

अनिकाल लागेको केही समयपछि यसको असर मिश्रीहरूमा पनि पऱ्‍यो। तिनीहरूले फिरऊन राजाकहाँ गएर गुहार मागे। राजाले तिनीहरूलाई यसो भने: “यूसुफकहाँ जाओ। तिनले तिमीहरूलाई जे गर्नु भन्छन्‌ त्यही गर।” त्यसपछि यूसुफले अन्‍न जगेडा राखेको भण्डार खोलिदिए अनि मानिसहरूले आवश्‍यक अन्‍न किनेर लैजान पाए।—उत्पत्ति ४१:५५, ५६.

तर वरपरका राष्ट्रहरूको अवस्था भने नाजुक थियो। सयौं किलोमिटर टाढा पर्ने कनान देश जहाँ यूसुफका परिवार बस्थे, त्यहाँ पनि अनिकालको असर परेको थियो। वृद्ध भइसकेका याकूबले मिश्र देशमा अन्‍न पाइन्छ भनेर सुनेका थिए। त्यसैले आफ्ना छोराहरूलाई त्यहाँबाट अन्‍न किनेर ल्याउन अह्राए।—उत्पत्ति ४२:१, २.

याकूबले बिन्यामीन बाहेक आफ्ना सबै छोराहरूलाई अन्‍न लिनका लागि मिश्र देशमा पठाए। यूसुफ सानो छँदा दाइहरूलाई भेट्‌न एक्लै पठाएको कुरा याकूबले बिर्सनसकेको थिएन। अन्तिम पटक यूसुफलाई देखेको त्यही क्षण थियो। बुबाले यूसुफलाई दिनुभएको सुन्दर लबेदा च्यातिएको र रगत पोतिएको अवस्थामा यूसुफका दाइहरूले बुबाकहाँ ल्याएका थिए। यूसुफलाई जङ्‌गली जनावरले खाएछ भनेर ती दुःखी वृद्ध बुबालाई दाइहरूले विश्‍वास दिलाएका थिए।—उत्पत्ति ३७:३१-३५.

‘यूसुफले सम्झे’

लामो यात्रा गरिसकेपछि याकूबका छोराहरू मिश्र देशमा आइपुगे। तिनीहरूले अन्‍न कहाँ किन्‍ने भनेर सोधपुछ गर्दा तिनीहरूलाई साप्नत्‌-पानेह नाउँ गरेका उच्च सरकारी अधिकारीकहाँ जान भनियो। (उत्पत्ति ४१:४५) तिनीहरूले अधिकृतलाई देखेपछि के तिनी यूसुफ हुन्‌ भनेर चिने? अहँ, चिनेनन्‌। तिनीहरूका लागि यूसुफ उच्च पदमा रहेका एक मिश्री शासक थिए। त्यसैले तिनीहरू “आएर भूइँसम्म निहुरेर तिनलाई ढोग गरे।”—उत्पत्ति ४२:५, ६.

त्यसोभए के यूसुफले आफ्ना दाइहरूलाई चिने? हो, तिनले दाइहरूलाई तुरुन्तै चिनिहाले। दाइहरूले निहुरेर ढोग्दा तिनले आफ्नो बाल्यावस्थाका क्षणहरू सम्झेको हुनुपर्छ। बाइबल विवरणमा यस्तो लेखिएको छ; “यूसुफले तिनीहरूका विषयमा आफूले देखेका सपना सम्झे।” त्यस सपनामार्फत भविष्यमा दाइहरूले यूसुफको अगाडि निहुरेर ढोग्नेछन्‌ भन्‍ने कुराको सङ्‌केत यहोवा परमेश्‍वरले यूसुफलाई दिनुभएको थियो। साँच्चै! सपनामा देखे जस्तै भयो। (उत्पत्ति ३७:२, ५-९; ४२:७, ९) तर अब यूसुफले कस्तो कदम चाल्ने थिए? अङ्‌गालो हाल्ने? या बदला लिने?

आवेगमा आएर कुनै पनि कदम चाल्नु उचित हुँदैन भन्‍ने कुरा यूसुफलाई थाह थियो। यहोवा परमेश्‍वरले नै त्यस घटनालाई मोड्‌नुभएको हो भन्‍ने कुरा पनि स्पष्ट थियो। यी सबै कुरा उहाँको उद्देश्‍यसित सम्बन्धित थियो। किनभने यहोवा परमेश्‍वरले याकूबका सन्तान एउटा ठूलो राष्ट्र बन्‍नेछ भनेर प्रतिज्ञा गर्नुभएको थियो। (उत्पत्ति ३५:११, १२) यदि यूसुफका दाइहरू अझै हिंस्रक, स्वार्थी, धोकेबाज भइरहेका भए त्यसको परिणाम राम्रो हुने थिएन। यूसुफले आवेगमा आएर नराम्रो कदम चालेको भए आफ्नो बुबा र बिन्यामीनको जीवन पनि खतरामा पर्न सक्थ्यो। के तिनीहरू अझै जिउँदै थिए? दाइहरूको स्वभाव बुझ्न यूसुफले आफ्नो परिचय लुकाइराख्ने निर्णय गरे। तिनले कस्तो कदम चालेको यहोवा परमेश्‍वर चाहनुहुन्थ्यो भनेर थाह पाउन पनि यूसुफले यसो गरे।

तपाईंले यस्तै अवस्थाको सामना गर्नु नपर्ला। तर अहिलेको संसारमा परिवारमा झैझगडा हुनु र परिवार टुक्रिनु सामान्य कुरा भइसकेको छ। यस्ता परिस्थितिहरूको सामना गर्नुपर्दा हामी आवेगमा कदम चाल्ने दबाब महसुस गर्न सक्छौं। त्यतिबेला हामी यूसुफको अनुकरण गर्न सक्छौं। कसरी? हामीले कस्तो कदम चालेको परमेश्‍वर चाहनुहुन्छ भनेर बुझ्ने प्रयास गरेर। (हितोपदेश १४:१२) हो, परिवारसित शान्ति कायम गर्नुका साथसाथै यहोवा र उहाँको छोरा येशूसित शान्ति कायम गर्नु अझ महत्त्वपूर्ण छ।—मत्ती १०:३७.

“अब तिमीहरूको जाँच हुनेछ”

यूसुफले आफ्ना दाइहरू वास्तवमा कस्ता व्यक्‍तिहरू भएका छन्‌ भनेर पत्ता लगाउन जाँच गर्न थाले। तिनले दाइहरूसित रुखो बोली बोले अनि एक दोभासेमार्फत तिनीहरू जासुस हुन भनी आरोप लगाए। तर दाइहरूले आफूलाई बचाउन आफ्नो परिवारको अवस्थाबारे बुझाए। साथै कान्छो भाइ घरमै भएको कुरा पनि बताए। यो कुरा थाह पाएर यूसुफ खुसी भएको हुनुपर्छ तैपनि तिनले त्यो हर्ष देखाएनन्‌। तर तिनको प्यारो भाइ साँच्चै जिउँदै छ त? अब कस्तो कदम चाल्ने भनेर यूसुफलाई थाह भयो। त्यसैले तिनले यसो भने: “अब तिमीहरूको जाँच हुनेछ।” साथै तिनीहरूको कान्छो भाइ पनि मिश्रमा ल्याउनुपर्छ भनेर यूसुफले बताए। केही समयपछि तिनीहरूलाई आफ्नो देश फर्केर कान्छो भाइ बिन्यामीनलाई ल्याउन यूसुफले हुकुम गरे। तिनीहरू त्यसो गर्न चाहन्छन्‌ भने तिनीहरूमध्ये एक जना मिश्र देशमै बसिरहनुपर्ने थियो।—उत्पत्ति ४२:९-२०.

दाइहरूले समस्याबारे एकआपसमा कुराकानी गर्न थाले। यूसुफले तिनीहरूको भाषा बुझ्न सक्छन्‌ भन्‍ने थाह नपाएकोले तिनीहरूले २० वर्षअघि गरेको घोर पापको लागि आफूलाई दोषी ठहराएर यसो भने: “साँच्चै नै हाम्रो भाइको विषयमा हामी दोषी छौं, किनकि त्यसले हामीसित बिन्ती गर्दा हामीले त्यसको मनको व्याकुलता देखेर पनि त्यसको कुरा सुनेनौं। यसकारण यो सङ्‌कष्ट हामीमाथि पर्न आएको हो।” तिनीहरूले गरेको कुराकानी यूसुफले बुझे अनि तिनी अन्तै फर्केर रोए। (उत्पत्ति ४२:२१-२४) तर साँचो पश्‍चाताप भनेको खराब कामको नतिजाले गर्दा पछुतो मान्‍नु मात्र त होइन। त्यसैले यूसुफले तिनीहरूको परीक्षा लिने काम जारी नै राखे।

यूसुफले आफ्नो दाइ शिमोनलाई बन्दीको रूपमा राखे अनि बाँकी अरूलाई कनान पठाइदिए। तिनीहरूले घरमा लगेका अन्‍नको धोक्रामै यूसुफले पैसा लुकाइदिएका थिए। दाइहरू घर पुगेपछि बिन्यामीनलाई तिनीहरूसितै फेरि मिश्र देश लैजान बुबा याकूबलाई बल्ल-तल्ल मनाए। मिश्र देश पुगिसकेपछि तिनीहरूले यूसुफका हर्ताकर्तालाई आफूले अन्‍नको धोक्रामा पैसा भेट्टाएको कुरा बताए। त्यसैले पूरै पैसा तिर्न पनि तिनीहरू तयार भए। त्यस्तो इमानदारी प्रशंसनीय कुरा थियो तैपनि तिनीहरूको मन साँच्चै कस्तो छ भनेर यूसुफ अझै बुझ्न चाहन्थे। बिन्यामीनलाई देखेर तिनी असाध्यै खुसी भए। तर तिनले आफ्नो खुसी प्रकट गरेनन्‌ अनि दाइहरूका लागि एउटा भोज तयार पारे। त्यसपछि तिनीहरूलाई अन्‍न दिएर फेरि आफ्नो देश कनानतिर फर्काइदिए। तर यसपालि यूसुफले बिन्यामीनको अन्‍नको धोक्रोमा चाँदीको कचौरा लुकाइदिएका थिए।—उत्पत्ति ४२:२६–४४:२.

यूसुफले तिनीहरूलाई पासोमा पार्न चाल चले। तिनले दाइहरूको पछि-पछि मानिसहरू पठाए अनि चाँदीको कचौरा चोरेको आरोपमा तिनीहरूलाई गिरफ्तार गरे। खानतलासी गर्दा कचौरा बिन्यामीनको धोक्रोमा भेटियो अनि सबैलाई यूसुफकहाँ फर्काएर ल्याइयो। अब दाइहरू साँच्चै कस्ता व्यक्‍तिहरू हुन्‌ भनेर बुझ्ने मौका यूसुफले पाए। यहुदाले बोल्न सुरु गरे। तिनीहरूलाई दया देखाउनुहोस्‌ भनेर यूसुफलाई तिनले बिन्ती गरिरहे। तिनीहरू एघारै जना मिश्रमा दास बन्‍न पनि तयार छन्‌ भनेर पनि बताए। तर यूसुफले यो कुरा स्वीकारेनन्‌। बरु बिन्यामीन एक्लै मिश्र देशमा दास भएर बस्नुपर्नेछ भन्‍ने कडा आज्ञा दिए अनि अरू चाहिं आ-आफ्नो बाटो लाग्न हुकुम गरे।—उत्पत्ति ४४:२-१७.

भावनामा बहेर यहूदाले यसो भने: “आफ्नी आमापट्टिको अब त्यो मात्र छ र त्यसका दाजु मरिसके। औ त्यसका बाबुले त्यसलाई खूबै माया गर्नुहुन्छ।” यी शब्दहरूले यूसुफको मन छोएको हुनुपर्छ। किनभने याकूबको प्यारी पत्नी राहेलको तर्फबाट जन्मेका छोराहरू दुई जना मात्र थिए। जेठा छोरा यूसुफ थिए भने कान्छा बिन्यामीन। कान्छा छोरालाई जन्म दिने क्रममा राहेलको मृत्यु भएको थियो। पक्कै पनि आफ्नो बुबाले जस्तै यूसुफले पनि आफ्नी आमासित बिताएका क्षणहरूलाई अमूल्य सम्झेको हुनुपर्छ। यही कारणले गर्दा पनि बिन्यामीन यूसुफको लागि निकै प्यारो थियो।—उत्पत्ति ३५:१८-२०; ४४:२०.

बिन्यामीनलाई मिश्रमा दास नबनाउन यहूदाले अनेक बिन्तीभाउ गरे। बिन्यामीनको सट्टा तिनी आफै दास बन्‍न पनि राजी भए। अनि तिनले आफ्नो बिन्ती यसरी टुङ्‌ग्याए: “त्यो केटो मेरो साथमा छैन भने मेरा बाबुकहाँ म कसरी जानु? मेरा बाबुमाथि आइपर्ने विपत्ति म हेर्न सक्दिनँ।” (उत्पत्ति ४४:१८-३४) यी शब्दहरूले दाइहरूको स्वभावमा साँच्चै परिवर्तन भएको कुरा देखायो। यहूदाले पछुतो मात्र मानेनन्‌। बरु तिनी अरूको भावना बुझ्ने, निःस्वार्थ र दयालु भएको कुरा पनि प्रमाणित भयो।

यूसुफका दाइहरूले आफूले वर्षौं अघि गरेका क्रूर व्यवहारको लागि साँचो पश्‍चात्ताप गरेको यूसुफले सुने

यूसुफलाई गरेको अत्याचारप्रति दाइहरू पछुताएको कुरा तिनले देखे

यूसुफले सहनै सकेनन्‌। तिनले दबाएर राखेको मनको बह पोखे। आफ्ना सबै नोकरहरूलाई त्यहाँबाट बाहिर पठाए अनि तिनी ठूलो स्वरमा रुन थाले। तिनी रोएको आवाज फिरऊनको दरबारसम्म सुनियो। बल्ल यूसुफले आफ्नो परिचय खुलाए अनि यस्तो भने: “म यूसुफ हुँ।” त्यसपछि तीनछक्क परिरहेका आफ्ना दाइहरूलाई तिनले अङ्‌कमाल गरे। तिनीहरूले गरेका सबै खराब कामका लागि पनि माफी दिए। (उत्पत्ति ४५:१-१५) यसरी यूसुफले उदार भई क्षमा गरेर यहोवा परमेश्‍वरको गुणको अनुकरण गरे। (भजन ८६:५) के हामी पनि त्यसै गर्छौं?

‘तँ जीवितै रहेछस्‌’

यूसुफको घरमा भएको उथलपुथलको वृत्तान्त सुनेर राजा फिरऊनले यूसुफका वृद्ध बुबाका साथै सपरिवार मिश्र देशमा ल्याउने आज्ञा दिए। तुरुन्तै यूसुफले आफ्नो बुबालाई मिश्र देशमा ल्याउन पठाए र तिनीहरूको पुनर्मिलन भयो। याकूबले रुँदै यसो भने: “मैले तेरो मुख देख्न पाएको हुनाले र तँ जीवितै रहेको जान्‍न पाएकोले अब म सन्तोषसित मर्छु।”—उत्पत्ति ४५:१६-२८; ४६:२९, ३०.

याकूब मिश्र देशमा आएको १७ वर्षसम्म पनि जीवितै थिए। तिनले यस लामो जीवनकालमा आफ्ना १२ जना छोराहरूलाई भविष्यसूचक आशिष्‌ दिन सके। जेठो छोराले पाउने दोब्बर आशिष्‌ तिनले आफ्नो ११ औं छोरा यूसुफलाई दिए। यूसुफबाट इस्राएलका दुई कुल आउने थिए। अनि चौथो छोरा यहूदाबारे चाहिं के भन्‍न सकिन्छ? तिनले अरू दाजुभाइहरूले भन्दा पनि धेरै पश्‍चाताप गरेको कुरा देखाएका थिए। त्यसैले तिनले ठूलो आशिष्‌ पाए। हो, मसीह तिनकै कुलबाट जन्मिने थिए।—उत्पत्ति, अध्याय ४८, ४९

याकूबको मृत्यु हुँदा तिनी १४७ वर्षका थिए। बुबाको मृत्युपछि यूसुफले आफ्ना दाइहरूसित बदला लिने हो कि भनेर तिनीहरू डराए। तर यूसुफले तिनीहरूलाई मायालु ढङ्‌गमा आफूले त्यस्तो केही गर्नेछैन भनेर ढाडस दिए। यूसुफको परिवारलाई मिश्र देश ल्याउने उद्देश्‍य यहोवा परमेश्‍वरकै थियो भनेर यूसुफलाई थाह थियो। त्यसैले बितेको समयमा भएका कुराहरूलाई सम्झेर अफसोस नमान्‍न भनी तिनले आफ्ना दाइहरूलाई भने। साथै तिनले यस्तो प्रश्‍न सोधे: “के म परमेश्‍वरको स्थानमा छु र?” (उत्पत्ति १५:१३; ४५:७, ८; ५०:१५-२१) यहोवा परमेश्‍वर कुनै त्रुटि नभएको न्यायकर्ता हुनुहुन्छ भनेर यूसुफलाई थाह थियो। त्यसैले यहोवा परमेश्‍वरले क्षमा गरेकाहरूलाई दण्ड दिने यूसुफ को हो र?—हिब्रू १०:३०.

अरूलाई माफी दिन तपाईंलाई गाह्रो भएको छ? विशेषगरि कसैले जानाजानी हाम्रो हानि गर्न खोजेको थियो भने क्षमा दिन निकै गाह्रो हुन सक्छ। तर कसैले मनैदेखि आफूले गरेको काममा पछुताउँछ भने क्षमा दिंदा हामी आफ्नो र क्षमा माग्नेको घाउमा मलम लगाउन सक्छौं। साथै क्षमा दिएर हामीले यूसुफको विश्‍वास अनि दयालु बुबा यहोवाको अनुकरण गरिरहेका हुनेछौं।

a प्रहरीधरहरा पत्रिकाका निम्न अङ्‌कहरूमा “तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌” भन्‍ने लेख हेर्नुहोस्‌: अगस्त १, २०१४; नोभेम्बर १, २०१४ र फेब्रुअरी १, २०१५।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने