प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 जनवरी pp. २२-२७
  • “हामी तपाईंसितै जानेछौं”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “हामी तपाईंसितै जानेछौं”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • के हामीले सबै अभिषिक्‍त जनको नाम थाह पाउनु जरुरी छ?
  • अभिषिक्‍त जनहरूले आफूलाई कस्तो ठान्‍नुपर्छ?
  • तपाईंले तिनीहरूलाई कुन नजरले हेर्नुपर्छ?
  • प्रतीक खानेहरूको सङ्‌ख्या बढ्‌दा के हामी चिन्तित हुनुपर्छ?
  • हामी तपाईँहरूसितै जानेछौँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • “पवित्र शक्‍ति आफैले . . . साक्षी दिन्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • प्रभुको साँझको भोजले तपाईंको लागि कस्तो अर्थ राख्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • परमेश्‍वरको राज्य प्राप्त गर्न योग्य गनिएका
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 जनवरी pp. २२-२७
गोठालोको पछि लाग्दै गरेका भेडाहरू

“हामी तपाईंसितै जानेछौं”

“हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाईंसित हुनुहुन्छ।”—जक. ८:२३.

गीत: ६५, १२२

के तपाईं बुझाउन सक्नुहुन्छ?

  • जकरिया ८:२३ मा लेखिएको कुरा कसरी पूरा भयो?

  • अभिषिक्‍त ख्रीष्टियनहरूले आफूलाई कस्तो ठान्‍नुपर्छ?—१ कोरि. ४:६-८.

  • स्मरणार्थमा प्रतीक खानेहरूको सङ्‌ख्या बढे पनि हामीले किन चिन्ता लिनुपर्दैन?—रोमी ९:११, १६.

१, २. (क) यहोवा परमेश्‍वरले हाम्रो समयबारे कस्तो भविष्यवाणी गर्नुभयो? (ख) हामी यो लेखमा कुन कुरा छलफल गर्नेछौं? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

हामी बाँचिरहेको समयलाई सङ्‌केत गर्दै यहोवा परमेश्‍वरले यस्तो भविष्यवाणी गर्नुभयो: “ती दिनमा सबै जातिका विभिन्‍न भाषा बोल्नेहरूमध्ये दस जना मानिसले एउटा यहूदीको लुगा समातेर यसो भन्‍नेछन्‌, ‘हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाईंसित हुनुहुन्छ।’” (जक. ८:२३) यहाँ उल्लेख गरिएको “यहूदी”-ले पवित्र शक्‍तिद्वारा अभिषेक भएका व्यक्‍तिहरूलाई बुझाउँछ। बाइबलमा तिनीहरूलाई “परमेश्‍वरको इस्राएल” पनि भनिएको छ। (गला. ६:१६) अनि जकरियाको किताबमा उल्लेख गरिएको “दस जना मानिसले” चाहिं पृथ्वीमा सधैंभरि बाँच्ने आशा भएका मानिसहरूलाई सङ्‌केत गर्छ। परमेश्‍वरले अभिषिक्‍त जनहरूलाई आशिष्‌ दिनुभएको छ भनेर उनीहरूले बुझेका छन्‌। त्यसैले ती अभिषिक्‍त जनहरूसितै मिलेर परमेश्‍वरको उपासना गर्न पाउँदा उनीहरू गर्व गर्छन्‌।

२ भविष्यवक्‍ता जकरियाले जस्तै येशूले पनि परमेश्‍वरका सेवकहरू एकतामा रहन्छन्‌ भनेर बताउनुभयो। उहाँले आफ्ना चेलाहरूको दुइटा समूह छ भन्‍नुभयो। ती हुन्‌: “सानो बगाल” र “अरू भेडा।” तर “तिनीहरू सबै एउटै बगालको अनि एकै जना गोठालोका हुनेछन्‌” भनेर पनि उहाँले बताउनुभयो। (लूका १२:३२; यूह. १०:१६) यो कुरा विचार गर्दा केही प्रश्‍न उठ्‌न सक्छ: (१) के अरू भेडाले सबै अभिषिक्‍त जनको नाम थाह पाउनु जरुरी छ? (२) अभिषिक्‍त जनहरूले आफूलाई कस्तो ठान्‍नुपर्छ? (३) तपाईंको मण्डलीमा प्रभुको साँझको भोजको दिन कसैले प्रतीक खायो भने तपाईं के गर्नुहुन्छ? (४) प्रतीक खानेहरूको सङ्‌ख्या बढ्‌दा के तपाईं चिन्तित हुनुपर्छ? अब हामी एक-एक गर्दै यी विषयमा चर्चा गर्नेछौं।

के हामीले सबै अभिषिक्‍त जनको नाम थाह पाउनु जरुरी छ?

३. एक लाख चवालीस हजारमा को-को पर्नेछन्‌ भनेर अहिल्यै हामी किन भन्‍न सक्दैनौं?

३ अरू भेडाका सदस्यहरूले अहिले भएका एक-एक अभिषिक्‍त जनहरूको नाम थाह पाउनु जरुरी छ त? छोटकरीमा भन्‍ने हो भने, ‘छैन’। किन? किनभने तिनीहरूले अहिले स्वर्गीय बोलावट मात्र पाएका हुन्‌, इनाम नै पाइसकेका त छैनन्‌। सैतानले “झूटा भविष्यवक्‍ताहरू” खडा गर्नेछ र ‘चुनिएका जनहरूलाई समेत बहकाउनेछ’ भनेर बाइबलमा लेखिएको छ। (मत्ती २४:२४) त्यसैले यहोवा आफैले अभिषिक्‍त जनहरूलाई वफादार व्यक्‍तिको रूपमा नछुट्याएसम्म कसले स्वर्गीय इनाम पाउँछ, कसले पाउँदैन, त्यो हामी किटेर भन्‍न सक्दैनौं। यस विषयमा यहोवाले नै निर्णय गर्नुहुनेछ। अनि वफादार रहनेजतिलाई तिनीहरूको मृत्युभन्दाअघि वा “महासङ्‌कष्ट” सुरु हुनुभन्दा अघि छाप लगाउनुहुनेछ। (प्रका. २:१०; ७:३, १४) त्यसैले अहिले नै हामीले १ लाख ४४ हजारमा को-को पर्नेछन्‌ भनेर बुझ्न खोज्नु सरासर गलत हुनेछ।[१]

४. पृथ्वीमा बाँकी रहेका सबै अभिषिक्‍त जनलाई चिन्‍न सम्भव नभए तापनि अरू भेडाका सदस्यहरू कसरी उनीहरूसँगसँगै ‘जान सक्छन्‌’?

४ पृथ्वीमा बाँकी रहेका एक-एक अभिषिक्‍त जनलाई चिन्‍न सम्भव नभए तापनि अरू भेडाका सदस्यहरू कसरी उनीहरूसँगसँगै ‘जान सक्छन्‌’? जकरियाले लाक्षणिक दस जना मानिसबारे के भनेका छन्‌, याद गर्नुहोस्‌। भविष्यवाणी गरिएअनुसार ती दस जना मानिसले “एउटा यहूदीको” लुगा समातेर यसो भन्‍ने थिए, “हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाईंसित हुनुहुन्छ।” सुरुमा एक जना यहूदीबारे मात्र चर्चा गरिए तापनि मूल भाषामा हेर्ने हो भने पछाडिको ‘तपाईं’ भन्‍ने शब्दको सट्टा ‘तपाईंहरू’ भन्‍ने बहुवचन शब्द चलाइएको पाउँछौं। त्यसैले जकरियाको किताबमा उल्लेख गरिएको “एउटा यहूदी”-ले एक जना व्यक्‍तिलाई नभई मानिसहरूको समूहलाई बुझाउँछ भन्‍ने निष्कर्षमा हामी पुग्न सक्छौं। यही कारण हामीले एक-एक जना आध्यात्मिक यहूदी अर्थात्‌ अभिषिक्‍त जनलाई चिन्‍नु र तिनीहरूको पछि लाग्नु आवश्‍यक छैन। बरु हामीले त्यो यहूदीले सङ्‌केत गर्ने समूहलाई राम्ररी चिन्‍नुपर्छ र तिनीहरूलाई साथ दिनुपर्छ। अनि बाइबलले हामीलाई त्यसरी एक-एक जनाको पछि लाग्ने प्रोत्साहन पनि दिंदैन। किनभने हामीले पछ्याउनुपर्ने एक मात्र नेता येशू हुनुहुन्छ।—मत्ती २३:१०.

अभिषिक्‍त जनहरूले आफूलाई कस्तो ठान्‍नुपर्छ?

५. अभिषिक्‍त जनहरूले कुन चेतावनीलाई ध्यान दिनुपर्छ र किन?

५ स्मरणार्थको दिन प्रतीक खानेहरूले १ कोरिन्थी ११:२७-२९ मा दिइएको चेतावनीलाई राम्ररी ध्यान दिनुपर्छ। (पढ्‌नुहोस्‌) यस पदमा प्रेषित पावलले के भन्‍न खोज्दै थिए? यदि प्रतीक खाने व्यक्‍तिको सम्बन्ध यहोवा परमेश्‍वरसित राम्रो छैन भने तिनले व्यर्थैमा ती प्रतीकहरू खाइरहेका हुन्छन्‌। (हिब्रू ६:४-६; १०:२६-२९) साथै यस्तो चेतावनीले तिनीहरूलाई स्वर्गीय इनाम पाउन अझै वफादार रहनुपर्छ भनेर पनि झकझकाउँछ। तिनीहरू “ख्रीष्ट येशू मार्फत परमेश्‍वरबाट पाएको माथिको बोलावटको पुरस्कार पाउने लक्ष्यसम्म पुग्न” अझै लागिरहनुपर्छ।—फिलि. ३:१३-१६.

६. अभिषिक्‍त ख्रीष्टियनहरूले आफूलाई कस्तो ठान्‍नुपर्छ?

६ परमेश्‍वरको प्रेरणा पाएर पावलले अभिषिक्‍त ख्रीष्टियनहरूलाई “आफूले पाएको बोलावटको योग्य जीवन” बिताउन आग्रह गरे। तिनीहरूले कसरी यस्तो जीवन बिताउन सक्छन्‌? पावल अझै यसो भन्छन्‌: “सधैं विनम्र र कोमल भएर, धीरज धरेर, प्रेम देखाउँदै एक-अर्कालाई सहेर अनि शान्तिको बन्धनमा बाँधिएर पवित्र शक्‍तिद्वारा पाइने एकतामा रहन उत्कट प्रयास गरिरहो।” (एफि. ४:१-३) यहोवाको पवित्र शक्‍ति पाउने मानिस नम्र हुन्छ, घमन्डी होइन। (कल. ३:१२) पृथ्वीमा बाँच्ने आशा भएकाहरूले भन्दा आफूले धेरै पवित्र शक्‍ति पाएको छु भन्‍ने तिनीहरू सोच्दैनन्‌। अनि आफूसँग अरूको भन्दा धेरै ज्ञान छ, बुद्धि छ भनेर घमन्ड पनि गर्दैनन्‌। तिनीहरू आफूलाई अरूभन्दा श्रेष्ठ ठान्दैनन्‌। साथै कुनै व्यक्‍तिलाई ‘तिमी अभिषिक्‍त जन हौ, प्रतीकहरू खाए हुन्छ नि’ भन्‍ने सल्लाह पनि दिंदैनन्‌। कसलाई अभिषिक्‍त जनको रूपमा छान्‍ने, कसलाई नछान्‍ने, त्यो काम यहोवाको मात्र हो भनेर तिनीहरू नम्र भई स्वीकार्छन्‌।

७, ८. अभिषिक्‍त जनहरू के गरेको चाहँदैनन्‌ र किन?

७ स्वर्गीय बोलावट पाउनु साँच्चै नै ठूलो सुअवसर हो। तर त्यसो भन्दैमा अभिषिक्‍त ख्रीष्टियनहरू अरूले आफूलाई अचाक्ली आदर गरेको चाहँदैनन्‌। (एफि. १:१८, १९; फिलिप्पी २:२, ३ पढ्‌नुहोस्‌) परमेश्‍वरले पवित्र शक्‍तिद्वारा अभिषेक गर्नुभएको कुरा आफूलाई मात्र थाह दिनुभएको छ भनेर तिनीहरूले बुझेका छन्‌। उहाँले यो कुरा अरू कसैलाई पनि बताउनुभएको थिएन। त्यसैले कसै-कसैले तिनीहरू पवित्र शक्‍तिद्वारा अभिषेक भएको हो भनेर विश्‍वास नगर्दा तिनीहरू छक्क पर्दैनन्‌। किनकि कसैले परमेश्‍वरले विशेष जिम्मेवारी दिनुभएको दाबी गर्दैमा त्यो व्यक्‍तिलाई तुरुन्तै विश्‍वास गरिहाल्नु हुँदैन भनेर बाइबलमा चेतावनी दिइएको छ। (प्रका. २:२) त्यसैले अरूलाई परिचय दिन तिनीहरू ‘म अभिषिक्‍त जन हुँ’ भन्दै हिंड्‌दैनन्‌। तिनीहरू अरूको ध्यान खिच्न वा आफ्नो भविष्यको आशाबारे अरूलाई धक्कु लगाउन चाहँदैनन्‌। त्यसैले आफू अभिषिक्‍त जन हुँदाको अनुभव तिनीहरू अरूलाई बताउँदै हिंड्‌दैनन्‌।—१ कोरि. १:२८, २९; १ कोरिन्थी ४:६-८ पढ्‌नुहोस्‌।

८ साथै तिनीहरूले अभिषिक्‍त जनहरूको छुट्टै क्लब पनि बनाउँदैनन्‌। मतलब, आफू अभिषेक भएको अनुभव साटासाट गर्न वा बाइबल अध्ययन गर्न तिनीहरू आफ्नो छुट्टै समूह बनाउँदैनन्‌। (गला. १:१५-१७) यसो गर्न थाल्यो भने मण्डलीमा फुट हुन्छ। अनि यसो गर्नु भनेको पवित्र शक्‍तिको डोऱ्‍याइ विपरीत चल्नु हो किनभने पवित्र शक्‍तिले फुट होइन तर शान्ति र एकतामा रहन मदत गर्छ।—रोमी १६:१७, १८ पढ्‌नुहोस्‌।

तपाईंले तिनीहरूलाई कुन नजरले हेर्नुपर्छ?

९. स्मरणार्थको प्रतीक खानेहरूसित व्यवहार गर्दा तपाईंले किन विचार पुऱ्‍याउनुपर्छ? (“प्रेमले ‘अभद्र व्यवहार गर्दैन’” भन्‍ने पेटी हेर्नुहोस्‌)

९ कसैले स्मरणार्थमा प्रतीकहरू खान थाल्यो भने तपाईंले तिनलाई कुन नजरले हेर्नुपर्छ? येशूले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “तिमीहरूचाहिं सबै दाजुभाइ हौ।” उहाँले अझै यसो भन्‍नुभयो: “जसले आफूलाई उचाल्छ, ऊ होच्याइनेछ अनि जसले आफूलाई होच्याउँछ, ऊ उचालिनेछ।” (मत्ती २३:८-१२) त्यसैले कसैलाई उचालेर कुरा गर्नु गलत हो, चाहे ऊ ख्रीष्टको अभिषिक्‍त भाइ नै किन नहोस्‌। बाइबलमा ख्रीष्टियन एल्डरहरूबारे कुरा गर्दा हामीलाई तिनीहरूको विश्‍वास अनुकरण गर्न प्रोत्साहन दिइएको छ; तर कुनै पनि मानिसलाई आफ्नो नेता बनाउन भने प्रोत्साहन दिंदैन। (हिब्रू १३:७) हो, बाइबलमा “दोबर आदर” देखाउनुपर्छ भन्‍ने विषयमा पनि चर्चा गरिएको छ। तर हामीले त्यस्तो आदर देखाउनुपर्ने कारण कुनै व्यक्‍ति अभिषिक्‍त जन भएकोले होइन तर तिनीहरूले हामीलाई “राम्ररी अगुवाइ” लिएकोले अनि “बोल्ने र सिकाउने काममा कडा परिश्रम” गरेकोले हो। (१ तिमो. ५:१७) त्यसैले अभिषिक्‍त जनहरूलाई चाहिनेभन्दा धेरै आदर गऱ्‍यौं भने उनीहरूलाई अप्ठ्यारो लाग्न सक्छ। त्योभन्दा पनि खतराको कुरा, हामीले तिनीहरूलाई त्यस्तो व्यवहार गर्दा तिनीहरूलाई नम्र भइरहन गाह्रो हुन सक्छ। (रोमी १२:३) अनि हाम्रो कारणले ख्रीष्टका भाइहरूमध्ये कसैलाई ठेस पुगेको हामी चाहँदैनौं नि, होइन र?—लूका १७:२.

स्मरणार्थमा रोटी खान लागेका एक जना यहोवाका साक्षी

कसैले स्मरणार्थको प्रतीक खायो भने तपाईंले तिनलाई कस्तो नजरले हेर्नुपर्छ? (अनुच्छेद ९-११ हेर्नुहोस्‌)

१०. अभिषिक्‍त जनहरूलाई हामी कसरी आदर देखाउन सक्छौं?

१० यहोवाले अभिषेक गर्नुभएका जनहरूप्रति हामी कसरी उचित आदर देखाउन सक्छौं? हामी तिनीहरूलाई ‘तपाईं कसरी अभिषेक हुनुभयो’ भनेर सोध्दैनौं। हो, हामी आफूसित सरोकार नभएका कुराहरूमा हस्तक्षेप गर्दैनौं। (१ थिस्स. ४:११; २ थिस्स. ३:११) अनि तिनीहरूको आमाबुबा, श्रीमान्‌ वा श्रीमती अथवा नातागोतालाई ‘तपाईंहरू पनि अभिषिक्‍त जन हो’ भनेर सोध्दैनौं। किनकि वंशानुगत वा वैवाहिक सम्बन्ध र अभिषेक हुनुबीच केही सम्बन्ध छैन। (१ थिस्स. २:१२) अनि हामी अभिषिक्‍त जनहरूलाई ‘परमेश्‍वरको राज्यमा तपाईंको श्रीमान्‌ वा श्रीमती आफूसँगै नहुँदा के गर्नुहुन्छ’ भनेर पनि सोध्दैनौं। यस्तो प्रश्‍नले उनीहरूलाई चोट पुग्न सक्छ। अनि हामीले बिर्सन नहुने कुरा के हो भने, त्यतिबेला यहोवाले आफ्नो मुठी खोल्नुहुन्छ र “सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ।”—भज. १४५:१६.

११. “चापलुसी” गर्दैनौं भने हामी कस्तो खतरादेखि जोगिनेछौं?

११ अभिषिक्‍त जनहरूप्रति उचित आदर देखाउनेहरूले आफूलाई खतराबाट पनि जोगाइरहेका हुन्छन्‌। बाइबलमा “झूटा भाइहरू” मण्डलीभित्र सुटुक्क घुस्नेछन्‌ भनेर बताइएको छ। (गला. २:४, ५; १ यूह. २:१९) तिनीहरूले आफू अभिषिक्‍त जन हो भनेर दाबी समेत गर्न सक्छन्‌। अनि अर्को कुरा, कोही-कोही अभिषिक्‍त ख्रीष्टियनहरू यहोवाबाट तर्किन समेत सक्छन्‌। (मत्ती २५:१०-१२; २ पत्रु. २:२०, २१) यदि हामी त्यस्ता मानिसहरूको “चापलुसी” गर्दैनौं भने तिनीहरूको कारण यहोवालाई त्याग्ने खतरादेखि जोगिनेछौं। अनि एकदमै आदरणीय वा लामो समयदेखि विश्‍वासी रहेका व्यक्‍तिहरूले यहोवालाई त्याग्दा समेत हामी विश्‍वासी रहिरहन सक्नेछौं।—यहू. १६.

प्रतीक खानेहरूको सङ्‌ख्या बढ्‌दा के हामी चिन्तित हुनुपर्छ?

१२, १३. स्मरणार्थमा प्रतीक खानेहरूको सङ्‌ख्या बढ्‌दा हामी किन चिन्तित हुनुपर्दैन?

१२ केही वर्षअघिसम्म प्रतीक खानेहरूको सङ्‌ख्या लगातार घट्‌दै गएको थियो। तर अहिले त्यसको ठीक उल्टो हुन थालेको छ। अहिले स्मरणार्थ उत्सवको दिन प्रतीक खानेहरूको सङ्‌ख्या बढ्‌दै गरेको हामीले याद गरेका छौं। के त्यसोभए हामीले यस विषयमा चिन्ता लिनुपर्छ? अहँ, पर्दैन। त्यसको कारण बुझ्न हामी केही बुँदाहरू केलाएर हेरौं।

१३ “आफ्ना जतिलाई यहोवा चिन्‍नुहुन्छ।” (२ तिमो. २:१९) स्मरणार्थको दिनमा प्रतीक खाँदैमा ऊ साँच्चै नै स्वर्गीय बोलावट भएको व्यक्‍ति हो भन्‍न त सकिंदैन। कसै-कसैले आफू साँच्चै अभिषिक्‍त जन नभए पनि मनमा त्यस्तो लागेकोले खाएको पनि हुन सक्छ। कोही-कोहीले सुरु-सुरुमा प्रतीक खाने गरेको भए पनि पछि खान छोडेको हुन सक्छ। अरूले भने मानसिक वा भावनात्मक असन्तुलनको कारण स्वर्गमा येशूसँगै शासन गर्ने आशा राखेका हुन सक्छन्‌। त्यसैले अहिले स्मरणार्थमा प्रतीक खानेहरू जति सबै नै अभिषिक्‍त जनहरू हुन्‌ भन्‍न मिल्दैन।

१४. महासङ्‌कष्टको बेला यस पृथ्वीमा बाँकी रहने अभिषिक्‍त जनबारे बाइबलमा के बताइएको छ?

१४ येशूले आफूसँगै स्वर्गमा शासन गर्ने मानिसहरूलाई जम्मा गर्न आउनुहुँदा तिनीहरू यस पृथ्वीमा छरिएर बसेका हुनेछन्‌। त्यो समयलाई सङ्‌केत गर्दै बाइबल येशूबारे यसो भन्छ: “उसले आफ्ना स्वर्गदूतहरूलाई बिगुलको ठूलो आवाजसहित पठाउनेछ र परमेश्‍वरले चुन्‍नुभएका जनहरूलाई तिनीहरूले आकाशको एउटा कुनादेखि अर्को कुनासम्म चारै दिशाबाट जम्मा गर्नेछन्‌।” (मत्ती २४:३१) बाइबलले अन्तको दिनमा पनि केही अभिषिक्‍त जनहरू यसै पृथ्वीमा हुनेछन्‌ भनेर सङ्‌केत गर्छ। (प्रका. १२:१७) तर महासङ्‌कष्टको बेला कति जना अभिषिक्‍त जन यस पृथ्वीमा बाँकी रहनेछन्‌, त्योचाहिं बाइबलमा बताइएको छैन।

१५, १६. यहोवाले छान्‍नुभएको अभिषिक्‍त जनहरूबारे हामीले कुन कुरा बुझ्नुपर्छ?

१५ कसलाई कुन समयमा अभिषिक्‍त जनको रूपमा छान्‍ने, त्यो यहोवा आफैले निर्णय गर्नुहुन्छ। (रोमी ८:२८-३०) यहोवा परमेश्‍वरले येशू पुनर्जीवित भइसकेपछि अभिषिक्‍त जनहरू छान्‍ने काम थाल्नुभएको थियो। अनि प्रथम शताब्दीको ख्रीष्टियन मण्डलीका सबै जनालाई नै उहाँले अभिषिक्‍त जनको रूपमा छानेको जस्तो देखिन्छ। प्रथम शताब्दीदेखि अन्तको दिन सुरु होउन्जेलसम्ममा थुप्रै झूटा ख्रीष्टियन देखा परे। येशूले तिनीहरूलाई “सामा” भन्‍नुभयो। तैपनि यहोवाले अभिषिक्‍त जनहरू छान्‍ने काम रोक्नुभएन। समयको दौडान उहाँले वफादार मानिसहरूलाई अभिषिक्‍त जनको रूपमा छान्‍नुभयो अनि तिनीहरूले आफूलाई येशूले भन्‍नुभएको “गहुँ” जस्तै साबित गरे। (मत्ती १३:२४-३०) अन्तको समयमा पनि यहोवाले १ लाख ४४ हजारमध्येका बाँकी सदस्यहरू छानिराख्नुभएको छ।[२] यदि उहाँ आफैले अन्तको दिनमा समेत छान्‍ने काम गर्दै हुनुहुन्छ भने उहाँलाई औंला ठड्याउने हामी को हौं र? (यशै. ४५:९; दानि. ४:३५; रोमी ९:११, १६ पढ्‌नुहोस्‌)[३] हामी मत्तीको किताबमा उल्लेख गरिएको कामदारजस्तो हुनुहुँदैन। तिनले काममा सबैभन्दा पछि आउनेहरूले पनि अरूले सरह ज्याला पाए भनेर मालिकसित गुनासो गरेका थिए।—मत्ती २०:८-१५ पढ्‌नुहोस्‌।

१६ स्वर्गीय आशा भएकाहरू जति सबै नै “विश्‍वासी र बुद्धिमान्‌ दास” होइनन्‌। (मत्ती २४:४५-४७) प्रथम शताब्दीमा जस्तै अहिले पनि यहोवा र येशूले थोरै मानिसको समूहलाई चलाएर लाखौं मानिसलाई आध्यात्मिक खाना खुवाउँदै हुनुहुन्छ। प्रथम शताब्दीको कुरालाई विचार गर्ने हो भने त्यतिबेला उहाँले थोरै अभिषिक्‍त ख्रीष्टियनलाई मात्र ग्रीक धर्मशास्त्रका केही भाग लेख्न लगाउनुभएको थियो। अहिले पनि थोरै अभिषिक्‍त ख्रीष्टियन मात्र चलाएर उहाँले ‘ठीक-ठीक समयमा’ आध्यात्मिक भोजन दिनुहुन्छ।

१७. यस लेखबाट के सिक्नुभयो?

१७ यो छलफलबाट हामीले के सिक्यौं? यहोवाले इनाम दिन छान्‍नुभएका मानिसहरूको दुइटा समूह छ—एउटा स्वर्गीय आशा भएका लाक्षणिक यहूदीहरू र अर्को पृथ्वीमा बाँच्ने आशा भएका लाक्षणिक दस जना मानिस। तर यी दुवै समूहले वफादार भई सेवा गरेको यहोवा चाहनुहुन्छ। तिनीहरू नम्र भएको अनि एकतामा रहेको उहाँ चाहनुहुन्छ। यी दुवै समूहले काँधमा काँध मिलाएर मण्डलीमा शान्ति कायम गर्ने कोसिस गर्नुपर्छ। संसारको अन्त नजिकिंदै गएकोले ख्रीष्टको एउटै बगालको रूपमा यहोवाको सेवा गर्नु अहिले झनै महत्त्वपूर्ण भएको छ।

^ [१] (अनुच्छेद ३) स्वर्गमा येशूसँगै शासन गर्नेहरूको नाम भविष्यमा प्रकट हुने सम्भावना छ भन्‍ने कुराको छनक हामी भजन ८७:५, ६ मा पाउन सक्छौं।—रोमी ८:१९.

^ [२] (अनुच्छेद १५) अभिषिक्‍त जनहरूलाई अभिषेक गर्ने काममा येशूको पनि हात छ भनेर प्रेषित २:३३ ले सङ्‌केत गर्छ तर निम्तो दिने कामचाहिं यहोवाले नै गर्नुहुन्छ।

^ [३] (अनुच्छेद १५) थप जानकारीको लागि अङ्‌ग्रेजी प्रहरीधरहरा, मे १, २००७, पृष्ठ ३०-३१ मा भएको “पाठकहरूको प्रश्‍न” हेर्नुहोस्‌।

एक जना ख्रीष्टियन भाइ र तिनकी श्रीमतीसित फोटो खिच्न तँछाडमछाड गरिरहेका मानिसहरू

प्रेमले “अभद्र व्यवहार गर्दैन”

ख्रीष्टियनहरू बीच हुनुपर्ने प्रेमबारे व्याख्या गर्दै प्रेषित पावलले यस्तो लेखे: “प्रेम धीरजी र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, फुर्ती लगाउँदैन, घमन्डले फुल्दैन, अभद्र व्यवहार गर्दैन, आफ्नै फाइदा खोज्दैन।” (१ कोरि. १३:४, ५) “अभद्र व्यवहार” भनेर अनुवाद गरिएको शब्दले मूल भाषामा कठोर व्यवहार गर्नु, सोमत नहुनु वा असभ्य व्यवहार गर्नुलाई पनि बुझाउँछ। तर हामी आफ्ना ख्रीष्टियन दाजुभाइ दिदीबहिनीलाई प्रेम गर्छौं भने उनीहरूको ख्याल राख्छौं।

मण्डलीमा नेतृत्व लिइरहेकाहरूलाई राम्रो व्यवहार गरेर हामी तिनीहरूप्रति प्रेम देखाउन सक्छौं। कहिलेकाहीं हाम्रो सभा-सम्मेलन वा अधिवेशनमा चिरपरिचित व्यक्‍ति आउन सक्छन्‌। तिनीहरू क्षेत्रीय निरीक्षक, बेथेल सेवक, शाखा समितिका सदस्य, परिचालक निकायको सदस्य वा तिनीहरूका सहायक हुन सक्छन्‌। हो, हामी तिनीहरू र तिनीहरूका पत्नीलाई आदर देखाउन चाहन्छौं। हामी डियोत्रिफस जस्तो हुन चाहँदैनौं। किनभने तिनले आफ्नो मण्डलीको भ्रमणमा आएका भाइहरूलाई स्वागत गरेनन्‌। (३ यूह. ९, १०) अर्कोतर्फ, हामी अचाक्ली आदर देखाउँछौं भने त्यो पनि उचित हुँदैन। हामीले कसरी त्यस्तो व्यवहार देखाइरहेका हुन्छौं?

भ्रमणमा आएका भाइहरू अनि तिनका पत्नीसित भेट्‌न पाउनु र तिनीहरूसित कुराकानी गर्नु हाम्रो लागि ठूलो सुअवसर हो। तर तिनीहरूलाई लोकप्रिय अनि प्रख्यात व्यक्‍तिहरूलाई जस्तो व्यवहार गर्छौं भने हामीले तिनीहरूलाई उचित आदर देखाइरहेका हुँदैनौं। उदाहरणका लागि, तिनीहरूलाई थाहै नदिई तिनीहरूले खाइरहेको, तिनीहरूले केही गरिरहेको फोटो खिच्नु राम्रो होला त? अनि किताब वा बाइबल दिएर त्यसमा तिनीहरूको अटोग्राफ माग्नु नि? तिनीहरूलाई भेट्‌नको लागि ठेलमठेल गर्नु अथवा ‘उहाँसित मेरो एउटा फोटो खिच्नुपऱ्‍यो’ भन्दै जङ्‌गिनु नि? यसो गऱ्‍यौं भने हामीले साँचो प्रेम देखाइरहेका हुँदैनौं। अनि त्यो भ्रमणबाट फाइदा उठाउन पनि सक्दैनौं; बरु विश्‍वासी दासले गरेको मेहनतलाई ‘बालुवामा पानी हाले’ सरह तुल्याइरहेका हुन्छौं। अनि सोच्नुहोस्‌ त, तपाईंले त्यस्तो व्यवहार देखाउँदा पहिलोचोटि अधिवेशनमा आएकाहरूले के सोच्लान्‌?

त्यसोभए आदर देखाउने सन्दर्भमा हामी कसरी सन्तुलित हुन सक्छौं? ध्यान दिनुपर्ने पहिलो कुरा हो, हामीले आफ्नो प्रशंसा र महिमा यहोवालाई मात्र दिनुपर्छ। (प्रका. ४:११) दोस्रो कुरा भनेको, आदर देखाउनु र चापलुसी गर्नुबीच आकाश-जमिनको फरक छ। यी भाइहरू अनि तिनीहरूका पत्नीहरू अरूले आफूलाई प्रख्यात व्यक्‍तिलाई जस्तो होइन तर आफ्नै दाजुभाइ दिदीबहिनीलाई जस्तो व्यवहार गरेको चाहन्छन्‌। (मत्ती २३:८) तेस्रो कुरा, येशूले दिनुभएको यो सल्लाह लागू गर्नुहोस्‌: “मानिसहरूले तिमीहरूलाई जे जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर्नू।” (मत्ती ७:१२) यी कुरालाई मनमा राख्यौं भने हामीले साँचो प्रेम देखाइरहेका हुन्छौं, “अभद्र व्यवहार” होइन।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने