प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w20 जनवरी pp. २०-२५
  • “पवित्र शक्‍ति आफैले . . . साक्षी दिन्छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “पवित्र शक्‍ति आफैले . . . साक्षी दिन्छ”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कुनै व्यक्‍ति कसरी अभिषेक हुन्छ?
  • कुनै ख्रिष्टियनलाई आफू अभिषेक भएको कुरा कसरी थाह हुन्छ?
  • तिनीहरू ‘फेरि जन्मन्छन्‌’
  • के यहोवाले तपाईँलाई अभिषेक गर्नुभएको छ?
  • “पवित्र शक्‍ति आफैले हाम्रो मनलाई बोध गराउँछ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • हामी तपाईँहरूसितै जानेछौँ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • “हामी तपाईंसितै जानेछौं”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • परमेश्‍वरको राज्य प्राप्त गर्न योग्य गनिएका
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
w20 जनवरी pp. २०-२५

अध्ययन लेख ४

“पवित्र शक्‍ति आफैले . . . साक्षी दिन्छ”

“पवित्र शक्‍ति आफैले हाम्रो मनलाई साक्षी दिन्छ।”—रोमी ८:१६.

गीत २५ विशेष सम्पत्ति

परिचयa

लगभग १२० जना चेलाको टाउकोमाथि “जिब्रोजस्तो देखिने आगोका ज्वालाहरू” बस्यो र तिनीहरू सबै “पवित्र शक्‍तिले भरिपूर्ण भए।”

यहोवाले पेन्तिकोसको दिन लगभग १२० जना ख्रिष्टियनको समूहमाथि चमत्कारपूर्ण ढङ्‌गमा पवित्र शक्‍ति खन्याउनुभयो (अनुच्छेद १-२ हेर्नुहोस्‌)

१-२. इस्वी संवत्‌ ३३ पेन्तिकोसको दिन कस्तो चमत्कारपूर्ण घटना घट्यो?

इस्वी संवत्‌ ३३ पेन्तिकोसको आइतबार बिहानको कुरा हो, यरुसलेमको एउटा घरको माथिल्लो तल्लामा लगभग १२० जना चेला भेला भएका थिए। (प्रेषि. १:१३-१५; २:१) येसुले केही दिनअघि मात्र यरुसलेम छोडेर कतै नजानू भनी तिनीहरूलाई आज्ञा दिनुभएको थियो किनभने तिनीहरूले एउटा विशेष वरदान पाउन लागेका थिए। (प्रेषि. १:४, ५) त्यसपछि के भयो?

२ तिनीहरू बसेको घरमा “अकस्मात्‌ आकाशबाट ठूलो बतास चलेकोजस्तो आवाज आयो।” त्यो आवाज घरभरि गुन्जियो। त्यसपछि ती चेलाहरूको टाउकोमाथि “जिब्रोजस्तो देखिने आगोका ज्वालाहरू” बस्यो र तिनीहरू सबै “पवित्र शक्‍तिले भरिपूर्ण भए।” (प्रेषि. २:२-४) यसरी यहोवाले चमत्कारपूर्ण ढङ्‌गमा आफ्नो पवित्र शक्‍ति त्यस समूहमाथि खन्याउनुभयो। (प्रेषि. १:८) तिनीहरू नै पवित्र शक्‍तिद्वारा अभिषेक भएकाb र येसुसँगै स्वर्गमा शासन गर्ने आशा पाएका पहिलो मानिसहरू थिए।

कुनै व्यक्‍ति कसरी अभिषेक हुन्छ?

३. पेन्तिकोसको दिनमा चेलाहरू आफू पवित्र शक्‍तिद्वारा अभिषेक भएको हो भनी किन पक्का थिए?

३ यदि तपाईँ त्यस दिन चेलाहरूसित माथिल्लो कोठामा भेला हुनुभएको भए तपाईँले त्यो घटना कहिल्यै बिर्सनुहुने थिएन। तपाईँको टाउकोमा आगोको जिब्रोजस्तो देखिने कुरा बस्यो अनि तपाईँ विभिन्‍न भाषा बोल्न थाल्नुभयो। (प्रेषि. २:५-१२) यसले गर्दा तपाईँ पवित्र शक्‍तिद्वारा अभिषेक हुनुभएको हो भनेर पक्का हुनुहुने थियो। तर के सबै जना पवित्र शक्‍तिद्वारा एउटै तरिकामा अभिषेक हुन्छन्‌? अहँ, हुँदैनन्‌। हामी किन त्यसो भन्‍न सक्छौँ?

४. के प्रथम शताब्दीका सबै अभिषिक्‍त ख्रिष्टियन एउटै समयमा अभिषेक भएका थिए? व्याख्या गर्नुहोस्‌।

४ सबैभन्दा पहिला, कुनै व्यक्‍ति अभिषेक हुने समयबारे कुरा गरौँ। इस्वी संवत्‌ ३३ पेन्तिकोसमा लगभग १२० जना ख्रिष्टियन मात्र पवित्र शक्‍तिद्वारा अभिषेक भएका थिएनन्‌। त्यही दिन लगभग ३ हजार मानिसले पनि पवित्र शक्‍ति पाए। तिनीहरू बप्तिस्मा गर्दा अभिषेक भए। (प्रेषि. २:३७, ३८, ४१) तर त्यसपछिका वर्षहरूमा सबै अभिषिक्‍त ख्रिष्टियन बप्तिस्माको बेला अभिषेक भएनन्‌। सामरियालीहरू बप्तिस्मा गरेको केही समयपछि मात्र अभिषेक भए। (प्रेषि. ८:१४-१७) तर अचम्मको कुरा, कर्निलियस र तिनको परिवारलाई चाहिँ बप्तिस्मा गर्नुअघि नै अभिषेक गरियो।—प्रेषि. १०:४४-४८.

५. दोस्रो कोरिन्थी १:२१, २२ अनुसार कुनै व्यक्‍ति पवित्र शक्‍तिद्वारा अभिषेक हुँदा के हुन्छ?

५ कुनै व्यक्‍ति पवित्र शक्‍तिद्वारा अभिषेक हुँदा के हुन्छ, विचार गरौँ। केही अभिषिक्‍त ख्रिष्टियनहरूलाई यहोवाले आफूलाई रोज्नुभएको कुरा स्विकार्न सुरु-सुरुमा गाह्रो लाग्न सक्छ। तिनीहरू ‘परमेश्‍वरले मलाई किन रोज्नुभयो’ भनेर सोच्न सक्छन्‌। अरूले भने त्यस्तो महसुस नगर्लान्‌। जेहोस्‌, प्रेषित पावलले अभिषेक भएको हरेक ख्रिष्टियनलाई के हुन्छ भनेर बताएका छन्‌। तिनले भने: “तिमीहरूले विश्‍वास गरेपछि उहाँद्वारै तिमीहरूमाथि पवित्र शक्‍तिको छापc लगाइयो, जुन तिमीहरूलाई दिने प्रतिज्ञा गरिएको थियो। . . . हामीले पाउने उत्तराधिकारको बैनाको रूपमा परमेश्‍वरले यो पवित्र शक्‍ति हामीलाई दिनुभयो।” (एफि. १:१३, १४) त्यसैले यहोवाले नै ती ख्रिष्टियनहरूलाई रोज्नुभएको हो भनेर आफ्नो पवित्र शक्‍तिद्वारा तिनीहरूलाई थाह दिनुहुन्छ। यसरी यहोवाले तिनीहरू भविष्यमा पृथ्वीमा नभई सधैँभरि स्वर्गमा बाँच्नेछन्‌ भनेर विश्‍वस्त बनाउन “बैना”-स्वरूप पवित्र शक्‍ति दिनुहुन्छ।—२ कोरिन्थी १:२१, २२ पढ्‌नुहोस्‌।

६. कुनै अभिषिक्‍त ख्रिष्टियनले स्वर्गीय इनाम पाउन के गर्नै पर्छ?

६ के कुनै ख्रिष्टियन अभिषेक हुँदैमा तिनले स्वर्गीय इनाम पाउनेछन्‌ भन्‍ने ग्यारेन्टी छ? छैन। तिनी आफू स्वर्ग जान रोजिएको हुँ भनेर विश्‍वस्त त हुन्छन्‌। तर तिनले यो सल्लाह मनमा राख्नुपर्छ: “यसकारण हे भाइहरू हो, परमेश्‍वरले बोलाउनुभएको अनि छान्‍नुभएको व्यक्‍तिको रूपमा लायक भइरहन अझ धेरै परिश्रम गर किनकि यी कुराहरू गरिरह्‍यौ भने तिमीहरू कुनै हालतमा असफल हुनेछैनौ।” (२ पत्रु. १:१०) त्यसैले कुनै ख्रिष्टियनले स्वर्गीय बोलावट पाए तापनि तिनले वफादार रहेको खण्डमा मात्र त्यो इनाम पाउनेछन्‌।—फिलि. ३:१२-१४; हिब्रू ३:१; प्रका. २:१०.

कुनै ख्रिष्टियनलाई आफू अभिषेक भएको कुरा कसरी थाह हुन्छ?

७. अभिषिक्‍त ख्रिष्टियनहरूलाई आफूले स्वर्गीय बोलावट पाएको कुरा कसरी थाह हुन्छ?

७ कुनै ख्रिष्टियनलाई आफूले स्वर्गीय बोलावट पाएको हो कि होइन, कसरी थाह हुन्छ? यसको जवाफ पावलले ‘पवित्र जन बन्‍न बोलाइएका’ रोमका ख्रिष्टियनहरूलाई लेखेको कुरामा पाउँछौँ। तिनले यसो भने: “परमेश्‍वरको पवित्र शक्‍तिले हामीलाई दास बनाउँदैन न त फेरि भयभीत बनाउँछ बरु त्यही पवित्र शक्‍तिले हामीलाई परमेश्‍वरको धर्मपुत्र बनाउँछ र त्यही शक्‍तिद्वारा हामी ‘अब्बा, हे बुबा!’ भनेर पुकार्छौँ। हामी परमेश्‍वरका सन्तान हौँ भनेर पवित्र शक्‍ति आफैले हाम्रो मनलाई साक्षी दिन्छ।” (रोमी १:७; ८:१५, १६) त्यसैले यहोवाले आफ्नो पवित्र शक्‍तिद्वारा अभिषिक्‍त ख्रिष्टियनहरूलाई तिनीहरूले स्वर्गीय बोलावट पाएको कुरा प्रस्ट पार्नुहुन्छ।—१ थिस्स. २:१२.

८. पहिलो युहन्‍ना २:२०, २७ ले अभिषिक्‍त ख्रिष्टियनहरूलाई तिनीहरू अभिषेक भएको कुरामा पक्का हुन अरूबाट प्रमाण खोजिरहनु पर्दैन भनेर कसरी देखाउँछ?

८ यहोवाले नै तिनीहरूलाई विश्‍वस्त बनाउनुभएकोले तिनीहरूको मनमस्तिष्कमा कुनै शङ्‌का हुँदैन। (१ युहन्‍ना २:२०, २७ पढ्‌नुहोस्‌) हुनत हो, अभिषिक्‍त ख्रिष्टियनहरूले पनि बाँकी ख्रिष्टियनहरूले जस्तै मण्डलीमार्फत यहोवाबाट सिक्नु आवश्‍यक छ। तर तिनीहरू अभिषेक भएको कुरामा आफै पक्का हुन्छन्‌, अरूबाट प्रमाण खोजिरहनु पर्दैन। यहोवाले ब्रह्‍माण्डकै शक्‍तिशाली शक्‍ति अर्थात्‌ पवित्र शक्‍ति प्रयोग गर्नुभएर तिनीहरूलाई अभिषेक भएको पक्का गराउनुहुन्छ।

तिनीहरू ‘फेरि जन्मन्छन्‌’

९. एफिसी १:१८ अनुसार कोही अभिषेक हुँदा तिनमा कस्तो परिवर्तन आउँछ?

९ परमेश्‍वरका धेरैजसो सेवकले कोही अभिषेक हुँदा के हुन्छ भनेर बुझ्न सक्दैनन्‌ किनभने तिनीहरू अभिषेक भएका छैनन्‌। परमेश्‍वरले मानिसहरूलाई स्वर्गमा नभई पृथ्वीमा सधैँभरि बाँच्न सृष्टि गर्नुभएको थियो। (उत्प. १:२८; भज. ३७:२९) तर यहोवाले केहीलाई स्वर्गीय जीवनको लागि रोज्नुभएको छ। त्यसैले यहोवाले कसैलाई अभिषेक गर्नुहुँदा तिनीहरूको आशा र सोच्ने तरिका पूरै परिवर्तन गरिदिनुहुन्छ र यसरी तिनीहरूले स्वर्गीय जीवन पाउने आशा राख्न सक्छन्‌।—एफिसी १:१८ पढ्‌नुहोस्‌।

१०. ‘फेरि जन्मनु’ भनेको के हो? (फुटनोट पनि हेर्नुहोस्‌)

१० ख्रिष्टियनहरू पवित्र शक्‍तिद्वारा अभिषेक हुँदा तिनीहरू ‘फेरि जन्मन्छन्‌’ अर्थात्‌ ‘माथिबाट जन्मन्छन्‌।’d येसुले पनि ‘फेरि जन्मँदा’ अर्थात्‌ ‘पवित्र शक्‍तिद्वारा’ जन्मँदा कस्तो महसुस हुन्छ भनेर अभिषेक नभएकाहरूलाई बुझाउन सकिँदैन भनी बताउनुभयो।—युह. ३:३-८; फुटनोट।

११. कोही अभिषेक हुँदा तिनको सोचाइमा कस्तो परिवर्तन आउँछ?

११ ख्रिष्टियनहरू अभिषेक हुँदा तिनीहरूको सोचाइमा कस्तो परिवर्तन आउँछ? यहोवाले तिनीहरूलाई अभिषेक गर्नुअघि तिनीहरूले पृथ्वीमा सधैँभरि बाँच्ने आशा राखेका थिए र त्यस आशालाई अनमोल ठान्थे। तिनीहरू यहोवाले सम्पूर्ण दुष्टतालाई हटाउनुहुने र पृथ्वीलाई प्रमोदवन बनाउनुहुने समयको उत्सुक भई पर्खिरहेका थिए। साथै तिनीहरूले मृत्युको कारण गुमाउनुपरेका परिवारको सदस्य वा साथीलाई फेरि स्वागत गर्ने आशा राखेका थिए। तर अभिषेक भएपछि तिनीहरूले भिन्‍नै तरिकामा सोच्न थाले। किन? तिनीहरू पार्थिव आशामा सन्तुष्ट हुन नसकेकोले हो कि? त्यसो त होइन। तिनीहरूले तनावले गर्दा अथवा दुःखकष्ट झेल्नुपरेकोले आफ्नो सोचाइ परिवर्तन गरेका होइनन्‌। भविष्यमा पृथ्वीमा सधैँभरि जिउनु त्यति रमाइलो नहोला जस्तो लागेकोले तिनीहरूको सोचाइमा एक्कासि परिवर्तन आएको पनि होइन। बरु यहोवाले पवित्र शक्‍तिद्वारा तिनीहरूको सोचाइ र आशा बदलिदिनुभएको हो।

१२. पहिलो पत्रुस १:३, ४ अनुसार स्वर्ग जाने आशा पाएकोमा अभिषिक्‍त ख्रिष्टियनहरू कस्तो महसुस गर्छन्‌?

१२ अभिषेक भएको कुनै ख्रिष्टियनले आफूलाई यो अनमोल सुअवसर पाउन अयोग्य ठान्लान्‌। तर तिनी यहोवाले रोज्नुभएको कुरामा रत्तीभर शङ्‌का गर्दैनन्‌। तिनी स्वर्ग जाने आशा पाएकोमा औधी रमाउँछन्‌ अनि कृतज्ञ हुन्छन्‌।—१ पत्रुस १:३, ४ पढ्‌नुहोस्‌।

१३. अभिषिक्‍त जनहरूलाई अहिलेको जीवन कस्तो लाग्छ?

१३ के यसको मतलब अभिषिक्‍त ख्रिष्टियनहरू मर्न चाहन्छन्‌ भन्‍ने हो? प्रेषित पावलले अभिषिक्‍त जनहरूको मानव शरीरलाई पालसित तुलना गरे अनि यसो भने: “वास्तवमा हामी जो यस पालमा छौँ, बोझले दबिएर सुस्केरा हाल्छौँ किनकि हामी यो फुकाल्न होइन तर अर्को धारण गर्न चाहन्छौँ ताकि जे मरणशील छ, त्यसलाई जीवनले निलोस्‌।” (२ कोरि. ५:४) यी ख्रिष्टियनहरू अहिलेको जीवनदेखि विरक्‍त भएर आफ्नो जीवन अन्त्य गर्नेबारे सोच्दैनन्‌। बरु तिनीहरू यस जीवनको आनन्द उठाउँछन्‌ अनि आफ्नो परिवार र साथीभाइसित मिलिजुली हरेक दिन यहोवाको सेवा गर्न चाहन्छन्‌। तिनीहरूले जेसुकै गरे तापनि भविष्यमा पाउने अनमोल आशा मनमा राख्छन्‌।—१ कोरि. १५:५३; २ पत्रु. १:४; १ युह. ३:२, ३; प्रका. २०:६.

के यहोवाले तपाईँलाई अभिषेक गर्नुभएको छ?

१४. कस्तो अनुभव गर्दैमा पवित्र शक्‍तिद्वारा अभिषेक भएको भन्‍न मिल्दैन?

१४ तपाईँलाई लाग्ला, ‘कतै म पवित्र शक्‍तिद्वारा अभिषेक भएको त छैनँ?’ त्यसोभए यी महत्त्वपूर्ण प्रश्‍नहरूबारे विचार गर्नुहोस्‌: के तपाईँ यहोवाको इच्छा पूरा गर्न उत्साहित हुनुहुन्छ? के तपाईँ प्रचारकार्यमा एकदम जोसिलो हुनुहुन्छ? के तपाईँ परमेश्‍वरको वचनको जेहनदार विद्यार्थी अनि “परमेश्‍वरका गहिरा कुराहरू”-बारे अध्ययन गर्न मन पराउने व्यक्‍ति हुनुहुन्छ? (१ कोरि. २:१०) के यहोवाले तपाईँलाई प्रचारकार्यमा राम्रो नतिजा हासिल गर्न मदत गर्नुभएको छ? के तपाईँ अरूलाई आध्यात्मिक मदत गर्ने जिम्मेवारी आफ्नो काँधमा छ भन्‍ने सोच्नुहुन्छ? यहोवाले तपाईँलाई जीवनको विभिन्‍न क्षेत्रमा मदत गर्नुभएको प्रमाण पाउनुभएको छ कि? यदि तपाईँ यी सबै प्रश्‍नको सकारात्मक जवाफ दिनुहुन्छ भने के तपाईँले स्वर्गीय बोलावट पाउनुभएको हो भनेर प्रमाणित हुन्छ? हुँदैन। किन? किनभने परमेश्‍वरका सबै सेवकले यस्तै महसुस गर्छन्‌, चाहे तिनीहरू अभिषिक्‍त जन होऊन्‌ या नहोऊन्‌। साथै यहोवाले पवित्र शक्‍तिमार्फत आफ्ना सबै सेवकलाई एउटै किसिमको बल दिन सक्नुहुन्छ, चाहे तिनीहरूले जुनसुकै आशा पाएका किन नहोऊन्‌। वास्तवमा यदि तपाईँलाई आफू पवित्र शक्‍तिद्वारा अभिषेक भएको हो कि होइन भनेर शङ्‌का लाग्छ भने कुरा स्पष्ट छ, तपाईँले स्वर्गीय बोलावट पाउनुभएको छैन। यहोवाबाट स्वर्गीय बोलावट पाएकाहरूले त्यस्तो शङ्‌का गर्दैनन्‌। तिनीहरू शतप्रतिशत पक्का हुन्छन्‌!

चित्रहरूको सँगालो: धेरै मानिस पृथ्वीमा सधैँभरि बाँच्ने दिनको बाटो हेर्दै छन्‌। १. राजा दाउद २. जेलमा परेको एक भाइ ३. अब्राहाम ४. सारा ५. बप्तिस्मा गराउने युहन्‍ना ६. विवाहित दम्पती ७. विभिन्‍न उमेरका मानिसहरू ८. एक जना भाइ बाइबल खोलेर म़ञ्चबाट बोलिरहेका छन्‌।

यहोवाले अब्राहाम, सारा, दाउद र बप्तिस्मा गराउने युहन्‍नालाई अचम्मलाग्दो काम गर्न पवित्र शक्‍ति दिनुभए तापनि उहाँले त्यो शक्‍ति तिनीहरूलाई स्वर्गीय जीवनको आशा दिन चलाउनुभएन (अनुच्छेद १५-१६ हेर्नुहोस्‌)e

१५. परमेश्‍वरको पवित्र शक्‍ति पाएका सबै मानिस स्वर्ग जान रोजिएका होइनन्‌ भनेर किन भन्‍न सक्छौँ?

१५ बाइबलमा पवित्र शक्‍ति पाएका विश्‍वासी मानिसहरूको थुप्रै उदाहरण पाइन्छ तर तिनीहरूले स्वर्ग जाने आशा पाएनन्‌। पवित्र शक्‍तिले दाउदलाई डोऱ्‍याएको थियो। (१ समु. १६:१३) हुनत पवित्र शक्‍तिले तिनलाई यहोवाको विषयमा गहिरा-गहिरा कुराहरू बुझ्न अनि बाइबलको केही अंश लेख्न पनि डोऱ्‍याएको थियो। (मर्कु. १२:३६) तैपनि “दाउद स्वर्ग उक्लेनन्‌” भनेर प्रेषित पत्रुसले बताए। (प्रेषि. २:३४) बप्तिस्मा गराउने युहन्‍ना “पवित्र शक्‍तिले भरिपूर्ण” थिए। (लुका १:१३-१६) येसुले युहन्‍नाभन्दा ठूलो कोही थिएन भनेर बताउनुभयो तर त्यसपछि उहाँले तिनी स्वर्गको राज्यको भाग हुनेछैनन्‌ भनेर पनि बताउनुभयो। (मत्ति ११:१०, ११) यहोवाले यी पुरुषहरूलाई अचम्मलाग्दो काम गर्न पवित्र शक्‍ति दिनुभए तापनि उहाँले त्यो शक्‍ति तिनीहरूलाई स्वर्गीय जीवनको लागि छनौट गर्न चलाउनुभएन। तर के यसको मतलब तिनीहरू स्वर्गमा शासन गर्न चुनिएकाहरूभन्दा कम विश्‍वासी थिए? त्यसो त होइन। बरु यसको अर्थ यहोवाले तिनीहरूलाई प्रमोदवनमा परिणत भएको यसै पृथ्वीमा फेरि जीवित पार्नुहुनेछ भन्‍ने हो।—युह. ५:२८, २९; प्रेषि. २४:१५.

१६. आज परमेश्‍वरका धेरैजसो सेवकहरू कस्तो इनामको प्रतीक्षा गर्दै छन्‌?

१६ आज पृथ्वीमा भएका परमेश्‍वरका धेरैजसो सेवकले स्वर्गीय जीवनको आशा पाएका छैनन्‌। अब्राहाम, सारा, दाउद, बप्तिस्मा गराउने युहन्‍ना अनि बाइबलकालीन अन्य पुरुष र स्त्रीहरूजस्तै आज तिनीहरू परमेश्‍वरको राज्यले शासन गर्ने दिनको प्रतीक्षा गर्दै छन्‌।—हिब्रू ११:१०.

१७. अर्को लेखमा के छलफल गर्नेछौँ?

१७ अहिले पनि परमेश्‍वरका सेवकहरूमाझ केही अभिषिक्‍त जनहरू भएकोले विभिन्‍न प्रश्‍न उठ्‌न सक्छ। (प्रका. १२:१७) जस्तै: अभिषिक्‍त जनहरूले आफूप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ? तपाईँको मण्डलीमा कसैले स्मरणार्थमा रोटी खान र दाखमद्य पिउन थाल्यो भने तपाईँले तिनीसित कस्तो व्यवहार गर्नुपर्छ? अभिषिक्‍त ख्रिष्टियन भएको दाबी गर्नेहरूको सङ्‌ख्या बढ्‌दै गयो भने के तपाईँले चिन्ता गर्नुपर्छ? हामी यी प्रश्‍नको जवाफ अर्को लेखमा छलफल गर्नेछौँ।

a इस्वी संवत्‌ ३३ पेन्तिकोसदेखि यहोवाले केही ख्रिष्टियनहरूलाई एउटा विशेष आशा दिनुभएको छ। त्यो हो, उहाँको छोरासँगै स्वर्गमा शासन गर्ने। कुनै ख्रिष्टियनलाई यहोवाले आफूलाई छान्‍नुभएको हो भनेर कसरी थाह हुन्छ? यो निम्तो पाउने व्यक्‍तिले कस्तो महसुस गर्छन्‌? यो लेख जनवरी २०१६ को प्रहरीधरहरा-को एउटा लेखमा आधारित छ। यस लेखले यी रोचक प्रश्‍नहरूको जवाफ दिनेछ।

b थप व्याख्या: पवित्र शक्‍तिद्वारा अभिषेक भएका: यहोवाले पवित्र शक्‍तिद्वारा कुनै व्यक्‍तिलाई येसुसँगै स्वर्गमा शासन गर्न रोज्नुहुन्छ। परमेश्‍वरले पवित्र शक्‍तिद्वारा त्यस व्यक्‍तिसित प्रतिज्ञा गर्नुहुन्छ अर्थात्‌ उसलाई “बैना” दिनुहुन्छ। (एफि. १:१३, १४) पवित्र शक्‍तिले यी ख्रिष्टियनहरूलाई आफूले स्वर्गमा इनाम पाउने आशाबारे “साक्षी दिन्छ” अर्थात्‌ स्पष्ट पार्छ।—रोमी ८:१६.

c थप व्याख्या: छाप। यो छाप कि त कुनै वफादार अभिषिक्‍त जनको मृत्युको केही अघि लगाइन्छ कि महासङ्‌कष्ट सुरु हुनु केही समयअघि लगाइनेछ।—एफि. ४:३०; प्रका. ७:२-४; अप्रिल, २०१६, प्रहरीधरहरा-को “पाठकहरूको प्रश्‍न” हेर्नुहोस्‌।

d ‘फेरि जन्मनु’-को अर्थबारे थप जानकारी पाउन प्रहरीधरहरा मे १, २००९, पृष्ठ ३-१२ हेर्नुहोस्‌।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • कुनै ख्रिष्टियनलाई आफू अभिषेक भएको कुरा कसरी थाह हुन्छ?

  • कोही अभिषेक हुँदा तिनमा कस्तो परिवर्तन आउँछ?

  • अभिषिक्‍त जनहरूलाई अहिलेको जीवन कस्तो लाग्छ?

गीत २७ यहोवाका छोराहरू प्रकट हुनेछन्‌

e चित्रको व्याख्या: हामी विश्‍वासको खातिर जेलमा परेका होऔँ वा खुल्लमखुल्ला प्रचार गर्न र सिकाउन सक्ने अवस्थामा होऔँ, परमेश्‍वरको राज्यले शासन गर्दा पृथ्वीमा बाँच्ने आशा राख्न सक्छौँ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने