प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 मार्च pp. १३-१७
  • एकताका लागि हातमा हात मिलाएर अघि बढौं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एकताका लागि हातमा हात मिलाएर अघि बढौं
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • प्रचारकार्यमा एकता
  • मण्डलीमा एकता
  • परिवारमा एकता
  • ‘आऊ, हामी परमप्रभुको पर्वतमा उक्लेर जाऔं’
  • ख्रीष्टियान एकताले परमेश्‍वरको महिमा गर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१०
  • यस संसारको अन्त नजिकिंदै जाँदा एकतामा रहौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • एकतामा बाँधिनुहोस्‌
    हाम्रो राज्य सेवकाई—२००२
  • यहोवाको परिवारले बहुमूल्य एकताको आनन्द उठाउँछ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९६
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 मार्च pp. १३-१७
यहोवाका साक्षीहरूको मण्डलीमा सबै जना एकजुट भएर काम गर्दै

एकताका लागि हातमा हात मिलाएर अघि बढौं

‘उहाँद्वारा नै शरीरका सबै अङ्‌गहरू बढ्‌दै जान्छ अनि त्यसले आपसी तालमेल मिलाएर आ-आफ्नो महत्त्वपूर्ण भूमिका पूरा गर्छ।’—एफि. ४:१६.

गीत: ५३, १०७

हामीले के सिक्यौं?

  • सुसमाचार सुनाउँदा हामी कसरी एकताबद्ध हुन सक्छौं?

  • मण्डलीलाई एकताबद्ध बनाउन हामी के-के गर्न सक्छौं?

  • पति-पत्नी कसरी एकतामा रहन सक्छन्‌?

१. सृष्टिको सुरुदेखि नै परमेश्‍वरको काममा कुन कुरा झल्किन्छ?

बुद्धिको रूपमा चित्रण गरिएको परमेश्‍वरको पहिलो सृष्टिले यसो भन्‍नुभयो: “म एक कारीगरझैं [यहोवाको] छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्थें।” (हितो. ८:३०, NRV) हो, सृष्टिको सुरुदेखि नै यहोवा र उहाँको पहिलो सृष्टि येशू एकताबद्ध हुनुहुन्थ्यो। उहाँहरूले सृष्टिको हरेक काम मिलेर गर्नुभयो। उहाँहरूले हातेमालो गर्दै काम गरेकोले नै अहिले हामीले थरीथरीका जीवजन्तु देख्न पाएका छौं। यहोवाका सेवकहरू पनि कुनै काम गर्नुपर्दा मिलेर गर्छन्‌। नूहको समयमा तिनी अनि तिनको परिवारले मिलेर काम गरे; उजाडस्थानमा यात्रा गर्ने क्रममा पनि पवित्र बासस्थान जोडजाड गर्न, त्यसका विभिन्‍न भागहरू खोलखाल पार्न अनि त्यसलाई अर्कै ठाउँमा लैजान इस्राएलीहरूले एकजुट भई काम गरे; साथै तिनीहरूले यहोवाको प्रशंसा गर्न मन्दिरमा स्वरमा स्वर मिलाएर गाए अनि तालमा ताल मिलाएर मधुर धुन बजाए। तिनीहरूले आपसमा मिलेर काम गरेकोले नै तिनीहरू हरेक काममा सफल हुन सके।—उत्प. ६:१४-१६, २२; गन्ती ४:४-३२; १ इति. २५:१-८.

२. (क) प्रथम शताब्दीका ख्रीष्टियनहरूको राम्रो पक्ष के थियो? (ख) हामी कस्ता प्रश्‍नहरू विचार गर्नेछौं?

२ प्रथम शताब्दीका ख्रीष्टियनहरू पनि आपसमा मिलेर काम गर्थे। तिनीहरू मण्डलीको शिर येशूको निर्देशनअनुसार चल्थे। प्रेषित पावलले हरेक अभिषिक्‍त जनले पाएको “वरदान,” “सेवाको काम” र अरू “काम” “विभिन्‍न किसिमका” भए तापनि तिनीहरू सबै ‘एउटै शरीर’ हुन्‌ भनी बताए। (१ कोरिन्थी १२:४-६, १२ पढ्‌नुहोस्‌) अहिले हाम्रो सन्दर्भमा चाहिं के भन्‍न सकिन्छ? प्रचारको काममा एकजुट हुन हामी के गर्न सक्छौं? अनि मण्डलीमा र परिवारमा मिलेर बस्न के गर्न सक्छौं?

प्रचारकार्यमा एकता

३. प्रेषित यूहन्‍नाले कस्तो दर्शन देखे?

३ प्रथम शताब्दीको अन्ततिर प्रेषित यूहन्‍नाले एउटा दर्शन देखे। तिनले दर्शनमा सात जना स्वर्गदूतले बिगुल फुकेको देखे। पाँचौं स्वर्गदूतले बिगुल फुक्दा आकाशबाट जमिनमा “एउटा तारा” खसेको तिनले देखे। त्यो तारासित अगाध खाडलको साँचो थियो। त्यस साँचोबाट तिनले अगाध खाडल खोले। त्यहाँबाट बाक्लो धुवाँ निस्क्यो र त्यस सँगसँगै सलहहरू पनि निस्के। ती सलहहरूले पृथ्वीको वनस्पतिलाई नभई “निधारमा परमेश्‍वरको छाप नभएका मानिसहरूलाई” मात्र हानि पुऱ्‍याए। (प्रका. ९:१-४) सलहले कुन हदसम्म नोक्सान पुऱ्‍याउँछ भन्‍ने कुरा यूहन्‍नालाई राम्ररी थाह थियो। मोशाको समयमा सलहको विपत्तिले पुरातन मिश्रमा तहल्का मच्चाएको थियो नि, होइन र? (प्रस्थ. १०:१२-१५) यूहन्‍नाले दर्शनमा देखेको सलहले यहोवाको कडा न्यायदण्डको घोषणा गर्ने अभिषिक्‍त जनहरूलाई बुझाउँछ। अहिले तिनीहरूलाई पृथ्वीमा बाँच्ने आशा भएका लाखौं मानिसहरूले साथ दिइरहेका छन्‌। हामी सबैले एकताबद्ध भई प्रचार गरेकोले अहिले थुप्रै मानिस सैतानको मुठ्ठीबाट उम्कन र त्यसले चलाएको झूटो धर्मबाट स्वतन्त्र हुन सकेका छन्‌।

४. परमेश्‍वरको सेवकहरूले कुन काम गर्नुपर्छ र तिनीहरू यो काममा कसरी सफल हुन सक्छन्‌?

४ यस युगको अन्त हुनुअघि राज्यको “सुसमाचार” सारा पृथ्वीभरि प्रचार गर्नुपर्ने ठूलो जिम्मेवारी यहोवाका सेवकहरूले पाएका छन्‌। (मत्ती २४:१४; २८:१९, २०) यसमा “जो तिर्खाउँछ” उसलाई “जीवन दिने पानी सित्तैंमा” लेओ भनेर निम्तो दिनु समावेश छ। (प्रका. २२:१७) ख्रीष्टियन मण्डलीको सदस्यको रूपमा हामी यो काममा कसरी सफल हुन सक्छौं? ‘आपसी तालमेल मिलाएर आ-आफ्नो महत्त्वपूर्ण भूमिका पूरा गऱ्‍यौं’ भने मात्र हामी सफल हुन सक्छौं।—एफि. ४:१६.

५, ६. हामी कसरी एकताबद्ध भएर सुसमाचार प्रचार गर्छौं?

५ राज्यको सुसमाचार सकेसम्म धेरै मानिसलाई सुनाउने हो भने हामी प्रचारकार्यमा व्यवस्थित हुनुपर्छ। यसरी व्यवस्थित हुन सकोस्‌ भनेर हामीलाई विभिन्‍न निर्देशन दिइन्छ। हो, सारा संसारभर मण्डलीमार्फत दिइने डोऱ्‍याइले एकताबद्ध भई प्रचार गर्न मदत गर्छ। जस्तै: क्षेत्र सेवाको सभामा दिइने निर्देशनले हामीलाई एकजुट बनाउँछ। बाइबलमा आधारित लाखौं पत्रपत्रिका चलाएर हामी संसारभर एउटै राज्य सन्देश फैलाउँछौं। अनि कहिलेकाहीं हामीलाई विशेष अभियानमा भाग लिन निर्देशन दिइन सक्छ। के तपाईं त्यसैअनुसार गर्न प्रयास गर्नुहुन्छ? त्यसो गर्नुभयो भने तपाईंले लाखौं दाजुभाइ दिदीबहिनीसँगसँगै एकताबद्ध भएर संसारभरि एउटै सन्देश सुनाउन सक्नुहुनेछ अनि प्रकाश १४:६ मा बताइएजस्तै सुसमाचार सुनाउने ‘आकाशमा उडिरहेको स्वर्गदूत’-सित पनि मिलेर काम गर्न सक्नुहुनेछ।

६ प्रचारकार्यमा एकजुट भएर काम गर्दा कस्तो परिणाम हासिल भयो, त्यसबारे हामी वार्षिक पुस्तक-मा पढ्‌न पाउँछौं। यो हाम्रो लागि कत्ति खुसीको कुरा हो नि, होइन र? त्यतिमात्र होइन, राष्ट्रिय र अन्तरराष्ट्रिय रूपमा आयोजना हुने अधिवेशनहरूको निम्तो पर्ची बाँड्‌दा हाम्रो एकताको गाँठो अझै मजबुत हुन्छ। किनभने त्यतिबेला हामी सबै ठाउँमा एकै खालको प्रोत्साहनदायी भाषणहरू सुन्‍न सक्छौं; नाटक र प्रदर्शनहरूबाट प्रोत्साहन पाउन सक्छौं। प्रायजसो यी भागहरूमा हामीलाई तनमनले यहोवाको सेवा गर्न मायालु आग्रह गरिएको हुन्छ। येशूको मृत्युको सम्झना गर्ने दिनले पनि हामीलाई एकताबद्ध बनाउँछ। यहोवाले देखाउनुभएको असीम अनुग्रहप्रति कृतज्ञ हुँदै अनि येशूको आज्ञा पालन गर्दै हामी हरेक वर्ष नीसान १४ को दिन सूर्यास्तपछि एक ठाउँमा भेला हुन्छौं। (१ कोरि. ११:२३-२६) त्यस दिन उपस्थित हुन बप्तिस्मा गरिसकेको हुनै पर्छ भन्‍ने छैन। त्यस महत्त्वपूर्ण समारोहमा अरू पनि उपस्थित हुन सकोस्‌ भनेर हामी केही हप्ता अघिदेखि नै मानिसहरूलाई निम्तो दिने गर्छौं अनि सकेसम्म मण्डलीको धेरै इलाका ढाक्ने कोसिस गर्छौं।

७. समूहको रूपमा मिलेर काम गरेकोले हामीले के गर्न सकेका छौं?

७ एउटा मात्र सलहले केही पनि गर्न सक्दैन। त्यसैगरि एक जनाले मात्र गरेको प्रयास पनि खासै प्रभावकारी नदेखिन सक्छ। तर समूहको रूपमा मिलेर काम गरेको कारण अहिले हामीले प्रशंसा र आदरको योग्य परमेश्‍वर यहोवातर्फ संसारभरका लाखौं मानिसहरूको ध्यान खिच्न सकेका छौं। तर यसले गर्दा मात्र परमेश्‍वरका सेवकहरूमाझ एकता छाएको त होइन।

मण्डलीमा एकता

८, ९. (क) ख्रीष्टियनहरू एकताबद्ध हुनुपर्छ भनेर सिकाउन पावलले कुन उदाहरण चलाए? (ख) हामी मण्डलीमा कसरी मिलेर काम गर्न सक्छौं?

८ एफिससका ख्रीष्टियनहरूलाई लेखेको पत्रमा प्रेषित पावलले मण्डलीलाई व्यवस्थित बनाउने विषयबारे उल्लेख गरे। साथै सम्पूर्ण ख्रीष्टियनहरू ‘सबै कुरामा बढ्‌दै जानुपर्छ’ भनेर पनि उल्लेख गरे। (एफिसी ४:१५, १६ पढ्‌नुहोस्‌) त्यसोभए हामी पावलले भनेका ती दुई कुरा हासिल गर्न के गर्न सक्छौं? यो कुरा बुझाउन पावलले मानव शरीरको उदाहरण चलाए। यो उदाहरणद्वारा तिनले सबै मण्डलीका शिर येशूको अधीनमा रहेर एकजुट हुनुपर्छ भन्‍ने विषयमा जोड दिए। तिनले ‘हरेक जोर्नीले आपसी तालमेल मिलाएर आ-आफ्नो महत्त्वपूर्ण भूमिका पूरा गर्छ’ भने। त्यसोभए हामी प्रत्येकले मतलब जवान होस्‌ वा वृद्ध, बलियो होस्‌ वा कमजोर, जस्तोसुकै भए तापनि मण्डलीको एकता र आध्यात्मिकतालाई बलियो बनाउन कस्तो योगदान पुऱ्‍याउन सक्छौं?

९ एउटा तरिका भनेको मण्डलीमा नेतृत्व लिन येशूले खटाउनुभएका एल्डरहरूलाई आदर गर्नु अनि उनीहरूले दिएको निर्देशन पालन गर्नु हो। (हिब्रू १३:७, १७) तर यसो गर्नु सधैं सजिलो हुँदैन। त्यतिबेला हामी यहोवासित मदत माग्न सक्छौं। उहाँको सक्रिय शक्‍तिले हामीलाई मण्डलीका सम्पूर्ण प्रबन्धहरूलाई सारा मनले समर्थन गर्न मदत गर्न सक्छ। त्यसैले कुनै निर्देशन पालन गर्न गाह्रो लाग्यो भने यो कुरा मनमा राख्नुहोस्‌: नम्र भयौं अनि एल्डरहरूसित हातेमालो गर्दै काम गऱ्‍यौं भने हामीले मण्डलीको एकतामा ठूलो योगदान पुऱ्‍याउन सक्छौं। त्यतिमात्र होइन, एकअर्काप्रतिको हाम्रो प्रेम पनि अझ ‘बढ्‌नेछ।’

१०. मण्डलीको एकता कायम राख्न सहायक सेवकले कसरी योगदान दिन्छन्‌? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

१० मण्डलीको एकता कायम राख्न सहायक सेवकले अतुलनीय योगदान दिन्छन्‌। जुनसुकै उमेरका भए पनि यी भाइहरूले निःस्वार्थ भई सेवा गर्छन्‌, जसले गर्दा सबैले लाभ उठाउन सक्छन्‌। जस्तै: प्रचारको लागि चाहिने प्रकाशनहरू पर्याप्त मात्रामा छन्‌ कि छैनन्‌ भनेर पक्का गरेर तिनीहरू एल्डरहरूलाई सहयोग गर्छन्‌। साथै नियमित रूपमा राज्यभवनको सरसफाइ र मर्मत-सम्भार पनि गर्छन्‌ अनि सभामा आउने सबैलाई स्वागत गर्छन्‌। हामीले यी भाइहरूसँग मिलेर काम गर्दा मण्डलीको कामकुरा व्यवस्थित बनाउन योगदान पुऱ्‍याइरहेका हुन्छौं।—प्रेषित ६:३-६ तुलना गर्नुहोस्‌।

११. जवानहरूले मण्डलीको एकतामा योगदान पुऱ्‍याउन के गर्न सक्छन्‌?

११ कुनै-कुनै परिपक्व एल्डरहरूले मण्डलीको कामकुरा सम्हाल्न कडा परिश्रम गरेको वर्षौं भइसकेको हुन सक्छ। तर ढल्कँदो उमेरले गर्दा तिनीहरूले पहिला जत्तिकै सेवा गर्न नसक्लान्‌। त्यसैले केही छाँटकाँट गर्नुपर्ने हुन सक्छ। तिनीहरूलाई मण्डलीका जवान भाइहरूले मदत गर्न सक्छन्‌। हुन त ती जवान भाइहरू अनुभवमा आलोकाँचै होलान्‌ तर राम्रो तालिम दिंदा तिनीहरूले पनि थप जिम्मेवारी सम्हाल्न सक्नेछन्‌। अहिले सहायक सेवकहरूको रूपमा सेवा गरिरहेका भाइहरू भविष्यमा एल्डर बनेको देख्न पाउनु कत्ति खुसीको कुरा हो नि, होइन र? (१ तिमो. ३:१, १०) केही जवान एल्डरहरूले त त्योभन्दा पनि धेरै उन्‍नति गरेका छन्‌। तिनीहरूले क्षेत्रीय निरीक्षकको रूपमा काम गरेर विभिन्‍न मण्डलीका दाजुभाइ दिदीबहिनीको सेवा गरेका छन्‌। ती जवानहरूले राजीखुसीले सेवा गरेको देख्दा के हामी कृतज्ञ छैनौं र?—भजन ११०:३; उपदेशक १२:१ पढ्‌नुहोस्‌।

परिवारमा एकता

१२, १३. परिवारका सदस्यहरूलाई एकताबद्ध हुन कुन कुराले मदत गर्न सक्छ?

१२ अब हामी परिवारका सदस्यहरू कसरी एकताबद्ध हुन सक्छन्‌, त्यस विषयमा छलफल गरौं। प्रत्येक हप्ता गरिने उत्थानदायी पारिवारिक उपासनाले जवान-वृद्ध, सबै उमेरका परिवारका सदस्यलाई एकताबद्ध बनाएको कुरा धेरैले महसुस गरेका छन्‌। पारिवारिक उपासनाको बेला आध्यात्मिक कुरामा ध्यान दिइने भएकोले परिवारका सदस्यहरू एकताबद्ध हुन सक्छन्‌। पारिवारिक उपासनाको समयमा क्षेत्र सेवाको लागि अभ्यास गर्दा पूरै परिवारले प्रचारकार्यमा अझ प्रभावकारी हुने मदत पाउँछन्‌। साथै सबै सदस्यले परमेश्‍वरको वचनबारे कुरा गरेको सुन्दा अनि सबै सदस्यले यहोवालाई माया गरेको अनि उहाँलाई खुसी पार्न चाहेको देख्दा तिनीहरू आपसमा नजिक हुन सक्छन्‌।

वृद्ध भइसकेका दम्पती आफूभन्दा कम उमेरका दम्पती र तिनीहरूका छोरासित बसेर JW ब्रोडकास्टिङ्‌ हेर्दै

पारिवारिक उपासनाले जवान र वृद्ध सबैलाई एकतामा बाँध्छ (अनुच्छेद १२, १५ हेर्नुहोस्‌)

१३ श्रीमान्‌-श्रीमतीले मिलेर यहोवाको महिमा गर्न के गर्न सक्छन्‌? तिनीहरू दुवैले वफादार भई आपसमा मिलेर यहोवाको सेवा गर्न सक्छन्‌। यसो गर्दा तिनीहरू आनन्दित हुन सक्छन्‌ र एकतामा रहन सक्छन्‌। अब्राहाम र सारा, इसहाक र रिबेका, एल्काना र हन्‍ना—ती सबैले आफ्नो जोडीलाई प्रेम गरेको कुरा व्यक्‍त पनि गरे। अहिले हामीले पनि त्यस्तै गर्नुपर्छ। (उत्प. २६:८; १ शमू. १:५, ८; १ पत्रु. ३:५, ६) यसो गर्दा हामीले आफ्नो जोडीसित एक हुने मदत पाउनेछौं। अनि स्वर्गमा बस्नुहुने हाम्रा परमेश्‍वर यहोवासित पनि अझ घनिष्ठ हुनेछौं।—उपदेशक ४:१२ पढ्‌नुहोस्‌।

१४. श्रीमान्‌ वा श्रीमतीले यहोवाको सेवा गर्दैनन्‌ भने पनि वैवाहिक सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ?

१४ बाइबलमा ख्रीष्टियनहरूलाई विश्‍वास नगर्नेहरूसित एउटै जुवामा ननारिनु भनेर स्पष्ट सुझाव दिइएको छ। (२ कोरि. ६:१४) त्यसोभए कुनै ख्रीष्टियन बेग्ला-बेग्लै धर्म मान्‍ने परिवारका सदस्य हुन्‌ भने चाहिं के गर्ने? कोही-कोही विवाह गरिसकेपछि साक्षी बनेका हुन सक्छन्‌ अनि तिनको जोडी अझै साक्षी भइसकेको छैन होला। तैपनि बाइबलको सिद्धान्त लागू गरेर परिवारमा मिलाप कायम गर्न सकिन्छ। यसमा सम्झौता गर्नुपर्ने हदसम्म नपुगुन्जेल एकताको लागि आफ्नोतर्फबाट सक्दो कोसिस गर्नु समावेश छ। हुन त यसो गर्न सजिलो छैन तर त्यसले ल्याउन सक्ने इनाममा ध्यान दिनुहोस्‌। आफ्नो जोडीले मण्डली त्याग्यो भने पनि बाइबलको सिद्धान्त लागू गर्न गाह्रो हुन सक्छ। म्येरी नामकी बहिनीले यस्तै कुराको सामना गर्नुपऱ्‍यो। म्येरी र तिनको श्रीमान्‌ डेभिडले सँगै मिलेर यहोवाको सेवा गरिरहेका थिए। तर २५ वर्षअघि डेभिडले अचानक सभा जान छोडे। तर म्येरी भने वफादार भइरहिन्‌। तिनले सभा, अधिवेशन जान छोडिनन्‌; घर-व्यवहारमा बाइबलको सिद्धान्तहरू लागू गरिरहिन्‌। अनि आफ्ना छ जना छोराछोरीलाई पनि यहोवाबारे सिकाइन्‌। तर छोराछोरी हुर्केर छुट्टै बस्न थालेपछि तिनले एक्लो महसुस गर्न थालिन्‌। म्येरीले डेभिडका लागि भनेर पत्रिकाहरू छोड्‌ने गर्थिन्‌; डेभिडले ती पत्रिकाहरू पढ्‌न थाले। समय बित्दै गएपछि डेभिड सभा जान थाले। उनको ६ वर्षे नातिले उनका लागि सिट रोक्ने गर्थ्यो। कहिलेकाहीं डेभिड सभामा नजाँदा उनको नातिले यसो भन्थ्यो: “हजुरबा! हजुरबा! सभामा किन नआउनु भ’को? मलाई कस्तो नरमाइलो लाग्यो!” अहिले डेभिड आनन्दित भएर यहोवाको सेवा गर्दै छन्‌। म्येरी पनि श्रीमान्‌सँगै मिलेर सेवा गर्न पाउँदा दङ्‌ग छिन्‌।

१५. अनुभवी जोडीहरूले जवान जोडीलाई कसरी मदत गर्न सक्छन्‌?

१५ सैतानले अहिले परिवारमाथि आक्रमण गर्ने भएकोले यहोवाको सेवा गर्ने श्रीमान्‌-श्रीमती हातेमालो गर्दै अघि बढ्‌नु महत्त्वपूर्ण छ। तपाईंको विवाह भएको जतिसुकै समय किन नबितोस्‌, आफ्नो वैवाहिक जीवनलाई अझ दरिलो बनाउन कस्तो कुरा बोल्नुपर्ला अनि कस्तो व्यवहार गर्नुपर्ला, त्यसबारे राम्ररी विचार गर्नुहोस्‌। यस सन्दर्भमा अनुभवी जोडीहरूले जवान जोडीलाई मदत गर्न सक्छन्‌। सक्नुहुन्छ भने कहिलेकाहीं आफ्नो पारिवारिक उपासनाको बेला तिनीहरूलाई बोलाउनुहोस्‌। यसो गर्नुभयो भने विवाह गरेको जतिसुकै लामो समय भए पनि एक-आपसमा मायालु व्यवहार गर्नुपर्छ अनि हातेमालो गर्दै अघि बढ्‌नुपर्छ भनेर तिनीहरूले तपाईंको उदाहरणबाट सिक्नेछन्‌।—ती. २:३-७.

‘आऊ, हामी परमप्रभुको पर्वतमा उक्लेर जाऔं’

१६, १७. परमेश्‍वरका सेवकहरू कस्तो भविष्यको पर्खाइमा छन्‌?

१६ बाइबलकालीन समयमा चाडको बेला इस्राएलीहरू यहोवाको प्रशंसा गर्न यरूशलेमको मन्दिरमा भेला भएको दृश्‍य कल्पना गर्नुहोस्‌। तिनीहरूले यात्राको लागि तयारी गर्नुपर्थ्यो। बाटोमा एकअर्काको ख्याल राख्नुपर्थ्यो अनि मन्दिर पुगिसकेपछि एकताबद्ध भई यहोवाको उपासना गर्नुपर्थ्यो। हो, यी सबै कामकुरा गर्न हातेमालो गर्नुपर्थ्यो। (लूका २:४१-४४) हामी पनि नयाँ संसारमा पुग्ने यात्रा गर्दै छौं; त्यसैले एक-आपसमा एकताबद्ध भई अनि हातेमालो गर्दै अघि बढौं। यसका लागि निरन्तर र अथक प्रयास गर्नुपर्छ। तपाईंले यस विषयमा अझै उन्‍नति गर्नुपर्ने केही छ कि?

१७ तपाईंले भविष्यमा के-कस्ता आशिष्‌ पाउनुहुनेछ, कल्पना गर्नुहोस्‌! हामीले यस दुष्ट संसारमा भइरहेको भद्रगोल र फूट गराउने सबै कुराहरू छाडिसकेका छौं। अहिले हामीले यशैया र मीकाले बताएको कुरा पूरा भइरहेको देखेका छौं; परमेश्‍वरका सेवकहरू एकताबद्ध भएर “परमप्रभुको पर्वतमा” उक्लिरहेका छन्‌। (यशै. २:२-४; मीका ४:२-४ पढ्‌नुहोस्‌) हो, “पछिल्ला दिनमा” हाम्रो उपासना सबैभन्दा उच्च पारिएको छ। भविष्यमा सबै मानिसहरूले आपसमा तालमेल मिलाएर, एकताबद्ध भई यहोवाको उपासना गरेको देख्न पाउनु एकदमै खुसीको कुरा हुनेछ!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने