एकतामा बाँधिनुहोस्
१ मानव शरीरको अद्भुत रचना देखेर तपाईं कतिपल्ट आश्चर्यचकित हुनुभएको छ? (भज. १३९:१४) शरीरको प्रत्येक अंगले अर्को अंगसित मिलेर काम गर्छ। परमेश्वरको वचनले मसीही मण्डलीलाई एकदमै राम्रो समन्वय भएको शरीरसित तुलना गर्छ। शिर येशूको अधीनमा मण्डलीका सबै सदस्यहरू ‘प्रत्येक जोर्नीले खँदिलो पारिदिएकोले एकसाथ गाँसिएका छन्।’ (एफि. ४:१६क) यस प्रकार, यहोवा आफ्ना एकताबद्ध जनहरूमार्फत अद्भुत कार्यहरू गर्नुहुन्छ।
२ एक अर्काका आध्यात्मिक तथा भौतिक आवश्यकताहरू पूरा गर्न प्रथम शताब्दीको मण्डलीका सदस्यहरूले “एकै मनका” भएर काम गरे। (प्रेरि. २:४४-४७) यहोवाको मदतद्वारा उनीहरूले एकताबद्ध भई भीषण सतावटको सामना गर्नुका साथै त्यसमाथि विजयी पनि भए। (प्रेरि. ४:२४-३१) जहाँसुकै गए तापनि उनीहरूले राज्य सन्देश घोषणा गरे अनि त्यतिबेला थाह भएका पृथ्वीका सबै ठाउँमा प्रचार गरे। (कल. १:२३) वर्तमान सयममा मसीही मण्डलीले एकताबद्ध भई यही कार्य बृहत् रूपमा पूरा गरेका छन्। यसरी एकताबद्ध हुन सक्नुका कारणहरू के-के हुन्?
३ ईश्वरीय शिक्षाद्वारा एकताबद्ध: हाम्रो उपासनाले गर्दा हामी विश्वभरि एकताबद्ध छौं। यो कसरी सम्भव भएको छ? ‘ठीक ठीक समयमा आध्यात्मिक खानाको’ प्रबन्ध मिलाउने यहोवाको दृश्य माध्यम के हो त्यो हामीलाई थाह छ। (मत्ती २४:४५) उहाँले मण्डलीमा शिक्षकहरूको हैसियतमा “पुरुषहरूमध्ये वरदान” दिनुभएको छ, जसको पनि हामी गहिरो मूल्यांकन गर्छौं। आध्यात्मिक तवरमा हामीलाई खुवाउन यहोवाले गर्नुभएका प्रबन्धहरू नम्रतासाथ स्वीकार्दा परमेश्वरको वचनको हाम्रो समझ बढ्नुका साथै येशूका चेलाहरूको हैसियतमा उहाँको अनुकरण गर्न उत्प्रेरित हुन्छौं। ‘विश्वासको एकता प्राप्त गर्ने’ उत्कट प्रयत्न गर्दै हामीले परमेश्वरको वचन निरन्तर अध्ययन गरिरहनै पर्छ। (एफि. ४:८, ११-१३, NW) के तपाईंले दिनहुँ बाइबल पढेर हाम्रो आध्यात्मिक एकतामा योगदान पुऱ्याइरहनुभएको छ?
४ मसीही संगतिद्वारा एकताबद्ध: प्रेमले हामीलाई मसीही सभाहरूमा सरसंगतिबाट एक अर्कासित घनिष्ठ हुन उत्प्रेरित गर्छ। यी सभाहरूमा हामी ‘एउटाले अर्कोको विचार राख्छौं।’ (हिब्रू १०:२४, २५) यसमा बाहिरी रूपरंग मात्र नहेरेर हाम्रा भाइहरूलाई साँच्चै राम्ररी चिन्नु अनि यहोवाले उनीहरूलाई जति मूल्यावान् ठान्नुहुन्छ हामीले पनि त्यति नै मूल्यवान् ठान्नु आवश्यक छ। (हाग्गै २:७) उनीहरूको विश्वासको अभिव्यक्ति सुन्दा उनीहरूप्रतिको हाम्रो प्रेम अझ गहिरो हुनुका साथै हाम्रो एकता सुदृढ हुन्छ। के तपाईं मण्डलीका सभाहरूमा नियमित तवरमा उपस्थित हुने व्यक्तिको रूपमा चिनिनुहुन्छ?
५ क्षेत्रमा सहकर्मीहरू: सहकर्मीहरूसित सुसमाचार प्रचार गर्दा त्यसले हामीलाई परमेश्वरको इच्छा गर्न एकताबद्ध बनाउँछ। प्रेरित पावलले ‘परमेश्वरको राज्यको निम्ति आफ्ना सहकर्मीहरूको’ मूल्यांकन गरे। (कल. ४:११) सेवकाईको दौडान एक अर्कासित अनुभवहरू साटासाट गर्दा र एक अर्कालाई मदत गर्दा त्यसले हामीलाई हाम्रो मसीही कार्य पूरा गर्न मदत गर्नुका साथै हाम्रो एकताको अटुट बन्धनलाई अझ बलियो बनाउँछ।—कल. ३:१४.
६ पवित्र आत्माद्वारा एकतामा बाँधिने: यहोवाको इच्छाअनुसार चल्दा उहाँले हामीलाई इनामस्वरूप उहाँको पवित्र आत्मा दिनुहुन्छ। यसले हामीलाई मतभिन्नताहरू सुल्झाउन र एकताबद्ध भएर बस्न मदत गर्छ। (भज. १३३:१) यसले हामीलाई “आत्माको एकता राख्नलाई शान्तिको बन्धनमा परिश्रम” गर्न उत्प्रेरित गर्छ। (एफि. ४:३) एक अर्कासित गर्ने हाम्रो व्यवहारमा आत्माका फलहरू प्रकट गरेर हामी प्रत्येकले परमेश्वरका जनहरूबीच भएको मिलापमा योगदान पुऱ्याउन सक्छौं।—गला. ५:२२, २३.
७ ख्रीष्टको शिरत्वको अधीनमा बसेर एकताबद्ध भई सँगै सेवा गर्नाले “सारा शरीर ठीक ठीक एकसाथ गाँसिएर एक भई प्रेममा आफ्नै निर्माणको निम्ति शरीरको वृद्धि गराउँछ।” (एफि. ४:१६ख) यसबाहेक, यसले “शान्तिका परमेश्वर” यहोवाको महिमा गर्छ।”—रोमी १६:२०.