प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w16 मार्च pp. २६-२८
  • भविष्यवक्‍ताहरूको मनोवृत्ति अनुकरण गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भविष्यवक्‍ताहरूको मनोवृत्ति अनुकरण गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तिनीहरूले दिलोज्यान दिए
  • तिनीहरूले निरुत्साहको सामना गरे
  • तिनीहरूले “आफू अयोग्य छु” भन्‍ने भावनालाई जिते
  • होशेको भविष्यवाणीले परमेश्‍वरसित हिंड्‌न मदत गर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • भविष्यवक्‍ताहरूलाई नमुनाको रूपमा लिनुहोस्‌—होशे
    हाम्रो राज्य सेवा—२०१३
  • होशेको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • परमेश्‍वरसित हिंड्‌नुहोस्‌ र असल कुरा कटनी गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
w16 मार्च pp. २६-२८
यरूशलेम सहरको चित्र कुँदिएको इँटातिर मुख पारेर इजकिएल आफ्नो बायाँतिर कोल्टे पर्छन्‌

नमुना यरूशलेम सहरलाई घेरा हालेको अभिनय गर्ने काम इजकिएलले खुसीसाथ पूरा गरे

भविष्यवक्‍ताहरूको मनोवृत्ति अनुकरण गर्नुहोस्‌

तपाईं र पुरानो समयका भविष्यवक्‍ताहरूबीच केही कुरा मिल्दोजुल्दो छ कि? सन्‌ २०१३ को अङ्‌ग्रेजी नयाँ संसार अनुवाद संस्करणको “बाइबल शब्दार्थ”-मा (Glossary of Bible Terms) भविष्यवक्‍ताको परिभाषा यसरी दिइएको छ: “भविष्यवक्‍ताहरूले परमेश्‍वरको उद्देश्‍यबारे अरूलाई जानकारी दिन्छन्‌। तिनीहरू परमेश्‍वरको प्रवक्‍ताको रूपमा काम गर्छन्‌; भविष्यमा के हुनेछ भनेर बताउने मात्र नभई सिकाउने, आज्ञा दिने र उहाँको न्यायदण्ड घोषणा गर्ने काम गर्छन्‌।” हुन त तपाईं भविष्यवाणी गर्नुहुन्‍न होला तैपनि परमेश्‍वरको वचनबाट आफूले पाएको सन्देश प्रचार गर्नुहुन्छ नि, होइन र?—मत्ती २४:१४.

यहोवा परमेश्‍वरबारे अरूलाई बताउन पाउनु र मानिसजातिको लागि उहाँको इच्छा के हो भनेर सिकाउन पाउनु हाम्रो लागि ठूलो सुअवसर हो। हामीले यो काम ‘आकाशमा उडिरहेको स्वर्गदूत’-सँगै मिलेर गरिरहेका छौं। (प्रका. १४:६) कहिलेकाहीं हामीले यस्ता सुअवसरलाई नै ओझेलमा पार्ने चुनौतीहरू सामना गर्नुपर्ने हुन्छ। त्यस्ता चुनौतीहरू के-के हुन्‌? हामीलाई थकाइ, निरुत्साह र आफू अयोग्य छु भन्‍ने भावनाले पिरोल्न सक्छ। पहिलेका भविष्यवक्‍ताहरूले पनि यस्तै कुराहरूको सामना गर्नुपरेको थियो तर तिनीहरूले हार मानेनन्‌। तिनीहरूले पाएको जिम्मेवारी पूरा गर्न यहोवाले तिनीहरूलाई मदत गर्नुभयो। अब हामी केही भविष्यवक्‍ताहरूको उदाहरण विचार गरौं र कसरी तिनीहरूको अनुकरण गर्न सक्छौं, हेरौं।

तिनीहरूले दिलोज्यान दिए

हामीले दिनदिनै गर्नुपर्ने विभिन्‍न कामले गर्दा थकित हुने भएकोले कहिलेकाहीं प्रचारमा भाग नलिऊँ जस्तो लाग्न सक्छ। हो, हामीलाई आराम चाहिन्छ; येशू र उहाँका प्रेषितहरूले पनि आराम गर्न समय निकाल्नुभयो। (मर्कू. ६:३१) तर बेबिलोनमा छँदा इजकिएलले के गरे, विचार गर्नुहोस्‌। यरूशलेमबाट कैद गरेर ल्याएका इस्राएलीहरूका लागि तिनले एउटा काम गर्नुपरेको थियो। परमेश्‍वरले तिनलाई एउटा इँटा लिएर त्यसमा यरूशलेम सहरको चित्र कुँद्‌न लगाउनुभयो र त्यसको चारैतिर घेरा हालेको अभिनय गर्न भन्‍नुभयो। तिनले नमुनाको रूपमा बनाएको यरूशलेम सहरलाई आफू बायाँतिर कोल्टे परेर ३९० दिनसम्म र दायाँतिर कोल्टे परेर ४० दिनसम्म सुतेर घेरा हालेको अभिनय गर्नुपर्थ्यो। यहोवाले इजकिएललाई यसो भन्‍नुभयो: “हेर्‌, म तँलाई डोरीहरूले कसी राख्‌नेछु, र तेरो घेराको दिन समाप्त नहोउञ्जेल तँ यताउता फर्कन सक्नेछैनस्‌।” (इज. ४:१-८) इजकिएलले यसो गरेको देख्दा निर्वासनमा परेका इस्राएलीहरूको ध्यान पक्कै खिचेको हुनुपर्छ। तिनले एक वर्षभन्दा बढी समय हरेक दिन यसरी नै बिताउनु पऱ्‍यो। यी भविष्यवक्‍ताले यस्तो पट्टाइलाग्दो जिम्मेवारी कसरी पूरा गर्न सके?

आफूलाई भविष्यवक्‍ताको रूपमा पठाइनुको कारण इजकिएलले राम्ररी बुझेका थिए। यो जिम्मेवारी सुम्पिएको बेलामा नै परमेश्‍वरले तिनलाई यसो भन्‍नुभएको थियो: “[इस्राएलीहरूले] सुने पनि वा सुन्‍नलाई अस्वीकार गरे तापनि . . . तिनीहरूले आफ्ना बीचमा एउटा अगमवक्‍ता ता रहेछन्‌ भन्‍ने कुरा जान्‍नेछन्‌।” (इज. २:५) इजकिएलले आफूलाई यो जिम्मेवारी दिइनुको कारण के हो भन्‍ने कुरा सधैं मनमा राखे। त्यसैले नमुना यरूशलेम सहरलाई घेरा हालेको अभिनय गर्ने काम तिनले खुसीसाथ पूरा गरे। तिनले आफू साँचो भविष्यवक्‍ता भएको प्रमाणित गरे। पछि तिनी र तिनीसँगै कैदमा परेका सबैकहाँ “सहर दुस्मनले लियो” भन्‍ने खबर पुग्यो। हो, तिनीहरूबीच एउटा भविष्यवक्‍ता रहेछ भनेर इस्राएलीहरू बल्ल विश्‍वस्त हुन सके।—इज. ३३:२१, ३३.

अहिले हामी सैतानको अधीनमा रहेको यो दुष्ट संसारको विनाश हुनै लागेको छ भनेर मानिसहरूलाई बताउँदै छौं। हामी शारीरिक तवरमा थकित भए तापनि मानिसहरूलाई परमेश्‍वरको वचनको सन्देश सुनाउन, पुनःभेट गर्न र तिनीहरूसित बाइबल अध्ययन गर्न पूरा शक्‍ति खर्च गर्छौं। यो संसारको अन्त हुनेछ भन्‍ने भविष्यवाणी पूरा हुँदा ‘परमेश्‍वरको उद्देश्‍यबारे अरूलाई जानकारी दिने’ माध्यम बन्‍न पाएकोमा हामी सन्तोकको लामो सास फेर्नेछौं।

तिनीहरूले निरुत्साहको सामना गरे

यहोवाको पवित्र शक्‍तिको मदत पाएर हामी दिलोज्यानले सेवा त गर्छौं होला तर हामीले सुनाउने सन्देशप्रति मानिसहरूले देखाउने नकारात्मक प्रतिक्रियाले गर्दा कहिलेकाहीं हामी निरुत्साहित हुन सक्छौं। त्यस्तो बेला यर्मिया भविष्यवक्‍ताको उदाहरण सम्झनु बेस हुन्छ। इस्राएलीहरूलाई परमेश्‍वरको सन्देश सुनाएको कारण तिनी हाँसोको पात्र बन्‍नुपऱ्‍यो; तिनले खिसी र गिल्ला सहनुपऱ्‍यो। त्यसैले तिनले एक पटक त यस्तोसमेत भने: “म उहाँको चर्चा गर्नेछैनँ, म फेरि कहिल्यै उहाँको नाउँ लिन्‍नँ।” यर्मियाको भावना पनि हाम्रो जस्तै थियो। तैपनि तिनले परमेश्‍वरको सन्देश सुनाइरहे। किन? तिनले अझै यसो भने: “[त्यो] मेरो हृदयमा जलिरहेको आगो हड्डीहरूका बीचमा थुनिराखेको जस्तै हुनेछ, त्यसलाई भित्र रोकिराख्ता म थकित हुन्छु, औ म त्यो थाम्नै सक्‍तिनँ।”—यर्मि. २०:७-९.

त्यसैगरि हामीले सुनाएको सन्देशप्रति मानिसहरूले नकारात्मक प्रतिक्रिया देखाउँदा हामी निरुत्साहित हुन सक्छौं। तर हामीले सुनाउने सन्देशबारे मनन गऱ्‍यौं भने त्यस्तो भावनाको डटेर सामना गर्न सक्नेछौं। साँच्चै, त्यो सन्देश ‘हड्डीहरूका बीचमा थुनिराखेको आगोजस्तै हुनेछ।’ हामीले नियमित बाइबल अध्ययन गर्ने बानी बसाल्यौं भने त्यो सन्देश हाम्रो मनमा बलिरहनेछ।

तिनीहरूले “आफू अयोग्य छु” भन्‍ने भावनालाई जिते

आफूलाई दिएको जिम्मेवारी कसरी पूरा गर्ने अनि त्यस्तो जिम्मेवारी किन दिइएको हो, त्यसको कारण नबुझ्दा कोही-कोही ख्रीष्टियन चिन्तित हुन सक्छन्‌। भविष्यवक्‍ता होशेलाई पनि त्यस्तै महसुस भएको हुन सक्छ। यहोवाले तिनलाई यस्तो आज्ञा दिनुभयो: “जा, गएर एउटी वेश्‍या स्वास्नी ले, र त्यसको वेश्‍यावृतिबाट भएका सन्तानलाई आफ्नो बना।” (होशे १:२) मानौं, तपाईंले विवाह गर्न लाग्नुभएको छ तर त्यो केटी वेश्‍या हो भनेर परमेश्‍वरले भन्‍नुभयो भने तपाईं कस्तो महसुस गर्नुहुन्छ? होशेले आफूले पाएको जिम्मेवारी स्वीकारे। तिनले गोमेरलाई आफ्नी स्वास्नी तुल्याए र एउटा छोरो जन्मियो। पछि गोमेरले एक छोरी र अर्को छोरा पनि जन्माइन्‌। पछि जन्मिएका यी दुई सन्तान अवैध यौनसम्बन्धबाट जन्मिएका हुन सक्छन्‌। यहोवाले होशेलाई तिनकी स्वास्नी आफ्ना ‘प्रेमीहरूको पछिपछि कुद्‌नेछिन्‌’ भन्‍नुभयो। याद गर्नुहोस्‌, यहाँ “प्रेमीहरू” भन्‍ने बहुवचन शब्द प्रयोग गरिएको छ। अनि पछि उनी होशेकहाँ नै फर्कन खोज्ने थिइन्‌। यदि तपाईं ती भविष्यवक्‍ता हुनुभएको भए के त्यस्तो स्वास्नी स्वीकार्नुहुन्थ्यो? वास्तवमा यहोवाले होशेलाई त्यसै गर्न भन्‍नुभयो। त्यति मात्र होइन, ती भविष्यवक्‍ताले आफ्नी स्वास्नीलाई फर्काउन महँगो दामसमेत तिरे।—होशे २:७; ३:१-५.

आफूले पूरा गरेको जिम्मेवारीले केही राम्रो कुरा हासिल होला कि नहोला भनी होशे चिन्तित भएका हुन सक्छन्‌। तिनले यस्तो नाटकीय घटना वफादार भई वास्तविक जीवनमा उतार्दा हामीलाई यहोवाको भावना बुझ्न सजिलो भएको छ। हो, इस्राएलीहरूले यहोवालाई त्यागेर अन्य देवताको पछि लाग्दा उहाँलाई कत्ति धेरै पीडा भयो भनेर होशेको घटनाले स्पष्ट पारेको छ। वास्तवमा भन्‍ने हो भने, होशेको यस्तो कदमले परिणाम राम्रै भयो; केही नम्र मनका इस्राएलीहरू यहोवा परमेश्‍वरको उपासना गर्न फर्किए।

अहिले यहोवाले कसैलाई पनि ‘वेश्‍यासित विवाह गर्ने’ आज्ञा त दिनुहुन्‍न। त्यसोभए होशेले इच्छुक भई जिम्मेवारी स्वीकारेकोबाट हामी कस्तो पाठ सिक्न सक्छौ? हामीले खुसीसाथ आफूलाई दिइएको जिम्मेवारी स्वीकार्नुपर्छ; “जनसमक्ष र घरघरमा” गएर प्रचार गर्न गाह्रो लागे तापनि हामीले त्यस्तो मनोवृत्ति देखाउनुपर्छ। (प्रेषि. २०:२०) प्रचारको कुनै-कुनै पक्षमा भाग लिन तपाईंलाई निकै गाह्रो लाग्न सक्छ। यहोवाका साक्षीसित बाइबल अध्ययन गरिरहेका थुप्रैले बाइबल अध्ययन गर्न निकै रमाइलो लागेको तर घरघरको प्रचार जान भने गाह्रो लागेको बताउँछन्‌। सुरुमा “गर्नै सक्दिनँ” भन्‍ने लागेको काम अहिले तिनीहरूमध्ये धेरैले खुसीसाथ गरिरहेका छन्‌। यसबाट तपाईंले पनि केही कुरा सिक्नुभयो कि?

होशेले आफूलाई निकै गाह्रो लागेको जिम्मेवारी स्वीकारेकोबाट हामी अर्को पाठ पनि सिक्न सक्छौं। तिनले चाहेको भए यस्तो जिम्मेवारी स्वीकार्न सक्दिनँ भनेर यहोवालाई बिन्ती गर्न सक्थे। अनि होशेले आफूले पाएको यस्तो कामको विवरण नलेखेको भए अरूले त्यसबारे कसरी थाह पाउन सक्थे र? अहिले हामीले पनि यहोवाबारे अरूलाई बताउने मौका पाउन सक्छौं; हामीले यस्तो मौका पाएका छौं भनेर अरूलाई अत्तोपत्तो नहुन सक्छ। अमेरिकाको हाई स्कुलमा पढ्‌दै गरेकी आनालाई यस्तै भयो। तिनकी शिक्षिकाले कक्षाका सबै विद्यार्थीलाई आफूलाई मनपर्ने विषयमा निबन्ध लेख्न र कक्षामा तर्कसहित प्रस्तुत गर्न भनिन्‌। साक्षी दिन पाउने यो मौका आनाले बेवास्ता गर्न सक्थिन्‌। तर तिनले यो मौका परमेश्‍वरले नै दिनुभएको हो भन्‍ने महसुस गरिन्‌। अरूबाट आउन सक्ने प्रतिक्रियालाई विचार गर्दै तिनले यहोवालाई प्रार्थना गरिन्‌ र साक्षी दिने मौकाको पूरापूर सदुपयोग गर्न तिनले आफ्नो मन तयार पारिन्‌। तिनले “क्रमविकास: के यसको कुनै प्रमाण छ?” भन्‍ने विषयमा निबन्ध लेखिन्‌।

जवान बहिनी कक्षामा आफ्नो विश्‍वासबारे तर्क गर्दै

हाम्रा जवान भाइबहिनीहरू यहोवा हाम्रो सृष्टिकर्ता हुनुहुन्छ भनी साहसी भई बताएर भविष्यवक्‍ताहरूको मनोभाव अनुकरण गर्छन्‌

आनाले कक्षामा यो निबन्ध प्रस्तुत गर्दा क्रम विकासमा विश्‍वास गर्ने एक जना केटीले तिनीमाथि प्रश्‍नको ओइरो लगाइन्‌। आनाले चित्तबुझ्दो तरिकामा त्यसको जवाफ दिइन्‌। त्यो देखेर आनाकी शिक्षिका एकदमै प्रभावित भइन्‌; तर्कले भरपूर त्यो निबन्ध उत्कृष्ट ठहरियो र आनाले पुरस्कार पनि पाइन्‌। आनाले प्रश्‍नको ओइरो लगाउने केटीसित पटक-पटक सृष्टिबारे छलफल पनि गरिन्‌। यहोवाबाट पाएको यस्तो ‘जिम्मेवारी’ स्वीकारेकीले आनाले यसो भन्‍न सकिन्‌: “अहिले म नडराई प्रचार गर्न सक्छु।”

हामी भविष्यवक्‍ता त होइनौं तर इजकिएल, यर्मिया र होशेजस्ता भविष्यवक्‍ताहरूको आत्मत्यागी मनोभाव अनुकरण गऱ्‍यौं भने अहिले हामी पनि यहोवाको इच्छा पूरा गर्न सफल हुन सक्छौं। व्यक्‍तिगत अध्ययन अनि पारिवारिक उपासनाको बेला पहिले-पहिलेका भविष्यवक्‍ताहरूको बारेमा अध्ययन गर्दै तिनीहरूको कसरी अनुकरण गर्न सकिन्छ भनेर मनन गरे कसो होला?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने