प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 No. ६ pp. ६-७
  • सबैभन्दा उत्तम उपहार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सबैभन्दा उत्तम उपहार
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • मिल्दोजुल्दो सामग्री
  • फिरौतीको बलिदान परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • फिरौतीको बलिदान​—⁠परमेश्‍वरले दिनुभएको सबैभन्दा अनमोल उपहार
    बाइबलले हामीलाई के सिकाउँछ?
  • ईश्‍वरले दिनुभएको सर्वोत्तम उपहार—किन यति मूल्यवान्‌ छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • यहोवाले “धेरैको निम्ति फिरौती”-को प्रबन्ध गर्नुभयो
    यहोवासित नजिक हुनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 No. ६ pp. ६-७
सुन्दर बगैंचारूपी पृथ्वीमा परिवारहरू

परमेश्‍वरले दिनुभएको सबैभन्दा उत्तम उपहार फिरौतीको बलिदान हो, जसले अनन्त जीवन सम्भव तुल्यायो

आवरण लेख | सबैभन्दा उत्तम उपहार!

सबैभन्दा उत्तम उपहार

“हरेक असल वरदान र हरेक उत्तम उपहार हामी माथिबाटै पाउँछौं, किनकि त्यो आकाशका ज्योतिहरूका बुबाबाट आउँछ।” (याकूब १:१७) यी शब्दहरूबाट स्वर्गमा बस्नुहुने हाम्रो बुबा यहोवा हामीप्रति कत्ति उदार हुनुहुन्छ भनेर थाह पाउन सक्छौं। परमेश्‍वरले हामीलाई थुप्रै उपहार दिनुभएको छ तर उहाँले हामीलाई एउटा यस्तो उपहार दिनुभएको छ, जुन सबै उपहारभन्दा उत्तम छ। त्यो उपहार के हो? यूहन्‍ना ३:१६ मा लेखिएका येशूका शब्दहरूले यस प्रश्‍नको जवाफ दिन्छ। उहाँले यसो भन्‍नुभयो, “परमेश्‍वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो, ताकि ऊमाथि विश्‍वास गर्ने हरेक नाश नहोस्‌ तर उसले अनन्त जीवन पाओस्‌।”

परमेश्‍वरले हाम्रो लागि भनेर आफ्नो एक मात्र छोरा बलिदानको रूपमा दिनुभयो। यो हामीले अहिलेसम्म पाएका उपहारहरूमध्ये सबैभन्दा उत्तम उपहार हो। किनभने यस उपहारले गर्दा हामी पाप र मृत्युको दासत्व अनि बुढ्‌यौली अवस्थाबाट मुक्‍त हुन सक्छौं। (भजन ५१:५; यूहन्‍ना ८:३४) लाख कोसिस गरे तापनि हामी कहिल्यै त्यो दासत्वबाट मुक्‍त हुन सक्दैनौं। तर परमेश्‍वरको महान्‌ प्रेमले गर्दा हामी त्यस दासत्वबाट मुक्‍त हुन सम्भव भएको छ। आफ्नो एक मात्र छोरा येशू ख्रीष्टलाई फिरौतीको बलिदानको रूपमा दिनुभएर यहोवाले आज्ञाकारी मानिसहरूको लागि अनन्त जीवनको बाटो खोलिदिनुभयो। तर फिरौतीको बलिदान भनेको के हो? यो बलिदान दिन किन आवश्‍यक पऱ्‍यो? यसबाट लाभ उठाउन हामीले के गर्नुपर्छ?

फिरौती भनेको गुमाएको कुरा फिर्ता ल्याउन वा कसैलाई बन्धनबाट मुक्‍त गर्न तिरिने मोल हो। हाम्रो पुर्खा आदम र हव्वालाई सृष्टि गरिंदा तिनीहरूमा कुनै पाप थिएन। तिनीहरू आफ्ना छोराछोरीहरूसँगै सुन्दर पृथ्वीमा सधैंभरि बाँच्न सक्थे। (उत्पत्ति १:२६-२८) तर दुःखको कुरा तिनीहरूले परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरे अनि पापी भए। यसले गर्दा परिणाम कस्तो भयो? बाइबलले यस्तो जवाफ दिन्छ, “एकै जना मानिसद्वारा पाप संसारमा प्रवेश भयो अनि पापद्वारा मृत्यु र यसरी मृत्यु सबै मानिसमा व्याप्त भयो, किनकि तिनीहरू सबैले पाप गरेका छन्‌।” (रोमी ५:१२) आदमले आफ्ना सन्तानलाई त्रुटिरहित जीवन दिनुको साटो पाप र मृत्यु दिए।

फिरौती तिर्दा गुमाएको वस्तुको मोल जति हो त्यति बराबरको मोल तिर्नुपर्छ। परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरेर आदमले उहाँविरुद्ध पाप गरे। नतिजा? तिनले आफ्नो त्रुटिरहित जीवन गुमाए। मतलब, आदम मर्नुपऱ्‍यो। तिनले आफ्नो सन्तानलाई पनि पाप र मृत्युको दासत्वमा बेचे भनेर बाइबल बताउँछ। त्यो दासत्वबाट मुक्‍त गर्न अर्को त्रुटिरहित जीवन बलिदान दिनुपर्ने आवश्‍यकता पऱ्‍यो। त्यसैले येशूले आफ्नो त्रुटिरहित जीवन बलिदान दिनुभयो। (रोमी ५:१९; एफिसी १:७) परमेश्‍वरले हामीलाई माया गर्नुभएकोले उहाँले फिरौतीको मोल तिर्नुभयो। यसले गर्दा हामीले सुन्दर पृथ्वीमा सधैंभरि बाँच्ने आशा पायौं जुन आदम र हव्वाले गुमाएका थिए।—प्रकाश २१:३-५.

यी कुराहरूलाई विचार गर्दा फिरौतीको बलिदान परमेश्‍वरले दिनुभएको सबैभन्दा उत्तम उपहार हो भन्‍ने कुरामा कुनै शङ्‌का छैन। किनभने यसले हाम्रो लागि अनन्त जीवनको ढोका खोल्यो। अरूले हाम्रो उपहारको मोल गरोस्‌ भन्‍ने चाहन्छौं भने हामीले चारवटा कुरा विचार गर्नुपर्छ भनेर यसभन्दा अघिको लेखमा सिकेका थियौं। त्यसोभए आउनुहोस्‌, ती चारैवटा कुरा परमेश्‍वरले दिनुभएको यस “उत्तम उपहार”-ले कसरी पूरा गर्छ भनेर विचार गरौं। यसले हामीलाई यो उपहारप्रति अझै कृतज्ञ हुन मदत गर्नेछ।

हाम्रो चाहना पूरा गर्छ। हामी सबै जना सधैंभरि बाँच्न चाहन्छौं। हामी आफैले यो चाहना कहिल्यै पूरा गर्न सक्दैनौं तर फिरौतीले हाम्रो यो चाहना पूरा गर्न सम्भव तुल्याएको छ। बाइबल यसो भन्छ, “किनकि पापले तिर्ने ज्याला मृत्यु हो तर परमेश्‍वरले दिनुहुने वरदान हाम्रा प्रभु ख्रीष्ट येशूमार्फत अनन्त जीवन हो।”—रोमी ६:२३.

हाम्रो आवश्‍यकता पूरा गर्छ। फिरौतीको बलिदान दिन सक्ने मानिस कोही छैन। बाइबल यसो भन्छ, “तिनीहरूमा कसैले पनि कुनै किसिमले आफ्ना भाइलाई मोल तिरेर छुटाउनसक्‍तैन, परमेश्‍वरलाई त्यसको छुटकाराको मोल त्यसले दिनसक्‍तैन।” (भजन ४९:७) त्यसैले परमेश्‍वरको मदतविना हामी कहिल्यै पाप र मृत्युको दासत्वबाट मुक्‍त हुन सक्दैनौं। तर “ख्रीष्ट येशूले तिर्नुभएको फिरौतीद्वारा” परमेश्‍वरले हामीलाई जुन कुराको आवश्‍यकता थियो त्यो पूरा गरिदिनुभयो।—रोमी ३:२३, २४.

चाहिएकै समयमा दिइन्छ। “हामी पापी छँदै ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो” भनी बाइबल बताउँछ। (रोमी ५:८) “हामी पापी छँदै” परमेश्‍वरले हाम्रो लागि फिरौतीको मोल तिर्नुभएकोले उहाँ हामीलाई कत्ति धेरै माया गर्नुहुन्छ भन्‍ने कुरा स्पष्ट छ। हुन त अहिले हामीले पापको नमीठो नतिजा भोग्नुपर्छ तर हामीसँग भविष्यको उज्ज्वल आशा छ।

असल मनसाय अनि निःस्वार्थ भावले दिइन्छ। आफ्नो छोरालाई फिरौतीको बलिदानको रूपमा दिन परमेश्‍वरलाई कुन कुराले उत्प्रेरित गऱ्‍यो? बाइबलले यसको जवाफ यसरी दिन्छ, “हाम्रो सन्दर्भमा परमेश्‍वरको प्रेम यसरी प्रकट भएको छ, कि उहाँले आफ्नो एक मात्र छोरा संसारमा पठाउनुभयो, ताकि उहाँद्वारा हामीले जीवन पाउन सकौं। प्रेम यसैमा छ, कि हामीले परमेश्‍वरलाई प्रेम गरेका होइनौं, बरु उहाँले हामीलाई प्रेम गर्नुभयो।”—१ यूहन्‍ना ४:९, १०.

सबैभन्दा उत्तम उपहारप्रति कृतज्ञ भएको कुरा तपाईं कसरी देखाउन सक्नुहुन्छ? यूहन्‍ना ३:१६ मा येशूले भन्‍नुभएको कुरा सम्झनुहोस्‌। त्यहाँ येशूले उहाँमा ‘विश्‍वास गर्नेहरूले’ मात्र अनन्त जीवन पाउनेछन्‌ भन्‍नुभयो। बाइबलले “विश्‍वास भनेको आशा गरिएका कुराहरू पक्कै पूरा हुनेछन्‌ भनेर पर्खनु” हो भनेर बताउँछ। (हिब्रू ११:१) हामीमा सही ज्ञान छैन भने त्यस्तो आशा राख्न सक्दैनौं। त्यसैले यो “उत्तम उपहार” दिनुहुने यहोवा परमेश्‍वरबारे सिक्नुहोस्‌। साथै, येशूको बलिदानले गर्दा सम्भव भएको अनन्त जीवन पाउन के गर्नुपर्छ भनेर पनि सिक्नुहोस्‌।

यी कुराहरूबारे सिक्न हाम्रो वेबसाइट www.jw.org/ne मा जानुहोस्‌। त्यहाँ तपाईंले बाइबलमा आधारित थुप्रै जानकारी पाउन सक्नुहुन्छ। तपाईंलाई मदत गर्न पाउँदा यहोवाका साक्षीहरू खुसी हुनेछन्‌। परमेश्‍वरले दिनुभएको यस उत्तम उपहार र यसले पुऱ्‍याउने लाभबारे सिक्दै जानुभयो भने तपाईं पनि यसो भन्‍न उत्प्रेरित हुनुहुनेछ, “हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्‍वरलाई धन्यवाद होस्‌।”—रोमी ७:२५.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने