प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp17 No. ६ pp. ४-६
  • उत्तम उपहारको खोजी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उत्तम उपहारको खोजी
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • मिल्दोजुल्दो सामग्री
  • “यो नै मैले पाएको सबैभन्दा उत्तम उपहार हो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • के तपाईंसित अरूलाई दिने मनोभाव छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
  • ईश्‍वरले दिनुभएको सर्वोत्तम उपहार—किन यति मूल्यवान्‌ छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
wp17 No. ६ pp. ४-६
विभिन्‍न उपहार

आवरण लेख | सबैभन्दा उत्तम उपहार!

उत्तम उपहारको खोजी

कसैको लागि उपयुक्‍त उपहार खोज्नु त्यत्ति सजिलो छैन। हुन पनि उपहार कत्तिको मूल्यवान्‌ हुन्छ भन्‍ने कुरा पाउने व्यक्‍तिमा निर्भर हुन्छ। अनि एक जनालाई कुनै उपहार राम्रो लाग्यो भन्दैमा त्यो उपहार अरूलाई पनि मन पर्छ भन्‍ने छैन।

उदाहरणको लागि, किशोरकिशोरीलाई बजारमा आएको कुनै नयाँ इलेक्ट्रोनिक ग्याजेट सबैभन्दा उत्तम उपहार हो जस्तो लाग्न सक्छ। अर्कोतर्फ, वयस्कहरूले भने कुनै पुर्ख्यौली चिनो उपहारको रूपमा पाउँदा त्यसको निकै कदर गर्छन्‌। कुनै-कुनै ठाउँमा चाहिं जवान-वृद्ध सबैलाई पैसा दिने चलन हुन्छ। किनभने पैसा दिइयो भने तिनीहरूले आफूलाई मन लाग्ने कुरा किन्‍न सक्छन्‌।

कसलाई कस्तो उपहार उपयुक्‍त हुन्छ भनेर थाह पाउन कहिलेकाहीं गाह्रो हुन्छ। तैपनि थुप्रै जना आफूले विशेष ठानेको व्यक्‍तिलाई उत्तम उपहार दिन सक्दो प्रयास गर्छन्‌। त्यस्तो उपहार दिन सधैं सम्भव नहुन सक्छ। तर केही कुराहरू विचार गरेर उपहार दियौं भने उपहार पाउने व्यक्‍तिले त्यसको मोल गर्न सक्छन्‌। आउनुहोस्‌, तीमध्ये चार वटा कुरा विचार गरौं।

उपहार पाउने व्यक्‍ति के चाहन्छन्‌? उत्तरी आयरल्याण्डको बेलफास्टमा बस्ने एक जना व्यक्‍तिलाई आफू १०/११ वर्षको छँदा पाएको साइकल नै सबैभन्दा राम्रो उपहार लाग्छ। किन? तिनी भन्छन्‌, “किनभने मलाई चाहिएको कुरा नै त्यही थियो।” यो कुराबाट कुनै व्यक्‍तिलाई चाहिएको कुरा नै उपहार दियौं भने तिनले त्यसको मोल गर्छन्‌ भन्‍ने कुरा स्पष्ट हुन्छ। त्यसैले आफूले उपहार दिन चाहेको व्यक्‍तिबारे राम्ररी विचार गर्नुहोस्‌। तिनले कुन कुरालाई महत्त्वपूर्ण ठान्छन्‌, बुझ्नुहोस्‌। किनभने हामी सबै जना जुन कुरालाई महत्त्वपूर्ण ठान्छौं, त्यही नै पाउने इच्छा गर्छौं। उदाहरणको लागि, हजुरबुबा हजुरआमाको लागि आफ्नो परिवारसँगै समय बिताउने कुरा एकदमै महत्त्वपूर्ण हुन्छ। उहाँहरू आफ्ना छोराछोरी र नातिनातिनीसँग धेरै समय बिताउन चाहनुहुन्छ। हजुरबुबा हजुरआमासँगै परिवारै मिलेर कतै घुम्न गयौं भने त्यो उहाँहरूको लागि एकदमै विशेष उपहार हुनेछ।

कुनै व्यक्‍तिलाई के चाहिएको छ भनेर थाह पाउने एउटा राम्रो तरिका भनेको तिनको कुरा ध्यान दिएर सुन्‍नु हो। बाइबल हामीलाई यस्तो प्रोत्साहन दिन्छ, “हरेक मानिसले चनाखो भई सुन्‍नुपर्छ, बोल्न हतार गर्नुहुँदैन।” (याकूब १:१९) आफ्नो साथीभाइ वा आफन्तसँग कुरा गर्दा तिनीहरूलाई मन पर्ने अनि मन नपर्ने कुरा पत्ता लगाउने कोसिस गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईं तिनीहरूको लागि उपयुक्‍त उपहार दिन सक्नुहुन्छ।

उपहार पाउने व्यक्‍तिलाई के आवश्‍यक छ? कुनै उपहार सानो वा कम मूल्यको भए तापनि त्यसले उपहार पाउने व्यक्‍तिको कुनै खास आवश्‍यकता पूरा गर्छ भने उसले त्यो उपहारको कदर गर्छ। तर कसलाई के चाहिएको छ भनेर कसरी थाह पाउने?

उपहार दिन लागेको व्यक्‍तिलाई के चाहिएको छ भनेर सीधै सोध्दा सजिलो हुन सक्छ। तर थुप्रैले यसरी सोधेर उपहार दिनुभन्दा थाहै नदिई उपहार (सरप्राइज गिफ्ट) दिन मन पराउँछन्‌। कोही-कोही आफूलाई मन पर्ने अनि मन नपर्ने कुरा खुलस्त भएर बताउँछन्‌ तर आफूलाई चाहिएको कुराचाहिं त्यति बताउँदैनन्‌।

त्यसैले अरूको अवस्था राम्रोसँग बुझ्ने प्रयास गर्नुहोस्‌। के तिनी जवान, वृद्ध, अविवाहित, विवाहित, सम्बन्ध विच्छेद भएको, जागिरे वा अवकाश प्राप्त व्यक्‍ति हुन्‌? त्यस्तो अवस्थामा के उपहार दिंदा तिनको खास आवश्‍यकता पूरा हुन्छ, सोच्नुहोस्‌।

उपहार दिन लागेको व्यक्‍तिलाई कुन कुरा आवश्‍यक छ भनेर बुझ्न तिनको जस्तै परिस्थिति भएका व्यक्‍तिहरूसँग कुरा गर्नुहोस्‌। तिनीहरूले अरूलाई त्यति थाह नभएको विशेष आवश्‍यकताबारे तपाईंलाई बताउन सक्छन्‌। यसरी तपाईं पाउने व्यक्‍तिको आवश्‍यकता पूरा गर्ने अनि अरूले त्यति नसोचेको उपहार दिन सक्नुहुन्छ।

समय। बाइबल यसो भन्छ, “ठीक बेलामा भनिएको कुरा झन्‌ कति असल हुन्छ।” (हितोपदेश १५:२३) यस पदले बताएअनुसार हामी कुन कुरा कुन समयमा बोल्छौं त्यसले ठूलो अर्थ राख्छ। यो कुरा हामीले गर्ने काममा पनि लागू हुन्छ। जसरी ठिक समयमा बोलेको कुराले सुन्‍ने व्यक्‍तिलाई खुसी बनाउँछ त्यसरी नै ठिक समयमा वा उपयुक्‍त अवसरमा दिइएको उपहारले पाउने व्यक्‍तिको खुसी बढाउँछ।

तपाईंको साथीको विवाह हुँदै छ। कुनै जवान भाइ वा बहिनी जाँचमा पास भयो। कुनै दम्पतीको बच्चा हुँदै छ भन्‍ने खबर पाउनुभयो। यी अवसरहरू वा यस्तै थुप्रै अवसरहरूमा हामी उपहार दिन सक्छौं। कोही-कोही अर्को वर्ष कस्ता विशेष अवसरहरू छन्‌ भनेर सूची तयार पार्ने गर्छन्‌। यसो गर्दा तिनीहरूले त्यस्ता अवसरहरूमा कस्तो उपहार दिंदा बेस होला भनेर पहिल्यै विचार गर्ने मौका पाउँछन्‌।a

तर यसको मतलब तपाईंले उपहार दिन कुनै खास अवसर नै कुर्नुपर्छ भन्‍ने छैन। हामी जुनसुकै बेला उपहार दिएर खुसी हुन सक्छौं। तर विचार गर्नुपर्ने कुरा भनेको हामी किन उपहार दिंदै छौं, त्यसको कारण स्पष्ट हुनुपर्छ। उदाहरणको लागि, एक जना केटाले कुनै केटीलाई कारणै विना उपहार दिन्छ भने उक्‍त केटीले के सोच्छिन्‌ होला? सायद आफूप्रति चासो भएकोले वा आफूसँग नजिक हुन चाहेकोले त्यस केटाले उपहार दिएको हो भन्‍ने निष्कर्षमा पुग्न सक्छिन्‌। त्यसैले कुनै खास कारणै विना उपहार दिइन्छ भने त्यसले गलतफहमी वा समस्या निम्त्याउन सक्छ। त्यसैले उपहार दिने व्यक्‍तिको मनसाय बुझ्नु पनि महत्त्वपूर्ण छ।

दिने व्यक्‍तिको मनसाय। माथिको उदाहरणले देखाएअनुसार कहिलेकाहीं उपहार पाउने व्यक्‍तिले उपहार दिने व्यक्‍तिको मनसायमा गलत अर्थ लगाउन सक्छ। त्यसैले उपहार दिंदा सजग हुनुपर्छ। साथै उपहार दिने व्यक्‍तिले पनि आफ्नो मनसाय केलाउनुपर्छ। थुप्रै जना खुसीसाथ उपहार दिन्छन्‌ तर कहिलेकाहीं चाहिं तिनीहरू बाध्य भएर उपहार दिन्छन्‌। कोही-कोही चाहिं उपहार पाउने व्यक्‍तिबाट केही पाउने आशा गरेर उपहार दिन्छन्‌।

आफूले असलै मनसाय राखेर उपहार दिंदै छु भनेर पक्का गर्न तपाईं के गर्न सक्नुहुन्छ? बाइबल भन्छ, “तिमीहरूबीच सबै काम प्रेमपूर्वक भएको होस्‌।” (१ कोरिन्थी १६:१४) यदि तपाईंले असल मनसायले अनि अरूको ख्याल राखेर उपहार दिनुहुन्छ भने तिनले त्यो उपहार खुसीसाथ स्विकार्नेछन्‌। साथै यसरी उदार भएर उपहार दिंदा तपाईं पनि आनन्दित हुन सक्नुहुनेछ। मनैदेखि दिनुहुन्छ भने तपाईंले स्वर्गमा बस्नुहुने बुबालाई पनि खुसी बनाइरहनुभएको हुनेछ। यहूदियामा भएका ख्रीष्टियनहरूलाई उदार अनि खुसी भई कोरिन्थका ख्रीष्टियनहरूले मदत गरे। यस कुराको पावलले निकै प्रशंसा गरे। पावलले तिनीहरूलाई यसो भने, “किनकि खुसीसाथ दिनेलाई परमेश्‍वर प्रेम गर्नुहुन्छ।”—२ कोरिन्थी ९:७.

यस लेखमा छलफल गरिएका कुराहरूलाई ध्यान दिनुभयो भने तपाईंको उपहारले अरूलाई आनन्दित बनाउनेछ। परमेश्‍वरले मानिसजातिलाई दिनुभएको सबैभन्दा उत्तम उपहारमा यी तथा अन्य थुप्रै कुरा मुछिएका छन्‌। परमेश्‍वरले मानिसजातिलाई दिनुभएको यो अनमोल उपहार के हो भनेर बुझ्न कृपया अर्को लेख पढ्‌नुहोस्‌।

a थुप्रै मानिस चाडबाड वा जन्मदिनको बेला उपहारहरू दिने गर्छन्‌। तर यी चलनहरू प्रायः बाइबलले सिकाउने कुरासित बाझिन्छ। यस पत्रिकामा भएको “हाम्रा पाठकहरू सोध्छन्‌—के ख्रीष्टियनहरूले क्रिसमस मनाउनु हुन्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने