प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 अक्टोबर पृ. १२-१६
  • सत्यले ‘शान्ति होइन तर फूट गराउँछ’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सत्यले ‘शान्ति होइन तर फूट गराउँछ’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परिवारका सदस्यहरूको विरोधप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?
  • बेग्लै धर्म मान्‍ने पति वा पत्नी
  • साँचो उपासनाको विरोध गर्ने आफन्तहरू
  • परिवारको सदस्यले यहोवालाई त्याग्दा
  • पाठकहरूको प्रश्‍न
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • बेग्लाबेग्लै धर्म मान्‍ने परिवारहरू पनि आनन्दित हुन सक्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • गैर-साक्षी पति वा पत्नीलाई मदत गर्न तपाईं अघि बढ्‌न सक्नुहुन्छ कि?
    हाम्रो राज्य सेवकाई—२०१०
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 अक्टोबर पृ. १२-१६
एक जना भाइको आफन्तले तिनको विश्‍वासमाथि प्रश्‍न उठाउँदै

सत्यले ‘शान्ति होइन तर फूट गराउँछ’

“म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नसम्झ; म शान्ति ल्याउन होइन तर फूट गराउन आएको हुँ।”—मत्ती १०:३४.

गीत: १२५, १३५

हामीले के सिक्यौं?

  • येशूले कस्तो “फूट”-बारे बताउनुभयो?

  • आफन्तहरूले साँचो उपासनाको विरोध गर्दा तपाईं कसरी यहोवाप्रति वफादार रहिरहन सक्नुहुन्छ?

  • परिवारको सदस्यले यहोवालाई त्याग्दा हुने पीडा तपाईं कसरी सहन सक्नुहुन्छ?

१, २. (क) अहिले हामीसित कस्तो शान्ति छ? (ख) अहिले हामीलाई पूर्ण रूपमा शान्तिसित बस्न गाह्रो हुनुको कारण के हो? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्‌)

हामी कुनै चिन्ताविना शान्तिसित बाँच्न चाहन्छौं। यहोवाले हामीलाई “परमेश्‍वरको शान्ति” दिनुभएकोमा कत्ति खुसी छौं! किनभने चिन्तित हुँदा र मनमा बेचैनी हुँदा यस्तो मनोशान्तिले हामीलाई जोगाउँछ। (फिलि. ४:६, ७) हामीले यहोवालाई आफ्नो जीवन समर्पण गरेका छौं। त्यसैले हामीले “परमेश्‍वरसित शान्तिमय सम्बन्ध” अर्थात्‌ उहाँसित राम्रो सम्बन्ध पनि कायम गर्न सकेका छौं।—रोमी ५:१.

२ तर परमेश्‍वरले पृथ्वीमा पूर्ण रूपमा शान्ति ल्याउनुहुने समय अझै आइसकेको छैन। अन्तको दिनमा बाँचिरहेकोले हामी विभिन्‍न किसिमको तनाव झेल्छौं अनि धेरैजसो मानिस झगडालु स्वभावका छन्‌। (२ तिमो. ३:१-४) हामी साँचो ख्रीष्टियनहरूले सैतान र त्यसले बढावा दिने झूटा शिक्षाहरूविरुद्ध आध्यात्मिक लडन्त लड्‌नुपर्छ। (२ कोरि. १०:४, ५) तर हाम्रो शान्ति खल्बल्याउने मुख्य कारण बेग्लै धर्म मान्‍ने हाम्रा आफन्तहरू हुन सक्छन्‌। तिनीहरूले हाम्रो विश्‍वासको खिल्ली उडाउलान्‌, परिवार भाँड्‌नेहरू भन्‍ने आरोप लगाउलान्‌ वा यो धर्म नत्याग्ने हो भने हामीलाई छोड्‌ने धम्कीसमेत देलान्‌। परिवारका सदस्यहरूबाट आउने यस्तो विरोधप्रति हामीले कस्तो दृष्टिकोण राख्नुपर्छ? अनि यस्तो विरोध आइपर्दा हामी कसरी शान्ति कायम गर्न सक्छौं?

परिवारका सदस्यहरूको विरोधप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

३, ४. (क) येशूका शिक्षाहरूले कस्तो असर पार्छ? (ख) येशूको पछि लाग्न खासगरि कस्तो अवस्थामा गाह्रो हुन्छ?

३ येशूलाई आफ्नो शिक्षाले मानिसहरूमाझ फूट ल्याउनेछ अनि आफ्नो पछि लाग्नेहरूलाई खेदोको सामना गर्न साहस चाहिनेछ भनेर थाह थियो। यस्तो खेदोले परिवारका सदस्यहरूबीचको शान्ति खलबल्याउन सक्थ्यो। त्यसैले येशूले यसो भन्‍नुभयो: “म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नसम्झ; म शान्ति ल्याउन होइन तर फूट गराउन आएको हुँ। किनकि म छोरालाई बुबाको विरुद्ध, छोरीलाई आमाको विरुद्ध अनि बुहारीलाई सासूको विरुद्ध उठाएर फूट गराउन आएको हुँ। वास्तवमा मानिसको शत्रु उसको आफ्नै घरभित्रका मानिसहरू हुनेछन्‌।”—मत्ती १०:३४-३६, फुटनोट।

४ येशूले यस पदमा “म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नसम्झ” भन्‍नुभयो। येशूको पछि लाग्नेहरूले गाह्रो अवस्था भोग्नुपर्नेछ भनेर उहाँले आफ्ना श्रोताहरूलाई सजग गराउँदै हुनुहुन्थ्यो। किनभने उहाँको सन्देशले मानिसहरूमाझ फूट गराउन सक्थ्यो। हुन त येशूको मनसाय परमेश्‍वरबारे सत्य कुरा सिकाउने थियो, मानिसहरूबीचको सम्बन्ध बिगार्ने थिएन। (यूह. १८:३७) तर नजिकका साथीहरू वा परिवारका सदस्यहरूले सत्य नस्विकारेमा वफादार भई येशूको शिक्षाअनुसार चल्न सजिलो हुने थिएन।

५. येशूका चेलाहरूले कस्तो अनुभव गरेका छन्‌?

५ येशूले आफ्ना चेलाहरू दुःख भोग्न तयार हुनुपर्ने कुरा बताउँदा परिवारको विरोधले गर्दा आइपर्ने पीडाबारे पनि भन्‍न खोज्दै हुनुहुन्थ्यो। (मत्ती १०:३८) ख्रीष्टको चेला बन्‍न योग्य भएको कुरा प्रमाणित गर्न उहाँका चेलाहरूले परिवारबाट खिसीट्युरी सहेका छन्‌ अनि तिरस्कृतसमेत भएका छन्‌। तैपनि तिनीहरूले आफूले गुमाएको कुराभन्दा कैयौं गुणा पाएका छन्‌।—मर्कूस १०:२९, ३० पढ्‌नुहोस्‌।

६. आफन्तहरूले विरोध गर्दा हामीले कुन कुरा बिर्सनु हुँदैन?

६ यहोवाको उपासना गर्दा आफन्तहरूले विरोध गरे तापनि हामी तिनीहरूलाई माया गर्न छोड्‌दैनौं। तर यो कुरा भने बिर्सनु हुँदैन, हामीले सबैभन्दा बढी माया यहोवा र येशू ख्रीष्टलाई गर्नुपर्छ। (मत्ती १०:३७) सैतानले हाम्रो निष्ठा तोड्‌न परिवारप्रतिको मायालाई चलाउन सक्छ भनेर पनि बुझ्नुपर्छ। आउनुहोस्‌, परिवारबाट खेदो आउन सक्ने केही अवस्था विचार गरौं। अनि त्यस्तो खेदो आइपर्दा कसरी शान्ति कायम गर्न सक्छौं, हेरौं।

बेग्लै धर्म मान्‍ने पति वा पत्नी

७. बेग्लै धर्म मान्‍ने पति वा पत्नी भएकाहरूले आफ्नो अवस्थालाई कस्तो दृष्टिकोणले हेर्नुपर्छ?

७ बाइबल यस्तो चेतावनी दिन्छ: “जसले विवाह गर्छ, उसले शारीरिक दुःखकष्ट झेल्नेछ।” (१ कोरि. ७:२८) तपाईंको पति वा पत्नी बेग्लै धर्म मान्छन्‌ भने तपाईंले अझ धेरै तनाव र चिन्ता झेल्नुपर्ने हुन सक्छ। तर तपाईंले आफ्नो अवस्थालाई यहोवाको दृष्टिकोणबाट हेर्नु महत्त्वपूर्ण छ। तपाईंको पति वा पत्नी अहिले येशू ख्रीष्टको शिक्षाअनुसार चल्न चाहँदैनन्‌ होला। तर त्यसो भन्दैमा तिनीसित छुट्टिएर बस्न वा सम्बन्धविच्छेद गर्न मिल्दैन। (१ कोरि. ७:१२-१६) बेग्लै धर्म मान्‍ने पतिले आध्यात्मिक कुराहरूमा नेतृत्व नलिए तापनि तिनको आदर गर्नुपर्छ किनभने तिनी परिवारको शिर हुन्‌। त्यसैगरि, ख्रीष्टियन पतिले पनि बेग्लै धर्म मान्‍ने पत्नीलाई निःस्वार्थ प्रेम र कोमल स्नेह देखाउनुपर्छ।—एफि. ५:२२, २३, २८, २९.

८. तपाईंको पति वा पत्नीले तपाईंलाई यहोवाको उपासनामा धेरै समय बिताउन नदिंदा आफूलाई कस्ता प्रश्‍नहरू सोध्न सक्नुहुन्छ?

८ तपाईंको पति वा पत्नीले तपाईंलाई यहोवाको उपासनामा धेरै समय बिताउन दिएनन्‌ भने नि? एउटी बहिनीको अवस्था विचार गरौं: ती बहिनीलाई तिनको पतिले हप्ताको कुनै खास दिनहरू मात्र प्रचारमा जान पाउँछ्यौ भने। तपाईं पनि त्यस्तै अवस्थामा पर्नुभयो भने आफूलाई सोध्नुहोस्‌: ‘के तिनले मलाई यहोवाको सेवा गर्नै नदिने विचार गरेका हुन्‌? त्यसो होइन भने के म तिनको आग्रह मान्‍न सक्छु?’ व्यावहारिक हुनुभयो भने तपाईंले आफ्नो वैवाहिक जीवनमा अनावश्‍यक तनाव निम्त्याउनुहुनेछैन।—फिलि. ४:५.

९. बेग्लै धर्म मान्‍ने आमा वा बुबालाई आदर गर्न छोराछोरीलाई कसरी सिकाउन सकिन्छ?

९ बेग्लै धर्म मान्‍ने पति वा पत्नी भएको परिवारमा छोराछोरीलाई तालिम दिन झनै गाह्रो हुन सक्छ। उदाहरणको लागि, तपाईंले छोराछोरीलाई बाइबलको यो आज्ञा पालन गर्न सिकाउनुपर्छ: “तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू।” (एफि. ६:१-३) तर तपाईंको पति वा पत्नीले असल आचरण देखाउनेबारे बाइबलको उच्च स्तर पालन गर्दैनन्‌ भने नि? त्यस्तो अवस्थामा पनि तिनको आदर गरेर छोराछोरीको लागि राम्रो उदाहरण बसाल्नुहोस्‌। तिनको राम्रो गुणलाई ध्यान दिनुहोस्‌ अनि तिनले गरेका राम्रा कुराहरूका लागि कृतज्ञता व्यक्‍त गर्नुहोस्‌। छोराछोरीको अगाडि तिनीबारे नराम्रो कुरा नगर्नुहोस्‌। बरु यहोवाको सेवा गर्ने कि नगर्ने भनेर प्रत्येकले आफै निर्णय गर्नुपर्छ भनेर छोराछोरीलाई बुझाउनुहोस्‌। छोराछोरीको राम्रो आचरण देखेर बेग्लै धर्म मान्‍ने आमा वा बुबा साँचो धर्मप्रति आकर्षित हुन सक्छन्‌।

एउटी आमाले बिरुवा देखाएर छोरीलाई यहोवाबारे सिकाउँदै

मौका पाउनेबित्तिकै छोराछोरीलाई बाइबलको कुरा सिकाउनुहोस्‌ (अनुच्छेद १० हेर्नुहोस्‌)

१०. बेग्लै धर्म मान्‍ने पति वा पत्नी भएको परिवारमा छोराछोरीलाई कसरी बाइबलको कुरा सिकाउन सकिन्छ?

१० कहिलेकाहीं, बेग्लै धर्म मान्‍ने पति वा पत्नीले छोराछोरीलाई आफ्नो धर्मको चाडबाड मनाउन वा शिक्षा सिक्न दबाब दिन सक्छन्‌। छोराछोरीलाई बाइबलको कुरा सिकाउनदेखि केही पतिले आफ्नी पत्नीलाई रोक लगाउन सक्छन्‌। तैपनि ख्रीष्टियन पत्नीले छोराछोरीलाई बाइबलको कुरा सिकाउन सक्दो प्रयास गर्नेछिन्‌। (प्रेषि. १६:१; २ तिमो. ३:१४, १५) उदाहरणको लागि, साक्षी बहिनीका पतिले आफ्ना नाबालिग छोराछोरीलाई औपचारिक रूपमा बाइबल अध्ययन गराउन वा उनीहरूलाई सभामा लैजान निषेध गर्न सक्छन्‌। हुन त पत्नीले आफ्नो पतिका निर्णयको कदर गर्नुपर्छ। तैपनि उनले मौका मिल्नेबित्तिकै छोराछोरीलाई बाइबलबाट आफूले सिकेको कुरा बताउन सक्छिन्‌। यसरी उनले छोराछोरीलाई राम्रो आनीबानी सिकाउन र यहोवाबारे बताउन सक्छिन्‌। (प्रेषि. ४:१९, २०) तर कसको उपासना गर्ने भनेर पछि छोराछोरी आफैले निर्णय गर्नुपर्छ।—व्यव. ३०:१९, २०.a

साँचो उपासनाको विरोध गर्ने आफन्तहरू

११. बेग्लै धर्म मान्‍ने आफन्तहरूसित किन मतभेद हुन सक्छ?

११ यहोवाका साक्षीहरूसित सुरु-सुरुमा बाइबल अध्ययन गर्न थाल्दा हामीले आफन्तहरूलाई त्यसबारे केही बताएका थिएनौं होला। तर आफ्नो विश्‍वास बलियो हुँदै गएपछि आफन्तहरूलाई पनि यसबारे बताउनुपर्ने रहेछ भनेर बुझेका हुन सक्छौं। (मर्कू. ८:३८) यहोवाको पक्षमा उभिन साहस देखाउँदा तपाईं र बेग्लै धर्म मान्‍ने आफन्तहरूबीच मतभेद हुन सक्छ। त्यसो हो भने तिनीहरूसित शान्ति कायम गर्न अनि यहोवाप्रति वफादार रहन के गर्न सक्छौं, आउनुहोस्‌ विचार गरौं।

१२. बेग्लै धर्म मान्‍ने आफन्तहरूले किन हाम्रो विरोध गर्न सक्छन्‌? हामी कसरी उनीहरूको भावना बुझ्ने कोसिस गर्न सक्छौं?

१२ बेग्लै धर्म मान्‍ने आफन्तहरूको भावना बुझ्नुहोस्‌। बाइबलबाट राम्रा-राम्रा कुराहरू सिकिरहेकोले हामी एकदमै उत्साहित छौं होला। तर आफन्तहरूलाई भने अरूले हामीलाई झुक्क्याएको वा हामी कुनै धार्मिक गुटको सदस्य भएको जस्तो भान पर्न सक्छ। अनि पहिला मनाउँदै आएका चाडबाड उनीहरूसित नमनाउँदा उनीहरूलाई माया गर्न छोडेको जस्तो लाग्न सक्छ। हामीलाई पछि गएर केही अनिष्ट होला भनेर उनीहरूले चिन्ता व्यक्‍त गर्न सक्छन्‌। त्यसैले उनीहरूको दृष्टिकोण बुझ्ने कोसिस गर्नुपर्छ अनि उनीहरूलाई साँच्चै चिन्ता लागिरहेको कुरा के हो भनेर बुझ्न उनीहरूको कुरा ध्यान दिएर सुन्‍नुपर्छ। यसो गर्दा उनीहरूको भावना बुझ्ने कोसिस गरिरहेका हुन्छौं। (हितो. २०:५) प्रेषित पावलले “सबै किसिमका मानिसहरू”-लाई सुसमाचार सुनाउन उनीहरूको कुरा बुझ्ने प्रयास गरे। हामीले पनि त्यस्तै प्रयास गर्नु बेस हो।—१ कोरि. ९:१९-२३.

१३. बेग्लै धर्म मान्‍ने आफन्तहरूसित कस्तो बोली बोल्नुपर्छ?

१३ मीठो बोली बोल्नुहोस्‌। बाइबल यसो भन्छ: “तिमीहरूको बोली सधैं . . . दयालु होस्‌।” (कल. ४:६) आफन्तहरूसित कुरा गर्दा पवित्र शक्‍तिको फल देखाउन सकूँ भनेर यहोवासित पवित्र शक्‍ति माग्न सक्छौं। उनीहरूले मान्दै आएका सबै झूटा शिक्षाको खण्डन गर्दै उनीहरूसित निहुँ खोज्नु हुँदैन। उनीहरूको बोली वा व्यवहारले गर्दा चित्त दुखेको छ भने हामी प्रेषितहरूको उदाहरण अनुकरण गर्न सक्छौं। पावलले यस्तो लेखे: “गाली खाँदा हामी आशिष्‌ दिन्छौं, खेदो आइपर्दा हामी सहन्छौं, बदनाम हुँदा हामी मीठो वचनले बिन्ती गर्छौं।”—१ कोरि. ४:१२, १३.

१४. असल चालचलन देखाउनुका केही फाइदा के-के हुन्‌?

१४ असल चालचलन देखाउनुहोस्‌। हुन त आफन्तहरूले विरोध गर्दा मीठो बोली बोल्यौं भने शान्ति कायम गर्न सजिलो हुन्छ तर हाम्रो असल चालचलनले अझ राम्रो नतिजा ल्याउन सक्छ। (१ पत्रुस ३:१, २, १६ पढ्‌नुहोस्‌) यहोवाका साक्षीहरूको वैवाहिक जीवन सुखमय छ, उनीहरू छोराछोरीको राम्ररी हेरचाह गर्छन्‌, स्वच्छ र सन्तोषजनक जीवन बिताउँछन्‌ अनि उच्च नैतिक स्तर पालन गर्छन्‌ भन्‍ने कुरा आफन्तहरूले तपाईंको राम्रो उदाहरणबाट देख्न सकून्‌। हाम्रा आफन्तहरूले कहिल्यै सत्य स्विकारेनन्‌ भने पनि वफादार रहेर यहोवालाई खुसी पार्न सकेकोमा हामी रमाउन सक्छौं।

१५. भनाभन हुन सक्ने अवस्था आउन नदिन कसरी पहिल्यै तयारी गर्न सक्छौं?

१५ पहिल्यै तयारी गर्नुहोस्‌। कस्तो अवस्थामा झगडा हुन सक्छ अनि त्यतिबेला के गर्ने भनेर पहिल्यै विचार गर्नुहोस्‌। (हितो. १२:१६, २३) अस्ट्रेलियाकी एउटी बहिनी आफ्नो अनुभव यसरी सुनाउँछिन्‌: “मेरो ससुरालाई हामीले सत्य सिकेको पटक्कै मन पर्दैनथ्यो। उहाँलाई फोन गर्नुअघि मेरो श्रीमान्‌ र म यहोवालाई प्रार्थना गर्थ्यौं र उहाँसित भनाभन नहोस्‌ भनेर यहोवासित मदत माग्थ्‌यौं। उहाँलाई कस्ता विषयहरूमा कुराकानी गर्न मन पर्छ भनेर पहिल्यै सोचविचार गर्थ्यौं। लामो समय कुरा गर्दा अक्सर धर्मबारे चर्काचर्की हुने भएकोले उहाँसित कतिन्जेल कुरा गर्ने भनेर पहिल्यै निधो गर्थ्यौं।”

१६. आफन्तहरूको चित्त दुखाएँ जस्तो लाग्दा हामीले कुन कुरा बिर्सनु हुँदैन?

१६ बेग्लै धर्म मान्‍ने आफन्तहरूसित कहिल्यै मतभेद हुँदैन भनेर आशा गर्न मिल्दैन। उनीहरूसित भनाभन हुँदा तपाईंलाई आफूले गर्दा झगडा भएको जस्तो लाग्न सक्छ। किनभने तपाईं उनीहरूलाई असाध्यै माया गर्नुहुन्छ र उनीहरूको चित्त दुखाउन चाहनुहुन्‍न। तर यो कुरा नबिर्सनुहोस्‌, आफ्नो परिवारप्रतिको मायालाई भन्दा यहोवाप्रतिको वफादारीलाई पहिलो स्थान दिनु महत्त्वपूर्ण छ। तपाईंले यस्तो अडान लिनुभयो भने तपाईंको लागि बाइबलको शिक्षाअनुसार चल्नु भनेको जीवन कि मृत्यु जत्तिकै गम्भीर कुरा रहेछ भनेर उनीहरूले बुझ्नेछन्‌। सत्य स्विकार्न तपाईं अरूलाई जबरजस्ती गर्न सक्नुहुन्‍न भनेर नबिर्सनुहोस्‌। बरु यहोवाको बाटोमा हिंड्‌दा तपाईंले कस्ता लाभ उठाउनुभएको छ भनेर उनीहरूले देख्न सकून्‌। हाम्रो मायालु परमेश्‍वरले हामीलाई कुन बाटोमा हिंड्‌ने भनेर छनौट गर्ने मौका दिनुभएको छ। उहाँले हाम्रा आफन्तहरूलाई पनि त्यस्तै मौका दिनुभएको छ।—यशै. ४८:१७, १८.

परिवारको सदस्यले यहोवालाई त्याग्दा

१७, १८. परिवारको सदस्यले यहोवालाई त्याग्दा हुने पीडा तपाईं कसरी सहन सक्नुहुन्छ?

१७ परिवारको सदस्य बहिष्कार हुँदा वा तिनले मण्डली परित्याग गर्दा तरबारले घोपेजस्तै पीडा हुन सक्छ। तपाईं यस्तो पीडा कसरी सहन सक्नुहुन्छ?

१८ आफ्नो आध्यात्मिक तालिकाअनुसार चल्न नछोड्‌नुहोस्‌। नियमित रूपमा बाइबल पढेर, सभाको लागि तयारी गर्नुका साथै त्यहाँ उपस्थित भएर, प्रचारकार्यमा भाग लिएर अनि सहने बलको लागि प्रार्थना गरेर आफूलाई बलियो बनाइराख्नुहोस्‌। (यहू. २०, २१) तर यी आध्यात्मिक गतिविधिमा आफ्नो मन लागेको छैन अनि झारा टार्न मात्र गरिरहेको छु जस्तो लागेमा के गर्न सक्नुहुन्छ? हार नमान्‍नुहोस्‌! किनभने राम्रो आध्यात्मिक तालिकाले तपाईंलाई आफ्नो सोचाइ र भावनालाई वशमा राख्न मदत गर्नेछ। भजन ७३ का लेखकको अनुभव विचार गर्नुहोस्‌। तिनको मनमा गलत सोचाइ आउन थालेको थियो र तिनी असाध्यै विचलित भएका थिए। तर परमेश्‍वरको पवित्रस्थानमा पसेपछि तिनले आफ्नो सोचाइलाई सच्याउन सके। (भज. ७३:१६, १७) वफादार भई यहोवाको उपासना गरिरहनुभयो भने तपाईंले पनि आफ्नो सोचाइ सच्याउन मदत पाउनुहुनेछ।

१९. यहोवाले दिनुहुने अनुशासनप्रति हामी कसरी आदर देखाउन सक्छौं?

१९ यहोवाले दिनुहुने अनुशासनप्रति आदर देखाउनुहोस्‌। परमेश्‍वरले अनुशासन दिनुहुँदा त्यसले गल्ती गर्ने व्यक्‍तिको मात्र होइन सबैको हित गर्छ भनेर उहाँलाई थाह छ। आफूले माया गरेको व्यक्‍तिलाई अनुशासन दिइँदा असाध्यै पीडादायी हुन्छ। तर त्यसले गल्ती गर्ने व्यक्‍तिलाई यहोवाकहाँ फर्कन मदत गर्न सक्छ। (हिब्रू १२:११ पढ्‌नुहोस्‌) त्यतिन्जेल यहोवाले दिनुहुने अनुशासनप्रति आदर देखाउँदै अपश्‍चात्तापी मानिसहरूसित ‘सङ्‌गत गर्न छोड्‌नू’ भन्‍ने उहाँको निर्देशन पालन गर्नुपर्छ। (१ कोरि. ५:११-१३) यसो गर्नु सजिलो कुरा होइन। तैपनि बहिष्कार भएका व्यक्‍तिसित टेलिफोन गरेर, मेसेज पठाएर, चिठी लेखेर, इमेल पठाएर वा कुनै सामाजिक सञ्जालमार्फत कुराकानी गरिरहनु हुँदैन।

२०. हामीले कुन कुराको आशा गरिरहनुपर्छ?

२० आशा नमार्नुहोस्‌। प्रेमले “सबै कुराको आशा गर्छ।” (१ कोरि. १३:७) यसले यहोवालाई त्यागेर गएको व्यक्‍ति फेरि फर्कनेछ भन्‍ने आशा पनि गर्छ। परिवारका त्यस सदस्यको मनोवृत्तिमा परिवर्तन आइरहेको देख्नुभएमा तिनको लागि प्रार्थना गर्न सक्नुहुन्छ। तिनले बाइबलबाट बल पाऊन्‌ र “मतिर फर्की” भन्‍ने यहोवाको आग्रह स्विकारून्‌ भनेर प्रार्थना गर्न सक्नुहुन्छ।—यशै. ४४:२२.

२१. येशूको पछि लाग्दा परिवारमा फूट आयो भने के गर्नुपर्छ?

२१ हामीले अरू कुनै पनि मानिसलाई भन्दा येशूलाई धेरै माया गर्नुपर्छ, अन्यथा हामी उहाँको चेला हुन योग्य हुनेछैनौं भनेर येशूले बताउनुभयो। परिवारबाट खेदो आए तापनि चेलाहरूले उहाँप्रति वफादार रहन साहस देखाउनेछन्‌ भन्‍ने कुरामा येशू ढुक्क हुनुहुन्थ्यो। येशूको पछि लाग्दा तपाईंको परिवारमा “फूट” आएको छ भने शान्ति कायम गर्न यहोवामा भर पर्नुहोस्‌ र उहाँसित मदत माग्नुहोस्‌। (यशै. ४१:१०, १३) यहोवा र येशू तपाईंसित खुसी हुनुहुन्छ अनि तपाईं वफादार रहनुभएकोमा उहाँहरूले इनाम दिनुहुनेछ भनी थाह पाउँदा आनन्दित हुनुहोस्‌!

a आमाबुबामध्ये एक जना मात्र साक्षी भएको परिवारमा छोराछोरीलाई तालिम दिनेबारे थप जानकारीको लागि अगस्त १५, २००२ को प्रहरीधरहरा-मा “पाठकहरूका प्रश्‍नहरू” हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने