प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 अक्टोबर pp. २१-२५
  • जकरियाले देखेका दर्शनहरूले तपाईंलाई कस्तो असर गर्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जकरियाले देखेका दर्शनहरूले तपाईंलाई कस्तो असर गर्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • चोर्नेहरूमाथि परमेश्‍वरको सजाय
  • “दिनहुँ” आफ्नो वाचाअनुसार जिउनुहोस्‌
  • दुष्टतालाई “त्यसकै स्थानमा राखिनेछ”
  • स्वच्छ मानिसहरू यहोवाको आदर गर्छन्‌
  • रथहरू अनि मुकुटले तपाईंलाई सुरक्षा दिन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • जकरियाले देखेको कुरा के तपाईँ पनि देख्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • तिमीहरूका हातहरू बलिया होऊन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • हाग्गै र जकरियाको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 अक्टोबर pp. २१-२५
पत्रको मुठा उडिरहेको; टोकरीभित्र एउटी स्त्री बसिरहेकी; सारसको जस्तो पखेटा भएका दुइटी स्त्री उडिरहेका

जकरियाले देखेका दर्शनहरूले तपाईंलाई कस्तो असर गर्छ?

“मतिर फर्की आऊ, . . . अनि म तिमीहरूतिर फर्कनेछु।”—जक. १:३.

गीत: १२०, ११७

हामीले के सिक्यौं?

  • यहोवा सबै प्रकारको चोरीलाई कस्तो ठान्‍नुहुन्छ?

  • हामी कसरी “दिनहुँ” आफ्नो वाचाअनुसार जिउन सक्छौं?

  • यहोवाको घरलाई दुष्टताबाट अलग राख्न हामी के गर्न सक्छौं?

१-३. (क) जकरियाले भविष्यवाणी गर्न थाल्दा यहोवाका जनहरूको अवस्था कस्तो थियो? (ख) यहोवाले आफ्ना जनहरूलाई किन “मतिर फर्की आऊ” भन्‍नुभयो?

जकरियाले यस्ता अचम्मलाग्दा दर्शनहरू देखे—पत्रको मुठा उडिरहेको, टोकरीभित्र एउटी स्त्री बसिरहेकी अनि सारसको जस्तो पखेटा भएका दुइटी स्त्री उडिरहेका। (जक. ५:१, ७-९) यहोवाले जकरियालाई किन यस्ता अनौठा दर्शनहरू देखाउनुभयो? त्यतिबेला इस्राएलीहरूको अवस्था कस्तो थियो? जकरियाले देखेका ती दर्शनहरूले अहिले हामीलाई कस्तो असर गर्छ?

२ यहोवाका जनहरूको लागि ईसापूर्व ५३७ असाध्यै हर्षमय थियो। किनभने तिनीहरू भर्खरै बेबिलोनको निर्वासनबाट मुक्‍त भएका थिए, जहाँ तिनीहरूले ७० वर्ष बिताएका थिए। तिनीहरू यरूशलेम फर्केर साँचो उपासना पुनर्स्थापित गर्न एकदमै उत्साहित थिए। त्यसैले तिनीहरूले तुरुन्तै काम सुरु गरिहाले। तिनीहरूले ईसापूर्व ५३६ मा मन्दिरको जग बसाले। त्यतिबेला “मानिसहरूले कराएको स्वर यति चर्को थियो कि त्यो आवाज टाढा-टाढासम्म पनि सुनिन्थ्यो।” (एज्रा ३:१०-१३) तर धेरै समय नबित्दै त्यस निर्माणकार्यले चर्को विरोध खेप्नुपऱ्‍यो। चर्को विरोध अनि कठिनाइहरू आएकोले मानिसहरू निराश भए अनि निर्माणकार्य छोडेर गए। तिनीहरू आ-आफ्नै घर बनाउन अनि खेतीपाती गर्नतिर लागे। जग बसालेको १६ वर्ष बितिसक्दा पनि निर्माणकार्य ठप्प नै थियो। त्यसैले यहोवाका जनहरूलाई उहाँकहाँ फर्कन अनि आफ्नै कामकुराको पछि नदौडन सम्झाउनुपरेको थियो। तिनीहरू आफूकहाँ फर्केको अनि निडर भई पूरा तनमनले उपासना गरेको यहोवा चाहनुहुन्थ्यो।

३ यहोवाले आफ्ना जनहरूलाई बेबिलोनबाट मुक्‍त गर्नुको कारण सम्झाउन उहाँले ईसापूर्व ५२० मा भविष्यवक्‍ता जकरियालाई पठाउनुभयो। जकरिया नामको अर्थ हो, “यहोवाले सम्झनुभएको छ।” त्यसैले यहोवाले जकरिया भविष्यवक्‍तालाई पठाउनु रोचक छ। यहोवाले इस्राएलीहरूलाई कसरी बचाउनुभएको थियो भनेर तिनीहरूले बिर्से तापनि उहाँले भने आफ्ना जनहरूलाई बिर्सनुभएको थिएन। (जकरिया १:३, ४ पढ्‌नुहोस्‌) शुद्ध उपासना पुनर्स्थापित गर्न मदत गर्नेछु भनेर यहोवाले तिनीहरूलाई मायालु आश्‍वासन दिनुभयो। तर तिनीहरूले पूरा तनमनले उहाँको सेवा नगरेमा त्यस्तो उपासना स्विकार्नुहुनेछैन भनेर उहाँले कडा चेतावनी पनि दिनुभयो। आउनुहोस्‌, जकरियाले देखेका छैटौं र सातौं दर्शनमार्फत यहोवाले आफ्ना जनहरूलाई कदम चाल्न कसरी जुरमुऱ्‍याउनुभयो, हेरौं। साथै, त्यसबाट अहिले हामी कस्तो पाठ सिक्न सक्छौं, त्यो पनि बुझौं।

चोर्नेहरूमाथि परमेश्‍वरको सजाय

४. जकरियाले छैटौं दर्शनमा के देखे? मुठाको दुवैपट्टि लेखिनु किन उल्लेखनीय छ? (शीर्षकमाथिको चित्र १ हेर्नुहोस्‌)

४ जकरिया अध्याय ५ को सुरुमा तिनले देखेको अनौठो दर्शनबारे बताइएको छ। (जकरिया ५:१, २ पढ्‌नुहोस्‌) जकरियाले आकाशमा एउटा पत्रको मुठा उडिरहेको देख्छन्‌। त्यसको लम्बाइ २० हात (९ मिटर) र चौडाइ १० हात (४.५ मिटर) थियो। त्यो मुठा बेह्रिएको थिएन, त्यसैले त्यसमा लेखिएको कुरा सजिलै पढ्‌न सकिन्थ्यो। त्यसमा न्यायको सन्देश थियो र अगाडि-पछाडि दुवैतिर लेखिएको थियो। (जक. ५:३) सामान्यतया मुठाको एकापट्टि मात्र लेखिन्थ्यो। तर त्यस मुठामा भने दुवैपट्टि लेखिएको हुँदा त्यसको सन्देश अत्यन्तै गहन र महत्त्वपूर्ण थियो भनेर बुझ्न सक्छौं।

एउटी केटी पसलबाट कालो चस्मा चोर्दै

साँचो उपासकहरूमाझ कुनै पनि प्रकारको चोरीको लागि ठाउँ छैन (अनुच्छेद ५-७ हेर्नुहोस्‌)

५, ६. यहोवा सबै प्रकारको चोरीलाई कस्तो ठान्‍नुहुन्छ?

५ जकरिया ५:३, ४ पढ्‌नुहोस्‌। हुन त सबै मानिस यहोवाप्रति जबाफदेही छन्‌ तर उहाँको नाम वहन गर्ने मानिसहरू झन्‌ धेरै जबाफदेही छन्‌। चोरी सानो होस्‌ या ठूलो, त्यसले “परमेश्‍वरको नाउँमा कलंक” लगाउँछ भनेर यहोवालाई प्रेम गर्ने मानिसहरूलाई थाह छ। (हितो. ३०:८, ९) कुनै-कुनै अवस्थामा चोरी गर्नुको मनसाय जायज देखिएला वा त्यस चोरीलाई माफ गर्न सकिन्छ जस्तो लाग्ला। तर वास्तवमा चोरले परमेश्‍वरलाई भन्दा आफ्नो स्वार्थी इच्छालाई महत्त्व दिइरहेको हुन्छ। भनौं भने, उसले परमेश्‍वरलाई भन्दा भौतिक कुरालाई पहिलो स्थान दिइरहेको हुन्छ। उसले यहोवा र उहाँको नामलाई केही मोलको नठानी वा त्यसको कुनै पर्बाह नगरी परमेश्‍वरको नियमलाई तुच्छ ठानिरहेको हुन्छ।

६ के तपाईंले जकरिया ५:३, ४ का यी शब्दहरू याद गर्नुभयो: ‘चोरको घरमा सराप पस्नेछ, र त्यस घरभित्र रहेर त्यसको काठपात र ढुङ्‌गासमेतलाई त्यसले खाइदिनेछ’? यहोवाको सजायलाई कुनै पनि कुराले छेक्न सक्दैन। यहोवाका जनहरूमाझ कसैले केही गलत काम गऱ्‍यो भने त्यो कुनै हालतमा लुकाउन सकिंदैन। त्यसलाई अख्तियारवाला, मालिक, एल्डर वा आमाबुबाबाट लुकाउन सकिएला तर परमेश्‍वरबाट भने लुकाउन सकिंदैन। किनभने उहाँले सबै प्रकारको चोरी उदाङ्‌ग पार्ने प्रतिज्ञा गर्नुभएको छ। (हिब्रू ४:१३) “सबै कुरामा इमानदार” हुन कोसिस गर्ने मानिसहरूसित सङ्‌गत गर्न पाउँदा हामी कत्ति खुसी छौं!—हिब्रू १३:१८.

७. उडिरहेको पत्रको मुठाको दर्शनबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

७ यहोवा कुनै पनि प्रकारको चोरी मन पराउनुहुन्‍न। यहोवाको उच्च नैतिक स्तरअनुसार जीवन बिताउनु अनि आफ्नो आचरणले उहाँको नाममा कलङ्‌क लाग्न नदिनु हाम्रो लागि ठूलो सम्मानको कुरा हो। यसरी जीवन बितायौं भने हामी यहोवाको सजायदेखि जोगिनेछौं किनभने जानाजानी उहाँको आज्ञा उल्लङ्‌घन गर्नेहरूलाई उहाँले सजाय दिनुहुनेछ।

“दिनहुँ” आफ्नो वाचाअनुसार जिउनुहोस्‌

८-१०. (क) शपथ भनेको के हो? (ख) राजा सिदकियाहले कुन शपथ पूरा गरेनन्‌?

८ उडिरहेको पत्रको मुठामा लेखिएको अर्को चेतावनी परमेश्‍वरको नाउँमा “झूटो शपथ” खानेहरूको लागि थियो। (जक. ५:४) शपथ भनेको कुनै कुरा सही हो भनेर कसम खानु वा कुनै कुरा गर्छु वा गर्दिनँ भनेर गम्भीर वाचा गर्नु हो।

९ यहोवाको नाममा शपथ खानु भनेको अत्यन्तै गम्भीर कुरा हो। यो कुरा हामी यरूशलेममा शासन गर्ने अन्तिम राजा सिदकियाहको शपथबाट बुझ्न सक्छौं। सिदकियाहले आफू बाबेलको राजाको आज्ञाअनुसार चल्नेछु भनेर यहोवाको नाममा शपथ खाएका थिए। तर तिनले आफ्नो शपथ पूरा गरेनन्‌। त्यसकारण यहोवाले तिनलाई यस्तो सजाय सुनाउनुभयो: “जस्तो म जीवित छु, . . . [सिदकियाहलाई] शपथ खुवाउने जुन राजाको शपथ त्यसले तुच्छ ठान्यो, औ जससँगको करार त्यसले भङ्‌ग गऱ्‍यो, त्यो निश्‍चय त्यही राजाको मुलुक अर्थात्‌ बाबेलमा मर्नेछ।”—इज. १७:१६.

१० राजा सिदकियाहले यहोवाको नाममा शपथ खाएको हुँदा तिनले त्यो शपथ पूरा गरेको उहाँ चाहनुहुन्थ्यो। (२ इति. ३६:१३, NRV) तिनले त्यसो गर्नुको साटो बाबेलको दासत्वबाट मुक्‍त हुन मिश्रको मदत मागे तर त्यो बेकार साबित भयो।—इज. १७:११-१५, १७, १८.

११, १२. (क) हामीले गर्ने सबैभन्दा महत्त्वपूर्ण वाचा कुन हो? (ख) आफ्नो समर्पण वाचा पूरा गरिरहेका छौं भनेर दैनिक जीवनमा कसरी देखाउन सक्छौं?

११ हामीले गरेका प्रतिज्ञा पनि यहोवा सुन्‍नुहुन्छ। हामीले गर्ने वाचाहरूलाई यहोवा गम्भीर कुरा ठान्‍नुहुन्छ। त्यसैले उहाँको अनुमोदन पाउन हामीले आफ्नो वाचा अर्थात्‌ भाकल पूरा गर्नै पर्छ। (भज. ७६:११) हामी विभिन्‍न प्रतिज्ञा गर्छौं। तर सबैभन्दा महत्त्वपूर्ण प्रतिज्ञा भनेको यहोवालाई आफ्नो जीवन समर्पण गर्दाखेरिको हो। समर्पण गर्नु भनेको कुनै शर्त नराखी यहोवाको सेवा गर्नेछु भन्‍ने गम्भीर वाचा गर्नु हो।

१२ हामी कसरी आफ्नो समर्पण वाचा पूरा गर्न सक्छौं? हामी जीवनमा साना-ठूला परीक्षाहरू भोगिरहन्छौं। त्यसैले हामी “दिनहुँ” कस्तो अडान लिन्छौं, त्यसले हामी यहोवासितको वाचालाई कत्तिको गम्भीरतापूर्वक लिन्छौं भनेर देखाउँछ। (भज. ६१:८) जस्तै, काम गर्ने ठाउँमा वा स्कुलमा कसैले हामीलाई मन पराएको भान पर्नेगरि जिस्काएमा के गर्छौं? त्यतिबेला के हामी त्यसको प्रतिरोध गर्छौं अनि त्यसलाई यहोवाको ‘बाटोमा’ हिंड्‌ने मौकाको रूपमा लिन्छौं? (हितो. २३:२६, NRV) अथवा परिवारमा तपाईं मात्र यहोवाको उपासना गर्नुहुन्छ भने नि? के तपाईं यस्तो अवस्थामा पनि यहोवालाई मन पर्ने तरिकामा जीवन बिताइरहन सकूँ भनेर उहाँसित मदत माग्नुहुन्छ? के हामी स्वर्गमा बस्नुहुने मायालु बुबालाई दिनहुँ प्रार्थना गर्छौं? अनि उहाँको प्रजा हुने मौका दिनुभएकोमा र हामीलाई माया गर्नुभएकोमा के उहाँलाई धन्यवाद चढाउँछौं? के हामी दिनहुँ बाइबल पढ्‌न समय निकाल्दै छौं? समर्पण वाचा गर्दा वास्तवमा हामीले यी कुराहरू गर्ने प्रतिज्ञा गरेका थिएनौं र? आफ्नो समर्पणअनुसार जिउनु भनेको परमेश्‍वरप्रति आज्ञाकारी हुनु हो। यहोवाको उपासना गर्न सक्दो गऱ्‍यौं भने उहाँलाई प्रेम गर्छौं र उहाँप्रति साँच्चै समर्पित छौं भनेर देखाइरहेका हुन्छौं। हाम्रो उपासना हाम्रो जीवनको अभिन्‍न भाग हो, केवल एउटा औपचारिकता होइन। आफ्नो वाचा पूरा गर्दा हाम्रै भलाइ हुन्छ; यहोवाप्रति वफादार रहँदा हाम्रो भविष्य उज्ज्वल हुन्छ।—व्यव. १०:१२, १३.

१३. जकरियाले देखेको छैटौं दर्शनबाट हामी के सिक्न सक्छौं?

१३ जकरियाले देखेको छैटौं दर्शनबाट यहोवालाई प्रेम गर्नेहरूले कुनै प्रकारको चोरी गर्नु हुँदैन अनि झूटो शपथ खानु हुँदैन भनेर बुझ्न सक्यौं। इस्राएलीहरूले पटक-पटक गल्ती गरे तापनि यहोवाले तिनीहरूलाई त्याग्नुभएन भनेर पनि बुझ्यौं। चारैतिर शत्रुहरू भएको अवस्थामा बस्नुपर्दा तिनीहरूलाई कत्ति गाह्रो थियो भनेर उहाँले बुझ्नुभएको थियो। यहोवाले आफ्नो वाचा पूरा गर्ने सन्दर्भमा राम्रो उदाहरण बसाल्नुभएको छ। उहाँले हामीलाई पनि आफ्नो वाचाअनुसार जिउन मदत गर्नुहुनेछ। उहाँले मदत गर्नुहुने एउटा तरिका भनेको भविष्यको लागि सुन्दर आशा दिनुभएर हो। उहाँले पूरै पृथ्वीबाट दुष्टता हटाउने प्रतिज्ञा गर्नुभएको छ। त्यस आशाले पनि हामीलाई आफ्नो वाचाअनुसार जिउन मदत गर्छ। यो सुन्दर आशाबारे जकरियाले देखेको सातौं दर्शनले बताउँछ।

दुष्टतालाई “त्यसकै स्थानमा राखिनेछ”

१४, १५. (क) जकरियाले सातौं दर्शनमा के देखे? (शीर्षकमाथिको चित्र २ हेर्नुहोस्‌) (ख) टोकरीभित्र बसेकी स्त्रीले केलाई बुझाउँछ? स्वर्गदूतले किन टोकरीको मुख छोपिदिन्छन्‌?

१४ उडिरहेको पत्रको मुठाको दर्शन देखिसकेपछि स्वर्गदूतले जकरियालाई माथि “आँखा उचालेर हेर” भन्छन्‌। तिनी सातौं दर्शनमा के देख्छन्‌? तिनले एउटा टोकरी देख्छन्‌, जसलाई “एपा” भनिन्थ्यो अनि तिनले त्यो टोकरी निस्केर आइरहेको देख्छन्‌। (जकरिया ५:५-८ पढ्‌नुहोस्‌) त्यो टोकरीमा “शीशाको ढकनी” छ। ढकनी खोलेपछि जकरियाले ‘एउटी स्त्री त्यसभित्र बसिरहेकी’ देख्छन्‌। स्वर्गदूतले टोकरीभित्र बसेकी त्यस स्त्री “दुष्टता” हो भनेर बताउँछन्‌। त्यस स्त्री टोकरीबाट बाहिर निस्कन खोजिरहेको देख्दा जकरिया कत्ति अत्तालिए होलान्‌, कल्पना गर्नुहोस्‌ त! तर स्वर्गदूतले तुरुन्तै त्यस स्त्रीलाई टोकरीभित्र धकेलिदिन्छन्‌ र गह्रुङ्‌गो ढकनीले टोकरीको मुख छोपिदिन्छन्‌। यसको अर्थ के हो?

१५ यस विवरणबाट यहोवाले आफ्ना जनहरूमाझ कुनै पनि प्रकारको दुष्टता सहनुहुनेछैन भनेर प्रस्ट हुन्छ। उहाँले दुष्टतालाई तिनीहरूको बीचबाट हटाउन तुरुन्तै कदम चाल्नुहुनेछ। (१ कोरि. ५:१३) यो कुरा स्वर्गदूतले टोकरीको मुख तुरुन्तै गह्रुङ्‌गो ढकनीले छोपिदिएको विवरणबाट थाह पाउँछौं।

सारसको जस्तो पखेटा भएका दुइटी स्त्री “दुष्टता” राखिएको टोकरी उठाएर शिनारतर्फ लैजाँदै

शुद्ध उपासनालाई बिटुलो हुन नदिन यहोवाले कुनै कसर बाँकी राख्नुभएको छैन (अनुच्छेद १६-१८ हेर्नुहोस्‌)

१६. (क) जकरियाले देखेको दर्शनमा टोकरीलाई के गरियो? (शीर्षकमाथिको चित्र ३ हेर्नुहोस्‌) (ख) पखेटा भएका स्त्रीहरूले टोकरीलाई कहाँ लैजान्छन्‌?

१६ त्यसपछि जकरियाले सारसको जस्तै बलवान्‌ पखेटा भएका दुइटी स्त्री उडिरहेका देख्छन्‌। (जकरिया ५:९-११ पढ्‌नुहोस्‌) टोकरीभित्र बसिरहेकी स्त्रीभन्दा यी दुइटी स्त्री कत्ति भिन्‍न छन्‌! यी दुई स्त्री आफ्ना बलवान्‌ पखेटा फिंजाएर वेगसित तल आउँछन्‌ र “दुष्टता” भएको टोकरीलाई उठाएर लैजान्छन्‌। तिनीहरूले त्यस “दुष्टता”-लाई कता लैजान्छन्‌? त्यसलाई “शिनार देशमा” अर्थात्‌ बेबिलोनमा लैजान्छन्‌। ती स्त्रीहरूले त्यस टोकरीलाई किन बेबिलोनमा लैजान्छन्‌?

१७, १८. (क) “दुष्टता”-लाई शिनारमा राख्नु किन उपयुक्‍त छ? (ख) हामी के गर्न कटिबद्ध हुनुपर्छ?

१७ “दुष्टता”-लाई शिनारमा लैजानुको कारणबारे जकरियाको समयका यहूदीहरूले सजिलै बुझ्न सक्थे। बेबिलोन दुष्टताले भरिएको ठाउँ हो भनेर तिनीहरूलाई थाह थियो। अनैतिकता र झूटो उपासनाले भरिएको त्यस सहरमा हुर्किएका यहूदीहरूले दिनहुँ झूटो धर्मको प्रभावको प्रतिरोध गर्नुपर्थ्यो। यो दर्शनले गर्दा तिनीहरूले कत्ति ढुक्क महसुस गरे होलान्‌! किनभने यो दर्शनमार्फत यहोवाले शुद्ध उपासनालाई बिटुलो हुन नदिने ग्यारेन्टी दिंदै हुनुहुन्थ्यो।

१८ तर यस दर्शनले यहूदीहरूलाई शुद्ध उपासनालाई बिटुलो हुन नदिने आफ्नो जिम्मेवारीबारे पनि सजग गरायो। यहोवाका जनहरूमाझ दुष्टताको लागि कुनै ठाउँ छैन अनि दुष्टतालाई कुनै हालतमा घुस्न र रहन दिइनेछैन। अहिले हामी यहोवाको स्वच्छ सङ्‌गठनको भाग भएका छौं अनि उहाँको मायालु हेरचाह र सुरक्षा पाइरहेका छौं। त्यसैले यो स्वच्छता कायम गरिराख्नु हामी प्रत्येकको जिम्मेवारी हो। के हामी यस “घर” अर्थात्‌ हाम्रो सङ्‌गठनलाई स्वच्छ राख्न कटिबद्ध छौं? यस आध्यात्मिक प्रमोदवनमा कुनै प्रकारको दुष्टताको लागि ठाउँ छैन।

स्वच्छ मानिसहरू यहोवाको आदर गर्छन्‌

१९. जकरियाले देखेका अचम्मलाग्दो दर्शनहरूले हाम्रो लागि कस्तो अर्थ राख्छ?

१९ जकरियाले देखेको छैटौं र सातौं दर्शन खराब काम गर्न नछोड्‌नेहरूको लागि गम्भीर चेतावनी हो। यसले यहोवा दुष्टता सहनुहुन्‍न भनेर सम्झाउँछ। उहाँका साँचो उपासकहरूले दुष्टतालाई घृणा गर्नै पर्छ। यी दर्शनहरू स्वर्गमा बस्नुहुने हाम्रो बुबाले दिनुभएको मायालु आश्‍वासन पनि हो। परमेश्‍वरको अनुमोदन र सुरक्षा पाउन योग्य मानिसहरू बन्‍न कडा मेहनत गऱ्‍यौं भने उहाँले हामीलाई सराप्नुहुनेछैन र हामी मर्नुपर्ने छैन। बरु उहाँ हामीलाई आशिष्‌ दिन खुसी हुनुहुनेछ। दुष्टताले भरिएको संसारमा स्वच्छ रहन हामीले गरेको कुनै पनि प्रयास बेकार जानेछैन। यहोवाको मदत पाएर हामी स्वच्छ रहन सक्नेछौं भन्‍ने कुरामा ढुक्क हुन सक्छौं! तर दुष्टताले भरिएको यस संसारमा साँचो उपासना रहिरहनेछ भनेर हामी कसरी पक्का हुन सक्छौं? महासङ्‌कष्ट नजिकिंदै जाँदा यहोवाले आफ्नो सङ्‌गठनलाई जोगाउनुहुनेछ भनेर हामीले कस्तो ग्यारेन्टी पाएका छौं? यी प्रश्‍नहरूको जवाफ अर्को लेखमा पाउनेछौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने