प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 अक्टोबर pp. २६-३०
  • रथहरू अनि मुकुटले तपाईंलाई सुरक्षा दिन्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रथहरू अनि मुकुटले तपाईंलाई सुरक्षा दिन्छन्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • स्वर्गदूतहरूको ठूलो फौज
  • यहोवा पुजारीलाई राजाको मुकुट लगाइदिनुहुन्छ
  • उहाँले मन्दिर बनाउनुहुनेछ
  • आध्यात्मिक निर्माणकार्यमा भाग लिनुहोस्‌
  • जकरियाले देखेको कुरा के तपाईँ पनि देख्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • तिमीहरूका हातहरू बलिया होऊन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • हाग्गै र जकरियाको पुस्तकका विशेषताहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • जकरियाले देखेका दर्शनहरूले तपाईंलाई कस्तो असर गर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 अक्टोबर pp. २६-३०
विभिन्‍न रङ्‌गका घोडाहरू तामाका दुई डाँडाको बीचबाट रथहरू तान्दै

रथहरू अनि मुकुटले तपाईंलाई सुरक्षा दिन्छन्‌

“तिमीहरूले मन लगाएर परमप्रभु आफ्ना परमेश्‍वरको आज्ञा मान्यौ भनेदेखि सो हुनेछ।”—जक. ६:१५.

गीत: १७, १३६

हामीले के सिक्यौं?

  • जकरियाले देखेको अन्तिम दर्शनले परमेश्‍वरका जनहरूलाई कुन कुराको आश्‍वासन दिन्छ?

  • तामाका दुई डाँडा अनि रथहरूबाट हामी कस्तो प्रोत्साहन पाउँछौं?

  • वर्तमान समयमा भइरहेको आध्यात्मिक निर्माणकार्यबारे तपाईं कस्तो महसुस गर्नुहुन्छ?

१, २. जकरियाले सातौं दर्शन देखिसक्दा यरूशलेममा यहूदीहरूको अवस्था कस्तो थियो?

जकरियाले सातौं दर्शन देखिसकेपछि तिनले गहिरिएर सोच्नुपर्ने कुरा थुप्रै थिए। दुष्ट काम गर्ने बेइमान मानिसहरूलाई सजाय दिनेछु भनेर यहोवाले ग्यारेन्टी दिनुभएको थियो। उहाँको यस्तो प्रतिज्ञा सुनेपछि जकरियाले पक्कै बल पाएको हुनुपर्छ। तर वास्तवमा परिस्थिति जस्ताको त्यस्तै थियो। यहूदीहरूले बेइमानी गर्न अनि खराब काम गर्न अझै छोडेका थिएनन्‌। यरूशलेममा यहोवाको मन्दिर पुनर्निर्माण गर्ने काम पनि सकिएको थिएन। यहोवाले अह्राउनुभएको काम पूरा गर्ने तिनीहरूको जोस यत्ति छिट्टै सेलाउनुको कारण के थियो? के तिनीहरू आफ्नै जीवन उकास्न मात्र यरूशलेम फर्केका थिए त?

२ यरूशलेम फर्केका यहूदीहरूको विश्‍वास बलियो थियो भनेर जकरियालाई थाह थियो। बेबिलोनमा आफ्नो घरबार अनि व्यापार छोडेर यरूशलेम फर्कन तिनीहरूलाई ‘परमेश्‍वरले उत्तेजित पार्नुभएको’ थियो। (एज्रा १:२, ३, ५) लामो समयदेखि बस्दै आएको ठाउँ छोडेर तिनीहरू यरूशलेम फर्कन तयार भएका थिए; तिनीहरूमध्ये धेरैजसोले पहिले कहिल्यै यरूशलेम देखेका थिएनन्‌। ती यहूदीहरूले यहोवाको मन्दिर पुनर्निर्माण गर्नु महत्त्वपूर्ण नठानेका भए लगभग १,६०० किलोमिटर लामो अनि कठिन यात्रा गरेर यरूशलेम फर्कने नै थिएनन्‌।

३, ४. यरूशलेम फर्केका यहूदीहरूले कस्ता बाधा-अडचन खेप्नुपऱ्‍यो?

३ बेबिलोनदेखि यरूशलेमसम्मको लामो यात्रा कस्तो थियो होला, कल्पना गर्नुहोस्‌ त! यात्रा गर्दै जाँदा तिनीहरूले नयाँ ठाउँमा आफ्नो घर कस्तो होला भनेर कुरा गर्दै घण्टौं बिताए होलान्‌। यरूशलेम पहिला अत्यन्तै सुन्दर सहर थियो भनेर तिनीहरूले सुनेका थिए। तिनीहरूमध्येका बूढा-पाकाले यरूशलेमको मन्दिर कत्ति भव्य थियो भनेर देखेका थिए। (एज्रा ३:१२) तपाईं पनि यहूदीहरूसितै यात्रा गरिरहनुभएको भए यरूशलेमलाई पहिलो पटक देख्दा कस्तो महसुस गर्नुहुने थियो? भत्केका घरहरूमा झार-पात उम्रेको दृश्‍य देख्दा निराश हुनुहुने थियो कि? बेबिलोनको दुई-पत्रे बडेमाका पर्खालको तुलनामा यहाँका पर्खालहरू कस्तो जीर्ण अवस्थामा छन्‌ जस्तो लाग्ने थियो होला। पहिला पर्खालमा भएका ढोका अनि अग्ला-अग्ला धरहराहरू भत्केर अहिले त्यहाँ ठूलठूला प्वाल थिए। यस्तो दुःखलाग्दो अवस्था देख्दा पनि ती यहूदीहरूले हरेस खाएनन्‌। त्यत्रो लामो यात्राको दौडान यहोवाले तिनीहरूलाई सुरक्षा दिनुभएको र मदत गर्नुभएको आफैले अनुभव गरेका थिए। यरूशलेम पुग्नेबित्तिकै तिनीहरूले पहिलाको मन्दिर बसालिएको ठाउँमै वेदी बनाए। अनि दिनहुँ यहोवालाई बलिदानहरू चढाउन थाले। (एज्रा ३:१, २) तिनीहरू यत्ति जोसिला थिए कि, तिनीहरूलाई कुनै पनि बाधा-अडचनले निरुत्साहित पार्न सक्दैन जस्तो देखिन्थ्यो।

४ मन्दिर पुनर्निर्माण गर्नुका साथै तिनीहरूले सहर पनि पुनर्निर्माण गर्नुपर्ने थियो। तिनीहरूले घर बनाउनुपर्थ्यो, खेतीपाती गर्नुपर्थ्यो अनि परिवारको लालनपालन गर्नुपर्थ्यो। (एज्रा २:७०) तिनीहरूले गर्नुपर्ने काम साह्रै ठूलो देखिन्थ्यो। अनि धेरै समय नबित्दै तिनीहरूले शत्रुहरूबाट चर्को विरोध पनि खेप्नुपऱ्‍यो। तिनीहरूले सुरुमा त निकै साहस देखाएका थिए तर १५ वर्षसम्म त्यसरी विरोध सहनुपर्दा बिस्तारै तिनीहरू निरुत्साहित हुँदै गए। (एज्रा ४:१-४) अर्को ठूलो बाधा ईसापूर्व ५२२ मा आयो, जब फारसी राजाले निर्माणकार्यमा प्रतिबन्ध लगाइदिए। यसले गर्दा सहर पुनर्निर्माण गर्ने काम कहिल्यै पूरा नहोला जस्तो देखियो।—एज्रा ४:२१-२४.

५. आफ्ना जनहरूको जोस सेलाएको देखेपछि यहोवाले के गर्नुभयो?

५ आफ्ना जनहरूलाई के चाहिएको छ भनेर यहोवालाई थाह थियो। त्यसैले उहाँले जकरियालाई अर्को दर्शन देखाउनुभयो। आफ्ना जनहरूलाई माया गर्छु अनि तिनीहरूले अहिलेसम्म जे-जति गरे, त्यसको मोल गर्छु भनेर यहोवाले त्यस दर्शनमार्फत आश्‍वासन दिनुभयो। साथै उहाँले अह्राउनुभएको काम फेरि थालेमा सुरक्षा दिनेछु भनेर प्रतिज्ञा पनि गर्नुभयो। मन्दिरको पुनर्निर्माण गर्ने सन्दर्भमा उहाँले यस्तो प्रतिज्ञा गर्नुभयो: “तिमीहरूले मन लगाएर परमप्रभु आफ्ना परमेश्‍वरको आज्ञा मान्यौ भनेदेखि सो हुनेछ।”—जक. ६:१५.

स्वर्गदूतहरूको ठूलो फौज

६. (क) जकरियाले आठौं दर्शनको सुरुमा के देखे? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌) (ख) घोडाहरूको रङ्‌ग किन फरक-फरक थियो?

६ जकरियाले देखेको आठ वटा दर्शनमध्ये अन्तिम दर्शनले तिनको विश्‍वास निकै बलियो बनाएको हुनुपर्छ। (जकरिया ६:१-३ पढ्‌नुहोस्‌) तिनले आठौं दर्शनमा के देखे, कल्पना गर्नुहोस्‌: तामाकाa “दुई डाँडाहरूका बीचदेखि चारवटा रथ” आइरहेका थिए। ती रथहरू युद्धको लागि तम्तयार देखिन्थे। प्रत्येक रथका घोडाहरूको रङ्‌ग फरक-फरक थियो। यसले गर्दा रथ हाँक्नेहरूबीचको भिन्‍नता प्रस्टै छुट्टिन्थ्यो। त्यसपछि जकरियाले यस्तो प्रश्‍न सोधे, “यी के हुन्‌?” (जक. ६:४) यो कुरा जान्‍न हामी पनि उत्सुक छौं। किनभने त्यस दर्शनले हामीलाई प्रत्यक्ष असर गर्छ।

यहोवा आफ्ना जनहरूलाई जोगाउन अनि बलियो पार्न अहिले पनि स्वर्गदूतहरू प्रयोग गर्नुहुन्छ

७, ८. (क) दुई डाँडाले केलाई बुझाउँछ? (ख) डाँडाहरू तामाका हुनुको कारण के हो?

७ बाइबलमा कहिलेकाहीं राज्य अर्थात्‌ सरकारहरूलाई बुझाउन “डाँडा” शब्द प्रयोग गरिएको छ। जकरियाले बताएको डाँडाहरूको विवरण र दानियलको भविष्यवाणीमा पाइने दुई डाँडाहरूको विवरण मिल्दोजुल्दो छ। एउटा डाँडाले यहोवाको सार्वभौम र अनन्त शासनलाई बुझाउँछ। अर्को डाँडाले भने येशूले शासन गर्नुहुने मसीही राज्यलाई बुझाउँछ। (दानि. २:३५, ४५, NRV) सन्‌ १९१४ मा येशू राजा हुनुभएदेखि ती दुवै डाँडाहरूले पृथ्वीमा परमेश्‍वरको इच्छा पूरा गर्न विशेष भूमिका निर्वाह गर्दै आएका छन्‌।

८ ती डाँडाहरू तामाको हुनुको कारण के हो? तामा पनि सुनजस्तै बहुमूल्य धातु हो। यहोवाले बासस्थान बनाउने अनि पछि यरूशलेमको मन्दिर बनाउने काममा यस चमकदार धातु पनि प्रयोग गर्न लगाउनुभएको थियो। (प्रस्थ. २७:१-३; १ राजा ७:१३-१६)b त्यसैले ती प्रतीकात्मक डाँडाहरू तामाको हुनुले यहोवाको सार्वभौमिकता र मसीही राज्य उत्कृष्ट छन्‌ भनेर हामीलाई सम्झाउँछ, जसले गर्दा मानिसहरूले सुरक्षित महसुस गर्नेछन्‌ र प्रशस्त आशिष्‌ पाउनेछन्‌।

९. रथ हाँक्नेहरू को हुन्‌ अनि तिनीहरूले कस्तो जिम्मेवारी पाएका छन्‌?

९ अब फेरि रथहरूबारे कुरा गरौं। रथहरू अनि रथ हाँक्नेहरूले केलाई बुझाउँछ? रथ हाँक्नेहरू स्वर्गदूतहरू हुन्‌, सम्भवतः स्वर्गदूतहरूको समूह वा दल। (जकरिया ६:५-८ पढ्‌नुहोस्‌) तिनीहरू एउटा विशेष काम पूरा गर्न “सारा पृथ्वीका परमप्रभुका सामने”-बाट आएका थिए। तिनीहरूले कस्तो जिम्मेवारी पाएका थिए? तिनीहरूलाई कुनै खास-खास इलाकाको रेखदेख गर्न खटाइएको थियो। तिनीहरूले यहोवाका जनहरूलाई खासगरि “उत्तरको देश” अर्थात्‌ बेबिलोनबाट जोगाउनुपर्ने थियो। यहोवाले आफ्ना जनहरूलाई फेरि बेबिलोनको दास हुन दिनुहुने थिएन। यो कुरा थाह पाउँदा जकरियाको समयमा मन्दिर निर्माणकार्यमा लागिरहेकाहरूले कत्ति सान्त्वना पाए होलान्‌! शत्रुहरूले बाधा ल्याउलान्‌ कि भनेर तिनीहरूले चिन्ता गर्नुपर्ने कुनै कारण थिएन।

१०. रथहरू अनि रथ हाँक्नेहरूबारे जकरियाले देखेको दर्शन विचार गर्दा आज परमेश्‍वरका सेवकहरू कुन कुरामा ढुक्क हुन सक्छन्‌?

१० सेनाहरूका परमप्रभु यहोवाले जकरियाको समयमा जस्तै आज हाम्रो समयमा पनि आफ्ना जनहरूलाई जोगाउन र बलियो पार्न स्वर्गदूतहरू प्रयोग गर्नुहुन्छ। (मला. ३:६; हिब्रू १:७, १४) आध्यात्मिक इस्राएल सन्‌ १९१९ मा महान्‌ बेबिलोनको प्रतीकात्मक कैदबाट मुक्‍त भयो। त्यो समयदेखि यता पटक-पटक घोर विरोध आए तापनि त्यसले साँचो उपासनालाई बढ्‌न अनि फैलनदेखि रोक्न सकेको छैन। (प्रका. १८:४) यहोवाको सङ्‌गठनलाई स्वर्गदूतहरूले सुरक्षा दिइरहेका छन्‌। त्यसैले उहाँको सङ्‌गठन फेरि झूटो धर्मको दासत्वमा पर्ला भनेर हामी डराउनु पर्दैन। (भज. ३४:७) बरु संसारभरि रहेका यहोवाका सेवकहरू आध्यात्मिक तवरमा फस्टाउँदै जानेछन्‌ भनेर हामी ढुक्क हुन सक्छौं। जकरियाले देखेको दर्शन विचार गर्दा ती डाँडाहरूले हामीलाई सुरक्षा दिन्छन्‌ भन्‍ने कुरामा हामी विश्‍वस्त छौं।

११. निकट भविष्यमा यहोवाका जनहरूमाथि हुने आक्रमणदेखि हामी किन डराउनु पर्दैन?

११ निकट भविष्यमा सैतानको संसारको राजनैतिक शक्‍तिहरूले एउटा गठबन्धन बनाएर परमेश्‍वरका जनहरूलाई नाश गर्न खोज्नेछन्‌। (इज. ३८:२, १०-१२; दानि. ११:४०, ४४, ४५; प्रका. १९:१९) इजकिएलले देखेको दर्शनअनुसार तिनीहरू पृथ्वीलाई ढाक्न बादलझैं अनि घोडाहरूमा सवार एक ठूलो दल भएर क्रोधका साथ हाम्रो विरुद्धमा आउनेछन्‌। (इज. ३८:१५, १६)c के हामी तिनीहरूसित डराउनुपर्छ? अहँ पर्दैन! हाम्रो पक्षमा पनि घोडसवारहरूको ठूलो फौज छ। महासङ्‌कष्टको दौडान त्यस कठिन घडीमा यहोवाका स्वर्गदूतहरूको फौजले हाम्रो रक्षा गर्नेछ अनि उहाँको सार्वभौमिकताको विरोध गर्नेहरूलाई नाश गर्नेछ। (२ थिस्स. १:७, ८) त्यो कस्तो रोमाञ्चकारी दिन हुनेछ! तर यहोवाको स्वर्गका सेनाहरूको नेतृत्व कसले गर्नेछ?

यहोवा पुजारीलाई राजाको मुकुट लगाइदिनुहुन्छ

१२, १३. (क) जकरियालाई के गर्न अह्राइन्छ? (ख) ‘हाँगा’-ले येशू ख्रीष्टलाई सङ्‌केत गर्छ भनेर हामी किन भन्‍न सक्छौं?

१२ जकरियाको पुस्तकमा पाइने आठ वटा दर्शन देख्ने व्यक्‍ति जकरिया मात्र थिए। तर अब भने तिनले अरूले देख्नेगरि एउटा काम गर्छन्‌, जसको भविष्यसूचक अर्थ थियो। यस कार्यले गर्दा परमेश्‍वरको मन्दिर पुनर्निर्माण गरिरहेका यहूदीहरूले निकै प्रोत्साहन पाउने थिए। (जकरिया ६:९-१२ पढ्‌नुहोस्‌) भर्खरै बेबिलोनबाट फर्केका हेल्दै, तोबियाह र यदायाहबाट सुन र चाँदी जम्मा गर्न यहोवा जकरियालाई अह्राउनुहुन्छ र त्यसबाट एउटा “मुकुट” बनाउन लगाउनुहुन्छ। (जक. ६:११) के यहोवाले त्यो मुकुट राज्यपाल यरूबाबेललाई लगाइदिन भन्‍नुहुन्छ, जो यहूदा कूलबाट अनि दाऊदका वंशबाट आएका थिए? अहँ, त्यसो भन्‍नुहुन्‍न। बरु यहोवाले जकरियालाई त्यो मुकुट प्रधान पुजारी यहोशूलाई लगाइदिन भन्‍नुहुन्छ। त्यो देख्दा मानिसहरू कत्ति छक्क परे होलान्‌!

१३ के मुकुट लगाएपछि प्रधान पुजारी यहोशू राजा भए? अहँ, भएनन्‌! उनी दाऊदको वंशबाट आएका थिएनन्‌। त्यसैले उनी राजा हुनको लागि योग्य थिएनन्‌। जकरियाले उनलाई मुकुट लगाइदिनु वास्तवमा एउटा भविष्यसूचक कार्य थियो। यसले भविष्यमा सधैंका लागि राजा र प्रधान पुजारी बन्‍नुहुने व्यक्‍तिलाई सङ्‌केत गर्थ्यो। राजा बनाइएका प्रधान पुजारीलाई ‘हाँगा’ भनिएको छ। त्यो हाँगा येशू ख्रीष्ट हुनुहुन्छ भनेर बाइबलबाट स्पष्टसित बुझ्न सक्छौं।—यशै. ११:१, NRV; मत्ती २:२३.d

१४. राजा र प्रधान पुजारीको रूपमा येशूले कस्तो काम गर्नुहुन्छ?

१४ येशू राजा र प्रधान पुजारीको रूपमा सेवा गर्नुहुन्छ। उहाँले नै यहोवाको स्वर्गका सेनाको नेतृत्व लिनुहुन्छ। यहोवाका जनहरूले अहिले डरलाग्दो समयमा जीवन बिताउनु परे तापनि समूहको रूपमा भने तिनीहरू सुरक्षित रहन सकून्‌ भनेर येशू लागिपर्नुभएको छ। (यर्मि. २३:५, ६) निकट भविष्यमा, उहाँले यहोवाको सार्वभौमिकताको पक्षमा खडा हुँदै सारा राष्ट्रहरूलाई परास्त गर्ने र यहोवाका जनहरूलाई जोगाउने काममा नेतृत्व लिनुहुनेछ। (प्रका. १७:१२-१४; १९:११, १४, १५) तर त्यसो गर्नुअघि ‘हाँगा’ अर्थात्‌ येशूले गर्नुपर्ने एउटा महत्त्वपूर्ण काम छ।

उहाँले मन्दिर बनाउनुहुनेछ

१५, १६. (क) पुनर्स्थापित गर्ने र शुद्ध पार्ने काम वर्तमान समयमा कसरी पूरा भएको छ? यो काम कसले गर्नुभयो? (ख) ख्रीष्टको हजार वर्षीय शासनको अन्तमा के हुनेछ?

१५ येशूलाई राजा र प्रधान पुजारीको रूपमा नियुक्‍त गरिनुका साथै ‘परमप्रभुको मन्दिर बनाउने’ जिम्मेवारी पनि दिइयो। (जकरिया ६:१३ पढ्‌नुहोस्‌) येशूले गर्नुहुने निर्माणकार्यमा साँचो उपासकहरूलाई महान्‌ बेबिलोनको कैदबाट छुटाउनु र ख्रीष्टियन मण्डलीलाई पुनर्स्थापित गर्नु समावेश थियो। उहाँले यो काम सन्‌ १९१९ मा गर्नुभयो। साथै उहाँले महान्‌ आध्यात्मिक मन्दिरको पृथ्वीमा रहेको भागमा गरिने कामको नेतृत्व लिन “विश्‍वासी र बुद्धिमान्‌ दास” पनि नियुक्‍त गर्नुभयो। (मत्ती २४:४५) येशू अहिले परमेश्‍वरका जनहरूलाई खार्ने अनि शुद्ध उपासना चढाउन तिनीहरूलाई मदत गर्ने काममा पनि व्यस्त हुनुहुन्छ।—मला. ३:१-३.

१६ हजार वर्षीय शासनको दौडान येशू र उहाँका १,४४,००० सह-शासक तथा पुजारीहरूले वफादार मानिसहरूलाई त्रुटिरहित अवस्थामा पुऱ्‍याउनुहुनेछ। त्यसपछि सफा पृथ्वीमा परमेश्‍वरको साँचो उपासकहरू मात्र हुनेछन्‌। तब साँचो उपासना पूर्णतया पुनर्स्थापित हुनेछ।

आध्यात्मिक निर्माणकार्यमा भाग लिनुहोस्‌

१७. यहोवाले यहूदीहरूलाई कस्तो आश्‍वासन दिनुभयो? यसले तिनीहरूमा कस्तो असर पाऱ्‍यो?

१७ जकरियाको सन्देशले तिनको समयका यहूदीहरूमा कस्तो असर पाऱ्‍यो? मन्दिर बनाउने काम पूरा गर्न तिनीहरूलाई मदत र सुरक्षा दिनेछु भनेर यहोवाले प्रतिज्ञा गर्नुभएको थियो। उहाँबाट यस्तो आश्‍वासन पाउँदा तिनीहरूले निकै बल पाएको हुनुपर्छ। तर थोरै व्यक्‍तिले कसरी त्यत्रो ठूलो काम पूरा गर्न सक्ने थिए? जकरियाले त्यसपछि भनेका शब्दहरूले तिनीहरूको मनमा खेलिरहेको डर र शङ्‌का हटाइदिएको हुनुपर्छ। ‘परमप्रभुको मन्दिर बनाउन’ हेल्दै, तोबियाह र यदायाहजस्ता वफादार व्यक्‍तिहरूका साथै अरू थुप्रै मानिस आएर मदत गर्नेछन्‌ भनेर यहोवाले बताउनुभयो। (जकरिया ६:१५ पढ्‌नुहोस्‌) यहोवाले मदत गर्नुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुँदै ती यहूदीहरू प्रतिबन्धको बाबजुद तुरुन्तै काममा लागिहाले। केही समय नबित्दै यहोवाले पहाडरूपी बाधा अर्थात्‌ तिनीहरूको काममा लागेको प्रतिबन्ध हटाइदिनुभयो। अनि ईसापूर्व ५१५ मा मन्दिरको निर्माणकार्य सिद्धियो। (एज्रा ६:२२; जक. ४:६, ७) तर यहोवाले त्यतिबेला बताउनुभएको कुराले आज हाम्रो समयमा अझ व्यापक तवरमा भइरहेको कुरालाई पनि बुझाउँछ।

यहोवाका जनहरू विभिन्‍न तरिकामा उहाँप्रति प्रेम देखाउँदै

हामीले यहोवाप्रति देखाएको प्रेम उहाँ कहिल्यै बिर्सनुहुन्‍न! (अनुच्छेद १८, १९ हेर्नुहोस्‌)

१८. जकरिया ६:१५ अहिले कसरी पूरा भइरहेको छ?

१८ आज साँचो उपासनाको लागि लाखौं मानिस एकत्रित भएका छन्‌। तिनीहरू खुसीसाथ आफ्नो “धन-सम्पत्ति” दिन्छन्‌ अर्थात्‌ आफ्नो समय, शक्‍ति अनि स्रोतसाधन खर्च गरेर महान्‌ आध्यात्मिक मन्दिर बनाउने कामलाई सघाउँछन्‌। (हितो. ३:९) यसरी वफादार भई सघाउँदा यहोवा त्यसको मोल गर्नुहुन्छ भनेर किन भन्‍न सक्छौं? हेल्दै, तोबियाह अनि यदायाहले मुकुट बनाउन सुन र चाँदी अनुदान दिएका थिए। त्यो मुकुटले तिनीहरूले साँचो उपासनाको लागि दिएको अनुदानको ‘सम्झना गराउँथ्यो।’ (जक. ६:१४) त्यसैगरि हाम्रो काम अनि हामीले यहोवाप्रति देखाएको प्रेम उहाँ कहिल्यै बिर्सनुहुन्‍न। (हिब्रू ६:१०) यहोवाले त्यो सधैं सम्झिरहनुहुनेछ।

१९. जकरियाले देखेको दर्शनहरूले हामीमा कस्तो असर पार्नुपर्ने हो?

१९ यस आखिरी दिनमा साँचो उपासनासित सम्बन्धित जति पनि कुरा हासिल भएका छन्‌, त्यसले यहोवाको आशिष्‌ अनि ख्रीष्टको नेतृत्वको स्पष्ट प्रमाण दिन्छ। अहिले हामी स्थिर, सुरक्षित अनि अनन्तसम्म रहने सङ्‌गठनको भाग भएका छौं। शुद्ध उपासनासित सम्बन्धित यहोवाको उद्देश्‍य अवश्‍य पूरा “हुनेछ।” यहोवाका जनहरूमाझ हुन पाएकोमा रमाउनुहोस्‌ अनि “मन लगाएर परमप्रभु आफ्ना परमेश्‍वरको आज्ञा” मान्‍नुहोस्‌। त्यसो गर्नुभयो भने हाम्रा राजा र प्रधान पुजारीले अनि रथ हाँक्ने स्वर्गदूतहरूले तपाईंको रक्षा गर्नेछन्‌। साँचो उपासनालाई समर्थन गर्न आफूले सकेजति गर्नुहोस्‌। यसो गर्नुभयो भने सेनाहरूका परमप्रभु यहोवाले यस युगको बाँकी समयमा मात्र होइन, सदासर्वदा तपाईंलाई सुरक्षित राख्नुहुनेछ भन्‍ने कुरामा विश्‍वस्त हुन सक्नुहुन्छ।

a पवित्र बाइबल (RV) र पवित्र बाइबल—नयाँ संशोधित संस्करण-मा (NRV) ती डाँडाहरू “पीतल” वा “काँसा”-का थिए भनेर बताइएको छ। तर मूल भाषाको बाइबलमा भने ती डाँडाहरू “तामा”-का थिए भनेर बताइएको छ।

b मूल भाषाको बाइबलमा यी पदहरूमा “पीतल” वा “काँसा” नभई “तामा” बुझाउने शब्द प्रयोग गरिएको छ।

c थप जानकारीको लागि प्रहरीधरहरा मे १५, २०१५ को पृष्ठ २९-३० मा भएको “पाठकहरूको प्रश्‍न” हेर्नुहोस्‌।

d “नासरी” भन्‍ने शब्द मौलिक हिब्रू भाषामा “हाँगा” अर्थ दिने शब्दबाट आएको हो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने