२ समस्याहरू समाधान गर्न मदत गर्छ
जीवनमा आइपर्ने केही समस्याहरू सजिलै समाधान हुँदैनन्, कुनै-कुनै त वर्षौंसम्म रहिरहन्छन्। ती समस्याहरूले जरा गाड्न थालेको हामीलाई पत्तै नहुन सक्छ। के बाइबलले हामीलाई सजिलै समाधान नहुने र हताश पार्ने त्यस्ता समस्याहरूको समाधान गर्न चाहिने सल्लाह दिन्छ? केही उदाहरणहरू विचार गरौं।
अचाक्ली चिन्ता
रोजिना भन्छिन्, “कुनै-कुनै समस्याबारे असाध्यै चिन्ता गर्थें अनि समस्या झन्झनै बिग्रँदै गइरहेको कल्पना गर्थें। तर वास्तविकतामा त्यस्तो भएकै हुँदैन थियो।” तिनलाई बाइबलको कुन पदले मदत गऱ्यो? एउटा पद मत्ती ६:३४ हो, जसले भन्छ: “भोलिको चिन्ता कहिल्यै नगर किनभने भोलिको चिन्ता भोलिले नै गर्नेछ। आजको लागि आजकै कष्ट यथेष्ट छ।” यस पदमा येशूले भन्नुभएका शब्दहरूले भोलि के हुने होला भनेर चिन्तित नहुन रोजिनालाई मदत गऱ्यो। तिनी भन्छिन्, “म हुँदै नभएको वा पछि नहुने परिस्थितिबारे सोचेर समस्यामाथि समस्या थपिरहेकी थिएँ, जबकि मेरा थुप्रै समस्या ज्युँका त्युँ थिए।”
जस्मिन पनि चिन्ता-फिक्रीमा डुबेकी थिइन्। तिनी भन्छिन्, “हप्ताको एक-दुई दिन त रुने गर्थें, केही रातहरू अनिदो पनि बित्थ्यो। नकारात्मक सोचाइले मलाई पिरोलिरहेको थियो।” तिनलाई बाइबलको कुन पदले मदत गऱ्यो? पहिलो पत्रुस ५:७ ले, जसले भन्छ: “तिमीहरूले आफ्नो सारा फिक्री [परमेश्वर]-माथि बिसाओ, किनकि उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।” जस्मिन भन्छिन्, “समय बित्दै जाँदा यहोवालाई निरन्तर प्रार्थना गरिरहें। उहाँले मेरो प्रार्थनाको जवाफ दिनुभयो। मेरो काँधबाट ठूलो बोझ हटेको जस्तो महसुस भयो। हुन त नकारात्मक भावनाहरू बेलाबेलामा आइरहन्छन् तर अहिले ती सम्हाल्न सक्छु।”
काम पछि सार्ने बानी
निशा नामकी एक युवती यसो भन्छिन्: “काम पछि सार्ने बानी वंशानुगत सर्दै आउँछ जस्तो लाग्छ किनकि मेरो बुबाको पनि त्यस्तै बानी छ। कुनै खास कारणै विना महत्त्वपूर्ण काम पछि सार्ने गर्छु। जस्तै: आराम गर्न र टिभी हेर्नको लागि गर्नै पर्ने काम पनि साँचेर राख्छु। यो नराम्रो बानी हो किनकि यसले गर्दा तनाव बढ्छ अनि कामको गुणस्तर पनि घट्छ।” उनलाई मदत गरेको सिद्धान्त २ तिमोथी २:१५ मा पाइन्छ, जहाँ यस्तो लेखिएको छ: “आफूलाई परमेश्वरको अनुमोदन पाउन योग्य सेवक, कुनै कुरामा सरम मान्नु नपर्ने कामदार . . . साबित गर्न तिमीले भरसक कोसिस गर।” निशा भन्छिन्: “काम पछि सार्ने बानीले गर्दा मेरो काम देखेर यहोवालाई सरम लागोस् भन्ने चाहन्न थिएँ।” अहिले उनले निकै उन्नति गरेकी छिन्।
कोमलको पनि त्यस्तै अनुभव छ। तिनी भन्छिन्: “काम बुझाउने मिति नआएसम्म म आलेटाले गरेर बस्थें। अनि काम नसिद्धिएकोले म रुन थाल्थें; म निदाउनै सक्दिन थिएँ; मलाई साह्रै चिन्ता लाग्थ्यो। यसले गर्दा मलाई गाह्रो भयो।” तिनले हितोपदेश १३:१६ बाट मदत पाइन्: “चतुर मानिस बुद्धिमानी हुन्छ . . . तर मूर्खले आफ्नो मूर्खताको तमाशा देखाउँछ।” यस शास्त्रपदमा मनन गरेर तिनले कस्तो लाभ उठाइन्, त्यसबारे तिनी यसो भन्छिन्: “व्यावहारिक हुनु र पहिल्यै योजना बनाउनु बुद्धिमानी कुरा हो। अहिले म काम आउनेबित्तिकै त्यसको तालिका बनाउँछु अनि मसित भएको डायरीमा लेख्छु। यसले मलाई आलेटाले नगरी तालिकाअनुसार चल्न सजिलो बनाएको छ।”
एक्लोपन
“मेरो श्रीमान्ले वैवाहिक सम्बन्ध तोड्नुभयो अनि म र मेरा चार जना लालाबालालाई छोडेर जानुभयो,” कोपिला भन्छिन्। उनलाई बाइबलको कुनचाहिं सिद्धान्तले मदत गऱ्यो? हितोपदेश १७:१७ भन्छ: “मित्र सब समय एक प्रेमी साथी हुन्छ, औ दाजुभाइचाहिं दु:खमा सहभागी हुनलाई जन्मेको हुन्छ।” उनले यहोवा परमेश्वरको उपासना गर्ने आफूजस्तै व्यक्तिहरूसित मदत मागिन्। उनले कस्तो महसुस गरिन्? “मेरा साथीहरूले चारैतिरबाट मदतको हात बढाएर मलाई साथ दिए। कसै-कसैले खानेकुरा र फुल ल्याएर ढोकामा छोडिदिए। साथीहरू मिलेर म र मेरा छोराछोरीलाई तीन-तीन पटक घर सर्न मदत गरे। एक जनाले त जागिर पनि खोजिदिए। साथीहरू मलाई मदत गर्न जहिल्यै तयार हुन्थे।”
सुरुको लेखमा उल्लेख गरिएकी सुनिताले पनि एक्लोपनसित सङ्घर्ष गरिन्। आफूले गुमाएको कुरा सम्झँदै उनी यसो भन्छिन्: “अरू मानिसहरू एकअर्कासित मिलेर हाँसीखुसी जीवन बिताइरहेका थिए तर म भने एक्लो र दुःखी थिएँ।” उनलाई मदत गरेको शास्त्रपद भजन ६८:६ थियो: “एक्लो मानिसलाई परमेश्वरले परिवार [“घर,” NW] दिनुहुन्छ।” उनी भन्छिन्: “यस पदमा बताइएको घर एउटा भौतिक संरचना मात्र होइन भन्ने कुरा मैले बुझें। बरु परमेश्वरले आध्यात्मिक घर दिनुहुन्छ, जुन सुरक्षित ठाउँ हो। यहाँ यहोवालाई प्रेम गर्नेहरूसित घनिष्ठ र आत्मीय सम्बन्ध गाँस्न सकिन्छ। तर सुरुमा यहोवासित नजिक हुनु आवश्यक छ अनि मात्र उनीहरूसित नजिक हुन सकिन्छ। त्यसो गर्न भजन ३७:४ ले मदत गऱ्यो: ‘तँ आफै परमप्रभुमा मग्न हो। र उहाँले तेरो मनोरथ पूर्ण गर्नुहुनेछ।’”
उनी कुरा यसरी टुङ्ग्याउँछिन्: “मैले यहोवासित अझ घनिष्ठ हुनुपर्छ भन्ने कुरा महसुस गरें। उहाँ सबैभन्दा असल साथी हुनुहुन्छ। त्यसपछि आध्यात्मिक साथीहरूसित अझ नजिक हुन विभिन्न रमाइला गतिविधिहरूको सूची तयार पारें। मैले अरूका राम्रा गुणहरूमा ध्यान दिन र कमीकमजोरीहरूको बेवास्ता गर्न सिकें।”
परमेश्वरको सेवा गर्ने साथीहरूले पनि गल्ती गर्न सक्छन् भन्ने कुरामा दुई मत छैन। यहोवाका साक्षीहरूले पनि अरू मानिसहरूले जस्तै विभिन्न समस्याहरूसित जुझ्नुपर्छ। तर बाइबलबाट पाएको तालिमले गर्दा तिनीहरू खाँचोमा परेका मानिसहरूलाई सक्दो मदत गर्न अघि बढ्छन्। त्यस्ता व्यक्तिहरूलाई साथी बनाउनु बुद्धिमानी हो। तर के बाइबलका सिद्धान्तहरूले दीर्घकालीन स्वास्थ्य समस्या र मानसिक पीडाजस्ता अहिल्यै समाधान गर्न नसकिने समस्याहरूसँग जुझ्न मदत गर्छ?
बाइबलका सिद्धान्तहरू पालन गर्दा तपाईंले मदतगार साथीहरू पाउन सक्नुहुन्छ