प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w18 अप्रिल pp. १३-१४
  • नियुक्‍त पुरुषहरू हो, तिमोथीबाट सिक्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नियुक्‍त पुरुषहरू हो, तिमोथीबाट सिक्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तिमोथीको उदाहरण अनुकरण गर्नुहोस्‌
  • आफूले पाएको सुअवसरको कदर गर्नुहोस्‌
  • तिमोथी “विश्‍वासमा . . . सच्चा छोरा”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • जोसिलो भई आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • आफ्नो प्रगति प्रकट गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • जवान हो—परमेश्‍वरको आदर हुने लक्ष्यहरूको पछि लाग्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
w18 अप्रिल pp. १३-१४
तिमोथी

नियुक्‍त पुरुषहरू हो, तिमोथीबाट सिक्नुहोस्‌

गएको वर्ष संसारभर रहेका यहोवाका साक्षीहरूमध्ये हजारौँ पुरुषहरूलाई एल्डर र सहायक सेवक नियुक्‍त गरियो। ती प्रिय भाइहरूमध्ये तपाईँ पनि एक जना हुनुहुन्छ होला। यदि त्यसो हो भने आफूले नयाँ सुअवसर पाएकोमा तपाईँ पक्कै रमाइरहनुभएको छ।

तर कताकता डर पनि लाग्छ होला। त्यसो हुनु स्वाभाविकै हो। जेसन नाम गरेका जवान एल्डर यसो भन्छन्‌: “एल्डर नियुक्‍त भएपछि जिम्मेवारीहरूको ओइरो नै लागेझैँ महसुस भयो।” यहोवाबाट नयाँ जिम्मेवारी पाउँदा मोशा र यर्मियालाई पनि त्यो पूरा गर्न आफू तयार छैनँ जस्तो लागेको थियो। (प्रस्थ. ४:१०; यर्मि. १:६) यदि तपाईँलाई पनि त्यस्तै लाग्छ भने त्यस्तो डर हटाउन अनि अझ उन्‍नति गरिरहन तपाईँ के गर्न सक्नुहुन्छ? आउनुहोस्‌, ख्रीष्टका चेला तिमोथीको उदाहरण विचार गरौँ।—प्रेषि. १६:१-३.

तिमोथीको उदाहरण अनुकरण गर्नुहोस्‌

प्रेषित पावलले तिमोथीलाई आफूसँगै यात्रामा जाने निम्तो दिँदा सायद तिमोथी भर्खरै १८/१९ वर्ष वा २०/२२ वर्ष पुगेका थिए। आफू जवानै भएकोले सायद सुरु-सुरुमा तिमोथीसित पनि आत्मविश्‍वासको कमी थियो होला अनि आफूले पाएको नयाँ भूमिका निर्वाह गर्न तिनी हिचकिचाए होलान्‌। (१ तिमो. ४:११, १२; २ तिमो. १:१, २, ७) तर त्यसको १० वर्षपछि पावलले फिलिप्पीका ख्रीष्टियनहरूलाई तिमोथीबारे यसो भने: “प्रभु येशूको इच्छा भए, तिमोथीलाई चाँडै तिमीहरूकहाँ पठाउने आशा गर्दैछु, किनकि तिनको जस्तो मनोभाव भएको अरू कोही मसित छैन।”—फिलि. २:१९, २०.

तिमोथी कसरी यत्तिको उदाहरणीय एल्डर बन्‍न सके? तिनीबाट सिक्न सकिने छ वटा पाठ विचार गरौँ।

तिमोथी एउटी बहिनीलाई उपहार दिन्छन्‌

१. तिनले मानिसहरूको साँचो चासो राखे। पावलले फिलिप्पीका भाइहरूलाई यसो भने: “[तिमोथीले] तिमीहरूको साँचो चासो राख्नेछन्‌।” (फिलि. २:२०) हो, तिमोथी अरूको चासो राख्थे। अरूलाई यहोवासित नजिक हुन तिनी सक्दो मदत गर्न चाहन्थे र त्यसो गर्न राजीखुसीले लागिपरे।

तपाईँ त्यो बस ड्राइभरजस्तो नहुनुहोस्‌, जसलाई बसस्टपमा टाइममा पुग्ने कुराको मात्रै सरोकार छ तर यात्रुहरूलाई बसमा चढाउने कुराको चाहिँ मतलबै छैन। बीस वर्षभन्दा लामो समयदेखि एल्डरको रूपमा सेवा गर्दै आएका र भाइबहिनीको आदर कमाएका विलियम भर्खरै नियुक्‍त भएका पुरुषहरूलाई यस्तो सल्लाह दिन्छन्‌: “भाइबहिनीलाई प्रेम गर्नुहोस्‌। आफूले पूरा गर्नुपर्ने कामहरूमा भन्दा भाइबहिनीलाई के आवश्‍यक छ, त्यसमा ध्यान दिनुहोस्‌।”

तिमोथी एक जना मानिसलाई शास्त्रबाट केही देखाउँछन्‌

२. तिनले आध्यात्मिक कुरालाई पहिलो स्थान दिए। तिमोथी र अरू भाइहरूबीचको भिन्‍नता औँल्याउँदै पावलले यसो भने: “अरू सबै जना ख्रीष्ट येशूको कुरामा होइन, आफ्नै कुरामा मात्र ध्यान दिन्छन्‌।” (फिलि. २:२१) फिलिप्पीका भाइहरूलाई पत्र लेख्दा पावल रोममा थिए। रोमका भाइहरू आफ्नो व्यक्‍तिगत कामकुरामा असाध्यै व्यस्त भएको पावलले याद गरे। तिनीहरू अरूलाई मदत दिनचाहिं खासै मेहनत गरिरहेका थिएनन्‌। तर तिमोथी भने त्यस्ता थिएनन्‌। सुसमाचार फैलाउने मौका पाउँदा तिनले यशैयाको जस्तै मनोवृत्ति देखाए, जसले यसो भनेका थिए: “म हाजिर छु। मलाई पठाउनुहोस्‌।”—यशै. ६:८.

तपाईँ कसरी आफ्नो व्यक्‍तिगत र आध्यात्मिक जिम्मेवारी दुवै राम्ररी पूरा गर्न सक्नुहुन्छ? पहिलो कदम हो, प्राथमिकता तय गर्नुहोस्‌। पावलले यस्तो आग्रह गरे, ‘अझ महत्त्वपूर्ण कुराहरू के हुन्‌, सो तिमीहरूले पक्का गर।’ (फिलि. १:१०) यहोवा जुन कुरालाई महत्त्वपूर्ण ठान्‍नुहुन्छ, तपाईँ पनि त्यही कुरालाई महत्त्वपूर्ण ठान्‍नुहोस्‌। दोस्रो कदम हो, अलमल्याउने कुरालाई पन्छाउनुहोस्‌। तपाईँको समय अनि शक्‍ति खाने अनावश्‍यक कुराहरूलाई पन्छाउनुहोस्‌। पावलले तिमोथीलाई यस्तो प्रोत्साहन दिए: “युवावस्थामा उत्पन्‍न हुने इच्छाहरूदेखि भाग र . . . परमेश्‍वरको स्तरबमोजिमको असल काम, विश्‍वास, प्रेम र शान्तिको पछि लाग।”—२ तिमो. २:२२.

तिमोथी मण्डलीमा सिकाउँछन्‌

३. तिनले पवित्र सेवा चढाउन कडा मेहनत गरे। पावलले फिलिप्पीका भाइहरूलाई तिमोथीबारे यसो भने: “[तिमोथीले] आफ्नो विषयमा दिएको प्रमाण त तिमीहरूलाई थाहै छ। छोराले आफ्नो बुबालाई सघाएजस्तै सुसमाचार फैलाउनमा तिनले मसँगै परिश्रम गरे।” (फिलि. २:२२) तिमोथी अल्छे थिएनन्‌। तिनले पावलसितै मिलेर कडा मेहनत गरे र यसले गर्दा तिनीहरूबीचको बन्धन अझ बलियो भयो।

अहिले यहोवाको सङ्‌गठनमा गर्नुपर्ने काम प्रशस्तै छ। त्यो कामले तपाईँलाई साँचो सन्तुष्टि दिन्छ र भाइबहिनीसित अझ नजिक बनाउँछ। त्यसैले “प्रभुको काममा सधैं व्यस्त” भइरहने लक्ष्य राख्नुहोस्‌।—१ कोरि. १५:५८

तिमोथी प्रेषित पावलबाट सिक्छन्‌

४. तिनले सिकेको कुरा व्यवहारमा उतारे। पावलले तिमोथीलाई यसो भने: “तिमीले भने मेरो शिक्षा, मेरो जीवनशैली, मेरो उद्देश्‍य, मेरो विश्‍वास, मेरो धीरज, मेरो प्रेम र मेरो सहनशीलता राम्ररी देखेका छौ।” (२ तिमो. ३:१०) आफूले सिकेको कुरा लागू गरेकोले तिमोथी अझ गहन जिम्मेवारी वहन गर्न योग्य भए।—१ कोरि. ४:१७.

आध्यात्मिक रूपमा अघि बढ्‌न तपाईँलाई व्यक्‍तिगत चासो दिने पाको र अनुभवी साथी कोही छ? यदि छैन भने, त्यस्तो एक जना व्यक्‍ति खोज्नुभए कसो होला? वर्षौँदेखि एल्डरको रूपमा सेवा गरिरहेका टम भन्छन्‌: “एक जना अनुभवी एल्डरले मलाई व्यक्‍तिगत चासो देखाउनुभयो अनि साँच्चै राम्रो तालिम दिनुभयो। म उहाँसित सल्लाह मागिरहन्थेँ र त्यो लागू पनि गर्थेँ। यसले गर्दा मेरो आत्मविश्‍वास झन्‌झन्‌ बढ्‌दै गयो।”

तिमोथी सिकाउनको लागि तयारी गर्छन्‌

५. तिनले आफैलाई तालिम दिइरहे। पावलले तिमोथीलाई यस्तो सल्लाह दिए: “परमेश्‍वरको भक्‍ति गर्ने लक्ष्य बनाएर आफैलाई तालिम देऊ।” (१ तिमो. ४:७) खेलाडीलाई सिकाउन प्रशिक्षक त हुन्छन्‌ तर खेलाडीले आफैलाई तालिम दिनु पनि जरुरी छ। पावलले तिमोथीलाई यस्तो आग्रह गरे: “तिमी मानिसहरूसामु पवित्र लेखोटहरू पढ्‌ने अनि अर्ती दिने र सिकाउने काममा लागिरह। . . . यी कुराहरूमा चिन्तनमनन गर, त्यसैमा डुबिरह, ताकि तिम्रो प्रगति सबै मानिसहरूसामु प्रकट होस्‌।”—१ तिमो. ४:१३-१५.

तपाईँले पनि आफ्नो क्षमतालाई तिखार्दै लैजानुपर्छ। आफ्नो आध्यात्मिक उन्‍नतिलाई सुस्ताउन नदिनुहोस्‌ अनि सङ्‌गठनले दिएका नयाँ-नयाँ निर्देशनहरूसित राम्ररी परिचित भइरहनुहोस्‌। साथै अतिविश्‍वस्त नहुनुहोस्‌। तपाईँसित प्रशस्त अनुभव छ होला, तर त्यसो भन्दैमा राम्ररी अनुसन्धान नै नगरी कुनै पनि मामिला सम्हाल्न सकिहाल्छु भन्‍ने नसोच्नुहोस्‌। तिमोथीको अनुकरण गर्दै ‘आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा सधैँ होसियार हुनुहोस्‌।’—१ तिमो. ४:१६

तिमोथी प्रार्थना गर्छन्‌

६. तिनी यहोवाको पवित्र शक्‍तिमा भर परे। तिमोथीको सेवालाई विचार गर्दै पावलले तिनलाई यस्तो सल्लाह दिए: “हामीलाई सुम्पिइएको यस उत्तम नासोलाई हामीमा बास गर्ने पवित्र शक्‍तिद्वारा हिफाजत गर।” (२ तिमो. १:१४) सेवाको काममा आनन्दित भई लागिरहन तिमोथी परमेश्‍वरको पवित्र शक्‍तिमा भर पर्नुपर्थ्यो।

थुप्रै दशकदेखि एल्डरको रूपमा सेवा गर्दै आएका डोनाल्ड यसो भन्छन्‌: “नियुक्‍त पुरुषहरूले यहोवासितको आफ्नो सम्बन्धलाई कदर गर्नु आवश्‍यक छ। त्यसो गर्नेहरूले ‘बलमाथि बल पाउँछन्‌।’ तिनीहरूले परमेश्‍वरको पवित्र शक्‍ति पाउन उहाँलाई बिन्ती गरेमा अनि त्यसको फल फलाएमा तिनीहरू मण्डलीका दाजुभाइ दिदीबहिनीको लागि साँच्चै आशिष्‌ साबित हुनेछन्‌।”—भज. ८४:७; १ पत्रु. ४:११.

आफूले पाएको सुअवसरको कदर गर्नुहोस्‌

हालै नियुक्‍त भएका तपाईँजस्तै थुप्रै दाजुभाइले आध्यात्मिक उन्‍नति गरेको देख्न पाउनु साँच्चै प्रोत्साहनजनक कुरा हो। सुरुमा उल्लेख गरिएका जेसन भन्छन्‌: “एल्डर भएदेखि यता मैले थुप्रै कुराहरू सिकेको छु अनि अहिले मेरो आत्मविश्‍वास पनि बढेको छ। अहिले म रमाउँदै आफ्नो जिम्मेवारी वहन गर्छु अनि यसलाई एउटा उत्तम सुअवसरको रूपमा हेर्छु!”

के तपाईँ पनि यहोवाको सेवामा उन्‍नति गरिरहन चाहनुहुन्छ? त्यसो हो भने तिमोथीबाट सिक्ने लक्ष्य राख्नुहोस्‌। अनि तपाईँ पनि परमेश्‍वरका जनहरूको लागि आशिष्‌ साबित हुनुहुनेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने