शान्ति कसरी पाउन सक्नुहुन्छ?
हामी बाँचिरहेको संसार समस्यै समस्याले भरिएकोले शान्ति पाउन निकै सङ्घर्ष गर्नुपर्ने हुन्छ। केही हदसम्म शान्ति पाइहाल्यौँ भने पनि त्यसलाई कायम राख्न निकै गाह्रो छ। सधैँ रहिरहने साँचो शान्ति पाउन हामीलाई मदत गर्ने कस्ता कुराहरू परमेश्वरको वचनमा लेखिएका छन्? अनि हामी कसरी अरूलाई पनि त्यस्तै प्रकारको शान्ति पाउन मदत गर्न सक्छौँ?
साँचो शान्ति पाउन के चाहिन्छ?
हामी सुरक्षित महसुस गर्छौँ अनि निश्चिन्त छौँ भने साँचो शान्ति पाउन सक्छौँ। साथै अरूसित बलियो मित्रता गाँस्नु पनि आवश्यक छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा, हामीले परमेश्वरसित बलियो मित्रता गाँस्नुपर्छ। हामी कसरी त्यसो गर्न सक्छौँ?
जीवनमा आइपर्ने समस्याहरूले गर्दा थुप्रैले शान्ति गुमाएका छन्
हामी यहोवाका आज्ञा र सिद्धान्तहरू पालन गर्छौँ, जुन न्यायोचित छन्। ती पालन गर्दा हामी उहाँलाई भरोसा गर्छौँ र उहाँसित शान्तिमय सम्बन्ध गाँस्न चाहन्छौँ भनेर देखाइरहेका हुन्छौँ। (यर्मि. १७:७, ८; याकू. २:२२, २३) हामीले त्यसो गऱ्यौँ भने उहाँ पनि हामीसित नजिक हुनुहुनेछ र आशिष्स्वरूप हामीले मनोशान्ति पाउनेछौँ। यशैया ३२:१७ भन्छ: “धार्मिकताको परिणाम शान्ति हुनेछ, र त्यसको नतीजा चाहिं सदाको शान्ति र निश्चयता हुनेछ।” मनैदेखि यहोवाका आज्ञाहरू पालन गरेर हामी साँचो शान्ति पाउन सक्छौँ।—यशै. ४८:१८, १९.
साथै स्वर्गमा रहनुहुने हाम्रा बुबाले दिनुहुने एउटा अनुपम उपहारले हामीलाई साँचो शान्ति पाउन मदत गर्छ। त्यो हो, उहाँको पवित्र शक्ति।—प्रेषि. ९:३१.
परमेश्वरको पवित्र शक्तिले हामीलाई शान्ति पाउन मदत गर्छ
प्रेषित पावलले शान्तिलाई “पवित्र शक्तिको फल”-को तेस्रो पक्षको रूपमा उल्लेख गरे। (गला. ५:२२, २३) पवित्र शक्तिले मात्र साँचो शान्ति उत्पन्न गर्छ। त्यसैले साँचो शान्ति पाउन हामी पवित्र शक्तिको डोऱ्याइअनुसार चल्नुपर्छ। पवित्र शक्तिले साँचो शान्ति विकास गर्न कसरी मदत गर्छ? आउनुहोस्, दुई वटा तरिका विचार गरौँ।
पहिलो, पवित्र शक्तिको प्रेरणाद्वारा लेखिएको वचन नियमित रूपमा पढ्यौँ भने शान्ति विकास गर्न मदत पाउँछौँ। (भज. १:२, ३) बाइबलको सन्देशमा मनन गर्दा पवित्र शक्तिले हामीलाई विभिन्न क्षेत्रमा यहोवाको सोचाइ कस्तो छ भनेर बुझ्न मदत गर्नेछ। उदाहरणको लागि, यहोवा कसरी शान्ति कायम गर्नुहुन्छ अनि उहाँलाई शान्ति किन असाध्यै मन पर्छ भनेर बुझ्नेछौँ। परमेश्वरको वचनबाट सिकेका यस्ता पाठहरू लागू गऱ्यौँ भने हाम्रो जीवनमा अझ धेरै शान्ति छाउनेछ।—हितो. ३:१, २.
दोस्रो, हामीले प्रार्थना गरेर पवित्र शक्ति माग्नुपर्छ। (लूका ११:१३) यहोवासित मदत माग्यौँ भने “परमेश्वरको शान्ति, जुन सम्पूर्ण मानव विचारभन्दा उत्कृष्ट छ, त्यसले ख्रीष्ट येशूद्वारा [हाम्रो] मन र सोच्ने क्षमताको रक्षा गर्नेछ” भनेर उहाँले प्रतिज्ञा गर्नुभएको छ। (फिलि. ४:६, ७) हामीले नियमित रूपमा प्रार्थना गरेर उहाँको पवित्र शक्ति माग्यौँ भने उहाँले हाम्रो मनलाई विशेष किसिमको शान्तिले भरिदिनुहुनेछ, जुन उहाँका घनिष्ठ मित्रहरूले मात्र पाउन सक्छन्।—रोमी १५:१३.
बाइबलमा पाइने सल्लाह लागू गरेर थुप्रैले आफ्नो जीवनमा आवश्यक छाँटकाँट गरेका छन् र साँचो शान्ति पाएका छन्। तिनीहरू यहोवासित, आफूसित अनि अरू मानिसहरूसित शान्तिमा रहन सकेका छन्।
तिनीहरूले कसरी साँचो शान्ति पाए?
आज ख्रीष्टियन मण्डलीमा भएकाहरूमध्ये कोही-कोही पहिला “रिसाउने” स्वभावका थिए तर अहिले विचारशील, दयालु, धीरजी अनि अरूसित शान्तपूर्वक व्यवहार गर्ने मानिसहरू भएका छन्।a (हितो. २९:२२) दुई जना यहोवाका साक्षीहरूले यो कुरा कसरी अनुभव गरे, विचार गरौँ। तिनीहरूले आफ्नो रिसलाई नियन्त्रण गर्न अनि अरूसित शान्ति कायम गर्न सिके।
बाइबलको सिद्धान्त लागू गर्दा अनि प्रार्थना गरेर परमेश्वरको पवित्र शक्ति माग्दा हामी शान्ति पाउँछौँ
डेभिडको रिसाहा स्वभाव तिनको बोलीमा प्रस्टै देखिन्थ्यो। परमेश्वरलाई जीवन समर्पण गर्नुअघि तिनी सधैँ अरूप्रति नकारात्मक धारणा राख्थे अनि परिवारका सदस्यहरूसित पनि तीखो वचन बोल्थे। समय बित्दै जाँदा डेभिडले परिवर्तन गर्नुपर्ने र शान्तिप्रिय मानिस बन्नुपर्ने कुरा बुझे। तिनले के गरे? तिनी भन्छन्: “मैले बाइबलका सिद्धान्तहरू लागू गर्न थालेँ अनि त्यसले गर्दा हाम्रो परिवारमा एक-अर्काप्रतिको आदर पनि बढेको छ।”
रेचेल हुर्केको वातावरणले तिनको स्वभावमा निकै असर गरेको थियो। तिनी आफ्नो कमजोरी यसरी स्विकार्छिन्: “मलाई अहिले पनि आफ्नो रिस नियन्त्रण गर्न गाह्रो लाग्छ किनभने मेरो परिवारमा सबै जना रिसाहा थिए।” तिनलाई शान्तिप्रिय मानिस बन्न केले मदत गऱ्यो? तिनी भन्छिन्: “मैले यहोवालाई प्रार्थना गरेँ अनि उहाँमाथि भर परेँ।”
परमेश्वरको वचनका सिद्धान्तहरू लागू गर्दा अनि मदतको लागि उहाँको पवित्र शक्तिमा भर पर्दा शान्ति पाउन सकिन्छ भनेर अरू थुप्रैले पनि महसुस गरेका छन्। अशान्तिले भरिएको संसारमा बाँचे तापनि हामी साँचो शान्ति पाउन सक्छौँ अनि हाम्रो परिवार र सङ्गी ख्रीष्टियनहरूमाझ शान्ति छाउन सक्छ। तर “सबै मानिससित शान्तिसित बस्न” यहोवा हामीलाई आग्रह गर्नुहुन्छ। (रोमी १२:१८) के त्यो सम्भव छ? शान्ति कायम गर्ने हाम्रो प्रयासले कस्तो नतिजा ल्याउँछ?
अरूसित शान्ति कायम गर्नुहोस्
प्रचार गरेर हामी मानिसहरूलाई परमेश्वरको राज्यबारे शान्तिको सन्देश सुन्न र त्यसबाट लाभ उठाउन निम्तो दिन्छौँ। (यशै. ९:६, ७; मत्ती २४:१४) खुसीको कुरा, धेरैले हाम्रो सन्देश स्विकारेका छन्। त्यसैले वरपरको खराब अवस्था देखेर तिनीहरू पहिलेजस्तो अचाक्ली निराश हुँदैनन् वा रिसले मुरमुरिंदैनन्। बरु तिनीहरूले भविष्यको साँचो आशा पाएका छन् अनि ‘शान्ति खोजेर त्यसकै पछि लाग्न’ थालेका छन्।—भज. ३४:१४, NRV
तर सबैले हाम्रो सन्देशप्रति सकारात्मक प्रतिक्रिया देखाउँदैनन्। झन् सुरुदेखि नै सकारात्मक भएर सुन्नेहरू त कमै हुन्छन्। (यूह. ३:१९) तैपनि ती मानिसहरूलाई शान्तिसित अनि आदरपूर्वक सुसमाचार सुनाउन पवित्र शक्तिले हामीलाई मदत गर्छ। यसो गर्दा हामीले मत्ती १०:११-१३ मा येशूले दिनुभएको यो निर्देशन लागू गरिरहेका हुन्छौँ: “जब तिमीहरू कुनै घरभित्र पस्छौ, तब त्यस घरमा भएकाहरूलाई अभिवादन गर्नुका साथै शान्तिको कामना गर; त्यस घरमा भएकाहरू योग्य रहेछन् भने तिमीहरूले कामना गरेको शान्ति तिनीहरूमाथि रहोस्; तर यदि योग्य रहेनछन् भने तिमीहरूको शान्ति तिमीहरूकहाँ नै फर्किआओस्।” येशूको यो निर्देशन लागू गऱ्यौँ भने नकारात्मक प्रतिक्रिया आए पनि हाम्रो शान्ति हराउँदैन र सुसमाचार नस्विकारेका मानिसहरूले पछि स्विकार्ने सम्भावना पनि रहिरहन्छ।
साथै हामी उच्च अख्तियारवालाहरूसित आदरपूर्वक कुरा गर्छौँ। हाम्रो विरोध गर्ने सरकारी अधिकारीहरूसित समेत आदरपूर्वक कुराकानी गर्दा हामीले शान्ति कायम गर्न योगदान पुऱ्याइरहेका हुन्छौँ। उदाहरणको लागि, यहोवाका साक्षीहरूप्रतिको पूर्वाग्रहले गर्दा एउटा अफ्रिकी देशले त्यहाँ राज्यभवनहरू निर्माण गर्ने अनुमति दिएन। बेलायतको लन्डनस्थित त्यस देशको दूतावासमा गएर कुरा गर्न एक जना भाइलाई खटाइयो, जो पहिले त्यस अफ्रिकी देशमा मिसनरीको रूपमा सेवा गर्थे। असमझदारीलाई हटाउने आशा गर्दै ती भाइ राजदूतलाई भेट्न गए। यहोवाका साक्षीहरूले उनको देशमा शान्ति भङ्ग गर्ने कुनै पनि काम गरेका छैनन् भनेर ती भाइले राजदूतलाई बुझाउनुपर्ने थियो। परिणाम कस्तो भयो?
ती भाइ भन्छन्: “दूतावासको सोधपुछ कक्षमा काम गर्ने महिलाको पहिरन देख्दा, मैले जुन अफ्रिकी भाषा सिकेको थिएँ, उनी त्यही जातिको हुनुपर्छ भन्ने लाग्यो। त्यसैले मैले उनकै मातृभाषामा अभिवादन गरेँ। उनले जिल्ल पर्दै मलाई सोधिन्: ‘के कामले आउनुभयो होला?’ म राजदूतलाई भेट्न आएको हुँ भनेर आदरपूर्वक बताएँ। उनले राजदूतलाई फोन गरिन् र तिनी मलाई भेट्न बाहिर आए र आफ्नो मातृभाषामा मलाई अभिवादन गरे। त्यसपछि मैले यहोवाका साक्षीहरूले तिनको देशमा गरिरहेका राम्रा कामहरूबारे बताउँदा तिनले ध्यान दिएर सुने।”
ती भाइले आदरपूर्वक कुराकानी गरेकोले राजदूतले यहोवाका साक्षीहरूप्रतिको पूर्वाग्रह हटाउन सके। त्यसको केही समयपछि त्यस अफ्रिकी देशको सरकारले राज्यभवनको निर्माणमा लगाएको प्रतिबन्ध हटायो। त्यस्तो राम्रो नतिजा आएकोमा त्यहाँका भाइबहिनीहरू कत्ति रमाए होलान्! साँच्चै, अरूलाई आदरपूर्वक व्यवहार गर्दा थुप्रै राम्रा नतिजाहरू निस्कन्छ, जसमध्ये एउटा शान्ति पनि हो।
सधैँ शान्ति पाइरहनुहोस्
आज यहोवाका जनहरूले आध्यात्मिक प्रमोदवनको आनन्द उठाइरहेका छन्, जसमा शान्ति छाएको छ। पवित्र शक्तिको फलको यो पक्ष विकास गर्न कोसिस गर्नुभयो भने तपाईँले पनि त्यो शान्तिलाई अझ बढाउन सक्नुहुनेछ। सबैभन्दा महत्त्वपूर्ण कुरा, तपाईँले यहोवाको अनुमोदन पाउनुहुनेछ र उहाँले ल्याउनुहुने नयाँ संसारमा सधैँभरिको लागि प्रशस्त शान्ति पाउनुहुनेछ।—२ पत्रु. ३:१३, १४.
a दयाबारे हामी “पवित्र शक्तिको फलका पक्षहरू” शृङ्खलामा पछि आउने लेखमा विचार गर्नेछौँ।