प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w19 सेप्टेम्बर pp. ८-१३
  • आरमागेडोन हाम्रो लागि खुसीको खबर हो!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आरमागेडोन हाम्रो लागि खुसीको खबर हो!
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आरमागेडोन के हो?
  • आरमागेडोन सुरु हुनुअघि कस्ता घटनाहरू घट्‌नेछन्‌?
  • तपाईँ आरमागेडोनमा कसरी बच्न सक्नुहुन्छ?
  • अन्त नजिकिँदै जाँदा हामी कसरी वफादार रहिरहन सक्छौँ?
  • आरमागेडोनको युद्ध भनेको के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • आरमागेडोन उज्ज्वल भविष्यको थालनी
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • के आरमागेडोनको युद्ध इजरायलमा सुरु हुनेछ?—यसबारे बाइबल के भन्छ?
    थप लेखहरू
  • बाइबल के भन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण—२०१७)
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
w19 सेप्टेम्बर pp. ८-१३

अध्ययन लेख ३६

आरमागेडोन हाम्रो लागि खुसीको खबर हो!

“तिनीहरूले ती राजाहरूलाई . . . आरमागेडोन भन्‍ने ठाउँमा जम्मा गरे।”—प्रका. १६:१६.

गीत १५० छुटकारा पाउन यहोवालाई खोजौँ!

परिचयa

१-२. (क) आरमागेडोन मानिसजातिको लागि किन खुसीको खबर हो? (ख) यस लेखमा हामी कुन-कुन प्रश्‍नबारे विचार गर्नेछौँ?

कोही-कोही मानिसहरू आणविक युद्ध वा प्राकृतिक प्रकोपले पृथ्वीको विनाश हुनेछ भन्ठान्छन्‌। तर बाइबलले त्यस्तो कुरा सिकाउँदैन। बाइबलले चाँडै हुने एउटा युद्धबारे बताउँछ जसले राम्रो परिणाम ल्याउनेछ। बाइबलमा त्यो युद्धलाई आरमागेडोन भनिएको छ र त्यस युद्धबारे बाइबलले बताउने कुरा हाम्रो लागि खुसीको खबर हो। (प्रका. १:३) आरमागेडोनको युद्धले मानिसजातिलाई नाश गर्नेछैन बरु बचाउनेछ! कसरी?

२ आरमागेडोनको युद्धले मानव शासनको अन्त गरेर मानिसजातिलाई बचाउनेछ भनी बाइबल बताउँछ। यस युद्धले दुष्टहरूको विनाश गरेर अनि धर्मीहरूलाई जीवितै राखेर मानिसजातिलाई बचाउनेछ। अनि यसले पृथ्वीलाई विनाश हुनदेखि जोगाएर मानिसजातिलाई बचाउनेछ। (प्रका. ११:१८) यी कुराहरू राम्ररी बुझ्नको लागि हामी चार वटा प्रश्‍न विचार गर्नेछौँ: आरमागेडोन के हो? यो सुरु हुनुअघि कस्ता घटनाहरू हुनेछन्‌? हामी कसरी आरमागेडोनमा बचाइनेहरूमध्ये हुन सक्छौँ? आरमागेडोन नजिकिँदै जाँदा हामी कसरी वफादार रहिरहन सक्छौँ?

आरमागेडोन के हो?

३. (क) “आरमागेडोन” शब्दको अर्थ के हो? (ख) प्रकाश १६:१४, १६ अनुसार आरमागेडोन एउटा वास्तविक ठाउँ होइन भनेर हामी किन भन्‍न सक्छौँ?

३ प्रकाश १६:१४, १६ पढ्‌नुहोस्‌। बाइबलमा “आरमागेडोन” शब्द एक चोटि मात्र प्रयोग गरिएको छ। यो हिब्रू शब्दबाट आएको हो, जसको अर्थ हो, “मगिद्दोको पर्वत।” (प्रका. १६:१६, फुटनोट) मगिद्दो प्राचीन इस्राएलको एउटा सहर थियो। (यहो. १७:११) तर आरमागेडोनले पृथ्वीको कुनै वास्तविक ठाउँलाई बुझाउँदैन। तोकेरै भन्‍नुपर्दा, यसले यहोवाविरुद्ध “पृथ्वीभरिका राजाहरू” एकसाथ जम्मा पारिएको अवस्थालाई बुझाउँछ। (प्रका. १६:१४) तर यस लेखमा “आरमागेडोन” भन्‍ने अभिव्यक्‍तिलाई पृथ्वीका राजाहरू जम्मा पारिएलगत्तै हुने युद्धलाई बुझाउन पनि प्रयोग गरिनेछ। आरमागेडोनले लाक्षणिक ठाउँलाई बुझाउँछ भनेर हामी किन भन्‍न सक्छौँ? पहिलो कारण, मगिद्दो भन्‍ने कुनै वास्तविक पर्वत छैन। दोस्रो कारण, मगिद्दो भन्‍ने इलाका “पृथ्वीभरिका राजाहरू” अनि तिनीहरूका सेना र हातहतियारहरू सबै अटाउने जत्तिको ठूलो छैन। तेस्रो कारण, आरमागेडोनको युद्ध पृथ्वीका “राजाहरू”-ले पृथ्वीको विभिन्‍न ठाउँमा बसेका परमेश्‍वरका जनहरूमाथि आक्रमण गर्न थालेपछि सुरु हुनेछ। यसबारे हामी यस लेखमा पछि बुझ्नेछौँ।

४. यहोवाले अन्तिम महायुद्धलाई किन मगिद्दो भन्‍ने ठाउँसँग जोड्‌नुभयो?

४ यहोवाले अन्तिम महायुद्धलाई किन मगिद्दो भन्‍ने ठाउँसँग जोड्‌नुभयो? मगिद्दो र त्यसको नजिकैको यिज्रेल बेंसीमा थुप्रै लडाइँ लडिएका थिए। कुनै-कुनै अवस्थामा यहोवा स्वयम्‌ले ती लडाइँहरूमा हस्तक्षेप गर्नुभएको थियो। उदाहरणको लागि, सिसराको नेतृत्वमा आएको कनानी सेनालाई “मगिद्दोको मुहाननजिकै” परास्त गर्न परमेश्‍वरले इस्राएली न्यायकर्ता बाराकलाई मदत गर्नुभएको थियो। बाराक र भविष्यवक्‍ता दबोराले यस चमत्कारपूर्ण विजयको लागि यहोवालाई धन्यवाद चढाए। तिनीहरूले यस्तो भजन गाए: “आकाशबाट ताराहरूले लडाइँ गरे; तिनीहरू . . . सिसराविरुद्ध लडे। किसोन खोलाले शत्रुहरूलाई बगायो।”—न्याय. ५:१९-२१.

५. आरमागेडोनको युद्ध र बाराकले लडेको लडाइँबीचको एउटा प्रमुख भिन्‍नता के हो?

५ बाराक र दबोराले आफ्नो भजनको अन्तमा यसो भने: “हे यहोवा, तपाईँका शत्रुहरू सबै नाश होऊन्‌ तर तपाईँलाई प्रेम गर्नेहरू सूर्यजस्तै चम्कून्‌।” (न्याय. ५:३१) त्यसैगरि आरमागेडोनमा परमेश्‍वरका शत्रुहरू नाश हुनेछन्‌ तर उहाँलाई प्रेम गर्नेहरू भने बचाइनेछन्‌। तर यी दुई लडाइँबीच एउटा प्रमुख भिन्‍नता छ। आरमागेडोनमा परमेश्‍वरका जनहरूले युद्ध लड्‌नेछैनन्‌। तिनीहरूले कुनै हातहतियार भिर्नेछैनन्‌! तिनीहरूले “शान्त” बसेर अनि यहोवा र उहाँको स्वर्गीय सेनामाथि “भरोसा” गरेर ‘बल पाउनेछन्‌।’—यसै. ३०:१५; प्रका. १९:११-१५.

६. यहोवाले आरमागेडोनमा आफ्ना शत्रुहरूलाई कसरी परास्त गर्न सक्नुहुन्छ?

६ परमेश्‍वरले आरमागेडोनमा आफ्ना शत्रुहरूलाई कसरी परास्त गर्नुहुनेछ? उहाँले विभिन्‍न तरिका चलाउन सक्नुहुन्छ। उदाहरणको लागि, उहाँले भूकम्प, असिना र बिजुली चलाउन सक्नुहुन्छ। (अय्यु. ३८:२२, २३; इज. ३८:१९-२२) उहाँले शत्रुहरूलाई एकअर्काविरुद्ध आक्रमण गर्न लगाउन सक्नुहुन्छ। (२ इति. २०:१७, २२, २३) अनि उहाँले दुष्टहरूलाई मार्न आफ्ना स्वर्गदूतहरू चलाउन सक्नुहुन्छ। (यसै. ३७:३६) परमेश्‍वरले जुनसुकै तरिका चलाउनुभए तापनि उहाँ पूर्णतया विजयी हुनुहुनेछ। उहाँका सबै शत्रु नाश हुनेछन्‌। अनि धर्मीहरू सबै बचाइनेछन्‌।—हितो. ३:२५, २६.

आरमागेडोनको लागि अहिल्यै तयारी गर्नुहोस्‌

बाइबल हामीलाई भविष्यमा हुने केही घटनाहरूबारे बताउँछ। त्यतिबेला संसारले के गर्नेछ भनेर हामी कल्पना गर्न सक्छौँ। त्यतिबेला ‘मचाहिँ के गर्नेछु?’ भनेर के तपाईँले मनन गर्नुभएको छ?

आरमागेडोन सुरु हुनुअघि घट्‌ने घटनाहरूप्रति संसारको र यहोवाका जनहरूको प्रतिक्रियाबीच भिन्‍नता देखाइएको छ वटा तस्बिरहरू

(अनुच्छेद ७-१५ हेर्नुहोस्‌)b

आरमागेडोन सुरु हुनुअघि कस्ता घटनाहरू घट्‌नेछन्‌?

७-८. (क) पहिलो थिस्सलोनिकी ५:१-६ अनुसार विश्‍व नेताहरूले कस्तो अनौठो घोषणा गर्नेछन्‌? (ख) यो किन असाध्यै खतरनाक झूट हुनेछ?

७ “यहोवा परमेश्‍वरको दिन” सुरु हुनुअघि “शान्ति र सुरक्षा”-को घोषणा गरिनेछ। (१ थिस्सलोनिकी ५:१-६ पढ्‌नुहोस्‌) पहिलो थिस्सलोनिकी ५:२ मा प्रयोग गरिएको “यहोवा परमेश्‍वरको दिन” भन्‍ने अभिव्यक्‍तिले “महासङ्‌कष्ट”-लाई बुझाउँछ। (प्रका. ७:१४) महासङ्‌कष्ट सुरु हुनै लाग्यो भनेर हामीले कसरी थाह पाउनेछौँ? त्यो सुरु हुनुअघि एउटा असाध्यै अनौठो घोषणा हुनेछ भनी बाइबल बताउँछ। त्यो घोषणा महासङ्‌कष्ट सुरु हुनै लागेको सङ्‌केत हुनेछ।

“शान्ति र सुरक्षा”-को घोषणा

संसारले के गर्नेछ?

विश्‍वनेताहरूको एक समूह एउटा कागजातमा दस्तखत गर्न तयार हुँदै

(अनुच्छेद ८ हेर्नुहोस्‌)

यहोवाका जनहरूले के गर्नेछन्‌?

एक दम्पती ट्रलीको छेउमा उभिँदै

(अनुच्छेद ८ हेर्नुहोस्‌)

८ त्यो बाइबलमा भविष्यवाणी गरिएको “शान्ति र सुरक्षा”-को घोषणा हुनेछ। विश्‍व नेताहरूले किन त्यस्तो घोषणा गर्नेछन्‌? के धर्मगुरुहरूले पनि नेताहरूलाई साथ दिनेछन्‌? सायद दिनेछन्‌! जे होस्‌, यो घोषणा पनि प्रेतहरूबाट आएको अर्को झूट हुनेछ। तर यो झूट असाध्यै खतरनाक हुनेछ किनभने यसले मानव इतिहासमा पहिला कहिल्यै नभएको सङ्‌कष्ट सुरु हुनुअघि मानिसहरूलाई सुरक्षाको झूटो आभास दिनेछ। हो, “गर्भवती स्त्रीलाई अचानक बेथा लागेजस्तै तिनीहरूमाथि एक्कासि विनाश आइपर्नेछ।” यहोवाका वफादार सेवकहरूलाई चाहिँ के हुनेछ? यहोवाको दिन अचानक सुरु हुँदा सायद तिनीहरू छक्क पर्लान्‌ तैपनि तिनीहरू त्यसको लागि तयार हुनेछन्‌।

९. के परमेश्‍वरले सैतानको संसारलाई एकै चोटि नाश गर्नुहुनेछ? व्याख्या गर्नुहोस्‌।

९ यहोवाले सैतानको पूरै संसारलाई नुहको समयमा जस्तै एकै चोटि नामेट पार्नुहुनेछैन। बरु उहाँले दुइटा प्रमुख चरणमा सैतानको संसारलाई नाश गर्नुहुनेछ। पहिला उहाँले महान्‌ बेबिलोनलाई नाश गर्नुहुनेछ, जुन झूटो धर्मको विश्‍व साम्राज्य हो। त्यसपछि उहाँले आरमागेडोनमा सैतानको संसारको बाँकी भागलाई नाश गर्नुहुनेछ, जसमा त्यसको राजनैतिक, सैन्य र आर्थिक प्रणालीहरू पर्छन्‌। आउनुहोस्‌, यी दुइटा प्रमुख घटनालाई विस्तृत तवरमा छलफल गरौँ।

१०. प्रकाश १७:१, ६ र १८:२४ अनुसार यहोवाले महान्‌ बेबिलोनलाई किन नाश गर्नुहुनेछ?

१० “त्यस महावेश्‍यामाथि . . . इन्साफ।” (प्रकाश १७:१, ६; १८:२४ पढ्‌नुहोस्‌) महान्‌ बेबिलोनले परमेश्‍वरको नामको घोर निन्दा गरेकी छे। त्यसले मानिसहरूलाई परमेश्‍वरबारे झूटा कुराहरू सिकाएकी छे। त्यसले पृथ्वीका शासकहरूसित साँठगाँठ गरेर आध्यात्मिक व्यभिचार गरेकी छे। त्यसले आफ्नो शक्‍ति र प्रभुत्वको दुरुपयोग गरेर आफ्ना सदस्यहरूबाट नाजायज फाइदा उठाएकी छे। अनि त्यसले थुप्रैको रगत बगाएकी छे, जसमा परमेश्‍वरका सेवकहरूको रगत पनि पर्छ। (प्रका. १९:२) यहोवाले महान्‌ बेबिलोनलाई कसरी नाश गर्नुहुनेछ?

“महावेश्‍यामाथि . . . इन्साफ”

संसारले के गर्नेछ?

हतियार भिरेको सेना धार्मिक भवनहरूलाई नष्ट गर्दै

(अनुच्छेद ११ हेर्नुहोस्‌)

यहोवाका जनहरूले के गर्नेछन्‌?

एउटा परिवार सँगै बाइबल पढ्‌दै

(अनुच्छेद १२ हेर्नुहोस्‌)

११. “चहकिलो रातो रङ्‌गको जङ्‌गली जनावर” के हो? परमेश्‍वरले महान्‌ बेबिलोनलाई नाश गर्न त्यसलाई कसरी चलाउनुहुनेछ?

११ यहोवाले “चहकिलो रातो रङ्‌गको जङ्‌गली जनावर”-को “दस वटा सिङ” चलाएर “त्यस महावेश्‍या”-लाई नाश गर्नुहुनेछ। त्यो प्रतीकात्मक जङ्‌गली जनावर संयुक्‍त राष्ट्र सङ्‌घ हो। त्यसको दस वटा सिङले हाल संयुक्‍त राष्ट्र सङ्‌घलाई समर्थन गर्ने राजनैतिक शक्‍तिहरूलाई बुझाउँछ। परमेश्‍वरले तोक्नुभएको समयमा ती राजनैतिक शक्‍तिहरूले लाक्षणिक बेबिलोनमाथि आक्रमण गर्नेछन्‌। तिनीहरूले त्यसको सम्पत्ति लुटेर अनि त्यसको दुष्टतालाई पर्दाफास गरेर “त्यसलाई उजाड र नाङ्‌गो पार्नेछन्‌।” (प्रका. १७:३, १६) त्यसको विनाश एकदमै छिटो अर्थात्‌ एकै दिनमा भएजस्तो हुनेछ अनि त्यसका समर्थकहरूलाई त्यसको विनाश भएको कुरा पत्याउनै गाह्रो लाग्नेछ। नलागोस्‌ पनि किन! त्यसले लामो समयदेखि यस्तो घमन्ड गर्दै आएकी थिई: “म महारानी भएर बसेकी छु, म विधवा होइनँ, त्यसैले मैले कहिल्यै शोक गर्नुपर्नेछैनँ।”—प्रका. १८:७, ८.

१२. परमेश्‍वरले राष्ट्रहरूलाई के गर्न दिनुहुनेछैन र किन?

१२ परमेश्‍वरले आफ्ना जनहरूलाई राष्ट्रहरूको हातबाट नाश हुन दिनुहुनेछैन। परमेश्‍वरका जनहरू उहाँको नाम वहन गर्न पाएकोमा गर्व गर्छन्‌ र तिनीहरूले ‘महान्‌ बेबिलोनबाट निस्केर आओ’ भन्‍ने उहाँको आज्ञा पालन गरेका छन्‌। (प्रेषि. १५:१६, १७; प्रका. १८:४) तिनीहरूले अरूलाई त्यसबाट निस्केर आउन मदत दिन पनि निकै प्रयास गरेका छन्‌। त्यसैले यहोवाका सेवकहरूले ‘त्यसमाथि आइपर्ने विपत्तिहरू भोग्नेछैनन्‌।’ तैपनि त्यसबेला घट्‌ने घटनाहरूले गर्दा तिनीहरूको विश्‍वासको जाँच हुनेछ।

स्वर्गदुतहरूले यहोवाका जनहरू जम्मा भइरहेको घरमा प्रहरीहरू घुस्न लागेको हेर्दै

परमेश्‍वरका जनहरू पृथ्वीको जुनसुकै ठाउँमा भए तापनि आफूविरुद्ध आक्रमण हुँदा तिनीहरूले परमेश्‍वरमा भरोसा राख्नेछन्‌ (अनुच्छेद १३ हेर्नुहोस्‌)c

१३. (क) गोग को हो? (ख) इजकिएल ३८:२, ८, ९ अनुसार गोग कसरी आरमागेडोन भनिने लाक्षणिक ठाउँमा पुग्नेछ?

१३ गोगको आक्रमण। (इजकिएल ३८:२, ८, ९ पढ्‌नुहोस्‌) सबै झूटा धार्मिक सङ्‌गठनहरूको विनाशपछि परमेश्‍वरका जनहरू भीषण आँधीबेहरीबाट बचेर ठिङ्‌ग उभिरहेको एउटा रूखजस्तै हुनेछन्‌। यो देखेर सैतान पक्कै क्रोधित हुनेछ। त्यसले आफ्नो क्रोध पोख्न प्रेतहरूको झूट अर्थात्‌ “अशुद्ध प्रेरित वचन” प्रयोग गर्नेछ, जसले राष्ट्रहरूको गठबन्धनलाई यहोवाका सेवकहरूमाथि आक्रमण गर्न सुऱ्‍याउनेछ। (प्रका. १६:१३, १४) यस गठबन्धनलाई “मागोग देशको गोग” भनिएको छ। राष्ट्रहरूले यहोवाका जनहरूमाथि आक्रमण गर्दा तिनीहरू आरमागेडोन भनिने लाक्षणिक ठाउँमा पुग्नेछन्‌।—प्रका. १६:१६.

“मागोगको गोग”-को आक्रमण

संसारले के गर्नेछ?

मागोगको गोगको आक्रमणको दौडान हतियार भिरेको सेना युद्ध गर्दै

(अनुच्छेद १४ हेर्नुहोस्‌)

यहोवाका जनहरूले के गर्नेछन्‌?

आक्रमणको बेला एक स्वर्गदूतले यहोवाका जनहरूको सुरक्षा गर्दै

(अनुच्छेद १५ हेर्नुहोस्‌)

१४. गोगले कुन कुरा थाह पाउनेछ?

१४ गोगले आफ्नो “शारीरिक शक्‍तिमा” अर्थात्‌ आफ्नो सैन्य बलमा भरोसा राख्नेछ। (२ इति. ३२:८) हामीचाहिँ हाम्रा परमेश्‍वर यहोवामा भरोसा राख्नेछौँ। हाम्रो यस्तो भरोसा राष्ट्रहरूलाई मूर्खताजस्तो लाग्नेछ। नलागोस्‌ पनि कसरी! पहिला अत्यन्तै शक्‍तिशाली महान्‌ बेबिलोनका ईश्‍वरहरूले त्यसलाई “जङ्‌गली जनावर” र त्यसको “दस वटा सिङ”-बाट बचाउन सकेनन्‌। (प्रका. १७:१६) त्यसैले परमेश्‍वरका जनहरूलाई पनि सजिलै नाश गर्न सक्छु जस्तो गोगलाई लाग्नेछ। त्यसले यहोवाका जनहरूलाई “पूरै देशलाई ढाक्ने बादलझैँ” आक्रमण गर्नेछ। (इज. ३८:१६) तर गोगले आफू निस्कन नसक्ने पासोमा परेको कुरा छिट्टै चाल पाउनेछ। लाल समुद्रमा फारोले थाह पाएजस्तै गोगले पनि आफू यहोवाविरुद्ध लडिरहेको रहेछु भनेर थाह पाउनेछ।—प्रस्थ. १४:१-४; इज. ३८:३, ४, १८, २१-२३.

१५. ख्रिष्ट कसरी पूर्णतया विजयी हुनुहुनेछ?

१५ ख्रिष्ट र उहाँका स्वर्गीय सेनाले परमेश्‍वरका जनहरूको सुरक्षा गर्नेछन्‌ र गोगको फौजलाई चकनाचुर पार्नेछन्‌। (प्रका. १९:११, १४, १५) तर यहोवाको मुख्य शत्रु सैतानलाई के हुनेछ, जसको झूटले गर्दा राष्ट्रहरू आरमागेडोनमा जाकिन पुगे? येसुले सैतान र त्यसका प्रेतहरूलाई अगाध खाडलमा हुऱ्‍याउनुहुनेछ र तिनीहरू त्यहाँ एक हजार वर्षको लागि थुनिनेछन्‌।—प्रका. २०:१-३.

तपाईँ आरमागेडोनमा कसरी बच्न सक्नुहुन्छ?

१६. (क) हामी ‘परमेश्‍वरलाई चिनेको’ कुरा कसरी देखाउँछौँ? (ख) यहोवालाई चिन्‍नु आरमागेडोनमा हाम्रो लागि कसरी आशिष्‌ साबित हुन सक्छ?

१६ चाहे हामीले सत्य भर्खरै सिकेका हौँ वा वर्षौँअघि, आरमागेडोनमा बच्न हामीले ‘परमेश्‍वरलाई चिनेको’ र ‘हाम्रा प्रभु येसुसित सम्बन्धित सुसमाचारबमोजिम चलेको’ कुरा देखाउनुपर्छ। (२ थिस्स. १:७-९) परमेश्‍वरलाई के मन पर्छ, के मन पर्दैन अनि उहाँका स्तरहरू के हुन्‌ भनेर थाह पाएका छौँ भने हामीले ‘परमेश्‍वरलाई चिनेका’ छौँ भन्‍न सक्छौँ। साथै, उहाँलाई प्रेम गरेर, उहाँको आज्ञा पालन गरेर अनि उहाँलाई मात्र भक्‍ति चढाएर हामी उहाँलाई चिनेको देखाउँछौँ। (१ युह. २:३-५; ५:३) हामीले परमेश्‍वरलाई चिनेको कुरा देखाउँदा ‘परमेश्‍वरबाट चिनिने’ सम्मान पाउनेछौँ अनि आरमागेडोनमा बचाइनेछौँ! (१ कोरि. ८:३) किन? किनकि ‘परमेश्‍वरबाट चिनिनु’ भनेको उहाँको अनुमोदन पाउनु हो।

१७. ‘हाम्रा प्रभु येसुसित सम्बन्धित सुसमाचारबमोजिम चल्नुको’ अर्थ के हो?

१७ “हाम्रा प्रभु येसुसित सम्बन्धित सुसमाचार”-मा येसुले सिकाउनुभएका सबै सत्य पर्छन्‌, जुन परमेश्‍वरको वचनमा पाइन्छ। सुसमाचारबमोजिम चलेर हामी त्यसप्रति आज्ञाकारी भएको कुरा देखाउँछौँ। त्यस्तो आज्ञाकारितामा परमेश्‍वरको राज्यसित सम्बन्धित गतिविधिलाई पहिलो स्थान दिनु, परमेश्‍वरका धार्मिक स्तरहरूअनुसार जीवन बिताउनु र परमेश्‍वरको राज्यबारे घोषणा गर्नु समावेश छ। (मत्ति ६:३३; २४:१४) यसमा गहन जिम्मेवारी वहन गरिरहेका ख्रिष्टका अभिषिक्‍त भाइहरूलाई समर्थन गर्नु पनि समावेश छ।—मत्ति २५:३१-४०.

१८. ख्रिष्टका अभिषिक्‍त भाइहरूले कसरी आफूलाई दिइएको मदतको बदलामा दया देखाउन पाउनेछन्‌?

१८ “अरू भेडा”-ले परमेश्‍वरका अभिषिक्‍त सेवकहरूलाई दिएको मदतको बदलामा चाँडै नै ती अभिषिक्‍त सेवकहरूले पनि “अरू भेडा”-लाई दया देखाउन पाउनेछन्‌। (युह. १०:१६) कसरी? आरमागेडोनको युद्ध सुरु हुनुअघि १,४४,००० सबैलाई अमर व्यक्‍तिहरूको रूपमा स्वर्ग लगिसकिएको हुनेछ। तिनीहरू स्वर्गीय सेनाको भाग हुनेछन्‌, जसले गोगलाई चकनाचुर पार्नेछ र भेडाखाले मानिसहरूको “ठूलो भीड”-लाई जोगाउनेछ। (प्रका. २:२६, २७; ७:९, १०) यहोवाका अभिषिक्‍त सेवकहरू पृथ्वीमा छँदा तिनीहरूलाई समर्थन गर्न पाएकोमा त्यतिबेला ठूलो भीड साँच्चै खुसी हुनेछ!

अन्त नजिकिँदै जाँदा हामी कसरी वफादार रहिरहन सक्छौँ?

१९-२०. परीक्षाहरू भोग्नुपरे तापनि आरमागेडोन नजिकिँदै जाँदा हामी कसरी वफादार रहिरहन सक्छौँ?

१९ अहिलेको कठिन आखिरी दिनमा यहोवाका थुप्रै सेवकले परीक्षाहरू भोगिरहेका छन्‌। तैपनि हामी आनन्दित भई ती परीक्षाहरू सहन सक्छौँ। (याकु. १:२-४) यसो गर्न हामीलाई मदत गर्ने मुख्य कुरा भनेको मनैदेखिको प्रार्थना हो। (लुका २१:३६) हामीले प्रार्थना गर्नुका साथै दिनहुँ परमेश्‍वरको वचन अध्ययन गर्नुपर्छ, त्यसमा मनन गर्नुपर्छ; साथै हाम्रो समयबारे गरिएका उल्लेखनीय भविष्यवाणीहरूबारे गहिरो चिन्तन गर्नुपर्छ। (भज. ७७:१२) यी कुराहरू गर्नुका साथै प्रचारकार्यमा पूरापूर भाग लियौँ भने हाम्रो विश्‍वास बलियो हुनेछ र हाम्रो आशा जीवित रहनेछ!

२० महान्‌ बेबिलोनको विनाश हुँदा र आरमागेडोनको युद्ध सकिँदा तपाईँ कत्ति हर्षित हुनुहुनेछ, सोच्नुहोस्‌ त! सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्‍वरको नाम र उहाँको सार्वभौमिकता पूर्णतया उच्च पारिँदा तपाईँले कत्ति गहिरो आनन्द महसुस गर्नुहुनेछ, कल्पना गर्नुहोस्‌ त! (इज. ३८:२३) परमेश्‍वरलाई चिन्‍ने, उहाँको छोराको आज्ञा पालन गर्ने र अन्तसम्मै सहनेहरूको लागि आरमागेडोन साँच्चै खुसीको खबर हो!—मत्ति २४:१३.

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • आरमागेडोन सुरु हुनुअघि हुने केही प्रमुख घटनाहरू के-के हुन्‌?

  • “शान्ति र सुरक्षा”-को घोषणा किन खतरनाक झूट हुनेछ?

  • आरमागेडोन नजिकिँदै जाँदा हामी कसरी वफादार रहिरहन सक्छौँ?

गीत १४३ हार नमानी यहोवाको दिनको प्रतीक्षा गरौँ!

a यहोवाका जनहरूले आरमागेडोनको बाटो हेरेको लामो समय भइसक्यो। यस लेखमा हामी आरमागेडोन के हो, यो सुरु हुनुअघि कस्ता घटनाहरू हुनेछन्‌ अनि अन्त नजिकिँदै जाँदा हामी कसरी वफादार रहिरहन सक्छौँ भनेर छलफल गर्नेछौँ।

b चित्रको व्याख्या: हाम्रो वरपर उल्लेखनीय घटनाहरू भइरहेका छन्‌। हामी (१) सम्भव होउन्जेल प्रचारकार्यमा भाग लिनेछौँ, (२) अध्ययन गर्ने हाम्रो तालिका कायम राख्नेछौँ र (३) परमेश्‍वरले दिनुहुने सुरक्षामा भरोसा राखिरहनेछौँ।

c चित्रको व्याख्या: एउटा साक्षी परिवारको घरमा घुस्न प्रहरीहरू तयार छन्‌ तर वरपर भइरहेका घटनाहरूबारे येसु र उहाँका स्वर्गदूतहरूलाई थाह छ भन्‍ने कुरामा त्यस परिवारलाई भरोसा छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने