प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w19 अक्टोबर pp. १-३२
  • “महासङ्‌कष्ट”-को दौडान वफादार रहिरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “महासङ्‌कष्ट”-को दौडान वफादार रहिरहनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • “महासङ्‌कष्ट”-को दौडान के हुनेछ?
  • यहोवाको शुद्ध उपासनाको पक्षमा खडा भइरहनुहोस्‌
  • परमेश्‍वरका जनहरूमाथि हुने आक्रमणको लागि तयार हुनुहोस्‌
  • वफादारी, सहनशीलता र साहसलाई अझ बढाउँदै लैजानुहोस्‌
  • आफ्नो छुटकाराको बाटो हेरिरहनुहोस्‌
  • परमेश्‍वरको राज्यले शत्रुहरूलाई नामेट पार्नेछ
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • “हामीलाई भन्‍नुहोस्‌, यी कुराहरू कहिले हुनेछन्‌?”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • “तिमीहरूको छुटकारा नजिक आउँदैछ!”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • महासङ्‌कष्ट भनेको के हो?
    बाइबल प्रश्‍नहरूको जवाफ
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
w19 अक्टोबर pp. १-३२

अध्ययन लेख ४१

“महासङ्‌कष्ट”-को दौडान वफादार रहिरहनुहोस्‌

“हे यहोवाप्रति वफादार सबै मानिस हो, उहाँलाई प्रेम गर! भरोसायोग्य मानिसहरूको यहोवा रक्षा गर्नुहुन्छ।”—भज. ३१:२३.

गीत १२९ हामी सहिरहन्छौँ!

परिचयa

१-२. (क) छिट्टै राष्ट्रहरूले के घोषणा गर्नेछन्‌? (ख) कस्ता प्रश्‍नहरूको जवाफ पाउनु आवश्‍यक छ?

भविष्यवाणी गरिएअनुसारै राष्ट्रहरूले भर्खरै “शान्ति र सुरक्षा”-को घोषणा गरेको कल्पना गर्नुहोस्‌। संसार पहिला कहिल्यै यत्ति सुरक्षित थिएन भनेर सायद तिनीहरूले धाक लगाउलान्‌। संसारको सबै समस्या समाधान गर्न राष्ट्रहरू सफल भएको कुरामा हामीले विश्‍वास गरेको तिनीहरू चाहन्छन्‌। तर त्यसको लगत्तै घट्‌ने घटनाहरूलाई तिनीहरूले कुनै हालतमा रोक्न सक्नेछैनन्‌! किन? किनभने बाइबल भविष्यवाणीअनुसार “तिनीहरूमाथि एक्कासि विनाश आइपर्नेछ र तिनीहरू कुनै हालतमा उम्कनेछैनन्‌।”—१ थिस्स. ५:३.

२ यी महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पाउनु आवश्‍यक छ: “महासङ्‌कष्ट”-को दौडान के हुनेछ? हामीले त्यतिबेला के गरेको यहोवा चाहनुहुन्छ? महासङ्‌कष्टको दौडान वफादार रहिरहन हामी अहिल्यै कसरी तयारी गर्न सक्छौँ?—मत्ति २४:२१.

“महासङ्‌कष्ट”-को दौडान के हुनेछ?

३. प्रकाश १७:५, १५-१८ अनुसार परमेश्‍वरले “महान्‌ बेबिलोन”-लाई कसरी विनाश गर्नुहुनेछ?

३ प्रकाश १७:५, १५-१८ पढ्‌नुहोस्‌। “महान्‌ बेबिलोन”-को विनाश हुनेछ! सुरुमा उल्लेख गरिएजस्तै त्यसबेला घट्‌ने घटनाहरूलाई राष्ट्रहरूले कुनै हालतमा रोक्न सक्नेछैनन्‌। किन? किनभने “परमेश्‍वरले आफ्नो सोच पूरा गर्न तिनीहरूको हृदयमा यो कुरा हालिदिनुहुनेछ।” त्यो कस्तो सोच हो? झूटो धर्मको विश्‍वसाम्राज्य विनाश गर्ने सोच, जसमा चर्चजगत्‌ पनि पर्छ।b “दस वटा सिङ” भएको “चहकिलो रातो रङ्‌गको जङ्‌गली जनावर”-को हृदयमा परमेश्‍वरले आफ्नो सोच हालिदिनुहुनेछ। यस “जङ्‌गली जनावर”-ले संयुक्‍त राष्ट्र सङ्‌घलाई र यसको “दस वटा सिङ”-ले त्यसलाई समर्थन गर्ने सबै राजनैतिक शक्‍तिलाई बुझाउँछ। (प्रका. १७:३, ११-१३; १८:८) जब ती राजनैतिक शक्‍तिहरूले झूटो धर्मलाई आक्रमण गर्नेछन्‌, तब त्यो महासङ्‌कष्टको सुरुवातको सङ्‌केत हुनेछ। त्यो घटनाले पूरै संसारलाई हल्लाउनेछ।

४. (क) झूटा धर्महरूमाथि आक्रमण गर्नुको पछाडि राष्ट्रहरूले कस्ता कारणहरू देखाउन सक्छन्‌? (ख) पहिला ती धर्महरूमा आबद्ध मानिसहरूले सायद के गर्नेछन्‌?

४ महान्‌ बेबिलोनमाथि आक्रमण गर्नुको पछाडि राष्ट्रहरूले कस्ता कारणहरू देखाउनेछन्‌, हामीलाई थाह छैन। धर्महरूले शान्ति खलबलाएको अनि राजनीतिमा सधैँ हस्तक्षेप गरेको कुरालाई सायद तिनीहरूले औँल्याउनेछन्‌। अथवा ती धार्मिक सङ्‌गठनहरूले अकुत सम्पत्ति बटुलेको आरोप लगाउनेछन्‌। (प्रका. १८:३, ७) महान्‌ बेबिलोनमाथिको आक्रमणले झूटो धर्मका प्रत्येक सदस्यलाई नभई धार्मिक सङ्‌गठनहरूलाई नाश गर्नेछ जस्तो देखिन्छ। ती सङ्‌गठनहरू नाश भएपछि तिनमा पहिला आबद्ध मानिसहरूले आफ्ना धर्मगुरुहरूले प्रतिज्ञा गरेको कुरा पूरा गर्न नसकेको स्पष्टसित देख्नेछन्‌। त्यसैले सायद तिनीहरू ती धर्महरूबाट टाढै बस्न खोज्नेछन्‌।

५. महासङ्‌कष्टबारे यहोवाले कस्तो प्रतिज्ञा गर्नुभएको छ र किन?

५ महान्‌ बेबिलोनको विनाश हुन कति समय लाग्नेछ भनेर बाइबलले बताएको छैन तर त्यो समयावधि धेरै लामो हुनेछैन भनेर चाहिँ हामीलाई राम्ररी थाह छ। (प्रका. १८:१०, २१) “आफूले चुनेका जनहरू” महासङ्‌कष्टबाट बच्न सकून्‌ र साँचो धर्मको अस्तित्व नमेटियोस्‌ भनेर यहोवाले ‘ती दिन घटाउने’ प्रतिज्ञा गर्नुभएको छ। (मर्कु. १३:१९, २०) तर महासङ्‌कष्ट सुरु भएको समयदेखि आरमागेडोनको युद्धसम्म हामीले के गरेको यहोवा चाहनुहुन्छ?

यहोवाको शुद्ध उपासनाको पक्षमा खडा भइरहनुहोस्‌

६. झूटो धर्मबाट अलग रहनु मात्र किन पर्याप्त छैन?

६ अघिल्लो लेखमा छलफल गरिएझैँ यहोवा आफ्ना उपासकहरू महान्‌ बेबिलोनबाट अलग रहेको चाहनुहुन्छ। तर त्यसो गर्न झूटो धर्मबाट अलग रहेर मात्र पुग्दैन। हामीले साँचो धर्म अर्थात्‌ यहोवाको शुद्ध उपासनाको पक्षमा खडा हुन दृढ अडान पनि लिनुपर्छ। त्यसो गर्न सकिने दुई वटा तरिका विचार गरौँ।

महासङ्‌कष्टको बेला साक्षीहरूको एउटा सानो समूह मण्डलीको सभाको लागि जङ्‌गलमा भेला हुन्छन्‌

गाह्रो समयमा समेत एकसाथ भेला हुन कहिल्यै नछोडौँ! (अनुच्छेद ७ हेर्नुहोस्‌)g

७. (क) हामी कसरी यहोवाका उच्च नैतिक स्तरहरू दृढ भई पालन गरिरहन सक्छौँ? (ख) हिब्रू १०:२४, २५ ले खासगरि अहिले एक साथ भेला हुनुपर्ने महत्त्वलाई कसरी जोड दिन्छ?

७ पहिलो, हामीले यहोवाका उच्च नैतिक स्तरहरू दृढ भई पालन गरिरहनुपर्छ। हामीले संसारको मूल्यमान्यता र स्तरलाई तिरस्कार गर्नुपर्छ। उदाहरणको लागि, हामी सबै प्रकारको अवैध यौनसम्बन्धलाई घृणा गर्छौँ, जसमा समलिङ्‌गी विवाह र अन्य प्रकारको समलिङ्‌गी जीवनशैली पनि समावेश छ। (मत्ति १९:४, ५; रोमी १:२६, २७) दोस्रो, हामीले सङ्‌गी ख्रिष्टियनहरूसित मिलेर यहोवाको उपासना गरिरहनुपर्छ। उपासनाको लागि भेला हुन हामी सक्दो कोसिस गर्छौ; सम्भव भएसम्म राज्यभवनमा भेला हुन्छौँ तर सम्भव भएन भने कसैको घरमा वा अरू कुनै ठाउँमा गोप्य रूपमा समेत भेला हुन्छौँ। परिस्थितिले जस्तोसुकै मोड लिए पनि हामी उपासनाको लागि भेला हुने बानी छोड्‌न चाहँदैनौँ। वास्तवमा भन्‍ने हो भने “दिन जति-जति नजिक हुँदै गइरहेको देख्छौँ, झन्‌ बढी” त्यसरी भेला हुनु महत्त्वपूर्ण छ।—हिब्रू १०:२४, २५ पढ्‌नुहोस्‌।

८. भविष्यमा हामीले सुनाउने सन्देशमा सम्भवतः कस्तो परिवर्तन हुनेछ?

८ महासङ्‌कष्टको दौडान हामीले सुनाउने सन्देश पनि सम्भवतः परिवर्तन हुनेछ। अहिले हामी राज्यको सुसमाचार सुनाइरहेका छौँ र चेला बनाउन प्रयत्न गरिरहेका छौँ। तर सायद त्यसबेला भने हामीले मानिसहरूमाथि असिनाजस्तै बर्सिने सन्देश सुनाउनेछौँ। (प्रका. १६:२१) हुन सक्छ, त्यसबेला हामी सैतानको संसार चाँडै नाश हुँदै छ भनेर घोषणा गर्नेछौँ। हामीले ठ्याक्कै कस्तो सन्देश सुनाउनेछौँ र कसरी सुनाउनेछौँ भन्‍ने कुरा त्यसैबेला थाह पाउनेछौँ। सुसमाचार सुनाउन हामीले सय वर्षअघिदेखि जुन तरिका अपनाउँदै आएका छौँ, के त्यसबेला पनि त्यही तरिका अपनाउनेछौँ? वा अरू नै तरिका अपनाउनेछौँ? त्यो त समयले नै देखाउनेछ। जेहोस्‌, हामीले साहसी हुँदै यहोवाको न्यायको सन्देश सुनाउने सुअवसर पाउनेछौँ जस्तो देखिन्छ।—इज. २:३-५.

९. हामीले सुनाउने सन्देशप्रति राष्ट्रहरूले कस्तो प्रतिक्रिया देखाउन सक्छन्‌ तर हामी कुन कुरामा ढुक्क हुन सक्छौँ?

९ हामीले सुनाउने सन्देशले राष्ट्रहरूलाई पक्कै क्रोधित बनाउनेछ र तिनीहरू हाम्रो नामोनिसान मेटाउन लागिपर्नेछन्‌। अहिले हामी यहोवामा भर परेर प्रचार गरेजस्तै त्यतिबेला पनि उहाँमा भर पर्नु आवश्‍यक छ। हाम्रा परमेश्‍वरले उहाँको इच्छा पूरा गर्न चाहिने बल हामीलाई दिनुहुनेछ भनेर ढुक्क हुन सक्छौँ।—मिका ३:८.

परमेश्‍वरका जनहरूमाथि हुने आक्रमणको लागि तयार हुनुहोस्‌

१०. लुका २१:२५-२८ मा भविष्यवाणी गरिएअनुसार महासङ्‌कष्टको दौडान अधिकांश मानिसहरूले कस्तो प्रतिक्रिया देखाउनेछन्‌?

१० लुका २१:२५-२८ पढ्‌नुहोस्‌। महासङ्‌कष्टको दौडान हुने घटनाहरू देखेर मानिसहरू स्तब्ध हुनेछन्‌। आफूले भरोसा राखेका सबै कुरा—राजनैतिक, आर्थिक र संसारका अरू तत्त्वहरू भताभुङ्‌ग भएको तिनीहरूले देख्नेछन्‌। मानव इतिहासकै सबैभन्दा अन्धकारमय त्यस समयमा आफ्नो जीवनै खतरामा परेकोले मानिसहरू “वेदना”-ले भरिनेछन्‌। (सप. १:१४, १५) त्यसबेला यहोवाका जनहरूको जीवन पनि सायद पहिलेभन्दा अझै कठिन हुनेछ। संसारको भाग नबनेको कारण हामीले केही कठिनाइ भोग्नुपर्ने हुन सक्छ। हामीले केही आधारभूत कुराहरूको अभाव झेल्नुपर्ने हुन सक्छ।

११. (क) सबैको ध्यान किन यहोवाका साक्षीहरूतर्फ केन्द्रित हुनेछ? (ख) महासङ्‌कष्टदेखि हामी किन डराउनुपर्दैन?

११ आफूले मानेको धर्म नाश भइसके तापनि यहोवाका साक्षीहरूले चाहिँ अझै आफ्नो धर्म मानिरहेको देख्दा ती मानिसहरू रिसले चुर हुनेछन्‌। यसले गर्दा ती मानिसहरूले निकै ठूलो हलचल मच्चाउनेछन्‌ भनेर हामी कल्पना गर्न सक्छौँ, जस्तै: सामाजिक सञ्जालमा। पृथ्वीभरिमा हाम्रो धर्म मात्रै बाँकी रहेको देख्दा राष्ट्रहरू र तिनीहरूको शासक सैतानले हामीलाई घृणा गर्नेछन्‌। संसारबाट सबै धर्म नामेट पार्ने आफ्नो अभिप्राय पूरा नभएको तिनीहरूले थाह पाउनेछन्‌। त्यसैले तिनीहरूको ध्यान हामीतर्फ नै केन्द्रित हुनेछ। यतिखेर संसारका राष्ट्रहरू मागोगको गोग हुनेछन्‌।c तिनीहरू यहोवाका जनहरूमाथि भीषण आक्रमण गरेर उनीहरूको नामोनिसान मेटाउन एकजुट हुनेछन्‌। (इज. ३८:२, १४-१६) त्यसबेला हुने घटनाबारे एक-एक कुरा थाह नभएकोले हामीमाथि हुने आक्रमणबारे सोच्दा हामीलाई चिन्ता लाग्नु स्वाभाविकै हो। तर यो कुरामा भने हामी ढुक्क हुन सक्छौँ: महासङ्‌कष्टदेखि हामी डराउनुपर्दैन। त्यसबेला हाम्रो जीवन बचाउन चाहिने निर्देशन यहोवाले दिनुहुनेछ। (भज. ३४:१९) त्यसबेला हामी “खडा भएर आफ्नो शिर [उठाउनेछौँ]” किनकि हाम्रो “छुटकारा नजिक आउँदै छ” भनेर हामीलाई थाह हुनेछ।d

१२. “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले भविष्यमा हुने घटनाहरूको लागि हामीलाई कसरी तयार बनाउँदै आएको छ?

१२ “विश्‍वासी र बुद्धिमान्‌ दास”-ले हामीलाई महासङ्‌कष्टको दौडान वफादार रहिरहनको लागि तयार बनाउँदै आएको छ। (मत्ति २४:४५) महासङ्‌कष्टको लागि तयार रहन मदत गर्ने थुप्रै कुरा हामीले पाएका छौँ। तीमध्ये एउटा विचार गरौँ: सन्‌ २०१६ देखि २०१८ का समयसुहाउँदा अधिवेशन कार्यक्रमहरू। ती कार्यक्रमहरूबाट हामीले यहोवाको दिन झन्‌झन्‌ नजिक हुँदैजाँदा चाहिने गुणहरू अझ बढाउँदै लैजान प्रोत्साहन पायौँ। आउनुहोस्‌, ती गुणहरूबारे छोटकरीमा छलफल गरौँ।

वफादारी, सहनशीलता र साहसलाई अझ बढाउँदै लैजानुहोस्‌

यहोवाका जनहरूको एउटा ठूलो भीडले महासङ्‌कष्ट पार गर्छ

“महासङ्‌कष्ट” जीवितै पार गर्न अहिल्यै तयारी गर्नुहोस्‌ (अनुच्छेद १३-१६ हेर्नुहोस्‌)h

१३. यहोवाप्रतिको वफादारीलाई हामी कसरी बढाउँदै लैजान सक्छौँ? हामीले किन अहिल्यै त्यसो गर्नुपर्छ?

१३ वफादारी: सन्‌ २०१६ को अधिवेशनको मूल विषय थियो, “यहोवा परमेश्‍वरप्रति वफादार हुनुहोस्‌!” यहोवासित घनिष्ठ सम्बन्ध गाँस्यौँ भने हामी उहाँप्रति वफादार रहिरहन सक्नेछौँ भनेर त्यस कार्यक्रमबाट सिक्यौँ। मनैदेखि यहोवालाई प्रार्थना गरेर अनि लगनशील भई उहाँको वचन अध्ययन गरेर हामी उहाँसित नजिक हुन सक्छौँ भनेर पनि हामीलाई सम्झाइएको थियो। त्यसो गरेका छौँ भने हामीले जस्तोसुकै गाह्रो परिस्थितिको सामना गर्ने बल पाउनेछौँ। सैतानको संसारको अन्त नजिकिँदै जाँदा हामीले परमेश्‍वर र उहाँको राज्यप्रति हाम्रो वफादारीको जाँच गर्ने अझै कठिन परीक्षाहरूको सामना गर्नुपर्ने हुन सक्छ। त्यतिबेला पनि सायद हामी गिल्लाको पात्र हुनेछौँ। (२ पत्रु. ३:३, ४) खासगरि हाम्रो तटस्थताको कारण हामीले गिल्ला सहनुपर्ने हुन सक्छ। यहोवाप्रतिको वफादारीलाई अहिल्यै बढाउँदै लग्यौँ भने मात्र महासङ्‌कष्टको दौडान उहाँप्रति वफादार रहिरहन सक्नेछौँ।

१४. (क) पृथ्वीमा नेतृत्व लिइरहेका भाइहरूको सन्दर्भमा कस्तो परिवर्तन हुनेछ? (ख) त्यतिबेला हामी किन वफादार रहनुपर्नेछ?

१४ महासङ्‌कष्टको दौडान पृथ्वीमा नेतृत्व लिइरहेका भाइहरूको सन्दर्भमा केही परिवर्तन हुनेछ। महासङ्‌कष्टको दौडान कुनै एउटा घडीमा पृथ्वीमा बाँकी रहेका सबै अभिषिक्‍त जन स्वर्गमा जम्मा गरिनेछन्‌ अनि तिनीहरूले पनि आरमागेडोनको युद्धमा भाग लिनेछन्‌। (मत्ति २४:३१; प्रका. २:२६, २७) यसको मतलब त्यतिबेला परिचालक निकाय हामीसँग पृथ्वीमा हुनेछैन। तैपनि ठूलो भीड व्यवस्थित भइरहनेछ। त्यसबेला अरू भेडामध्येबाट योग्य भाइहरूले नेतृत्व लिनेछन्‌। उनीहरूलाई साथ दिएर अनि उनीहरूले यहोवाबाट पाएको निर्देशन दिँदा त्यसअनुसार चलेर हामी यहोवाप्रति वफादार भएको देखाउनुपर्नेछ। त्यसो गरेको खण्डमा मात्र हामी बच्नेछौँ!

१५. हामी कसरी आफ्नो सहनशीलता अझै बढाउन सक्छौँ? अहिल्यै त्यसो गर्नु किन महत्त्वपूर्ण छ?

१५ सहनशीलता: सन्‌ २०१७ को अधिवेशनको मूल विषय थियो, “हार नमान्‍नुहोस्‌!” त्यस कार्यक्रमले परीक्षाहरू सहने हाम्रो क्षमतालाई बढाउँदै लैजान मदत गऱ्‍यो। हाम्रो सहनशीलता अनुकूल अवस्थाहरूमा भर पर्दैन भनेर सिकेका थियौँ। यहोवामाथि भरोसा राख्दा हामी आफ्नो सहनशीलता अझै बढाउन सक्छौँ। (रोमी १२:१२) येसुले गर्नुभएको यो प्रतिज्ञा कहिल्यै नबिर्सौँ: “जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।” (मत्ति २४:१३) यस प्रतिज्ञाले हामीलाई जस्तोसुकै परीक्षाको सामना गर्नुपरे तापनि वफादार रहिरहनुपर्छ भनेर सम्झाउँछ। अहिले नै सहनशील भई हरेक परीक्षाको सामना गऱ्‍यौँ भने महासङ्‌कष्ट सुरु हुनुअघि हामी बलियो भइसकेका हुनेछौँ।

१६. हामी साहसी छौँ कि छैनौँ भनेर केले निर्धारण गर्छ? हाम्रो साहस अझ बढाउन अहिल्यै के गर्न सक्छौँ?

१६ साहस: सन्‌ २०१८ को अधिवेशनको मूल विषय थियो, “साहसी होओ!” हामी साहसी छौँ कि छैनौँ भन्‍ने कुरा हाम्रो क्षमताले निर्धारण गर्दैन भनेर फेरि सम्झन त्यस कार्यक्रमले मदत गरेको थियो। सहनशीलताजस्तै साँचो साहस पनि यहोवामाथिको भरोसामा निर्भर हुन्छ। हामी कसरी यहोवामाथिको भरोसालाई अझ बढाउन सक्छौँ? हरेक दिन उहाँको वचन पढेर अनि विगतमा यहोवाले कसरी आफ्ना जनहरूलाई छुटकारा दिनुभयो भन्‍ने कुरामा मनन गरेर। (भज. ६८:२०; २ पत्रु. २:९) महासङ्‌कष्टको दौडान राष्ट्रहरूले हामीमाथि आक्रमण गर्दा हामी साहसी हुनुपर्नेछ अनि यहोवामाथि पहिलेभन्दा झनै भरोसा राख्नुपर्नेछ। (भज. ११२:७, ८; हिब्रू १३:६) अहिल्यै यहोवामाथि भर पऱ्‍यौँ भने गोगको आक्रमणको सामना गर्न चाहिने साहस हामीसँग हुनेछ।e

आफ्नो छुटकाराको बाटो हेरिरहनुहोस्‌

येसु र उहाँको स्वर्गीय सेना सेता घोडाहरूमा चढेर आरमागेडोनको युद्धमा परमेश्‍वरका शत्रुहरूलाई नाश गर्न आउनुहुन्छ र एउटा ठूलो भीड बच्छ

चाँडै येसु र उहाँको स्वर्गीय सेना आरमागेडोनको युद्धमा परमेश्‍वरका शत्रुहरूलाई नाश गर्न आउनुहुनेछ! (अनुच्छेद १७ हेर्नुहोस्‌)

१७. हामी किन आरमागेडोनको युद्धदेखि डराउनुपर्दैन? (आवरण पृष्ठको चित्र हेर्नुहोस्‌)

१७ अघिल्लो लेखमा चर्चा गरिएजस्तै हामीमध्ये धेरै जनाले आफ्नो पूरै जीवन अन्तको दिनको दौडान बिताएका छौँ। तर हामीले महासङ्‌कष्ट पार गर्ने आशा पनि राखेका छौँ। यस युगको आखिरी समयको अन्तमा आरमागेडोनको युद्ध हुनेछ। तर हामी डराउनुपर्ने कुनै कारण छैन। किन? किनभने त्यो युद्ध परमेश्‍वरले लड्‌नुहुनेछ। (हितो. १:३३; इज. ३८:१८-२०; जक. १४:३) यहोवाले आदेश दिनुभएपछि येसु ख्रिष्टले परमेश्‍वरको सेनाको नेतृत्व गर्नुहुनेछ अनि युद्धको लागि अघि बढ्‌नुहुनेछ। फेरि जीवित पारिएका अभिषिक्‍त जनहरू र लाखौँलाख स्वर्गदूत पनि उहाँसँगसँगै हुनेछन्‌। उहाँहरूले सैतान, त्यसका प्रेतहरू र पृथ्वीमा रहेको तिनीहरूका दलसित युद्ध गर्नुहुनेछ।—दानि. १२:१; प्रका. ६:२; १७:१४.

१८. (क) यहोवाले कस्तो ग्यारेन्टी दिनुभएको छ? (ख) प्रकाश ७:९, १३-१७ ले तपाईँलाई भविष्यबारे ढुक्क हुने कस्तो कारण दिन्छ?

१८ यहोवाले यस्तो ग्यारेन्टी दिनुभएको छ: “तिमीविरुद्ध उठाइने जुनसुकै हतियार बेकामको हुनेछ।” (यसै. ५४:१७) यहोवाका वफादार उपासकहरूको “एउटा ठूलो भीड”-ले जीवितै ‘महासङ्‌कष्ट पार गर्नेछ।’ त्यसपछि तिनीहरूले उहाँलाई निरन्तर पवित्र सेवा चढाउनेछन्‌। (प्रकाश ७:९, १३-१७ पढ्‌नुहोस्‌) बाइबलले हामीलाई भविष्यबारे ढुक्क हुने कत्ति धेरै कारण दिन्छ! “भरोसायोग्य मानिसहरूको यहोवा रक्षा गर्नुहुन्छ” भनेर हामीलाई थाह छ। (भज. ३१:२३) यहोवाले आफ्नो पवित्र नाममा लागेको कलङ्‌क हटाउनुभएको देख्न पाउँदा उहाँलाई प्रेम गर्ने र उहाँको प्रशंसा गर्ने सबै हर्षित हुनेछन्‌।—इज. ३८:२३.

१९. हाम्रो सामु भविष्यको कस्तो अद्‌भुत आशा छ?

१९ सैतानको कुप्रभावबाट मुक्‍त नयाँ संसारका मानिसहरूबारे व्याख्या गरिएको भए २ तिमोथि ३:२-५ मा कस्ता शब्दहरू चलाइन्थ्यो होला, सोच्नुहोस्‌ त! (“पछि मानिसहरू कस्ता हुनेछन्‌?” भन्‍ने पेटी हेर्नुहोस्‌) यसबारे परिचालक निकायको सदस्यको रूपमा सेवा गर्नुभएका भाइ जर्ज ग्याङ्‌गसलेf यस्तो टिप्पणी गर्नुभएको थियो: “सबै जनाले यहोवाको उपासना गर्ने त्यो संसार कत्ति राम्रो होला! चाँडै तपाईँ त्यस नयाँ संसारमा बाँच्न पाउनुहुनेछ। यहोवा जीवित रहुन्जेल तपाईँ पनि जीवित रहनुहुनेछ। हामी सधैँभरि जीवित रहनेछौँ।” कस्तो अद्‌भुत आशा!

पछि मानिसहरू कस्ता हुनेछन्‌?

अरूलाई प्रेम गर्ने, आध्यात्मिक धनलाई प्रेम गर्ने, धाक नलगाउने, नम्र, परमेश्‍वरको प्रशंसा गर्ने, आमाबुबाको आज्ञा पालन गर्ने, कृतज्ञ, वफादार, परिवारप्रति स्नेह हुने, सहमत हुने, अरूको विषयमा सधैँ राम्रो कुरा गर्ने, संयमित, कोमल, भलाइलाई प्रेम गर्ने, विश्‍वासयोग्य, जिद्दी नगर्ने, आफूलाई ठूलो नठान्‍ने, सुखविलासलाई नभई परमेश्‍वरलाई प्रेम गर्ने, परमेश्‍वरको भक्‍ति गर्ने अनि त्यसैअनुसार चल्ने।

तपाईँले यी कुराहरूबारे के सिक्नुभयो:

  • “महान्‌ बेबिलोन”-को विनाशबारे?

  • साँचो उपासनाको पक्षमा खडा भइरहनुपर्ने महत्त्वबारे?

  • वफादारी, सहनशीलता र साहस अझ बढाउँदै लैजानुपर्ने महत्त्वबारे?

गीत १२२ स्थिर र अटल बस!

a अब चाँडै मानिसजातिमाथि महासङ्‌कष्ट आउनेछ भनेर हामीलाई थाह छ। त्यसले हाम्रो लागि कस्तो अर्थ राख्छ? त्यतिबेला हामीले के गरेको यहोवा चाहनुहुन्छ? वफादार रहिरहन हामीले अहिल्यै कस्ता गुणहरू बढाउँदै लैजानुपर्छ? यस लेखमा यी प्रश्‍नहरूको जवाफ पाउनेछौँ।

b थप व्याख्या: चर्चजगत्‌मा ख्रिष्टियन भएको दाबी गर्ने तर यहोवाको स्तरअनुरूप उहाँको उपासना गर्न नसिकाउने धर्महरू पर्छन्‌।

c थप व्याख्या: मागोगको गोग (र यसको छोटो रूप गोग) भन्‍ने अभिव्यक्‍तिले राष्ट्रहरूको गठबन्धनलाई बुझाउँछ, जसले महासङ्‌कष्टको दौडान शुद्ध उपासनामाथि आक्रमण गर्नेछ।

d आरमागेडोनको युद्धअघि हुने सबै घटनाबारे विस्तृत जानकारीको लागि परमेश्‍वरको राज्यले शासन गर्दै छ! किताबको अध्याय २१ हेर्नुहोस्‌। मागोगको गोगले गर्ने आक्रमणबारे र यहोवाले आरमागेडोनको युद्धमा आफ्ना जनहरूलाई कसरी जोगाउनुहुनेछ भन्‍नेबारे थप जानकारीको लागि यहोवाको शुद्ध उपासना आखिरमा पुनर्स्थापित हुन्छ! किताबको अध्याय १७ र १८ हेर्नुहोस्‌।

e सन्‌ २०१९ को अधिवेशनको मूल विषय हो: “प्रेम कहिल्यै अन्त हुँदैन!” यस कार्यक्रमले यहोवाको मायालु सुरक्षामा हामी सधैँ सुरक्षित रहन सक्छौँ भनेर ढुक्क बनाउँछ।—१ कोरि. १३:८.

f डिसेम्बर १, १९९४ प्रहरीधरहरा-को (अङ्‌ग्रेजी) “उहाँले गर्नुभएका कामहरू बिर्सिइनेछैनन्‌” भन्‍ने लेख हेर्नुहोस्‌।

g चित्रको व्याख्या: महासङ्‌कष्टको बेला साक्षीहरूको एउटा सानो समूह मण्डलीको सभाको लागि साहसी भई जङ्‌गलमा भेला हुन्छन्‌।

h चित्रको व्याख्या: यहोवाका वफादार उपासकहरूको एउटा ठूलो भीडले आनन्दित भई जीवितै महासङ्‌कष्ट पार गर्नेछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने