प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w19 नोभेम्बर pp. २६-३०
  • ‘तिमीहरूले जुन काम सुरु गरेका थियौ, पूरा पनि गर’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘तिमीहरूले जुन काम सुरु गरेका थियौ, पूरा पनि गर’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • निर्णय गर्नुअघि
  • आफ्नो निर्णयअनुसार चल्न मदत गर्ने कदमहरू
  • परमेश्‍वरको आदर हुने निर्णय गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • यहोवामाथि विश्‍वास गर्दै बुद्धिमानी निर्णय गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • तपाईं कसरी सही निर्णयहरू गर्न सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • यहोवालाई खुसी बनाउने निर्णयहरू गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
w19 नोभेम्बर pp. २६-३०

अध्ययन लेख ४८

‘तिमीहरूले जुन काम सुरु गरेका थियौ, पूरा पनि गर’

“तिमीहरूले जुन तत्परतासाथ यो काम सुरु गरेका थियौ, त्यही तत्परतासाथ पूरा पनि गर।”—२ कोरि. ८:११.

गीत ३५ ‘अझ महत्त्वपूर्ण कुराहरू पक्का गर’

परिचयa

१. यहोवाले हामीलाई के गर्ने मौका दिनुभएको छ?

यहोवाले हामीलाई आफ्नो जीवन कसरी बिताउने भनेर छनौट गर्ने मौका दिनुभएको छ। उहाँ हामीलाई सही छनौट कसरी गर्ने भनेर सिकाउनुहुन्छ र उहाँलाई प्रसन्‍न तुल्याउने निर्णयहरू गर्दा त्यसलाई सफल बनाउन मदत पनि दिनुहुन्छ। (भज. ११९:१७३) हामीले परमेश्‍वरको वचनबाट सिकेका बुद्धिमानी कुराहरू आफ्नो जीवनमा जति धेरै लागू गर्छौँ, राम्रा निर्णयहरू गर्न त्यति नै सिपालु हुँदै जानेछौँ।—हिब्रू ५:१४.

२. कुनै निर्णय गरिसकेपछि हामीलाई के गर्न गाह्रो हुन सक्छ?

२ कहिलेकाहीँ हामीले बुद्धिमानी निर्णय गरे तापनि आफूले सुरु गरेको काम पूरा गर्न गाह्रो हुन सक्छ। केही उदाहरण विचार गर्नुहोस्‌। एक जना जवान भाइले पूरै बाइबल पढ्‌ने निर्णय गर्छन्‌। तिनी सुरुको केही हप्ता त राम्रै गर्छन्‌ तर पछि केही कारणले पढ्‌न बन्द गर्छन्‌। एउटी बहिनीले नियमित अग्रगामीको रूपमा सेवा गर्ने निर्णय गर्छिन्‌ तर पछि सुरु गरूँला भनेर मिति सारिरहन्छिन्‌। एल्डरहरूको निकायले मण्डलीका भाइबहिनीलाई गोठालो भेट गर्न अझ सक्रिय हुनुपर्ने कुरामा सर्वसम्मत निर्णय गर्छ तर महिनौँ बितिसक्दा पनि तिनीहरूले आफ्नो निर्णयअनुसार काम थालेका छैनन्‌। यी फरक-फरक परिस्थिति हुन्‌ तर यी सबैमा एउटा कुरा समान छ। तिनीहरूले निर्णय त गरे तर त्यसअनुसार चलेनन्‌। प्रथम शताब्दीमा कोरिन्थका ख्रिष्टियनहरूले पनि त्यस्तै समस्याको सामना गरेका थिए। तिनीहरूबाट हामी कस्तो पाठ सिक्न सक्छौँ, आउनुहोस्‌ विचार गरौँ।

३. कोरिन्थका ख्रिष्टियनहरूले कस्तो निर्णय गरे तर के भयो?

३ इस्वी संवत्‌ ५५ तिर कोरिन्थका ख्रिष्टियनहरूले एउटा महत्त्वपूर्ण निर्णय गरे। तिनीहरूले यरुसलेम र यहुदियाका भाइबहिनीले दुःख भोगिरहेको र गरिबीको चपेटामा परेको कुरा सुने। ती भाइबहिनीलाई मदत गर्न अरू मण्डलीहरूले चन्दा सङ्‌कलन गरिरहेको कुरा पनि तिनीहरूले सुने। उनीहरूलाई दया र उदारता देखाउन कोरिन्थका ख्रिष्टियनहरूले मदत गर्ने निर्णय गरे। त्यसैले कसरी मदत गर्न सकिन्छ भनेर तिनीहरूले प्रेषित पावलसित सल्लाह मागे। पावलले कोरिन्थको मण्डलीलाई निर्देशन दिए र चन्दा सङ्‌कलन गर्ने काममा सघाउन तितसलाई नियुक्‍त गरे। (१ कोरि. १६:१; २ कोरि. ८:६) तर कोरिन्थका ख्रिष्टियनहरूले निर्णय गरेअनुसार काम अघि बढाएका थिएनन्‌ भनेर पावलले केही महिनापछि थाह पाए। त्यसैले अरू मण्डलीले सङ्‌कलन गरेको चन्दा यरुसलेम पठाइँदा कोरिन्थ मण्डलीले दिन चाहेको उपहार भने त्यससँगै पठाउन सायद बेलैमा तयार हुने थिएन।—२ कोरि. ९:४, ५.

४. दोस्रो कोरिन्थी ८:७, १०, ११ मा जोड दिइएझैँ पावलले कोरिन्थका ख्रिष्टियनहरूलाई के गर्न प्रोत्साहन दिए?

४ कोरिन्थका ख्रिष्टियनहरूले राम्रो निर्णय गरेका थिए अनि उदारता देखाउने सन्दर्भमा तिनीहरूले देखाएको उल्लेखनीय विश्‍वास र उत्कट इच्छाको पावलले प्रशंसा गरे। तर आफूले सुरु गरेको काम पूरा गर्न पावलले तिनीहरूलाई प्रोत्साहन पनि दिनुपऱ्‍यो। (२ कोरिन्थी ८:७, १०, ११ पढ्‌नुहोस्‌) राम्रो निर्णय गरिसकेपछि त्यसलाई लागू गर्न वफादार ख्रिष्टियनहरूलाई समेत गाह्रो हुन सक्छ भनेर तिनीहरूको उदाहरणबाट सिक्न सक्छौँ।

५. हामीले कुन-कुन प्रश्‍नको जवाफ पाउनेछौँ?

५ कोरिन्थका ख्रिष्टियनहरूलाई जस्तै हामीलाई पनि आफ्नो निर्णय लागू गर्न गाह्रो भएको हुन सक्छ। किन? किनभने त्रुटिपूर्ण भएकोले हामीमा आलेटाले गर्ने झुकाव हुन सक्छ। अथवा चिताउँदै नचिताएका घटनाहरूले गर्दा आफूले निर्णय गरेअनुसार काम पूरा गर्न असम्भव हुन सक्छ। (उप. ९:११; रोमी ७:१८) आफूले गरेको निर्णयलाई फेरि केलाउनुपर्ने भयो र त्यसमा छाँटकाँट गर्नुपर्ने हो कि होइन भनेर निर्णय गर्नुपर्ने भयो भने हामीले के गर्नुपर्छ? साथै आफूले सुरु गरिसकेको काम पूरा गर्न हामी के गर्न सक्छौँ?

निर्णय गर्नुअघि

६. हामीले कुन बेला आफ्नो निर्णयमा छाँटकाँट गर्नुपर्ने हुन सक्छ?

६ आफूले गरेका कुनै-कुनै महत्त्वपूर्ण निर्णयहरू हामी कहिल्यै परिवर्तन गर्दैनौँ। उदाहरणको लागि, यहोवाको सेवा गर्ने निर्णयलाई हामी हरहालतमा पूरा गर्छौँ अनि आफ्नो पति वा पत्नीप्रति वफादार रहन हामी कटिबद्ध छौँ। (मत्ति १६:२४; १९:६) तर अरू निर्णयहरूमा भने छाँटकाँट गर्नुपर्ने हुन सक्छ। किन? किनभने परिस्थिति परिवर्तन हुन सक्छ। हामीले सकेसम्म राम्रो निर्णय गर्न कस्ता कदमहरू चाल्न सक्छौँ?

७. हामीले केको लागि प्रार्थना गर्नुपर्छ र किन?

७ बुद्धिको लागि प्रार्थना गर्नुहोस्‌। यहोवाले याकुबलाई यस्तो लेख्न उत्प्रेरित गर्नुभयो: “यदि तिमीहरूमध्ये कसैसित बुद्धिको कमी छ भने उसले परमेश्‍वरसित मागिरहोस्‌ र उसलाई त्यो दिइनेछ किनकि उहाँले सबैलाई उदारचित्तले . . . दिनुहुन्छ।” (याकु. १:५) हामी सबैसित कुनै न कुनै क्षेत्रमा “बुद्धिको कमी” हुन्छ। त्यसैले निर्णय गर्नुपर्दा र त्यसलाई केलाउनुपर्दा यहोवामा भरोसा राख्नुहोस्‌। तब यहोवाले तपाईँलाई बुद्धिमानी निर्णयहरू गर्न मदत गर्नुहुनेछ।

८. निर्णय गर्नुअघि हामीले कस्तो अनुसन्धान गर्नुपर्छ?

८ विस्तृत अनुसन्धान गर्नुहोस्‌। यहोवाको वचनले दिने सल्लाह विचार गर्नुहोस्‌, उहाँको सङ्‌गठनले तयार पारेका प्रकाशनहरू पढ्‌नुहोस्‌ र आफूले भरोसा गर्ने व्यक्‍तिहरूसित कुरा गर्नुहोस्‌। (हितो. २०:१८) जागिर परिवर्तन गर्ने, बसाइँ सर्ने वा सेवाको कामलाई टेवा पुऱ्‍याउन उपयुक्‍त शिक्षा छान्‍ने सन्दर्भमा निर्णय गर्नुअघि तपाईँले त्यस्तो अनुसन्धान गर्नु अत्यावश्‍यक छ।

९. हामी आफूप्रति इमानदार भयौँ भने कस्तो फाइदा हुन्छ?

९ आफ्नो मनसाय केलाउनुहोस्‌। हामी कस्तो मनसायले कामकुरा गर्छौँ, त्यो यहोवा महत्त्वपूर्ण ठान्‍नुहुन्छ। (हितो. १६:२) हामी सबै कुरामा इमानदार भएको उहाँ चाहनुहुन्छ। त्यसैले निर्णयहरू गर्दा तपाईँ आफ्नो मनसायबारे इमानदार हुनुपर्छ, आफूलाई र अरूलाई झुक्क्याउनु हुँदैन। हामीले पूर्णतया इमानदार भएर निर्णय गरेका थिएनौँ भने त्यो पूरा गर्न हामीलाई गाह्रो हुन सक्छ। उदाहरणको लागि, एक जना जवान भाइले नियमित अग्रगामीको रूपमा सेवा गर्ने निर्णय गर्लान्‌। तर केही समयपछि तिनलाई घण्टा पुऱ्‍याउन गाह्रो हुन सक्छ र तिनलाई सेवाको काम रमाइलो लाग्न छोड्‌न सक्छ। हुनत तिनलाई आफूले अग्रगामी सेवा गर्नुको मुख्य मनसाय यहोवालाई प्रसन्‍न तुल्याउनु हो भन्‍ने लागेको थियो होला। तर तिनले वास्तवमा आमाबुबालाई वा अरू कसैलाई खुसी बनाउन पो अग्रगामी सेवा थालेका थिए कि?

१०. परिवर्तन गर्न के आवश्‍यक छ?

१० चुरोट खान छोड्‌ने निर्णय गरेका बाइबल विद्यार्थीको अवस्था विचार गर्नुहोस्‌। तिनलाई सुरु-सुरुमा त गाह्रो हुन्छ तैपनि तिनी एक-दुई हप्तासम्म चुरोट नखाई बस्छन्‌। तर तिनी चुरोट खाने तलतल रोक्न सक्दैनन्‌ र फेरि खान्छन्‌। पछि तिनी चुरोट खाने बानी छोड्‌न बल्लतल्ल सफल हुन्छन्‌! वास्तवमा यहोवाप्रतिको प्रेम र उहाँलाई प्रसन्‍न बनाउने इच्छाले तिनलाई त्यो कुलत त्याग्न मदत गर्छ।—कल. १:१०; ३:२३.

११. तपाईँले किन सुस्पष्ट लक्ष्य राख्नुपर्छ?

११ सुस्पष्ट लक्ष्य राख्नुहोस्‌। तपाईँले सुस्पष्ट लक्ष्यहरू राख्नुभयो भने आफूले सुरु गरेको काम पूरा गर्ने सम्भावना धेरै हुन्छ। उदाहरणको लागि, तपाईँले अझ धेरै पटक बाइबल पढ्‌ने निर्णय गर्नुभएको होला। तर तपाईँले सुस्पष्ट तालिका बनाउनुभएको छैन भने तपाईँको लक्ष्य पूरा नहुन सक्छ।b अथवा एल्डरहरूले मण्डलीका भाइबहिनीलाई अझ धेरै गोठालो भेट गर्ने निर्णय गर्लान्‌ तर केही समय बितिसक्दा पनि तिनीहरूले त्यस निर्णयअनुसार नगरेका हुन सक्छन्‌। आफ्नो निर्णयअनुसारै गर्नको लागि तिनीहरूले यस्ता प्रश्‍नहरू सोध्न सक्छन्‌: “गोठालो भेट गर्दा कुन-कुन भाइबहिनीले अझ धेरै लाभ उठाउनेछन्‌ भनेर के हामीले सूची बनाएका छौँ? के हामीले तिनीहरूलाई भेट्‌न जाने कुनै खास समय तोकेका छौँ?”

१२. हामीले के गर्नुपर्ने हुन सक्छ र किन?

१२ व्यावहारिक हुनुहोस्‌। आफूले गर्न चाहेको सबै कुरा गर्न हामी कसैसित पनि समय, शक्‍ति वा स्रोतसाधन छैन। त्यसैले व्यावहारिक हुनुहोस्‌ र आफूबाट बढ्‌तै माग नगर्नुहोस्‌। आफूले गरेको कुनै निर्णय पूरा गर्न आफ्नो क्षमताले नभ्याउने रहेछ भनेर महसुस गर्नुभयो भने तपाईँले त्यो निर्णयमा छाँटकाँट गर्नुपर्ने हुन सक्छ। (उप. ३:६) तर मानिलिनुहोस्‌, तपाईँले आफ्नो निर्णय केलाउनुभयो, आवश्‍यक छाँटकाँट गर्नुभयो र अब चाहिँ तपाईँलाई त्यसअनुसार चल्न सकिन्छ जस्तो लाग्छ। त्यसोभए आफूले सुरु गरेको काम पूरा गर्न मदत गर्ने पाँच वटा कदम विचार गरौँ।

निर्णय गर्नुअघि

  1. एक भाइ बाइबल र ख्रिष्टियन प्रकाशनहरूमा अनुसन्धान गर्छन्‌

    १. बुद्धिको लागि प्रार्थना गर्नुहोस्‌

  2. २. विस्तृत अनुसन्धान गर्नुहोस्‌

  3. ३. आफ्नो मनसाय केलाउनुहोस्‌

  4. ४. सुस्पष्ट लक्ष्य राख्नुहोस्‌

  5. ५. व्यावहारिक हुनुहोस्‌

निर्णय गरेपछि

  1. ती भाइ आफूले निर्णय गरेअनुसार कदम चाल्न बलको लागि प्रार्थना गर्छन्‌

    १. बलको लागि प्रार्थना गर्नुहोस्‌

  2. २. योजना बनाउनुहोस्‌

  3. ३. प्रयत्न गर्नुहोस्‌

  4. ४. बुद्धिमानीपूर्वक समयको सदुपयोग गर्नुहोस्‌

  5. ५. नतिजामा ध्यान केन्द्रित गर्नुहोस्‌

आफ्नो निर्णयअनुसार चल्न मदत गर्ने कदमहरू

१३. आफ्नो निर्णयअनुसार कदम चाल्न तपाईँ कसरी बल पाउन सक्नुहुन्छ?

१३ कदम चाल्न बलको लागि प्रार्थना गर्नुहोस्‌। परमेश्‍वरले तपाईँलाई निर्णयअनुसारै कदम चाल्न र ‘त्यो पूरा गर्न शक्‍ति’ दिन सक्नुहुन्छ। (फिलि. २:१३) त्यसैले आफूलाई चाहिएको बलको लागि यहोवासित पवित्र शक्‍ति माग्नुहोस्‌। तपाईँलाई आफ्नो प्रार्थनाको जवाफ पाउन ढिलो भएको जस्तो लागे तापनि प्रार्थना गरिरहनुहोस्‌। किनकि येसुले यसो भन्‍नुभयो: “मागिरहो अनि तिमीहरूलाई [पवित्र शक्‍ति] दिइनेछ।”—लुका ११:९, १३.

१४. हितोपदेश २१:५ मा दिइएको सिद्धान्त आफ्नो निर्णयअनुसार चल्ने सन्दर्भमा कसरी लागू गर्न सकिन्छ?

१४ योजना बनाउनुहोस्‌। (हितोपदेश २१:५ पढ्‌नुहोस्‌) सुरु गरेको काम पूरा गर्न योजना बनाउनुपर्छ। त्यसपछि योजनाअनुसारै काम गर्नुपर्छ। त्यसरी नै कुनै निर्णय गर्दा त्यसअनुसार चल्न आफूले गर्नुपर्ने कामहरूको सूची बनाउनुहोस्‌। ठूलो कामलाई स-साना काममा विभाजन गर्दा कति काम सिद्धियो भनेर पत्ता लगाउन सजिलो हुन्छ। पावलले कोरिन्थका ख्रिष्टियनहरूलाई आफू आएपछि मात्र चन्दा सङ्‌कलन गर्नुको सट्टा “हरेक हप्ताको पहिलो दिन” केही छुट्ट्याएर राख्न प्रोत्साहन दिए। (१ कोरि. १६:२) ठूलो कामलाई स-साना काममा विभाजन गर्दा काम कसरी पूरा गर्ने होला भनेर तपाईँ अत्तालिनुहुनेछैन।

१५. योजना बनाएपछि के गर्न सकिन्छ?

१५ तपाईँले बनाउनुभएको सुस्पष्ट योजना लेखेर राख्नुभयो भने निर्णयअनुसार काम गर्न सजिलो हुनेछ। (१ कोरि. १४:४०) उदाहरणको लागि, एल्डरहरूको निकायलाई आफूहरूले गर्ने प्रत्येक निर्णय लेखेर राख्न एक जना एल्डरलाई खटाउनुपर्ने निर्देशन दिइएको छ। त्यो जिम्मा पाएका एल्डरले कसलाई कुन जिम्मा दिइएको छ अनि तिनीहरूले कहिलेसम्म त्यो सिध्याउनुपर्छ भनेर एक-एक कुरा लेखेर राख्नुपर्छ। यसरी लेखेर राख्दा एल्डरहरूले निर्णयअनुसारै काम गर्ने सम्भावना धेरै हुन्छ। (१ कोरि. ९:२६) व्यक्‍तिगत कामकुरा गर्ने सन्दर्भमा पनि तपाईँ यस्तै केही गर्न सक्नुहुन्छ। जस्तै: हरेक दिन के-के काम गर्ने भनेर सूची बनाउनुहोस्‌ अनि कुनपछि कुन काम गर्ने भनेर लेख्नुहोस्‌। यसरी तपाईँले सुरु गर्नुभएको काम सिध्याउने मात्र होइन, छोटो समयमा पूरा गर्न पनि सक्नुहुनेछ।

१६. आफ्नो निर्णयअनुसार कदम चाल्न के गर्नुपर्छ र रोमी १२:११ ले यो कुरालाई कसरी समर्थन गर्छ?

१६ प्रयत्न गर्नुहोस्‌। योजनाअनुसारै चल्न र सुरु गरेको काम पूरा गर्न मेहनत गर्नुपर्ने हुन्छ। (रोमी १२:११ पढ्‌नुहोस्‌) पावलले तिमोथिलाई आफूले सिकेका कुराहरूमा मात्र होइन, असल शिक्षक बन्‍ने काममा पनि “लागिरहन” सल्लाह दिए। अरू आध्यात्मिक लक्ष्यहरू हासिल गर्ने सन्दर्भमा पनि यो सल्लाह लागू हुन्छ।—१ तिमो. ४:१३, १६.

१७. आफ्नो निर्णयअनुसारै कदम चाल्न हामी एफिसी ५:१५, १६ मा दिइएको सल्लाह कसरी लागू गर्न सक्छौँ?

१७ बुद्धिमानीपूर्वक समयको सदुपयोग गर्नुहोस्‌। (एफिसी ५:१५, १६ पढ्‌नुहोस्‌) आफ्नो निर्णयअनुसार कदम चाल्न समय तोक्नुहोस्‌ र त्यसमा हेरफेर नगर्नुहोस्‌। कदम चाल्न सही समय पर्खेर नबस्नुहोस्‌ किनकि सही समय सायदै आउला। (उप. ११:४) अझ महत्त्वपूर्ण कुराहरूको लागि खर्च गर्नुपर्ने समय र शक्‍तिलाई कम महत्त्वपूर्ण कुराहरूले खान नदिनुहोस्‌। (फिलि. १:१०) सम्भव भए अन्य कुराहरूले ध्यान नखलबल्याउने समय छुट्ट्याउनुहोस्‌। आफू महत्त्वपूर्ण काममा व्यस्त भएको कुरा अरूलाई थाह दिनुहोस्‌। त्यो समयमा फोन बन्द गर्नुभए कसो होला? अनि इमेल चेक गर्ने वा सामाजिक सञ्जाल चलाउने काम पनि अर्कै समयमा गर्न सक्नुहुन्छ कि?c

१८-१९. अवरोध आइपरे तापनि आफूले गरेको राम्रो निर्णयअनुसारै अघि बढिरहन तपाईँलाई केले मदत गर्नेछ?

१८ नतिजामा ध्यान केन्द्रित गर्नुहोस्‌। तपाईँको निर्णयको नतिजा भनेको यात्राको गन्तव्यजस्तै हो। तपाईँ साँच्चै त्यो गन्तव्यमा पुग्न चाहनुहुन्छ भने आफू यात्रा गरिरहेको बाटो बन्द भए तापनि अर्कै बाटो भएर जानुहुनेछ र अघि बढिरहनुहुनेछ। त्यसरी नै हामीले गरेका निर्णयहरूको नतिजामा ध्यान केन्द्रित गऱ्‍यौँ भने अवरोध आइपरे तापनि वा अर्कै बाटोतिर मोड्‌नुपरे तापनि हामी सजिलै हार मान्‍नेछैनौँ।—गला. ६:९.

१९ राम्रो निर्णय गर्न गाह्रो हुन्छ अनि त्यो निर्णयअनुसारै कदम चाल्नु पनि चुनौतीपूर्ण हुन सक्छ। तर यहोवाको मदत पाएर तपाईँले सुरु गरेको काम पूरा गर्न चाहिने बुद्धि र बल प्राप्त गर्न सक्नुहुन्छ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • निर्णय गरिसकेपछि के गर्न गाह्रो हुन सक्छ?

  • आफूले गरिसकेको निर्णयलाई केलाउनुपर्दा हामी कस्ता कदमहरू चाल्न सक्छौँ?

  • सुरु गरेको काम पूरा गर्न हामी कस्ता कदमहरू चाल्न सक्छौँ?

गीत ६५ बढ्‌दै जाऊ!

a के तपाईँ आफूले गरेको कुनै-कुनै निर्णयमा पछुताउनुभएको छ? अथवा के तपाईँले कहिलेकाहीँ राम्रा निर्णयहरू गर्न र ती लागू गर्न गाह्रो भएको महसुस गर्नुभएको छ? यस लेखले तपाईँलाई त्यस्ता चुनौतीहरूको सामना गर्न र आफूले सुरु गरेको काम पूरा गर्न मदत दिनेछ।

b व्यक्‍तिगत बाइबल पढाइको योजना बनाउन jw.org® मा उपलब्ध “बाइबल पढाइ तालिका” प्रयोग गर्न सक्नुहुन्छ।

c समयको सदुपयोग गर्नेबारे थप सुझावहरूको लागि ब्यूँझनुहोस्‌! फेब्रुअरी २०१४ मा प्रकाशित “समयको सदुपयोग कसरी गर्ने?” भन्‍ने लेख हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने