प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w25 जनवरी pp. १४-१९
  • यहोवालाई खुसी बनाउने निर्णयहरू गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवालाई खुसी बनाउने निर्णयहरू गर्नुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • आवश्‍यक जानकारी लिनुहोस्‌
  • यहोवाको सोचाइ बुझ्नुहोस्‌
  • विकल्पहरू दाँज्नुहोस्‌
  • आफूले गरेको निर्णयमा सफल हुनुहोस्‌
  • यहोवामा भर पर्दै निर्णयहरू गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • आफूलाई सबै कुरा थाह छैन भनेर नम्र भई स्विकार्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
  • यहोवाको सोचाइ बुझ्ने प्रयास गर्नुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२३
  • तपाईँ शङ्‌का-उपशङ्‌काहरूलाई कसरी हटाउन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२५
w25 जनवरी pp. १४-१९

अध्ययन लेख ३

गीत ३५ ‘अझ महत्त्वपूर्ण कुराहरू पक्का गर’

यहोवालाई खुसी बनाउने निर्णयहरू गर्नुहोस्‌

“यहोवाको डर मान्‍नु बुद्धिको सुरुवात हो; महापवित्र परमेश्‍वरबारे सिक्नु समझ बढाउनु हो।”​—हितो. ९:१०.

सिक्न सकिने कुरा

ज्ञान, समझशक्‍ति र बुद्धि चलाउँदै कसरी सही निर्णयहरू गर्न सकिन्छ?

१. हामीले हरेक दिन के गर्नुपर्ने हुन्छ?

हामीले हरेक दिनजसो नै निर्णयहरू गर्नुपर्ने हुन्छ। केही निर्णयहरू गर्न एकदमै सजिलो हुन्छ। जस्तै, के खाने अथवा कति बजे सुत्ने भनेर निर्णय गर्न सजिलो हुन्छ। अरू कतिपय निर्णयहरू गर्न भने एकदमै गाह्रो हुन्छ। यसले हाम्रो स्वास्थ्य, हाम्रो आनन्द, हाम्रा प्रियजनहरू वा हाम्रो उपासनालाई नै असर गर्न सक्छ। हामीले गर्ने निर्णयहरूले आफ्नो र परिवारको हित भएको चाहन्छौँ। त्योभन्दा महत्त्वपूर्ण कुरा, हामी यहोवालाई खुसी तुल्याउने निर्णयहरू गर्न चाहन्छौँ।​—रोमी १२:१, २.

२. सही निर्णय गर्न हामीले कस्ता कदमहरू चाल्नुपर्छ?

२ सही निर्णय गर्न हामीले कस्ता कदमहरू चाल्नुपर्छ? (१) आवश्‍यक जानकारी लिनुपर्छ, (२) यहोवाको सोचाइ बुझ्नुपर्छ र (३) विकल्पहरू दाँज्नुपर्छ। यस लेखमा हामी यी कदमहरूबारे छलफल गर्नेछौँ। साथै यी कदमहरू चाल्दा हामी कसरी आफ्नो समझशक्‍ति तिखार्दै लैजान सक्छौँ, त्यो पनि विचार गर्नेछौँ।​—हितो. २:११.

आवश्‍यक जानकारी लिनुहोस्‌

३. कुनै निर्णय गर्नुअघि हामीले किन आवश्‍यक जानकारी लिनुपर्छ? एउटा उदाहरण दिनुहोस्‌।

३ सही निर्णय गर्न हामीले चाल्नुपर्ने पहिलो कदम भनेको आवश्‍यक जानकारी लिनु हो। यसो गर्नु किन महत्त्वपूर्ण छ? मानौँ, एक जना बिरामी आफ्नो गम्भीर स्वास्थ्य समस्याको उपचार गराउन डाक्टरकहाँ जान्छन्‌? के ती डाक्टरले केही जाँच्दै नजाँची अनि बिरामीलाई के भएको हो भनेर सोध्दै नसोधी औषधी लेखिदिन्छन्‌? त्यसो त पक्कै गर्दैनन्‌। एक जना राम्रो डाक्टरले बिरामीको सबै अवस्था राम्ररी बुझेपछि मात्र कस्तो उपचार गर्ने भनेर निर्णय गर्छन्‌। त्यसरी नै हामीले पनि निर्णय गर्नुअघि आवश्‍यक जानकारी लिनुपर्छ। हामी कसरी त्यसो गर्न सक्छौँ?

४. आवश्‍यक जानकारी लिन तपाईँले के गर्नुपर्छ? (हितोपदेश १८:१३) (चित्र पनि हेर्नुहोस्‌।)

४ आवश्‍यक जानकारी लिन प्रश्‍नहरू सोध्नु राम्रो हो। मानौँ, तपाईँले कुनै जमघटको निम्तो पाउनुभयो तर तपाईँलाई जमघट कसले आयोजना गरेको हो वा त्यहाँ के-के गरिन्छ भनेर थाह छैन भने यस्ता प्रश्‍नहरूबारे राम्ररी बुझ्नु आवश्‍यक छ: “जमघट कहाँ अनि कहिले हुँदै छ? कति जना आउनेछ? कसले सुपरिवेक्षण गर्नेछ? को-को आउनेछन्‌? त्यहाँ के-के गरिनेछ? के त्यहाँ रक्सी पनि हुन्छ?” यस्ता प्रश्‍नहरूको जवाफ पाउनुभयो भने तपाईँले त्यो जमघटमा जाने कि नजाने भनेर निर्णय गर्न सक्नुहुनेछ।​—हितोपदेश १८:१३ पढ्‌नुहोस्‌।

जवान भाइबहिनीलाई मेसेजमा एउटा जमघटको निम्तो आएको छ र एक जना भाइ ती साथीहरूसित त्यस जमघटबारे प्रश्‍नहरू सोध्दै छन्‌।

प्रश्‍नहरू सोधेर आवश्‍यक जानकारी लिनुहोस्‌ (अनुच्छेद ४ हेर्नुहोस्‌)a


५. आवश्‍यक जानकारी लिइसकेपछि तपाईँले के गर्नुपर्छ?

५ आवश्‍यक जानकारी लिइसकेपछि पूरै अवस्था बुझ्न राम्ररी सोचविचार गर्नुहोस्‌। उदाहरणको लागि, त्यस जमघटमा यहोवाको स्तरअनुसार नचल्ने मानिसहरू पनि आउँछन्‌ भने नि? अथवा त्यहाँ रक्सी प्रशस्तै राखिएको हुन्छ तर त्यसको सुपरिवेक्षण गर्ने कोही पनि हुँदैन भने नि? के त्यो जमघट अनियन्त्रित हुने सम्भावना छ? (१ पत्रु. ४:३) के त्यो जमघटको समय तपाईँको मण्डलीको सभा वा क्षेत्र सेवाको समयसित जुध्छ? यसरी पूरै अवस्थाबारे राम्ररी सोचविचार गर्नुभयो भने तपाईँलाई सही निर्णय गर्न सजिलो हुनेछ। तर तपाईँले अर्को कदम पनि चाल्नुपर्छ। तपाईँले त अवस्था बुझ्नुभयो तर यहोवालाई चाहिँ कस्तो लाग्छ?​—हितो. २:६.

यहोवाको सोचाइ बुझ्नुहोस्‌

६. हामीले किन यहोवासित मदत माग्नुपर्छ? (याकुब १:५)

६ यहोवाको सोचाइ बुझ्न उहाँसित मदत माग्नुहोस्‌। हामीले गर्ने निर्णयले उहाँलाई खुसी बनाउँछ कि बनाउँदैन भनेर बुझ्न उहाँले हामीलाई बुद्धि दिने प्रतिज्ञा गर्नुभएको छ। उहाँले त्यस्तो बुद्धि “सबैलाई उदारचित्तले अनि नझर्कीकन दिनुहुन्छ।”​—याकुब १:५ पढ्‌नुहोस्‌।

७. तपाईँ कसरी यहोवाको सोचाइ बुझ्न सक्नुहुन्छ? उदाहरण दिनुहोस्‌।

७ मदतको लागि यहोवालाई प्रार्थना गरिसकेपछि उहाँको जवाफमा ध्यान दिनुहोस्‌। उदाहरणको लागि, तपाईँ कतै यात्रा गर्दै हुनुहुन्छ तर तपाईँले बाटो बिराउनुभयो। त्यसपछि तपाईँ त्यस ठाउँबारे राम्ररी थाह भएको कसैसित मदत माग्नुहुन्छ। के तपाईँ तिनको जवाफै नसुनी सुइँसुइँ आफ्नो बाटो लाग्नुहुन्छ? पक्कै पनि लाग्नुहुन्‍न। बरु तिनको कुरा ध्यान दिएर सुन्‍नुहुन्छ। त्यसरी नै यहोवासित बुद्धि मागिसकेपछि उहाँको जवाफ बुझ्ने प्रयास गर्नुहोस्‌। त्यसको लागि तपाईँ आफ्नो अवस्थासित मिल्ने बाइबलका स्तर अनि सिद्धान्तहरू खोज्न सक्नुहुन्छ। माथि उल्लेख गरिएको जमघटबारे नै विचार गरौँ। त्यहाँ जाने कि नजाने भनेर निर्णय गर्नुअघि तपाईँ भोजको अनियन्त्रित मोजमस्ती, खराब सङ्‌गत र आफ्नो इच्छालाई नभई परमेश्‍वरको राज्यलाई प्रथम स्थान दिनेबारे बाइबलले के भन्छ भनेर विचार गर्न सक्नुहुन्छ।​—मत्ति ६:३३; रोमी १३:१३; १ कोरि. १५:३३.

८. आफूलाई चाहिएको जानकारी भेट्टाउन तपाईँ के गर्न सक्नुहुन्छ? (चित्र पनि हेर्नुहोस्‌।)

८ तैपनि कहिलेकाहीँ आफूले खोजिरहेको जानकारी भेट्टाउन तपाईँलाई मदत चाहिन सक्छ। तपाईँले अनुभवी भाइबहिनीसित सल्लाह माग्न सक्नुहुन्छ तर तपाईँ आफैले अनुसन्धान गर्नु पनि राम्रो हो। यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी र ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू-जस्ता सामग्रीहरूमा प्रशस्त जानकारी पाइन्छ। यो कुरा कहिल्यै नबिर्सनुहोस्‌: तपाईँको लक्ष्य भनेको यहोवालाई खुसी बनाउने निर्णय गर्नु हो।

अगाडिको चित्रमा देखाइएको जवान भाइ “सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!” किताबको पाठ ३५ पढिरहेका छन्‌।

यहोवाको सोचाइ बुझ्नुहोस्‌ (अनुच्छेद ८ हेर्नुहोस्‌)b


९. हामीले गर्ने निर्णयमा यहोवा खुसी हुनुहुन्छ भनेर कसरी पक्का हुन सक्छौँ? (एफिसी ५:१७)

९ हामीले गर्ने निर्णयमा यहोवा खुसी हुनुहुन्छ भनेर कसरी पक्का हुन सक्छौँ? सबैभन्दा पहिला हामीले यहोवालाई राम्ररी चिन्‍नुपर्छ। बाइबल यसो भन्छ: “महापवित्र परमेश्‍वरबारे सिक्नु समझ बढाउनु हो।” (हितो. ९:१०) यहोवाका गुणहरू, उहाँको उद्देश्‍य र उहाँलाई के मन पर्छ, के मन पर्दैन भनेर बुझ्यौँ भने हामीले समझ पाउन सक्छौँ। निर्णय गर्नुअघि आफैलाई सोध्नुहोस्‌, ‘मैले यहोवाबारे जे-जति बुझेको छु, त्यसको आधारमा मैले कस्तो निर्णय गरेँ भने उहाँ खुसी हुनुहुनेछ?’​—एफिसी ५:१७ पढ्‌नुहोस्‌।

१०. निर्णय गर्दा हामीले किन बाइबलका सिद्धान्तहरूलाई ध्यान दिनुपर्छ?

१० यहोवालाई खुसी बनाउन कहिलेकाहीँ हामीले आफ्ना नजिकका व्यक्‍तिहरूलाई चित्त नबुझ्ने निर्णय गर्नुपर्ने पनि हुन सक्छ। उदाहरणको लागि, केही आमाबुबाले आफ्नी छोरीलाई राम्रै मनसायले धनी केटोसित विवाह गर्न दबाब दिन सक्छन्‌। तर ती भाइ आध्यात्मिक रूपमा बलियो छैनन्‌ होला। हुनत ती आमाबुबाले त्यस्तो केटोसित विवाह गराइदिँदा छोरीले सुख पाउँछ र आफूहरूले पनि पैसाको चिन्ता गर्नु पर्दैन भनेर सोचेका हुन सक्छन्‌। कुनै-कुनै समाजमा भने केही आमाबुबाले ठूलो दाइजो पाउने आशामा आफ्नो छोरालाई धनी केटीसित विवाह गर्न दबाब दिन सक्छन्‌। तर ती बहिनी आध्यात्मिक रूपमा बलियो छैनन्‌ भने नि? यस्ता अवस्थाहरूमा विवाह गर्ने व्यक्‍तिले आफैलाई सोध्न सक्छन्‌: “त्यस्तो व्यक्‍तिसित विवाह गर्दा यहोवासितको मेरो सम्बन्ध अझ बलियो हुन्छ कि कमजोर?” यसबारे यहोवाको सोचाइ कस्तो छ? यसको जवाफ हामी मत्ति ६:३३ मा पाउँछौँ। त्यहाँ हामीलाई ‘परमेश्‍वरको राज्यलाई पहिलो स्थान दिइरहन’ आग्रह गरिएको छ। हामी आमाबुबा र अरू मानिसहरूको भावनाको कदर गर्छौँ तर हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यहोवालाई खुसी बनाउनु हो।

विकल्पहरू दाँज्नुहोस्‌

११. आफूसित भएका विकल्पहरू दाँज्न हामीलाई कुन गुणले मदत गर्छ? (फिलिप्पी १:९, १०)

११ बाइबल सिद्धान्तहरू विचार गरिसकेपछि तपाईँले आफूसामु भएका विकल्पहरू केलाउनुपर्छ। (फिलिप्पी १:९, १० पढ्‌नुहोस्‌।) समझशक्‍तिले हामीलाई कुनै विकल्प रोज्दा त्यसको परिणाम कस्तो हुन्छ भनेर बुझ्न मदत गर्नेछ। कहिलेकाहीँ त हामीलाई निर्णय गर्न सजिलो हुन्छ तर सधैँ त्यस्तो हुँदैन। निर्णय गर्न गाह्रो हुँदा समेत समझशक्‍तिले हामीलाई मदत गर्छ।

१२-१३. कुन काम गर्ने भनेर निर्णय गर्ने सन्दर्भमा समझशक्‍तिले तपाईँलाई कसरी मदत गर्नेछ?

१२ मानौँ, तपाईँ परिवारको पालनपोषण गर्न काम खोज्दै हुनुहुन्छ। तपाईँले दुई वटा काम भेट्टाउनुहुन्छ। त्यसपछि तपाईँले त्यो कस्तो खालको काम हो, कति समय दिनुपर्छ, जान-आउन कति समय लाग्छ इत्यादि सबै आवश्‍यक जानकारी लिनुहुन्छ। दुवै काम बाइबलको सिद्धान्तसित मेल खाने किसिमकै छ। सायद तपाईँ आफूलाई मन पर्ने काम वा धेरै तलब आउने काम विचार गरेर दुइटामध्ये एउटा रोज्नुहुन्छ होला तर निर्णय गर्नुअघि अरू कुराहरू पनि विचार गर्नुपर्छ।

१३ जस्तै, ती दुईवटामध्ये कुनचाहिँ काम रोज्दा सभामा जान नभ्याउने हुन्छ। अथवा परिवारको भावनात्मक अनि आध्यात्मिक आवश्‍यकता पूरा गर्न समय नै नभ्याउने पो हो कि? यस्ता प्रश्‍नहरू विचार गर्दा तपाईँले “अझ महत्त्वपूर्ण कुराहरू”-लाई पहिलो स्थान दिन सक्नुहुनेछ। यसको मतलब तपाईँले भौतिक फाइदालाई भन्दा यहोवाको उपासना अनि परिवारको आवश्‍यकतालाई महत्त्व दिन सक्नुहुनेछ। यी कुराहरू विचार गरेर निर्णय गर्दा यहोवाले पक्कै आशिष्‌ दिनुहुनेछ।

१४. हामीले समझशक्‍ति र प्रेम देखायौँ भने किन अरूले ठेस खानेछैन?

१४ समझशक्‍तिले हामीलाई आफूले गर्ने निर्णयले अरूलाई कस्तो असर पार्छ भनेर विचार पुऱ्‍याउन पनि मदत गर्छ। यसरी विचार गर्दा हामी अरूलाई ‘ठेस नपुऱ्‍याउने’ निर्णय गर्न सक्नेछौँ। (फिलि. १:१०) नितान्त व्यक्‍तिगत कुराहरूबारे निर्णय गर्दा पनि यसो गर्नु महत्त्वपूर्ण छ। जस्तै, पहिरन र कोरीबाटी। मानौँ, तपाईँलाई कुनै स्टाइलको पहिरन वा कोरीबाटी मन पर्छ। तर मण्डलीका भाइबहिनीहरू अनि अरूलाई त्यो आपत्तिजनक लाग्छ भने नि? समझशक्‍तिले हामीलाई अरूको भावनाको कदर गर्न मदत गर्नेछ। प्रेमले हामीलाई “अर्को मानिसको” फाइदा खोज्न अनि भद्र पहिरन र कोरीबाटी छान्‍न मदत गर्नेछ। (१ कोरि. १०:२३, २४, ३२; १ तिमो. २:९, १०) यसरी निर्णय गर्दा हामीले अरूलाई प्रेम र आदर गरेको देखाइरहेका हुन्छौँ।

१५. कुनै ठूलो निर्णय गर्नुअघि सबै कुरा सोचविचार गर्दा कस्तो फाइदा हुन्छ?

१५ यदि तपाईँ कुनै ठूलो निर्णय गर्दै हुनुहुन्छ भने त्यसअनुसार चल्न के-के गर्नुपर्छ भनेर विचार गर्नुहोस्‌। येसुले हामीलाई ‘खर्च हिसाब गर’ भन्‍नुभएको छ। (लुका १४:२८) आफूले गरेको निर्णयअनुसार चल्न कति समय लाग्छ, कति खर्च लाग्छ अनि कति मेहनत गर्नुपर्छ भनेर विचार गर्नुहोस्‌। कुनै-कुनै अवस्थामा निर्णय गर्नुअघि परिवारका सदस्यहरूको राय लिनु अनि प्रत्येक सदस्यले के गर्न सक्छन्‌ भनेर छलफल गर्नु पनि मदतकारी हुन्छ। यसरी निर्णय गर्नुअघि सबै कुरा सोचविचार गर्दा कस्तो फाइदा हुन्छ? आफूले गर्न लागेको निर्णयमा केही छाँटकाँट गर्नुपर्ने हो कि वा अर्कै विकल्प रोज्नु बेस हुन्छ कि भनेर बुझ्न सक्नुहुनेछ। परिवारका सदस्यहरूसित छलफल गरेर तिनीहरूको राय बुझ्दा तिनीहरू तपाईँलाई सघाउन अझै इच्छुक हुनेछन्‌।​—हितो. १५:२२.

आफूले गरेको निर्णयमा सफल हुनुहोस्‌

१६. आफ्नो निर्णयमा सफल हुन तपाईँले कस्ता कदमहरू चाल्नुपर्छ? (“हामी कसरी बुद्धिमानी निर्णय गर्न सक्छौँ?” भन्‍ने पेटी पनि हेर्नुहोस्‌।)

१६ यस लेखमा छलफल गरिएका कदमहरू चाल्नुभयो भने तपाईँले बुद्धिमानी निर्णय गर्न सक्नुहुनेछ। तपाईँले आवश्‍यक जानकारी लिनुभयो र त्यससित सम्बन्धित सिद्धान्तहरू केलाउनुभयो भने यहोवालाई खुसी तुल्याउने निर्णय गर्न सक्नुहुनेछ। त्यसपछि तपाईँ आफूले गरेको निर्णयमा सफल हुन सकूँ भनेर यहोवाको आशिष्‌ माग्न सक्नुहुन्छ।

हामी कसरी बुद्धिमानी निर्णय गर्न सक्छौँ?

चित्रहरूको सँगालो: बुद्धिमानी निर्णय गर्न एक जवान भाइले चालेका कदमहरू। १. तिनी म्याग्निफाइङ ग्लासबाट हेर्छन्‌। २. तिनी प्रार्थना गर्छन्‌। तिनको टेबुलमा बाइबल अनि ट्याबलेट छ। ३. तिनी टेबुलमा भएको तराजुमा ध्यान दिएर हेर्छन्‌।
  • आवश्‍यक जानकारी लिनुहोस्‌: प्रश्‍नहरू सोध्नुहोस्‌; त्यसपछि सबै अवस्था राम्ररी विचार गर्नुहोस्‌ (हितो. १८:१३)

  • यहोवाको सोचाइ बुझ्नुहोस्‌: मदतको लागि प्रार्थना गर्नुहोस्‌ र आफ्नो अवस्थासित मिल्ने बाइबल सिद्धान्तहरू केलाउनुहोस्‌ (एफि. ५:१७; याकु. १:५)

  • विकल्पहरू दाँज्नुहोस्‌: आफूले गर्ने निर्णयले आफूलाई अनि अरूलाई कस्तो असर गर्छ, विचार गर्नुहोस्‌ र निर्णयअनुसार चल्न के-के गर्नुपर्छ, राम्ररी केलाउनुहोस्‌ (फिलि. १:९, १०)

१७. के गऱ्‍यौँ भने हामीले सही निर्णय गर्न सक्नेछौँ?

१७ विगतमा तपाईँले गर्नुभएका थुप्रै निर्णयहरू सफल भएका हुन सक्छन्‌। तर हामीले आफ्नो बुद्धि र अनुभवमा होइन बरु यहोवाको बुद्धिमा भर पऱ्‍यौँ भने मात्र सही निर्णय गर्न सक्नेछौँ। उहाँले मात्रै हामीलाई साँचो ज्ञान, समझशक्‍ति अनि बुद्धि दिन सक्नुहुन्छ, जुन सही निर्णय गर्न नभई हुँदैन। (हितो. २:१-५) यहोवाको मदतले तपाईँ उहाँलाई खुसी तुल्याउने निर्णयहरू गर्न सक्नुहुनेछ।​—भज. २३:२, ३.

सही निर्णय गर्ने सन्दर्भमा तपाईँ यी पदहरूबाट के सिक्न सक्नुहुन्छ?

  • हितोपदेश १८:१३

  • एफिसी ५:१७

  • फिलिप्पी १:९, १०

गीत २८ यहोवाको मित्र बनौँ

a चित्रको व्याख्या: जवान भाइबहिनीलाई मेसेजमा एउटा जमघटको निम्तो आएको छ। तिनीहरू त्यसबारे कुरा गर्दै छन्‌।

b चित्रको व्याख्या: एक भाइ जमघटमा जाने कि नजाने भनेर निर्णय गर्न अनुसन्धान गर्दै छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने