प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w19 नोभेम्बर pp. १-३२
  • लेवीको किताबबाट सिक्न सकिने पाठहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लेवीको किताबबाट सिक्न सकिने पाठहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • हामी कसरी यहोवाको अनुमोदन पाउन सक्छौँ?
  • हामी कृतज्ञता र प्रेमले उत्प्रेरित भई सेवा गर्छौँ
  • यहोवा आफ्नो सङ्‌गठनलाई आशिष्‌ दिनुहुन्छ
  • प्रायश्‍चितको दिनले तपाईँको लागि कस्तो अर्थ राख्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • यहोवालाई प्रसन्‍न तुल्याउने प्रशंसाका बलिदानहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • धूप बाल्नु साँचो उपासनामा के यसको कुनै स्थान छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
  • परमेश्‍वरलाई प्रसन्‍न तुल्याएका बलिदानहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
w19 नोभेम्बर pp. १-३२

अध्ययन लेख ४७

लेवीको किताबबाट सिक्न सकिने पाठहरू

“धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो र यो . . . उपयोगी छ।”—२ तिमो. ३:१६.

गीत ९८ धर्मशास्त्र—ईश्‍वर प्रेरित

परिचयa

१-२. ख्रिष्टियनहरू लेवीको किताबबाट सिक्न किन उत्सुक हुनुपर्छ?

प्रेषित पावलले आफ्नो जवान साथी तिमोथिलाई “धर्मशास्त्रमा भएका सबै कुरा परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको हो र यो . . . उपयोगी छ” भनेर सम्झाए। (२ तिमो. ३:१६) त्यसमा लेवीको किताब पनि समावेश छ। बाइबलको यो किताब तपाईँलाई कस्तो लाग्छ? कसै-कसैको विचारमा यो किताब भनेको नियमहरूको ठेली हो र आज ती नियमहरू केही कामका छैनन्‌। तर साँचो ख्रिष्टियनहरूले यस्तो सोचाइ राख्दैनन्‌।

२ लेवीको किताब लगभग ३ हजार ५ सय वर्षअघि लेखिएको थियो। तैपनि यहोवाले “हाम्रो शिक्षाका लागि” यसलाई जोगाएर राख्नुभएको छ। (रोमी १५:४) लेवीको किताबले यहोवाको सोचाइ बुझ्न मदत गर्ने भएकोले यसमा भएका कुराहरू केलाउन हामी उत्सुक हुनुपर्छ। वास्तवमा हामी यस प्रेरित किताबबाट थुप्रै पाठ सिक्न सक्छौँ। तीमध्ये चार वटा विचार गरौँ।

हामी कसरी यहोवाको अनुमोदन पाउन सक्छौँ?

३. हरेक वर्ष प्रायश्‍चितको दिन बलिदानहरू किन चढाइन्थ्यो?

३ पहिलो पाठ: हामीले चढाउने सेवा ग्रहणयोग्य हुन हामीले यहोवाको अनुमोदन पाएको हुनुपर्छ। हरेक वर्ष प्रायश्‍चितको दिन इस्राएल राष्ट्र एकसाथ भेला हुन्थ्यो र प्रधानपुजारीले जनावरहरूको बलि चढाउँथे। ती बलिदानहरूले इस्राएलीहरूलाई तिनीहरूको पाप पखालिनुपर्ने आवश्‍यकताको सम्झना गराउँथ्यो। तर त्यस दिन प्रधानपुजारीले बलिदान चढाइएको रगत महापवित्र कोठामा ल्याउनुअघि तिनले अर्को काम गर्नुपर्थ्यो, जुन वास्तवमा इस्राएल राष्ट्रले पापको क्षमा पाउनुभन्दा पनि महत्त्वपूर्ण थियो।

प्रायश्‍चितको दिनमा इस्राएलको प्रधानपुजारी धूप र बलिरहेको कोइला लिएर महापवित्र कोठामा पस्छन्‌

(अनुच्छेद ४ हेर्नुहोस्‌)d

४. लेवी १६:१२, १३ अनुसार प्रधानपुजारीले प्रायश्‍चितको दिन महापवित्र कोठामा पहिलो चोटि पस्दा के गर्थे? (आवरण चित्र हेर्नुहोस्‌)

४ लेवी १६:१२, १३ पढ्‌नुहोस्‌। प्रायश्‍चितको दिनको दृश्‍य कल्पना गर्नुहोस्‌। प्रधानपुजारी वासस्थानभित्र पस्छन्‌। त्यो दिन तिनी महापवित्र कोठामा तीन पटक पस्नुपर्छ र यो पहिलो पटक हो। तिनको एउटा हातमा सुगन्धित धूपले भरिएको भाँडा छ र अर्को हातमा बलिरहेको कोइलाले भरिएको सुनको धुपौरो छ। तिनी महापवित्र कोठाभित्र पस्नुअघि त्यहाँको पर्दाअगाडि रोकिन्छन्‌। त्यसपछि गहिरो आदरभावका साथ तिनी महापवित्र कोठाभित्र पस्छन्‌ अनि करारको सन्दुकअघि उभिन्छन्‌। यतिबेला तिनी प्रतीकात्मक अर्थमा यहोवा परमेश्‍वरको उपस्थितिसामु हुन्छन्‌। अब पुजारीले बलिरहेको कोइलामा होसियारीपूर्वक पवित्र धूप खन्याउँछन्‌ र कोठा मीठो बास्नाले भरिन्छ।b तिनी बलि चढाइएका जनावरहरूको रगत लिएर पछि फेरि महापवित्र कोठामा पस्नेछन्‌। याद गर्नुहोस्‌, पापभेटीको रगत चढाउनुअघि तिनले धूप बालेका छन्‌।

५. प्रायश्‍चितको दिनमा धूपको प्रयोगबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?

५ प्रायश्‍चितको दिनमा धूपको प्रयोगबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? यहोवाका वफादार सेवकहरूको स्वीकार्य प्रार्थना धूपजस्तो हो भनी बाइबलले सङ्‌केत गर्छ। (भज. १४१:२; प्रका. ५:८) प्रधानपुजारीले यहोवाको उपस्थितिसामु गहिरो आदरभावका साथ धूप ल्याएका थिए भन्‍ने कुरा फेरि सम्झनुहोस्‌। त्यसैगरि हामी पनि गहिरो आदरभावका साथ प्रार्थनाद्वारा यहोवासामु जान्छौँ। हामी उहाँप्रति गहिरो श्रद्धाभाव राख्छौँ। एउटा बच्चा कुनै सङ्‌कोच नमानी आफ्नो बुबासँग नजिक भएजस्तै ब्रह्‍माण्डको सृष्टिकर्ता यहोवाले हामीलाई उहाँसामु जाने र उहाँसित नजिक हुने सुअवसर दिनुभएकोमा हामी उहाँप्रति निकै धन्यवादी छौँ। (याकु. ४:८) उहाँ हामीलाई आफ्ना मित्रको रूपमा स्विकार्नुहुन्छ। (भज. २५:१४) हामी यो सुअवसरको यत्ति मोल गर्छौँ कि उहाँलाई कहिल्यै दुःखी बनाउन चाहँदैनौँ।

६. बलि चढाउनुअघि प्रधानपुजारीले धूप बाल्ने कुराबाट हामी के सिक्न सक्छौँ?

६ बलि चढाउनुअघि प्रधानपुजारीले धूप बाल्नुपर्थ्यो भन्‍ने कुरा याद गर्नुहोस्‌। यसरी तिनले यहोवाको अनुमोदन पाएको कुरा बलि चढाउनुअघि पक्का गर्थे। यसबाट हामी के सिक्न सक्छौँ? पृथ्वीमा छँदा येसुले आफ्नो जीवन बलिदान दिनुअघि एउटा महत्त्वपूर्ण काम गर्नुपर्थ्यो, जुन मानिसजातिलाई छुटकारा दिनुभन्दा पनि महत्त्वपूर्ण थियो। त्यो काम के थियो? येसुले सत्यनिष्ठ र वफादार भई जीवन बिताउनुपर्ने थियो, जसले गर्दा यहोवाले उहाँको बलिदान स्विकार्नुहुने थियो। यसरी यहोवाको स्तरअनुसार चल्नु नै जीवन बिताउने सही तरिका हो भनेर येसुले प्रमाणित गर्नुपर्थ्यो। येसुले आफ्नो बुबाको सार्वभौमिकतालाई समर्थन गर्नुहुने थियो अर्थात्‌ उहाँको शासन गर्ने तरिका सही र न्यायोचित हो भनेर प्रमाणित गर्नुहुने थियो।

७. पृथ्वीमा येसुले बिताउनुभएको जीवनशैली देखेर उहाँको बुबा किन खुसी हुनुभयो?

७ पृथ्वीमा हुनुहुँदा येसुले यहोवाको धार्मिक स्तरअनुसार जीवन बिताएर उहाँप्रति पूर्णतया आज्ञाकारी हुनुभयो। जस्तोसुकै प्रलोभन वा परीक्षाको सामना गर्नुपरे तापनि यहाँसम्म कि आफूले पीडादायी मृत्यु भोग्नुपर्नेछ भनेर थाह भए तापनि उहाँ आफ्नो बुबाको शासन गर्ने तरिकालाई समर्थन गर्नदेखि पछि हट्‌नुभएन। (फिलि. २:८) परीक्षाहरूको सामना गर्नुपर्दा येसुले “ठूलो स्वरले कराउँदै अनि आँसुको धारा बगाउँदै” प्रार्थना गर्नुभयो। (हिब्रू ५:७) उहाँले गर्नुभएका व्यग्र प्रार्थनाहरूबाट उहाँ यहोवाप्रति वफादार हुनुहुन्छ भनेर देखिन्थ्यो र त्यसले आज्ञाकारी रहने उहाँको इच्छालाई अझ बलियो बनायो। येसुको प्रार्थना यहोवाको लागि मीठो बास्ना दिने धूपजस्तै थियो। येसुले आफ्नो सम्पूर्ण जीवनशैलीद्वारा उहाँको बुबालाई खुसी पार्नुभयो अनि उहाँको सार्वभौमिकताको समर्थन गर्नुभयो।

८. हामी कसरी येसुको जीवनशैली अनुकरण गर्न सक्छौँ?

८ सत्यनिष्ठ भई चल्न अनि वफादार भई यहोवाको तौरतरिका र नियमहरूअनुसार जीवन बिताउन हरप्रयास गरेर हामी येसुको अनुकरण गर्न सक्छौँ। परीक्षाहरूको सामना गर्नुपर्दा मदतको लागि हामी यहोवालाई व्यग्र बिन्ती गर्छौँ किनभने हामी उहाँलाई खुसी बनाउन चाहन्छौँ। यसरी हामीले यहोवाको शासन गर्ने तरिकालाई समर्थन गरिरहेका हुन्छौँ। उहाँले घृणा गर्नुहुने कुराहरू गऱ्‍यौँ भने उहाँले हाम्रा प्रार्थनाहरू सुन्‍नुहुनेछैन भनेर हामीलाई थाह छ। तर उहाँका स्तरहरूअनुसारै जीवन बितायौँ भने हाम्रो मनैदेखिका प्रार्थनाहरू उहाँको लागि सुगन्धित धूपजस्तै हुनेछन्‌ भन्‍ने कुरामा हामी विश्‍वस्त हुन सक्छौँ। हामी सत्यनिष्ठ र वफादार भई आज्ञाकारी हुँदा स्वर्गमा बस्नुहुने हाम्रो बुबा खुसी हुनुहुनेछ भनेर ढुक्क हुन सक्छौँ।—हितो. २७:११.

हामी कृतज्ञता र प्रेमले उत्प्रेरित भई सेवा गर्छौँ

परिवारसँगै आएका इस्राएली बुबाले मेलबलिको रूपमा चढाउन पुजारीलाई एउटा भेडा दिन्छन्‌

(अनुच्छेद ९ हेर्नुहोस्‌)e

९. मेलबलि किन चढाइन्थ्यो?

९ दोस्रो पाठ: यहोवाप्रति कृतज्ञ भएकोले हामी उहाँको सेवा गर्छौँ। यसलाई स्पष्टसित बुझ्न प्राचीन इस्राएलमा साँचो उपासनाको अर्को महत्त्वपूर्ण पक्ष अर्थात्‌ मेलबलिबारे विचार गरौँ।c कुनै इस्राएलीले “परमेश्‍वरलाई धन्यवाद दिन” मेलबलि चढाउन सक्थे भनेर लेवीको किताबमा उल्लेख गरिएको पाउँछौँ। (लेवी ७:११-१३, १६-१८) तिनले त्यो बलि चढाउनै पर्ने भएकोले नभई आफ्नो स्वेच्छाले चढाउँथे। त्यसैले त्यो स्वैच्छिकभेटी थियो र आफ्नो परमेश्‍वर यहोवालाई प्रेम गरेकोले तिनले त्यस्तो भेटी चढाउन सक्थे। बलि चढाइएको जनावरको मासु त्यो भेटी चढाउने व्यक्‍ति, तिनको परिवार र पुजारीहरूले खान्थे। तर त्यस जनावरको कुनै-कुनै भाग भने यहोवालाई मात्र चढाइन्थ्यो। कुन-कुन भाग?

येसु चेलाहरूको एउटा समूहसित कुरा गर्नुहुन्छ

(अनुच्छेद १० हेर्नुहोस्‌)f

१०. लेवी ३:६, १२, १४-१६ मा दिइएको मेलबलिको विवरण र येसुले यहोवालाई चढाउनुभएको सेवा कसरी सम्बन्धित छ?

१० तेस्रो पाठ: प्रेमले गर्दा हामी यहोवालाई आफ्नो तर्फबाट उत्तम कुरा दिन्छौँ। यहोवाले जनावरको बोसोलाई सबैभन्दा उत्तम भाग ठान्‍नुहुन्थ्यो। उहाँले जनावरको महत्त्वपूर्ण अङ्‌गहरू, जस्तै: मिर्गौलाहरूलाई पनि विशेष महत्त्वको ठान्‍नुहुन्थ्यो। (लेवी ३:६, १२, १४-१६ पढ्‌नुहोस्‌) त्यसैले कुनै इस्राएलीले स्वेच्छाले ती अङ्‌गहरू अनि बोसो चढाउँदा यहोवालाई असाध्यै खुसी लाग्थ्यो। कुनै इस्राएलीले त्यस्तो भेटी चढाउँदा तिनले यहोवालाई आफ्नो तर्फबाट उत्तम कुरा दिन चाहेको उत्कट इच्छा देखिन्थ्यो। त्यसैगरि येसुले पनि प्रेमले उत्प्रेरित भई तनमनले यहोवाको सेवा गरेर आफ्नो तर्फबाट उहाँलाई उत्तम कुरा दिनुभयो। (युह. १४:३१) परमेश्‍वरको इच्छाअनुसार चल्न पाउँदा येसु रमाउनुहुन्थ्यो अनि उहाँको व्यवस्थालाई गहिरो प्रेम गर्नुहुन्थ्यो। (भज. ४०:८) येसुले राजीखुसीले सेवा गरेको देख्नुहुँदा यहोवालाई कत्ति खुसी लाग्यो होला!

ह्विलचियरमा बसेकी एक वृद्धा चिठीमार्फत साक्षी दिन्छिन्‌

यहोवाप्रतिको प्रेमले हामी उहाँलाई उत्तम कुरा दिन उत्प्रेरित हुन्छौँ (अनुच्छेद ११-१२ हेर्नुहोस्‌)g

११. हामीले गर्ने सेवा कसरी मेलबलिजस्तै हो? त्यो विचार गर्दा हामी कसरी सान्त्वना पाउन सक्छौँ?

११ हामीले यहोवालाई चढाउने सेवा मेलबलिजस्तै स्वैच्छिक भेटी हो किनभने यसबाट हामी उहाँबारे कस्तो सोचाइ राख्छौँ भनेर देखिन्छ। हामी उहाँलाई उत्तम कुरा दिन्छौँ र उहाँलाई सारा हृदयले प्रेम गर्ने भएकोले हामी त्यसो गर्छौँ। यहोवाका लाखौँ सेवकहरू उहाँ र उहाँका स्तरप्रतिको गहिरो प्रेमले उत्प्रेरित भई सेवा गरिरहेका छन्‌। यो देख्दा उहाँलाई कत्ति खुसी लाग्छ होला! हामीले चालेको कदम मात्र नभई उहाँ हाम्रो मनसाय पनि देख्नुहुन्छ अनि कदर गर्नुहुन्छ भनेर थाह पाउँदा हामी सान्त्वना पाउन सक्छौँ। उदाहरणको लागि, यदि तपाईँको उमेर ढल्किसकेको छ र यहोवाको सेवामा आफूले चाहेको जति गर्न सक्नुभएको छैन भने उहाँ तपाईँको सीमितता बुझ्नुहुन्छ भनेर ढुक्क हुनुहोस्‌। यहोवाको लागि आफूले धेरै गर्न सक्दिनँ जस्तो तपाईँलाई लाग्ला तर यहोवाले तपाईँमा भएको गहिरो प्रेम देख्नुहुन्छ, जसले तपाईँलाई उहाँको लागि सकेजति गर्न उत्प्रेरणा दिन्छ। तपाईँले दिनुभएको उत्तम कुरा उहाँ खुसीसाथ स्विकार्नुहुन्छ।

१२. मेलबलिबारे यहोवा कस्तो महसुस गर्नुहुन्थ्यो? यसबाट हामी कस्तो आश्‍वासन पाउन सक्छौँ?

१२ मेलबलिको विवरणबाट हामी के सिक्न सक्छौँ? जनावरको उत्तम भागहरू आगोमा जलाइँदा धुवाँ मास्तिर उड्‌थ्यो र यहोवा प्रसन्‍न हुनुहुन्थ्यो। त्यसैले तपाईँले राजीखुसीका साथ तनमनले चढाएको सेवा देखेर पनि यहोवा प्रसन्‍न हुनुहुन्छ भनेर ढुक्क हुनुहोस्‌। (कल. ३:२३) उहाँ तपाईँलाई देखेर कत्ति खुसी हुनुहुन्छ, कल्पना गर्नुहोस्‌! तपाईँले यहोवाको सेवामा गरेको काम सानो होस्‌ वा ठूलो, त्यसलाई उहाँ धनसम्पत्तिजस्तै ठान्‍नुहुन्छ; उहाँले सधैँ त्यसको कदर गर्नहुन्छ र सम्झिरहनुहुन्छ।—मत्ति ६:२०; हिब्रू ६:१०.

यहोवा आफ्नो सङ्‌गठनलाई आशिष्‌ दिनुहुन्छ

१३. लेवी ९:२३, २४ अनुसार नवनियुक्‍त पुजारीहरूलाई अनुमोदन गर्नुभएको कुरा यहोवाले कसरी देखाउनुभयो?

१३ चौथो पाठ: आफ्नो सङ्‌गठनको पृथ्वीमा रहेको भागलाई यहोवा आशिष्‌ दिँदै हुनुहुन्छ। ईसापूर्व १५१२ मा सिनै डाँडाको फेदमा बासस्थान स्थापना गरिँदा के भएको थियो, विचार गर्नुहोस्‌। (प्रस्थ. ४०:१७) हारुन र तिनका छोराहरूलाई पुजारी नियुक्‍त गर्ने समारोहमा मोसाले नेतृत्व लिइरहेका थिए। नवनियुक्‍त पुजारीहरूले पहिलो चोटि जनावर बलि चढाएको हेर्न सारा इस्राएल राष्ट्र जम्मा भएको थियो। (लेवी ९:१-५) नवनियुक्‍त पुजारीहरूलाई अनुमोदन गर्नुभएको कुरा यहोवाले कसरी देखाउनुभयो? हारुन र मोसाले मानिसहरूलाई आशिष्‌ दिँदा यहोवाले वेदीमाथि राखिएको भेटी भस्म पार्न आगो पठाउनुभयो।—लेवी ९:२३, २४ पढ्‌नुहोस्‌।

१४. यहोवाले हारुन र तिनका छोराहरूलाई अनुमोदन गर्नुभएको कुरा आज हाम्रो लागि किन अर्थपूर्ण छ?

१४ प्रधानपुजारीको नियुक्‍तिको बेला भएको अचम्मलाग्दो घटनाबाट के प्रकट भयो? यहोवाले हारुन र तिनका छोराहरूलाई अनुमोदन गर्नुभएको कुरा देखाउन स्वर्गबाट आगो बर्साउनुभएको थियो। यहोवाले पुजारीहरूलाई अनुमोदन गर्नुभएको स्पष्ट प्रमाण देखेपछि इस्राएलीहरूले तिनीहरूलाई पूर्ण रूपमा समर्थन गर्ने कारण पाए। के यसले हाम्रो समयमा पनि कुनै अर्थ राख्छ? पक्कै राख्छ! इस्राएलीहरूको समयका पुजारीदल पछि आउने महान्‌ पुजारीदलको छाया मात्र थियो। महान्‌ प्रधानपुजारी ख्रिष्ट हुनुहुन्छ र उहाँसित १ लाख ४४ हजार मिलेर बनेको शाही पुजारीदल पनि छ, जसले स्वर्गमा उहाँसँगै सेवा गर्नेछ।—हिब्रू ४:१४; ८:३-५; १०:१.

परिचालक निकायका सदस्य भाइ गेरिट लोशले जर्मन भाषामा नयाँ संसार अनुवाद-को संशोधित संस्करण विमोचन गर्नुहुन्छ। जर्मनीका दुई बहिनीले नयाँ बाइबल प्रचारकार्यमा प्रयोग गर्छन्‌

यहोवाले आफ्नो सङ्‌गठनलाई आशिष्‌ दिँदै र डोऱ्‍याउँदै हुनुहुन्छ। हामी तनमनले त्यसको समर्थन गर्छौँ (अनुच्छेद १५-१७ हेर्नुहोस्‌)h

१५-१६. यहोवाले “विश्‍वासी र बुद्धिमान्‌ दास”-लाई अनुमोदन गर्नुभएको कुरा कसरी देखाउनुभएको छ?

१५ सन्‌ १९१९ मा येसुले अभिषिक्‍त भाइहरूको एउटा सानो समूहलाई “विश्‍वासी र बुद्धिमान्‌ दास”-को रूपमा नियुक्‍त गर्नुभयो। त्यस दासले प्रचारकार्यको नेतृत्व लिन्छ र ख्रिष्टका अनुयायीहरूलाई “ठीक समयमा भोजन” दिन्छ। (मत्ति २४:४५) के हामी यहोवाले विश्‍वासी र बुद्धिमान्‌ दासलाई अनुमोदन गर्नुभएको सुस्पष्ट प्रमाण देख्छौँ?

१६ सैतान र त्यसको संसारले यस विश्‍वासी दासको कामलाई चुनौतीपूर्ण मात्र होइन, मानिसको दृष्टिकोणबाट त्यो पूरा गर्न असम्भव समेत बनाउन लागिपरेको छ। दुइटा विश्‍वयुद्ध, एकपछि अर्को घोर सतावट, विश्‍वव्यापी आर्थिक मन्दी र अन्यायपूर्ण व्यवहारको बाबजुद विश्‍वासी र बुद्धिमान्‌ दासले पृथ्वीमा भएका ख्रिष्टका अनुयायीहरूलाई आध्यात्मिक भोजन दिइरहेको छ। आज ९०० भन्दा धेरै भाषामा प्रशस्त मात्रामा आध्यात्मिक भोजन उपलब्ध छ, त्यो पनि निश्‍शुल्क! परमेश्‍वरले आफ्ना सेवकहरूलाई साथ दिँदै हुनुहुन्छ भन्‍ने कुराको यो अकाट्य प्रमाण हो। यहोवाको आशिष्‌को अर्को प्रमाण विचार गर्नुहोस्‌: त्यो हो, प्रचारकार्य। सुसमाचार साँच्चै “सारा पृथ्वीभरि” प्रचार गरिँदै छ। (मत्ति २४:१४) यहोवाले आफ्नो सङ्‌गठनलाई डोऱ्‍याउँदै हुनुहुन्छ र प्रशस्त मात्रामा आशिष्‌ बर्साउँदै हुनुहुन्छ भन्‍ने कुरामा कुनै शङ्‌का छैन।

१७. यहोवाले चलाइरहनुभएको सङ्‌गठनलाई समर्थन गरेको हामी कसरी देखाउन सक्छौँ?

१७ हामी आफैलाई यस्तो प्रश्‍न सोध्न सक्छौँ, ‘यहोवाको सङ्‌गठनको पृथ्वीमा रहेको भागसित आबद्ध हुन पाएकोमा के म कृतज्ञ छु?’ मोसा र हारुनको समयमा यहोवाले स्वर्गबाट साँच्चैको आगो पठाउनुभएजस्तै आज पनि उहाँले यस्तै बलियो प्रमाण दिनुभएको छ। उहाँप्रति धन्यवादी हुने कत्ति धेरै कारण हामीसित छ! (१ थिस्स. ५:१८, १९) यहोवाले चलाइरहनुभएको सङ्‌गठनलाई समर्थन गरेको कसरी देखाउन सक्छौँ? हाम्रा प्रकाशन अनि सभा, सम्मेलन र अधिवेशनमार्फत दिइने बाइबलआधारित निर्देशनहरूअनुसारै चलेर त्यसो गर्न सक्छौँ। साथै प्रचार गर्ने र सिकाउने काममा पूरापूर भाग लिएर पनि हामीले समर्थन गरेको देखाउन सक्छौँ।—१ कोरि. १५:५८.

१८. तपाईँ के गर्न कटिबद्ध हुनुहुन्छ?

१८ लेवीको किताबबाट सिकेका पाठहरू लागू गर्न हामी कटिबद्ध होऔँ। हामीले चढाउने भेटी ग्रहणयोग्य हुनको लागि यहोवाको अनुमोदन पाउन सकौँ। यहोवाप्रति कृतज्ञ भएकोले हामी उहाँको सेवा गरिरहौँ। यहोवालाई मनैदेखि प्रेम गरेकोले उहाँलाई उत्तम कुरा दिइरहौँ। उहाँले चलाइरहनुभएको सङ्‌गठनलाई तनमनले समर्थन गरिरहौँ। यसरी हामीले उहाँको साक्षीको रूपमा सेवा गर्ने सुअवसरको मोल गरेको कुरा देखाइरहेका हुनेछौँ।

यी विवरणबाट हामी कस्ता पाठहरू सिक्न सक्छौँ?

  • प्रायश्‍चितको दिनमा धूपको प्रयोग? (लेवी १६:१२, १३)

  • इस्राएलीहरूले व्यवस्थाअनुसार चढाउने मेलबलि? (लेवी ३:६, १२, १४-१६)

  • पुजारीदल नियुक्‍त हुँदा देखिएको आगो? (लेवी ९:२३, २४)

गीत ९६ परमेश्‍वरको किताब—एउटा अमूल्य धन

a लेवीको किताबमा यहोवाले प्राचीन इस्राएल राष्ट्रलाई दिनुभएका नियमहरू पाइन्छ। अहिले हामी ख्रिष्टियनहरूले ती नियमहरू पालन गर्नुपर्दैन तैपनि ती नियमहरूबाट लाभ उठाउन सक्छौँ। यस लेखमा लेवीको किताबबाट सिक्न सकिने महत्त्वपूर्ण पाठहरू छलफल गर्नेछौँ।

b वासस्थानमा बालिने धूप पवित्र ठानिन्थ्यो र प्राचीन इस्राएलमा त्यसलाई यहोवाको उपासनामा मात्र प्रयोग गरिन्थ्यो। (प्रस्थ. ३०:३४-३८) प्रथम शताब्दीका ख्रिष्टियनहरूले उपासनामा धूप बालेको कुनै रेकर्ड पाइँदैन।

c मेलबलिबारे थप जानकारी पाउन धर्मशास्त्रमा अन्तर्दृष्टि (अङ्‌ग्रेजी), खण्ड २, पृ. ५२६ हेर्नुहोस्‌।

d चित्रको व्याख्या: प्रायश्‍चितको दिनमा इस्राएलको प्रधानपुजारी धूप र बलिरहेको कोइला लिएर महापवित्र कोठामा पस्थे र त्यसको मीठो बास्नाले कोठा भरिन्थ्यो। पछि तिनी पापभेटीको रगत चढाउन फेरि महापवित्र कोठामा पस्थे

e चित्रको व्याख्या: यहोवाप्रति आफ्नो परिवारको कृतज्ञता व्यक्‍त गर्न एक जना इस्राएलीले मेलबलिको रूपमा चढाउन पुजारीलाई एउटा भेडा दिन्छन्‌।

f चित्रको व्याख्या: पृथ्वीमा हुनुहुँदा येसुले यहोवाको आज्ञा पालन गरेर अनि आफ्ना चेलाहरूलाई पनि ती पालन गर्न सिकाएर उहाँप्रतिको गहिरो प्रेम व्यक्‍त गर्नुभयो।

g चित्रको व्याख्या: एक जना वृद्धाले आफ्नो शारीरिक अशक्‍तताको बाबजुद चिठीमार्फत साक्षी दिएर यहोवालाई उत्तम कुरा दिन्छिन्‌।

h चित्रको व्याख्या: सन्‌ २०१९ फेब्रुअरीमा परिचालक निकायका सदस्य भाइ गेरिट लोशले जर्मन भाषामा नयाँ संसार अनुवाद-को संशोधित संस्करण विमोचन गर्नुभयो। आज जर्मनीका यी दुई बहिनीले जस्तै त्यहाँका प्रकाशकहरूले नयाँ बाइबल प्रचारकार्यमा खुसीसाथ प्रयोग गर्छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने