प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w19 डिसेम्बर pp. १-३२
  • यहोवाले तपाईँलाई स्वतन्त्रता दिनुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाले तपाईँलाई स्वतन्त्रता दिनुहुन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • येसुले स्वतन्त्रताको घोषणा गर्नुभयो
  • छुटकारा पाउने पहिलो समूह
  • लाखौँ अरू मानिसको लागि छुटकारा
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
  • स्वर्ण वर्ष र भविष्यमा पाइने स्वतन्त्रता
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
w19 डिसेम्बर pp. १-३२

अध्ययन लेख ५०

यहोवाले तपाईँलाई स्वतन्त्रता दिनुहुन्छ

“तिमीहरूले . . . देशका सारा बासिन्दालाई स्वतन्त्रताको घोषणा गर्नू।”—लेवी २५:१०.

गीत २२ यहोवाको राज्य अब चाँडै आओस्‌!

परिचयa

१-२. (क) स्वर्ण जयन्ती के हो? (“स्वर्ण वर्ष के थियो?” भन्‍ने पेटी हेर्नुहोस्‌) (ख) येसुले लुका ४:१६-१८ मा केबारे बताउनुभयो?

कुनै-कुनै देशमा राजा अथवा रानीको शासनकालको ५० औँ वर्षमा विशेष उत्सव मनाइन्छ। त्यो वर्ष अक्सर शासकको स्वर्ण जयन्ती भनेर बुझिन्छ। यस्तो उत्सवमा एक दिन, एक हप्ता वा त्योभन्दा लामो समयसम्म खुसीयाली मनाइन्छ। तर त्यो रमाइलो क्षण कुनै न कुनै समयमा टुङ्‌गिन्छ र खुसीयाली छिट्टै बिर्सिइन्छ।

२ प्राचीन इस्राएलीहरूले हरेक ५० औँ वर्षमा एक वर्षसम्म स्वर्ण जयन्ती अर्थात्‌ स्वर्ण वर्ष मनाउँथे। त्यस स्वर्ण वर्षले इस्राएलीहरूलाई स्वतन्त्रता दिन्थ्यो। तर हामी त्योभन्दा पनि उत्तम स्वर्ण वर्षबारे विचार गर्नेछौँ। इस्राएलीहरूले मनाउने स्वर्ण वर्षले आज हाम्रो लागि कस्तो अर्थ राख्छ? त्यसले हामीलाई यहोवाले हाम्रो लागि तयार पार्नुभएको एउटा यस्तो राम्रो प्रबन्धबारे सम्झाउँछ, जसले हामीलाई चिरस्थायी छुटकारा दिन्छ। त्यसले दिने छुटकारा, जसबारे येसुले पनि चर्चा गर्नुभयो, हामीले पाइरहेका छौँ।—लुका ४:१६-१८ पढ्‌नुहोस्‌।

स्वर्ण वर्ष के थियो?

स्वर्ण वर्ष भनेको एउटा विशेष वार्षिकी हो। इस्राएलीहरूले हरेक ५० वर्षमा स्वर्ण वर्ष मनाउनुपर्थ्यो। प्रतिज्ञा गरिएको देशमा प्रवेश गरेको समयदेखि इस्राएलीहरूले छ वर्षसम्म बिउ छर्नुपर्थ्यो, खेत जोत्नुपर्थ्यो र कटनी गर्नुपर्थ्यो। सातौँ वर्ष विश्रामवर्ष हुने थियो र त्यो वर्ष बिउ छर्ने वा छिमल्ने काम गर्नु हुँदैन थियो। सात-सात वर्षमा आउने विश्रामवर्ष सातौँ पटक (७ × ७ = ४९) मनाइसकेपछिको वर्ष अर्थात्‌ ५० औँ वर्ष स्वर्ण वर्ष हुन्थ्यो। इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गरेको वर्षदेखि गन्ती गर्दा तिनीहरूको पहिलो स्वर्ण वर्ष ईसापूर्व १४२४ को तिस्री महिनामा सुरु भयो।—लेवी २५:२-४, ८-१०.

दासत्वमा परेका मानिसहरू स्वर्ण वर्षमा स्वतन्त्र हुन्छन्‌ र परिवारले तिनीहरूलाई स्वागत गर्छ

दासको रूपमा बेचिएका मानिसहरू स्वर्ण वर्षमा स्वतन्त्र भएर आफ्नो परिवारकहाँ फर्कन्थे। साथै ऋणमा डुबेका मानिसहरूले आफ्नो जग्गाजमिन फिर्ता पाउँथे (अनुच्छेद ३ हेर्नुहोस्‌)b

३. लेवी २५:८-१२ मा उल्लेख गरिएजस्तै इस्राएलीहरूले स्वर्ण वर्षबाट कसरी लाभ उठाउन सक्थे?

३ येसुले उल्लेख गर्नुभएको स्वतन्त्रताबारे अझ स्पष्ट रूपमा बुझ्न यहोवाले प्राचीन इस्राएल राष्ट्रको लागि प्रबन्ध गरिदिनुभएको स्वर्ण वर्षलाई विचार गर्न सक्छौँ। यहोवाले इस्राएलीहरूलाई यसो भन्‍नुभएको थियो: “तिमीहरूले ५० औँ वर्षलाई पवित्र मान्‍नू अनि देशका सारा बासिन्दालाई स्वतन्त्रताको घोषणा गर्नू। यो तिमीहरूको लागि स्वर्ण वर्ष हुनेछ अनि तिमीहरू प्रत्येकले आफूले बेचेको सम्पत्ति फिर्ता पाउनेछौ र तिमीहरू आ-आफ्नो परिवारकहाँ फर्कन सक्नेछौ।” (लेवी २५:८-१२ पढ्‌नुहोस्‌) इस्राएलीहरूले साप्ताहिक विश्रामदिनबाट कसरी लाभ उठाउन सक्थे भनेर अघिल्लो लेखमा विचार गरेका थियौँ। त्यसोभए स्वर्ण वर्षबाट चाहिँ तिनीहरूले कसरी लाभ उठाउन सक्थे? मानौँ, कुनै इस्राएली ऋण चुक्‍ता गर्न आफ्नो जग्गा बेच्न बाध्य भयो। स्वर्ण वर्षमा ऋणदाताले उसलाई जग्गा फिर्ता गर्नुपर्थ्यो। यसरी त्यो व्यक्‍तिले आफ्नो ‘सम्पत्ति फिर्ता पाउने थियो,’ र उसको भावी सन्तानले पैतृक सम्पत्ति गुमाउने थिएन। अर्को उदाहरण, भारी ऋण चुक्‍ता गर्न असमर्थ भएकोले कुनै मानिस आफ्नो छोराछोरीमध्ये कसैलाई अथवा आफैलाई दासको रूपमा बेच्न बाध्य भयो। स्वर्ण वर्षमा त्यो दास ‘आफ्नो परिवारकहाँ फर्कन सक्ने थियो।’ यसरी कोही पनि सधैँभरिको लागि दास भएर आशाविहीन स्थितिमा बस्नुपरेको थिएन। यहोवा आफ्ना जनहरूको कत्ति धेरै ख्याल राख्नुहुन्थ्यो!

४-५. हामीले प्राचीन समयको स्वर्ण वर्षबारे थाह पाउनु किन आवश्‍यक छ?

४ स्वर्ण वर्षको अर्को फाइदा के थियो? यहोवाले यसो भन्‍नुभयो: “तिमीहरूमाझ कोही पनि गरिब नहोस्‌। किनभने यहोवा परमेश्‍वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा जुन देश दिनुहुनेछ, त्यहाँ यहोवा परमेश्‍वरले तिमीहरूलाई प्रशस्त आशिष्‌ दिनुहुनेछ।” (व्यव. १५:४) प्रायः धनी मानिसहरू झन्‌ धनी र गरिब मानिसहरू झन्‌ गरिब हुँदै गइरहेको वर्तमान अवस्थाभन्दा कत्ति भिन्‍न!

५ हामी ख्रिष्टियनहरू मोसाको व्यवस्थाको अधीनमा छैनौँ। मतलब, हामीले स्वर्ण वर्षको प्रबन्धअनुसार दासलाई मुक्‍त गर्ने, ऋण माफ गर्ने र पुर्ख्यौली जग्गाजमिन फिर्ता गर्ने काम गर्नुपर्दैन। (रोमी ७:४; १०:४; एफि. २:१५) तैपनि स्वर्ण वर्षबारे थाह पाउनु आवश्‍यक छ। किन? किनभने हामीले अहिले पाइरहेको स्वतन्त्रताले यहोवाले इस्राएलीहरूको लागि गर्नुभएको यस प्रबन्धको सम्झना गराउँछ।

येसुले स्वतन्त्रताको घोषणा गर्नुभयो

६. मानिसजातिले केबाट स्वतन्त्रता पाउनु आवश्‍यक छ?

६ हामी सबै जना असाध्यै कठोर प्रकारको दासत्वमा परेका छौँ। त्यो हो, पापको दासत्व। त्यसैले हामीलाई स्वतन्त्रता चाहिन्छ। पापी भएकोले हामी बुढ्यौली, रोगबिमार अनि मृत्युको दलदलमा फसेका छौँ। थुप्रैले आफैलाई ऐनामा हेर्दा वा बिरामी परेकोले डाक्टरकहाँ जाँदा त्यस्तो कुरा महसुस गर्छन्‌। हामी पापी भएकोले निरुत्साहित हुन्छौँ। प्रेषित पावलले आफूलाई ‘पापको व्यवस्थाले बन्दी बनाएको’ कुरा स्विकारे। तिनले अझै यसो भने: “हाय, म कस्तो लाचार मानिस! मृत्युतर्फ धकेलिँदै गरेको यो शरीरबाट मलाई कसले छुटाउला?”—रोमी ७:२३, २४.

७. छुटकाराबारे यसैयाले कस्तो भविष्यवाणी गरे?

७ खुसीको कुरा, परमेश्‍वरले हामीलाई पापबाट स्वतन्त्रता दिने बाटो खोलिदिनुभएको छ। येसुमार्फत हामी त्यो स्वतन्त्रता अर्थात्‌ छुटकारा पाउँछौँ। भविष्यवक्‍ता यसैयाले येसु पृथ्वीमा आउनुभन्दा ७०० वर्षअघि एउटा भव्य छुटकाराबारे भविष्यवाणी गरेका थिए। त्यो छुटकारा इस्राएलीहरूले स्वर्ण वर्षमा पाएको छुटकाराभन्दा कता हो कता असल हुने थियो। तिनले भने: “ब्रह्‍माण्डका मालिक यहोवाको पवित्र शक्‍ति ममाथि छ किनकि नम्रहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूलाई मलहमपट्टी गर्न, बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न . . . उहाँले मलाई पठाउनुभएको छ।” (यसै. ६१:१) यो भविष्यवाणी कसलाई लागू हुन्छ?

८. छुटकाराबारे यसैयाले गरेको भविष्यवाणी कसलाई लागू हुन्छ?

८ छुटकाराबारे गरिएको त्यो महत्त्वपूर्ण भविष्यवाणी येसुले पृथ्वीमा सेवाको काम थाल्नुभएपछि पूरा हुन थाल्यो। आफ्नो गृहनगर नासरतको सभाघरमा भेला भएको बेला येसुले यसैयाको यो भविष्यवाणी यहुदीहरूको अगाडि पढेर आफूमाथि लागू गर्नुभयो: “यहोवा परमेश्‍वरको पवित्र शक्‍ति ममाथि छ किनकि गरिबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई यसकारण पठाउनुभएको छ कि मैले बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गरूँ र अन्धाहरूलाई दृष्टि दिऊँ, पिल्सिएकाहरूलाई छुटाऊँ अनि यहोवा परमेश्‍वरको निगाह पाउने समयबारे प्रचार गरूँ।” (लुका ४:१६-१९) उहाँले कसरी त्यो भविष्यवाणी पूरा गर्नुभयो?

छुटकारा पाउने पहिलो समूह

येसुले नासरतको सभाघरमा एउटा मुठा पढ्‌नुहुन्छ

येसुले नासरतको सभाघरमा छुटकाराको घोषणा गर्नुहुन्छ (अनुच्छेद ८-९ हेर्नुहोस्‌)

९. येसुको समयका धेरैजसो मानिसले कस्तो स्वतन्त्रता पाउने आशा गरिरहेका थिए?

९ यसैयाले जुन स्वतन्त्रता अर्थात्‌ छुटकाराबारे भविष्यवाणी गरेका थिए र येसुले जुन छुटकाराबारे पढ्‌नुभएको थियो, त्यो छुटकारा मानिसहरूले प्रथम शताब्दीदेखि पाउन थाले। यस विषयमा येसुले यस्तो घोषणा गर्नुभयो: “तिमीहरूले भर्खरै सुनेको धर्मशास्त्रको यो अंश आज पूरा भयो।” (लुका ४:२१) येसुको कुरा सुनिरहेका धेरैले केही राजनैतिक परिवर्तन भएर रोमी सरकारको शासनबाट छुटकारा पाउने आशा गरिरहेका थिए। त्यतिखेर दुई जना मानिसले यसो भने: “इस्राएललाई छुटकारा दिने मानिस उहाँ नै हुनुपर्छ भनेर हामीले आशा गरिरहेका थियौँ।” (लुका २४:१३, २१) सायद अरूले पनि त्यस्तै महसुस गरेको हुनुपर्छ। तर हामीलाई थाह छ, येसुले चेलाहरूलाई रोमी शासनको गह्रौँ बोझ हटाउन विद्रोह गर्नुपर्छ भनेर सिकाउनुभएन। बरु उहाँले तिनीहरूलाई “जे-जे सिजरका हुन्‌, सिजरलाई” दिन निर्देशन दिनुभयो। (मत्ति २२:२१) त्यसोभए येसुले त्यतिबेलाका मानिसहरूलाई कसरी स्वतन्त्रता दिनुभयो?

१०. येसुले केबाट छुटकारा पाउने बाटो खोलिदिनुभयो?

१० परमेश्‍वरको छोरा मानिसहरूलाई दुई कुराबाट स्वतन्त्रता अर्थात्‌ छुटकारा दिन आउनुभयो। पहिलो, धर्मगुरुहरूले सिकाउने बोझिलो झूटा शिक्षाबाट। त्यतिबेलाका यहुदीहरू अनेकन्‌ परम्परा र झूटा शिक्षाको दासत्वमा परेका थिए। (मत्ति ५:३१-३७; १५:१-११) त्यतिबेला धर्मगुरु कहलिएका व्यक्‍तिहरू एक अर्थमा अन्धा थिए। मसीहलाई अनि उहाँले दिनुहुने आध्यात्मिक ज्योतिलाई अस्वीकार गरेकोले तिनीहरू अन्धकार र पापमा रहिरहे। (युह. ९:१, १४-१६, ३५-४१) येसुले नम्र व्यक्‍तिहरूलाई सही शिक्षा र असल उदाहरणद्वारा झूटो शिक्षाबाट स्वतन्त्र हुने तरिका देखाउनुभयो।—मर्कु. १:२२; २:२३–३:५.

११. येसुले मानिसजातिलाई स्वतन्त्रता दिनुभएको दोस्रो कुरा के हो?

११ येसुले मानिसजातिलाई स्वतन्त्रता दिनुभएको दोस्रो कुरा जन्मजात पाएको पापको दासत्वबाट हो। परमेश्‍वरले फिरौतीमा विश्‍वास गर्ने र आफ्नो कामद्वारा त्यो विश्‍वास प्रकट गर्ने मानिसहरूलाई येसुले चढाउनुभएको बलिदानको आधारमा क्षमा दिन सक्नुहुन्थ्यो। (हिब्रू १०:१२-१८) येसुले यसो भन्‍नुभयो: “छोराले तिमीहरूलाई स्वतन्त्र बनायो भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ।” (युह. ८:३६) त्यो स्वतन्त्रता इस्राएलीहरूले स्वर्ण वर्षमा पाउने स्वतन्त्रताभन्दा उत्कृष्ट थियो। उदाहरणको लागि, स्वर्ण वर्षको दौडान दासत्वबाट छुटकारा पाएको मानिस पछि फेरि दास बन्‍न सक्थ्यो। उसले दासत्वबाट छुटकारा पाए पनि मृत्युबाट भने कहिल्यै छुटकारा पाउने थिएन।

१२. येसुले घोषणा गर्नुभएको छुटकाराबाट लाभ उठाउने पहिलो समूह कुन थियो?

१२ यहोवाले इस्वी संवत्‌ ३३ पेन्तिकोसको दिन पवित्र शक्‍तिद्वारा प्रेषितहरू अनि अरू वफादार पुरुष तथा स्त्रीहरूलाई अभिषेक गर्नुभयो। उहाँले तिनीहरूलाई धर्मपुत्रको रूपमा स्विकार्नुभयो जसले गर्दा भविष्यमा तिनीहरूले स्वर्गमा येसुसँगै राज्य गर्ने थिए। (रोमी ८:२, १५-१७) तिनीहरू नै येसुले नासरतको सभाघरमा घोषणा गर्नुभएको छुटकाराबाट लाभ उठाउने पहिलो समूह थिए। ती पुरुष तथा स्त्रीहरू यहूदी धर्मगुरुहरूको झूटा शिक्षा अनि गैर-धर्मशास्त्रीय चलनबाट मुक्‍त भएका थिए। साथै परमेश्‍वरको नजरमा तिनीहरू पाप र मृत्युबाट छुटकारा पाएका व्यक्‍तिहरू भए। इस्वी संवत्‌ ३३ मा ख्रिष्टका चेलाहरू अभिषेक भएदेखि सुरु भएको प्रतीकात्मक स्वर्ण वर्ष येसुको हजार वर्षीय शासनपछि टुङ्‌गिनेछ। त्यतिबेलासम्म कस्ता राम्रा कामहरू पूरा भइसकेका हुनेछन्‌?

प्रतीकात्मक स्वर्ण वर्षका पक्षहरू

  1. इस्वी संवत्‌ ३०: येसु नासरतको सभाघरमा छुटकाराको घोषणा गर्नुहुन्छ (लुका ४:२१)

  2. इस्वी संवत्‌ ३३: ख्रिष्टका चेलाहरू अभिषेक भएदेखि प्रतीकात्मक स्वर्ण वर्ष सुरु हुन्छ (रोमी ८:२, १५-१७)

  3. अहिले: अभिषिक्‍त ख्रिष्टियनहरूले प्रतीकात्मक स्वर्ण वर्षबाट लाभ उठाइरहेका छन्‌

  4. हजार वर्षीय शासन: ख्रिष्टको हजार वर्षीय शासनको दौडान मानिसजातिले पाप र त्रुटिपूर्ण अवस्थाबाट छुटकारा पाउनेछ

  5. ख्रिष्टको हजार वर्षीय शासनको अन्त: मानिसजातिले पाप र मृत्युको दासत्वबाट छुटकारा पाइसकेपछि प्रतीकात्मक स्वर्ण वर्ष टुङ्‌गिन्छ (रोमी ८:२१)

लाखौँ अरू मानिसको लागि छुटकारा

१३-१४. येसुले घोषणा गर्नुभएको छुटकारा अरू कसले पनि पाउन सक्छन्‌?

१३ आज विभिन्‍न जातिबाट आएका लाखौँ वफादार मानिसहरू “अरू भेडा” समूहका हुन्‌। (युह. १०:१६) तिनीहरूले येसुसँगै स्वर्गमा राज्य गर्न पाउनेछैनन्‌। बरु तिनीहरू पृथ्वीमा सधैँभरि बाँच्नेछन्‌। के तपाईँ पनि पृथ्वीमा सधैँभरि बाँच्ने आशा साँचेकाहरूमध्ये हुनुहुन्छ?

१४ स्वर्गमा येसुसँगै राज्य गर्ने मानिसहरूले पाएका आशिष्‌हरूमध्ये केही तपाईँले अहिल्यै पाइरहनुभएको छ। तपाईँले येसुको रगतको आधारमा पापहरूको क्षमा पाउन सक्नुहुन्छ। तपाईँले परमेश्‍वरको अनुमोदन पाउनुको साथै उहाँसामु सफा अन्तस्करण राख्न सक्नुहुन्छ। (एफि. १:७; प्रका. ७: १४, १५) तपाईँले परम्परादेखि चलिआएको गैर-धर्मशास्त्रीय शिक्षाहरूबाट पनि छुटकारा पाउनुभएको छ। येसुले यसो भन्‍नुभयो: “तिमीहरूले सत्य थाह पाउनेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र बनाउनेछ।” (युह. ८:३२) यस्तो स्वतन्त्रता पाएकोमा हामी साँच्चै खुसी छौँ!

१५. भविष्यमा हामी कस्तो स्वतन्त्रता र आशिष्‌ पाउने आशा गर्न सक्छौँ?

१५ भविष्यमा तपाईँले अरू स्वतन्त्रता पाउनुहुनेछ। येसुले झूटा धर्महरू र भ्रष्ट मानव सरकारहरू नाश गर्नुहुनेछ। परमेश्‍वरले उहाँको सेवा गर्ने “ठूलो भीड”-लाई बचाउनुहुनेछ र त्यसपछि तिनीहरूले यो पृथ्वी प्रमोदवन हुँदा आनन्दमय जीवन पाउनेछन्‌। (प्रका. ७:९, १४) मरिसकेका अनगिन्ती मानिसहरू फेरि जीवित हुनेछन्‌ र आदमको पापका सबै कुप्रभावबाट मुक्‍त हुने मौका पाउनेछन्‌।—प्रेषि. २४:१५.

१६. मानिसजातिले भविष्यमा अझ कस्तो स्वतन्त्रता पाउनेछ?

१६ हजार वर्षीय शासनको दौडान येसु र उहाँका सहशासकहरूले मानिसजातिलाई पूर्ण रूपमा शारीरिक र आध्यात्मिक तवरमा स्वस्थ बनाउनुहुनेछ। त्यो समय इस्राएल राष्ट्रको स्वर्ण वर्षजस्तै हुनेछ। वफादार भई यहोवाको सेवा गर्ने सबैले पापबाट स्वतन्त्र भएर त्रुटिरहित जीवन पाउनेछन्‌।

विभिन्‍न जातिका परिवारहरू नयाँ संसारमा अङ्‌गुर टिप्छन्‌

नयाँ संसारमा हामीले अर्थपूर्ण र सन्तोषजनक काम गर्नेछौँ (अनुच्छेद १७ हेर्नुहोस्‌)

१७. यसैया ६५:२१-२३ को भविष्यवाणीअनुसार परमेश्‍वरका जनहरूको जीवन कस्तो हुनेछ? (आवरण चित्र हेर्नुहोस्‌)

१७ पृथ्वीमा जीवन कस्तो हुनेछ भनेर भविष्यसूचक विवरण यसैया ६५:२१-२३ मा पाइन्छ। (पढ्‌नुहोस्‌) त्यतिबेला हाम्रो जीवन पट्ट्याइलाग्दो हुनेछैन। बरु त्यतिबेला परमेश्‍वरका जनहरूले अर्थपूर्ण र सन्तोषजनक काम गर्नेछन्‌ भनी बाइबल बताउँछ। हजार वर्षीय शासनपछि “भ्रष्टताको दासत्वबाट स्वतन्त्र भएर सृष्टि आफैले पनि परमेश्‍वरको सन्तानको रूपमा गौरवशाली स्वतन्त्रता पाउनेछ” भनेर हामी ढुक्क हुन सक्छौँ।—रोमी ८:२१.

१८. हाम्रो भविष्य उज्ज्वल हुनेछ भनेर किन विश्‍वस्त हुन सक्छौँ?

१८ यहोवाले इस्राएलीहरूका लागि काम र आरामबीच सन्तुलन कायम गर्न मदत गर्नुभएजस्तै हजार वर्षीय शासनको बेला आफ्ना जनहरूलाई पनि मदत गर्नुहुनेछ। त्यतिबेला आध्यात्मिक गतिविधिको लागि प्रशस्त समय हुनेछ। अहिलेको संसारमा आनन्दित हुन परमेश्‍वरको सेवा गर्नु आवश्‍यक छ अनि नयाँ संसारमा कुनै बाधाविघ्नविना त्यसो गर्न सक्नेछौँ। ख्रिष्टको हजार वर्षीय शासनको दौडान सबै वफादार मानिस सुखी हुनेछन्‌ किनभने सबैसित सन्तोषजनक काम हुनेछ र सबैसित आध्यात्मिक गतिविधिमा भाग लिने प्रशस्त मौका हुनेछ।

तपाईँ कस्तो जवाफ दिनुहुन्छ?

  • इस्राएलीहरूको स्वर्ण वर्ष के थियो र त्यसबाट इस्राएल राष्ट्रलाई कस्तो फाइदा भयो?

  • यहोवाले अभिषिक्‍त जनहरूलाई कसरी स्वतन्त्रता दिनुभएको छ?

  • यहोवाले “अरू भेडा”-लाई कसरी पूर्ण स्वतन्त्रता दिनुहुनेछ?

गीत १४२ आशालाई पक्रिराखौँ!

a यहोवाले प्राचीन इस्राएलको स्वतन्त्रता अर्थात्‌ मुक्‍तिको लागि विशेष प्रबन्ध गर्नुभएको थियो। त्यो स्वर्ण वर्षको प्रबन्ध थियो। आज ख्रिष्टियनहरू मोसाको व्यवस्थाको अधीनमा छैनन्‌ तैपनि स्वर्ण वर्षको प्रबन्ध हाम्रो लागि अर्थपूर्ण छ। यहोवाले गर्नुभएको स्वर्ण वर्षको प्रबन्धले अहिले उहाँले हाम्रो लागि गर्नुभएको कस्तो प्रबन्धबारे सम्झाउँछ, यस लेखमा विचार गर्नेछौँ। साथै त्यस प्रबन्धबाट हामीले कसरी लाभ उठाउन सक्छौँ त्यो पनि बुझ्नेछौँ।

b चित्रको व्याख्या: स्वर्ण वर्षमा दासहरू स्वतन्त्र हुन्थे, तिनीहरू आफ्नो परिवारकहाँ फर्कन सक्थे अनि तिनीहरूले आफ्नो जग्गाजमिन फिर्ता पाउँथे।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने