घर-घर जाने सेवकाईको चुनौतीलाई सामना गर्ने
१ शुद्ध उपासना गर्न चाहने धेरैजनाको निम्ति घर-घर जाने र अपरिचित व्यक्तिसँग कुरा गर्ने एउटा ठूलो चुनौती हुन सक्छ। तर यहोवाप्रतिको साँचो प्रेमले यो चुनौती सामना गर्ने मद्दत दिन्छ। एकदमै लज्जालु स्वभाव भएकाहरूले पनि प्रगति गरेर सुसमाचारको पूर्ण-समय सेवकहरू हुन सकेका छन्।
२ प्राचीन मसीहीहरूले परमेश्वरको राज्यको सुसमाचार घर घर गएर सुनाउँथे भन्ने कुरा बाइबलबाट स्पष्ट हुन्छ। (प्रेरित ५:४२; २०:२०, २१) बिसौं शताब्दीमा बाँचिरहेका हामी मसीहीहरू पनि यस काममा भाग लिन्छौं। मानिसहरूले बेवास्ता गरे तापनि, चिढिए पनि, तिरस्कार गरे तापनि अथवा विरोध गरे पनि परमेश्वर र हाम्रा छिमेकीहरूप्रतिको प्रेमले हामीलाई यो काम गर्न उत्प्रेरित गर्दछ।
३ चुनौतीको सामना गर्नाले कुन उद्देश्य पूरा हुन्छ: प्रत्येक पटक हामीले कुरा गर्दा सत्यका केही बिऊहरू छर्ने प्रयत्न गर्छौ किनभने बिस्तारै बिस्तारै बढ्दै गएर अन्तमा त्यसले राज्यको फल फलाउन पनि सक्छ भनेर हामीलाई थाहा छ। (उप० ११:६) प्रत्येकको परिस्थितिहरू परिवर्तन हुन्छन्। शायद त्यस्तो कुनै घटनाले गर्दा हामीले पहिले भनेका कुराहरू घरधनीले सम्झन सक्छन्। यसले गर्दा अर्को पटक हाम्रो कुरा सुन्न ऊ बढ्ता इच्छुक हुन सक्छ।
४ हाम्रो घर-घरको सेवकाईले गर्दा सत्य र धार्मिकता रुचाउने व्यक्तिहरूले यहोवा र उहाँको उद्देश्यहरूबारे सिक्ने मौका पाउँदछन् र उनीहरू अनन्त जीवनको बाटोमा हिंड्न सुरु गर्न सक्छन्। यसप्रकार यहोवाको अनुमोदन प्राप्त गर्न आफूलाई परिवर्तन गर्नुपर्छ भनेर सांसारिक सुखविलासको पछि लाग्ने व्यक्तिहरूलाई पनि प्रेमपूर्वक चेतावनी दिइन्छ। घरधनीले सुने पनि नसुने पनि यस सेवकाईले यहोवाको नाम अरूलाई चिनाउँछ र उहाँको आदर गर्छ।—इजकि० ३:११.
५ सेवकाईमा लाग्नाले हामीलाई निःस्वार्थ प्रेम, आनन्द, शान्ति र धीरज जस्ता आत्माका फलहरू फलाउन मद्दत दिन्छ। (गला० ५:२२) यसले हामीलाई नम्र र सहानुभूतिशील हुन मद्दत दिन्छ किनभने यो काम गर्दा अरूहरूलाई राम्रा कुराहरू गरिदिन पनि आवश्यक पर्दछ। यहोवाको काममा व्यस्त हुनाले हामी संसारबाट सुरक्षित हुन्छौं।—१ कोरि० १५:५८.
६ चुनौतीको सामना गर्न मद्दत: यस उत्साहवर्धक काममा कसरी भाग लिने भनेर नयाँ व्यक्तिहरूले सिक्नु आवश्यक छ। तिनीहरूमा आत्म बलको कमी हुने हुनाले घर घर जाने भन्ने विचार गर्दा मात्रै पनि तिनीहरू निरुत्साहीत हुन सक्छन्। साधारणतया सामना गर्नुपर्ने विरोधहरू कस्ता कस्ता हुन् र हामीले कसरी जवाफ दिन सक्छौं भनेर तिनीहरूसँग छलफल गर्न सक्छौं। वार्तालाप रोक्न खोज्नेहरूलाई कसरी जवाफ दिने भन्ने विषय अन्तर्गत रिजनिङ्ग पुस्तकमा दिइएका केही राम्रा सल्लाहहरूको अभ्यास गर्न सक्छौं। क्षेत्र सेवकाईको निम्ति तयारी गर्न तिनीहरूलाई किन मद्दत दिनुहुन्न? क्षेत्र सेवकाईको निम्ति हुने सभाहरूमा नियमित तवरमा उपस्थित भएर र अरू अनुभवी प्रकाशकहरूसँग काम गरेर पनि तिनीहरूले मद्दत पाउन सक्छन्। समूहमा एकसाथ काम गर्नाले तिनीहरूले निक्कै नै बल पाउन सक्छन्।
७ हामी घर-घर जाँदा हामीले हाम्रो परमेश्वर, यहोवाको प्रतिनिधित्व गर्ने मौका पाउँछौं। परमेश्वरका सहकर्मीहरू भनेर कहलिनु भन्दा ठूलो सम्मान अरू के नै हुन सक्छ र? (१ कोरि० ३:९) हामीले उहाँमा भरोसा राख्यौं भने, घर घरको सेवकाईमा आइपर्ने चुनौतीहरू सामना गर्न उहाँको आत्माले हामीलाई मद्दत दिनेछ।—२ कोरि० ३:५.