आफ्नो आशा सबैको सामु जाहेर गर्न नछाड्नु होस्
१ आज परमेश्वरका जनहरूका लागि “ठीक-ठीक समयमा खाना” उपलब्ध गराउने मुख्य माध्यम प्रहरीधरहरा अध्ययन हो। (मत्ती २४:४५) आफ्नो सामने दुइटा महत्त्वपूर्ण लक्ष्य राखेर हामी यस सभामा उपस्थित हुन्छौं: आध्यात्मिक विकास गराउन र सबैको सामने आफ्नो आशा जाहेर गर्न।—हिब्रू १०:२३-२५.
२ आफूलाई लाभान्वित पार्न: धेरै जसो मण्डलीहरूमा एक तिहाइ श्रोतागणले मात्र पाठको अग्रिम अध्ययन गरेर आएको हुन्छ भनी अनुमान लगाइएको छ। जवाफहरू पनि त्यति जनाले मात्र दिने गर्छन्। प्रहरीधरहरा-मा प्रस्तुत खदिंलो आत्मिक आहारलाई सभामा पढेर मात्र राम्ररी पचाउन सकिन्दैन। त्यसको अग्रिम अध्ययन गर्न तपाईंले समय निकाल्नै पर्छ।
३ यस अध्ययनका लागि तयारी गर्नु हुँदा सर्वप्रथम लेखको अन्तमा पाइने बाकसभित्र उल्लिखित प्रश्नहरू पढ्दै गौर गर्नु होस्। उक्त प्रश्नहरूद्वारा तपाईंले लेखमा छलफल गरिने मुख्य विषयहरूमाथि ध्यान केन्द्रित गर्ने मदत पाउनु हुनेछ।
४ अध्ययनको दौडान त्यहाँ के के भनिन्छ, सो ध्यान लगाएर सुन्नुहोस्। विषय प्रवेश गर्दा सञ्चालकले गरेका टिप्पणीहरूलाई ध्यानपूर्वक सुन्नुहोस्; यी टिप्पणीहरू सम्बन्धित अध्ययनको पृष्ठभूमि सरह हुन्छन्। उनले तीन वा चारवटा प्रश्नहरू उठाउन सक्छन् जसको जवाफ अध्ययनको दौडान पाइनेछ; अथवा यस हप्ताको पाठ र अघिल्लो हप्ताको पाठ एउटै विषयमा आधारित छ भने उनले अघिल्लो हप्ताका केही मुख्य बुँदाहरूको पुनःरावलोकन गर्न सक्छन्। बाइबलको कुनै भविष्यवाणी वा शास्त्रीय सिद्धान्तबारे हाम्रो समझमा केही परिवर्तन गर्नु परेको छ भने त्यसमाथि पनि उनले हाम्रो ध्यान केन्द्रित गराउनेछन्। तथापि, सञ्चालकका टिप्पणीहरू छोटो हुनु पर्छ। किनकि हाम्रो यस अध्ययनको एउटा उद्देश्य मण्डलीलाई तिनीहरूको आशा जाहेर गर्ने मौका दिनु हो। सिकेका कुराहरूबारे अरूहरूले टिप्पणी गर्दा राम्ररी सुन्नु होस्; यसबाट तपाईंको विश्वास पनि बलियो हुन सक्छ।
५ तपाईंको आशा जाहेर गर्नुहोस्: के तपाईं अध्ययनको दौडान नियमित तवरमा टिप्पणी गर्नु हुन्छ? सकेसम्म छोटो र विषयसित ठ्याक्क मिल्ने टिप्पणीहरू दिने गर्नु होस्। (लूका २१:१-४-सित तुलना गर्नु होस्।) सरल तर हृदयबाटै उत्पन्न टिप्पणीको कदर सबैले गर्छन्। साधारणतया कुनै पनि प्रश्नको प्रथम उत्तर छोटो र प्रश्नसित ठ्याक्क मिल्ने हुनु पर्छ। यसो गर्दा अरूहरूले अनुच्छेदमा उल्लिखित कुनै शास्त्रपद अथवा अरू नै केही विवरणबारे टिप्पणी गर्न पाउनेछन्। यसप्रकार धेरैले आफ्नो आशालाई सबैको सामु जाहेर गर्न सक्छन्। टिप्पणीहरू सधैं नै सकारात्मक र ढाडसदायी हुनु पर्छ।
६ यस अध्ययनमा तपाईं भर्खरै मात्र उपस्थित हुन थाल्नु भएको छ अथवा टिप्पणी दिन तपाईं सङ्कोच मान्नु हुन्छ भने शायद तपाईंले अध्ययन सञ्चालकबाट मदत लिन सक्नुहुन्छ। कुनै खास अनुच्छेदको छलफल हुँदा तपाईंले हात उठाउनु हुनेछ भनी उनलाई पहिले नै भन्नु होस्। सम्भवतः अनुच्छेदमा उद्धृत कुनै शास्त्रपद पढेर त्यसको व्यावहारिकताबारे टिप्पणी गर्ने इच्छा तपाईं व्यक्त गर्न सक्नुहुन्छ। टिप्पणी गर्दा के भन्नु हुने हो, सो सम्झनका लागि तपाईंले पृष्ठको किनारमा एक दुई वचन पहिले नै टिप्न सक्नुहुन्छ। तपाईं साना केटीकेटी भए पनि तपाईंले गर्नु भएको टिप्पणीको गहिरो कदर र स्वागत गरिन्छ।—मत्ती २१:१६.
७ हामीले आफ्नो विश्वास अभिव्यक्त गर्नु अत्यावश्यक छ र यसो गर्ने एउटा राम्रो मौका प्रहरीधरहरा अध्ययन हो। यसलाई क्वालिफाइड् टु बि मिनिस्टर्स भन्ने पुस्तकले यी शब्दहरूमा व्यक्त गरेको छ: “समस्या जे सुकै होस्, त्यसलाई जित्नु होस् र कम से कम एउटा जवाफ चाहिं अवश्य दिनु होस्। यसप्रकार सभामा तपाईंको पनि योगदान हुनेछ र यसले तपाईंलाई आनन्दित तुल्याउनेछ।” यसकारण प्रहरीधरहरा-को आउँदो अध्ययनमै कम से कम एउटा टिप्पणी दिने चाँजो किन मिलाउनु हुन्न?—हितो० १५:२३.