बाइबल विद्यार्थीहरूलाई सेवकाईको लागि तयार गर्नुहोस्
१ बाइबल अध्ययन सञ्चालन गर्नुको अन्तिम लक्ष्य नयाँ चेलाहरू बनाउनु हो। यी कार्यकर्त्ताहरूले अरूलाई सिकाउने कार्यमा हाम्रो साथ दिनेछन्। (मत्ती २८:१९, २०) तसर्थ अध्ययनको उद्देश्य ज्ञान बाँड्नु मात्र होइन; यसले हाम्रा विद्यार्थीहरूमा हार्दिक विश्वास बसाल्न र अरूसित आफ्नो आशा बाँड्न तयार गर्नुपर्छ। (२ कोरि. ४:१३) अरूलाई सिकाउने योग्य बनाउन हामीले तिनीहरूलाई व्यावहारिक ढङ्गमा कसरी मदत दिन सक्छौं?—२ तिमो. २:२.
२ सेवकाईलाई आफ्नो लक्ष्य बनाउनुहोस्: साँचो उपासनामा “मुक्तिको निम्ति जनसमक्ष घोषणा गर्नु” समाविष्ट छ भनी सुरुदेखि स्पष्ट पार्नुहोस्। (रोमी १०:१० न्यु व.) हाम्रो नाउँ नै यहोवाका साक्षीहरू हुनाले अरूलाई बताउनु पर्छ भन्ने अर्थ बुझाउँछ। तिनीहरूलाई आफ्नै मुक्तिको लागि मात्र सिकाइएका होइनन् भनी बुझ्न मदत दिनुहोस्। तिनीहरू आफै शिक्षक भइसकेपछि तिनीहरूको कुरा सुन्ने अरूले पनि मुक्ति पाउने अवसर पाउँछन्।—१ तिमो. ४:१६.
३ सिकेका कुराहरूको पुनरावृत्ति गर्नुहोस्: सिकेका कुराहरूको बेला बेलामा पुनरावृत्ति गर्नु मूल्यवान शिक्षण सहायक हो। त्यसले भर्खर सिकिरहेका नयाँ सत्यताहरूलाई मन अनि हृदयमा गाडेर विद्यार्थीलाई आध्यात्मिकतामा बढ्न मदत गर्छ। प्रहरीधरहरा अध्ययनमा समावेश गरिएका पुनरावृत्ति प्रश्नहरूको उत्तर दिंदा हामी आफैले यी कुराहरू अनुभव गरेका छौं। विद्यार्थीले आफ्नै शब्दमा उत्तर दिन सकोस् भनेर सरल तथा सोझो प्रश्नहरू तयार गर्नुहोस्।
४ तपाईं आफ्नो पुनरावृत्तिलाई क्षेत्र सेवकाईको परिस्थितिमा ढाल्न सक्नुहुन्छ। अरूलाई साक्षी दिंदा सामान्यतया सामना गरिने प्रश्न अथवा परिस्थिति खडा गर्नुहोस्। तपाईं घरधनीजस्तो भएर तपाईंको विद्यार्थीले के भन्नेछ प्रदर्शन गर्न लगाउनुहोस्। राम्रो गरेकोमा उसको प्रशंसा गर्नुहोस् र अर्को पटक अझ प्रभावकारी हुन मदत दिने व्यावहारिक सुझावहरू दिनुहोस्। आफूले सिकेका कुराहरू कसरी प्रयोग गर्ने भनी सिकाउन र बाइबल प्रयोग गर्न उसको दक्षता बढाउन यस प्रशिक्षणले मदत दिनेछ।
५ रीजनिङ्ग पुस्तक: तपाईंको विद्यार्थीसित रीजनिङ्ग पुस्तकको प्रति छ या छैन पक्का गर्नुहोस् र त्यो प्रयोग गर्न उसलाई प्रशिक्षण दिनुहोस्। वार्तालापहरू सुरु गर्न, बाइबलसम्बन्धी प्रश्नहरूको जवाफ दिन अथवा विरोधहरूको सामना गर्न यसले कस्ता सुझावहरू दिन्छ, देखाउनुहोस्। अरूलाई विश्वास दिलाउने ढङ्गमा कुरा गर्ने तरिका प्रदर्शन गर्न आफ्नो अध्ययनमा यस पुस्तकको प्रयोग गर्नुहोस्। यस पुस्तकले उसको भरोसा बढाएर राज्यको समाचार घोषणा गर्ने अग्रसरतालाई बढाउन सक्छ।
६ सभाहरूको महत्त्वमाथि जोड दिनुहोस्: मण्डलीका सभाहरू, विशेषगरि सेवा सभा र ईश्वरतान्त्रिक सेवकाई पाठशाला हामीलाई क्षेत्र सेवकाईको निम्ति तयार पार्न बनाइएका हुन्। ती सभाहरूमा प्रभावशाली साक्षी दिन चाहिने सबै आधारभूत कुराहरूको पुनरावृत्ति गर्नुको साथै अनुभवी तथा दक्ष व्यक्तिहरूद्वारा प्रदर्शित गरिन्छ। सभाहरूको महत्त्वमाथि जोड दिनुहोस् र तिनलाई सभामा उपस्थित हुन सक्दो मदत दिनुहोस्। सभाहरूमा नियमित उपस्थित हुनाले तपाईंको विद्यार्थीलाई येशूको साँचो चेला हुने उत्प्रेरणा प्रदान गर्न सक्छ।
७ बिर्सन नहुने अर्को कुरा हो, तपाईंको आफ्नो व्यक्तिगत उदाहरण। प्रचार कार्यमा तपाईंको इच्छुकता र नियमितताले सच्चाइप्रति तपाईंको गहिरो मूल्याङ्कन प्रकट गर्छ। त्यस्तो पद्धतिले तपाईंको विद्यार्थीलाई आफ्नो विश्वास प्रदर्शन गर्न अझ बढी गर्ने प्रोत्साहन दिनेछ। (लूका ६:४०) यी सबै कुराहरूले एक जना नयाँ व्यक्तिले आफ्नो सेवकाईलाई एउटा सुअवसर ठान्न र त्यसमा सहभागी हुनु पाएकोमा कृतज्ञ हुन मदत दिन्छ।—१ तिमो. १:१२.