ज्ञान पुस्तक चलाएर कसरी चेला बनाउने
१ सबै मसीहीको आकर्षक लक्ष्य अरूलाई सच्चाइ सिकाउनु र अनन्त “जीवनका लागि नियुक्त भएकाहरूलाई” चेला बनाउनु हो। (प्रे. १३:४८; मत्ती २८:१९, २०) यस कामलाई पूरा गर्न यहोवाको संगठनले हाम्रो हातमा अद्भुत औजार थमाइदिएको छ। त्यो हो, ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ पुस्तक। यसको शीर्षकले गृह बाइबल अध्ययनको सर्वमहत्त्वलाई जोड दिन्छ। किनभने एक मात्र साँचो परमेश्वर यहोवा र उहाँको पुत्र येशू ख्रीष्टबारे ज्ञान लिनुमा अनन्त जीवन निर्भर छ।—यूहन्ना १७:३.
२ अहिले ज्ञान पुस्तक नै गृह बाइबल अध्ययन सञ्चालनमा प्रयोग गरिने सोसाइटीको मुख्य प्रकाशन हो। यसलाई चलाएर हामी सच्चाइलाई सरल, स्पष्ट र संक्षिप्त ढंगमा सिकाउनसक्छौं। यसले सिकारु व्यक्तिहरूको हृदय छुन मदत गर्नेछ। (लूका २४:३२) निस्सन्देह, सञ्चालकले असल शिक्षण तरिकाहरू प्रयोग गर्नु खाँचो छ। त्यसैको लागि यो परिशिष्टांक तयार पारिएको हो। यसले सुझाउहरू प्रदान गर्छ र प्रभावकारी साबित भएका शिक्षण तौरतरिका तथा सम्झौटाहरू प्रस्तुत गर्छ। तपाईंले बुद्धिमत्तापूर्ण र व्यक्तिविशेषको परिस्थितिअनुसार यहाँ प्रस्तुत सबै सुझाउ वा त्यसमध्ये केहीलाई बिस्तारै चलाउन सक्नुहुन्छ। परिशिष्टांकलाई हिफाजतसाथ राख्नुहोस् र बारम्बार चलाउनुहोस्। यसले तपाईंलाई ज्ञान पुस्तक प्रयोग गरेर चेला बनाउने कार्यमा अझ प्रभावशाली हुन यसका विभिन्न बुँदाहरूले मदत दिनसक्छ।
३ उन्नतशील गृह बाइबल अध्ययन सञ्चालन गर्नुहोस्: विद्यार्थीलाई सम्भाव्य मसीही चेला तथा आध्यात्मिक भाइ वा बहिनी ठानेर तिनीप्रति निष्कपट व्यक्तिगत चासो लिनुहोस्। न्यानो, मित्रैलो र उत्साही हुनुहोस्। ध्यानपूर्वक सुनेर तपाईं अरूलाई बुझ्न सक्नुहुन्छ, तिनीहरूको पृष्ठभूमि तथा जीवनको परिस्थितिबारे जान्न सक्नुहुन्छ। त्यसो गर्दा त्यस व्यक्तिलाई आध्यात्मिक तवरमा कत्तिको सहयोग चाहिएको छ, सो बुझ्ने मदत पाउनुहुनेछ। विद्यार्थीको लागि यथाशक्य गर्न इच्छुक हुनुहोस्।—१ थिस्स. २:८.
४ अध्ययन स्थापित भएपछि ज्ञान पुस्तकका अध्यायहरू क्रमिकरूपमा अध्ययन गर्नु बेस हुन्छ। यसबाट विद्यार्थीले सच्चाइबारे बिस्तारै समझ प्राप्त गर्नेछन्, किनभने त्यस पुस्तकमा बाइबल विषयहरू अति तार्किक अनुक्रममा राखिएका छन्। अध्ययनलाई सरल र रोचक बनाउनुहोस्। त्यसो गर्नाले अध्ययन जीवन्त हुन्छ र यसमा प्रगति हुन्छ। (रोमी १२:११) एक पटकको अध्ययनमा पूरै अध्याय ढाक्नसक्ने अधिकांश अध्यायहरू उक्त पुस्तकमा छन्। अतः तपाईंले अध्ययन गर्दा हतार नगरी विद्यार्थीको परिस्थिति र योग्यताअनुसार लगभग एक घण्टाभित्र अध्ययन सिध्याउन सम्भव होला। विद्यार्थी र शिक्षक दुवैले लगातार साप्ताहिक अध्ययन गरिरहेमा विद्यार्थीले अझ राम्ररी उन्नति गर्नेछन्। तसर्थ, अधिकांश व्यक्तिको लागि लगभग छ महिनाको अन्तरालमै त्यस पुस्तकको १९ वटा अध्यायहरू अध्ययन गर्न सम्भव हुनुपर्ने हो।
५ प्रत्येक अध्ययनलाई विषयप्रति चासो जगाउने छोटो टिप्पणीसहित थाल्नुहोस्। प्रत्येक अध्यायको शीर्षक यसको मुख्य विषय हो र यसलाई जोड दिनुपर्छ भनेर तपाईंले बुझ्नुहुनेछ। प्रत्येक उपशीर्षकले मुख्य बुँदालाई छुट्याएको छ। त्यसले तपाईंलाई अध्यायको विषयमा ध्यानकेन्द्रित गर्न मदत दिनेछ। आफू मात्र बोलेको बोल्यै नगर्न सतर्क हुनुहोस्। बरु, विद्यार्थीलाई बोल्न लगाउने कोसिस गर्नुहोस्। विद्यार्थीलाई तिनले पहिल्यै सिकेको कुरामा आधारित डोऱ्याउने प्रश्नहरू सोध्नाले तर्क गर्न र सही निष्कर्ष निकाल्न मदत तिनले पाउनेछ। (मत्ती १७:२४-२६; लूका १०:२५-३७; पाठशाला निर्देशन पुस्तक [अंग्रेजी], पृष्ठ ५१, अनुच्छेद १० हेर्नुहोस्।) ज्ञान पुस्तकमा मुद्रित जानकारीलाई हर समय चलाउनुहोस्। थप विवरणहरू भनिरहँदा मुख्य बुँदा छोडिन्छ वा अस्पष्ट हुन्छ र अध्ययन लम्बिन्छ। (यूह. १६:१२) अध्ययन गरिरहेको विषयसित सम्बन्ध नभएको प्रश्न सोधेको खण्डमा प्रायः अध्ययनको अन्तमा त्यसको जवाफ दिन सक्नुहुन्छ। यसो गर्दा तपाईंले नअल्मलिई त्यस हप्ताको पाठ पूरा गर्न सक्नुहुनेछ। अन्ततः अध्ययनको दौडान विद्यार्थीले सोधेका सबै व्यक्तिगत प्रश्नहरूको जवाफ पाइनेछन् भनेर बताउनुहोस्।—पाठशाला निर्देशन पुस्तक, पृष्ठ ९४, अनुच्छेद १४ हेर्नुहोस्।
६ विद्यार्थीले त्रिएक, प्राणको अमरत्व, अग्निकुण्ड वा यस्तै अन्य झूटा सिद्धान्तहरूप्रति कट्टर विश्वास राख्छन् र ज्ञान पुस्तकको कुराले तिनलाई चित्त बुझेन भने, तपाईं तिनलाई तर्क (अंग्रेजी) पुस्तक वा ती विषयबारे छलफल गरिएको अर्को प्रकाशन दिन सक्नुहुन्छ। तिनले पढेका कुराबारे विचार गरेपछि यस विषयमा छलफल गर्नेछु भनेर तिनलाई भन्नुहोस्।
७ यहोवाको निर्देशन र आशिष्को लागि अध्ययनको सुरु र अन्तमा प्रार्थना गर्नाले त्यस अवसरलाई गौरवमय बनाउँछ, व्यक्तिको हृदय आदरले भरिन्छ र यहोवा नै साँचो शिक्षक हुनुहुन्छ भनेर ध्यानकेन्द्रित गराउँछ। (यूहन्ना ६:४५) विद्यार्थीले अझै सुर्ती खाँदैछन् भने, तपाईंले तिनलाई अध्ययनको दौडान नखानू भन्न आवश्यक पर्ला।—प्रे. २४:१६; याकू. ४:३.
८ प्रभावशाली ढंगमा धर्मशास्त्र, दृष्टान्त र पुनरावलोकन प्रश्नहरू चलाएर सिकाउनुहोस्: योग्य शिक्षकले विद्यार्थीलाई ध्यानमा राख्दै विद्यार्थीसित अघि धेरै पटक अध्ययन गरिसकेको पाठलाई पनि पुनरावलोकन गर्नेछन्। यसो गर्दा विद्यार्थीले सोध्नसक्ने सम्भाव्य प्रश्नहरू छलफल गर्न मदतकारी हुन्छ। प्रभावशाली ढंगमा सिकाउन अध्यायका मुख्य बुँदाहरू स्पष्टसित बुझ्नुहोस्। शास्त्रपदहरू कसरी विषयमा प्रयोग हुन्छ भनेर हेर्नुहोस् र अध्ययनको दौडान कुन कुन शास्त्रपद पढ्ने हो, निर्णय गर्नुहोस्। दृष्टान्तहरू चलाएर तपाईं कसरी सिकाउन सक्नुहुन्छ, सोच्नुहोस् र अध्यायको अन्तमा दिइएका प्रश्नहरू पुनरावलोकन गर्नुहोस्।
९ तपाईंले शास्त्रपदहरूलाई प्रभावशाली ढंगमा प्रयोग गर्नुभएर विद्यार्थीलाई वास्तवमा बाइबल अध्ययन नै गरिरहेको भनेर बुझ्न मदत दिनुहुनेछ। (प्रे. १७:११) ज्ञान पुस्तकको पृष्ठ १४ मा दिइएको “बाइबलसित राम्ररी परिचित हुनुहोस्” पेटी प्रयोग गरेर शास्त्रपदहरू खोज्न सिकाउनुहोस्। पाठमा उद्धरित पदहरू कसरी चिन्नु, देखाउनुहोस्। समयले भ्याएमा, उद्धरण नगरिएका उल्लिखित शास्त्रपदहरू पढ्नुहोस्। ती पदहरूले अनुच्छेदमा उल्लिखित कुराहरूको कसरी समर्थन गर्छन् वा स्पष्टीकरण दिन्छन्, विद्यार्थीलाई टिप्पणी गर्न लगाउनुहोस्। पदहरूको मुख्य भागहरूमा जोड दिनुहोस्। त्यसो गर्दा तिनले पाठका मुख्य बुँदाहरूका कारणहरू थाह पाउँछन्। (नहे. ८:८) साधारणतया, शिक्षकले छलफलको दौडान पुस्तकमा दिइएका पदहरूबाहेक अतिरिक्त पदहरू समावेश गर्नु आवश्यक छैन। बाइबल पुस्तकहरूको नाउँ र क्रम जान्नु कत्तिको महत्त्वपूर्ण छ, बताउनुहोस्। विद्यार्थीले जून १५, १९९१, प्रहरीधरहरा (अंग्रेजी), पृष्ठ २७-३० पढ्नु मदतकारी हुनसक्छ। उपयुक्त भएमा नयाँ विश्व अनुवाद (अंग्रेजी) प्रयोग गर्ने प्रोत्साहन दिनुहोस्। यसको विभिन्न विशेषताहरू, जस्तै पन्नाको किनारामा दिएका उद्धरणहरू तथा बाइबल शब्दहरूको सूची कसरी प्रयोग गर्ने भनेर बिस्तारै प्रदर्शन गर्न सक्नुहुन्छ।
१० ईश्वरतान्त्रिक सेवकाई पाठशाला निर्देशन पुस्तक-को अध्याय ३४ मा बताएअनुसार दृष्टान्तहरूले व्यक्तिको सोच्ने प्रक्रियालाई उत्तेजित पार्छ र नयाँ विचारहरू सजिलै बुझ्न मदत दिन्छ। ती दृष्टान्तहरूले मानसिक चाह र भावनात्मक प्रभावलाई मिलाएर प्रायः सरल भनाइमा व्यक्त गर्न असम्भव सन्देशलाई जोड दिंदै बताउँछ। (मत्ती १३:३४) ज्ञान पुस्तकमा चलाइएका अनेकौं शिक्षण दृष्टान्तहरू सरल तर जोडदार छन्। उदाहरणका लागि, अध्याय १७ मा दिइएको दृष्टान्तद्वारा मसीही मण्डली मार्फत कसरी यहोवाले आध्यात्मिक अर्थमा खानेकुरा, लुगाफाटा तथा निवासको प्रबन्ध गर्नुहुन्छ त्यसको मूल्यांकन गर्छौं। भावनाहरूलाई जगाउन ज्ञान पुस्तकका सुन्दर चित्रहरूसहितको थुप्रै दृष्टान्तहरूलाई चलाउन सकिन्छ। पृष्ठ ८६ को चित्र विद्यार्थीलाई देखाउँदा पृष्ठ १८५ को “हर्षपूर्ण पुनरुत्थान” शीर्षकअन्तर्गत अनुच्छेद १८ को कुरा अझ प्रभावकारी हुनेछ। यसले तिनलाई परमेश्वरको राज्यअन्तर्गत पुनरुत्थान अवश्यै हुनेछ भनेर सोच्न उत्प्रेरित गर्नसक्छ।
११ बाइबल विद्यार्थीले प्रत्येक पाठ सिक्दै जाँदा आध्यात्मिक उन्नति पनि गर्नु आवश्यक छ। यसको लागि, प्रत्येक अध्यायको अन्तमा राखिएको “आफ्नो ज्ञान जाँच्नुहोस्” पेटीका प्रश्नहरू पुनरावलोकन गर्न भुल्दैनौं। विद्यार्थीले प्रश्नको सोझो उत्तर दिंदैमा सन्तुष्ट नहुनुहोस्। यी प्रश्नहरूमध्ये थुप्रै प्रश्नहरू व्यक्तिविशेषको आन्तरिक प्रतिक्रिया जान्नको लागि तयार गरिएका हुन्। उदाहरणका लागि, पृष्ठ ३१ मा विद्यार्थीलाई सोधिएको यो प्रश्न हेर्नुहोस्: “यहोवा परमेश्वरका कुन चाहिं गुणहरू तपाईंलाई खास मन परेको छ?”—२ कोरि. १३:५.
१२ विद्यार्थीहरूलाई अध्ययनको लागि तयारी गर्न प्रशिक्षण दिनुहोस्: अध्ययन अगावै तयारी गर्ने, उत्तरहरूमा चिह्न लगाउने र आफ्नै शब्दहरूमा यसलाई कसरी व्यक्त गर्ने भनेर सोच्ने विद्यार्थीले चाँडै आध्यात्मिक उन्नति गर्नेछन्। आफ्नो उदाहरण र प्रोत्साहनद्वारा तपाईं तिनलाई अध्ययनको लागि तयारी गर्ने प्रशिक्षण दिन सक्नुहुन्छ। तिनलाई मुख्य शब्द र वाक्यांशहरूमा चिह्न लगाउनुभएको वा कच तान्नुभएको आफ्नो पुस्तक देखाउनुहोस्। मुद्रित प्रश्नहरूको सोझो जवाफ कसरी पत्ता लगाउने, त्यो बताउनुहोस्। सँगै बसेर अध्याय तयारी गर्नु विद्यार्थीको लागि मदतकारी हुनसक्छ। तिनलाई आफ्नै शब्दहरूमा विचारहरू व्यक्त गर्न प्रोत्साहन दिनुहोस्। त्यसो गरेर मात्र तिनले बुझेका हुन् या होइनन् स्पष्ट हुन्छ। तिनले पुस्तकबाट पढेर जवाफ दिन्छन् भने, कसैलाई ती कुरा आफ्नै शब्दहरूमा बताउनु परेमा तिनले कसरी बताउने थिए, तिनलाई भन्न उत्प्रेरित गर्न सक्नुहुन्छ।
१३ हरेक हप्ता तयारी गर्दा उद्धरित नगरिएका शास्त्रपदहरू पढ्न विद्यार्थीलाई प्रोत्साहन दिनुहोस्। किनभने अध्ययनको दौडान ती सबै पढ्न नभ्याइएला। तिनले आफ्ना पाठहरू तयार गर्दा गरेको प्रयासलाई सराहना गर्नुहोस्। (बाइबल अध्ययनमा शिक्षक र विद्यार्थी दुवैले अझ सिक्न के गर्न सकिन्छ, त्यसबारे थप सुझाउको लागि २ पत्रु. १:५; अगस्त १, १९९३, प्रहरीधरहरा, पृष्ठ २१-२२ हेर्नुहोस्।) यसप्रकार विद्यार्थीलाई मण्डलीका सभाहरूका लागि तयारी गर्न र अर्थपूर्ण टिप्पणीहरू दिन प्रशिक्षण दिइन्छ। तिनले असल व्यक्तिगत अध्ययनको बानी बसाल्न सिकिरहेका हुनेछन्। त्यसो गर्नाले तिनी ज्ञान पुस्तकबाट बाइबल अध्ययन सिद्धिएपछि पनि सच्चाइमा निरन्तर उन्नति गर्न सुसज्जित हुन्छन्।—१ तिमो. ४:१५; १ पत्रु. २:२.
१४ विद्यार्थीहरूलाई यहोवाको संगठनतर्फ डोऱ्याउनुहोस्: यहोवाको संगठनतर्फ विद्यार्थीको चासो जगाउनु चेला बनाउने व्यक्तिको जिम्मेवारी हो। विद्यार्थीले संगठनलाई स्वीकार्छन् तथा मूल्यांकन गर्छन् र यसको भाग हुनुपर्ने आवश्यकतालाई बुझ्छन् भने तिनले निकै चाँडो आध्यात्मिक परिपक्वता प्राप्त गर्नेछन्। हामी चाहन्छौं, तिनी परमेश्वरका जनहरूसित संगत गर्दा आनन्दित होस् र राज्यभवनमा हामीसित संगत गर्ने चाह गरोस्। त्यहाँ तिनले मसीही मण्डली मार्फत दिइएका आध्यात्मिक र भावनात्मक सहयोग प्राप्त गर्नसक्छन्।—१ तिमो. ३:१५.
१५ यहोवाले आज आफ्नो इच्छा पूरा गर्न चलाइरहनुभएको एक मात्र संगठनसित व्यक्तिविशेषलाई परिचित गराउन यहोवाका साक्षीहरू—विश्वभरि एक भएर परमेश्वरको इच्छा गरिरहेका छन् पुस्तिका प्रकाशित गरिएको हो। अध्ययन स्थापित भएपछि विद्यार्थीलाई एक प्रति दिए कसो होला? अध्ययन थालेदेखि नै विद्यार्थीलाई सभाहरूमा आमन्त्रित गर्न नछाड्नुहोस्। ती सभाहरू कसरी सञ्चालन गरिन्छन्, बताउनुहोस्। तपाईं तिनलाई आगामी जनभाषणको शीर्षक बताउन वा छलफल गरिने प्रहरीधरहरा-को लेख देखाउन सक्नुहुन्छ। सम्भवतः सभा नभएको बेला तिनलाई राज्यभवनमा लैजान सक्नुहुन्छ। त्यसो गर्दा तिनलाई प्रथम पटक नयाँ ठाउँमा जाँदा महसुस हुनसक्ने अप्ठ्यारोपन हट्नसक्छ। तिनलाई सभामा आउन यातायातको चाँजो मिलाउन सक्नुहुन्छ। तिनलाई सभामा उपस्थित हुँदा स्वागत गरिएको र सजिलो महसुस गराउनुहोस्। (मत्ती ७:१२) तिनलाई प्राचीनलगायत अरू साक्षीहरूसित परिचय गराउनुहोस्। आशा छ, तिनले मण्डलीलाई आफ्नो आध्यात्मिक परिवार ठान्नेछन्। (मत्ती १२:४९, ५०; मर्कू. १०:२९, ३०) तपाईं तिनलाई प्रत्येक हप्ताको एउटा सभामा लैजाने लक्ष्य राख्न सक्नुहुन्छ र त्यस लक्ष्यलाई बिस्तारै बढाउन सक्नुहुन्छ।—हिब्रू १०:२४, २५.
१६ ज्ञान पुस्तकबाट अध्ययन बढ्दै जाँदा नियमित तवरले मण्डली सभाहरूमा संगत गर्नुपर्ने आवश्यकतालाई प्रकाश पार्ने अंशमाथि जोड दिनुहोस्। विशेषगरि, पृष्ठ ५२, ११५, १३७-९, १५९ लगायत अध्याय १७ लाई ध्यान दिनुहोस्। यहोवाको संगठनप्रति आफ्नो गहिरो मूल्यांकन व्यक्त गर्नुहोस्। (मत्ती २४:४५-४७) स्थानीय मण्डलीका सभाहरूमा जे सिक्नुभएको छ, तीबारे सकारात्मक कुरा गर्नुहोस्। (भज. ८४:१०; १३३:१-३) विद्यार्थीले सोसाइटीका सबै भिडिओ चलचित्र हेर्नसके असल हुनेछ। तीमध्ये प्रथम हो, यहोवाका साक्षीहरू—नाउँ पछाडिको संगठन (अंग्रेजी)। संगठनप्रति कसरी चासो जगाउने भन्नेबारे थप तौरतरिकाहरूका लागि नोभेम्बर १, १९८४, प्रहरीधरहरा (अंग्रेजी), पृष्ठ १४-१८ र अप्रिल १९९३ हाम्रो राज्य सेवकाई-को परिशिष्टांक हेर्नुहोस्।
१७ अरूलाई साक्षी दिन विद्यार्थीहरूलाई प्रोत्साहन दिनुहोस्: यहोवाबारे साक्षी दिने चेला बनाउनु हामीले मानिसहरूसित अध्ययन गर्नुको लक्ष्य हो। (यशै. ४३:१०-१२) यसको अर्थ, शिक्षकले विद्यार्थीलाई बाइबलबाट सिकेका कुरा अरूसित बाँड्न प्रोत्साहन दिनुपर्छ। यस्तो प्रश्न सोधेर मात्र पनि त्यसो गर्न सकिन्छ: “तपाईं यस सच्चाइबारे आफ्नो परिवारलाई कसरी बताउनुहुन्छ?” वा “आफ्नो साथीलाई यो कुरा प्रमाणित गर्न कुन चाहिं शास्त्रपद चलाउनुहुन्छ?” ज्ञान पुस्तकको पृष्ठ २२, ९३-५, १०५-६ का साथै अध्याय १८ जस्ता मुख्य ठाउँहरूमा जोड दिनुहोस्, जहाँ साक्षी दिन प्रोत्साहित गरिएको छ। अरूलाई अनौपचारिक साक्षी दिन लगाउन विद्यार्थीलाई केही पर्चाहरू दिन सकिन्छ। उपयुक्त भएमा, विद्यार्थीलाई तिनको अध्ययनमा परिवारका सदस्यहरूलाई पनि आमन्त्रित गर्न सल्लाह दिनुहोस्। तिनका अध्ययन मन पराउने साथीहरू पनि छन् कि? इच्छुक व्यक्तिहरूसित तपाईंको परिचय गर्न विद्यार्थीलाई लगाउनुहोस्।
१८ सम्भाव्य चेलाले ईश्वरतान्त्रिक सेवकाई पाठशाला र सेवा सभामा उपस्थित भएर थप प्रशिक्षण र उत्प्रेरणा प्राप्त गर्नसक्छन्। त्यसले तिनलाई सुसमाचारको प्रकाशक बन्न मदत दिनेछ। तिनले ईश्वरतान्त्रिक पाठशालामा नाउँ दर्ता गराउन वा बप्तिस्मा अप्राप्त प्रकाशक हुन इच्छा जाहेर गरेमा त्यसको लागि हाम्रो सेवकाई (अंग्रेजी) पुस्तकको पृष्ठ ९८ र ९९ मा दिएका सिद्धान्तहरू लागू हुनेछन्। तिनको जीवनको कुनै पक्षले गर्दा तिनी अयोग्य ठहरिएमा त्यसबारे मदतकारी सुझाउको लागि सोसाइटीका प्रकाशनहरू खोतलेर तिनलाई त्यो कुरा बताउन सक्नुहुन्छ। उदाहरणका लागि, सुर्ती वा अरू लागू पदार्थको कुलतमा विद्यार्थी चुर्लुम्म डुबेका होलान्। किन मसीहीहरूले यस्ता हानिकारक बानीहरू त्याग्छन् भनेर तर्क पुस्तकले ठोस धर्मशास्त्रीय कारणहरू दिन्छ। अनि त्यस्ता बानीहरू त्याग्न अरूलाई मदत दिन सफल भएको प्रमाणित तरिका त्यसै पुस्तकको पृष्ठ ११२ मा दिइएको छ। त्यस विषयबारे तिनीसँगै प्रार्थना गर्नुहोस्। त्यसो गर्दा तिनले मदतको लागि यहोवामा भर पर्न सिक्छन्।—याकू. ४:८.
१९ कुनै व्यक्ति जनसेवकाईमा भाग लिन योग्य छन् कि छैनन् निर्णय गर्न जनवरी १५, १९९६, प्रहरीधरहरा, पृष्ठ १६, अनुच्छेद ६ मा प्रक्रिया दिएको छ। विद्यार्थी योग्य ठहरिएमा तिनलाई पहिलो पटक क्षेत्र सेवकाईको लागि तयार पार्न अभ्यास गराउनु मदतकारी हुनेछ। साधारणतया, तपाईंको क्षेत्रमा हुने मानिसहरूको प्रतिक्रिया र रोकावटहरूबारे सकारात्मक ढंगमा छलफल गर्नुहोस्। सम्भव भएमा प्रथमतः तिनलाई घर-घरको सेवकाई कसरी गर्ने, अभ्यास गराउनुहोस्। अनि सेवकाईका अन्य पक्षहरूबारे बिस्तारै प्रशिक्षण दिनुहोस्। तपाईंले आफ्नो प्रस्तुति छोटो र साधारण बनाउनुभयो भने, तिनलाई त्यो सिक्न सजिलो हुनेछ। सेवामा आनन्दित भएर उत्थानदायी र प्रोत्साहनदायी हुनुहोस्। त्यसो गर्दा तिनले तपाईंको त्यस्तो मनोवृत्ति सिक्छन् र जीवनमा उतार्छन्। (प्रे. १८:२५) नयाँ प्रकाशकले सुसमाचारको नियमित र जोशिलो प्रकाशक हुने लक्ष्य राख्नुपर्छ। सम्भवतः तिनलाई सेवाको लागि व्यवहारिक तालिका बनाउन तपाईंले मदत दिन सक्नुहुन्छ। अरूलाई साक्षी दिने तिनको योग्यता बढाउन प्रहरीधरहरा (अंग्रेजी) अगस्त १५, १९८४, पृष्ठ १५-२५; जुलाई १५, १९८८, पृष्ठ ९-२०; जनवरी १५, १९९१, पृष्ठ १५-२० र जनवरी १, १९९४, पृष्ठ २०-५ पढ्ने सुझाउ दिन सक्नुहुन्छ।
२० समर्पण र बप्तिस्माको लागि विद्यार्थीहरूलाई उत्प्रेरित गर्नुहोस्: ज्ञान पुस्तकको अध्ययन मार्फत इमानदार हृदय भएको विद्यार्थीको लागि के कुरा सम्भव हुनुपर्छ भने, परमेश्वरमा समर्पण गर्न र बप्तिस्माको योग्य हुन तिनले प्रशस्त कुरा सिक्नुपर्छ। (प्रे. ८:२७-३९; १६:२५-३४ तुलना गर्नुहोस्।) तथापि, समर्पण गर्न उत्प्रेरित हुनुभन्दाअघि यहोवाको भक्तिमा उन्नति गर्नु आवश्यक छ। (भज. ७३:२५-२८) सम्पूर्ण अध्ययनको दौडान यहोवाका गुनहरूको बढी मूल्यांकन हुने अवसरहरू खोज्नुहोस्। परमेश्वरप्रतिको आफ्नो आन्तरिक भावना व्यक्त गर्नुहोस्। विद्यार्थीलाई यहोवासित न्यानो व्यक्तिगत सम्बन्ध बढाउने लक्ष्य राख्न मदत गर्नुहोस्। तिनले साँच्चै परमेश्वरलाई चिनेर प्रेम गर्न थालेछन् भने, विश्वासपूर्वक उहाँको सेवा गर्नेछन्। किनभने यहोवाबारेको हाम्रो सोचाइमा ईश्वरीय भक्ति निर्भर छ।—१ तिमो. ४:७, ८; पाठशाला निर्देशन पुस्तक पृष्ठ ७६, अनुच्छेद ११ हेर्नुहोस्।
२१ विद्यार्थीको हृदय छुने कोसिस गर्नुहोस्। (भज. ११९:११; प्रे. १६:१४; रोमी १०:१०) तिनले आफूलाई सच्चाइले व्यक्तिगत तवरमा कसरी प्रभाव पारेको छ भनेर बुझ्नुपर्छ र आफूले सिकेका कुराहरूलाई के गर्नुपर्छ, त्यो निर्णय गर्नुपर्छ। (रोमी १२:२) तिनले हप्तैपिच्छे प्रस्तुत गरिएको सच्चाइलाई के साँच्चै विश्वास गर्छन्? (१ थिस्स. २:१३) त्यसको लागि तपाईंले विद्यार्थीलाई दृष्टिकोण जाँच्ने प्रश्नहरू सोध्न सक्नुहुन्छ, जस्तै: यसबारे तपाईंलाई कस्तो लाग्छ? यसलाई आफ्नो जीवनमा कसरी लागू गर्न सक्नुहुन्छ? तिनको जवाफ सुनेर तपाईं सम्भवतः तिनको हृदय छुन कुन कुराको आवश्यकता रहेछ, थाह पाउनुहुन्छ। (लूका ८:१५; पाठशाला निर्देशन पुस्तक पृष्ठ ५२, अनुच्छेद ११ हेर्नुहोस्।) ज्ञान पुस्तकको पृष्ठ १७२ र १७४ मा दिइएका चित्रहरूमुनि यसरी सोधिएको छ: “के तपाईंले आफ्नो जीवन परमेश्वरलाई प्रार्थनाद्वारा समर्पण गर्नुभएको छ?” र “तपाईंलाई बप्तिस्मा गर्नदेखि कुन कुराले रोकिरहेछ?” यी प्रश्नहरूले विद्यार्थीलाई कदम चाल्न प्रभावशाली ढंगमा उत्प्रेरित गर्नसक्छ।
२२ बप्तिस्मा अप्राप्त प्रकाशकले बप्तिस्मा लिने इच्छा प्रकट गरेमा त्यसको लागि जनवरी १५, १९९६, प्रहरीधरहरा, पृष्ठ १७, अनुच्छेद ९ मा दिइएको प्रक्रियाअनुसार पाइला चाल्नुपर्छ। ज्ञान पुस्तक लेखिनुको उद्देश्य हाम्रो सेवकाई पुस्तकको परिशिष्टमा पाइने “बप्तिस्मा लिन चाहनेहरूका लागि प्रश्नहरूको” जवाफ दिन योग्य बनाउनु हो। ती प्रश्नहरू प्राचीनहरूले तिनीसित पुनरावलोकन गर्छन्। तपाईंले ज्ञान पुस्तकका मुद्रित प्रश्नहरूको जवाफ दिन विद्यार्थीलाई जोड दिनुभएको छ भने, प्राचीनहरूले बप्तिस्माको लागि सोध्ने प्रश्नहरूको लागि तिनी पूर्ण सुसज्जित हुनुपर्छ।
२३ गृह बाइबल अध्ययन सिध्याएकाहरूलाई मदत दिनुहोस्: कुनै व्यक्तिले ज्ञान पुस्तकको अध्ययन सिध्याऊञ्जेल तिनको निष्कपटता र परमेश्वरको सेवाप्रति गहिरो रुचि स्पष्ट भइसकेको हुनेछ भनेर प्रत्याशा गर्नुपर्छ। (मत्ती १३:२३) त्यसैकारण त्यस पुस्तकको अन्तिम उपशीर्षकले “तपाईं के गर्नुहुनेछ?” भनेर सोध्छ। अन्तिम अनुच्छेदहरूले विद्यार्थीलाई परमेश्वरसित बढाउनुपर्ने सम्बन्धप्रति ध्यानकेन्द्रित गर्न, सिकेको ज्ञानलाई चलाउन र यहोवाप्रति बियाँलो नगरी प्रेम प्रदर्शन गर्न आग्रह गर्छ। ज्ञान पुस्तकबाट अध्ययन सिध्याउनेहरूलाई थप प्रकाशनहरूबाट अध्ययन गराउने प्रबन्ध छैन। परमेश्वरको ज्ञानप्रति प्रतिक्रिया नदेखाउने विद्यार्थीलाई आध्यात्मिक उन्नति गर्न के गर्नुपर्छ भनेर दयालु भावले तर स्पष्टसित बताउनुहोस्। तिनलाई अनन्त जीवनतर्फ डोऱ्याउने बाटोमा डोऱ्याउन समय समयमा भेटघाट गर्न सक्नुहुन्छ।—उप. १२:१३.
२४ भर्खरै सच्चाइलाई अंगाल्ने र बप्तिस्मा लिने नयाँ चेलालाई विश्वासमा पूर्णतया अडिग रहन निकै ज्ञान र समझको आवश्यकता पर्नेछ। (कल. २:६, ७) तिनीसित ज्ञान पुस्तकबाट अध्ययन सिद्धिएपछि गृह बाइबल अध्ययनलाई कायम राख्नुको साटो तिनलाई आध्यात्मिक परिपक्वताको लागि चाहिने व्यक्तिगत सहयोग दिन सक्नुहुन्छ। (गला. ६:१०; हिब्रू ६:१) तिनी आफैले दिनहुँ बाइबल पढेर, ‘विश्वासी दास,’ मार्फत आउने प्रहरीधरहरा र अरू प्रकाशनहरू व्यक्तिगत तवरमा अध्ययन गरेर, सभाहरूको लागि तयारी गरेर अनि त्यहाँ उपस्थित भएर साथै सँगी विश्वासीहरूसित सच्चाइबारे छलफल गरेर आफ्नो समझलाई परिपक्व बनाउनसक्छन्। (मत्ती २४:४५-४७; भज. १:२; प्रे. २:४१, ४२; कल. १:९, १०) ईश्वरतान्त्रिक ढंगमा सुव्यवस्थित भएर आफ्नो सेवकाईलाई पूर्णरूपले पूरा गर्नको लागि तिनले हाम्रो सेवकाई पुस्तक पढ्नु र त्यहाँ भएका कुराहरूलाई लागू गर्नु महत्त्वपूर्ण छ।—२ तिमो. २:२; ४:५.
२५ शिक्षण कला विकास गर्नुहोस्: हामीलाई ‘जातिहरूलाई चेला बनाउने र सिकाउने’ काम सुम्पिएको छ। (मत्ती २८:१९, २०) चेला बनाउने काममा शिक्षण कला अत्यावश्यक भएकोले हामी राम्रो शिक्षक बन्ने कोसिस गर्न चाहन्छौं। (१ तिमो. ४:१६; २ तिमो. ४:२) शिक्षण योग्यतालाई बढाउने थप सुझाउहरूको लागि तपाईं पढ्न सक्नुहुन्छ: पाठशाला निर्देशन पुस्तक “शिक्षण कला विकास गर्ने” र “तपाईंका श्रोताहरूको हृदय जित्ने,” अध्ययन १० र १५; अन्तरदृष्टि खण्ड २ को (अंग्रेजी) “शिक्षक, शिक्षण” र प्रहरीधरहरा (अंग्रेजी) लेखहरू “अग्निरोधक सामग्रीहरूद्वारा निर्माण गर्ने” र “सिकाउनुहुँदा हृदय छुनुहोस्” अगस्त १, १९८४; “के तपाईं धर्मशास्त्रबाट प्रभावशाली ढंगमा तर्क गर्नुहुन्छ?” मार्च १, १९८६ र “चेला बनाउने कार्यमा कसरी आनन्द प्राप्त गर्ने,” (प्रहरीधरहरा), फेब्रुअरी १५, १९९६.
२६ ज्ञान पुस्तक चलाएर चेला बनाउने चेष्टा गर्नुहुँदा सधैं यहोवालाई प्रार्थना गर्नुहोस्। ‘बढाउने’ उहाँ नै हुनुहुन्छ र सुसमाचार लिएर मानव हृदय छुने तपाईंको प्रयासहरूमा उहाँले आशिष् दिनुहुनेछ। (१ कोरि. ३:५-७) अनन्त जीवनतर्फ डोऱ्याउने ज्ञानबारे अरूलाई बुझ्न, त्यसको मूल्यांकन गर्न र त्यसलाई चलाउन सिकाउनुभएर तपाईं आनन्दित हुन सकून्!