जवानहरूलाई राम्रो उदाहरण चाहिन्छ
१ ‘परमप्रभुको [यहोवाको, न्यु व.] नाउँको प्रशंसा’ गरिरहेका थुप्रै जवानहरू हाम्रो बीचमा पाउँदा हामी आनन्दित छौं। (भजन. १४८:१२, १३) तीमध्ये धेरै जना निकै कम उमेरका छन्। तिनीहरूको प्रगतिमा आमाबाबु तथा मण्डलीका वृद्धहरूको प्रशिक्षण र उदाहरणले निकै ठूलो भूमिका खेल्छ। तर बिर्सन नहुने कुरा, अरू जवानहरू विशेषगरि अलि उमेर पुगिसकेका किशोरकिशोरीहरू र जवान वयस्कहरूले पनि निकै प्रभाव पार्छ। तपाईं यस उमेरको हुनुहुन्छ भने यी टिप्पणीहरू तपाईंको लागि फाइदाजनक हुन सक्छ।
२ किशोरावस्थामा नपुगेका जवानहरूले अलि उमेर पुगिसकेका जवानहरूको नक्कल गर्न खोज्छन्। आफूलाई मनपर्ने घनिष्ठ सङ्गीहरू जस्तै हुने तिनीहरूको स्वाभाविक इच्छा हुन्छ। आफूभन्दा ठूलो उमेरका र ज्ञानी तथा परिपक्व जस्तो देखिने अरू जवानहरूलाई तिनीहरूले आदरको दृष्टिले हेर्छन्। परिणामस्वरूप तिनीहरूले तपाईंको बोलीचाली र आचरण साथै आध्यात्मिक महत्त्वहरूप्रति तपाईंको मूल्याङ्कन अनि मण्डलीका क्रियाकलापहरूमा तपाईंको सहभागिता नक्कल गर्न सक्छन्।
३ ठूलो उमेरको किशोर हुनाले तपाईंसित एउटा सुअवसर साथै गहन जिम्मेवारी छ। अहिले सम्भवतः तपाईंको उदाहरणले अरू जवान दौंतरीहरूलाई प्रभाव पारिरहेको हुन सक्छ। आफैलाई सोध्नुहोस्: ‘जवानहरूमाथि मैले कस्तो प्रभाव पारिरहेको छु? के म मूर्खता र गलत “जवानीका अभिलाषाहरूबाट” अलग बस्ने अनि गम्भीर स्वभावको छु? के म आफ्ना आमाबाबु, प्राचीनहरू तथा वृद्ध व्यक्तिहरूप्रति आज्ञाकारिता र आदर देखाउँछु?’ (२ तिमो. २:२२; कल. ३:२०) तपाईंका कार्यहरू अवलोकन गर्ने जवानहरूको निम्ति तपाईंले गर्नुहुने र भन्नुहुने कुराहरू तिनीहरूको आध्यात्मिक प्रगतिको प्रमुख कारण हुन सक्छ।
४ मण्डलीको प्राथमिक जिम्मेवारी राज्य समाचार प्रचार गर्नु हो। तपाईंको इच्छुक र नियमित सहभागिताले तपाईंका दौंतरीहरूलाई अझ बढी सक्रिय हुन प्रोत्साहन दिन सक्छ। तपाईंले अग्रगामी सेवा गर्न सक्नुभयो भने तपाईंका साथीहरू पनि त्यसरी नै उत्प्रेरित हुन सक्छन्। सभाहरूमा टिप्पणी दिने र राज्य भवनमा आवश्यक कार्यभार निभाउने स्वैच्छिक मदतले पनि राम्रो उदाहरण बसाल्न सक्छ।
५ पावलले निम्न सल्लाह दिंदा तिमोथी किशोर त थिएनन् तापनि तपाईं किशोरकिशोरीहरूले यो सल्लाह लागू गर्न सक्नुहुन्छ: “तिमीहरूचाहिं तिनीहरूका उदाहरण होऊ, जसले वचन, चाल-चलन, प्रेम, विश्वास, शुद्धतामा विश्वास गर्दछन्।” (१ तिमो. ४:१२) यहोवाको सेवामा तपाईंको उत्साही तथा तनमनको सहभागिताले तपाईंका सहपाठीहरू र तपाईंलाई नियालेर हेर्ने जवानहरूलाई सकारात्मक ढङ्गमा उत्प्रेरित गर्न सक्छ। फलस्वरूप तिनीहरूले आध्यात्मिकतामा प्रगति गरेर पाको मानिस हुन मदत पाउनेछन्। (एफि. ४:१३) भर्खर मात्र अध्ययन गर्न थालेका परिवारका किशोरकिशोरीहरू तपाईंलाई देखेर सत्यप्रति आकर्षित हुन सक्छन्।
६ अझ महत्त्वपूर्ण कुरा, ईश्वरीय गुणहरू प्रदर्शन गर्ने तपाईंको लगनशीलताले यहोवा र उहाँको सङ्गठनको आदर गर्छ। (हितो. २७:११) तपाईं र संसारका जवान मानिसहरू बीचको भिन्नतालाई नियालेर हेर्ने सोझा व्यक्तिहरू आश्चर्यचकित हुनेछन्। अतः यहोवाको महिमा गर्न मूल्यवान योगदान पुऱ्याउनुको साथै जवान मानिसहरूलाई मदत गर्ने अनुपम सुअवसर तपाईंसित छ।—भजन. ७१:१७.