तपाईं कस्तो प्रकारको आत्मा प्रदर्शन गर्नुहुन्छ?
१ फिलिप्पीको मण्डलीलाई लेखेको पत्रको अन्तमा पावल यस्तो आग्रह गर्छन्: “प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासित होस्।” (फिलि. ४:२३) सुसमाचार प्रचार गर्ने साँचो इच्छाका साथै एकअर्काको हितप्रति न्यानो तथा मायालु चासो राख्ने तिनीहरूको बानीलाई उनले सराहना गरे।—फिलि. १:३-५; ४:१५, १६.
२ हाम्रो मण्डलीमा पनि यस्तै आत्मा प्रदर्शन गर्ने इच्छा हामीमा हुनुपर्दछ। सबै जोशिला, दयालु र आतिथेय भए भने देख्नेहरू समक्ष यो आत्मा प्रष्ट हुन्छ। सकारात्मक तथा मायालु आत्माले एकता र आध्यात्मिक प्रगति गराउँछ। (१ कोरि. १:१०) नकारात्मक आत्माले मानिसहरू निरूत्साहित र आधा मनको हुन जान्छन्।—प्रका. ३:१५, १६.
३ प्राचीनहरू अगुवाइ गर्छन्: आपसमा र मण्डलीमा असल तथा सकारात्मक आत्मा कायम राख्ने दायित्व प्राचीनहरूको हो। किन? किनभने तिनीहरूको मनोवृत्ति र आचरणले मण्डलीलाई असर गर्नसक्छ। क्षेत्र सेवकाईमा जोशिला, हामीलाई मीठो मुस्कान र मायालु शब्दहरूले अभिवादन गर्ने, व्यक्तिगत या मञ्चबाट सकारात्मक तथा प्रोत्साहनजनक सल्लाह दिने प्राचीनहरूको हामी मूल्यांकन जाहेर गर्छौं।—हिब्रू १३:७.
४ निस्सन्देह, मण्डलीलाई मित्रैलो, आतिथेय, जोशिलो र आध्यात्मिक चिन्तन गर्ने बनाउन हामीहरू सबैले योगदान पुऱ्याउनु पर्छ। अरूसित सङ्गत गर्दा व्यक्तिगत रूपमा न्यानो भाव र प्रेम देखाउन सक्छौं। (१ कोरि. १६:१४) उमेर, जाति, शैक्षिक योग्यता या आर्थिक अवस्थाको कारण हामीबीच कुनै भेदभाव हुनु हुँदैन। (एफिसी २:२१ तुलना गर्नुहोस्।) हाम्रो आशाको कारण हामीले आनन्द, उदारचित्तको आतिथ्य र सेवकाईमा जोशको आत्मा प्रतिबिम्ब गर्न सक्छौं।—रोमी १२:१३; कल. ३:२२, २३.
५ हामीसित सङ्गत गर्ने नयाँ व्यक्तिहरू लगायत सबैलाई स्वागत र भ्रातृत्वप्रतिको प्रेम तथा निष्ठा महसुस गराउनु पर्छ। हाम्रो सेवकाईद्वारा र असल मसीही गुणहरू प्रदर्शन गरेर हाम्रो मण्डली “सत्यको खामा र जग हो” भन्ने प्रमाण हामी दिन्छौं। (१ तिमो. ३:१५) हाम्रो हृदय तथा विचारलाई रक्षा गर्ने “परमेश्वरको शान्ति” द्वारा पनि हामी आध्यात्मिक सुरक्षा महसुस गर्छौं। (फिलि. ४:६, ७) हामीहरू सबैले लगनशील भएर यसप्रकारको आत्मा प्रदर्शन गर्न सकौं, जसले गर्दा हामी सबैले प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरको अनुग्रहको आनन्द उठाउन सकौं।—२ तिमो. ४:२२.