अलमल्याउने कुराहरूलाई पन्छाउँदै के हामी जागा भएर बसेका छौं?
१ आउन लागेका विपत्हरूबाट “उम्कन . . . जागा रहो” भनेर येशूले चेताउनी दिनुभयो। (लूका २१:३६) हामी मानव इतिहासको सबैभन्दा डरलाग्दो समयमा बाँचिरहेका छौं। आध्यात्मिक तवरमा सुस्ताउनेहरूलाई विनाशले पर्खिरहेको छ। यसकारण हामी सबै खतरामा छौं। येशूले खाने, पिउने र दैनिक जीवनका फिक्रीहरूबारे उल्लेख गर्नुभयो। किन? किनकि यी कुराहरूमा समेत हामी चुर्लुम्म डुब्नसक्छौं र यसले हामीलाई अलमल्याएर आध्यात्मिक तवरमा सुस्त बनाउनसक्छ।
२ अलमल्याउने सामान्य कुराहरू: केही व्यक्तिहरू टिभीको लत लाग्ने गरी अत्यधिक वा शंकास्पद मनोरञ्जनमा तल्लीन भएका छन्। राज्यलाई प्रथम स्थान दिनुको अर्थ मनोरञ्जन गर्दै नगर्नु भनेको होइन। व्यवहारिक र सन्तुलित भयौं भने मनोरञ्जन लाभदायी हुनसक्छ। (१ तिमोथी ४:८ तुलना गर्नुहोस्।) तर मनोरञ्जनले हाम्रो जीवनमा महत्त्वपूर्ण स्थान ओगट्न थाल्यो अनि त्यसमा हाम्रो निकै समय र स्रोत खर्च गर्न थाल्यौं वा राज्य प्रचार कार्यमा कम भाग लिन थाल्यौं भने त्यो अलमल्याउने कुरा हुन्छ।
३ आध्यात्मिक तवरमा सुस्ताउने अर्को कुरा अनावश्यक भौतिक सामानहरूको लालसा हो। त्यस्तो लालसा पूरा गर्न एक व्यक्तिले निकै समय काम गर्नु पर्ने हुन्छ। परिणामस्वरूप आध्यात्मिक लक्ष्यहरू निस्सासिन पुग्छन्। केही व्यक्तिहरू भने जीवनलाई अझ आरामदायी बनाउन आध्यात्मिक लक्ष्यहरूबाट तर्केर भौतिक सम्पत्ति आर्जन गर्न थालेका छन्। “खान र लाउन” आवश्यक छ तर विश्वासबाट तर्काउनसक्ने रुपैयाँ पैसाको लोभमा फस्ने खतराबाट जोगिनैपर्छ। (१ तिमो. ६:८-१०) राज्यसम्बन्धी क्रियाकलापमा हाम्रो ध्यान केन्द्रित पार्न सकेनौं भने आफ्नो परिवारको आध्यात्मिक आवश्यकता पूरा गर्न लापरवाही हुनुका साथै हाम्रो सेवकाई पूरा गर्न असफल हुनसक्छौं।—१ तिमो. ५:८; २ तिमो. ४:५.
४ तैपनि कसै कसैले आध्यात्मिक तवरमा निदाउने गरी ‘आफ्नो हृदयलाई जीवनको फिक्रीले लादेका छन्।’ (लूका २१:३४) कहिलेकाहीं स्वास्थ्यसम्बन्धी समस्या वा निराशाजनक पारिवारिक परिस्थितिहरूका कारण फिक्रीले लादिनसक्छौं। तर ती व्यक्तिगत चिन्ताहरूले गर्दा यस रीतिरिवाजको अन्त नजीकै छ भनेर बिर्सनु हुँदैन।—मर्कू. १३:३३.
५ हामीलाई कल्पनाको संसारमा डुबाउनु र सांसारिक भ्रान्ति पछ्याउन लगाउनु पाउँदा दियाबललाई असाध्यै आनन्द लाग्छ। आध्यात्मिक तवरमा जागा रहन हामीले संघर्ष गर्नुपर्छ। ‘यहोवाको दिन चोरझैं आउँदैछ,’ भनेर हामीलाई थाह छ। अतः ‘जागा रहनु र होशियार हुनु’ अपरिहार्य छ। (१ थिस्स. ५:२, ६) आफू सुस्ताउन थालेको लक्षणहरू पायौं भने ‘अन्धकारका काम छोड्नु’ जरुरी छ।—रोमी १३:११-१३.
६ जागा रहनका लागि सहायकहरू: ती सहायकहरू के के हुन्? प्रार्थना अत्यावश्यक छ। हामीले अटुट प्रार्थना गरिरहनुपर्छ। (१ थिस्स. ५:१७) मसीही मण्डलीसित घनिष्ठ भयौं भने ‘प्रेम र सुकर्ममा उत्तेजित’ हुनेछौं। (हिब्रू १०:२४) इमानदारीपूर्वक नियमित तवरमा आत्मपरीक्षण गऱ्यौं भने आफ्ना कमजोरीहरूलाई जित्नुपर्ने आवश्यकताप्रति हामी सजग हुन सक्छौं। (२ कोरि. १३:५) व्यक्तिगत अध्ययन गर्ने राम्रो बानीले हामीलाई ‘विश्वासका वचनहरूले पुष्ट’ गर्नेछ। (१ तिमो. ४:६) हामी लगनशील भयौं भने, अलमल्याउने कुराहरूलाई पन्छाएर ‘जागा र विश्वासमा दृढ’ बस्न सक्नेछौं भनी निर्धक्क हुनसक्छौं।—१ कोरि. १६:१३.