माथिका कुरामा मन लगाओ
१ आजको पुस्ता र भविष्यप्रति तिनीहरूले राखेको दृष्टिकोणबारे डिसेम्बर ३१, १९९४ को द न्यु योर्क टाइम्स्-को एउटा लेखमा यस्तो टिप्पणी गरिएको थियो: “तिनीहरू भविष्यदेखि तर्सिरहेका छन्। जागीर, रोगव्याधी, अर्थतन्त्र, संसारको परिस्थिति जस्ता विषयहरूको सम्बन्धमा तिनीहरू तर्सिरहेका छन्।” जताततै जीवनको अनिश्चितता महसुस गरिएको छ। यहोवाका साक्षीहरूको हैसियतले सेवकाईको दौडान हामी यस्तो अनुभूति भएका मानिसहरू दिनहुँ भेट्छौं। हाम्रो समस्या पनि तिनीहरूको जस्तै छ। तर परमेश्वरको वचनमा आधारित पक्का प्रतिज्ञाहरूप्रतिको हाम्रो विश्वास र भरोसाले हामीलाई जीवन र मानवजातिको भविष्यप्रति भिन्दै दृष्टिकोण राख्न सम्भव गराएको छ।—यशै. ६५:१३, १४, १७.
२ हामी आशावादी भएको र भविष्यको पक्का प्रत्याशाले गर्दा निष्कपट मानिसहरू हाम्रो समाचार सुन्छन्। निराश र दुःखी व्यक्तिहरूले हामीसित कुरा गरेर सान्त्वना पाएका छन्। आफूले सुनेका कुरा तिनीहरूलाई मनपर्ने भएको हुँदा केहीले हामीसित बाइबल अध्ययन गर्न मानेका छन्। तथापि, कहिलेकाहीं मानिसहरू सर्वप्रथम आफ्नो व्यक्तिगत समस्याहरूबारे कुरा गर्न चाहन्छन्। तिनीहरूको व्यक्तिगत फिक्रीहरू पनि सुनिदिन केही समय लगाउन सकिन्छ तर परमेश्वरको वचनको सकारात्मक सत्य सिकाउने हाम्रो लक्ष्यबाट भने तर्कनु हुँदैन।
३ बोझले लादिएकाहरूप्रति हामी सहानुभूति प्रकट गर्छौं। यससम्बन्धमा येशूले बसाल्नुभएको उदाहरण मत्ती ११:२८ मा यसप्रकार लिपिबद्ध गरिएको छ: “हे सबै मेहनत गर्ने, र बोझले दबिएकाहरू हो, मकहाँ आओ।” यही तरिका अपनाएर हामी मानिसहरूलाई प्रोत्साहित गर्न चाहन्छौं। तथापि, पद २८ को अन्तमा येशूले “म तिमीहरूलाई विश्राम दिनेछु” भन्नुभएको सम्झनुहोस्। हाम्रो लक्ष्य पनि यस्तै हुनुपर्छ। परमेश्वरको वचनमा पाइने स्फूर्तिदायी प्रतिज्ञाहरू अरूसित बाँडेर हामी यसो गर्नसक्छौं। असल श्रोता भयौं भने हामीले राखेको व्यक्तिगत चासो र चिन्ता प्रकट हुन्छ। राज्यको सुसमाचार सुनाउने हाम्रो अभिभारा पूरा गर्न र मानवजातिका सम्पूर्ण समस्याहरू समाधान गर्ने एकमात्र श्रोत राज्य हो भनेर चिनाउन त्यसो गर्नु अत्यावश्यक छ।—मत्ती २४:१४.
४ हाम्रो काम व्यावसायिक स्वस्थकर्मीको जस्तो होइन। बरु यो प्रेरित पावलले १ तिमोथी ४:६ मा व्याख्या गरेअनुसार सेवकाई हो। जसले परमेश्वरको वचनमा पाइने शिक्षाहरू अर्थात् “उत्तम सिद्धान्त” माथि जोड दिन्छ। व्यक्तिगत तथा भावनात्मक समस्या भएकाहरूलाई यहोवामा भरपर्न प्रोत्साहित गराउनु आवश्यक छ। तिनीहरूलाई राज्य आशासित सम्बन्धित कुराहरू अर्थात् “माथिका कुरामा” मन लगाउन सिकाउनुहोस्। (कल. ३:२) परमेश्वरको वचनले मानिसहरूको जीवनमा जोडदार प्रभाव पार्ने हुँदा त्यसमा ध्यान केन्द्रित गर्न मानिसहरूले ढाडस पाउनसक्छन्।—हिब्रू ४:१२.
५ अतः हाम्रो लक्ष्य, मानिसहरूलाई ‘धार्मिक, चोखा, असल र प्रशंसनीय’ कुराहरूमा ध्यान केन्द्रित गर्न मदत दिनु हो। (फिलि. ४:८) राज्य आशामा आफ्नो ध्यान केन्द्रित गरेको खण्डमा तिनीहरूले पनि हामीले जस्तै आशिष् पाउनेछन्। अन्ततः यहोवाले आफ्नो राज्य मार्फत सम्पूर्ण समस्याहरू समाधान गर्नुहुनेछ भन्ने ज्ञान पाएपछि प्राप्त हुने आनन्द तिनीहरूले पनि अनुभव गर्नेछन्।—भज. १४५:१६.