यहोवाका साक्षीहरू—साँचो सुसमाचारकहरू
१ विशेषगरि परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्ने निर्देशन दिनुहुँदै येशू ख्रीष्टले आफ्ना सबै चेलाहरूलाई सुसमाचार सुनाउने जिम्मेवारी दिनुभयो। (मत्ती २४:१४; प्रेरि. १०:४२) उहाँका प्रारम्भिक चेलाहरूले परमेश्वरको राज्य प्रचार कार्यमा लागिरहेर नमुना बसाले। तिनीहरूले उपासना गर्ने ठाउँहरूमा मात्र नभई जहाँतहीं तथा घर-घरको सेवकाईमा भेटेका व्यक्तिहरूलाई सुसमाचार सुनाए। (प्रेरि. ५:४२; २०:२०) आज, यहोवाका साक्षीहरूको हैसियतमा २३२ मुलुकहरूमा राज्यको सुसमाचार सुनाउनुका साथै विगत तीन वर्षभित्र दस लाखभन्दा बढी नयाँ चेलाहरूलाई बप्तिस्मा दिएर हामी साँचो मसीही सुसमाचारकहरू हौं भन्ने प्रमाणित गरेका छौं! सुसमाचार सुनाउने हाम्रो काम किन यत्तिको सफल भएको?
२ हामीलाई सुसमाचारले उत्तेजित गर्छ: सुसमाचारकहरू सुसमाचारका प्रचारक वा सन्देशवाहकहरू हुन्। त्यसैले, हामीसँग यहोवाको राज्यबारे घोषणा गर्ने रोमाञ्चकारी विशेषाधिकार छ। पीडित मानवहरूलाई बताउन मिल्ने एक मात्र वास्तविक सुसमाचार नै राज्यको सुसमाचार हो। आउँदै गरेको प्रमोदवनमा विश्वासी मानिसजातिद्वारा बनेको नयाँ पृथ्वीलाई धार्मिकतासाथ शासन गर्ने नयाँ स्वर्गबारे पहिल्यै थाह भएको हुँदा हामी उत्साहित भएका छौं। (२ पत्रु. ३:१३, १७) यस्तो आशा अंगाल्ने व्यक्तिहरू हामी मात्र हौं र त्यो आशा अरूलाई पनि बताउन उत्सुक छौं।
३ साँचो प्रेमले हामीलाई उत्प्रेरित गर्छ: सुसमाचार सुनाउनु जीवनदायी कार्य हो। (रोमी १:१६) त्यसैले त परमेश्वरको राज्यको सुसमाचार अरूलाई बताउँदा हामी ठूलो आनन्द अनुभव गर्छौं। साँचो सुसमाचारकको नाताले हामी मानिसहरूलाई प्रेम गर्छौं। अनि त्यो प्रेमले तिनीहरू अर्थात् आफ्नो परिवार, छिमेकी, चिनजानहरू र यथासम्भव अरू सबैलाई सुसमाचार सुनाउन हामीलाई उत्प्रेरित गर्छ। पूरा तनमनले यो काम गर्नु अरूप्रतिको हाम्रो साँचो प्रेमको सर्वोत्कृष्ट अभिव्यक्ति हो।—१ थिस्स. २:८.
४ परमेश्वरको आत्माले हामीलाई मदत गर्छ: हामीले परमेश्वरको राज्यको बीउ रोप्ने र पानी हाल्ने काम गरेपछि यहोवाले नै ‘बढ़ाउनुहुन्छ’ भनी परमेश्वरको वचनले आश्वासन दिन्छ। सो कुरा अहिले हाम्रो संगठनमा चरितार्थ भएको देखिरहेका छौं। (१ कोरि. ३:५-७) परमेश्वरको आत्माले हामीलाई सुसमाचार सुनाउने काममा मदत गरिरहेको छ र हामीले ठूलो सफलता प्राप्त गर्न सकेका छौं।—योए. २:२८, २९.
५ यहोवाले हाम्रो काममा सधैं आशिष् दिनुहुन्छ भनी विश्वस्त हुँदै २ तिमोथी ४:५ मा “प्रचारकको काम गर” भनी दिइएको प्रोत्साहनलाई ध्यानमा राखेर सबै मानिसप्रतिको प्रेमले गर्दा हरेक अवसरमा परमेश्वरको राज्यको रोमाञ्चकारी सुसमाचार सुनाउन उत्प्रेरित हुनसकौं।