विस्तृत तवरमा साक्षी दिन पाउँदा प्रसन्न हुनुहोस्
१ हामी सबै आफूले राम्ररी पूरा गर्नसक्ने काम गर्न पाउँदा रमाउँछौं। मर्कूस ७:३७ अनुसार धेरैले येशूबारे यस्तो घोषणा गरे: “उहाँले सबै कुरा असल गर्नुभएको छ।” येशू यहोवाको इच्छा पूरा गर्न प्रसन्न हुनु कुनै अचम्मको कुरा होइन! (भजन ४०:८ तुलना गर्नुहोस्।) “जनतामा प्रचार गर्न . . . र सबूत दिन” येशूले दिनुभएको आदेश मान्ने सुझाउलाई ध्यानमा राख्दा हामी पनि आनन्द उठाउनेछौं। (प्रेरि. १०:४२) जनवरीमा हामी अर्धमोल वा विशेष दरमा दिइने सूचीमा परेका कुनै पनि पुराना १९२ पृष्ठे पुस्तकहरू प्रस्तुत गर्दैछौं। स्थानीय भाषामा यी पुस्तकहरू उपलब्ध नभएका ठाउँहरूमा हामी ज्ञान अथवा पारिवारिक आनन्द पुस्तकहरू प्रति रु. २०.०० मा प्रस्तुत गर्नेछौं। विस्तृत तवरमा साक्षी दिन हामी यी प्रकाशनहरू कसरी प्रयोग गर्नसक्छौं?
२ स्वास्थ्यप्रति मानिसहरूले अक्सर निकै चासो लिने भएकोले तपाईं यसो भन्न सक्नुहुन्छ:
▪ “चिकित्सा क्षेत्रमा ठूलठूला उपलब्धि हासिल भए तापनि रोगबिमारीको कारण धेरै जनाले दुःख भोगिरहेका छन्। तपाईंको विचारमा यसो किन भएको होला? [जवाफ दिने मौका दिनुहोस्।] आखिरी दिनको चिह्नमध्ये रूढी पनि हुनेछ भनी येशू ख्रीष्टले भन्नुभयो। (लूका २१:११) यद्यपि, बाइबलले रोगबिमारी नहुने समयबारे पनि बताउँछ। [यशैया ३३:२४ पढ्नुहोस्।] बाइबलको यो आधारभूत शिक्षाप्रति यस पुस्तकले कसरी आशा जगाउँछ, हेर्नुहोस् त।” प्रस्तुत गर्न लाग्नुभएको पुस्तकबाट उपयुक्त टिप्पणीहरू उल्लेख गर्नुहोस् र पुस्तक प्रस्तुत गर्नुहोस्।
३ बजार इलाका नजिकै अनौपचारिक साक्षी दिंदै हुनुहुन्छ भने अभिवादन गरिसकेपछि यसरी सोध्नुहोस्:
▪ “आजकाल महँगी निकै बढेकोले जति कमाए पनि अपुग भएजस्तो तपाईंलाई लाग्दैन? [जवाफ दिने मौका दिनुहोस्।] कुनै आर्थिक चिन्ता नलिई ढुक्क हुनसक्ने समय कहिल्यै आउला जस्तो तपाईंलाई लाग्छ?” जवाफ दिने मौका दिनुहोस्। प्रस्तुत गर्न लाग्नुभएको पुस्तकमा उद्धरण गरिएको उपयुक्त धर्मशास्त्रीय पद देखाउनुहोस्। त्यसपछि यसो भन्दै कुरा अघि बढाउनुहोस्: “आज जीवन धान्न धौ धौ पार्ने समस्याहरूको समाधान परमेश्वरले आफ्नो राज्यद्वारा कसरी गर्नुहुनेछ, यो पुस्तकले देखाउँछ।” पुस्तक प्रस्तुत गर्नुहोस्। कुरा गर्न पाउँदा असाध्यै रमाइलो लागेको बताई सक्नुभएपछि सोध्नुहोस्: “अर्को पटक पनि यसरी नै कुरा गर्न समय मिलाउन सकिएला कि?” यसरी तपाईंले तिनको फोन नम्बर अथवा घरको ठेगाना लिन सक्नुहुन्छ।
४ “ज्ञान” पुस्तक प्रयोग गरेर तपाईंले विश्व शान्तिबारे यो प्रस्तुति चलाउने मौका पाउन सक्नुहुन्छ:
▪ “तपाईंको विचारमा विश्वभरि शान्ति स्थापना गर्न किन यति गाह्रो भएको होला? [जवाफ दिने मौका दिनुहोस्, त्यसपछि पृष्ठ १८८-९ मा भएको चित्र देखाउनुहोस्।] यो चित्र बाइबलका यस्ता विभिन्न वर्णनहरूमा आधारित छ। [यशैया ६५:२१ पढ्नुहोस्।] परमेश्वर र उहाँका उद्देश्यहरूबारे सही ज्ञानको कमीले गर्दा आज विश्वमा शान्ति नभएको हो। अब चाँडै यस पृथ्वी त्यस्तो ज्ञानले भरिनेछ। [यशैया ११:९ पढ्नुहोस्।] यो पुस्तकले तपाईंलाई अहिलेदेखि नै त्यो ज्ञान प्राप्त गर्न मदत गर्नेछ, त्यसैकारण तपाईं पनि यसको एक प्रति राखेर हेर्नुहोस् न।” पुस्तक प्रस्तुत गर्नुहोस्—ज्ञान तथा पारिवारिक आनन्द पुस्तकहरू प्रस्तुत गर्ने प्रभावकारी तरिकाहरूका लागि सेप्टेम्बर १९९७, जून १९९७, मार्च १९९७, नोभेम्बर १९९६ र जून १९९६ हाम्रो राज्य सेवकाई-का अंकहरूको अन्तिम पृष्ठ हेर्नुहोस्।
५ चासो देखाउनेहरूलाई फेरि भेट्न जानु हुँदा यो प्रस्तुतिअनुसार बाइबल अध्ययन सुरु गर्ने प्रयास गर्न सक्नुहुन्छ:
▪ “अस्ति तपाईंले निकै चाखलाग्दो टिप्पणी गर्नुभएको थियो। [त्यस व्यक्तिले गरेको एउटा टिप्पणी बताउनुहोस्।] म त्यसै विषयमा सोचिरहेको थिएँ र त्यसबारे छानबिन गरेर पत्ता लागेको केही जानकारी तपाईंलाई पनि बताउन चाहन्छु। [एउटा उपयुक्त शास्त्रपद पढेर सुनाउनुहोस्।] हामी निश्शुल्क अध्ययन पनि गराउँछौं। यस्तो अध्ययनबाट करोडौं मानिसहरूले थोरै समयमै बाइबलका आधारभूत शिक्षाबारे जाँचपड्ताल गर्नसकेका छन्। यस्तो अध्ययनले परमेश्वरका केही खास प्रतिज्ञाहरू पक्कै पूरा हुने कुराप्रति तपाईं विश्वस्त हुन सक्नुहुनेछ।” ज्ञान पुस्तकले जवाफ दिने केही प्रश्नहरू उल्लेख गर्नुहोस्। बाइबल अध्ययन गर्ने प्रस्ताव अस्वीकार गरेमा अझ थोरै समयमा अर्थात् प्रत्येक हप्ता १५ मिनेट मात्र लाग्ने १६ हप्ते विशेष कार्यक्रमबारे पनि बताउनुहोस्। चाहनुहुन्छ पुस्तिका देखाउनुहोस्, पाठ १ पल्टाउनुहोस् र पहिलो पाठबाट अध्ययन गर्ने तरिका देखाऊँ कि भनेर सोध्नुहोस्।
६ हातेपर्चा प्रयोग गर्न नबिर्सनुहोस्: आध्यात्मिक कुराप्रति चासो जगाउन पर्चालाई आफ्नो परिचयको रूपमा प्रभावकारी ढंगले प्रयोग गर्न सकिन्छ वा कुनै साहित्य स्वीकार नगरेका ठाउँहरूमा दिन सकिन्छ। चासो देखाएका ठाउँहरूमा हातेपर्चापछाडि छापिएको सन्देश प्रयोग गर्दै मानिसहरूलाई गृह बाइबल अध्ययन गर्न र हाम्रा सभाहरूमा उपस्थित हुन प्रोत्साहन दिन सक्नुहुन्छ।
७ आफ्नो काममा निपुण हुनुहोस्। त्यसो गर्नुभयो भने आफ्नो काममा तपाईं रमाउनुहुनेछ। विस्तृत तवरमा साक्षी दिने काममा लागिरहनुहोस् र सेवकाईका हरेक पक्षहरू राम्ररी पूरा गर्न पाउँदा प्रसन्न हुनुहोस्।—१ तिमो. ४:१६.