के तपाईंको “शरीरमा एक किसिमको छेस्को” छ?
१ आफूलाई दिइएको काम पूरा गर्न हामी साँच्चै इच्छुक छौं। त्यो काम हो, आफ्नो बलबुताले भ्याएसम्म सुसमाचार प्रचार गर्ने। तथापि, हाम्रा कतिपय प्यारा भाइबहिनीहरू शारीरिक बिमारी वा कमजोरीहरूले गर्दा आफूले चाहेजस्तो त्यस काममा दिलोज्यानले सहभागी हुनसक्दैनन्। तिनीहरूलाई विशेषगरि अरूले सेवकाईमा सक्रियतासाथ भाग लिएको देख्दा मनभित्रभित्रै अटेसमटेस भएर आउने खिन्नता दबाउन गाह्रो पर्ला।—१ कोरि. ९:१६.
२ पछ्याउनुपर्ने उदाहरण: प्रेरित पावलले ‘शरीरमा हुने एक किसिमिको छेस्कोसित’ संघर्ष गर्नुपऱ्यो। तिनले यो दुःखदायी अवरोध पार गर्न यहोवालाई तीनपल्ट पुकारा गरे। तिनले त्यो अवरोधलाई आफूलाई थप्पड हान्ने “शैतानको एउटा दूत” भने। यसको बावजूद पावल धीरजी भए र सेवकाईमा कदम बढाउँदै गए। तिनले आफूलाई दुःखी सम्झेनन् नता गुनासो नै गरिरहे। आफूले सक्दो गरे। तिनले संघर्ष जित्नुको गाँठी नै परमेश्वरबाटको यो आश्वासन थियो: “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनभने मेरो शक्ति दुर्बलतामा सिद्ध हुन्छ।” आफ्नो परिस्थिति सहन अनि यहोवा र पवित्र आत्मामा भर पर्न सिक्दा पावलको दुर्बलता शक्ति साबित भयो।—२ कोरि. १२:७-१०.
३ कसरी सहन सक्नुहुन्छ: के मानव कमजोरीहरूले तपाईंलाई परमेश्वरको सेवा गर्न वञ्चित गर्छन्? त्यसो हो भने, पावलको जस्तै दृष्टिकोण राख्नुहोस्। तपाईंको बिमारी वा कमजोरी यस रीतिरिवाजमा पूर्णतया निको नभए तापनि यहोवामाथि पूरापूर भरोसा राख्न सक्नुहुन्छ। उहाँले तपाईंका आवश्यकताहरू बुझ्नुहुन्छ र “सर्वश्रेष्ठ शक्ति” दिनुहुनेछ। (२ कोरि. ४:७, नेपाली [नयाँ संशोधित संस्करण]) आफूलाई एकलकाँटे नबनाउनुहोस् तर मण्डलीबाट पाइने मदत लिनुहोस्। (हितो. १८:१) ढोका-ढोकाको प्रचारकार्य गर्न सक्नुहुन्न भने अनौपचारिक वा टेलिफोन साक्षी दिने व्यवहारिक तरिकाहरू खोज्नुहोस्।
४ शरीरमा हुने छेस्कोले तपाईंलाई सेवकाईमा आफूले गर्नसक्ने जति गर्न नदेला। तैपनि, केही गर्न सकिएको छैन भनेर नसोच्नुहोस्। आफ्नो बल-बर्कत र परिस्थितिअनुसार सक्दो गरेर तपाईंले पनि पावलले जस्तै “परमेश्वरको अनुग्रहको सुसमाचारको साक्षी दिन” सक्नुहुन्छ। (प्रेरि. २०:२४) स्मरण रहोस्, आफूलाई सुम्पिएको सेवकाई पूरा गर्न तपाईंले प्रयास गर्नुहुँदा यहोवा औधी खुसी हुनुहुन्छ।—हिब्रू ६:१०.