हाम्रो संकल्प—यहोवाले चाहनुहुने जीवनशैली अपनाउने
१ “परमेश्वरले चाहनुहुने जीवनशैली” अधिवेशनको विशेषता नै समाप्तिको भाषणमा प्रस्तुत गरिएको प्रस्तावना थियो। यसले यो घोषणा गऱ्यो: “परमेश्वरले चाहनुहुने जीवनशैली नै उत्तम जीवनशैली हो भनी हामी सारा हृदयले स्वीकार्छौं।” हामीले “सहमति जनाएका” त्यस प्रस्तावनाको मुख्य बुँदाहरूलाई सम्झौं।
२ संसारबाट निष्कलंक रहेर परमेश्वरसामु स्वच्छ रहनु हाम्रो संकल्प हो। परमेश्वरको इच्छालाई हामी आफ्नो जीवनमा सधैं प्रथम स्थान दिइरहनेछौं। उहाँको वचन, बाइबल चलाएर त्यहाँ भनेअनुसार हामी गर्नेछौं र दायाँ-बायाँ तर्किनेछैनौं। यसप्रकार, परमेश्वरले चाहनुहुने जीवनशैली नै संसारको सबैभन्दा उत्तम जीवनशैली हो भनेर हामी प्रमाणित गर्नेछौं।
३ संसारका धेरैजसो मानिसहरूले परमेश्वरले चाहनुहुने जीवनशैलीलाई बेवास्ता गर्छन् र त्यसको फल पनि भोग्छन्। (यर्मि. १०:२३) यसकारण, हामी सबै जना हाम्रो महान् शिक्षक यहोवाबाट सिकिरहौं, जसले भन्नुहुन्छ: “बाटो यही हो, यसैमा तिमीहरू हिंड।” (यशै. ३०:२१) धर्मशास्त्रमा प्रकटित यहोवाले चाहनुहुने जीवनशैली हरेक तवरमा उत्कृष्ट छ। त्यो शैलीलाई अपनाउनको निम्ति हामी सबैले यहोवाका सबै शिक्षाको पूरापूर फाइदा उठाउनु आवश्यक छ।
४ यहोवाको उत्कृष्ट शैक्षिक कार्यक्रम: हाम्रो जीवनको खास उद्देश्य के हो र जीवनको सर्वोतम सदुपयोग कसरी गर्न सकिन्छ, त्यसबारे यहोवाले हामीलाई सिकाउनुहुन्छ। मानसिक, नैतिक र आध्यात्मिक तवरमा हाम्रो जीवनस्तर कसरी उकास्न सकिन्छ, त्यसबारे पनि उहाँले हामीलाई सिकाउनुहुन्छ। आफ्ना भाइहरू, परिवार र सह-मानवसँग कसरी मिलेर बस्ने, त्यसबारे पनि उहाँले हामीलाई सिकाउनुहुन्छ। यसरी सिकाउने काम उहाँले आफ्नो वचन, बाइबल र संगठनद्वारा गर्नुहुन्छ।
५ यस सन्दर्भमा हाम्रो मण्डलीका सभाहरू एकदमै महत्त्वपूर्ण छन्। पाँचैवटा सभामा नियमित तवरले भेला हुँदा सुसमाचार प्रचारकको तालिम र मसीही जीवन बताउन चाहिने सन्तुलित शिक्षा पाउँछौं। (२ तिमो. ३:१६, १७) सम्मेलन तथा अधिवेशनहरूद्वारा पनि हाम्रो महान् शिक्षकले ईश्वरतान्त्रिक शिक्षा दिनुहुन्छ। स्वास्थ्य र परिस्थितिले दिएमा कुनै पनि सभा कहिले नछोड्ने लक्ष्य हाम्रो हुनुपर्छ।
६ यहोवाको प्रशंसा र हाम्रो अनन्त हितको लागि हामी सधैं परमेश्वरले चाहनुहुने जीवनशैली अपनाइरहौं!—यशै. ४८:१७.