के तपाईंले आफैलाई फाइदा पुऱ्याइरहनुभएको छ?
१ आज लाखौं मानिसहरू समस्याहरूमाथि कसरी विजयी हुने र आनन्दित जीवन कसरी बिताउने भन्नेबारे जान्न चाहन्छन्। जीवन कसरी अझ राम्रो बनाउने भन्ने सन्दर्भमा तिनीहरू व्यक्तित्व विकाससम्बन्धी किताबहरू पढ्ने र सल्लाहको लागि विभिन्न समूह तथा संगठनहरूमा भर पर्ने गर्छन्। सायद, कसै कसैले आफूले पाएको सीमित फाइदाहरू औंल्याउँछन् होला। तर, आज मानव जीवनको गुणस्तर नियाल्ने हो भने, के मानव जानकारीहरूद्वारा मानिसहरूले शान्तिपूर्वक जीवनको आनन्द उठाउन सिकिरहेका छन्? के उनीहरू पूर्ण सन्तुष्ट छन्? सकारात्मक जवाफ दिन मुस्किल पर्छ!—१ कोरि. ३:१८-२०.
२ तर अर्कोतिर, हाम्रो सृष्टिकर्ताले सुन्ने जति सबैलाई निश्शुल्क रूपमा उत्तम र मदतकारी जानकारी दिनुहुन्छ। यहोवा सबैले उहाँको शिक्षाबाट लाभ उठाऊन् भन्ने चाहनुहुन्छ। मानिसहरूलाई धार्मिकताको बाटोमा डोऱ्याउन उहाँले उदारतापूर्वक आफ्नो प्रेरित वचन उपलब्ध गराउनुका साथै पृथ्वीको कुनाकाप्चासम्म राज्यको सुसमाचार सुनाउने व्यवस्था मिलाउनुभएको छ। (भज. १९:७, ८; मत्ती २४:१४; २ तिमो. ३:१६) साँच्चैको आनन्दित जीवन, यहोवाको आज्ञामा ध्यान दिनुमै प्रत्यक्षतः निर्भर छ।—यशै. ४८:१७, १८.
३ यहोवाको मार्ग निर्देशन संसारले दिने कुनै पनि व्यक्तित्व विकाससम्बन्धी किताब वा उपायहरूभन्दा निकै उच्च छन्। उहाँको वचनमा लिपिबद्ध उहाँका प्रबन्ध अनि उहाँको संगठनले सिकाउने कुराहरूबाट पूरा लाभ उठाएको खण्डमा, हामीले निष्कपट मदत र चिरकालीन फाइदा उठाउन सक्नेछौं।—१ पत्रु. ३:१०-१२.
४ मण्डलीका सभाहरूबाट फाइदा उठाउने: आज, यहोवाले उहाँको मार्ग सिकाउने साँचो इच्छुकता देखाइरहनुभएको छ र उहाँका निर्देशनहरूमा ध्यान दिएर हामी लाभ उठाउनसक्छौं। हाम्रा पाँचवटा सभाहरू यहोवाले हामीप्रति देखाउनुभएको मायालु चासोको प्रमाण हो। मण्डलीका सभाहरू धाउँदा, परमेश्वरबारे हाम्रो ज्ञान बढ्छ। यहोवासँग घनिष्ठ भएर आफूलाई खराब काम कुराहरूबाट कसरी जोगाउनसक्छौं, त्यसबारे सिक्छौं। फलतः हामी प्रोत्साहित हुन्छौं।
५ अरू फाइदाहरू पनि छन्। मण्डलीका सभाहरूमा हामी “ठूला मनका” हुनसक्छौं। (कोरि. ६:१३) यसमा मण्डलीमा अरूसँग चिनजान बढाउनु बिथोलित छ। प्रेरित पावलले रोमीहरूलाई लेखेको पत्रमा उल्लेख गरेअनुसार एक अर्कामा प्रोत्साहन आदनप्रदान गरेर हामी निकै लाभ उठाउनसक्छौं। (रोमी १:११, १२) पावलले हिब्रूहरूलाई लेखेको पत्रमा मसीही संगति छाड्ने बानी परिसकेका व्यक्तिहरूलाई कडा सल्लाह दिए।—हिब्रू १०:२४, २५.
६ हाम्रो आनन्दित र सन्तुष्ट जीवन अरूको भलाइप्रति चासो लिनुमा निर्भर छ। अरूको खुसीको लागि हामीले के कति योगदान दिनसक्छौं, त्यसबारे सोच्न हामीलाई प्रोत्साहन दिइएको छ। तसर्थ, हाम्रा मसीही सभाहरू हाम्रैनिम्ति र हामीले संगत गर्ने अरू सबैको निम्ति पनि फाइदाजनक छ। भित्री हृदयदेखि सभामा भाग लिन हामीले के गर्नुपर्छ त?
७ तिमोथीलाई सल्लाह दिंदा प्रेरित पावलले यही कुरा उल्लेख गरे: “आफैलाई भक्तितर्फ साधन गर।” (१ तिमो. ४:७) हामी आफैलाई सोध्न सक्छौं: “के मैले आफैलाई प्रशिक्षित गरिरहेको छु? मण्डलीमा सुनेका शिक्षाहरूलाई के मैले आफ्नो फाइदाको निम्ति चलाउन सिकिरहेको छु? यदि हामीले मण्डलीमा सुनेका शिक्षाहरूमा ध्यान दिएका छौं भने र सिकेका शिक्षाहरूलाई व्यवहारमा उतार्ने प्रयास गरिरहेका छौं भने, हाम्रो जवाफ सकारात्मक हुनेछ। ती भाइहरू जसले यहोवामा विश्वासी भई सिकाउने काम गरिरहेका छन्, हामीले तिनीहरूलाई होइन तर यहोवा आफै महान् शिक्षकको हैसियतमा आफ्ना जनहरूलाई सिकाइरहनुभएको छ भन्ने कुरा हाम्रो विश्वासको आँखाले देख्नुपर्छ।—यशै. ३०:२०.
८ ईश्वरतान्त्रिक सेवकाई स्कूल र सेवा सभा: यी दुई सभाहरू मसीही सेवकाईमा प्रभावकारी हुन तयार पारिएका हुन्। ईश्वरतान्त्रिक सेवकाई स्कूलको उद्देश्य—विद्यार्थीहरूले नियमित रूपमा निर्देशन र सल्लाह पाउनु हो। तपाईंले परमेश्वरको वचनको जनवक्ता र शिक्षकको हैसियतमा आफ्नो उन्नति प्रस्तुत गर्ने मौका पाउनुहुनेछ। तर स्कूलबाट पूर्णतया लाभ उठाउन, तपाईं सर्वप्रथम स्कूलमा भर्ना हुनुपर्छ, उपस्थित हुनुपर्छ, नियमित रूपमा भाग लिनुपर्छ र आफूलाई दिइएको जिम्मेवारीमा सम्पूर्ण मन लगाउनुपर्छ। दिइएको सल्लाह स्वीकारेर पालन गर्नुभयो भने त्यसले तपाईंलाई उन्नति गर्न मदत गर्नेछ।
९ सेवा सभाले मसीही सेवकाईको महत्त्वबारे सिकाउँछ र चेला बनाउने काममा हामीले भाग लिनसक्ने तरिका देखाउँछ। के तपाईं र तपाईंको परिवारले यी दुईवटा सभाहरूमा प्रस्तुत गरिएका विषयवस्तुहरूबाट पूर्णतया लाभ उठाइरहेका छन्? एक दम्पती यसो भन्छन्: “सेवा सभामा हामीले पारिवारिक रूपमा दैनिक पद छलफल गर्नुपर्छ भनेर सुन्यौं। तर हामीले यसो गरिरहेका थिएनौं। अहिले भने गरिरहेका छौं।” तिनीहरूले यसबाट कस्तो लाभ उठाए? तिनीहरू स्वीकार्छन्: “खाना खाने टेबलमा हाम्रो कुराकानी निकै आनन्ददायक भएको हामीले पायौं। रातीको खाना खाने बेलामा अब हामीबीच कुनै वादविवाद हुदैन।” के तिनीहरूका साना छोराछोरीहरूले समेत सभाहरूबाट लाभ उठाए? अवश्य। आमा भन्छिन्: “हाम्रा छोराछोरीहरूलाई सभाहरूले गहिरो प्रभाव पारिरहेका छन् भनेर प्रस्टै देखिन्छ। एक चोटि हामीले हाम्रो ६ वर्षको छोराले झूट बोलेको भेट्टायौं। तर त्यही हप्ता झूटसम्बन्धी निर्देशन भाषण थियो। उसको अनुहारमा दोषी भावनाहरू प्रस्टै देखिन्थ्यो। हाम्रो छोराले उसको बुबाको अनुहार हेऱ्यो र लाजले आफ्नो शिर निहुरायो। उसले पाठ सिक्यो, त्यसपछि कुनै समस्या आएन।”
१० हाम्रो सेवकाईलाई अझ प्रभावकारी बनाउने सन्दर्भमा सेवा सभामा दिइएको सल्लाह सुनेर एउटी अग्रगामी बहिनी खुसी भईन्। किन? तिनी बताउँछिन्: “म खाडलमा परेकी थिएँ। म कहिलेकाहीं हाम्रो राज्य सेवकाई-मा दिइएको सल्लाह केही कामको छैन भनेर सोच्थें। तर सेवा सभामा हामीले सिकेका कुराहरू प्रयोगमा ल्याउने कोसिस गर्नुपर्छ भन्ने कुरा सुनेपछि मैले सुझाउहरू प्रयोगमा ल्याउने नयाँ जोस पाएँ। यसले सेवकाईलाई साँच्चै उत्साहजनक बनायो!” पहिलो भेटमै बाइबल अध्ययन सुरु गर्नुपर्छ भन्ने सल्लाहलाई प्रयोगमा ल्याउन तिनले धेरै हप्तासम्म प्रयास गरिन्। अन्ततः तिनले पहिलो भेटमै मदतको लागि प्रार्थना गरिरहेकी केटीसँग अध्ययन गर्न सकिन्।
११ व्यक्तिगत छनौटबारे बाइबल आधारित भाषण सुन्नुहुँदा के तपाईं यहोवाले सिधै तपाईंसँगै बोलिरहनुभएको छ भनेर सम्झनुहुन्छ? एक जना भाइले त्यस्तै महसुस गरे। उनले भने: “भर्खरै मात्र एउटा सभामा एक जना भाइले कस्तो प्रकारको मनोरञ्जन मसीहीहरूको लागि उपयुक्त छ र कुनचाहिं छैन भनेर भाषण दिएका थिए। म टेलिभिजनमा बक्सिङ हेर्न मनपराउँथें। त्यस सभापछि मैले यो खेल मसीहीहरूलाई नसुहाउने वर्गमा पर्ने मनोरञ्जन हो भनेर निर्णय गरे। त्यसपछि, मैले त्यो खेल कहिल्यै हेरिनँ।” हो, यस भाइले हिंसात्मक मनोरञ्जन मन पराए तापनि नम्रतापूर्वक यहोवाको डोऱ्याइ स्वीकारे।—भज. ११:५.
१२ जन सभा, प्रहरीधरहराको अध्ययन र मण्डली पुस्तक अध्ययन: हामीले हरेक हप्ता सुन्ने जन भाषणमा बाइबलका विभिन्न विषयहरू समावेश हुन्छन्। यस्ता भाषणहरूबाट तपाईंले कस्तो लाभ उठाइरहनुभएको छ? एक पति आफूले पाएको लाभबारे यस्तो टिप्पणी गर्छन्: “एउटा जनभाषणले आत्माका सबै फलबारे प्रकाश पाऱ्यो। वक्ताले आफ्नो अनुभव बताउँदै आत्माका फलहरू खेती गर्न, हरेक हप्ता एउटा कुनै विशेष फल रोज्ने र हप्ताभरि त्यसैमा काम गर्ने गरेको बताए। हप्ताको अन्तमा, उनले कसरी आफ्ना दैनिक क्रियाकलापहरूमा ती फलहरू प्रयोगमा ल्याए, त्यसबारे पुनः विचार गरे। त्यसपछि, अर्को हप्ता फेरि अर्को गुणमा काम गरे। मलाई यो तरिका मन पऱ्यो र मैले पनि त्यसै गरें।” तिनीहरूले जे सिके त्यसलाई कत्ति राम्ररी व्यवहारमा पनि उतारे!
१३ प्रहरीधरहरा अध्ययनले हामीलाई बाइबलको सिद्धान्त आफ्नो जीवनको हरेक परिस्थितिमा प्रयोग गर्न सिकाउँछ। यसले हामीलाई जीवनका फिक्रीहरूको बावजूद मनलाई शान्त राख्न मदत गर्छ। प्रहरीधरहरा अध्ययनले उन्नतिशील सच्चाइसँग हामीलाई ताजा बनाइराख्छ। उदाहरणका लागि, मे १, १९९९ को प्रहरीधरहरा लेखहरू जस्तै: “यी हुनु आवश्यकनै छन्,” “पढ़नेले बुझोस्” र “चनाखो र लगनशील हुनुहोस्!” भन्ने अध्ययनहरूले के हामीलाई फाइदा गरेनन् र? ती लेखहरूले व्यक्तिगत रूपमा तपाईंलाई कसरी असर गऱ्यो? येशूले भविष्यबारे दिनुभएको चेताउनीलाई मनमा लिनुभएको छ भनेर के तपाईंले कामद्वारा देखाइरहनुभएको छ? के तपाईं “उजाड गर्ने घृणित कुरा . . . पवित्र स्थानमा खडा हुने” समयसँगसँगै सुरु हुने परीक्षाको लागि तयार हुनुहुन्छ? (मत्ती २४:१५-२२) के तपाईंको लक्ष्य र जीवनशैलीले भौतिक कुरा थुपार्नु नभई यहोवाको नाम महिमित गर्नु नै महत्त्वपूर्ण कुरा हो भनेर स्पष्ट देखाएको छ? के प्रहरीधरहरा अध्ययनबाट हामीले अहिल्यै लाभ उठाउन सिकिरहेका छैनौं र?
१४ मण्डली पुस्तक अध्ययनबाट हामीले हरेक हप्ता कति धेरै कुरा सिक्छौं, सोच्नुहोस् त। अहिले हामी दानियलको पुस्तक अध्ययन गर्दैछौं। हामीले चार महिनादेखि त्यो किताब अध्ययन गरिरहेका छौं, के हामीले हरेक हप्ता हाम्रो विश्वास बढीरहेको महसुस गरिरहेका छैनौं र? यहोवाको प्रिय अगमवक्ता दानियलझैं, हामी पनि हाम्रो विश्वास बलियो पार्छौं ताकि हामी सहनशील हुनसकौं।
१५ यहोवाले हामीलाई आनन्दपूर्वक बाँच्न सिकाउनुहुन्छ: जसै हामी परमेश्वरको आज्ञामा ध्यान दिन्छौं, थुप्रै चिन्तादेखि टाढा पनि रहन्छौं। यसबाहेक, आनन्दपूर्वक बाँच्नु भनेको के हो, सो अनुभव गर्छौं। यहोवाको डोऱ्याइमा हामी सुन्ने मात्र होइन तर उहाँको व्यवस्थाअनुसार काम पनि गर्छौं। साथै, परमेश्वरको काम गर्ने व्यक्ति सुखी हुन्छ।—१ कोरि. ३:९; याकू. १:२५.
१६ मण्डलीका सभाहरूमा सुनेका कुराहरूलाई कसरी लागू गर्न सकिन्छ भनेर जागरूक भएर सोच्नुहोस्। (यूह. १३:१७) परमेश्वरलाई जोसका साथ पूर्ण हृदयले सेवा गर्नुहोस्। त्यसो गर्नुभयो भने, तपाईंले धेरै आनन्द पाउनुहुनेछ। तपाईंको जीवन धेरै अर्थपूर्ण र धन्यको हुनेछ। हो, तपाईंले आफैलाई फाइदा पुऱ्याइरहनुभएको हुनेछ।