के तपाईं सहायता गर्न सक्नुहुन्छ?
१ “एउटाले अर्कोको निम्ति एकै किसिमको वास्ता राखून” भनेर प्रेरित पावलले मण्डलीका सदस्यहरूलाई आग्रह गरे। (१ कोरि. १२:२५) यसकारण, हामीले एकअर्काप्रति व्यक्तिगत चासो राख्नुका साथै खाँचो परेको खण्डमा मायालु सहायता दिन इच्छुक पनि हुनुपर्छ। एउटा उदाहरणअनुसार, हामीमध्ये कुनै कुनै आध्यात्मिक बहिनीहरू एक्लैले आफ्ना छोराछोरीलाई सत्यमा हुर्काइरहेका छन्। आफ्ना छोराछोरीलाई आध्यात्मिक प्रशिक्षण दिन यी बहिनीहरूले पूरै जिम्मेवारी आफै उठाउँदैछन्। निस्सन्देह, तिनीहरूको “अभावहरूमा” तिनीहरू हाम्रो दयालु प्रोत्साहन र व्यावहारिक सहायता पाउने योग्यका छन्। (रोमी १२:१३ख) के तपाईं तिनीहरूलाई सहायता गर्न सक्नुहुन्छ?
२ तपाईंले सहायता गर्न सक्नुहुने तरिकाहरू: सार्वजनिक यातायातमा भर पर्नुपर्नेहरूलाई सभा वा सम्मेलनमा आउनजान आफ्नो गाडीमा लैजान सकिन्छ। यसो गर्नाले त्यस परिवारको आर्थिक अवस्थामा मदत पुग्नसक्छ। सभाहरूमा स-साना बच्चाहरू भएकी आमालाई तिनको बच्चाको रेखदेख गर्न सहायता गर्नाले तिनले कार्यक्रमबाट निकै फाइदा उठाउनसक्ने छिन्। त्यसैगरी, क्षेत्र सेवकाईमा पनि तिनका बच्चाहरूको रेखदेख गरिदिंदा तिनलाई सुविधा हुनसक्छ। हामीले बच्चाहरूप्रति साँच्चै चासो राख्यौं अर्थात् तिनीहरूसित मित्रैलो व्यवहार गऱ्यौं भने हाम्रा युवाहरूमा सकारात्मक प्रभाव पार्न यसले निकै योगदान पुऱ्याउनसक्छ। कहिलेकाहीं आमा वा बाबु मात्र भएको परिवारलाई हाम्रो पारिवारिक अध्ययनमा बस्न आमन्त्रित गर्दा तिनीहरूले आध्यात्मिक स्फूर्ति पाउनसक्छन्।
३ बुद्धिमान हुनुहोस्: सहायता नचाहनेहरूलाई जबरजस्ती सहायता गर्नदेखि हामी होसियार हुनुपर्छ। आवश्यक सहायता गर्दा पनि हामी त्यस परिवारको व्यक्तिगत मामिलामा हस्तक्षेप गर्न चाहँदैनौं। निस्सन्देह, सहायता चाहिएको बहिनीलाई बहिनीहरू वा विवाहित दम्पतीहरूले सहायता गर्नु बेस हुन्छ।
४ सम्पूर्ण मसीहीहरूलाई एकअर्काप्रति “अतिथि-सत्कार कायम राख” भनी प्रोत्साहन दिइएको छ। (रोमी १२:१३ख) मसीहको जस्तो प्रेम हामी बीच पनि छ भनेर देखाउने तरिकाहरूमध्ये एउटा तरिका हाम्रा आध्यात्मिक भाइबहिनीहरूको सहायता गर्नु हो।—यूह. १३:३५.