प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km99 नोभेम्बर pp. ३-६
  • इन्टरनेटको प्रयोग—खतराहरूदेखि सावधान हुनुहोस्‌!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • इन्टरनेटको प्रयोग—खतराहरूदेखि सावधान हुनुहोस्‌!
  • हाम्रो राज्य सेवकाई—१९९९
  • मिल्दोजुल्दो सामग्री
  • इन्टरनेट चलाउँदा बुद्धि चलाउनुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • इन्टरनेटका खतराहरूदेखि म कसरी जोगिनसक्छु?
    ब्यूँझनुहोस्‌!—२०००
  • इन्टरनेटका सेवा तथा सामग्री
    ब्यूँझनुहोस्‌!—१९९७
  • इन्टरनेट सावधान हुनु किन आवश्‍यक?
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—१९९९
km99 नोभेम्बर pp. ३-६

इन्टरनेटको प्रयोग—खतराहरूदेखि सावधान हुनुहोस्‌!

१ यहोवाका जनहरू एकअर्कासित लाभदायक संगतिको आनन्द उठाउँछन्‌। तिनीहरू क्षेत्र सेवकाईमा बटुलेका अनुभवहरू अरूलाई बताउन अनि यहोवाका साक्षीहरू र राज्य प्रचारकार्यसित सम्बन्धित विश्‍वव्यापी घटनाहरूबारे सुन्‍न मन पराउँछन्‌। आफ्ना भाइहरूमाथि आइपर्नसक्ने कुनै पनि घटना जस्तै प्राकृतिक प्रकोपबारे तिनीहरू जान्‍न र आफूले पनि केही गर्नसक्छन्‌ कि भनी थाह पाउन चाहन्छन्‌। त्यस्तो चासोले भाइहरूको एकता झल्काउँछ र हामी एकअर्कालाई साँच्चै प्रेम गर्छौं भनी प्रमाणित हुन्छ।—यूह. १३:३४, ३५.

२ आज हामी विश्‍वमा भइरहेका घटनाहरू हुनेबित्तिकै सुन्छौं। रेडियो तथा टेलिभिजनहरूले विश्‍वभरिका श्रोताहरूलाई सबै जानकारी प्रत्यक्ष प्रसारण गर्छन्‌। टेलिफोनद्वारा विश्‍वको जुनसुकै भागको मानिससित तुरुन्तै कुरा गर्न सकिने भएको छ। अहिले सञ्चार माध्यममा विश्‍वभरि इन्टरनेट निकै लोकप्रिय हुँदै गइरहेको छ।—अगस्त ८, १९९७, ब्यूँझनुहोस्‌! हेर्नुहोस्‌।

३ टेलिफोनको आविष्कार सँगसँगै विश्‍वभरि तुरुन्तै व्यक्‍तिगत सम्पर्क राख्ने बाटो खुल्यो। टेलिफोन एकदमै उपयोगी भए तापनि त्यसको प्रयोग कुन तरिकामा गरिन्छ, त्यस सन्दर्भमा होसियार हुनुपर्छ। किनभने यो अनुचित संगति वा गतिविधिको लागि माध्यम साबित हुनुका साथै खर्चालु पनि हुनसक्छ। शैक्षिक क्षेत्रमा टेलिभिजन र रेडियोको महत्त्वपूर्ण भूमिका रहेको छ। तर दुःखको कुरा प्रायजसो कार्यक्रमहरू नैतिक रूपमा भ्रष्ट र समयको फजुल खर्च साबित भएको छ। तसर्थ, टेलिभिजन र रेडियोमा कार्यक्रमहरू हेर्दा अत्यन्तै होसियारसाथ छनौट गर्नु बुद्धिमानी कुरा हो।

४ इन्टरनेट मार्फत हामी विश्‍वभरिका लाखौं मानिसहरूसित ज्यादै कम खर्चमा सम्पर्क राख्नसक्छौं र यो जानकारीको भण्डार पनि हो। (ब्यूँझनुहोस्‌!, जनवरी ८, १९९८) (अङ्‌ग्रेजी) तर, मनपरी इन्टरनेट चलायौं भने त्यसले हाम्रो आध्यात्मिकता तथा नैतिकतालाई खतरामा पार्नसक्छ। कसरी?

५ बमलगायत विभिन्‍न हातहतियार बनाउने जानकारी इन्टरनेटद्वारा सजिलै हात पार्न सकिने भएकोले थुप्रै मानिसहरू चिन्तित भएका छन्‌। उद्योगपतिहरू आफ्ना कामदारहरूले इन्टरनेटमा धेरै समय खर्च गरेको गुनासो गर्छन्‌। हाम्रा प्रकाशनहरूमा इन्टरनेट प्रयोग गर्दा हुनसक्ने आध्यात्मिक खतराहरूबारे धेरै कुरा भनिसकिएको छ। कतिपय वेब साइटहरू हिंसा र अश्‍लील विषयवस्तुहरूले भरिएका हुँदा मसीहीहरूको निम्ति पूर्णतया अनुपयुक्‍त छ। (भज. ११९:३७) यी खतराहरूबाहेक यहोवाका साक्षीहरू विशेष गरी होसियार हुनुपर्ने अर्को खतरा पनि छ। त्यो खतरा के हो?

६ के तपाईं चिन्दै नचिनेको मानिसलाई आफ्नो घरमा पस्न दिनुहुन्छ? तिनी को हुन्‌ भनी थाह पाउने तरिका नै छैन भने नि? के तपाईं त्यो नचिनेको मानिसलाई आफ्ना बच्चाहरूसित एक्लै छोड्‌नुहुन्छ? तर, इन्टरनेटमा यसो त हुन्छ नै, नहुने कुरै छैन।

७ इन्टरनेट मार्फत आफूले नचिनेका मानिसलाई इलेक्ट्रोनिक पत्र पठाउन अनि प्राप्त गर्न सकिन्छ। तपाईंले फोरम वा च्याट रूममा कुराकानी गर्नुहुँदा पनि कुरा यही हो। छलफलमा भाग लिने व्यक्‍तिहरूले कहिलेकाहीं आफू यहोवाको साक्षी भएको दाबी गरे तापनि, वास्तवमा हुँदैनन्‌। आफूलाई जवान मानिस भनेर चिनाउने व्यक्‍ति बूढो हुनसक्छ। अनि केटा भनेर चिनाउनेचाहिं केटी र केटी भनेर चिनाउनेचाहिं केटा पनि हुनसक्छ।

८ तपाईंले पाउनुहुने जानकारी अक्सर अनुभव वा हाम्रा विश्‍वासहरूबारे गरिएका टिप्पणीहरू हुनसक्छन्‌। यस्ता जानकारी प्रायः एकपछि अर्को गर्दै थुप्रै मानिसहरूलाई दिइन्छ। तथापि, यी जानकारीहरू प्रायः निराधार अनि झूटो पनि हुनसक्छ। धर्मत्यागी विचारहरू फैलाउनका लागि तयार पारिएको झूटो बहाना पनि हुनसक्छ।—२ थिस्स. २:१-३.

९ यस्ता खतराहरू मनमा राख्दै आफैलाई सोध्नुहोस्‌: ‘म के कामको लागि इन्टरनेट चलाउँछु? इन्टरनेट चलाउँदा आध्यात्मिक हानि पुग्ने कुनै सम्भावना छ कि? वा कसैलाई आध्यात्मिक हानि पो पुऱ्‍याइरहेको छु कि?’

१० “यहोवाका साक्षीहरूको” वेब साइट: उदाहरणका लागि, यहोवाको साक्षी हुँ भनी दाबी गर्ने केही व्यक्‍तिहरूको वेब साइटलाई लिनुहोस्‌। यस्ता वेब साइटहरूमा साक्षी भनौंदा व्यक्‍तिहरूको अनुभव पढ्‌न आमन्त्रित गरिएको हुन्छ। साथै सोसाइटीका साहित्यहरू पढेर आफ्नो सोचाइ र धारणा बताउन पनि प्रोत्साहन दिइएको हुन्छ। कसै कसैले त क्षेत्र सेवकाईमा चलाउन सकिने प्रस्तुतिहरूको पनि सुझाउ दिन्छन्‌। यी वेब साइटहरूमा च्याट सुविधा अर्थात्‌ टेलिफोनमा कुरा गरेजस्तै प्रत्यक्ष कुराकानी गर्ने प्रबन्ध पनि हुन्छ। यसबाहेक संसारभरिका यहोवाका साक्षीहरूसित कम्प्युटर मार्फत कुराकानी गर्न अरू वेब साइटहरूमा सम्पर्क गर्ने सुविधा पनि उपलब्ध हुन्छ। तर यी वेब साइटहरू धर्मत्यागी व्यक्‍तिले तयार पारेको होइन भनेर के तपाईं निश्‍चिन्त हुन सक्नुहुन्छ?

११ इन्टरनेट मार्फत संगति गर्नु, एफिसी ५:१५-१७ मा दिइएको सुझाउसित मेल नखान पनि सक्छ। प्रेरित पावलले भने: “कसरी हिंडछौ ठीकसँग हेर, निर्बुद्धि जस्तो होइन, तर बुद्धिमान मानिसजस्तो, समयको अवसर विचार गरेर सम्झ, किनभने समय खराब छ। यसैकारण मूर्ख नहोऊ, तर प्रभुको इच्छा के रहेछ, सो बुझ।”

१२ “विश्‍वासी र बुद्धिमान दास[ले]” हामीलाई आध्यात्मिक भोजन दिने ईश्‍वरतान्त्रिक माध्यम मसीही मण्डली हो। (मत्ती २४:४५-४७) संसारदेखि अलग रहन चाहिने निर्देशन तथा सुरक्षाका साथै प्रभुको काममा व्यस्त रहने उत्प्रेरणा परमेश्‍वरको संगठनभित्र पाउँछौं। (१ कोरि. १५:५८) भजनरचयिताले परमेश्‍वरका जनहरूको जमातबीच आनन्द अनि सुरक्षाको अनुभूति गरे। (भज. २७:४, ५; ५५:१४; १२२:१) मण्डलीले आफ्ना सदस्यहरूलाई आध्यात्मिक मदत र आड दिन्छ। मण्डलीमा तपाईंले मायालु, अरूको चासो राख्ने, विचारशील व्यक्‍तिहरू पाउनुहुन्छ, जो आपत्‌मा परेकाहरूलाई मदत अनि सान्त्वना दिन हरबखत तयार छन्‌ भनेर तपाईंले व्यक्‍तिगत रूपमा राम्ररी बुझ्नुभएको छ। (२ कोरि. ७:५-७) अपश्‍चात्तापी अनि धर्मत्यागी विचार फैलाउने व्यक्‍तिहरूलाई वहिष्कार गर्ने आध्यात्मिक प्रबन्ध भएको हुँदा मण्डलीका सदस्यहरू सुरक्षित छन्‌। (१ कोरि. ५:९-१३; ती. ३:१०, ११) इन्टरनेटद्वारा अरू व्यक्‍तिहरूसँग संगत गर्दा के हामी यस्तै मायालु प्रबन्धहरूको आशा गर्नसक्छौं त?

१३ बरु उल्टो पो भइरहेको छ। कुनै कुनै वेब साइटहरू धर्मत्यागी हल्लाहरू फैलाउने माध्यम हुन्‌ भनी प्रस्टै देखिएको छ। वेब साइटले बेग्लै दाबी गरेको होला। वेब साइट जसको हो, उसले आफू साक्षी हुँ भनी प्रमाणित गर्न लामो न लामो परिचय पनि दिएको हुनसक्छ। अझ तपाईं पनि साक्षी हो भनेर प्रमाणित गर्ने जानकारी समेत माग्ला।

१४ तपाईंले आफ्नो विवेक प्रयोग गरेको यहोवा चाहनुहुन्छ। किन? किनभने त्यसले तपाईंलाई विभिन्‍न खतराहरूदेखि जोगाउनेछ भनेर उहाँलाई थाह छ। हितोपदेश २:१०-१९ को सुरुमा यसो भनिएको छ: “बुद्धि तेरो मनभित्र गाडिनेछ, र ज्ञान तेरो हृदयको आनन्द हुनेछ। विवेकले तँमाथि हेरचाहा गर्नेछ, समझ-शक्‍तिले तेरो रक्षा गर्नेछ।” केबाट रक्षा? “खराब चाल” जस्ता कुराहरूबाट। अर्को शब्दमा भन्‍ने हो भने, गलत मार्गमा चल्ने अनि अनैतिक अनि छली मार्गमा हिंड्‌नेहरूबाट।

१५ राज्यभवनमा हामी आफ्ना भाइहरूमाझ हुन्छौं भन्‍ने कुरामा कुनै शंका छैन। हामी तिनीहरूलाई चिन्छौं। त्यहाँ कुनै प्रमाणको आवश्‍यकता हुँदैन किनकि उनीहरूको भ्रातृत्व प्रेमबाटै तिनीहरू साक्षीहरू हुन्‌ भन्‍ने कुरा प्रस्ट हुन्छ। साथै हामी यहोवाका साक्षी हौं भन्‍ने कुनै प्रमाण दिनु पनि आवश्‍यक पर्दैन। पावलले हिब्रू १०:२४, २५ मा उल्लेख गरेअनुरूप साँच्चै प्रोत्साहनको आदानप्रदान भइरहेको देख्न पाउने ठाउँ मण्डली हो। कम्प्युटरमार्फत संगत गर्न प्रोत्साहन दिने वेब साइटहरूबाट हामी यस्तो प्रोत्साहनको आशा गर्न सक्दैनौं। भजन २६:४, ५ लाई ध्यानमा राख्यौं भने इन्टरनेटका वेब साइटहरूमा हुनसक्ने खतराहरूदेखि सचेत हुनसक्छौं।

१६ इन्टरनेटमा कस्ता जानकारी राख्ने वा कसले ती जानकारी लिइरहेका छन्‌, सो नियन्त्रण गर्ने कुनै सीमा वा प्रतिबन्ध छैन। फलतः अक्सर केटाकेटी अनि किशोरकिशोरीहरू अपराध अनि दुर्व्यवहारको सजिलै सिकार हुन्छन्‌। केटाकेटीहरू इन्टरनेट खोतल्न उत्सुक हुन्छन्‌ र अरूलाई छिट्टै विश्‍वास गरिहाल्छन्‌। तसर्थ इन्टरनेट चलाउने सन्दर्भमा छोराछोरीको निगरानी राख्नुका साथै संगीत अनि फिल्महरूबारे हितकारी आध्यात्मिक निर्देशन दिएजस्तै इन्टरनेटको प्रयोगबारे पनि दिनुपर्छ।—१ कोरि. १५:३३.

१७ दुःखको कुरा, इन्टरनेटमा च्याट रूमद्वारा संसारिक मानिसहरूसित संगत गरेर अनैतिकतामा फस्ने हाम्रा केही भाइ बहिनीहरूलाई बहिष्कार गर्नुपरेको छ। कसै कसैले इन्टरनेटमा भेटेको व्यक्‍तिसँग जीवन बिताउन आफ्नो लोग्ने वा स्वास्नीलाई समेत छोडेको घटनाबारे प्राचीनहरूले स्तब्ध हुँदै सोसाइटीलाई चिठी लेखेका छन्‌। (२ तिमो. ३:६) अरू कतिपयले चाहिं धर्मत्यागीहरूको कुरा पत्याएर सच्चाइलाई छाडेका छन्‌। (१ तिमो. ४:१, २) यी सबै गम्भीर खतराहरूलाई विचार गर्ने हो भने, इन्टरनेटको च्याट रूममा अरूसँग संगत गर्नदेखि सावधान हुनु के व्यावहारिक नहोला त? निस्सन्देह हितोपदेश २:१०-१९ मा वर्णन गरिएको बुद्धि, ज्ञान, विवेक चलायौं भने हामी सुरक्षित हुनसक्छौं।

१८ सुसमाचार प्रचार गर्ने नाउँमा वेब साइटहरू तयार पार्ने थुप्रै व्यक्‍तिहरू पनि छन्‌। यीमध्ये कतिपय वेब साइटहरू हाम्रै अविवेकी भाइहरूका हुन्‌। अरू कतिचाहिं सोझाहरूलाई हात पार्न धर्मत्यागीहरूले तयार पारेका हुनसक्छन्‌। (२ यूह. ९-११) हाम्रा भाइहरूले इन्टरनेटमा यस्ता वेब साइटहरू राख्नु आवश्‍यक छ वा छैन, सो विषयमा टिप्पणी गर्दै नोभेम्बर १९९७ अंकको हाम्रो राज्य सेवकाई-को पृष्ठ ३ मा यसो भनिएको थियो: “हामी यहोवाका साक्षीहरूबारे, हाम्रो क्रियाकलाप वा हाम्रो विश्‍वाससम्बन्धी कसैले पनि इन्टरनेट पेजहरू तयार पार्नु आवश्‍यक छैन। हाम्रो औपचारिक साइटले [www.watchtower.org] नै जिज्ञासुहरूका लागि सही जानकारी प्रस्तुत गर्छ।”

१९ इन्टरनेट मार्फत अध्ययन सामग्री उपलब्ध गराउने? केही व्यक्‍तिहरूले विभिन्‍न ईश्‍वरतान्त्रिक गतिविधिहरूबारे गरिएका अनुसन्धानहरू वेब साइटमा राखेर भाइहरूलाई मदत पुऱ्‍याइरहेको छु भन्‍ने सोचेका छन्‌। जस्तै, जन-भाषणको खेस्रालाई आधार बनाएर कसै कसैले अनुसन्धान गर्ला अनि त्यो भाषण दिने भाइलाई सजिलो होस्‌ भन्‍नाको निम्ति वेब साइटमा राख्ला। अथवा अरू कसैले चाहिं प्रहरीधरहरा अध्ययन लेखमा दिइएका सबै शास्त्रपदहरू वा ईश्‍वरतान्त्रिक सेवकाई स्कूल वा मण्डली पुस्तक अध्ययनका लागि स्रोत सामग्रीहरू संकलन गरेर वेब साइटमा हाल्नसक्छन्‌। क्षेत्र सेवकाईमा चलाउने प्रस्तुतिहरूको सुझाउ दिनेहरू पनि होलान्‌। तर के यी साँच्चै मदतकारी छन्‌ त?

२० यहोवाको संगठनले तयार पारेको प्रकाशनहरूले हामीलाई लाभदायी कुराहरू सोच्न उत्प्रेरित गर्नुका साथै “खराब र असल छुट्ट्याउनालाई” प्रशिक्षण दिन्छ। (हिब्रू ५:१४) तर अरूले हाम्रोनिम्ति अनुसन्धान गर्दा त्यस्तै फाइदा होला भनेर के हामी भन्‍नसक्छौं र?

२१ बिरियाकाहरू “थिस्सलोनिकीहरूभन्दा उत्तम थिए।” किन? “किनभने यिनीहरूले हृदयमा ज्यादै तयारी भएर धर्मशास्त्र ग्रहण गरे, र ती कुराहरू ठीक हुन्‌ कि होइनन्‌ भनेर दिनहुँ धर्मशास्त्रमा खोजी गर्थे।” (प्रेरि. १७:११) तिनीहरूलाई प्रचार गर्ने व्यक्‍ति पावल र सिलास नै भए तापनि, व्यक्‍तिगत तवरमा आफैले नजाँचेसम्म तिनीहरूले सत्यलाई आफ्नो बनाएनन्‌।

२२ भाषण दिन वा सभाहरूको निम्ति तयारी गर्न अरूले गरेको अनुसन्धानको मदत लियो भने व्यक्‍तिगत अध्ययनको के नै अर्थ रह्‍यो र? के तपाईं आफैले प्रयास गरेर परमेश्‍वरको वचनमाथि विश्‍वास बढाउन चाहनुहुन्‍न र? आफैले विश्‍वास गर्न सके पो, भाषणहरूमा, सभाहरूमा दिनुहुने टिप्पणीहरूमा अनि क्षेत्र सेवकाईमा आफ्नो विश्‍वास जन समक्ष व्यक्‍त गर्न सक्नुहुन्छ। (रोमी १०:१०) अरूले गरेको अनुसन्धानको मदत लिनु अनि हितोपदेश २:४, ५ मा आफैले ‘गाड-धनझैं परमेश्‍वरको ज्ञानको खोजी गर्नु’ भनी दिइएको सल्लाह पटक्कै मेल खाँदैन।

२३ उदाहरणको लागि, आफ्नै बाइबलबाट शास्त्रपदहरू पढ्‌दा हरेक पदको प्रसंग केलाउन सकिन्छ। लूकाले सुसमाचारको पुस्तक लेख्दा गरेजस्तै तपाईंले ‘सब कुरा ठीक ठीक बुझ्न’ सक्नुहुन्छ। (लूका १:३) यसरी गर्नुभएको थप प्रयासले सेवकाईमा अनि भाषणहरू दिंदा सजिलैसँग पदहरू भेट्टाउन पनि मदत गर्छ। यहोवाका साक्षीहरूले बाइबल चलाउन जानेको देखेर थुप्रैले प्रशंसा गरेका छन्‌। तर यी सबै कुरा हामीमाथि तब मात्र लागू हुन्छ, जब हामी आफ्नै बाइबल पल्टाएर पढ्‌ने बानी बसाल्छौं।

२४ बुद्धिमानीपूर्वक समयको सदुपयोग गर्ने: हामीले विचार गर्नुपर्ने अर्को पक्ष इन्टरनेटमा जानकारीहरू राख्न, पढ्‌न अनि जवाफ दिन लाग्ने समय पनि हो। भजन ९०:१२ ले “आफ्ना दिन गनेर बस्न हामीलाई सिकाउनुहोस्‌, र हामीले बुझ्ने हृदय पाऔं” भनेर प्रार्थना गर्ने प्रोत्साहन दिन्छ। त्यस्तै गरी पावलले “समय अल्प भएको छ” भने। (१ कोरि. ७:२९) साथै “अब मौका हुँदानै सबै मानिसतर्फ, खास गरेर विश्‍वासका घरानातर्फ, भलाइको काम गरौं” भनेर पनि लेखे।—गला. ६:१०.

२५ यस्ता सल्लाहहरूले हामी कुन कुरामा समय लगाउँदैछौं, सो विचार गर्नुपर्ने आवश्‍यकतामाथि जोड दिन्छ। परमेश्‍वरको वचन पढ्‌न समय लगाउनु कत्ति फाइदाजनक छ! (भज. १:१, २) त्यो हामीले पाउनसक्ने सबैभन्दा उत्तम संगति पनि हो। (२ तिमो. ३:१६, १७) आमाबाबुहरू हो, के तपाईं आफ्ना छोराछोरीहरूलाई राज्यसम्बन्धी गतिविधिहरूमा समय लगाउनु बुद्धिमानी हो भनेर सिकाउँदै हुनुहुन्छ? (उप. १२:१) व्यक्‍तिगत अनि पारिवारिक अध्ययन गर्न, सभाहरूमा उपस्थित हुन अनि क्षेत्र सेवकाईमा जान लगाएको समयले दिने लाभ इन्टरनेटमा खेर फालेको समयको भन्दा कता हो कता धेरै छ।

२६ यस सन्दर्भमा हामीले आध्यात्मिक कामकुराहरू अनि मसीहीको नाताले विचार गर्नुपर्ने व्यावहारिक अनि आवश्‍यक कुराहरूमा ध्यान केन्द्रित गर्नु बुद्धिमानी हो। कुन किसिमको जानकारीलाई समय दिनु अनि विचार गर्नु योग्यको छ कि छैन, राम्ररी छान्‍नुपर्छ। मसीहीको नाताले हाम्रो आवश्‍यकताबारे ख्रीष्टले सारांशमा यसो भन्‍नुभयो: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्‌।” (मत्ती ६:३३) अरू गतिविधिभन्दा राज्यसम्बन्धी गतिविधिमा व्यस्त रहँदा, के तपाईंले धेरै आनन्द महसुस गर्नुभएको छैन र?

२७ इन्टरनेट इ-मेल: टाढा बस्ने परिवारको सदस्य वा मित्रसँग व्यक्‍तिगत अनुभवहरू बाँड्‌नु उपयुक्‍त भए तापनि, तपाईंको परिवार वा मित्रलाई चिन्दै नचिन्‍ने मानिसहरूलाई त्यस्ता जानकारीहरू पठाउनु के मायालु कुरा होला त? अथवा सबैले पढ्‌ने वेब पेजमा सार्वजनिक गर्नु मिल्ला त? आफूले चिनेको वा चिन्दै नचिनेका मानिसहरूलाई यस्ता व्यक्‍तिगत सन्देशहरू पठाउनु ठीक छ त? अनि त्यसै गरी, तपाईंको निम्ति मात्र भनेर कसैले पठाएको जानकारी सार्वजनिक गर्नु के मायालु कुरा हो त?

२८ अनि तपाईंले अरूलाई पठाउनुभएको अनुभव गलत रहेछ भने नि? के त्यो झूट फैलाए सरह भएन र? (हितो. १२:१९; २१:२८; ३०:८; कल. ३:९) “कसरी हिंडछौ ठीकसँग हेर, निर्बुद्धि जस्तो होइन, तर बुद्धिमान मानिसजस्तो” भन्‍ने सल्लाहले यसलाई गम्भीरतापूर्वक विचार गर्न हामीलाई अवश्‍य उत्प्रेरित गर्नेछ। (एफि. ५:१५) वार्षिक पुस्तक, प्रहरीधरहरा अनि ब्यूँझनुहोस्‌! मार्फत हामीलाई “बाटो[मा]” लागिरहने प्रोत्साहन दिने प्रामाणिक अनुभवहरू पढ्‌न पाएकोमा हामी अत्यन्तै खुसी छौं!—यशै. ३०:२०, २१.

२९ विचार गर्नुपर्ने अर्को खतरा पनि छ। प्रेरित पावलले केही व्यक्‍तिहरूबारे यसो भने: “तिनीहरू घरघर डुल्ने भई अल्छी हुन सिक्छन्‌, औ केवल अल्छी मात्र होइन तर कुरौटे, अरूको काममा हात हाल्ने, बोल्न नहुने कुराहरू बोल्ने, हुन्छन्‌।” (१ तिमो. ५:१३) यसले अवश्‍य हाम्रा भाइहरूको विषयमा चाहिने नचाहिने कुराहरू फैलाउन समय अनि मेहनत खेर फाल्नदेखि सतर्क गराउँछ।

३० अनि तीन थुप्रो इ-मेल पढ्‌न वा पठाउन लाग्ने समयलाई पनि विचार गर्नुहोस्‌। डेभिड शेंकले जानकारी प्रदूषण नामक किताबमा यसो भने: “चिनजान, साथीभाइ, परिवार अनि व्यापारीहरूबाट दिनहुँ दर्जनौं इ-मेल पढ्‌नु अनि त्यसको जवाफ पठाउनु पर्दा, इ-मेल रमाइलो होइन कि समय खाने बोझ बन्‍नपुग्छ।” तिनी अझ यसो भन्छन्‌: “इन्टरनेट अनि इ-मेलद्वारा भएभरको जानकारी प्राप्त गर्न खोज्ने केही जानकारी भोगीहरूलाई नराम्रो बानी लागेको हुन्छ। आफूले प्राप्त गरेको सबै ठट्यौली, कथा, चेनलेटर अनि त्यस्तै, आफ्नो इलेक्ट्रोनिक एड्रेस बूकमा भएजति सबैलाई नपठाएसम्म उनीहरूलाई खाएकै पच्दैन।”

३१ थुप्रै भाइहरूबीच आवतजावत हुने इ-मेलमा उक्‍त कुरा प्रस्ट देखिएको छ। सेवकाईमा भएका कुराहरूमा आधारित ठट्यौली वा कुनै हाँसउठ्‌दो घटना; हाम्रा विश्‍वाससित सम्बन्धित कविता; सम्मेलन, अधिवेशन वा राज्यभवनमा दिइएका भाषणहरूबाट लिइएका उदाहरणहरू; क्षेत्र सेवकाईमा बटुलेको अनुभव आदि लगायत अन्य त्यस्तै हानिकारक नदेखिने कुराहरू थुप्रै भाइहरूले इ-मेलद्वारा लेनदेन गर्ने गर्छन्‌। कतिपय भाइबहिनीहरू त्यस्ता इ-मेलहरू कहाँबाट आएको हो, जाँच्दै नजाँची अरूलाई पठाउने गर्छन्‌। फलतः इ-मेल लेख्ने को भनेर थाह लगाउनु गाह्रो हुन्छ र यसैले गर्दा पनि त्यो जानकारी साँचो हो कि होइन भनेर शंका गर्नुपर्ने हुन्छ।—हितो. २२:२०, २१.

३२ पावलले तिमोथीलाई लेखेका पक्का कुराहरू पक्कै पनि हावादारी सन्देशहरू होइनन्‌ किनभने पावलले यसो भने “ख्रीष्ट येशूमा भएको विश्‍वास र प्रेममा तिमीले मबाट जे सुनेका छौ, ती पक्का कुराहरूको नमुना पक्रीराख।” (२ तिमो. १:१३) धर्मशास्त्रीय सत्यको “शुद्ध भाषा[मा]” आफ्नो राज्यमार्फत यहोवाको सार्वभौमिकता उच्च पार्ने बाइबलको मूल शीर्षकमाथि आधारित “पक्का कुराहरूको नमुना” पाइन्छ। (सप. ३:९) हामीले आफूसित भएजति समय अनि शक्‍ति यहोवाको सार्वभौमिकता यसरी उच्च पार्ने काममा लगाउने हर यत्न गर्नुपर्ने हो।

३३ हामी अहिले यस रीतिरिवाजको अन्त हुने समयको ज्यादै नजिक भएकाले हरबखत सतर्क रहनु आवश्‍यक छ। बाइबल हामीलाई यस्तो चेताउनी दिन्छ: “सचेत रहो, जागा रहो, तिमीहरूको विरोधी शैतान, कसलाई भेट्टाऊँ र निलिहालूँ भनेर गर्जने सिंहझैं खोजेर हिंडछ।” (१ पत्रु. ५:८) अनि यसो पनि भन्छ: “शैतानका युक्‍तिहरूका विरुद्धमा खडा हुनसक्नालाई परमेश्‍वरको सारा हात-हतियार धारण गर।”—एफि. ६:११.

३४ इन्टरनेटको दुरुपयोग हुँदा, शैतानले त्यसको नाजायज फाइदा उठाएर मानिसहरूलाई आफ्नो वशमा पार्ने माध्यमको रूपमा प्रयोग गर्छ। इन्टरनेटको सीमित उपयोगिता भए तापनि, सावधानी नअपनाएको खण्डमा खतरा बन्‍नसक्छ। विशेष गरी आमाबाबुले आफ्नो छोराछोरीले इन्टरनेट चलाउँदा तिनीहरूको गतिविधिहरूमा ध्यान दिनु आवश्‍यक छ।

३५ इन्टरनेटप्रति सन्तुलित दृष्टिकोण राख्नु हाम्रै सुरक्षा हो। यस सन्दर्भमा हामी पावलले दिएको यस समयसापेक्ष सम्झौटोको मूल्यांकन गर्छौं: “यस संसारका रीतिमा चल्नेहरू नचल्नेहरूजस्ता होऊन्‌, किनभने यस संसारको रूप बितेर जाँदैछ।” (१ कोरि. ७:२९-३१) यी कुराहरूलाई मनमा राख्यौं भने, इन्टरनेटलगायत यस संसारले दिन सक्ने कुराहरूमा हामी र हाम्रो परिवार अलमलिने छैनौं।

३६ मण्डलीमा भएका हाम्रा भाइबहिनीहरूसित घनिष्ठ भएर बचेखुचेको समय बुद्धिमानीपूर्वक सदुपयोग गर्नु अनि परमेश्‍वरको राज्य प्रचार गर्ने कामको लागि तयार हुनु जरुरी छ। यो संसारको अन्त झन्‌ झन्‌ नजिक हुँदै जाँदा हामीचाहिं ‘यस्तो चाल नचलौं जस्तो अन्यजातिहरू आफ्ना आफ्ना मनको व्यर्थतामा चल्दछन्‌।’ बरु ‘प्रभुको इच्छा के रहेछ, सो बुझौं।’—एफि. ४:१७; ५:१७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने