प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 ८/१५ pp. ३-५
  • इन्टरनेट चलाउँदा बुद्धि चलाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • इन्टरनेट चलाउँदा बुद्धि चलाउनुहोस्‌
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जानकारी सही हो कि गलत?
  • इन्टरनेटले समय बचाउँछ कि समय खान्छ?
  • जानकारी—राम्रो कि नराम्रो?
  • कस्तो जानकारी पठाउने र कस्तो नपठाउने?
  • इन्टरनेट सावधान हुनु किन आवश्‍यक?
    ब्यूँझनुहोस्‌!—१९९७
  • के इन्टरनेट डेटिङ साँच्चै खतरनाक हुन सक्छ?
    ब्यूँझनुहोस्‌!—२००५
  • इन्टरनेट के हो?
    ब्यूँझनुहोस्‌!—१९९७
  • के तपाईंलाई इन्टरनेट नभई हुँदैन?
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 ८/१५ pp. ३-५

इन्टरनेट चलाउँदा बुद्धि चलाउनुहोस्‌

इन्टरनेटको कारण अहिले हामी आफूलाई चाहिएको जस्तोसुकै जानकारी जुनसुकै ठाउँमा अनि जुनसुकै समयमा पाउन सक्छौं। संसारको हरेक कुनामा बस्ने मानिसहरूले आपसमा सञ्चार कायम राख्न इन्टरनेटको प्रयोग गर्नु अब कुनै नौलो कुरा रहेन।

सञ्चार कायम गर्ने क्षमता हाम्रो सृष्टिकर्ताले हामीलाई दिनुभएको अद्‌भुत उपहार हो। यस उपहारको कारण हामी अरूसित विचार आदानप्रदान गर्न र जानकारी साटासाट गर्न सक्छौं। मानव परिवारसित सबैभन्दा सुरुमा कुराकानी गर्ने व्यक्‍ति यहोवा स्वयम्‌ हुनुहुन्थ्यो। उद्देश्‍यपूर्ण जीवन कसरी जिउने भन्‍ने सन्दर्भमा उहाँले सुस्पष्ट निर्देशन दिनुभएको थियो। (उत्प. १:२८-३०) तर मानव इतिहासको सुरुमा घटेको घटनाले देखाएअनुसार यो अद्‌भुत उपहारको दुरुपयोग पनि हुन सक्छ। सैतानले हव्वालाई सरासर गलत जानकारी दियो। तिनले त्यसको कुरा पत्याइन्‌ र आदमलाई पनि बताइन्‌। त्यसपछि आदमले आफूले पाएको गलत जानकारीअनुसारै कदम चाले अनि सबै मानिसहरूमाथि दुःखकष्ट ल्याए।—उत्प. ३:१-६; रोमी ५:१२.

इन्टरनेट चलाउने सन्दर्भमा चाहिं के भन्‍न सकिन्छ नि? इन्टरनेटबाट हामीले थुप्रै बहुमूल्य जानकारी पाउन सक्छौं अनि यसले हाम्रो समय र शक्‍तिको बचत गर्छ। तर अर्कोतिर यसले हामीलाई गलत जानकारी दिन, हाम्रो समय खान र हामीलाई नैतिक तवरमा भ्रष्ट पार्न पनि सक्छ। त्यसैले इन्टरनेट चलाउँदा हामी कसरी बुद्धिमानीपूर्वक यसको सदुपयोग गर्न सक्छौं, विचार गरौं।

जानकारी सही हो कि गलत?

इन्टरनेटमा पाइने सबै जानकारी राम्रो हुन्छ भनेर कहिल्यै नसोच्नुहोस्‌। इन्टरनेटको ‘सर्च इन्जिन’ प्रयोग गरेर खोज्दा देखा पर्ने जानकारीलाई हामी जङ्‌गली च्याउसित तुलना गर्न सक्छौं। जङ्‌गलमा च्याउ खोज्नेहरूले सकेसम्म धेरै च्याउ टिप्दै झोलामा हाल्दै गर्छन्‌। त्यस झोलामा खान हुने च्याउ अनि विषालु च्याउ दुवै हुन सक्छ। के तपाईं त्यो च्याउ राम्ररी नकेलाई खानुहुन्छ? विषालु च्याउ छुट्ट्याएर मात्र खानुहुन्छ नि होइन? इन्टरनेटमा हामीले कुनै जानकारी खोज्दा असङ्‌ख्य कम्प्युटरमा भएका अरबौं वेब पेजका जानकारी देखा पर्छन्‌। यी जानकारी कुनै-कुनै अत्यन्तै राम्रा हुन्छन्‌ भने कुनै-कुनै कामै नलाग्ने। गलत जानकारीद्वारा हाम्रो दिमाग विषाक्‍त हुन नदिने हो भने राम्रो र नराम्रो जानकारी छुट्ट्याउन बुद्धि चलाउनुपर्छ।

सन्‌ १९९३ मा एउटा लोकप्रिय पत्रिकामा छापिएको कार्टुनचित्रमा कम्प्युटरको अगाडि दुई वटा कुकुर देखाइएको थियो। एउटा कुकुरले अर्को कुकुरलाई यसो भनिरहेको थियो: “इन्टरनेट चलाउँदा तिमी कुकुर हो भनेर कसैलाई पनि थाह हुँदैन।” धेरै वर्ष पहिला सैतानले सर्पलाई चलाएर हव्वासित कुराकानी गरेको थियो, कम्प्युटर भाषामा भन्‍ने हो भने “च्याट” गरेको थियो। त्यतिबेला सैतानले हव्वालाई तिनी परमेश्‍वर जस्तै हुन सक्छिन्‌ भनेर बताएको थियो। त्यसै गरी आज इन्टरनेटमा जो-कसैले आफूलाई कुनै विषयको ज्ञाताको रूपमा प्रस्तुत गर्न सक्छन्‌। आफ्नो परिचय नखुलाईकनै जोसुकैले पनि आफ्नो धारणा, जानकारी, फोटो अनि सरसल्लाह इन्टरनेटमा राख्न सक्छन्‌।

इन्टरनेट चलाउँदा हव्वाजस्तै जसले जे भन्यो त्यही पत्याइहाल्ने नहुनुहोस्‌! त्यसमा भएका जानकारीलाई आँखा चिम्लेर भरोसा गर्नअघि खोजीनिती गर्नुहोस्‌, त्यसलाई शङ्‌काको दृष्टिले हेर्नुहोस्‌। अनि आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: (१) यो जानकारी कसले लेखेका हुन्‌? के यसका लेखक भरोसायोग्य छन्‌? (२) यो लेख किन प्रकाशित गरियो? यो लेख लेख्नुको कुनै कारण छ कि? के यो लेख पूर्वाग्रही छ? (३) लेखकले यस्तो जानकारी कहाँबाट पाए? के तिनले त्यसको स्रोत खुलाएका छन्‌? (४) कतै तिनले आफ्नो साइटमा राखेको जानकारी पुरानो भइसकेको त छैन? प्रथम शताब्दीमा प्रेषित पावलले तिमोथीलाई दिएको यो सल्लाह आज पनि उत्तिकै लागू हुन्छ: “तिमीलाई नासोको रूपमा जे सुम्पिइएको छ, त्यसको हिफाजत गर अनि पवित्र कुरालाई बिटुलो पार्ने खोक्रा बोलीहरूबाट र झूटा ज्ञानका परस्परविरोधी कुराहरूबाट अलग बस।”—१ तिमो. ६:२०.

इन्टरनेटले समय बचाउँछ कि समय खान्छ?

बुद्धिमानीपूर्वक इन्टरनेट प्रयोग गरियो भने यसले हाम्रो समय, शक्‍ति र पैसा बचाउँछ। हामी घरैमा बसेर सजिलैसित किनमेल गर्न सक्छौं। मूल्य तुलना गरेर हेर्दा सस्तो मूल्यमा सामान पाउन सक्छौं। अनलाइन बैङ्‌किङद्वारा घरैमा बसेर बिल तिर्ने वा अर्को ठाउँमा पैसा पठाउनेजस्ता आर्थिक कारोबार गर्न सकिन्छ। हामी कतै यात्रा गर्दैछौं भने यात्राको योजना बनाउन वा टिकट बुकिङ गर्न पनि इन्टरनेटले सजिलो बनाउँछ। इन्टरनेटमा खोजेर हामी फोन नम्बर, ठेगाना र बाटो पत्ता लगाउन सक्छौं। यहोवाका साक्षीहरूको संसारभर रहेका शाखा कार्यालयहरूले पनि यस्ता सुविधाहरूको फाइदा लिएर समय र पैसा बचाउन सकेका छन्‌ अनि थोरै जनशक्‍तिद्वारा धेरै काम गर्न सकेका छन्‌।

तर इन्टरनेटका नकारात्मक पक्षहरू पनि छन्‌ भनेर हामीले बिर्सनु हुँदैन। इन्टरनेटले हाम्रो कति समय खाइरहेको छ भनेर विचार गर्नु राम्रो हुन्छ। कतिपयले इन्टरनेट कामको लागि नभई मनोरञ्जनको लागि मात्र चलाउँछन्‌। यो तिनीहरूको लागि खेलौना भएको छ। लामो समयसम्म इन्टरनेटमा गेम खेलेर, किनमेल गरेर, च्याट गरेर, इमेल पठाएर अनि चाहिंदो नचाहिंदो कुरा खोज्ने र हेर्ने गरेर तिनीहरू समय बर्बाद गर्छन्‌। कहिलेकाहीं त तिनीहरूले आफ्नो परिवार, साथीभाइ र मण्डलीलाई समेत बिर्सन्छन्‌। तिनीहरूलाई इन्टरनेट चलाउने लतसमेत लाग्न सक्छ। उदाहरणका लागि, सन्‌ २०१० मा प्रकाशित एउटा तथ्याङ्‌कअनुसार कोरियाका १८.४ प्रतिशत किशोरकिशोरीहरू इन्टरनेटको लतमा फसेको अनुमान गरिएको छ। “आफ्नो श्रीमान्‌को कुलतबारे सिकायत गर्ने स्त्रीहरूको सङ्‌ख्या बढ्‌दैछ” भनेर जर्मनीका अनुसन्धानकर्ताहरूले बताएका छन्‌। एउटी स्त्रीले आफ्नो श्रीमान्‌ले धेरै इन्टरनेट चलाउन थालेको कारण तिनी पहिलेभन्दा बेग्लै भएको र यसले तिनीहरूको विवाह नै तहसनहस पारेको गुनासो गरिन्‌।

आफूलाई इन्टरनेटको अम्मली भन्‍न रुचाउने एक जना व्यक्‍तिले यहोवाका साक्षीहरूको शाखा कार्यालयमा एउटा पत्र पठाए। तिनले बताएअनुसार कहिलेकाहीं त तिनी इन्टरनेटमा दिनको दस घण्टा बिताउँथे रे! त्यसपछि तिनले यो पनि लेखे: “सुरु-सुरुमा सबै ठीकठाक नै देखिन्थ्यो। तर बिस्तारै-बिस्तारै म सभामा कम जान थालें अनि मैले प्रार्थना गर्न पनि छोडें।” सभा गए तापनि तिनी तयारी नगरीकन जान्थे अनि सभामा बसुन्जेल पनि तिनलाई ‘कहिले घर गएर इन्टरनेट चलाऊँ’ जस्तो हुन्थ्यो। पछि तिनले यो त गम्भीर समस्या हो भनेर बुझे र आवश्‍यक छाँटकाँट गरे। लत नै बस्ने गरी लामो समय इन्टरनेट चलाउनु राम्रो कुरा होइन।

जानकारी—राम्रो कि नराम्रो?

पहिलो थिस्सलोनिकी ५:२१, २२ यसो भन्छ: “सबै कुरा जाँच र असल के हो, सो पक्का गर अनि त्यसैलाई पक्रिराख। हरकिसिमको दुष्टताबाट अलग बस।” इन्टरनेटमा पाइने जानकारी तथा तस्विरहरू परमेश्‍वरलाई मनपर्ने खालको छ कि छैन अनि उहाँको स्तरसित मेल खाने किसिमको छ कि छैन, हामीले पक्का गर्नुपर्छ। त्यस्ता जानकारी तथा तस्विरहरू नैतिक रूपमा शुद्ध अनि ख्रीष्टियनहरूलाई सुहाउने किसिमको हुनुपर्छ। अहिले इन्टरनेटमा अश्‍लील कुरा हेर्ने लहर नै चलेको छ। होसियार भएनौं भने हामी पनि यसको पासोमा फस्न सक्छौं।

त्यसकारण हामीले आफैलाई यस्तो प्रश्‍न सोध्नु राम्रो हुन्छ: ‘मेरो श्रीमान्‌/श्रीमती, बुबाआमा वा ख्रीष्टियन भाइबहिनी कोठाभित्र छिर्दा म इन्टरनेटमा हेरिरहेको कुरा तुरुन्तै लुकाउन पो खोज्छु कि?’ यदि त्यसो हो भने अरूहरू सँगै भएको बेला मात्र इन्टरनेटको प्रयोग गर्नु राम्रो हुन्छ। हुनत हो, इन्टरनेटले मानिसहरूको सञ्चारपद्धति अनि किनमेल गर्ने तरिकालाई नयाँ आयाम दिएको छ। तर यसले मानिसहरूलाई मनमनै व्यभिचार गर्ने नयाँ तरिका पनि सिकाएको छ।—मत्ती ५:२७, २८.

कस्तो जानकारी पठाउने र कस्तो नपठाउने?

इन्टरनेट चलाउँदा हामी जानकारी लिने मात्र होइन, दिने पनि गर्छौं। जानकारी लिने-दिने अधिकार आफ्नै हातको कुरा भए तापनि उक्‍त जानकारी सत्य हो कि होइन अनि नैतिक रूपमा शुद्ध छ कि छैन भनेर जाँच्ने दायित्व पनि हामीमा छ। हामीले लेखेको कुरा सही अनि अरूलाई पठाउन योग्यको छ भन्‍ने कुराको के हामीसित ठोस सबुत छ? अनि कुनै जानकारी अरूलाई पठाउने अधिकारी आफूसित छ कि छैन त्यो पनि हामीले पक्का गर्नुपर्छ।a के हामीले दिने जानकारी राम्रो अनि अरूलाई उत्थान गर्ने किसिमको छ? त्यस्तो जानकारी दिनुपछाडि हाम्रो मनसाय कस्तो छ? अरूको ध्यान आफूतिर खिच्नको लागि मात्र त्यस्तो जानकारी दिंदैछौं कि?

ठीक तरिकामा प्रयोग गरियो भने इमेल फाइदाजनक हुन्छ। तर यसले जानकारीको ओइरो नै लगाउन पनि सक्छ। कतै हामीले आफूले चिनेजानेका जति सबैलाई कुनै ताजा जानकारी वा अनावश्‍यक कुराहरू उनीहरूले पढ्‌नै नभ्याउने गरी पठाएर उनीहरूको समय खाइरहेका त छैनौं? कुनै कुरा अरूलाई पठाउनुअघि आफ्नो मनसाय केलाउनुहोस्‌। पहिला-पहिला मानिसहरूले आफ्नो हालखबर बताउन परिवारका सदस्य र साथीभाइहरूलाई चिठी लेख्ने गर्थे। के इमेलको उद्देश्‍य पनि यही हुनु पर्दैन र? सत्य हो कि होइन भनेर आफै पक्का नभएको कुरा किन अरूलाई पठाउने?

इन्टरनेट चलाउनेबारे तपाईंले के विचार गर्नुभयो त? इन्टरनेट चलाउनै छोड्‌ने विचार गर्नुभयो कि? कहिलेकाहीं त्यसो गर्नुपर्ने पनि हुन सक्छ। वर्षौंदेखिको आफ्नो कुलत त्याग्न माथि उल्लेख गरिएका इन्टरनेट अम्मलीले त्यसै गरे। तर इन्टरनेट चलाउँदा “विवेक” र “समझशक्‍ति” चलायौं भने त्यसबाट हामी धेरै फाइदा लिन सक्छौं।—हितो. २:१०, ११.

[फुटनोट]

a अरूको फोटो पठाउने सन्दर्भमा पनि यही कुरा लागू हुन्छ। आफ्नो प्रयोगको लागि खिचेको फोटो अरूलाई पठाउने वा फोटोमा भएको व्यक्‍तिको नाम वा ठेगाना अरूलाई बताउने अधिकार हामीसित छैन।

[पृष्ठ ४-मा भएको चित्र]

गलत जानकारीको सिकार हुनदेखि तपाईं कसरी बच्न सक्नुहुन्छ?

[पृष्ठ ५-मा भएको चित्र]

कुनै जानकारी अरूलाई पठाउनुअघि तपाईंले कुन कुरा मनमा राख्नुपर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने